गोपाल योञ्जन स्मृति दिवस

सङ्गीतका एक भर्च्युओसोको सम्झना

अग्रज सङ्गीत–शिल्पी, नेपाली सङ्गीत प्रवीणमध्ये एक गोपाल योञ्जन (२६ अगस्ट १९४३–२० मे १९९७) लाई उनको स्मृति दिवसमा एक कविमार्फत हामीले सम्झिन चाहेका छौं ।
विप्लव प्रतीक

काठमाडौँ — बाल्यकाल छुट्दै थियो आयुको कन्तुरबाट र किशोरवयतर्फ लम्किँदै थिएँ म । तिनताक रात बडो अँध्यारो हुन्थ्यो, अहिले अलि फिक्का भएजस्तो लाग्छ अँध्यारो । त्यस्तो चुक घोप्टिएको रातमा रेडियो नेपालको रात्रिकालीन सेवामा बज्ने आधुनिक गीतहरूको कार्यक्रम सुन्नुको मजा नै बेग्लै हुन्थ्यो । 

सङ्गीतका एक भर्च्युओसोको सम्झना

अचेल जताततै आवाज छ । म ती दिनको कुरा गर्दै छु, जतिखेर कम थियो कोलाहल । र, म ती दिनको कुरा गर्दै छ,ु जतिखेर रेडियो कमै घरमा हुन्थ्यो । अहिलेजस्तो असङ्ख्य एफएम होइन रेडियो नेपालबाट मात्रै प्रसारण हुन्थे गीतहरू । त्यो पनि बिहान केही घण्टा, दिउँसो केही घण्टा र साँझदेखि रात नपरुन्जेल केही घण्टा । र, जोसँग रेडियो हुन्थ्यो तिनीहरू प्रसारणको अन्तिम घडीसम्म सकेसम्म ठूलो स्वरमा रेडियो बजाइरहन्थे । अहिले त्यस्तो बानी राम्रो मानिँदैन, तर त्यतिखेर त्यसबाट छिमेकीको शान्ति खलबलिन्छ भन्ने न बजाउनेको मनमा हुन्थ्यो, न अर्को छिमेकीलाई शान्ति खलबलिएको आभास हुन्थ्यो ।

र, मेरा लागि भने त्यो घन्काई मानौं वरदान नै थियो । आफ्नो घरको फुच्चे पानासोनिक रेडियोबाट सुनिने पातलो स्वरभन्दा रातको चकमन्नलाई चिर्दै आउने मर्फी रेडियोको आवाजमा ज्यादा गमक हुन्थ्यो र त्यो हृदयको गहिराइसम्म पुग्थ्यो । त्यही कालखण्डमा मैले एक रात एउटा गीत सुनेँ । गीत थियो– ‘सारा दिन अरूलाई बाडेँ, सायद यी रात मेरा ।’ त्यो गीत मेरो बालमनले बुझ्यो/बुझेन के थाहा ? मेरो बालमनमा त्यो गीतको अर्थ कसरी खुल्यो होला ? पक्कै पनि त्यो गीतको गाम्भीर्य त बुझेन होला मनले । कसरी मेरो हृदयस्पर्श गर्‍यो कुन्नि त्यो गीतले ? जो मेरो मन पर्ने नेपाली गीतहरूमध्ये सधैं एक बन्यो । दाइ गोपाल योञ्जनसँग मेरो परिचय यही गीतबाट भयो । हुर्किँदै गएँ, सुन्दै गएँ, नयाँ नयाँ लेयरहरू खुल्दै गयो त्यस गीतको । र, नजिकको साइनो गाँसिदै गयो उहाँका अरू गीतहरूसँग, र जीवनलाई बुझ्न सिकाउँदै गए उहाँका गीतहरूले ।

गोपाल योञ्जनका कृतिलाई विश्लेषण गर्नु फूललाई पराग दिनु हो या फूललाई मानिसले सुगन्ध दिन खोज्नुजस्तै हो । उहाँका गीत मात्र मनोरञ्जन होइनन्, जीवनलाई हेर्ने ढङ्ग, प्रेमलाई महसुस गर्ने मन र जीवनयात्रालाई दिन सकिने सार्थक मोडहरूको खोजी हो । गीतमा काव्यरस भएन भने त्यो मृत शब्दहरूको थुप्रो मात्र हुन्छ । र, उहाँका गीतहरू नै छैनन्, जसमा त्यो रस नहोस् । रस त रस भयो, तर सुस्तरी त्यसमा लेखकको दर्शन नथाहापाउँदो तरिकाले गीतमा मिसाइदिनु अर्को कला हो । उहाँका गीतमा त्यस्ता उदाहरणहरू एक खोज्यो, अनेक भेटिन्छ । उदाहरणका लागि– ‘केही चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ ।’ पढ्दा सरल छ, तर यसभित्रका लेयरहरू मान्छेका अनुभवपिच्छे र संवेदनअनुसार विभिन्न हुन पुग्दछ । अर्को एउटा गीतको हरफ छ– ‘मेरो गीत भन्ने अधिकार छैन, गीतको पो म हुँ, मेरो गीत होइन ।’ काव्यप्रेमीलाई यस हरफले सोचको सागरमा डुबाइदिन सक्छ ।

सङ्गीतले गीतलाई आकार दिनुपर्छ, गीतले भन्न खोजेको कुरालाई सङ्गीतले अझ स्पष्ट गराइदिनुपर्छ । उहाँमा यो शील्प यथेष्ट थियो, जुन भाग्यमानी कलाकारको तकदिरमा मात्र हुन्छ । उहाँको तकदिरमा अर्को रमाइलो कुरा पनि छ– त्यो के भने नेपाली आधुनिक गीतको इतिहासमा उहाँ एउटा यस्तो दुर्लभ सङ्गीतकार पनि हुनुहुन्थ्यो, जसले बनाएका सबै गीतहरू लोकप्रिय भएका छन् । एउटा कवि वा कलाकारको मन निर्मल, ‘फोकस्ड’ र संसारको हितका निम्ति समर्पित हुनुपर्छ । उहाँका गीतहरू सुन्दा यही कुरा स्वस्फूर्त महसुस हुन्छ । कति गम्भीर छन् उहाँका प्रेमगीतहरू, सुन्नेहरूलाई नै थाहा छ कि तिनमा सस्तो भावुकता भेटिँदैन । गम्भीर छन् उहाँका देशप्रेम झल्किने गीतहरू र उहाँका स्पिरिचुअल (भजन होइन) गीतहरू । तिनमा धर्म होइन हिन्दु, बौद्ध, इस्लाम र इसाई दर्शनहरू सरलीकृत भएका छन् । पलिटिकल्ली करेक्ट भएर लेख्नुपर्ने बेला अहिले होला, ऊहाँको बेला त्यो थिएन, तर पनि उहाँका गीतहरू दोषरहित थिए । उहाँका गीतहरू सुन्दा लाग्छ, उहाँ बडो संवेदनशील हुनुहुन्थ्यो र आफ्ना हरेक गीतको आफैं समीक्षा गर्नुहुन्थ्यो– श्रोतासमक्ष पुग्नुअघि । उहाँले रोम्यान्टिक, जीवनदर्शनका गीतहरू मात्र लेख्नुभएन, उत्तिकै सबल बालगीत पनि लेख्नुभयो । ती गीतहरू सेन्ट जेभियर्स र सेन्ट मेरिज पढ्ने त्यसकालका विद्यार्थीहरूले मात्रै सुन्न पाए । कारण, ती गीत रेकर्ड त भए, तर एकाधबाहेक उबेलाको रेडियोसम्म पुगेनन् ।

नेपाली आधुनिक गीतहरूमा दु:खका गीत या भनूँ गम्भीर गीतहरू ज्यादा छन् भनेर गुनासो गर्ने पनि छन् । गोपाल योञ्जनका गीतहरूमा पनि यही कुरा लागू होला । तर, हामीले हेर्‍यौं भने संसारभरि नै रमाइला गीतहरू कम छन् गम्भीर गीतका तुलनामा । भनिएको छ नि– सबभन्दा मधुर गीत तिनै हुन्, जसमा विषादपूर्ण भावहरू हुन्छन् । वास्तवमा यदि कुनै सोचमा चुर्लुम्म डुब्ने कोसिस गर्‍यौं भने गम्भीर गीतमै खुसी फेला पर्छ । उहाँका गीतहरू सुन्दा तिनले र तिनमा भएका जुन दृष्टिकोणले जिन्दगी, प्रेम र सम्बन्धलाई हेर्न सिकाउँछ, त्यसले श्रोतालाई दर्शनको नौलो नेटोपारि पनि पुर्‍याउँछ । उहाँका गीतहरूले जीवन, प्रेम र सम्बन्धलाई बुझ्न सघाउँछ । र, ती गीतहरूले उदासीको सागरमा डुबाउँदैनन्, तिनले त आनन्दको आकाशमा कावा ख्वाउन लैजान्छन् । बुझाइको नवीन साम्राज्यमा पुर्‍याउँछन् र नौला डाइमेन्सनहरू देखाउँछन् तिनले । ती गीतहरू सुनेर अनेकन् श्रोताका चित्त शान्त हुन्छन्, र ज्युने नयाँ तरिकाको किरण सुन्नेहरूको सोचाकाशमा उदाउँछ ।

अनुप्रास मिलाउँदैमा गीत बन्दैन । भाव चाहिन्छ र मुख्य कुरा गीतमा काव्य हुनुपर्छ । संसारभरिका चर्चित गीतहरू सुन्दा यही नै लाग्दछ । गोपाल योञ्जनका गीतहरू पनि काव्यले भरिएका छन् । उहाँ आत्मरतिका लागि गीत बनाउनुहुन्नथ्यो या भनूँ लहडमा काम गर्नुहुन्नथ्यो । उहाँका गीत सुन्दा हरेक गीत उहाँका निम्ति यौटा ‘मिसन’ थियो । र, विविध विषयमा गीतहरू बनाउने उहाँको रुचि थियो । ‘मेरो गीत म उभिएको धूलोले सुनोस’ (रचना : नगेन्द्र थापा), ‘मलाई जिन्दगी यो लाग्दछ’ (रचना : ईश्वर बल्लभ), ‘शिखर भने कहाँ’, ‘लिई गला नदीको’, ‘चौतारीमा बसेर रुन पाऊँ’, ‘मेरो गीत मेरै प्रतिविम्ब होइन’, ‘मेरो पाउमा आज’, ‘दर्पण छाया हेरीहेरी’ र ‘मखमली चोलो’ जस्ता गीतहरूको सूची धेरै लामो छ, उहाँका गीत र सङ्गीतमा विविधता खोज्दै जाँदा । मलाई भने अक्सर उहाँको एउटा गीत याद आउँछ– ‘मन भाँच्ने कुरा, मन राख्ने कुरा ।’ त्यतिबेला नौलो कल्पनाशीलतामा बनेको यस गीतमा धुन, एरेन्जमेन्ट र गायकीको हृदयस्पर्शी सम्मिश्रण भेटिन्छ ।

नारायणगोपाल आफैंमा श्रेष्ठ कलाकार हुनुहुन्थ्यो । आवाज मात्रै उहाँको गुण थिएन, प्रचुर काव्यचेत र सङ्गीतको गम्भीर ज्ञान पनि थियो उहाँसँग । उहाँ आफैं पनि सङ्गीत गर्न सक्षम हुनुहुन्थ्यो । गोपाल योञ्जनसँग भेट हुनुअघि उहाँ आफैंले पनि सङ्गीत नगरेको होइन । तर, दुवैबीच मीतको साइनो लागेपछि जुन आपसी सहकार्य भयो त्यो वास्तवमै नेपाली आधुनिक सङ्गीतका लागि वरदान साबित हुन पुग्यो । उहाँले नारायणगोपाललाई जति गीत दिनुभयो, ती सबै सुनमा सुगन्ध बने । त्यो सङ्गमबाट जति पनि गीतहरूको नेपाली

सङ्गीत भण्डारमा अभिलेख भयो, ती कालान्तरसम्म नेपाली श्रोताहरूको हृदयमा गुन्जिरहनेछ । र, मेरो सम्झनामा रहेका दुईवटा त्यस्ता गीतहरू छन्, जुन गोपाल योञ्जनका तर्फबाट नारायणगोपाललाई अमूल्य मीत कोसेली हुन्– चलचित्र ‘कान्छी’ मा ‘हिमालसरी म अग्लिरहेछु’ र ‘बदलिँदो आकाश’ मा ‘जन्मनुपर्छ हरेक मानिस’ । यी दुई त्यस्ता गीत हुन्, जसमा नारायणगोपालको माधुर्य र रेन्ज दुवै उजागर हुन्छन् । गोपाल योञ्जन आफैंमा कुशल गायक हुनुहुन्थ्यो, तर उहाँले लोकप्रिय हुन सक्ने सम्भावना भएका गीतहरू आफैंले गाउने लोभ गर्नुभएन । आफ्ना मीतज्यूलाई मात्र होइन, माणिकरत्न र ध्रुव केसीजस्ता गायकलाई पनि उहाँले हृदयस्पर्शी गीत दिनुभयो । नयाँ कलाकारहरूले बडो सङ्घर्ष गर्नुपर्ने तथ्य थाहै छ । उहाँले त्यस्ता कलाकारहरूको बाटो सधैं सहज गरिदिनुभयो । सुशीला कंसाकार, इन्दिरा मास्के र विमला राई, किरण प्रधान, उदितनारायण झा र प्रकाश श्रेष्ठजस्ता गायकगायिकाहरूलाई उहाँले गाउने अवसर दिनु त्यसैको उदाहरण हो ।

पुरानो कुरा हो । म गीत लेख्न खोज्थेँ, भावहरू भागिदिन्थे, शब्दहरू शून्यमा बिलाउँथे । गोपाल योञ्जनका गीतहरू याद आउँथे । मैले सोचेको गीत त उहाँले पहिल्यै लेखिसक्नुभएको हुन्थ्यो । अनि, म गीत लेख्ने मुड त्यागिदिन्थेँ । केही वर्षपछि मभित्र पनि कुनै कुरालाई हेर्ने नयाँ कोण जन्मियो । उही प्रेम हो, उही मिलन र विछोड हो, उही सफर हो जिन्दगीको, तर महसुस फरक हो भन्ने मलाई लाग्न थाल्यो र म फेरि गीत लेख्न थालेँ । तर, यो कुरा मैले उहाँका गीतहरू सुन्दासुन्दै गुन्गुनाउँदै सिकेको हुँ । एक दिन कवि दाइ दुर्गालालसँग गोपाल योञ्जनका गीतबारे चर्चा चल्यो । मैले आफूलाई कण्ठ भएका सबै गीतहरू दुर्गा दाइलाई सुनाइदिएँ । एकपछि अर्को गीत बडो स्वाद मानीमानी सुन्नुभयो दाइले । कहिले जिब्रो टोक्नुहुन्थ्यो, कहिले ओहो भनेर ओठ गोलोगोलो पार्नुहुन्थ्यो र कहिले घत लागेर मुन्टो हल्लाउनुहुन्थ्यो । जब मैले ‘मेरो गीत मेरै प्रतिविम्ब होइन, जो फुटिजाने हैन, जो टुटिजाने हैन, आकाशजस्तो अमर गीत मेरा, मजस्तो दुई दिनको पाहुना हैन’ भन्ने गीत सुनाएँ दुर्गा दाइले मलाई रोक्नुभयो । त्यो गीतमा जुन भाव थियो, त्यसको नशा सायद उत्रिन दिन मन लागेन उहाँलाई । कोठामा केहीबेर सन्नाटा छायो । एक छिनपछि खाटबाट खुट्टा भुइँमा झारेर बसिरहनुभएका उहाँले निहुरिएको सोचमग्न मुहार उठाउनुभयो, मतिर पुलुक्क हेर्नुभयो र भन्नुभयो, ‘धात्थें च्वय स:म्ह हला ?’ (साँच्चिकै लेख्न जानेका हगि ?)

किशोरवयदेखि नै मेरो सङ्गत कलाकारहरूसँग भयो । साथी थिए, मञ्जु सिंह उर्फ डायमन्ड सिंह । गाउँथे रेडियोमा । उनैमार्फत ओमविक्रम, सुवर्ण लिम्बू, देव राना, अरुण थापा, मदन परियार आदि भेटिए । सिनेमा क्षेत्रमा लागेपछि दाइ प्रकाश गुरुङ र दीप श्रेष्ठ भेटिए । नारायणगोपालसँग अन्तरङ्ग सम्बन्ध बन्यो, दाइ अम्बर गुरुङसँग गहिरो मित्रता भयो । तर, गोपाल योञ्जनसँग ? अहँ, उहाँसँग मेरो सत्सङ्ग हुन पाएन । कलाको व्यापार हुने चलन नआइसकेको बेला नेपाली सङ्गीतलाई एउटा उपल्लो मोडमा पुर्‍याउँछु भन्ने आकांक्षा भएका मानिससँग मेरो एकपल्ट क्षणिक भेट भयो, त्यो पनि नारायणगोपालको अन्त्येष्टिको दिनमा । संक्षिप्त भेट, तर अर्थपूर्ण र स्मरणीय । कसरी मधुरो स्वरमा बोल्नुभयो, कसरी अम्बर गुरुङ, दीप श्रेष्ठ र मलाई आफ्नो कमलादीस्थित अफिसमा लैजानुभयो र स्वागत गर्नुभयो त्यो मेरो सम्झनामा कुँदिएर रहनेछ । उहाँ पृथक् हुनुहुन्थ्यो र भद्रमानव हुनुहुन्थ्यो– उहाँसँगको पहिलो भेटको प्रभाव मलाई यसरी नै परेको छ । जसले उहाँलाई भेट्न पाएनन्, तिनका लागि उहाँका गीतहरू काफी छन्, उहाँ कुन स्वभाव र चित्तका मानिस हुनुहुन्थ्यो भन्ने कुरा बुझाउन ।

गोपाल योञ्जनले कहिल्यै पुरानो नहुने र नसिद्धिने अनेकौं उपहार काव्यसहितको गीतहरूमार्फत हामीलाई दिएर जानुभएको छ । वर्षौंदेखि वर्षौंसम्म उहाँका गीत सुनिरहँदा लाग्छ, ती गीतहरूका खुल्न बाँकी नयाँ पक्ष निकै छन् । उहाँका भावहरूको नयाँनयाँ लेयरहरू एकपछि अर्को खोतल्न र त्यसलाई बुझ्न खोज्यो भने सम्भवत: त्यो एउटा आनन्ददायी समय हुनेछ । सङ्गीत गर्ने मान्छे एउटा कुशल शब्दशिल्पी कसरी बन्नुभयो कुन्नि ? यदि उहाँमा त्यो गुण नहुँदो हो त नेपाली श्रोताहरूले त्यस कालखण्डलाई कस्ता गीतमार्फत अनुभूत गर्थे कुन्नि ? र, गोपाल योञ्जन जिउँदै हुँदा कतिले उहाँलाई एवं उहाँका कृतिलाई चिने, अहिले कतिले चिनेका छन् कुन्नि ? तर, नेपाली समाज रहुन्जेल उहाँका कृतिलाई चिन्ने, आस्वाद लिने र उहाँका विचारहरूले सिञ्चित भइरहने मनहरूको कमी हुनेछैन ।

प्रकाशित : जेष्ठ ७, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?