कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हर्मोनहरूको कस्मिक नृत्य

‘द टेस्टोस्टेरोन फाइल्स’ किताबले रजोनिवृत्तिलाई ‘अद्वितीय बदलिँदो आगो’ भन्छ । एस्ट्रोजन हर्मोनको ऐठनबाट जब स्त्री बाहिर निस्किन्छिन्, तब मात्रै उनी स्त्री हुनुको स्पष्टता बोध गर्छिन्। र, त्यस अवधिमा उनी असाध्यै साहसिक बन्छिन् ।
शैलीका छेत्री

समाजशास्त्रले मानव विकासलाई उच्चतर स्तरमा राखेर किन नहेरोस्, जीवन त उही पिट्युटरी ग्रन्थिबाट लगातार प्रवाहित भइरहने रासायनिक स्राबको कठपुतली मात्रै हो । त्यसैले त प्रत्येक व्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा कुनै न कुनै बेला यस्ता हर्मोनल परिवर्तनको अवस्था भोगेको हुन्छ ।

हर्मोनहरूको कस्मिक नृत्य

सोच्नुस् त, हो कि होइन ? मैले पनि त यति वर्षको जीवनकालमा हर्मोन एस्ट्रोजन अनि प्रोजेस्टेरोनको उतारचढावमा कैयौं शारीरिक परिवर्तन अनुभव गरिसकेँ । सानी बालिकादेखि उर्वरक स्त्री बन्ने मार्गमा छातीमा बिस्तारै विकसित हुँदै गरेका स्तनको आकारले शारीरिक गठनलाई बदल्यो भने अहिलेसम्म मेरो योनिले २ सय ४० पटक महिनावारीको रक्तप्रवाहलाई सहन गरिसकेको छ ।

पुतलीको पँखेटामा अंकित सुन्दर डिजाइनभित्र भौतिक विज्ञानले केअस सिद्धान्तका जटिल हिसाब देख्छ । र, यस्तै जटिलतम हिसाबका उत्तरभित्र प्याटर्न रचनाका सुन्दरतालाई पनि ईश्वरीय कोड ठान्छ । प्रकृतिभित्र झुसिल्कीराको पुतली बन्ने प्रक्रियालाई प्राकृतिक विशिष्टता नमानी केवल हर्मोन इक्डिसोनको क्रमिक नृत्य ठान्छ जीवविज्ञान । तर, जे भनोस् विज्ञान– यस्तै अनौठो प्राकृतिक प्रक्रिया वरिपरि नै त घुमिरहेको हुन्छ, जीवनचक्र । त्यसैले अचेल मलाई जीवन रहस्यमय हर्मोनहरूको कस्मिक नृत्यजस्तो भान हुन्छ ।

भन्छु– बडो अनौठो छ जैविक परिवर्तन । यस्तै प्रकृतिका परिवर्तनको चलखेलमा भविष्यमा मेरो शरीरले प्रौढताको सीमारेखालाई छुनेछ अनि नयाँ परिवर्तनको गवाही दिँदै रक्तस्राब बन्द भएको कैयौँ अप्रिय लक्षणलाई पनि अनुभव गर्नेछ । सायद, मेरो निम्ति त्यो क्षण बडो संवेदनशील अनुभूत हुनेछ । कारण प्रत्येक स्त्रीको शारीरिक अनि मानसिक गठन बेग्लै भए पनि, यस परिवर्तनले कतिपय स्त्रीलाई अलिकति पनि असर पार्दैन भने संवेदनशील स्त्रीको श्रेणीमा पर्नेहरूले त यस परिवर्तनको लक्षण मात्रै नै घबराहट अनुभव गरेका हुन्छन् । तर, जैविक परिवर्तनका विषय जेजस्तै होस्, आम जीवनमा हत्तपत्त सबैलाई बिहानीको अछुतो समयमा साधारणभन्दा साधारण बन्नु मन पर्दो हो, जसको केही गर्नु पनि साधारण अर्थको मापदण्डसम्म मात्रै सीमित हुन्छ ।

यस्तै साधारण बन्नु मलाई पनि मन पर्छ । त्यसैले इलेक्ट्रोनिक्स अनि तकनिकी ग्याजेट हेरेर नयाँ दिन सुरु गर्ने पक्षमा म छैन । तर, त्यो दिन बिहानै मेरो मोबाइल फोनको घण्टी बज्यो । मैले तुरुन्तै उत्तर दिनु उचित ठानेँ । त्यो फोन मृदुला दिदीको थियो । सधैँ हँसमुख स्वभावमा बातचित गरिरहने मृदुला दिदीलाई त्यस दिन बडो गम्भीर भावमा सुन्नु मेरा निमित्त प्रश्नहरूको भ्रम जालीमा आफूलाई छटपटाइरहेको अनुभव गर्नु समान थियो । हुन पनि मान्छेको मनभित्र जतिखेर अज्ञात परिवर्तनले सहनशीलताको सीमाघेरा पार गर्दोरहेछ नि, त्यतिखेर मनभरि डर र त्रासको बोध सृजना हुँदोरहेछ । हो, यस्तै परिवर्तनको चक्रमा अल्झेकी थिइन् मृदुला दिदी ।

त्यसैले एकदमै कम्पित स्वरमा दिदीले भनेकी थिइन्, ‘शैली † बुझ्न सकेकी छुइनँ, खै अचेल के भएको मलाई ? बिनाकारणमै मुटुको धड्कनमा तेजी आएको अनुभव हुन्छ, सँगै शरीरभित्र तातो लाभा विस्फोट हुन्छजस्तो हुन्छ । यो गरमाहट यस्तो असैह्य हुन्छ नि, मेरो सम्पूर्ण शरीर नै पसिनाको धारामा लतपत बन्छ । मानौंं दिउँसोको चहकिलो घाममा मरुभूमिको तपिलो बालुवामा म नग्न उभिएकी छु । पहिले त मलाई मेरो यस्तो स्थिति हार्ट अटेकजस्तो भान भएथ्यो । तर, जब मैले मेरो लक्षणसित मिल्दो अनुसन्धान गरेँ नि, त्यतिखेर थाहा लाग्यो– म रजोनिवृत्तिमा प्रवेश गरिसकेकी छु र लगातार मेनोपजको संक्रमणमा नूतन परिवर्तनतर्फ जबरन ठेलिँदै छु । पहिले–पहिले त अनुहारमा यस्तो गर्मीको भान हुनु असहज लाग्थ्यो, तर यस्तो ‘हट–फ्लास’ सुरु हुन्छ भन्ने चिन्ता झन् भयप्रद थियो । यति मात्र कहाँ हो र, मलाई निदाउनु पनि अचेल कष्टकर लाग्छ र दिनदिनै म अनिद्राको रोगी नै बन्न पुगिसकेकी छु । मेरो कामुकताले पनि बिस्तारै दम तोडिसकेको छ । र, अचेल योनिमा एक प्रकारको सुक्खापन फिल गरेपछि मेरो यौन इच्छामा पनि परिवर्तन देख्छु । जुन यौनक्रीडामा सन्तुष्टि थियो, त्यसैले मलाई बोरियत भाव दिन्छ । उहिले एस्ट्रोजेन हर्मोनको बोलवालामा आकर्षक देखिने शरीरमा प्रौढताको थकावट हावी बनिसकेको छ । मेरो रक्तस्राब पनि बिस्तारै सात दिनदेखि घटेर पाँच दिनसम्म देखिन लाग्यो, जसरी उमेर चालीसको आँकडाबाट बढ्दै गयो नि पिरियड पनि बिस्तारै कम हुँदै, खै आज त एक वर्ष बित्यो पिरियड नदेखेको । हो, यसरी नै प्रत्येक महिना, म स्त्री हुँ भन्ने अनुभव मभित्र लुप्त बन्यो । फेरि शैली † हाम्रो समाज पितृसत्तात्मक संस्कृतिमा आधारित छ, यहाँ चालीस प्लस पुगेका स्त्रीलाई सेक्सुअल आनन्दको कसौटीमा वृद्ध महिला करार गरिन्छ भने पुरुष त्यही वर्षतिर यौनको चरमतामा रमिरहेको हुन्छ । मानौँ, स्त्रीको स्त्रीत्व केवल एस्ट्रोजन हर्मोनको प्रवाहसम्म मात्रै सर्वोपरी थियो र जब एस्ट्रोजनको मात्रा स्त्रीमा घट्यो, त्यस क्षण उसलाई रजोनिवृत्तिले पनि च्याप्यो र उसमा कामुकता कम भएको ट्याग पनि लाग्यो । र, त बिस्तारै उसको शरीरमा समाजले नै स्त्रीत्व शून्य बनायो । तर, मलाई त अहिले रजोनिवृत्तिभन्दा आफूमा सुरु भएको बुढ्यौलीपनको (एजिङ) प्रक्रिया पो चिन्तामूलक लागेको छ । एजिङले बिस्तारै मेरो शरीरमा कैयौँ बिरामीलाई निम्त्याएको छ, त्यसैले कुन्नि किन मलाई मेरो यस्तो रूपान्तरण दु:स्वप्नभन्दा कम लागेको छैन ।’

विज्ञान र बुढ्यौलीपन

मृदुला दिदीको यस्तो स्वभोगाइको विश्लेषणमा एकै क्षण म अन्योलमा परें । लाग्यो, आखिर सबै जीवन्त प्राणीले जीवनको अन्तिम पढावमा भोगेको सत्य नै एजिङको बाटो हुँदै मृत्युलाई प्राप्त गर्नु हो । त्यसैले एजिङबारे कुरा गर्दागर्दै मेरो मस्तिष्कमा त्यस क्षण ओहोरदोहोर गरिरहेको थियो, जीवविज्ञानका दक्ष प्रोफेसर विशाल सरको त्यो चाखलाग्दो लेक्चर ।

सर भन्ने गर्थे, ‘शरीर बूढो हुनु वा यसमा एजिङको लक्षण देखिनु एक प्राकृतिक प्रक्रिया हो । शरीरमा लगातार भइरहेको कोशिका विभाजन, विकासको क्रम अनि प्रजनन प्रक्रियाले कोशिकाका डीएनएलाई कैयौं क्षति पुर्‍याउँछ । जीवविज्ञान यसैलाई सोमाटिक हानि भन्छ । डीएनएमा यसरी आइरहेको हानिलाई रोक्न कोशिकाले दुईवटा प्रक्रिया चलाएको हुन्छ– एपोप्टोसिस र सेलुलर सेनिसेस, जसले शरीरबाट बुढ्यौली कोशिकालाई लगातार हटाउने काम गरिरहेको हुन्छ । र, यही प्रक्रियाको फलस्वरूप जीवको शरीर क्यान्सरजस्तो भयानक रोगबाट बाँचिरहेको हुन्छ । तर, फेरि यही एपोप्टोसिस अनि सेलुलर सेनिसेसले नै बिस्तारै शरीरमा बुढ्यौलीपनलाई पनि निम्त्याइरहेको हुन्छ ।’

जीवविज्ञानका प्रोफेसरको यस्तो गम्भीर विषयको अर्थपूर्ण लेक्चरमा अत्यन्त भावुक बनेको थियो क्लास । त्यसैले होला सरले क्लासको गम्भीरता पन्छाउने टोनमा त्यसबेला भनेका थिए, ‘तिमीहरू चिन्ता नगर, बरु आफूमा चल्दै गरेको विकासक्रम अनि प्रजननको प्रक्रियालाई रोक्ने बाटो खोज, जसरी हिन्दी चलचित्र कृश–२ मा नायकको पिताले खोजेका थिए– ८० डिग्री सेल्सियसमा तरल नाइट्रोजनमा चुपचाप बसेर । हो त्यसरी न त कोशिका विभाजन हुन्छ, न त कोशिकाको मृत्यु हुन्छ, न त एजिङ, न त पढ्नुपर्ने डर, न त प्रतियोगिताको चिन्ता, न त मृत्युको डर ।’

हुन त त्यस दिन सरले एजिङजस्तो जटिल विषयमा ठट्टा गरेका थिए । तर, हामीलाई याद छ– मर्ने डरले मानिस जन्माउँछ । र, डरले चाहिँ संस्कृति जन्माउँछ । तर, यहाँ त गम्भीर एजिङको प्रक्रियामाथि कुरा हुँदै थियो । खोजिँदै थियो– आखिर चालीस प्लसपछि मानव शरीरले बुढ्यौलीपन भोग्छ ? मलाई लाग्छ, यस प्रश्नको उत्तरसम्म नपुगी हामीले मेनोपजलाई बुझ्न सकेका हुँदैनौँ ।

यस्तै एजिङ बुझाउन नोबेल पुरस्कार विजेता एलिजाबेथ ब्लेकबर्नले सन् २००० मा पुरानो रोगले ग्रस्त बच्चाका आमाहरूमा एजिङको प्रभावमाथि खोजी गरेकी थिइन् । एलिजाबेथको निष्कर्ष थियो, ‘एपोप्टोसिस अनि सेलुलर सेनिसेसले डीएनए टेलामरेजको आकारलाई लगातार घटाउने काम गरिरहेको हुन्छ । र, जति डीएनए टेलोमरेजको आकारमा छोटोपन आउँछ, कोशिकामा बुढ्यौलीपन पनि हावी हुन्छ ।’ यही अध्ययनले समयअघि नै बुढ्यौलीपन भोग्नुको मूल कारण जीवनमा बढ्दै गरेको मानसिक चाप हो भनेर प्रमाणित पनि गरेको थियो । र, थाहा लागेको थियो– स्त्रीको शरीरमा रजोनिवृत्तिको उमेर नपुगी, चालीसको पढावतिर नै कसरी मेनोपज देखापर्छ ? हो, यही वैज्ञानिक प्रमाणको कसौटीसित मिल्दो अवस्था मालती दिदीले पनि भोगेको हुनुपर्छ । लोग्नेको अचानक मृत्युपछि मालती दिदीले एक्लै ‘डाउन सिन्ड्रोम’ भोगिरहेकी छोरी अनि ‘पार्किन्सन’ रोगले ग्रस्त बिरामी सासू–आमाको स्याहारसुसारमा बाँकी जीवन होमिदिएकी थिइन् ।

हुनपर्छ, त्यो डिसेम्बरको कुनै चिसो महिना थियो । म छुट्टीमा सिक्किम पुगेकी थिएँ दिदीलाई भेट्न । सधैंजसो रक्तिम आभामा धपक्क बलेको दिदीको अनुहारमा पिलिया रोगीजस्तो पहेंलोपन हावी देखिन्थ्यो । अनुहारभरि डण्डीफोर, एक प्रकारको सुक्खापन र हावी बन्दै गरेको अनुहारको चाउरीपनमा दिदी एकदम प्रौढ देखिन्थिन् । मानौं, ५० को पढाव पार गरिसकेकी छिन् । तर, मलाई थाहा थियो– त्यही वर्षको डिसेम्बरमा त हो मालती दिदीले चालीसको धार टेकेकी । जे होस् मलाई यसरी सिक्किममा अचानक देखेर दिदी अत्यन्तै खुसी भइन् र आत्तिँदै अँगालोमा बाँधिन्, मतर्फ बढिन् । तर, यो के ? दिदीको कदममा पहिलेजस्तो शक्ति थिएन । उनी एकदम अप्ठ्यारो प्रकारले हिँडिरहेकी थिइन् । दिदीको यस्तो हालतले मेरो मनमा पीडाको हजार सुईले घोचिरहेथ्यो । त्यसैले तुरुन्तै मैले दिदीलाई उनको यस्तो प्रौढ बदलावबारे सोधिहालेँ । दिदीले भन्नुभएको थियो, ‘खै, कैयौँ महिनादेखि पिरियड र रक्तस्राब पनि एकदम हेभी हुन्छ । साधारण सेनेटरी प्याडले रक्त थाम्नु नसकेको खण्डमा वयस्क डायपरको लगातार प्रयोग गरें । त्यसको प्रयोगले हो कि बिस्तारै मूत्ररोगले पनि मलाई च्याप्यो । मेरो स्वभावमा पनि एक प्रकारको चिडचिडापन हावी बनेको छ । त्यसैले मलाई शृंगार, न त पुरुषको समागममा नै रुचि छ । खै, के भएको ? एक्लोपन पो अचेल प्रिय लाग्छ ।’

हुन सक्छ, मालती दिदीको माहवारी (मासिक) चक्रमा देखापरेको बदलाव उनको जीवनमा कहिल्यै नसकिने तनाव अनि सानै उमेरमा लोग्ने गुमाएपछि उब्जने एक्लोपनको भयंकर पीडा थियो, जसलाई एलिजाबेथ ब्लेकबर्नले आफ्नो अध्ययनद्वारा समाजलाई बुझाइसकेकी छन् । यसरी पीडाको भोगचक्रमा लगातार पिसिँदै चालीसको अन्ततिरै दिदीको पिरियड सधैँका निम्ति बन्द भयो । अहिले मालती दिदी मेनोपजमा छिन् ।

आखिर मेनोपज के हो ?

मेनोपज/रजोनिवृत्ति स्त्रीको मासिक/पिरियड चक्रको प्राकृतिक समाप्ति हो । जीवविज्ञानले रजोनिवृत्ति प्राय: ४५–५५ वर्षको उमेरबीच हुन्छ भन्छ । रजोनिवृत्ति–समयमा स्त्रीको अण्डाशयमा अण्डा उत्पादन बन्द भएकाले, प्रजनन हर्मोन एस्ट्रोजनमा लगातार कमी देखिन्छ । त्यसैले रजोनिवृत्ति कुनै बिमारी होइन, यो छोटो संक्रमणकाल मात्रै हो । वास्तवमा महिनावारीमा गर्भाशयबाट निषेचित डिम्बको अन्त्येष्टि हुन्छ । अनि डिम्बको यस्तो दु:खद मरणमा नारी गर्भाशय प्रत्येक महिना दु:खले रोएको हुन्छ । र, उसको त्यो आँसुचाहिँ रजश्वलाका रूपमा योनिबाट बाहिर निष्कासित हुनेगर्छ । यस्तैगरी मेनोपज पनि निसेचित डिम्बको दु:खद मरणमा प्रत्येक महिना रुनुपर्ने बध्यताबाट नारी गर्भाशय सधैँका निमित्त स्वतन्त्र बनेको सुन्दर क्षण हो ।

रजोनिवृत्तिको पढावमा उभिएर स्त्रीले आफूमा परिवर्तन हुँदै आएको शारीरिक, मानसिक, भावात्मक, आध्यात्मिक अनि यौन पक्षबारे फेरि नूतन रूपमा परिचर्चा गर्न सक्छिन् । मलाई लाग्छ, स्त्रीलाई आफ्नो स्वअस्तित्व पुन: प्राप्त गर्नु छ भने गर्भाशयमा अण्डाशयको मृत्यु भएको क्षण उसले पर्खिएको हुनपर्छ । कारण महिनावारी हुनुपूर्वको अवस्था जस्तो हुन्छ, मेनोपजमा हुँदा स्त्री उही बाह्र वर्षकी केटी नै बन्न पुग्छे, जसलाई महिनामा २५ होइन ३० दिन हुन्छ भन्ने भलिभाँति थाहा हुन्छ । हुन त स्त्रीका निमित्त रजोनिवृत्तिका लक्षण सहनु कम सजिलो छैन । यसको प्रभावमा शरीरले अनेक लक्षण देखाइरहेको हुन्छ । जस्तो : अनियमित पिरियड या भारी रक्तस्राब, अनुहार वा शरीरको छालामा रूखोपनसित कपाल अनि नङको प्राकृतिक चमकमा कमी, अकारण चिन्ताले उब्जाएको अनिद्रासित बढेको मुटुको धड्कन र यी सबैका कारण शरीरमा थकावटसित मनभरि डिप्रेसनको नकारात्मक प्रभाव । अन्य लक्षण : स्वभावमा चिडचिडापनसित ‘हट–फ्लास’ ले सम्पूर्ण शरीर पसिनामा लतपत बन्ने क्रम, अकारण आएको टाउको दुखाइले बढाएको उच्च रक्तचाप र योनिमा सुक्खापनसित लगातार कामेच्छामा आएको कमी ।

यस्तो रजोनिवृत्तिको अप्ठ्यारो समयमा सकेसम्म स्त्रीलाई मानसिक तौरमा साथ दिएको राम्रो । तर, म जान्दछु– स्त्रीका निम्ति जीवन एकदमै अविश्लेषणीय छ, जटिल छ, गणितका कठिनतम प्रश्नजस्तै । तर, गणित र स्त्रीमा त अन्तर छ नि, होइन र ? गणितको शेषमा सधैंजसो समाधान हुन्छ, तर स्त्रीको हिस्सामा शारीरिक, मानसिक अनि सामाजिक गणितहरूको सही समाधान नै हुँदैन । समाजले मेनोपजपछि स्त्रीलाई आफ्नो प्रौढताको मर्यादा कायम राख्ने सभ्यताको निर्दयी चाबुक खाएर बाँच्न बाध्य बनाउँछ । त्यसैले स्त्री पनि चिच्याएर समाजले दिएको प्रौढताको ट्यागविरुद्ध प्रतिवाद गर्ने सभ्यतामा अझै उक्लेकी छैनन् । तर, ‘सभ्यता’ भन्ने शब्दलाई मैले सधैँ ब्राको तुना बाँध्दा वा कम्मरमा पतलुनको पेटी कस्दा मात्रै सम्झेको हुन्छु । सभ्यताको सर्वोत्तम अवस्था कुन हो, मेरो मस्तिष्कले अझै समाधानै गर्न नसकेको विषय हो । ब्राको तुनाले जीउमा बाँधिसकेपछि वा कम्मरमा पेटीले टन्न कसिसकेपछि सभ्यता मेरो जीवित शरीरमा आश्रित हुन्छ कि ब्रा, तुना वा पेटीमा ? या समाजको दृष्टिमा ? कारण मानव विकासक्रममा आदिम मानव सभ्यताचाहिँ नग्नवादी नै थियो । तर, म स्त्री हुँ । त्यसैले कैयौँ मर्यादा, लाज अनि डरमुन्तिर मुछिँदै बबुरो म निधारमा हत्केला राखी सधैँ सोच्छु– ‘आखिर स्त्रीलाई समाजले किन रजोधर्म ब्लिडिङ वा रजोनिवृत्तिजस्तो प्राकृतिक प्रक्रियामा लज्जित बन्न सिकाउँछ ?’

सायद, साँघुरो सभ्यतासित बाँचिरहेका जमातलाई मेरो यस्तो अनभिज्ञता माफी माग्नुपर्ने प्रकारको लाग्छ । तर, जतिखेर खुला विचारका कुनै परिचित व्यक्तिले सभ्यताको बाहुल्य निर्धारण गर्न मैमाथि अमोघ प्रश्न प्रहार गर्न थाल्छ, त्यसक्षण निश्चय नै म लज्जित भएको हुन्छु । त्यसैले चाहे तरुण अवस्थाको चरम पढावमै उभिएको किन नहोस्, युवा–काँधमा हजारौं मान्यता, जिम्मेवारी, पीडा, दयनीयता, पराजय, रोग, लज्जाको बोझमुन्तिर मेरो शरीरमा मेनोपज सुरु हुनुअघि नै एजिङको विशृंखल प्रभाव झल्किन थालेको छ ।

त्यसैले जतिखेर म ऐनाअघि उभिएर आफ्नो स्त्रीत्व खोजिरहेको हुन्छु, खै कुन्नि किन अनुहारमा हराउँदै गरेको कसाव, यसको छालामा पर्दै गरेको प्रौढताको गहिरो चिह्न अर्थात् चाउरीले च्वास्स घोच्छ । र, जतिखेर मेरो मस्तिष्कमा ज्ञानलाई नापिरहेको हुन्छु, दिनदिनै उमेरसित रूखो बन्दै गरेको कपालले पो मलाई अतंकित पार्छ ।

हुन सक्छ, मेरो यस्तो स्थिति सौन्दर्यको भुखो जमातका निमित्त बुढ्यौलीपनतर्फ अग्रसर बन्दै गएको प्रथम चिह्न हो । तर, यो जमातचाहिँ को हो, जसले स्त्रीलाई अनुहार हेरेरै प्रौढ वा वृद्ध करार गर्छ ? यी सबै त केवल हेर्ने दृष्टिकोणसम्म मात्रै त सीमित हुन्छ । भन्नुहोस् त नदीको पानी र तलाउको पानीमा के अन्तर छ ? आखिर दुवै पानी नै हो । त्यो त पानीमा डुब्ने व्यक्तिमा पो निर्भर हुन्छ, उसले त्यो पानीबाट मोती भेट्टाउँछ कि ढुंगा † होइन र ? त्यसैले भन्छु, स्त्री जतिसुकै उमेर पुगेको होस्, उर्वर चरण अर्थात् रजोधर्ममा वा निषेचित चरण अर्थात् मेनोपजमा होस्, स्त्री केवल स्त्री हो । सिंगो मानवजातिको एक सबल प्रतिनिधि हो ।

रजोनिवृत्ति र जनावर

जब म मानव स्त्रीमाथि जीववैज्ञानिक तथ्यहरूको विवेचना गर्छु, मलाई खुब खट्केको विषय हो– प्रकृतिको पक्षपाती खेल, स्त्रीले आफ्नो जीवनमा भोग्नुपर्ने रजोधर्म र रजोनिवृत्ति । तर, जतिबेला मैले रजोनिवृत्ति जनावरमा पनि भएको देखेँ, त्यतिबेलादेखि स्वत: प्रकृति पक्षपाती लागेन । बरु यस तथ्यले मलाई अलिकति भए पनि सहज बनायो । कारण यसले मेनोपजमार्फत स्त्रीलाई हर्मोनल परिवर्तनको लाभप्रद पक्ष हेर्न सिकाइरहेको हुन्छ । ठूलो पोथी जनावर (जस्तै किलर ह्वेल, नखाल, साटँ–फिनेई पायलट अनि बिलुग ह्वेल) ती हुन्, जसमा रजोनिवृत्ति देखिन्छ । अनुसन्धान भन्छ, वृद्ध हत्यारा पोथी ह्वेलमा प्रजननपछि छिट्टै रजोनिवृत्ति देखा पर्छ । रजोनिवृत्ति भएपछि ह्वेल अझै ३०–४० वर्षसम्मै जीवित रहन्छ । प्रजनन या रजोनिवृत्तिपछि पोथीले आफ्नो बथान या समूहको भलिभाँति नेतृत्व गर्छ । ‘नेचर’ नामक पत्रिकाको लेख ‘ओल्ड फिमेल’ले रजोनिवृत्ति भइसकेका बूढी ह्वेलमा पारिस्थितिक ज्ञानको अधिकतम विकास भएको कुरा गर्छ, जसको फलस्वरूप बथानका युवा भाले प्राय:जसो बढ्दो उमेरका पोथीकै नेतृत्व अनुसरण गर्छन् । यस्ता रजोनिवृत्तिमा पसेका कैयौं जनावर प्रकृतिमा हुन्छन्, जसले रजोनिवृत्तिपछि बथानको नेतृत्व गरिरहेको हुन्छ ।

रजोनिवृत्ति चासो

जब मैले रजोनिवृत्ति बुझ्न सिजान सोमर्सको ‘द सेक्सी इयर्स’ र गेयल सिहीको ‘द साइलेन्ट प्यासेज’ पढेँ, त्यहाँ लेखक रजोधर्ममा उर्वर रहेको स्त्रीत्वमाथि मात्रै आकर्षित भएको पाएँ । दुवै लेखक रजोनिवृत्तिलाई रोग ठानेर, यसबाट निवृत्ति हुन एस्ट्रोजन हर्मोन प्रतिस्थापनबाट पुन: यौवन पाउने विषयमा मात्रै केन्द्रित भएको पाएँ । तर, रजोनिवृत्ति हेर्ने मेरो नजरियाचाहिँ म्याक्स उल्फ भेलेरियोको किताब ‘द टेस्टोस्टेरोन फाइल्स’ ले बदलिदियो । यस किताबमा म्याक्सले रजोनिवृत्तिलाई ‘एक अद्वितीय बदलिँदो आगो’ भनेका छन् । म्याक्सका अनुसार, एस्ट्रोजन हर्मोनको ऐठनबाट जब स्त्री बाहिर निस्किन्छिन्, त्यतिबेला मात्रै उनी स्त्री हुनुको स्पष्टता बोध गर्छिन् । र, त्यस अवधिमा स्त्री एकाएक साहसिक बन्छिन् ।

प्रत्येक स्त्रीमा रजोनिवृत्तिको यात्रा समान हुँदैन । जीवनशैली परिवर्तन अनि लक्षणअनुसारको पोषण आहार ग्रहण गरे रजोनिवृत्तिका प्रभावमा काफी बदलाव ल्याउन सकिन्छ भन्ने तथ्य ज्याकी लिन्चले आफ्नो लोकप्रिय किताब ‘ह्याप्पी मेनोपाज’ मा लेखेकी छन् । यस किताबले हजारौँ मेनोपजल स्त्रीलाई मेनोपजका जटिल परिवर्तनमा पनि आफूमा सकारात्मक बदलाव ल्याउन प्रेरित गरेको छ । यसरी रजोनिवृत्तिको कुरा गर्दा मलाई इटालियन बोल्ड अभिनेत्री मोनिका बेलुचीको याद आउँछ । यस विषयमा मोनिकाले भनेकी छन्, ‘जब म चालीस वर्षकी थिएँ, दुई बच्चाकी आमा बनिसकेकी थिएँ । र, जब पैँतालीस वर्षकी भएँ, एक वर्षसम्म मैले बच्चालाई स्तनपान गराएकी थिएँ । यसको मतलब चार वर्षपहिले मैले स्तनपानसँगसँगै मभित्र रजोनिवृत्ति जन्मेको अनुभूतिलाई पनि एकसाथ चाखेकी थिएँ । र, अहिले म रजोनिवृत्तिदेखि धेरै अघि बढिसकेकी छु । र, मलाई प्रौढतासित प्रेम हुँदैछ ।’ भनिन्छ नि, एज लाइक वाइन † विज्ञानले पनि यो तथ्य स्विकारेको छ । मानवलाई बुढ्यौलीमा देखिने दुष्प्रभाव रोकथाम गर्न सुगालेजस्तै एन्टिअक्सिडेन्ट (आयुवृद्धि गराउने) फलहरूको लगातार सेवन, नियमित व्यायाम अनि योगको महत्त्वतर्फ प्रेरित गराउने काम विज्ञानले गरिरहेको छ ।

नोबेल पुरस्कार विजेता ओहसुमीले मेनोपजका कारण स्त्रीमा बढ्दै गरेको एजिङ प्रक्रिया अध्ययन गरेकी छन् । यस अध्ययनमा उनले शरीरमा कोशिका नवीकरण जागृत गराउँदै एजिङ टाढा राख्ने प्रक्रियामा १२ देखि २४ घण्टासम्मको उपवासलाई दीर्घायुसूचक बताएकी छन् ।

प्रौढता एक उत्सव

समयको कालचक्रमा आफू बूढो हुँदै गरेको हेर्नु मानिसलाई एक चुनौतीको विषय नै हुन्छ । तर, यही नै जीवन हो । समयको ज्वारभाटालाई कसले पो रोक्न सक्यो र † अन्तमा जीवनमाथि मृत्यु हावी हुने नै त हो । तर, प्रौढतालाई पनि उत्सवसरह जिउन सक्नुपर्छ । सायद यसरी मात्रै मेनोपजमा हुने शारीरिक अनि मानसिक बदलावलाई सहर्ष स्विकार्न सकिन्छ होला । हेर्नुस् त, प्रकृति पनि यस्तै प्रौढताको सुन्दरतामा लिप्त बन्दा जीवित पृथ्वी बनेको हुन्छ । आयुर्वेदमा पनि जतिखेर अर्जुन–वृक्ष अनि अशोक–वृक्ष प्रौढ बन्छ, त्यसको प्रौढतासित औषधीय गुण चढेको छालाबाटै मुटुको समस्या र रजोधर्म विकारलाई शरीरबाट हटाउने औषधि बनेको हुँदो हो ।

स्त्रीको हातमा रंगिने गहिरो मेहन्दीले त्यस क्षण मात्रै रङ छोड्छ, जब त्यो सुकेर प्रौढ हुन्छ । एजिङ वाइनको स्वादमा जुन मज्जा हुन्छ, त्यो नयाँमा कहाँ पाइन्छ ? स्त्री पनि प्रजनन अनि रजोनिवृत्ति पार गरेपछि मात्रै पूर्ण बन्छिन् । त्यसैले आऔं, प्रौढताको सुन्दरता स्विकार्दै रजोनिवृत्तिलाई सेलिब्रेट गरौं । ह्याप्पी मेनोपज !

शनिबार प्रकाशित हुने 'कोसेली' बाट

प्रकाशित : जेष्ठ २०, २०७९ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?