दास्तान-ए-नेपालगन्ज- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
सहरको कथा

दास्तान-ए-नेपालगन्ज

सहरको बेठेगान कुनाबाट मैजस्ताका कथा सुनाउनेछु । हामी सबै एउटै सहरको बासिन्दा भए पनि सबैका आ–आफ्नै नेपालगन्ज छन् । म मेरो भागको बाइस्कोप देखाउनेछु । म तिनीहरुका किस्सा कहनेछु, जो आजको ५० वर्षपछि स्वयं स्थानीय लोककथाका पात्र भइसक्नेछन् । 
शिवानीसिंह थारु

म हुँ निमको रूख । नेपालगन्जका केही किस्सा मबाहेक अरू कुनै किस्साकारले सुनाउन सक्दैन । किनकि म यस सहरको आदिवासी हुँ । यस सहरमा जति पनि पुराना टोलहरू छन्, त्यहाँ म आज पनि आकाश भएर फैलिएको छु । भलै मेरा हाँगा–बिँगा र शाखा सहरको वैभवमा टाक्सिँदै गएको छ । म काटिँदै–कुटिँदै किनारमा धकेलिएको छु, छाँटिँदै–छेकिँदै ओझेल पारिएको छु । के भनूँ ! आजभोलि सहर मभन्दा जो तीतो भएको छ । तैपनि म छु । बस् रहँदै आएको छु । 

घरको आँगनमा पुजिएदेखि, दिउँसै तर्साउने सनन्नसम्म ! मैले यस सहरको मानसमा जरा गाडेको छु । महिनौं हिँडेर आउने पहाडी हटेरुहरूको विश्राम–छाया बन्नुदेखि, सडक विभागको ठाँडो बनाइनुसम्म ! मैले यस सहरको समय देखेको छु । भइनँ त म दास्तान–ए–नेपालगन्जको किस्सागो !

किस्साको सुरुवात म आफ्नै नामबाट गर्छु ।

सबका लागि म निम हुँ । तर, नेपालगन्जका आमाहरूका लागि म हुँ शीतलादेवी । ती आमा चाहे ८० वर्षकी वृद्धा हुन् या १८ वर्षमै आमा बनेकी किशोरी । सन्तानप्रति आमाहरूको मातृक प्रेमले गर्दा म शीतलादेवी कहलिएको हुँ ।

म त्यो बेलाको कुरा गर्दै छु, जब नेपालगन्जमा स्वास्थ्य सेवा रामभरोसेको भरमा चलेको थियो । हुन त आज पनि रोगको ठीकठीक डायग्नोसिस त कहाँ हुने गरेको छ र ! त्यही भएर डाक्टरका मुखैमा झुन्डेको हुन्छ – बिरामीलाई काठमान्डु लानुस् कि लखनउ !

अहिले त यस्तो छ भने रामभरोसेको पालामा बिरामीहरू काले कम्पाउन्डरको हातमा छाडिएका हुन्थे । हुने–खाने लखनउ जाने भइहाले । बाँकीकाहरू सिकिस्त नभइन्जेल बिहान–दिउँसो काले कम्पाउन्डरकहाँ जान्थे र साँझ–साँझ झारफुकतिर लाग्थे । हो यही बेला नेपालगन्जमा घरभन्दा धेरै निमका रूखहरू हुने गर्थे । किनकि गर्मीजन्य छालाका रोगका निदानका लागि नेपालगन्जियाहरू मेरैमा भर पर्थे ।

वैशाख–जेठमा नेपालगन्ज ४० डिग्री तापक्रमले तप्त हुन्थ्यो । खप्दै आएकाहरूले उम्सिएर–गुम्सिएर खपी नै हाल्थे । असह्य हुन्थ्यो त केटाकेटीहरूलाई । टाउकोभरि खटिरा, हातखुट्टाका कापकापमा पाक्ने घाउ, ढाड र छातीभरि चिलचिलाउने घमौरा । तीनलाई भतभती पोल्थ्यो । केटाकेटीको सास्ती देखेर आमाहरू छटपटिन्थे । त्यसपछि आमाहरू मेरो शरणमा आउँथे । तिनले मेरो जराका माटो खोस्रेर लान्थे । त्यसको लेप बनाएर बच्चाका शरीर लिप्थे । मेरा हाँगा टिपेर दिनैभरि बच्चालाई हम्काइरहन्थे । र, बिहान–बिहान आमाहरू मौनब्रत लिई पछाडि पनि नफर्की मेरो जरामा पानी हाल्न आउँथे । एक हप्ता यही रीत दोहोर्‍याइरहँदा बच्चाको घाउ–खटिरा सुक्दै आउँथ्यो । साथै भित्री जलन कम हुँदै शीतल पनि हुन्थ्यो । यसरी खटिराको पोलाइबाट त्राण पाइने भएर हो यहाँका आमाहरूले मलाई शीतलादेवीको रूपमा मान्न थाले ।

आज पनि आमाहरू बडो श्रद्धाका साथ मलाई शीतलादेवी भनी पुकार्छन् । मेरो जरामा जल चढाएर मलाई सिञ्चिराख्छन् ।

हामीलाई रोपिराख्नु पर्दैन । कागहरू हाम्रा निमकौडी आफ्नो टुप्पामा टिपेर यत्रतत्र गरिबस्छन् । बस् हामीलाई उम्रिनुमा बेर । त्यही भएर यस उष्ण प्रदेशमा हामी सदादेखि रहँदै आएका छौं । यो ठाउँ जब मानव बस्तीले आबाद भयो, हामी पनि आफ्नो व्यक्तित्वसहित चिनियौं । अझ खास भयौं भनुम् न ! गर्मी देशका बासिन्दालाई हाम्रो कुन अंग काम लाग्दैन र ! दाँतको कीरा मार्नुदेखि गहुँलाई घुनबाट बचाउन हाम्रो डाँठ, तीतो पात र निमकौडी सबै काम लाग्छ । त्यही भएर उहिले–उहिले हुने–खाने बनियाँका घरमा एउटा कुवा र एउटा निमको रूख हुनैपर्थ्यो । गतिलो डाक्टरी सेवा नभएको ठाउँमा हामी निमका रूख वैद्यजस्ता थियौं ।

टोलका नक्सामा हामी माइलस्तम्भझैँ ठाउँ चिनाउन काम लाग्थ्यौं । तर, अहिले हामी आफैँ आफ्नो चिनारी खोजिरहेका छौं । आज सबै आदिवासीका कथा यस्तै होइन र ? किन बिर्सिन्छन् आजका महामानव, रोबोटीय मानव सभ्यतालाई आफ्नो जरासित जोड्ने कडी हामी आदिवासी नै हौं ? तर, हामी काटिएका छौं, रोड चौडा बनाउन । हामी च्यापिएका छौं, चारैतिर बजार विस्तार गर्न । हामी थिचिएका छौं, भवनैभवन एकअर्कामा खापिन । हामी बेवास्ता गरिएका छौं, विस्मृत बनाइन । हामी बिर्सिइदै छौं, फेरीफेरी उम्रिन नदिन । तर, के सहर समृद्ध हुने यही एउटा मोडल हो ? नेपालगन्जजस्तो सहरले त झन् खोइ बुझेको ? यहाँको उक्लिराखेको तापक्रमको राप हामीजस्ता रूखहरूले नै कम गर्ने हुन् ।

अफसोस ! यो सत्य आत्मसात् नगरुन्जेल रूखहरू सक्किँदै जानेछन् । हामी केवल बूढा–पुरानाका स्मृतिमा रहिरहने छौं । ती रिमरिम स्मृति, जसद्वारा मान्छेको बितेको समय वर्तमानको छाया बनेर हिँडिरहेको हुन्छ । त्यसैले सहरमा बुढिँदै गएको मान्छे एकै पटक दुइटा सहरमा बाँचेको हुन्छ । एउटा वास्तविक सहर, जसको स्वरूप दिनदिनै फेरिँदै गएको हुन्छ । अर्को बाल्यकालको सहर, जहाँ ऊ बेफिक्री हुर्केर बढेको हुन्छ । स्वरूप फेरिँदै गएको सहरलाई हेरेर ऊ टोलाउँछ । टोलाउँदै ऊ बाल्यकालको सहरलाई खोजिरहेको हुन्छ । किशोरावस्थाका मस्तीहरू सम्झेर उही टोलको भिन्नै नक्सा कोरिरहेको हुन्छ । आज तिनै टोलेहरू छन्, जो काटिएको निमको रूख टुलटुलु खोजी बसेका छन् ।

बाँकी बचेका निमका रूख अब नेपालगन्जका पुराना चोक र गल्लीमा साँघुरिएका छन् । हामी मेनरोडबाट ठ्याक्कै देखिदैनौं । तर, अचम्म के छ भने हामीलाई खोज्दै केटाकेटीहरू आइपुग्छन् । धेरै पुराना–पुराना रूख, जो काटिइएका छैनौं (यतिन्जेल !), हाम्रा वरिपरि केही खुला ठाउँ छ । सहरभित्र खेल्ने ठाउँको अभावमा बच्चाहरू हाम्रै छाया तल बटुलिन्छन् । सहरमा अब ती बच्चाहरू नै छन्, जो हाम्रो ठेगाना प्रेमपूर्वक बताइदिने गर्छन् ।

सहरको त्यही बेठेगान कुनाबाट म मैजस्ताका कथा सुनाउनेछु । आकाश मिचेर बनाइएको भवनको चेपबाट म अदृश्य देखिनेहरूको धुकधुकी सुनाउनेछु । पछाडिका गल्लीबाट सहरजस्तो देखिन्छ त्यसकै हाल बयान गर्नेछु । उसो त आफ्नो भोगाइअनुसार, सबैका पृथक्–पृथक् कथा हुन्छन् । किनभने हामी सबै एउटै सहरको बासिन्दा भए पनि सबैका आ–आफ्नै नेपालगन्ज छन् । म मेरो भागको बाइस्कोप देखाउनेछु । म तिनीहरूका किस्सा कहनेछु, जो आजका पचास वर्षपछि स्वयं स्थानीय लोककथाका पात्र भइसक्नेछन् ।

सियाराम

पानका पारखीहरू भन्ने गर्छन्– ‘सियारामको पान नेपाल अधिराज्यमा वर्ल्ड फेमस छ !’

उसको पानको ख्याति नेपाल अधिराज्यभरि होस् या नहोस्, तर सियारामको कथा साँच्चिकै ‘वर्ल्ड फेमस’ हुनलायकको छ ।

सियारामले पान मात्र बेच्दैन पानको पातमा प्रेमको गुलकन्द लगाएर सौहार्द बाँड्छ । यो सौहार्द पसले र ग्राहकबीचको मामुली सौहार्द मात्र होइन । यो दुई धर्म मान्ने समुदायको एकअर्काप्रतिको सहिष्णुता पनि हो । र, यो सहिष्णुता नेपालगन्जमा हिजोभन्दा आज र आजभन्दा भोलि झनै चाहिने भएको छ ।

नेपालगन्जमा पहिला यस्तो थिएन । हिन्दु होस् या मुसलमान, पहाडी हुन् वा मधेसी तिनमा एउटा कुरा साझा थियो । ती अवधी–भाषी नेपालगन्जिया थिए । मौलाना साहब अदबले सोध्थे, ‘अरे पण्डितजी व्हेर आर यु गोइङ्ग ?’ पण्डितजी उही बाँकेलाल शैलीमा फर्काउँथे, ‘अबे समझ लेव बजार ।’ तर, जसै बोर्डरपारि अयोध्यामा धर्मको राजनीतिक तापक्रम बढ्दै गयो, नेपालगन्जमा धार्मिक लुः को तातो हावा बहन थाल्यो । अनि एक दिन एउटा बाँकेलाल आएर मेरो शाखामा चढ्यो । शाखाको किनारै–किनार उक्लेर ऊ आफ्नो घरको धुरीमा झन्डा अड्याउन थाल्यो । मैले पहिलोपल्ट देखेँ, सहरका छतहरू बिस्तारै हिन्दु र मुसलमान हुँदै गएका । मुस्लिमका छतमा हरियो रङको झन्डा लागेको थियो । हिन्दुका छतमा केसरी रङको झन्डा ।

त्यस दिन हामी आदिवासीका शिर निहुरे । कसैलाई जान्नु थियो र ? तिम्रा घरका छतका धर्म या आँगनका मजहब ? कि भन्न खोज्दै छौ हामी एकअर्काबाट कति फरक छौं ? फरक छौं त्यसैले छिमेकी भएर पनि हामी एक पृथ्वी टाढा छौं ? कि धार्मिक दङ्गामा एकअर्काको तारो बन्ने र बनाउने तयारी गर्दै छौ ? होइन भने निकालिदेउ यी धार्मिक रङ चढेका झन्डा ! खेल होली वा सजाउ ताजिया पहिलेजस्तै !!

बस् त्यही दिनबाट मलाई सियाराम खास लाग्न थाल्यो ।

ऊ यस्तो पात्र हो, जसको पानको पसलमा हिन्दु र मुसलमानहरू आ–आफ्नो छतको झन्डा उतै छाडेर आउने गर्छन् । उसले थमाएको पानको बिडा मुखमा बुज्याउँदै ती एक छिनलाई विनोदी बाँकेलाल भइजान्छन् । उसो त सहरको हरेक मोड र गल्लीमा पानका पसलहरू छन् । तर, सियारामको पानको बिडामा केही त जादु छ ।

सियारामको पानको पसल वार्ड नम्बर पाँच र सातको ठीक बीचमा पर्छ । एकातिर हिन्दुहरूको बाहुल्य भएको टोल छ भने अर्कोतिर मुसलमानहरूको बाहुल्य छ । उसका ग्राहक दुवै टोलमा छन् । गन्दै जाने हो भने हिन्दुभन्दा मुस्लिम ग्राहक नै बेसी होलान् । ती मुस्लिम ग्राहकलाई थाहा छ– सियाराम ‘डाइ–हार्ड’ हनुमान्भक्त हो । उसको निधारमा सधैँ हनुमान्को सिन्दूरी तिलक हुनेगर्छ । पाखुरामा ‘सियाराम’ को गोदना (ट्याटु) खोपिएको छ । अनि हरेक मंगलबार पसलमा ऊ हनुमान्चालिसा स्पिकरमा लगाएर सुन्ने गर्छ ।

त्यस दिन ऊकहाँ आउने मुस्लिम ग्राहकहरू यसै सोधिदिने गर्छन् । ‘आज मंगल ?’ सियाराम मुसुक्क मुस्काएर टाउको हल्लाइदिने गर्छ । जसरी मुस्लिमहरूलाई हनुमान्चालिसा सुन्दै पानको बिडा चपाउन कुनै आपत्ति छैन, त्यस्तै सियारामलाई मस्जिदबाट आउने अजानको ‘अल्लाह–हु–अकबर’ सुन्दै पसलको तालिका मिलाउन कुनै आपत्ति छैन ।

सियारामको पानमा के खासियत छ ? भनेर हिन्दु ग्राहकलाई सोध्दा उनीहरू भन्छन्, सियारामले पान बडा सफाइले बनाउँछ । उसलाई सोध्दा ऊ गर्वले स्विकार्छ । भन्छ, ऊ बिहान नुहाइधुवाइ गरेर मात्र पानलाई हात लगाउँछ रे ! पानको पातलाई एक–एक गरेर दुई–तीन पानीले धुन्छ रे ! किनेको सुपारीबाट एक–एक कपाल बिनेर, सफाइ गरीवरी मात्रै पसलको घर्रामा राख्छ रे ! नरिवललाई पनि देशी घिउमा भुट्छ रे ! अनि हरेक ग्राहकपिच्छे ऊ पान लगाउने काउन्टर पुछ्ने गर्छ रे !

मुस्लिम ग्राहकलाई यही प्रश्न सोध्दा उनीहरू भन्छन्– ‘हामीलाई दिनको दस बिडा पान खानुपर्ने हुन्छ । उसले यसरी चुना र कत्थाको बैलेन्स मिलाउँछ कि जुबान कट्न पाउँदैन । सुर्ती पनि सही किसिमले हाल्छ कि मुह बाँध्दैन ।’ सियारामलाई यसबारे सोध्दा, ऊ मुसुक्क लजाउँछ । केही भन्दैन । थोरै झुकेर ऊ आफ्नो कर्म गरिरहन्छ । यीबाहेक उसको एउटा विशेष खासियत छ । उसको पसलमा बरोबर आइरहने ग्राहकहरूले आफूले खाने पानको किसिम भनिरहनु पर्दैन । बीस–पच्चीस ग्राहकहरूको स्वाद उसलाई कण्ठै छ । कसैलाई कत्था कम चाहिन्छ, कसैलाई चुना बढी । कसैको पानमा सुर्तीको किसिम र सुपारीको मात्रा ठिक्क मिलाउनुपर्छ । कसैलाई अलैंचीको दाना गनेरै हाल्नुपर्छ । चुना धेरै खानेलाई चुनाको पित्को पोको पारेर अलग्गै दिनुपर्छ । उसका पानका लती चाहे जो हुन्, एउटा कुरामा सबैले धाप दिन्छन् । भन्छन्, सियारामको पान दिनको बीसै बीडा खाए पनि जिब्रो कट्दैन । त्यसैले उसका पुराना ग्राहकहरू खोजीखोजी ऊकहाँ आइपुग्छन् । एक जना १८ वर्ष पुरानो मुस्लिम ग्राहकको कथा नै अजबको छ ।

कुरा हो २०५४ सालको । नेपालगन्जमा हिन्दु र मुस्लिमबीच दंगा भड्किएको थियो । त्यतिबेला दुवै समुदायका पसलहरूमा तोडफोड र लुटपाट मच्चिएको थियो । केहीको ज्यान पनि गएको थियो । त्यो समयमा सियारामको पानको गुम्टी वार्ड नम्बर पाँचमा थियो । त्यहाँ मुस्लिमहरूको बाहुल्य थियो । एक्लो हिन्दुको गुम्टी दङ्ग्याहाहरूको नजरमा पर्‍यो । उनीहरू सियारामको गुम्टी तोडफोड गर्न अघि बढे । यत्तिकैमा टोलका मुस्लिमहरू आए । उसको गुम्टीअगाडि उभिएर प्रतिरोध गरे । र, खबरदार गर्दै दंगलीहरूलाई गुम्टीमा हात नलगाउन चेतावनी पनि दिए ।

डरले गुम्टीको सबै सामान सियारामले घरमा लिएर आयो । उसको घर वार्ड नम्बर सातमा पर्थ्यो, जहाँ हिन्दुहरूको बाहुल्य थियो । कर्फ्यु लागेको लागै थियो । एक रात आठ बजे कर्फ्यु अलि खुकुलो भएको बेला उसको ढोका कसैले ढकढक्यायो । खोलेर हेर्दा ऊ छक्कै पर्‍यो । उसको सबैभन्दा पुरानो मुस्लिम ग्राहक एकलैनीबाट एक्लै हिन्दु टोलमा आएर उसलाई पान लगाउन भनिरहेको थियो । संवेदनशील समयमा त्यसरी आएको देखेर उसले बाको उमेरका ग्राहकलाई हप्काउनसम्म हप्कायो । उसले एक–दुई बिडा मात्र होइन दसै बिडा बनाएर दियो । र, भन्यो– मामिला अलि मत्थर भएपछि मात्र आउनू । तर, भोलिपल्ट त्यही समयमा फेरि उही बा टुपुल्किए । त्यति मात्र कहाँ हो र ! उनको साथै अरू मुस्लिमहरू पनि आएर पानको लागि अनुरोध गर्न थाले । हुँदाहुँदा टोलका हिन्दु ग्राहकहरू पनि एक–दुई गर्दै थपिँदै गए । सबैलाई छिटोछिटो पान लगाएर दिइन्जेल उसले के देख्छ ! त्यहाँ हिन्दु र मुसलमान उही पहिलाजस्तै पानको बिडा चपाउँदै मज्जाले गफ गर्दै बसेका छन् ।

कोरोनाकालमा पनि त्यस्तै भयो । त्यतिबेला एउटा मुस्लिम परिवार कोरोनाले संक्रमित हुँदा पूरै समुदायलाई नै छिःछिः दूरदूर गरिएको थियो । शङ्का, त्रास, खासखुसले वातावरण तनावमय थियो । त्यतिबेला पनि सियारामको पानको गुम्टी बन्द थियो । तर, पानको तलतल लाग्ने ग्राहकहरू उसको घरमै पुग्ने गर्थे । धेरैजसो त मुस्लिम ग्राहकहरू नै थिए । त्यो देखेर टोलको कसैले गस्तीको पुलिस बोलाइदियो । पुलिसहरू आएर सियारामलाई केरकार गरे । सफाइमा उसले भन्यो, ‘सर म कसरी हिन्दु र मुसलमानबीच छुट्याएर दिऊँ ?’ लठ्ठी लिएर आएका पुलिसको मनमा खै के पर्‍यो । उनीहरूले कुनै कारबाही नगरी उसको ढोकाअगाडि एउटा डोरी बाँधिदिए । त्यसपछि भौतिक दूरी कायम गरी पान बेच्ने सल्लाह दिए । जाँदा पन्जा र स्यानिटाइजर पनि छाडेर गए ।

मान्छेहरू भन्छन्– देशलाई जोड्न राजा चाहिन्छ रे ! सहरलाई जोड्न जक्सनमा सालिक चाहिन्छ रे ! म त भन्छु– समुदाय, सहर र देश जोड्न सियारामहरू चाहिन्छ । भावी पुस्तालाई सुनाउन सियारामहरूका कथा चाहिन्छ ।

पट्टे बाबु

म भन्न सक्दिनँ यो सहरमा पट्टे बाबु पाल्ने सोख कसरी सुरु भयो ? किन सुरु भयो ? कसले सुरु गर्‍यो ? तर, यो सहरलाई यदि कथैकथाको गन्ज मान्ने हो भने पट्टे बाबुले ती किस्सामा गीत भर्ने काम गर्छन् । किनकि सहरको रौनकको कथा यहाँका घमन्जादेखि राबडीसम्मले बताउन सक्छन् । तर, सहरमा हुने एक्लोपनको कथा केवल पट्टे बाबुले नै सुनाउन सक्छन् ।

पट्टे बाबु अर्थात् सुगा । मधेसीहरूले प्रेमले मिठ्ठु बोलाउँछन् । पहाडीहरूले पट्टे बाबु । सम्मान दिएर बोलाउँदा उनी शुकदेव भइजान्छन् । यो सहरको गल्ली भित्रभित्र छिचोल्दै जानुभयो भने तपाईले देख्नुहुन्छ, प्रायले यहाँ सुगा पालेको । बेलायतीहरू कुकुरको सोखिन भएजस्तै, जापानीहरूले बिरालो मन पराएजस्तै नेपालगन्जियाहरू सुगाका सोखिन हुन् । सुगा पनि जुनै खाले होइन– करारा सुगा । घाँटीमा रातो घेरा भएको र कण्ठमा कालो घेरा बसेको, जसलाई कण्ठ लागेको सुगा पनि भन्छन्, जो मान्छेको बोली नक्कल गरेर ट्याइँट्याइँ बोल्छन् ।

यहाँ सुगा बिक्री हुने गरेकाले चिडीमारहरू भारतबाट तोता लिएर आउँछन् । तर, पारखीहरू मैदानी भूभागका तोता होइन, पहाडी भेगका सुगा मन पराउँछन् । नेपालगन्जमा करारा सुगा धेरैजसो माथि सुर्खेतबाट ल्याइन्छ । सुर्खेतका सुगा पन्ध्र सयदेखि दुई हजारसम्म पर्छ । यसको दाँजोमा भारतीय तोता सय रुपैयाँ मात्र पर्छ । भए पनि सुगाका सोखिनहरू महँगो पहाडी सुगा नै रोज्छन् ।

ती सुगाहरू ट्याइँट्याइँ बोल्ने मात्र होइन, तिनका आनीबानी पनि बडो नटखट हुने गर्छ । पाल्नेको घरको माहोल र मालिकको व्यवहारअनुसार सुगाको व्यक्तित्व पनि त्यसै प्रकारको हुन्छ । तिनका बारे सुगा मालिकहरूलाई सोध्नुपर्छ । प्रसन्नचित्त भएर ती सुनाउन थाल्छन् । कोही भन्छन्– तिनको पट्टे बाबु बिहानबिहानै ‘सीताराम सीताराम’ भनेर ब्युँझाउने गर्छन् अरे !

कोही भन्छन्– तिनको मिठ्ठु घरमा कसैलाई नदेख्दा ‘बप्पा बप्पा’ भन्दै बोलाउँछन् अरे !

कसैका पट्टे बाबु घरमा नयाँ मान्छे देखेकी ‘को होय, को होय ?’ भनी सोध्छन् अरे !

एउटाको मिठ्ठुले त भान्छामा खाना पाक्यो कि ‘मिठ्ठु खाना खायो, मिठ्ठु खाना खायो’ भन्दै पिँजडाको कचौरा बजाउन थाल्छन् अरे !

अर्कोको पट्टे बाबु पिँजडाअघि दुई जना कुरा गरेको देखे कि ‘भक् भक्’ भनी भगाउन थाल्छन् अरे !

कुनै पट्टे बाबु त टेढिएका हुन्छन् । सडकछेउ घर हुनेले दिनभरि पट्टे बाबुलाई घरअगाडि झुन्ड्याइदिएका हुन्छन् । आउने–जाने केटाहरू पट्टे बाबुलाई जिस्क्याएर गइदिन्छन् । दिनभरिको उल्ल्याइँले तिनी रिसले चुर भइसकेका हुन्छन् । अनि आफ्नो मालिकलाई देख्नेबित्तिकै तिनै केटाहरूले झैँ ‘क्या बे, क्या बे’ भन्दै बेहोरा देखाउँछन् । त्यति मात्र कहाँ हो र ! कहिले कहिले त रिसले मालिकको औंला पनि टोकिदिन्छन् ।

यसरी पट्टे बाबुका रमाइला आनीबानी उनीहरू प्रेमले सुनाउने गर्छन् । सुनाउँदा सुनाउँदै थाहै नपाई उनीहरू आफ्नो एक्लोपनको कथा पनि सुनाइरहेका हुन्छन् । कुरैकुरामा उनीहरूबाट थाहा हुन्छ, सुगा पालेको कारण । कसैको पत्नी वा पति मरिसकेका हुन्छन् । बोलिरहने साथी नपाएर उनीहरूले सुगा पालेका हुँदा रहेछन् । कसैको सन्तान नभएर पालेका हुन्छन् । मिठ्ठुको नटखटपनमा उनीहरू बच्चाको कमी पूरा गरिराखेका हुँदा रहेछन् । कसैको परिवार भरिपूर्ण भएर पनि आफूलाई एक्लो महसुस गर्ने हुन्छन् । खालीपन काटिरहेझैँ उनीहरू भन्छन्, गर्मीको लामो दिन कटाउन सुगा पालेको । कोहीकोहीलाई चाहिँ पाल्नुको कारण सोध्दा, अर्थपूर्ण मौनता साधेर ‘त्यसै’ भनिदिन्छन् ।

तर, सबै जनाले अन्त्यमा एउटै कुरा भन्छन्, ‘यो पट्टुको ज्यादै माया लाग्छ ।’

मेरो मनमा आउँछ– साँच्चै मायै हो त ?

मलाई लाग्छ, ज–जसले पिँजडामा सुगा पालिराखेका छन्, ती असलमा सुगाका मालिक हुन् । सुगाका प्रेमी होइनन् । सुगाप्रेमी त तिनीहरू त्यतिबेला हुन्छन्, जब उनीहरूको सुगा मर्छन् वा उडेर जान्छन् । छैन त विरोधाभास ! नपत्याए पूर्व सुगा मालिकहरूलाई सोध्नुस् । अब अर्को सुगा पाल्ने कि नपाल्ने ? जवाफ नसोचिएको आउँछ । साँच्चै भन्दै छु । छ जना भूतपूर्व सुगा मालिकहरूमध्ये कम्तीमा चार जनाको हृदय परिवर्तन भएकै हुन्छ । धेरै वर्ष पालेका सुगा जब मर्छन् बल्ल सुगालाई प्रेम गर्नुको अर्थ उनीहरूले बुझ्छन् । आफूलाई छोडेर कहिले नजाला भनेको सुगा जब उडेर जान्छन् बल्ल पन्छी हुनुको मर्म उनीहरूलाई बिझ्छ ।

जजसका सुगा मरेर जान्छन्, उनीहरूले शरीरलाई पीताम्बरले बेरिदिन्छन् । खाली जग्गा खोजेर खुला आकाशमुनि दफनाइदिन्छन् । आहत हुँदै आत्मग्लानिमा दुवै हात जोड्छन् । प्रार्थना गर्दै उनीहरू कसम खान्छन् – ‘अबदेखि पट्टु पाल्दिन । कुनै चरालाई पिँजडामा राख्दिन ।’ यति वर्ष पिँजडामा राखेकामा आफ्नो पट्टुसित माफी माग्छन् । र, भोलिपल्टदेखि घरको छतमा भँगेरालाई पानी र कनिका राखिदिन्छन् । जजसका सुगा उडेर जान्छन्, उनीहरू एकदमै उदास हुन्छन् । छेउछाउका रूख बिरुवा हेर्दै आफ्नो सुगालाई खोजिरहन्छन् । रूखका हरिया डाली हल्लिँदा उनीहरू कल्पिन्छन्– यस्तो गर्मीमा पट्टे बाबु कहाँ होलान् ? उँचो उडान भर्न बिर्सिएको आफ्नो सुगालाई सम्झिँदै डर मान्छन्– कसले लग्यो होला ? वा कुनै जब्बर कौवाले ठुँगीठुँगी मारिदियो कि ? उनीहरूको मन कचोट्छ । आकाशतिर हेर्दै उनीहरू पनि कसम खान्छन्– अबदेखि पट्टु कहिल्यै नपाल्ने । पिँजडामा कुनै चरालाई कैद नगर्ने ।

यसरी उनीहरू सुगाका मालिकबाट सुगाका प्रेमीमा रूपान्तरित हुन्छन् । पन्छीको आजादी बोध गर्ने वास्तविक पन्छीप्रेमी हुन्छन् । आखिर कसैसित मोहित हुनु र कसैलाई प्रेम गर्नुमा फरक त छ नि ।

‘लौट्के आइथेन...’

नेपालगन्जका ठेट अवधीभाषीमा एउटा चलन छ । आफ्ना आत्मीयसित बिदा हुँदा ‘जाइथेन’ अर्थात् जान्छु नभन्ने । त्यसको सट्टामा ‘लौट्के आइथेन’ भन्ने । अर्थात् फर्केर आउँछु ।

त हाजिरिन ! दास्तान–ए–नेपालगन्जको कथान्तमा ‘लौट्के आइथेन’ भन्नुअघि एउटा गुह्य कुरा भनूँ ।

यस सहरमा मभन्दा पनि पुराना रूखहरू छन् । उसो त हाम्रो आयु पनि २०० वर्षसम्म हुन्छ । तर, सहरमा ठडिन दिए पो ! खैर सहरको पितामह भन्नलायकको रूख रानीतलाउ अगाडिको बाबा कुटीमा छन् । ती वरको रूख कम्तीमा सय साल पुराना हुन् । कुटीमा बस्ने चौरासी वर्षकी वृद्धा भन्छिन्, उनी बाह्र वर्षमा बिहा गरेर ल्याइँदा ती वर त्यस्तै अजंगका थिए अरे । अर्को छन् पाकडको रूख । ती चौलिक्का बाबाको मजारअघि झ्याम्म परेर फैलिएका छन् । कोही भन्छन्, त्यो रूखलाई स्वयं चौलिक्का बाबाले लगाएका हुन् अरे । कोही भन्छन् ती आफ से आफ उम्रिएका रे । जसले जे भने पनि सबैले प्रेमले बोलाउँदा तिनी ‘पकडिया’ भइजान्छन् ।

अर्को पाकडको रूख भगवान् तलौवामा छन्, जहाँ पहिले यौन व्यवसाय हुनेगर्थ्यो । तर, आज न त्यहाँ तलौवा (पोखरी) छ, न त्यहाँ यौनकर्मीहरू बस्ने गर्छन् । बस् त्यहाँ मन्दिर छ र मन्दिरछेउ पाकडको रूख, जो चुपचाप त्यस गल्लीको इतिहास आफूमा समेटेर उभिएका छन् । बागेश्वरी मन्दिर झर्ने खुड्किलोको बायाँपट्टि मिठाई बेच्ने पसल याद गर्नुभएको छ ? त्यो पसलभित्र एउटा पीपलको रूख छ । त्यो यति बडेमाको छ, त्यसलाई काटेर भवन बनाउने आँट त्यहाँको जग्गाधनीमा भएन । त्यसैले तिनले रूखलाई घरको बीचोबीच पारेर भवन बनाए । आज त्यो पीपल भवनसँगसँगै तीन तलासम्म ठडिएको छ । त्यसको टुप्पो चौथो तलाको छतबाट निस्केर चारैतिर झ्याम्मिएको छ । त्यति मात्र हो र ! पीपलको जरा तीन किलोमिटर वरिपरिका घरसम्म फैलिएको छ । हरेक घरमा त्यसको जरा कहीँ न कहीँबाट टुस्स निस्किरहेकै हुन्छ । तैपनि मान्छेहरूमा कुनै गुनासो छैन । उनीहरू भन्छन्, यी हाम्रा बाजेका पालादेखिका शनिश्चर बाबा हुन् ।

अब अरू कुनकुन रूखका बारेमा बताऊँ ? बुलबुलिया श्मशानघाटको सिमलको रूखबारे भनौं कि ? गगनगन्जको पीपलमाथि चढेको निमको रूखबारे चर्चा गरौं ? यस्ता वर, पाकड, पीपल, कदम र निमका रूखहरू सहर सँगसँगै हुर्के–बढेका छन् । यी रूखमा सहरवासीका यादहरू बुनिएका छन् । त्यसैले यी रूखहरू सहरका स्मृति हुन् । यिनमा सहरवासीका जीवनी सुरक्षित छन् ।

पुराना रूख काटिनु भनेको सहरको साझा स्मृति हराउनु हो । यी स्मृतिलाई बचाएर राखिएन भने सहरलाई विस्मरण हुन सक्छ । स्मरणघात ‘डिमेन्सिया’ हुन सक्छ । सहरको साझा स्मृतिबिना नेपालगन्जका मान्छे कुनै पनि गन्जका बासिन्दा हुन सक्छन् । बोर्डरपारिको बाबागन्जका हुन सक्छन् । पूर्वी नेपालको वीरगन्जका हुन सक्छन् । वा हिन्दी उपन्यास ‘राग दरबारी’ को काल्पनिक सहर शिवपालगन्जका पनि हुन सक्छन् । त्यसैले आफ्नो स्मृतिलाई बचाएर राख्ने जिम्मेवारी अब तपाईंको ।

के गर्नु ! आफू त ढुक्कले यो पनि भन्न पाउँदिनँ– ‘लौट्के आइथेन... !’

प्रकाशित : जेष्ठ ७, २०७९ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

पर्वतको 'प्रेत'

स्यालरले लेखेका छन्, ‘उच्च–हिमाली भेगका थुप्रै जीवजन्तु भेटेको छु । तर, हिउँचितुवाले झैं कुनै जीवले पनि मलाई प्रभाव पारेनन् । बिरलै देख्न पाइने यस दुर्लभ र रहस्यमयी जन्तुले मलाई लोभ्याइरहन्छ ।’ 
नरेश कुसी

काठमाडौँ — सन् २०१३– अक्टोबर, सोलुखुम्बुबिहानको पारिलो घाममा फोर्चे गाउँको फापरबारीतिर यत्रतत्र चरिरहेका डाँफे हेर्दै मग्न थिएँ । गाउँबाट अलि परको गोठतिर देखाउँदै एक जनाले भने, ‘यतातिर हिउँचितुवा बिरलै भेटिन्छ । धेरैपछि हिजो बिहान ऊ त्यो भीरसँगैको गोठ नजिकै गोठालाले एउटा माउ हिउँचितुवा र त्यसका डमरु देखेको भन्थे !’ 

सन् २०२२ को फेब्रुअरीमा मनाङमा सविता गुरुङको क्यामेरामा कैद भएको हिउँ चितुवा ।

ती मान्छेले ‘ऊ’ भनेर औंला तेर्स्याएको गोठवरपर दुई दिनअघि हामीले झारल गनेका थियौं । सोचें, ‘एक–दुई दिन यतै बसेर हिउँचितुवा खोज्नुपर्ला । देखियो भने गजबै हुन्छ ।’ तर, मुख्य अनुसन्धान कार्य एकातिर थाती राखी हिउँचितुवा खोज्ने आँट र स्रोत दुवै थिएन मसँग । त्यो ‘रोमाञ्चक’ सोच दबाएर मुख्य काम झारल गन्न गोक्योतिर लागें । गोक्यो ब्लकको अध्ययनपछि फोर्चे गाउँ आइपुगेको भोलिपल्ट सबेरै गाउँलेले देखाएको गोठतिर लाग्यौं । हिउँचितुवा देखिने कुरै भएन । पुराना पदछाप भने भेटिए ।

सन् २०१४– अप्रिल, लिमी, उपल्लो हुम्ला

भारतमा हिउँद काटेर आफ्नो गाउँ फर्कंदै गरेका लिमिवा (लिमिका बासिन्दा) सँगै सहपाठी जीवन राई र म हिल्साबाट लिमी जाँदै थियौं । बाटैभरि थिए– हिउँचितुवाका नयाँ–पुराना विष्टा र स्क्रेप (खोस्रेको चिह्न) । अनुवांशिक अध्ययनका लागि हिउँचितुवाका विष्टाका नमुना संकलन गर्दै हिँडेकाले हामी निकै पछि परेका थियौं । बिहान ११ बजेतिर हामीले हिउँचितुवाको आलो पदछाप भेट्यौं ।

‘यसपालि हिउँचितुवा देखिन्छजस्तो छ !’ मनमनै खुसी भएँ । १२ बजेतिर झोम्पाल्यामा पुग्दा लिमिवाहरू हामीलाई पर्खिरहेका थिए । ‘आधा घण्टाअघि त्यो डाँडामा एउटा चेन (हिउँचितुवाको स्थानीय नाम) देख्यौं हामीले,’ १०० मिटरजति माथिको डाँडातिर देखाउँदै पासाङले भने । तर, दुर्बिनले पटक–पटक चियाए पनि त्यो हिउँचितुवा फेरि देखिएन ।

चार दिनपछि हाल्जी गाउँमा पोब्सां चाड सुरु भयो । ११ औं शताब्दीमा बनेको रिन्चेनलिङ गुम्बाको प्रांगणमा गाउँभरिका मान्छे भेला भएका थिए । तीन दिनसम्म चलेको चाडअन्तर्गत एउटा प्रस्तुतिका लागि गाउँलेले विभिन्न वन्यजन्तुका आखेटोपहार निकाले । त्यो प्रस्तुतिमा हिउँचितुवाको छाला पनि देखियो ।

सन् २०१६–मे, शे गुम्बा, उपल्लो डोल्पा

हिउँचितुवा र हिमाली ब्वाँसोका संकेत खोज्दै साथीहरू जेराल्दिन वेरहान र छिरिङ ल्हामु लामा, स्थानीय पथप्रदर्शक टासी र म कोङमोचे गुम्बा पछाडिको खर्क पुग्यौं । एक गोठालो चौंरी चराउँदै थिए । उनले भने, ‘एक घण्टाअघि बाच्छाहरूलाई बीचमा पारेर वयस्क चौंरीहरू गोलो घेरा बनाएर उभिएको देखेपछि म त्यतातिर लागें । २०–३० मिटर पर एउटा साबु (हिउँचितुवा) झाडीमा लुकेर बसेको रहेछ । मलाई देखेर

आफ्नो बाटो लाग्यो ।’ दिउँसो दुई बजेतिर त्यहाँ पुगेका हामी हिउँचितुवा देखिने आसमा सुर्यास्त नहुन्जेल बसिरह्यौं, तर अहँ देखिएन । उपल्लो डोल्पाको दुई महिने अनुसन्धान सकेर छार्का भोट हुँदै हामी मुस्ताङ निस्कियौं । छुसाङ गाउँबाट घाइते अवस्थामा उद्दार गरेर ल्याइएको एउटा हिउँचितुवा जोमसोममा उपचारका क्रममा मरेको समाचार पत्रिकामा छापिएको रहेछ । मरेकै भए पनि हिउँचितुवा हेर्न उत्साहित थिएँ । तर, त्यो उत्साह एक छिन पनि टिकेन । हामी जोमसोम पुगेको अघिल्लो दिन मात्रै हिउँचितुवाको लास जलाइएको रहेछ ।

000

त्यसैबीच पिटर म्याथिसनको विश्वप्रसिद्ध पुस्तक ‘द स्नो लेपर्ड’ हात पर्‍यो । सन् १९७३ मा उपल्लो डोल्पाको शे गुम्बावरपर नाउरको आनीबानी अध्ययन गर्न आएका जीव वैज्ञानिक जर्ज स्यालरसँग पदयात्रामा आएका म्याथिसन बीचैमा फर्केकाले उनले हिउँचितुवा देखेनन् । महायान बौद्धमार्गी म्याथिसनले पुस्तकमा ब्यक्त गरेका मनोभाव असाधारण छन् । पुस्तकको सबभन्दा धेरै साभार गरिएको एउटा अंशमा उनले लेखेका छन् ।

‘के तिमीले हिउँचितुवा देखेका छौ ?’

‘छैन । के त्यो कुरा सुन्दर छैन ?’

अत्यन्त आत्मिक मनोवृत्ति प्रस्तुत गर्दै उनले लेखेका छन् :

‘म हतोत्साहित छु पनि र छैन पनि । हिउँचितुवा यहाँ छ र उसका तुसारो–जस्ता आँखाहरूले हामीलाई हेरिरहेको छ भन्ने महसुस गर्नु नै पर्याप्त छ !’

मैले पनि म्याथिसनले जस्तै हिउँचितुवा नदेखीकनै सुन्दर अनुभूति गर्न सक्थें हुँला त ?

सन् २०१६ को अक्टोबरमा जर्ज स्यालरसँग काठमाडौंमा भेट्ने मौका जुर्‍यो । उनी ४३ वर्षपछि पुनः उपल्लो डोल्पाको पदयात्रा गरेर फर्किएका थिए । अगस्ट महिनामा संयुक्त राज्य अमेरिकाको स्मिथसोनियन–मेसन स्कुल अफ कनजर्भेसनमा दुई हप्ते तालिममा सहभागी हुन गएको मौकामा स्यालरको ‘तिबेत वाइल्ड’ पुस्तक किनेर ल्याएको थिएँ । स्यालरको हस्ताक्षर लिने सोचले मैले सो पुस्तक सँगै लिएर गएको थिएँ । हिउँचितुवा नदेखेको बारे म्याथिसनले अघि सारेका मनोभावमाथि स्यालरको सोच कस्तो होला ? यसबारे सोध्दा स्यालरले भर्खरै हस्ताक्षर गरेर दिएको ‘टिबेट वाइल्ड’ पुस्तकको ‘द स्नो लेपर्ड’ शीर्षकको अन्तिम अध्याय पल्टाए र त्यसको पहिलो हरफ पढ्न भने । त्यहाँ लेखिएको थियो, ‘पिटरको जस्तो मनोभाव हासिल गर्न म असमर्थ छु ।’

000

त्यस भेटमा हामीले हिउँचितुवाबारे विशेष चर्चा गर्‍यौं । एसियामा गरेका अध्ययनहरूमा आधारित भएर लेखिएका सबै पुस्तकमा स्यालरले हिउँचितुवा–मोह स्पष्ट भाषामा पोखेका छन् । ‘द स्टोन्स अफ साइलेन्स’ पुस्तकमा उनले लेखेका छन् ः

‘मैले फ्याउमुसा, ब्वाँसा, उच्च–हिमाली भेगका पन्छीहरूलगायत थुप्रै जीवजन्तु भेटेको छु । तर, हिउँचितुवाले जस्तो कुनै जीवले पनि मलाई प्रभावित गरेको छैन । बिरलै मात्र देख्न पाइने यस दुर्लभ र रहस्यमयी जन्तुले मलाई लोभ्याइरहन्छ ।’ हिउँचितुवा कहिल्यै नदेखेको भए पनि मभित्र हिउँचितुवा–मोह अनौठो प्रकारले जाग्दै थियो । स्यालरका पुस्तकहरूले त्यसलाई थप मलजल गर्ने काम गरे । सन् २०१७ को जुन महिनामा मैले दाहिने हातमा हिउँचितुवाको ट्याटु खोपें । कहिल्यै नदेखेको जन्तुप्रति यो हदसम्मको आकर्षण कसरी पलायो, सोचेरै बेलाबेला आफैं अचम्मित हुन्छु ।

000

सन् २०१८ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण अभ्यास पढिरहँदा सहपाठीसँग स्कटल्यान्डको हाइल्यान्ड वाइल्डलाइफ पार्क घुम्न गएको थिएँ । पहिलो पटक हिउँचितुवा मैले त्यहीँ देखें । तर, प्राकृतिक बासस्थानमै निर्वाध घुमिरहेको हिउँचितुवा हेर्ने चाहना पूरा हुन अर्को साढे तीन वर्ष लाग्यो । सन् २०२२ फेब्रुअरीमा मनाङका नागरिक वैज्ञानिक टासी राप्ते घलेले दिनदिनै सामाजिक सञ्जालमा हिउँचितुवाका नयाँनयाँ तस्बिर पोस्ट्याइरहेका थिए । २३ फेब्रुअरीको दिन जीवनसाथी सविता गुरुङ र मुस्ताङका भाइ बाबु गुरुङका साथ मनाङ पुगेर टासीकै ‘होटल माउन्टेन लेक’ मा बस्यौं । पाँच दिनदेखि नियमित हिउँचितुवा देखिरहेका उनले त्यस दिन ११ घण्टासम्म अवलोकन गरेछन् ।

भोलिपल्ट बिहानै चाम्पा खाएर टासीको पछिपछि हिँड्यौं । गाउँको बीचबाट सजिलो र छोटो बाटो भए पनि उनी सधैं मुख्य बाटो छोडेर लामै बाटो हिँड्ने गर्दा रैछन् । यसरी हिँड्दा स्याल, रातो फ्याउरो, नाउरलगायत वन्यजन्तु देखिने सम्भावना हुने रहेछ ।

एक घण्टापछि उनले सधैं हिउँचितुवा देखेको ठाउँमा पुग्यौं । अलि परैबाट हिउँचितुवा कराएको सुनिएको थियो । हिउँचितुवाको आवाज सुनेर तीनवटा कुकुर भुक्दै त्यतै दौडेका थिए । एकाएक हिउँचितुवाको आवाज आउन छोड्यो । मध्याह्न १२ बजेसम्म कुर्दा पनि केही संकेत नपाएपछि होटल फर्कियौं ।

दिउँसो चार बजेतिर सोही ठाउँ पुग्यौं । बाटोमा भेटिएका बाख्रा गोठालोले आधा घण्टाअघि ४–५ पटक हिउँचितुवा कराएको बताए । नभन्दै हामी पुगेको केहीबेरमै आवाज आउन थाल्यो । सबैका आँखा आवाज आइरहेको दिशातिर मोडिए । पाँच मिनेटपछि टासीले हामी उभिएको ठाउँबाट ७००–८०० मिटर उत्तर–पूर्वको चोटीमा उभिएर पोथीलाई बोलाउँदै गरेको एउटा भाले हिउँचितुवा देखे र हामीलाई पनि देखाए । जीवनमा पहिलोपटक प्राकृतिक बासस्थानमा हिउँचितुवा देखेको त्यो क्षण मेरो मनमा आएको अनुभूति यहाँ व्यक्त गर्न गाह्रो छ । निकै भाबुक भएको थिएँ म । ५–१० मिनेटपछि त्यो हिउँचितुवा चोटीको पछाडि गयो । आवाज पछ्याउँदै निकै टाढासम्म गयौं, तर त्यस दिन हिउँचितुवा फेरि देखिएन । अर्को दिन टासीले हामीलाई याकखर्कसम्म पुर्‍याए । अघिल्लो दिन हामीले हिउँचितुवा देखेको ठाउँमा एक जना स्थानीय गाउँलेले दुईवटा अरू हिउँचितुवा देखेछन् । एकदम नजिक गएर तस्बिरहरू खिच्न खोज्दा ती भागेछन् । हामीसँगै याकखर्क आइपुगेका होटलवालाबाट यो सुनेपछि टासी जंगिए, ‘वन्यजन्तुलाई माया गर्छु भन्नेहरूले उनीहरूलाई सम्मान पनि गर्नुपर्छ । त्यस्तो हैरानी भोगेपछि उनीहरू फर्केर नआउन सक्छन् ।’ साँझ आवाज पछ्याउँदै निकै नजिक पुगे पनि निस्पट्ट अँध्यारो भइसकेको थियो । त्यस दिन हिउँचितुवा देखिएन ।

तेस्रो दिन साँझ १६ः४० तिर आवाज आएपछि हामी माथितिर उक्लियौं । एक छिनपछि टासीको मोबाइलको घन्टी बज्यो ।

‘दाइ, बाघ यता छ’, अर्को टोलीले ४००–५०० मिटर तल हिउँचितुवा देखेछन् ।

उनीहरू भए ठाउँ पुगेर दुर्बिनले हिउँचितुवा खोज्न थाल्यौं । पाँच मिनेटपछि मेरा आँखाहरू लहरे धुपीको झाडी पछाडि बसेको हिउँचितुवाका आँखासँग जुधे । पूरै शरीरमा ऊर्जा सञ्चार भएजस्तो लाग्यो । एकाएक आँखा रसाए । पश्चिमतिर १२० मिटरजति पर डाँडामा बसेको त्यो हिउँचितुवालाई हामीले धीत मरुन्जेल हेर्‍र्यौं । क्यामेरा वा दुर्बिनबाट एकै छिन आँखा हटाउँदा त्यो जन्तु क्षणमै विलुप भइसक्थ्यो । फेरि भेट्टाउन आँखालाई उस्तै कसरत पर्थ्यो । हिउँचितुवाले ‘पर्वतको प्रेत’ उपनाम उसै पाएको होइन रहेछ ।

आँखैअघि एउटा वयस्क पोथी हिउँचितुवा शानसँग बसेको थियो । माथितिर भाले कराउँदै गरेको सुनिन्थ्यो । बीचबीचमा पोथीले पनि आवाज दिन्थी । तर, उसको आवाज निकै दबिएको थियो । सायद भालेलाई समागमका लागि तयार भएको संकेत गर्दै थिई । बिस्तारै माथितिर उक्लिरहेको त्यो हिउँचितुवा ४५ मिनेट जति पछि डाँडा पछाडि हरायो ।

000

होटल पुगेर केही साथीलाई आफैंले खिचेको एउटा तस्बिर पठाएँ । ‘वाह, कस्तो भाग्यमानी तिमी’, सबैको साझा प्रतिक्रिया थियो । मैले पनि सबैलाई साझा जवाफ पठाएँ, ‘यसमा भाग्यको कुनै भूमिका छैन । सही समय र अनुभवी नागरिक वैज्ञानिकको मिहिनेतको प्रतिफल हो यो । आठ वर्षसम्म पटकपटक अभागी भएको मान्छे एकाएक कसरी भाग्यमानी हुन्छ ?’

प्रकाशित : वैशाख ३१, २०७९ १२:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×