कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाको किनारामा, राज्यको किनारामा  

मृत्युजस्तो जीवनको अन्तिम सत्यमा पनि सहारा दिने कोही नभएपछि बादीहरु खोला किनार खोज्दै बस्न थाले । पाउनु–गुमाउनु केही नभएका उनीहरुको जीवन खोला किनारामै सहज भयो । बहिष्करणले खोला किनारामा पुर्‍यायो बादीहरुलाई । किनारालाई सहारा बनाएका बादी आज पनि त्यहीँ छन् । 
अस्मिता बादी

चाहे व्यक्ति होस् या समुदाय सबैका आ–आफ्नै कथा छन् । माया, प्रेम, सद्भाव र अभावका कथा छन् । बादी समुदायको भोगाइ पनि आफैंमा एउटा कहालीलाग्दो कथा हो, जसमा अभावै अभाव छ अनि छ— जमिनको ब्यथा । अन्धकार भविष्य र पिल्सिएको एक मुठी सासभन्दा बाँकी केही छैन त्यहाँ ।

खोलाको किनारामा, राज्यको किनारामा  

मान्छेहरू जस्ता देखिने यी ‘अमान्छे’ हरू इतिहासदेखि नै एकाधबाहेक अधिकांश खोला किनारमा घर बनाई बसेका छन् । जीविका धान्नका लागि बालुवा चाल्न वा माछा मार्न सहज होस् भनेर ‘अमान्छे’ हरू खोला किनारामा बसेका होलान् भनी अन्दाज लगाउनुभो भने तपाईंको अन्दाज स्वाभाविक छ, तर वास्तविकता यस्तो छैन, निकै तीतो छ । जात व्यवस्थामा आधारित समाजको पीँधमा रहेका बादी समुदाय सदियौंदेखि बहिष्करणको दलनमा भासिन बाध्य भए । बहिष्करणको कुनै हद थिएन ।

कथित उच्च जात कहलाइनेहरूले बादी समुदायका मान्छेलाई छुँदा पनि छुँदैनथे । दलितभित्रको पनि दलित मानिने यो समुदाय अन्य दलित समुदायबाटै पनि अपहेलित र तिरस्कृत बन्यो । मानिसका जीवनमा भैपरी आउने दुःख र सास्तीहरूमा, अझ भनौं मर्दा–पर्दा पनि समाजको साथ पाएन बादी समुदायले । ‘जिउँदाको जन्ती, मर्दाको मलामी’, सुन्दा सुन्दर लाग्ने यो कहावत अभिशाप बन्यो यो समुदायका लागि । बादी हुनु भनेको अपशकुन हुनु थियो बादीबाहेकका मान्छेका लागि । त्यसैले परिवारका मरुहरू पनि एक्लै सामाना गर्नुपर्‍यो बादिहरूले । मृत्युजस्तो जीवनको अन्तिम सत्यमा पनि सहारा दिने कोही नपाएपछि बादीहरू खोला किनारहरू खोज्दै बस्न थाले ।

परिवारले सहजै आफ्नै बलबुतामा लास गाड्न सकून् भनेर उनीहरू खोला किनारामा बसेका हुन् । पाउनु र गुमाउनु केही नभएका बादीहरूले खोला किनारामै जीवन सहज भएको महसुस गर्न थालेपछि बस्तीहरू बसाउन तम्सिए । बस्ती बाक्लिएपछि लास जलाउने चलन अवलम्बन गरे पनि पहिले गाड्ने गरिन्थ्यो । यसरी बहिष्करणले खोला किनारमा पुर्‍यायो बादीहरूलाई । जीवन धान्ने बाध्यताले खोला किनारमा पुर्‍यायो बादीहरूलाई । किनारालाई सहारा बनाएका बादीहरू आज पनि त्यहीँ छन्– राज्यको किनारामा, खोलाको किनारामा । दुवैको किनारामा ।

***

सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी अर्थात् मुटु हो । यहीँबाटै विकास र समृद्धिका सपना सञ्चार हुने गर्छन्, यहीँ छ बादी बस्ती– वीरेन्द्रनगरबाट करिब दस किलोमिटर पूर्वको झुप्रा खोलाको किनारामा । यहाँ करिब १ सय १६ घर धुरीको बाक्लो बस्ती छ, जो आज पनि समृद्धिको सपना बुन्दै अन्धकारमै रुमलिइरहेको छ । यो बस्तीको अवस्था काठमाडौंका लागि कर्णाली भनेझैँ छ, जहाँ आज पनि बिजुली, पिउने पानी, शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पुगेकै छैन । बाटोघाटो र रोजगारी त दूरको कुरा भयो । घना जंगलबीच बग्ने झुप्रा खोला किनारलाई सहारा बनाई जीवन धानेका उनीहरूको जीवनको केन्द्रविन्दु भनेकै खोलाको बालुवा मात्रै हो ।

बालुवामै उनीहरूको जीवन निर्भर छ । तर, अहिले त्यही बालुवा उठाउन पनि ठेकेदारलाई ठेक्का दियो स्थानीय सरकारले । उनिहरूको जिउने आधार खोसियो । कस्तो विडम्बना ! किनाराको बालुवा देख्ने स्थानीय सरकारले त्यही बालुवाकै सहारामा ‘बाँचेका’ हरूलाई देखेन, तिनका आँखाबाट झरिरहेका आँसुका भेल देखेन । वर्षात्मा छाना र खाना दुवैबाट बन्चित उनिहरूका भोको पेट र आङमा टाँस्सिएको च्यातिएको थोत्रो लुगा देखेन । अहिले पनि वर्षामा ढुङे युगझैं ओढारमै बस्नुपर्ने बादीको बाध्यतालाई नियालिरह्यो मात्रै स्थानीय सरकारले ।

यस विषयमा बादी समुदायले आवाज नउठाएको होइन, कयौं बिन्ती नगरेको होइन, सानोतिनो विद्रोह पनि गरिएकै हो, तर स्थानीय सरकारले हाम्रा आवाजलाई ध्यान दिएन । सुनेन कि नसुनेझैं गर्‍यो ? उही जानोस् । यो बस्तीको आहत न स्थानीय सरकारले देख्छ, न प्रदेश, न संघले । कर्णालीको राजधानी सहरको केन्द्रविन्दुमै रहेको यो बस्ती त चरम दमन र शोषणमा छ भने अन्य ठाउँमा बादी समुदायको अवस्था कस्तो होला ? सम्झेरै आङ सिरिङ्ग हुन्छ ।

बादी समुदायभित्रैको यो कथा, इतिहास र वर्तमान आजसम्म कमै सुनिए, लेखिए । अझ समुदायका महिला तथा बालबालिकाको अवस्था झनै दयनीय छ । आधारभूत आवश्यकता पनि पूर्ति नहुँदा अधिकांश बालबालिकाको भविष्य अन्धकार भइरहेको छ । महिलाहरूको त अस्तित्वमै बारम्बार सवाल उठाइन्छन् । फरक–फरक समयमा अनेकन् पात्रहरूले बादी महिलाको बाध्यतामा टेकेर शोषण गरे । उनीहरूको स्वाभिमान–इमानको हुर्मत काढे । बादी महिलाको विवशतालाई यो वर्तमानले गम्भीर विवेचना गरोस् । यो कस्तो व्यवस्था हो, जहाँ सधैं कसैलाई कसैले नङ्ग्याइरहन्छ ? र, नङ्ग्याउनेहरू शानको जिन्दगी बाँच्छन् र नाङ्गिनेहरूको विवशतालाई यही व्यवस्थाले बारबार उदाङ्गो बनाइरहन्छ ?

मलाई अच्चम लाग्छ, ती मान्छे देखेर जसले प्रकाश सपुतको गीती भिडियोको पन्ध्र सेकेन्डको क्लिपलाई लिएर वकालत गरे, नारीहरूको अस्मिता र अस्तित्वको बयान गरे, तर बादी महिलाको चरित्रलाई खुलेआम लिलाम गर्दा पनि तिनले चुइँक्कसम्म बोलेनन् ।

राज्य व्यवस्थाले नै मान्छे नमानेको यो समुदायभित्रका महिलालाई पुरुषप्रधान समाजका पितृसत्तात्मक मनोविज्ञानका मान्छेले कसरी महिला मानून् त ?

जात व्यवस्थाले जकडिएको यो संरचनामा बादी समुदायले कहिल्यै आत्मासम्मानका साथ सास फेर्न पाएन । र, यही सामाजिक संरचनाभित्र बादीहरू कहिल्यै अरूको जस्तो समान सपना देख्न सक्ने अवस्थामा छैनन् र पनि समानताका खोक्रा सपनाहरू बुनिइरहन्छन् ।

देशमा संविधान आयो । त्यसको मौलिक हकमै लेखिए दलितका हक अधिकार, जमिन, आवास, सम्मान, समानता आदि इत्यादि, तर ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भने झैं भयो बादी समुदायका लागि । मौलिक हकअन्तर्गत नै दलित हक अधिकार समेटिएपछि बादी समुदायले पनि राहतको सास नफेरेको कहाँ हो र ? तर, ती हक कागजमै सीमित भए । यता बादी समुदायको दैनिन्दिनको मिहिनेत भनेकै एक छाक टार्नु मात्रै हो । न यहाँ वर्तमान छ न भविष्य । छ त केवल बालुवा, गिट्टी अनि असीमित दुःख ।

सदियौंदेखि जीवन र जमिनका लागि लडाइँ लडेको बादी समुदाय किनारामै छ, भोक– प्यासमा छट्पटिँदै । राज्यले आफ्नो संरचनाभित्र अटाउन नसकेको यो समुदाय अब पहिचान र भोकको मात्रै होइन, अझ भनौं ‘तिम्रो व्यवस्थाभित्र बादी समुदायलाई पनि अटाइदेऊ’ भनी आफ्नो रोदन मात्र देखाउने छैन । अब तिम्रो समाजिक संरचना र तिम्रो सत्ताविरुद्ध सडकमा संघर्ष गर्नेछ, किनभने बारबार फेरिएको तिम्रो व्यवस्थाले मेरो अर्थात् समग्र बादी समुदायको अवस्था फेर्न सकेन । अब बादी समुदायले आफ्नो अवस्था आफैं फेर्नेछ ।

प्रकाशित : जेष्ठ ७, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?