काठमाडौंको ‘कोर’ कथा - कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंको ‘कोर’ कथा 

काठमाडौंको ‘कोर सिटी’ कुन हो ? नगरको दक्षिणतिर भीमसेनथानस्थित विष्णुमती नदीदेखि भित्र र ताम्सीपाखामा विष्णुमतीवारि, उत्तरतिर भोटाहिटीदेखि भित्र, पूर्वतिर टेकुदेखि भित्र र पश्चिमतिर ठहिटीदेखि भित्रको एउटा गिजिमिजी क्षेत्र नै कोर सिटी हो । 
स्थानीय बौद्ध धर्मावलम्बीले काठमान्डुको कोर मानेका छन्– थथुपुइँ (माथि ठहिटीदेखि असनचोकसम्म), दथुपुइँ (असनदेखि मखन टोलसम्म), लाय्कूपुइँ (मखनदेखि काष्ठमण्डप भएको क्षेत्रसम्म) र क्वपुपुइँ (काष्ठमण्डपबाट तल यंगाल–लगन टोलसम्म) लाई ।
सुरेश किरण

यो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकामा निकै बोलिएको–सुनिएको शब्द हो– कोर–सिटी । मतगणनाको सुरुवात जुन लयमा अघि बढिरहेको थियो, ‘कोर सिटी’ मा पुगेपछि त्यो खलबलिनेछ भन्ने थुप्रैको अनुमानपश्चात् सोधखोज हुन थालेको थियो– आखिर यो ‘कोर सिटी’ के हो ?

सम्बोधनबाटै बुझिन्छ, यो काठमाडौंको सबैभन्दा भित्री क्षेत्र हो । क्षेत्रफल नाप्ने हो भने यो अत्यन्तै सानो एक टुक्रा भूमि मात्रै हो । काठमाडौं महानगरपालिकामा हाल भित्री क्षेत्रमा पर्ने ११ वटा वडालाई ‘कोर सिटी’ भनेर बुझ्ने गरिन्छ (वडा नं. १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७) । आकारमा यी वडा यति साना छन् कि यी सबै जोड्दा पनि कुल क्षेत्रफल २.५२ वर्ग किलोमिटर मात्रै हुन आउँछ (स्थानीय जनप्रतिनिधि २०७४, मदरल्यान्ड पब्लिकेसन प्रालि) । यो कुल क्षेत्रफलै पनि अत्यन्त सानो हो, कति सानोभन्दा काठमाडौंको यही महानगरपालिकाभित्र ११ वडाको कुल क्षेत्रफलभन्दा ठूलो आकारका अर्को ६ वटा सिङ्गो वडा छन् ।

तर, आकारमा सानो भए पनि काठमाडौंको यही ‘कोर सिट’ ले सम्पूर्ण नेपालकै पहिचान र गरिमालाई शिरमा बोकेको छ । काठमाडौंभित्र जो यथार्थमा काठमाडौं हो, त्यो मूलतः यही ‘कोर सिटी’ हो । पृथ्वीनारायण शाहले आक्रमण गर्नुपहिले काठमाडौंलाई नै नेपाल भन्ने गरिन्थ्यो । वास्तवमा त्यतिबेला नेपाल नामले जति भूभागलाई सम्बोधन गरिन्थ्यो, त्यो भनेको यही ‘कोर सिटी’ मात्रै हो । यो भू–भागभित्र छिरेपछि मात्रै ‘नेपाल गएको’ मानिन्थ्यो ।

त्यसताकाको परिभाषाअनुसार, सहरको एक प्रमुख अंग ‘मण्डप’ पनि हुन्थ्यो । ‘मण्डप’ सभा भवनको विशिष्ट रूपमा पनि हुन सक्छ अथवा डबलीका रूपमा साधारण पनि । यहाँ जो मण्डप थियो, त्यसको नाउँ काष्ठमण्डप थियो, यही मण्डपको नाउँले सहर नै ‘काष्ठमण्डप’ कहलिन पुग्यो (धनवज्र वज्राचार्य, ‘गोपालराजवंशावलीको ऐतिहासिक विवेचना’ ।) जुन काष्ठमण्डपले ‘काठमाडौं’ भन्ने नामको जन्म गरायो, त्यो यही कोर सिटीभित्रै विद्यमान छ । अतः काष्ठमण्डपलाई कोर सिटीको पनि सबैभन्दा कोर स्मारक भन्न सकिन्छ ।

किराँतकालीन नेपालको राजधानी कहाँ थियो, त्यो पत्ता लागेको छैन । लिच्छविकालीन नेपालको राजधानीचाहिँ काठमाडौं नै थियो । हालको हाँडीगाउँमा तत्कालीन दरवार थियो । इतिहासकार देवीचन्द्र श्रेष्ठका अनुसार, लिच्छविहरूको शासन विशालनगर भेगतिर थियो । तर, राजा जयदेव (द्वितीय) पछि एक्कासि यो शासन केन्द्र हराउँछ र हाम्रो इतिहासको मल्लकाल पुग्दा ‘भक्तपुर’ मा पो नेपालको राजधानी हामी भेट्टाउँछौं । (देवीचन्द्र श्रेष्ठ, ‘रत्न मल्ल र उनको समकालिक नेपाल मण्डल’ ।)

तर, सुरुको मल्लकालमा राजधानी भक्तपुर भए पनि कान्तिपुरको शक्ति भने मजबुत थियो । यहाँको व्यापार व्यवसाय सञ्चालन गर्न स्थानीय व्यापारीलाई महापात्रको रूपमा नियुक्त गरिएको हुन्थ्यो । तर, व्यापार बढ्दै गर्दा ती महापात्रहरूले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी पनि नियुक्त गर्न थाले । पछि राजनीतिमा पनि कब्जा जमाउन थाले । यसरी काठमाडौंले राजधानी भक्तपुरको त्रिपुर दरबारलाई समेत चुनौती दिन थाल्यो । उनीहरूलाई निगरानी गर्न तत्कालीन राजा यक्ष मल्लले आफ्ना छोरा राय मल्ललाई काठमाडौं खटाएका थिए । (देवीचन्द्र श्रेष्ठ, ‘रत्न मल्ल र उनको समकालिक नेपाल मण्डल’ ।)

यक्ष मल्लको मृत्युपछि उनका अर्का छोरा रत्न मल्लले नेसं ६०४ (विसं १५४१) मा काठमाडौं कब्जा गरी यहीँ शासन चलाउन थाले । शासन चलाएको मात्र होइन, तत्कालीन नेपालमण्डलको राजधानी पनि कान्तिपुरलाई नै बनाउने प्रयत्न गरे (देवीचन्द्र श्रेष्ठ, ‘रत्न मल्ल र उनको समकालिक नेपाल मण्डल’) । रत्न मल्लको शासन सुरु भएपछि काठमाडौं पुनः आफ्नो पुरानै शौर्यमा फर्कन थाल्यो । त्यसपछि भने यो नगरले आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । बरु अघि बढिरहेको छ निरन्तर ।

त्यसताका नेपाल राज्य मुख्य रूपमा दुई भागमा विभक्त थियो– केन्द्रबाट सोझै शासन गरिने प्रदेश र सामन्तद्वारा शासन गरिने प्रदेश (धनवज्र वज्राचार्य, ‘गोपालराजवंशावलीको ऐतिहासिक विवेचना) । काठमाडौं आकारले हालको ‘कोर सिटी’ मात्रै भए पनि यसको प्रशासनिक फैलावट भने हाँडीगाउँ, देवपत्तन र एक पटक त बनेपासम्म पनि फैलिएको थियो ।

त्यतिबेलाको काठमाडौंको आकारबारे चर्चा गर्दै विसं १८५० मा नेपाल आएका कर्णेल कर्कप्याट्रिकले आफ्नो भ्रमण वृत्तान्त ‘एन अकाउन्ट अफ द किंगडम अफ नेपाल’ मा लेखेका छन्, ‘...काठमाडौं सहरको लम्बाइ एक माइल र चौडाइ कतै आधा माइल छ त कतै चौथाइ माइल जति मात्रै छ ।’ पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दासम्म यो ठाउँमा करिब पाँच हजार घर र ५० हजारभन्दा कम जनसंख्या भएको अनुमान गरिएको छ (डा. साफल्य अमात्य, ‘काठमाडौं नगरायण) ।

भाषा वंशावलीमा भने कान्तिपुर नगरको स्थापना सन् ९८३ ताका लिच्छवि राजा गुणकामदेवले गरेको र त्यतिबेला यहाँ दैनिक १ लाखको व्यापार हुने एवं १८ हजार घर भएको उल्लेख छ । राजा गुणकामदेवले उतिबेला खड्ग आकारमा आठ कुनामा आठै मातृका स्थापना गरी यो नगर निर्माण गरेको भनिए पनि इतिहासकारहरू भने गुणकामदेवले पहिल्यै स्थापना भइसकेको नगरलाई व्यवस्थित शहरीकरण मात्रै गरेको हो भन्छन् ।

सानो आकार भए पनि यो ‘कोर सिटी’ लाई भौगोलिक, सांस्कृतिक दृष्टिकोणले विभक्त गरी व्यवस्थापन गरिएको थियो । भौगोलिक हिसाबले यसलाई यम्बु (माथिल्लो भेग), यंग्ल (तल्लो भेग) र स्वकम्बु (बीचको भेग) गरी तीन खण्डमा विभाजित गरिएको थियो । संस्कृतमा माथिल्लो भेगलाई कोलिग्राम र तल्लो भेगलाई दक्षिण कोलिग्राम नाम दिइएको थियो । यो दुई क्षेत्र सांस्कृतिक रूपले फेरि चार खण्डमा विभाजित छ । स्थानीय बौद्ध धर्मावलम्बीहरूले यसलाई थथुपुइँ (माथि ठहिटीदेखि असनचोकसम्म), दथुपुइँ (असनदेखि मखन टोलसम्म), लाय्कुपुइँ (मखनदेखि काष्ठमण्डप भएको क्षेत्रसम्म) र क्वपुपुइँ (काष्ठमण्डपबाट तल यंगाल–लगन टोलसम्म) नामले क्षेत्र विभाजन गरेको थियो (डा. साफल्य अमात्य, ‘काठमाडौं नगरायण) ।

व्यवस्थित सहर निर्माण गर्न यसलाई विभिन्न भेगमा विभाजन गर्नुपर्ने हुन्छ । राजा महेन्द्र मल्ल (सन् १५६०–१५७४) ले यो क्षेत्रलाई २४ वटा इलाकामा बाँडेका थिए । पछि यही २४ इलाका पनि विभक्त भएर ३२ वटा बन्यो । यो ३२ इलाका पछि ३२ वटा टोलमा रूपान्तरण भयो । भनिन्छ, यो ३२ वटै टोलमा प्रवेश गर्ने छुट्टाछुट्टै द्वारहरू पनि बनाइएका थिए ।

टोल मात्र होइन, त्यतिबेला काठमाडौंको यो नगर प्रवेश गर्न पनि सिमानाहरूमा विभिन्न द्वार बनाइएका थिए । यस्ता द्वारहरू भोटाहिटी, सुन्धारा, भीमसेनस्थान, ताम्सीपाखा, मरु टोल आदि स्थानमा थिए । यी द्वारहरू खासगरी काठमाडौं नगरको सुरक्षा गर्न बनाइएको थियो । केही इतिहासकारले काठमाडौंलाई घेर्ने गरी अग्ला पर्खाल पनि बनाइएको उल्लेख गरेका छन् । तर, पुरातात्त्विक अन्वेषणहरूले त्यस्तो पर्खालको कुनै अवशेष भने भेट्टाएको छैन । तथापि नगर प्रवेश गर्ने ठूला द्वारको अवशेष कतै भने भेटिएका छन् । द्वारकै कारण काठमाडौंका कतिपय टोलको नामकरणसमेत भएको छ, जस्तो ध्वाखाबहाः, मरुढोका, हनुमानढोका आदि । पृथ्वीनारायण शाहले काठमाडौं आक्रमण गर्दा यहीँभित्रकै कुनै मानिसले त्यो द्वार खोलिदिएको र त्यहीँबाट गोर्खाली सेना नगर प्रवेश गरेको बताइन्छ । यस्ता द्वारभित्रको क्षेत्रलाई ‘देशभित्र’ र द्वारबाहिरको क्षेत्रलाई ‘देशबाहिर’ भन्ने चलन राणाकालसम्म पनि चलेको थियो । त्यतिबेला ‘देशबाहिर’ पनि पातलो वस्ती त थियो, तर तिनीहरू ‘देशभित्र’ अछुत मानिन्थे ।

हरेक वर्ष इन्द्रजात्राको पहिलो दिन काठमाडौंवासीहरू आफ्ना दिवंगत आफन्तका नाममा नगर परिक्रमा गर्छन् । यो परम्परालाई ‘उपाकू वनेगु’ भनिन्छ । नगर परिक्रमा गर्दा काठमाडौंको यही पुरानो सिमानालाई नै प्रदक्षिणा गरिने विश्वास गरिन्छ, जसलाई फटाफट पार गर्ने हो भने दुई घण्टा पनि लाग्दैन ।

अहिले नेपालको संस्कृति भनी प्रचार गरिएका सबैजसो काठमाडौंली–संस्कृति आयोजना गरिने मूल थलो पनि यही ‘कोर सिटी’ नै हो । इन्द्रजात्रा, पाहाँचःर्‍हे, सेतो मछिन्द्रनाथको जात्रा, गाईजात्रा, सम्यक, पञ्चदान आदि पर्व यही क्षेत्रमा आयोजना गरिन्छ । राजनीतिक रूपले पनि यो क्षेत्र सुरुदेखि नै सचेत छ । २००७ सालको क्रान्ति हुँदा आयोजना गरिने सबैजसो सभा सम्मेलनहरू यही क्षेत्रका इटुम्बहाल, यट्खा बहाल, असन चोक, इन्द्रचोक आदि ठाउँमा सम्पन्न हुन्थे । १९९७ सालमा फाँसी दिइएका चार सहिदमध्ये तीन जना यही क्षेत्रका वासिन्दा थिए ।

अहिले काठमाडौं विस्तार भइसकेको छ । हालको काठमाडौं महानगरपालिका नै पनि यो ‘कोर सिटी’ को सम्पूर्ण क्षेत्रभन्दा करिब ५० गुणा ठूलो छ । तर, काठमाडौंको कुनै पनि सामाजिक, सांस्कृतिक अवधारणा भने यही क्षेत्रको मनोविज्ञानले निर्माण गर्छ । तीन वर्षअघि उर्लिएको गुठी विधेयकविरुद्धको आन्दोलनमा सम्पूर्ण उपत्यकावासी सहभागी भएको भए पनि त्यो आन्दोलनको पृष्ठभूमि यही ‘कोर सिटी’ को मनोविज्ञानले तयार पारेको थियो । कोर सिटीभित्रका स्थानीयवासी अहिले विभिन्न कारणले पुरानो ठाउँ छोड्दै अन्यत्र बसोबास गरिरहेका छन् । तर, भौतिक बसाइँ–सराइ अन्यत्र गरिहाले पनि उनीहरूले मनोवैज्ञानिक आवास भने कोर सिटीभन्दा बाहिर लैजान सकेका छैनन् । त्यसैले त गुठी आन्दोलन हुँदा सबै जना पुनः ‘कोर सिटी’ के गुरुत्वाकर्षणले तानिए ।

कोर सिटी मूलतः सांस्कृतिक नेपालको केन्द्र नै हो । यसलाई ‘स्थानीय’ बनाउने पहिलो कार्य भने विसं १९७६ को पौष २ गते तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले गरेका थिए । सो दिन यहाँको फोहोर सफाइ गर्न उनले एउटा ‘सफाइ अड्डा’ स्थापनाको घोषणा गरेका थिए । त्यो अड्डा हालको धर्मपथमा राखिएको थियो । २००३ फागुन २ गते श्री ३ पद्मशमशेरले त्यसलाई ‘म्युनिसपालिटी’ बनाए । विभिन्न २१ इलाकाबाट २१ जना प्रतिनिधि निर्वाचित पनि भए । तर, त्यसले कुनै काम गर्न सकेको थिएन । २०१० मा अर्को चुनाव भयो । त्यतिबेला २१ इलाकालाई घटाएर १८ वटा वडा बनाइयो । साथै ‘म्युनिसपालिटी’ भन्ने नाम हटाएर ‘काठमाडौं नगरपालिका’ राखियो । त्यही काठमाडौं नगरपालिका विसं २०५२ मंसिर २९ गते ‘काठमाडौं महानगरपालिका’ घोषित भयो (भुवनलाल प्रधान, ‘काठमाडौं उपत्यकाका सांस्कृतिक छिर्कामिर्का’) ।

अहिले ‘कोर सिटी’ मा मात्र काठमाडौं छैन । तर, कोर सिटीबिनाको काठमाडौं भने काठमाडौं हुने छैन । कोर सिटी आकारले सानो भए पनि यसको सांस्कृतिक गुरुत्व अति सघन छ । यदि यो सानो भूमिको टुक्रोलाई काठमाडौंबाट झिक्ने हो भने त्यहाँ ‘काठमाडौं’ रहने छैन । यो साढे दुई वर्गकिलोमिटर क्षेत्रफल भएको भूमिको टुक्रो नै एउटा यस्तो भूमि हो, जहाँ गएको ४ हजार वर्षअघि नै सहर बसिसकेको थियो । नयाँ बनेका सहरहरूले आकारमा, भव्यतामा, भौतिक सुविधामा जित्न सक्लान्, तर इतिहासमा जित्न सक्दैनन् । काठमाडौंको कोर सिटी इतिहासको त्यही जित्न नसकिने भूमिको एक टुक्रो हो ।

प्रकाशित : जेष्ठ १४, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

‘एक्लो’ काठमाडौंको प्राचीन कथा

बलियो घर, बलियो बाटो र बलियो ढल बन्दैमा काठमाडौं बलियो भयो भन्न मिल्दैन । काठमाडौंको बलियोपन यसको अविच्छिन्न नगर सभ्यता र अटुट इतिहासको शृङ्खलामा निहित छ ।
सुरेश किरण

स्थानीय चुनाव आँगनमै आइपुगिसक्यो । काठमाडौंको आकाश उति खुलिसकेको छैन, चुनावका उम्मेदवारहरूचाहिँ खुलिसकेका छन् । उम्मेदवारले आफ्ना एजेन्डा पनि करिब–करिब पूरै शो गरिसकेका छन् । एजेन्डामा लेखिएका बुँदा पुरानै छन्– धूवाँ, धूलो, फोहोर, सडक, पेटी आदि–आदि । तर, काठमाडौं आफ्नो मुटुमा यति मात्रै विकृति बोकेर बाँचिरहेको छैन । धूवाँ, धूलो र फोहोरबाट मुक्त हुनेबित्तिकै काठमाडौं बाँच्छ भनेर कसैले सोच्छ उसलाई भन्नुपर्छ– तिमीले आजसम्म न काठमाडौंलाई बुझेका छौ, न काठमाडौंको रोग चिनेका छौ । काठमाडौंको विरासत थाम्नु आकाश थाम्नुजस्तो होइन ।

सबैजसो इतिहासकारले स्विकारेकै विषय हो– काठमाडौं ३ हजारदेखि ३५ सय वर्षदेखि अस्तित्वमा छ । नेपालको वर्तमान सरहदभित्र यति पुरानो सहर अर्को छैन । नेपालको हालको सीमा क्षेत्रभित्र नगर सभ्यतासहित अस्तित्वमा रहेको काठमाडौं उपत्यका नै एक मात्र सहर हो । काठमाडौं सबैभन्दा पुरानो मात्र होइन, प्राचीन नगर सभ्यता बोकेको ‘एक्लो’ सहर पनि हो । काठमाडौंको सहरी सभ्यता ऐतिहासिक होइन, प्राग्ऐतिहासिक छ । इसापूर्व छैटौं शताब्दीदेखि नै यो सहरमाथि लेखिएको छ । इतिहासका विभिन्न कालखण्डमा काठमाडौंले आफ्नो नाम बदल्दै आए पनि यसले मौलिक चरित्र भने बदलेको छैन । उबेलाको काठमाडौंको नाम नै नेपाल थियो । उतिबेलाको ‘नेपाल’ हालको काठमाडौं खाल्डो मात्रै थियो वा त्योभन्दा बाहिर पूर्व–पश्चिमको भूभाग पनि थियो भन्ने विषयमा गहिरो विवाद छ । विवाद नभएको यति मात्रै हो– काठमाडौं खाल्डोचाहिँ नेपालभित्रै पर्छ । अरू भूभाग पर्छ कि पर्दैन थाहा भएको छैन । लिच्छविकालमा नेपाल भ्रमण गर्ने विदेशी विद्वान्हरूले पनि काठमाडौं खाल्डोमा पाइला टेकेपछि मात्रै आफू नेपाल पुगेको भनी लेखेका छन् ।

नेपाल राज्यको वर्तमान भूभागभित्र नेपालमण्डलबाहेकका अन्य क्षेत्रमा लिच्छविकालमा पनि भूमि थियो, मानव बसोबास थियो, तर नगर थिएन । केही नगर नभएका होइनन् । तर, ती नगरहरू विभिन्न कालखण्डमा विभिन्न कारणले अस्तित्व नै लोप हुने गरी हराए । नहराएको काठमाडौं उपत्यका मात्रै हो । जस्तो शाक्यमुनि गौतम बुद्धका पालामा भारतवर्षमा विभिन्न नगर थिए । त्यसमध्ये हाल नेपालको सरहदभित्र पर्न आएको कपिलवस्तु पनि एक हो । कपिलवस्तु पूर्ण रूपले नगर सभ्यतासमेत भएको सहर थियो । पुरातात्त्विक अन्वेषणले यो पुष्टि गरेको छ । तर, बुद्धको समयपछि कपिलवस्तु पतन भएको देखिन्छ । इपू २४९ मा भारतका मौर्य सम्राट् अशोक लुम्बिनी आउँदा कपिलवस्तु अस्तित्वबाट गायब भइसकेको थियो । कौशल देशका राजा विरुद्धकले इपू ५०० तिर गरेको भीषण आक्रमणबाट कपिलवस्तु ध्वस्त भइसकेको थियो भने त्यहाँ बसोबास गर्ने शाक्यहरू भागेर अन्तै पुगिसकेका थिए । त्यसैको एउटा समूह काठमाडौं खाल्डोमा आएर यहीँ बसोबास गरेको इतिहास छ ।

त्यस्तै वर्तमान नेपालको सरहदभित्र अस्तित्वमा रहेको अर्को नगर तिरहुत थियो । यसलाई सिम्रौनगढ पनि भनिन्छ । हालको बारा जिल्लामा पर्ने यो नगर नेपाल र भारतको विभिन्न भूमिमा फैलिएको थियो । इस्वीको दसौं शताब्दीमा भारतको कर्णाटकबाट युद्ध जित्दै बंगालसम्म आइपुगेका सेनापति नान्यदेवले यो नगर बसाएको देखिन्छ । यो तत्कालीन मिथिला प्रदेशकै राजधानी थियो । मिथिला प्रदेशको विदेह सभ्यता वैदिककालमा अत्यन्त चर्चित थियो । नान्यदेवकै वंशका सातौं पुस्ताका राजा हरिसिंह देवको शासनकालमा दिल्लीका मुस्लिम राजा गयासुद्दिन तुगलकको आक्रमणमा परी सन् १३२४ मा सिम्रौनगढ नगर पनि ध्वस्त भयो । आक्रमण थेग्न नसकी भागेर आएका तिनै राजा हरिसिंह देवकी श्रीमती देवलदेवीले नेपालमा शरण लिएको र त्यसपछि नेपालको इतिहासमा नयाँ अध्याय सुरु भएको मानिन्छ । नेपालको बारा, पर्सा जिल्लाका केही ग्रामीण भूमिमा गरिएको सामान्य उत्खनन्मा नगर सभ्यताका केही अवशेष पाइएको थियो ।

त्यसैगरी नेपालको इतिहासमा ठूलै राज्य सञ्चालन भएको एउटा भूभाग कर्णाली प्रदेशको खस राज्य पनि थियो । विक्रमको बाह्रौं शताब्दीमा नागराजले कर्णालीको भूमिमा खस राज्य स्थापना गरेको इतिहास छ, जसको राजधानी दुल्लु र सिञ्जा थियो । तर, विसं १४५० तिर खस राज्य पनि फुटेर बाइसे–चौबिसे राज्यमा विभाजन हुन गयो । यी बाइसे–चौबिसे राज्यहरू पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले ‘नेपाल एकीकरण’ मा नपारेसम्म स्वतन्त्र राज्य थिए (डा. राजाराम सुवेदी, कर्णाली प्रदेशको मध्यकालीन इतिहास) ।

तर, कर्णाली प्रदेशमा खस राज्य भए पनि त्यहाँ कुनै नगर भने थिएनन् । लेखक मोहनबहादुर मल्लका अनुसार, तत्कालीन रजौटाहरूको खरका टहराहरूको बस्ती हुन्थ्यो । र, जता शत्रुको भय हुन्थ्यो उतै बलियो पार्नुपर्ने हुन्थ्यो । त्यसैले बाइसे–चौबिसे राज्यमा सहर बस्न सकेन (कर्णाली प्रदेशका पाल, प्राचीन नेपाल) ।

पृथ्वीनारायण शाहले ठूलो मुलुकको महाराज बन्ने सपनाका साथ विभिन्न ठाउँमा आक्रमण गरिरहेका बेला यहाँ विभिन्न जातिका छुट्टाछुट्टै राज्यहरू अस्तित्वमा थिए । ती विभिन्न जातिका पनि छुट्टै राज्य, छुट्टै भूमि र छुट्टै सरकार थिए, तर त्यहाँ नगर थिएन । केही ठाउँमा मानव बस्ती भए पनि त्यो नगरको स्तरमा थिएन ।

लिच्छविकालीन अभिलेखहरूमा पनि केही स्थानको नाम उल्लेख छन् । तर, ती नामहरू सहरका हुन् कि गाउँका, त्यो थाहा हुन सकेको छैन । त्यति मात्रै होइन ती स्थान अहिले कहाँ छन् त्यो पत्तो लगाउन समेत इतिहासकारहरूलाई हम्मे परेको छ । जस्तो इतिहासकार ज्ञानमणि नेपालले वनियम्प्यविषय, मग्वरविषय, धवलस्रोतपुर, गण्डीगुल्मविषय, जिग्लोद्गमविषय आदि केही नामहरू दिएका छन्, जो नेपाल खाल्डोभित्रका बस्ती हुन् वा बाहिरका भन्ने थाहा हुन सकेको छैन । मानदेवले चाँगुको अभिलेखमा उल्लेख गरेको ‘मल्लपुरी’ पनि कता हो, अहिलेसम्म पत्तो छैन ।

कुनै पनि नगरको पतन हुनुका विभिन्न कारण हुन्छन् । जस्तो बाह्य आक्रमण, प्राकृतिक प्रकोप, आगलागी, महामारी इत्यादि । काठमाडौंले यी जम्मै प्रकोप इतिहासभरि नै झेल्यो । कर्णालीका खस राजा जितारी मल्लले काठमाडौंमा विसं १३४४ मा पहिलो पटक आक्रमण गरेका थिए । उनी र त्यसपछिका खस राजाहरूले काठमाडौंमा सात पटक आक्रमण गरेको इतिहास छ । एक पटक त ललितपुर सहर नै आगो लगाएर जलाइएको थियो । उता दक्षिणको सिम्रौनगढले पनि विसं १३५७ मा नेपालमण्डलमा पहिलो आक्रमण गरेको थियो । त्यसपछि पनि अनेक पटक आक्रमण गरी तत्कालीन नेपालमण्डल राज्यलाई ध्वस्तै पार्ने प्रयास भएको थियो । विसं १५६० ताका पाल्पाका पराक्रमी राजा मुकुन्दसेनले पनि यहाँ भयंकर आक्रमण गरेका थिए । त्यति मात्रै होइन, बंगालका सुल्तान समसुद्दिनले पनि सन् १३४९ मा यहाँ गरेको आक्रमण कम डरलाग्दो थिएन । उनले यहाँको पशुपति, स्वयम्भूलगायत बस्तीबस्तीमै लगाएको आगो महिनौं जलिरहेको थियो । उनले ध्वस्त पारेका सम्पदा पुनर्निर्माण गर्नै दशकौं लाग्यो ।

भूकम्प त काठमाडौंको नियमित पर्वर् ैभन्दा हुन्छ । हरेक सय वर्षमा एक पटक महाभूकम्पले तहसनहस पारेको इतिहास छ । त्यसमध्ये विसं १३१२ मा आएको महाभूकम्प डरलाग्दो थियो । त्यसैमा परी तत्कालीन राजा अभय मल्लको देहान्त भएको थियो । विसं १२८९ मा आएको महामारीले मानिसहरू खानै नपाएर मर्ने अवस्था आएको थियो । त्यस्तै विसं ९३६ मा तत्कालीन राजधानी रहेको विशालनगरमा भयंकर आगलागी भएको थियो । आगलागीपछि नगरको राजप्रासाद नै सार्नुपरेको थियो ।

विश्वका धेरै सम्पन्न र शक्तिशाली नगर यस्ता घटनाले पतन भएको इतिहास छ । काठमाडौंले ती सबै विपत्ति झेलेको छ, तर कुनै पनि विपत्तिले काठमाडौंलाई पतन गर्न सकेन ।

काठमाडौंमा नगर सभ्यता बन्नुअघि वा बनिसकेपछि अस्तित्वमा आएका कतिपय नगर बीचैमा लोप भएर गए, तर काठमाडौं टिकिरहेकै छ । यसले बताउँछ, काठमाडौंको नगर सभ्यता पुरानो र मौलिक मात्र होइन, मजबुत पनि हो । कति मजबुत भने गोर्खाली राजा पृथ्वीनारायण शाहले पनि तत्कालीन नेपाल जितिसकेपछि यो मुलुकको नाम नै गोर्खा राखेका थिए । तर, उनले नेपाललाई गोर्खा बनाउन सकेनन् । बरु कालान्तरमा गोर्खा नै नेपाल बन्न पुग्यो ।

त्यसैले बलियो घर, बलियो बाटो र बलियो ढल बन्दैमा काठमाडौं बलियो भयो भनी मान्न सकिँदैन । काठमाडौंको बलियोपन यसको अविच्छिन्न नगरसभ्यता र अटुट इतिहासको शृङ्खलामा निहित छ । नगर सभ्यतालाई कमजोर बनाएर काठमाडौंलाई बलियो बनाउन सकिँदैन ।

प्रकाशित : वैशाख १७, २०७९ ११:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×