एक क्रान्तिकारी, एक लिजेन्ड- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एक क्रान्तिकारी, एक लिजेन्ड

चिनियाँ नयाँ पुस्तालाई हिजोका दुःखका दिन र संघर्षको सम्झना नहुन सक्छ । तर, माओ त्से तुङमाथि निर्माण भएका यी तीन फिल्मले तत्कालीन चिनियाँ परिवेश, इतिहासलगायत अरु महफ्वपूर्ण एवं ऐतिहासिक पात्र तथा घटनाहरुको सम्झना गराउँछ । 
रघु पन्त

काठमाडौँ — राजनीतिक विषयमा बनेका सिनेमाहरूमा तथ्य र कलाको संयोजन भए ती निकै प्रभावशाली हुन्छन् । केही महिनाअघि युट्युबमा मैले चिनियाँ सिनेमाहरू हेरेँ । त्यसमध्ये केही सिनेमा माओ त्से तुङ र चिनियाँ क्रान्तिसम्बन्धी थिए । 


चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास, चिनियाँ क्रान्तिको इतिहास, माओ त्से तुङले लेखेका दार्शनिक–राजनीतिक लेख, उनीमाथि लेखिएका अनेकौं पुस्तक पढेको पाठकको हैसियतमा यी विषयसँग सम्बन्धित सिनेमाहरू पहिले पनि हेरिसकेको थिएँ । तर, चीनमा चिनियाँ क्रान्ति, त्यहाँको संघर्ष, चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका नेताहरूबारे समय समयमा नयाँ सिनेमा र टेलिफिल्महरू पनि निरन्तर बनिरहेकै हुन्छन् । निकै अनुसन्धान, अध्ययन र मिहिनेत गरेर बनाइने यस्ता सिनेमा जानकारीमूलक, तथ्यपरक र कलात्मकसमेत हुन्छन् ।

मैले हेरेका चिनियाँ फिल्ममध्ये यहाँ तीनवटाको चर्चा गरौं ।

चुन्यी कन्फ्रेन्स र द लिजेन्ड अफ– १९३५

सन् १९२१ मा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक नेतामध्ये एक थिए– माओ त्से तुङ । त्यस वर्षको जुलाईमा चीनका विभिन्न भागबाट छानिएर आएका १३ जना प्रतिनिधिहरू सांघाईमा भेला हुन्छन् र चिनियाँ कम्युनिस्ट पार्टी गठन गर्छन् । त्यस सम्मेलनमा अनुपस्थित रहे पनि छन् तु स्यु पार्टीको महासचिव छानिन्छन् । तर, उनको नेतृत्वमा कम्युनिस्ट पार्टीले सही नीति लिन नसकेको र उनले बढी दक्षिणपन्थी नीति लिएको आरोप लाग्दै जान्छ । माओ त्से तुङ पनि उनका नीतिको आलोचकका रूपमा देखिँदै जान्छन् । त्यसपछि क्रमशः चु चु पाई, ली ली शान, वाङ मिङ, लो फु आदि नेतृत्वमा आउँछन् । र, उनीहरूको नेतृत्वमा पार्टीले यो वा त्यो प्रकारको उग्र वामपन्थी गल्ती गर्दै जान्छ । यी सबै नेताहरू सँगै कम्युस्निस्ट इन्टरनेसनलले खटाएका विदेशी प्रतिनिधिसँग पनि माओको वैचारिक संघर्ष चर्कंदै जान्छ ।

वैचारिक संघर्ष चर्कंदै जाने क्रममा सन् १९३२ मा भएको निङ्दु सम्मेलनले माओ त्से तुङलाई पार्टीको नेतृत्वदायी समूह र लालसेनाको कमिसार पदबाट हटाएर ओट्टो बारन, बो गुओ र चाउ एन लाईसहितको तीन जनाको समिति (थ्री पर्सन ग्रुप) लाई लालसेनाको नेतृत्व दिएको थियो । ओट्टो बारन कमिन्टर्नले चीनमा खटाएका प्रतिनिधि थिए र उनी जर्मन नागरिक थिए । कमिन्टर्नको प्रतिनिधिका रूपमा उनी चिनियाँ कम्युनिस्ट पार्टीका सबै महत्त्वपूर्ण बैठकमा भाग लिन्थे र निर्देशनसमेत दिन्थे । सैनिक मामिलामा समेत उनी हस्तक्षेप गर्थे ।

लङ मार्चका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले कोमिन्ताङसँगको लडाइँमा निरन्तर क्षति भोग्दै जान्छ । लालसेनाका सिपाहीहरू धमाधम मारिँदै जान्छन् । पार्टीले संघर्षमा निरन्तर धक्का खाँदै र असफलता भोग्दै जान्छ । यो बेलामा माओ त्से तुङ पार्टी र सेनाको नेतृत्वदायी कोर समूहमा हुँदैनन् । तर, उनी निरन्तर राजनीतिक र सैनिक क्षेत्रमा उग्र वामपन्थी गल्तीहरू भइरहेको तथ्यलाई औंल्याउँदै ती गल्ती सच्याउन जोड दिइरहन्छन् । निरन्तरको असफलताले गर्दा माओ त्से तुङले प्रस्तुत गरेका विषयमा छलफल गर्नुपर्ने अवस्थामा पार्टी पुग्छ । विशेषगरि माओ त्से तुङका विचारहरूमा चाउ एन लाई सहमत हुन्छन् र अरू नेतालाई पनि सहमत गराउने प्रयत्न गर्छन् ।

लङ मार्चकै क्रममा चुन्यी भन्ने ठाउँमा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीअन्तर्गतको पोलिटब्युरोको विस्तारित बैठक बस्छ, १९३५ को जनवरी महिनाको १५ देखि १७ तारिखसम्म । त्यस बैठकमा माओ त्से तुङ पार्टीले तत्कालीन अवस्थामा लिइरहेको राजनीतिक र सैनिक नीतिको कडा आलोचना गर्छन् र आफ्ना वैकल्पिक नीति प्रस्तुत गर्छन् । कम्युनिस्ट इन्टरनेसनल (कमिन्टर्न) का प्रतिनिधि ओट्टो बारन र पार्टी महासचिवका रूपमा काम गरिरहेका बो गुओ माओको विपक्षमा उभिन्छन् । तर, चाउ एन लाई, चु तेह, लिन पियाओ, तेङ स्याओ पिङ, लिउ शाओ ची, छन् युनलगायतका महत्त्वपूर्ण नेताले माओ त्से तुङलाई साथ दिन्छन् । विशेष गरि पार्टीले भोगिरहेको असफलतामा अत्यन्त चिन्तित रहेका चाउ एन लाईले माओको विचार र नीतिको पक्षमा अरू नेताहरूलाई सहमत गराउन भूमिका खेल्छन् । ओट्टो बारन र बो गुओ, जो महसाचिवका रूपमा कार्यरत छन्, उनीहरू अल्पमतमा पर्छन् ।

चुन्यी सम्मेलनले माओ त्से तुङलाई पार्टीको नेतृत्वदायी कोर टिममा स्थापित गर्छ । माओ त्से तुङको विचार र नेतृत्वलाई पार्टीमा स्थापित गर्न चाउ एन लाईले निर्णायक भूमिका खेल्छन् । १९३२ मा माओलाई हटाएर बनेको ओट्टो बारन, बो गुहो र चाउ एन लाई रहेको थ्री पर्सन ग्रुप (तीन जनाको समिति) लाई विघटन गरिन्छ । माओ त्से तुङ, चाउ एन लाई र झाङ वेन तियाङ रहेको नयाँ समिति गठन गरिन्छ भने बो गुओका ठाउँमा झाङ वेन तियान (लो फु) महासचिवका रूपमा काम गर्न थाल्छन् । चुन्यीमा भएको त्यही कन्फ्रेन्सपछि माओ त्से तुङ निर्विवाद रूपमा चिनियाँ कम्युनिस्ट पार्टी र लालसेनाको सर्वोच्च कमान्डरका रूपमा स्थापित हुँदै जान्छन् । लालसेनाले निरन्तर सफलता प्राप्त गर्दै जान्छ ।

माथि उल्लेख गरिएका यिनै विषयवस्तुमा केन्द्रित भएर बनेको छ– ‘चुन्यी कन्फ्रेन्स’ शीर्षकको यस सिनेमा ।

चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा ‘चुन्यी कन्फ्रेन्स’ लाई इतिहास मोड्ने र नयाँ इतिहास बनाउने सम्मेलनका रूपमा लिइन्छ । कमिन्टर्नका प्रतिनिधिको तुजुकले ग्रस्त व्यवहार, हस्तक्षेप तथा रुसमा पढेर फर्केका २८ बोल्सेविकहरूको नेतृत्व र प्रभावबाट चिनियाँ कम्युनिस्ट पार्टीलाई मुक्त गर्ने काम पनि त्यही सम्मेलनले गरेको थियो । त्यही बैठकले जापानको विरोधमा लड्न संयुक्त मोर्चा बनाउने र च्याङ काई सेकको घेराबन्दी तोड्न गोरिल्ला युद्ध लड्ने माओको नीति पास गरेको थियो । यस्तो गम्भीर राजनीतिक विषयमा बनेको यो सिनेमाले चीनका जनताको संघर्ष, त्यहाँको तत्कालीन अवस्था र माओको राजनीतिक एवं सैनिक रणनीतिकारको भूमिकासमेत बुझ्न मद्दत गर्छ ।

कथा, पटकथा, संवाद, छायांकन र निर्देशनका दृष्टिले पनि सिनेमा अब्बल छ । सन् २०१६ को सेप्टेम्बरमा प्रदर्शन भएको यो सिनेमाको निर्देशन हु मिङ्गगाङ्ग र यु लानले गरेका हुन् ।

चुन्यी सम्मेलनलाई नै केन्द्रीय विषयवस्तु बनाएर बनेको अर्को प्रभावकारी चिनियाँ सिनेमा पनि छ । सन् २०१७ मार्चमा प्रदर्शनमा आएको ‘द लिजेन्ड अफ १९३५’ उस्तै प्रभावशाली छ । झाउ की र मा देलिनले यस सिनेमा निर्देशन गरेका हुन् । चुन्यी बैठकमा आफ्ना विचारले अरूलाई चित्त बुझाएर सैद्धान्तिक–वैचारिक, सैनिक र रणनीतिक रूपमा आफूलाई नेता मात्रै नभइ ‘लिजेन्ड’ कै रूपमा प्रस्तुत गर्न माओ कसरी सफल हुन्छन् भन्ने यस सिनेमाले देखाएको छ । लङ मार्चमा भोगेको दुःख, गरेको त्याग, च्याङ काई सेकको आक्रमणलगायतका विषयलाई सिनेमाले सिलसिलावद्ध देखाएको छ ।

सन् २०१६ मा चुन्यी बैठकमाथि केन्द्रित ‘चुन्यी कन्फ्रेन्स’ लगत्तै एक वर्षपछि ‘द लिजेन्ड अफ १९३५’ सिनेमा बनेको हो । यसले पनि चिनियाँ कम्युनिस्ट पार्टी र चीनको राजनीतिक इतिहासमा चुन्यी सम्मेलनको प्रभाव, भूमिका निकै गहिरो अनि महत्त्वपूर्ण भएको देखाउँछ । यही विषयमा चीनमा अरू पनि थुप्रै सिनेमा र टेलिसिरियल बनेका छन् । यहाँ मैले हेरेका चुन्यी कन्फ्रेन्ससम्बन्धी दुई सिनेमाको मात्रै चर्चा गरेको हुँ ।

माओ त्से तुङ १९४९

जनवादी गणतन्त्र चीन स्थापनाको ७०औं वर्षलाई ध्यानमा राखेर सन् २०१९ को सेप्टेम्बरमा प्रदर्शनमा आएको थियो सिनेमा ‘माओ त्से तुङ १९४९’ । यो प्रशंसित र सफल सिनेमाको निर्देशन हुवाङ्ग जियानसिन र निङ्ग हाइकियाङ्गले गरेका हुन् । हुवाङ्ग जियानसिन तिनै निर्देशक हुन्, जसले ‘द फाउन्डिङ अफ ए पार्टी’ र ‘द फाउन्डिङ अफ ए रिपब्लिक’ जस्ता चर्चित, प्रशंसित र सफल फिल्म बनाएका थिए ।

यो सिनेमा सन् १९४९ मा गणतन्त्र चीनको स्थापना हुने बेलाको सन्दर्भ र पृष्ठभूमिमा बनेको छ । यो सिनेमाले चिनियाँ इतिहास र क्रान्तिका केही महत्त्वपूर्ण घटनाको पुनःस्मरण गराउँछ । सिनेमामा केही महत्त्वपूर्ण युद्ध र गृहयुद्धका कठोर दृश्यहरू छन् भने माओ त्से तुङको पारिवारिक जीवनका केही पक्षलाई पनि चित्रण गरिएको छ ।

माओको सरलपना, उनको व्यक्तित्वका केही विशेषता, अंगरक्षक र साना नानीहरूसँग रमाउने स्वभाव, आफ्ना छेउछाउका सामान्य मानिसबारे समेत ध्यान दिने मानवीय विशेषता र रंगमञ्च–कलाकारहरूप्रति सम्मान एवं प्रेम दर्साउने स्वभावमाथि पनि सिनेमामा स्वाभाविक चित्रण छ ।

तर, सिनेमाको केन्द्रीय विषयवस्तु भने चिनियाँ लालसेनाले जित्दै राजधानी पेकिङ (बेइजिङ) नियन्त्रणमा लिन लागेको, च्याङ काई सेक पराजित हुँदै ताइवान भाग्न लागेको र माओ त्से तुङले नयाँ जनवादी चीनको घोषणाको तयारी गरिरहेको सेरोफेरोमा छ । नयाँ चीनको निर्माण गर्न चीनका एक से एक प्रतिभाको परिश्रम, संघर्ष, लाखौं चिनियाँको बलिदान परेको विषयलाई सिनेमामा कलात्मक ढंगले देखाइएको छ । सिनेमाको केन्द्रीय पात्र र मुख्य नायकका रूपमा माओ त्से तुङ छन् । तर, चाउ एन लाई, लिउ साओ ची, सुङचिङ लिङ, तेङ सियाओ पिङ, ये चियन यिङ, लिन पियाओ, चु तेह, माओका छोरा माओ आन यिङ, च्याङ काई सेकजस्ता ऐतिहासिक पात्रहरूको अभिनय पनि यस सिनेमामा अत्यन्त स्वाभाविक छ ।

चीनका विख्यात पटकथा लेखक हे जी पिङका साथै अन्य दुई मिलेर तीन जनाले लेखेको यो सिनेमाको पटकथा गतिवान् छ । प्राविधिक रूपमा पनि सुन्दर यो सिनेमा जम्मा ६७ दिनमा निर्माण भएको थियो । राजधानी पेकिङ (बेइजिङ)को पश्चिमपट्टि पहाडमा रहेको बगैंचासहितको परम्परागत भिल्लामा माओ त्से तुङ दलबलसहित बसेका हुन्छन् । च्याङ काई सेकका गुप्तचरहरू हत्या गर्न माओ खोजीरहेका हुन्छन् । तर, केन्द्रीय कमिटीको बैठक, नेताहरूसँगको छलफल र नयाँ चीनको घोषणाको रूपरेखा कोर्न व्यस्त हुन्छन् माओ ।

यस सिनेमामा राजनीतिक विषय प्रमुख भए पनि सिपाही र योद्धाहरूका प्रेम–प्रसंग अनि पारिवारिक घटनासँगै जीवनका स–साना विषय समेटिएका छन् । पटकथा अत्यन्तै स्वाभाविक छ भने निर्देशन पनि प्रभावकारी छ । माओ त्से तुङ नयाँ चीनका पिता समान कसरी थिए भन्ने तथ्यलाई सिनेमाले मिहिन ढंगले देखाउन सफल भएको छ । त्यसबेलाको पेकिङ (बेइजिङ) र त्यस वरपरको कालखण्डको पनि चित्रण छ सिनेमामा ।

यस फिल्ममा माओ बनेका कलाकार ताङ्ग गुओ चियाङ्गले पहिले पनि धेरै टेलिसिरियल र फिल्महरूमा माओको भूमिकामा अभिनय गरेका थिए । यो फिल्ममा अभिनय गरिसकेपछि उनले भनेका थिए, ‘माओ त्से तुङको मानिसक र भावनात्मक संसारलाई बुझ्न मलाई यो भूमिकाले निर्क मद्दत गर्‍यो ।’

यो सिनेमाले चिनियाँ इतिहासको गौरवशाली कालखण्डको छोटो समय र प्रसंग मात्रै समेटेको छ । तर, त्यो समय, प्रसंग र कालखण्डका पात्रले इतिहासलाई नयाँ मोड र दिशा दिइरहेको तथ्यलाई सिनेमाले प्रभावशाली ढंगले स्थापित गरेको छ ।

लेखन, गायन, नाटक मञ्चन वा सिनेमा निर्माणजस्ता विषय मानव समाजका सांस्कृतिक सिर्जना हुन् । यी सिर्जनामार्फत मानव समाजले आफ्नो इतिहास, व्यथा, गाथा र कथाहरू भनिरहेको हुन्छ । आफ्ना आशा, आकांक्षा र भविष्यलाई सिर्जनामार्फत मानव समाजले खोज्छ । विगतको गौरवशाली इतिहास र त्यसका घटनालाई नयाँ पुस्तामा जानकारी गराउने प्रभावशाली कला माध्यम पनि हो– सिनेमा । राम्रा सिनेमाले दर्शकलाई संवेदनशील, सचेत, सभ्य, सुसंस्कृत नागरिक बन्न प्रेरित गर्छ भने आफ्नो इतिहास, सभ्यता, संस्कृति, स्वाभिमान र कलाबारे पनि जिज्ञासु अनि जानकार बनाउँछ ।

आजको चीनको नयाँ पिँढीलाई हिजोको दुःखका दिन र संघर्षहरूको सम्झना नहुन सक्छ । तर, यहाँ उल्लेख गरिएका तीन सिनेमाले माओ त्से तुङको मात्रै नभइ तत्कालीन परिवेश, इतिहासलगायत अरू महत्त्वपूर्ण एवं ऐतिहासिक पात्र तथा घटनाहरूबारे बुझाउँछ ।

नेपाली सिनेकर्मीहरूले पनि यस्ता फिल्म हेर्नु जरुरी छ । राम्रा फिल्म हेर्नु पनि एउटा अध्ययन हो । विश्वसिनेमाका प्रवृत्ति, प्रभाव, प्रविधि र तरिकाबारे जानकारी भयो भने हामी पनि हाम्रा कथाहरू सिनेमामार्फत् सुन्दर ढंगले भन्न सक्छौं ।

यी तीन फिल्मले चिनियाँ इतिहासका केही झलक र झिल्काहरू देखाएका छन्, जसले चिनियाँ इतिहास र क्रान्ति बुझ्न सघाउँछ ।

प्रकाशित : जेष्ठ ७, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्

मेरो एकल गायन, मेरो एकल श्रोता

रामेश श्रेष्ठ

काठमाडौँ — बानेश्वर जाने उकालोको देब्रेतिर उपेक्षित रूपमा रहेको एउटा सानो ढिस्के डाँडो... ! उजाड... नीरस... लावारिस... ! के उदेक भयो कुन्नि, एक्कासि युवायुवतीहरूको चहलपहल देखिन थाल्यो त्यहाँ ! रमाइलो थियो वातावरण ! नाटकघरहरू तयार हुँदै थिए- एउटा अलि ठूलो, अर्को अलि सानो, अझै अलि पर अन्य कार्यक्रमहरूका लागि मजाको एउटा अर्को हल पनि ।

ल एउटा रमाइलो गाउँ नै तयार भयो ! कतै कविता गोष्ठी, कतै नाटक, कतै सांगीतिक कार्यक्रम । उत्सुक दर्शक, कलाकारहरूको रमाइलो उपस्थिति ! होडिङबोर्ड, फ्लेक्स, पोस्टर र अन्य रंगीन कलाकृतिहरूद्वारा सजाइएको गुल्जार र रंगीन वातावरण ! सुनीलको सपनाको साकार रूप गुरुकुल डाँडो । तल सडकमा टेम्पो, माइक्रोबसका ड्राइभर र खलाँसीहरू गाडी रोकेर यात्रुहरूतिर हेर्दै कराउँथे, ‘कोइ छ गुरुकुलमा झर्ने... ?’

नाटकहरू हेर्न साथीहरूसँग म बरोबर गुरुकुल डाँडा पुगिरहन्थेँ । एक दिन नाटक सुरु हुन लागेको थियो, गुरुकुलका सञ्चालक सुनील पोखरेल मनिर आएर भन्नुभो, ‘दाइ, आउने फागुपूर्णे गुरुकुलमा तपाईंको अनौपचारिक गीति कार्यक्रम गर्ने ।’ म जिल्ल पर्दै थिएँ, सुनीलले एक सासमा अरू थप्नुभो, ‘नाइँ भन्न पाउनुहुन्न दाइ, त्यो दिन तपाईंले नपत्याएका विशिष्ट श्रोताहरू आफ्ना अगाडि पाउनुहुनेछ । गीतको फर्माइस गर्नेचैं एक्लो म मात्र हुनेछु । तपाईंले मेरो छनोटका गीतहरू गाउने बस्... ।’

लौ त्यो दिन आयो । दुईतीन दिनदेखि सचेत अनि सतर्क थिएँ म, मेरा विशिष्ट श्रोताहरूलाई गीत सुनाउन । को होलान् त ती विशिष्ट ! म मनमनै सोच्थेँ अनि सुनीलको अरू भनाइ सम्झन्थेँ, ‘नामचैं भन्दिनँ, तपाईं आफैं सोच्नुहोला को होलान् ती ! तर, कार्यक्रममा गाइने गीतचैं सबै कवितात्मक, कलात्मक मात्र हुनुपर्छ । आम मान्छेहरू सोच्छन् तपाईं क्रान्तिकारी गायक हो, तर म त्यो मात्र मान्दिनँ । तपाईंका ती भावपूर्ण गीतहरूलाई सम्मान गर्छु म ।’

नयाँबजारको डेराबाट गुरुकुलतिर लाग्छु, पैदलैपैदल । रङ, अबिर, पिच्कारी, प्लास्टिकका पाउचहरू बोक्दै धुस्रेफुस्रे केटाकेटीहरू महसुरिएर सडकमा निस्किसकेका हुन्छन् । जोगिँदै, बच्दै गुरुकुल पुग्छु । आरोहण नाट्य समूहका एक हूल कलाकर्मीहरू देख्नेबित्तिकै होहल्ला गर्दै मलाई छोप्न आइपुग्छन्, ‘ओहो दाइ, हजुर त चोक्खै ! हुन्न हुन्न हुन्न !’ आरोहणका एक रंगकर्मी भाइले गालामा अबिर दल्दिहाल्छन् । ‘दाजु म पनि हजुरको निधारमा अबिरको एउटा सानो टीका लाइदिऊँ है...,’ लरबरिएको स्वरमा अर्को मूर्ति आइपुग्छ । तिनका अनुहारतिर हेर्छु-

लट्ठिएका राता आँखाहरू, लरबरिएको स्वर, बटारिएका परेला, कसैकसैको मुखबाट त दूधजस्तो सेतो के हो बगिरहेको ! नमज्जा मान्दै थिएँ, मेरो अनुहारको भाव पढेर एक जना बैनी नजिकै आएर अर्कै पारामा बिस्तारै होस पुर्‍याएर बोल्न थाल्छिन्, ‘दाजु, हामीलाई गाली नगर्नू है । आज फागुपूर्णे, शिवका भक्तभक्तिनी भएका छौं । वर्षमा एक दिन त यस्तो हुन पनि पाउनुपर्छ नि हगि दाजु... ?’ अलिपरबाट सिसाको गिलासमा सेतो झोल भरेर अलिअलि चुहाउँदै, पोखाउँदै, लडखडाउँदै मलाई ताक्दै कोही आइरहेको देख्छु । ‘लौ यसले त मलाई घोट्टा पिलाएरै छोड्छ कि क्या हो !’ होसियार हुँदै भित्रतिर लस्किन्छु । हलभित्र रित्ता कुर्चीहरू र खाली मञ्च देख्दा मन झल्याँस्स हुन्छ, ‘ओहो म त यहाँ गीत गाउन पो आएको त !’

अब सुनीललाई कहाँ खोज्नु लौ यस्तो लथालिंगे वातावरणमा ! हैरान हुन्छु । बाहिर जाऊँ होली आतंक, भित्रको हालत यस्तो ! ‘कि म झुक्किएँ ? आज हैन कि क्या हो ?’ कानमा सुनीलको आवाज प्रस्टै गुन्जिन्छ, ‘फागुपूर्णेको दिन ।’ एक जना भाइ फुत्त भित्र पस्छन,् सोध्छु, ‘भाइ, सुनील कहाँ हुनुहुन्छ ?’ ‘यतै हुनुहुन्थ्यो, खै कता जानुभो । तपाईं आए हार्मोनियम लग्दिनू भन्नुभाथ्यो ।’ ऊसँग पल्लो घर पुगेर हार्मोनियम बोकेर ल्याउँछु । मौन हार्मोनियम बाजा, श्रोताविहीन हल अनि चुपचाप टोलाइरहेको म प्रस्तोता... ! कताबाट हो फुत्त सुनील आइपुग्नुभयो । ‘दाइ, सबै बिस्तारै आउँछन् । सबै आएपछि सुरु गर्नुहोला, म पनि आउँछु अहिले एक्कै छिनमा ।’

आधा घण्टा, एक घण्टा बित्न लागिसक्यो...! अहँ कोही हलभित्र पस्दैनन् त ! हल खाली भए पनि मेरो मनभित्रचैं एउटा खपिनसक्नुको खुलदुली मच्चेको छ छ...‘मैले गीत सुनाउने मेरा विशिष्ट श्रोताहरू को होलान् त हँ ? मेरा चिनेका नचिनेका ती आदरणीयहरू... !!!’

करिब एक घण्टा बित्न लाग्दा बिस्तारै वरिपरि हेर्दै एक जना श्रोता भित्र पस्नुहुन्छ । श्रद्धापूर्वक नमस्कार गर्छु । ‘खै त अरू कोई छैनन्, म त ढिला भयो भन्दै आएको त अरू झन् ढिला रहेछन् ।’ भित्र त्यति अँध्यारो छैन, ठिक्कको उज्यालो छ । भुइँमा चकटीहरू छन्, किन हो उहाँ त्यहीँ बस्न मन पराउनुभयो । म पनि कुर्चीमा बसिनँ, उहाँछेउको चकटीमा हार्मोनियम लिएर बसेँ । निकै लामो प्रतीक्षापछि पनि कोही आएनन्, आउने छाँट पनि देखिएन ।

अब म गीत गाउने सुरसारमा लागेँ । उहाँ मेरो आदरणीय एक्लो श्रोता, वातावरण सहज बनाउन मिठासपूर्ण तरिकाले कुराकानी गर्न थाल्छु :

‘दाइ मेरो गीत सुन्न आउनुभो, तर दाइले मलाई त्यति चिन्नुहुन्छ र ?’

‘चिन्छु,’ खरो स्वरमा छोटो उत्तर ।

‘तर, दाइलाई हाम्रो कार्यक्रमहरूमा मैले कहिल्यै देखेजस्तो लाग्दैन । हाम्रो गीतहरू सुन्नुभाको छ र ?’

‘नेपाल भाषाको कार्यक्रमहरूमा रामकृष्ण दुवालसँग तपाईंले गाएको सुनेको छु,’ त्यस्तै ठाडो उत्तर ।

‘दाइलाई हाम्रो, मेरो कुन गीतको सम्झना छ होला त ?’ उत्सुक भएर सोध्छु ।

‘गाँ गाँम दनावा’ र दुर्गालालको ‘झी गरिबया गरिब हे पासा’ भन्ने गीत ।’

‘दाइ म पनि नेवार त नेवारै हुँ, तर पहाडे नेवार । मैले गाउँदा भाषा त्यति शुद्ध र प्रस्ट होला कि नहोला, जे होस् आज त्यै नेवारी गीतबाट कार्यक्रम सुरु गर्छु ।

‘झी गरिबया गरिब हे पासा हवैतिनी झिगु न ला आशा...’

निकै घोरिएर एकचित्तसँग दाइले गीत सुन्नुभयो । केही प्रतिक्रिया दिनुभएन । मान्छेहरू भन्थे,

‘उहाँ त्यस्तो मान्छे हो, जो दुई घण्टासम्म एक शब्द नबोली बस्न सक्नुहुन्छ ।’ केही छिन हार्मोनियममा लयहरू खेलाएपछि मैले महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको गीत गाएँ :

‘सुनको दिन एक उदाउँछ रे...’

फेरि केही चालचुल छैन । सुनील भाइ नभए पनि अब उहाँले मन पराउने एउटा गीत गाउने विचार गरेँ र भावुक हुँदै गाउन सुरु गरेँ :

‘कोसीछेउ उभ्भेको सिमल जत्ति नि बाँच्दिनँ म

त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिनँ म...

एक दिन म मरुँला, संसारमा नरहुँला

मेरो सिमलकाठको डुंगा पनि मक्किएर जाला

तर युगयुगसम्म यो नदी, यो आकाश रहिरहला

नदी तार्ने बूढो माझीको काम यो संसारमा रहिरहला

ओहो... जीवन भन्नु के हो र, बाँच्दा गरिने काम न हो

अघिअघिका पूर्खाहरू, पछि आउने सन्ततिहरू

यी दुवैको बीचको बहना लिएको म

एकदम बूढो भैसकेँ, सेतै सेतै भैसकेँ

त्यै सिमल काटी बनेको डुंगा जत्ति नि बाँच्दिन म

कोसीछेउ उभ्भेको सिमल जत्ति नि बाँच्दिनँ म...’

बडो भावुक भएर गीत सुन्नुभयो दाइले । कता कता हराएजस्तो पनि देखिनुभयो ।

‘जीवन भन्नु के हो र, बाँच्दा गरिने काम न हो’ भन्ने हरफ गाउँदा निधारमा हात राख्दै सोचिलो मुद्रामा बस्नुभएको दाइले एकपल्ट पुलुक्क मलाई हेर्नुभयो ।

बाहिर होलीको होहल्ला मत्थर भैसकेजस्तो लाग्थ्यो । शिवघोट्टा लगाएका भाइबैनीहरू पनि नशाको प्रभावबाट ढिला हुँदै लाखापाखा लागे कि झैं भान हुन्थ्यो ! एउटा गीत गाएपछि मैले पनि बिदा लिने विचार गरेँ । ‘दाइ, यो प्रश्नगीत हो गौतमबुद्धसँग । यो गीतको बारे मैले केही भन्नै पर्दैन, दाइ आफैं धेरै जानिफकार हुनुहुन्छ । तर, दाइ यो गीत सुनेपछि यसले मलाई अर्कैखाले प्रभाव पार्‍यो । नेपाल भाषामा भएकाले यसको अर्थ म राम्ररी बुझ्दिनथेँ । रामकृष्ण दुवालजीले शब्दशब्दसहित सम्पूर्ण गीतको भावार्थ राम्ररी बुझाउँदै यो बौद्धमार्गीहरूको अति प्यारो गीत भएको बताउनुभयो । मलाई लाग्छ, बौद्धधर्ममार्गीहरू यो गीत आफ्नै सोच र बुझाइबाट गाउँछन् होला । तर, जब मैले यो गीत सुनेँ, सिकेँ आफ्नै सोच, आफ्नै अर्थ र बुझाइ ।’ त्यसपछि गाउन थालेँ :

‘झ्यालनं फय् वया मतजक सित यो माँ

झ्या तिगु गय् योमा झ्या तिगु गय्...’

आदरणीय पाठकहरू, यहाँहरूसमक्ष म नेपाली भाषामा गीतको अर्थ राख्न चाहन्छु– ‘झ्यालबाट बतास पसेर निभाउन मात्र खोज्छ – बत्तीलाई कसरी जोगाऊँ आमा, बत्तीलाई कसरी जोगाऊँ ? बत्तीस लक्षणले धपक्क बलेको हाम्रो मानवचोला चहकिलो बत्तीजस्तै सुन्दर र आकर्षक छ, तर झ्यालबाट पस्ने बतासले हरपल यो जीवनबत्ती निभाउन मात्र खोजिरहन्छ, यसलाई कसरी जोगाऊँ आमा म ? ज्ञानरूपी रत्नहरूले जगमग–जगमग चम्किरहने हाम्रो मानव जीवन अमूल्य र अपारको छ । तर, हावाको झोंक्का झ्यालको खापा उघारेर कोठाभित्र पस्दै यो जीवनज्योति निभाउन मात्र खोज्छ आमा कसरी जोगाऊँ म, कसरी जोगाऊँ ! ज्ञानी मान्छेहरू भन्छन्– बत्ती निभ्न नदिन झ्यालको खापामा चुकुल लाउने जुक्ति त छ नि ! तर, त्यो ज्ञान ममा छैन आमा, कसरी यो बत्तीलाई निभ्न नदिई जोगाइराखूँ म !!’

गीत सुनिसकेपछि दाइ केही बोल्न खोज्नुभएजस्तो लाग्यो, तर बोल्नुभएन । म उहाँको चेहरामा अनेकखाले भावहरूको उतारचढाव मिहिनसँग हेरिरहेको थिएँ । हलुका स्वरमा विनम्रतापूर्वक मैले गीतबारे आफ्नो धारणा उहाँलाई सुनाउन थालेँ, ‘दाइ, म सानैदेखि राजनीतिक वातावरणमा हुर्किएँ । राजनीतिक क्षेत्रमा पूर्ण समर्पित मेरो ठूलो दाइ भनिरहनुहुन्थ्यो– नीतिहरूमा श्रेष्ठनीति राजनीति । बुझ्नेहरूले बुझे पनि, नबुझ्नेहरूले नबुझे पनि राजनीतिबाटै देशका हरेक गतिविधिहरू सञ्चालन भइरहेका हुन्छन् । राजनीतिक प्रभाव देशका हरेक मानवजीवनमा परिरहेको हुन्छ । सात सालको क्रान्तिमा पूर्ण रूपमा होमिनुभएको दाइ प्राय: भनिरहनुहुन्थ्यो– क्रान्तिमा साथ दिन हामी जनतालाई भन्ने गर्थ्यौं– राणाशासन समाप्त पारेर, सात सालको महान् क्रान्ति हामी कांग्रेसी शक्तिबाट सफल भएपछि देशमा प्रजातन्त्रको उज्यालो दियो जगमग–जगमग बल्न थाल्छ । न्याय, समानताको उज्यालोले देश स्वर्णिम युगमा प्रवेश गर्छ । नभन्दै जनताको शक्ति र साथ पाएपछि क्रान्ति सफल त भयो, प्रजातन्त्र पनि आयो, तर प्रजातान्त्रिक दियो चहकिलो भएर बल्न सकेन । फेरि बिस्तारै फर्कन थाल्यो उही पुरानै रीतिथिति, उही सामन्ती प्रणाली । कांग्रेस पसेका राणाकालीन ठालुहरूबाट उस्तै अत्याचारी गतिविधि ! फेरि पनि जनता समय–समयमा राजनीतिक परिवर्तनका लागि उठे, तर कुनै परिवर्तनले दियोमा तेल थपेन, बत्तीको इता उकासेन, अँध्यारो हटाउन सकेन, उज्यालो छर्न सकेन । नेपाली जीवनलाई सुखी र खुसी तुल्याउने लक्षणहरू केही देख्न सकिएन । गीतमा भनेजस्तो बत्ती त बल्यो, तर उज्यालो दिन सकेन ।’ मैले मेरो दाइको भनाइ राखेपछि उहाँसँग प्रश्न राखेँ, ‘किन दाइ, देशको हितमा चहकिलो बत्ती बल्न नदिने दूषित र विकृत शक्तिहरूलाई रोक्ने, हटाउने कुनै जुक्ति व्यवस्था हुँदैन ? धोका, विश्वासघात, बेइमानीहरूका षड्यन्त्रकारी गतिविधिहरू रोक्ने समाधानको कुनै चुकुल हुँदैन राजनीतिमा ?’

केही समयको मौनतापछि निकै भावुक र गम्भीर बन्दै दाइले मसिनो स्वरमा अड्की अड्कीे भन्नुभयो, ‘रामेशजी, यो गीत मैले जीवनमा धेरै पटक सुनेको छु, तर यसलाई आज अर्कै कोणबाट हेर्ने दृष्टि जुन तपाईंले सुनाउनुभयो त्यसले मलाई छोयो । घरमा पुगेर म फेरि एक पटक यो विषयमा गम्भीर ढंगबाट चिन्तन–मनन, विचार गर्छु ।’ दाइ उठ्नुभयो । म पनि उठेँ । दाइलाई गुरुकुल आँगनको ढोकासम्म पुर्‍याएर फर्किएँ । त्यो दिन मेरा लागि अनौठो र अविस्मरणीय थियो । गीति कार्यक्रमको प्रस्तोता म एक्लै र मेरो कार्यक्रम सुन्ने श्रोता पनि नितान्त एक्लै !! रित्तो हलभित्र नयाँ अनुभूतिमा डुब्दै, हराउँदै धेरैबेर एक्लै बसिरहेँ... ! मनले सोचिरहेथ्यो– बोलाएको ठाउँमा हिँडेरै लुरुलुरु आइपुग्नुहुने अनि कार्यक्रम सकिएपछि पनि हिँडेरै लुरुलुरु घरतिर जानुहुने सत्यमोहन जोशी दाइ सायद यतिबेला डिल्लीबजार छिचोलेर बागबजारतिर पुग्नुभयो होला... !

प्रकाशित : जेष्ठ ७, २०७९ १२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×