किनकि जीवन सुन्दर छ- कोसेली - कान्तिपुर समाचार

किनकि जीवन सुन्दर छ

यो जीवन सुन्दर संसार सयर गर्न सहयोग गर्ने जहाज हो । कहिलेकाहीँ आँधीबेहरी आएर जहाजै डुब्लाझैं हुन सक्छ । तर, बाधाहरुबाट बाँचियो भने जीवन–यात्रा सम्झनलायक हुनेछ ।
शिक्षा रिसाल

काठमाडौँ — मलाई जीवनमा धेरै मामिलाले बिथोलिरहन्छन् । अक्सर एउटा प्रश्नले लखेटिरहन्छ- जीवनको कुन चरणमा पुगेपछि मानिसले त्यही जीवन सिध्याउँछ होला ? शरीरले सास छाड्नुअघि उसले ठ्याक्कै के सोचेको हुन्छ होला ? त्यतिबेला आँखाले देख्ने दृश्य कस्ता हुन्छन् होला ? अँध्यारो हुन्छ होला कि उज्यालो प्रकाश ?


अँध्यारो हुन्छ भने त्यसको रङ कालै हुन्छ कि इन्द्रेणीजस्तो ? अँध्यारोको आवाज कस्तो हुन्छ होला ? कलकल बगेको पानीजस्तो या हावाहुरीजस्तो ? त्यतिबेला शरीरमा के सल्बलाउँछ होला ? कुन विन्दुमा पुगेपछि मानिसले यो निधो गर्छ होला ?

अक्सर लखेटिरहने यिनै प्रश्नले मेरो मन बिथोल्छन् । प्रश्न आउँछन् अनि मलाई बाँच्न सिकाएर जान्छन् । यी प्रश्नले मलाई जीवनको अर्थ सिकाएर जान्छन् । अनि जीवन यसै सुन्दर लाग्न थाल्छ ।

जीवनको उत्पत्ति नै ब्रह्माण्डमा अनुपम उदाहरण हो । अहिलेसम्म जीवन पृथ्वीबाहेक अन्त सुनिएको छैन । पृथ्वीमा पनि करोडौं वर्षको जीव विकासक्रमले सम्भव भएको हो । हामीले बाँचिरहेको जीवन विशिष्ट छ । यो किनेर पाइँदैन । न त बेच्न सकिन्छ । जीवनसँगै आउने अनुभव, माया, प्रेम, आनन्द, परिवार, साथीभाइ, उत्सुकता र कलाले जीवनलाई सुन्दर बनाएका छन् । जो—जो यो धरतीमा टेक्न पाए, उनीहरू भाग्यमानी हुन् ।

म भाग्यमानी हुँ । तपाईं भाग्यमानी हो ।

तर, जन्म हाम्रो हातमा छैन । यो हामीले चाहेर पाएका होइनौं । जीवन हामीलाई चिठ्ठा परेको हो । त्यसैले मृत्यु पनि हाम्रो हातमा हुनु हुँदैन ।

यो जिन्दगीअघि के थियो, कसैलाई थाहा छैन । यो जीवनपछि के हुन्छ, कसैलाई थाहा छैन । भोलि नै के हुन्छ, कसैलाई थाहा छैन ।

‘सर्प्राइज’ ले भरिएको छ र त जीवन रंगीन छ ।

नेपाल दक्षिण एसियाकै खुसी देशको सूचीमा परेको खबर आयो । यो अस्वाभाविक खबर सुनेर म फिस्स हाँसेकी थिएँ । उता लाखौं नागरिकलाई लखेटेर शान्त सुतेको भुटान पनि आफूलाई खुसी देखाउन लागिपरेको छ ।

वरपर भद्रगोल, कुशासन, अराजकता, बेथिति देख्दादेख्दै खुसी हुन सक्ने मान्छे यो धर्तीमा अन्त कहीँ छैनन् । हामीजति खुसी कोही छैन । त्यही खबर सुनेर कति नेपालीले पहिलोपटक थाहा पाए होलान्— ओहो ! हामी त खुसी पो रहेछौं । थाहै थिएन ।

हामी नेपालीहरू स–साना कुरामा खुसी हुन्छौं । हाम्रा ठूला सपना छैनन् । काम गर्दा इन्टरनेट राम्रोसँग चलोस्— हामी दंग पर्छौं । सामान किन्न जाँदा २० रुपैयाँ छुट पाइयोस्— हामी ङिच्च हाँस्छौं । सडकमा जाम नहोस्— हामी खुसी, बाटो चिल्लो देखियोस्— हामी खुसी । साँझमा बत्ती नगइदिए त हाम्रो हरेक दिन विकेन्डजस्तै हुन्छन् । सरकारले घरअगाडिका खाल्डा टालिदिए हाम्रो खुसीले धुरी नाघ्छ ।

केही दिनअघि भृकुटीमण्डपमा चिया खाँदै थिएँ । केही युवाहरू यही विषयमा छलफल गर्दै थिए । खुसी देशका नागरिक भएर होला— बेलाबेला उनीहरू अट्टहास गर्थे । उनीहरूको एउटा वाक्यले भने म सिरिंग भएँ ।

एउटाले खुसीको उन्मादमा भन्यो, ‘मान्छेको जीवन यति पनि बेकार छैन कि उसलाई मर्न मन लागोस् । अरे यार, आत्महत्या किन गर्छन् होला ? त्यस्तो नकारात्मक सोच पनि आउन दिने हो ? सानो—सानो कुरामा खुसी हुन सकिँदैन ?’

नेपाल खुसी देश भएकै दिन सायद कसैले आत्महत्या गरेका थिए । उनीहरूको कुरा रोकिएन ।

‘केही दिनअघि झापाबाट काठमाडौँ आएकी एउटा केटीले बिजोगै बनाइदिइछ । अर्काको घरमा आएर किन मर्नुपरेको त्यसलाई ?’

धेरै महिनादेखि लेख्न खोजिरहेको ‘आत्महत्या’ सम्बन्धी लेखलाई त्यसपछि फेरि ब्युँताउन मन लाग्यो । संसारमा हरेक वर्ष मानसिक समस्याका कारण आत्महत्या गर्नेको संख्या ७ लाखभन्दा बढी छ । नेपालमा पनि आत्महत्या गर्नेहरूको संख्या बर्सेनि

बढ्दो छ । सन् २०२१ मा मात्रै ७ हजारभन्दा बढीले आफ्नो जीवन अन्त्य गरे ।

म सुनिरहन्छु । आत्महत्याका खबर आउँदा म सुनिरहन्छु—

‘कस्तो काँतर रहेछ !’

‘जीवनमा आइपरेका समस्यासँग त जुध्नु नि । यसरी हार मानेर कहाँ हुन्छ ?’

‘यस्तो सुन्दर जीवन पाएको छ भाग्यले । यिनीहरू त नर्कमै जान्छन् ।’

आत्महत्या समाजमा बर्जित छ । कानुनले आत्महत्यालाई अपराध भन्छ । धर्मले त सहनै सक्दैन । धर्म भन्छ— आफूले आफ्नो नाश गर्नु पाप हो । आत्महत्या गर्नेहरू पापी हुन् । उनीहरूले कहिल्यै शान्ति पाउँदैनन् । अनन्तकालसम्म यो अस्तित्वमा उनीहरू

भड्किनुपर्नेछ । पुनर्जन्म पनि उनीहरूको

भाग्यमा हुनेछैन । कसैले आत्महत्या गर्दा अनेक टिप्पणी सुन्छु । काँतर, हिम्मत नभएको, हुतीहारा, भगौटे, स्वार्थीजस्ता शब्द ‘ट्रेन्डिङ’ मा हुन्छन् । जसले आफूलाई सिध्यायो, उनीहरू कसैका हुन्नन् । समयसँगै उनीहरू पनि सबैको स्मृतिबाट हराएर जान्छन् । उनीहरूले किन यसो गरे— कसैले बहस गर्दैन । कसैले चिन्तन गर्दैन ।

आत्महत्याका प्रमुख कारणबारे धेरैलाई थाहा छ । पहिलो मानसिक स्वास्थ्य नै हो । मानसिक स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउने प्रमुख कारणहरू आर्थिक संकट, गरिबी, धोका, जीवनदेखि निराशाले निम्त्याउने मानसिक विचलन आदि हुन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वेबसाइटअनुसार, हरेक वर्ष ७० हजारले आफ्नो ज्यान लिन्छन् । त्योभन्दा बढी आत्महत्याको प्रयास गर्नेहरू हुन्छन् । ७७ प्रतिशत आत्महत्या गरिब देशमा हुन्छन् । १५–१९ वर्ष उमेर समूहमा मृत्युको चौथो कारण आत्महत्या हो ।

यो सबै तथ्यांक हामीमाझ छ । तर, हामी मानसिक स्वास्थ्य समस्याबारे बोल्न र सुन्न डराउँछौं । डिप्रेसन र एन्जाइटीबारे बोल्नुपरे हामी बिटुलो हुन्छौं ।

एक दशकअघि मैले चिनेकी दिदीकी बुबाले आत्महत्या गर्नुभयो । न घरमा कुनै समस्या थियो न आर्थिक संकट । समाजले देख्ने दृश्य सपाट थियो— त्यो घरमा ‘ईश्वरले बास’ गरेका थिए । तर, बुबा क्लिनिकल डिप्रेसनबाट दिनरात निसास्सिँदा त्यो घरमा ईश्वर बसेन ।

केही मान्छेहरू सोध्थे, ‘किन आत्महत्या गर्नुभयो ?’

केही मान्छेहरू उत्तर सुन्थे । धेरै मान्छेहरू सुनेर पनि नबुझी हिँड्थे ।

कतिलाई लाग्यो— घरमा पक्कै केही समस्या थियो ।

कतिले अनुमान गरे— श्रीमतीको पक्कै कतै अफेयर थियो ।

कतिले निर्णय नै सुनाइदिए— ऋणमा डुबेको थियो ।

ती दिदीले कसैलाई भन्न सकिनन्, ‘बुबा डिप्रेसनमा हुनुहुन्थ्यो, हामीले बुझ्नै सकेनौं ।’

उनले मात्रै होइन, हामी धेरैले बुझ्नै सक्दैनौं ।

दिदी पनि लामो समय डिप्रेसनको सिकार भइन् । भन्थिन्, ‘बुबा गुमाउनुको पीडा त छँदै छ, त्यहीमाथि मेरै कारण बुबाले आत्महत्या गरेको आरोप लगाउनेहरू पनि थिए । मनको घाउ त क्यान्सरजस्तो हुने रहेछ नानी ।’

२०१९ जुनमा भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या खबरले म बिथोलिएँ । त्यसपछिका केही दिन मेरा लागि सजिला थिएनन् । म हरक्षण सोचिरहन्थें । मलाई मन रित्तो र तीतो भएजस्तो

भइरह्यो । पेट पोलिरह्यो ।

सुशान्तले किन यसो गरे ?

भौतिक आँखाले हेर्दा उनका करोडौं फ्यान थिए । ट्वीटरमा लाखौं फलोअर्स थिए । तर, उनी चुपचाप अलप भए । त्यति धेरै मानिसको प्रिय भएर पनि उनीसँग अन्तिममा कोही थिएन ।

उनले धक फुकाएर भन्न पनि सकेनन्, ‘मलाई डिप्रेसन छ...।’

सुशान्त बोलेनन् । नबोली उनी गए । बोल्नु र नबोल्नुको भेद कहिलेकाहीँ म सोची बस्छु । म त बोल्छु । मेरा घरका हरेक मान्छे बोल्छन् । मेरा वरपरका हरेक मान्छे बोल्छन् ।

म बोलेको उनीहरू सुन्छन् ? उनीहरू बोलेको वरपरका अरूले सुन्छन् ?

सुन्नुको अर्थ उनीहरू मात्रै बुझ्छन्— जो कसैलाई केही सुनाउन चाहन्छन् ।

सुशान्तको आत्महत्यापछि सामाजिक सञ्जाल जाग्यो । मलाई लाग्यो— मानसिक स्वास्थ्य समस्याबारे अब मान्छे जाग्नेछन् । हेल्पलाइन नम्बरहरू बढ्नेछन् । एउटा मान्छेको मन अर्को मान्छेले पढ्नेछ । एउटा मान्छेको दुःख अर्को मान्छेले बुझ्नेछ ।

संसार आफ्नै लय र गतिमा चलिरह्यो । सुशान्तको आत्महत्या रिया चक्रवर्ती, महेश भट्ट, करण जोहर, आलिया भट्टहरूको बहसमा टुंगियो । सुशान्तको मानसिक स्वास्थ्यबारे ‘गोदी मिडिया’ बोल्नै चाहेन ।

त्यसपछि म झस्किएँ ।

संसारमा सबैभन्दा सजिलो मर्नु हो कि बाँच्नु ?

मानसिक स्वास्थ्यसँग जुध्ने व्यक्तिका परिवारलाई त्यो पीडाले सधैं अचेटिरहन्छ ।

डिप्रेसन आफूलाई नभई बुझिन्न । भन्छन्— आफू नमरी नर्क देखिँदैन । डिप्रेसन त्यही नर्क हो । यसका पनि प्रकार छन् । माइल्ड, मोडरेट र सिभेयर । सिभेयर डिप्रेसनको यो खाडलमा भास्सिइरहँदा मृत्यु नै अन्तिम विकल्प लाग्छ । आत्महत्या प्रयास गर्नेहरू यसै भन्छन् ।

मानिसहरू किन आत्महत्या प्रयास गर्छन् ?

अनुभवीहरू भन्छन्— आत्महत्याको प्रयास गर्दा आफू भइँदैन । विवेक नियन्त्रणमा हुँदैन । चेतनाशून्य हुन्छ । चरम अवस्थामा पुग्दा सही, गलत, असल, खराब, परिवार, जिन्दगी, प्रेमी, प्रेमिका, सफलता, असफलता सब गौण लाग्छन् । सम्पूर्ण जीवन अर्थहीन लाग्छ । त्यतिबेला जीवनको अर्थ, मूल्य, सौन्दर्य शून्य लाग्छन् ।

सिजोफ्रेनिकलाई कोही अरू नै मानिस वा तत्त्वले डोर्‍याइरहेजस्तो लाग्छ । यो रोगको चरम अवस्थामा मानिस आवाज नै आवाजले घेरिन्छ । फिल्म र कथाहरूमा सिजोफ्रेनियालाई अतिरञ्जित देखाइए पनि केही हदसम्म त्यो साँचो हो । कल्पना गर्नुस् त— तपाईंलाई दिनरात छाया र आकृतिहरूले

पछ्याइरहन्छन् । सुत्दा होस् या उठ्दा— आवाजहरूले घेरिरहन्छन् । बाहिर निस्किँदा पनि अँठ्याइरहन्छन् । सुत्दा ऐंठन हुन्छ । कसैले छाती थिचिरहेजस्तो, बिस्ताराको छेउमा घोप्टो मुख लगाएर बसिरहेको र ढोकाबाट हेरिरहेको दृश्य हरेक दिन देख्नुपर्दा मानिसमा कति विचलन आउँछ होला ? सुन्दा भूतप्रेतका कथाझैं लाग्छन् । तर, सिजोफ्रेनियाबाट ग्रसितहरूका लागि यी दैनन्दिनका सत्य कथा हुन् ।

अध्ययनका अनुसार, सिजोफ्रेनियाका कारण १० प्रतिशतले आत्महत्या गर्छन् । नेपालमा पनि सिजोफ्रेनियाका पीडितहरू धेरै छन् । तर, सामाजिक कारणले खुल्न सक्दैनन् । किनकि नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सतही छ । यहाँ मानसिक स्वास्थ्य परामर्श वा थेरापीको समीक्षा भएकै छैन । एक त महँगो, त्यहीमाथि परामर्शदाताहरूको कलुषित व्यवहार ! काठमाडौंमा मात्रै सीमित यो अपरिपक्व परामर्श सेवा राजधानीबाहिरका बिरामीबाट प्रकाश वर्षभन्दा टाढा छ । चर्को शुल्कका कारण काठमाडौंकै बिरामी पनि चुपचाप आफूसँग लडेर बसिरहेका छन् । मानसिक स्वास्थ्य भन्नेबित्तिकै ‘दिमाग खुस्किएको पागल’ भनेर बुझ्ने समाजलाई उनीहरू कसरी बुझाऊन् ? परामर्शदाताहरू प्रायःले डिप्रेसन वा अरू मानसिक समस्या आफैंले अनुभव गरेका हुँदैनन् । उनीहरूले डिप्रेसन पढेका त छन्, तर अनुभव गरेका छैनन् । पेसाका रूपमा मात्रै लिनेहरूसँग दयाभन्दा धेरै बढी केही हुँदैन ।

मानिस ‘सुसाइडल’ कति बेला हुन्छ, त्यसको ठेगान हुँदैन । आत्महत्या गर्ने मानिसको उद्देश्य जीवन समाप्ति नै हो या चलिरहेको परिस्थितिबाट मुक्ति ? यस्ता प्रश्नको एउटै जवाफ छैन । खासमा उनीहरू आफ्ना विचारसँग हारेर यो निर्णय लिन्छन् । आत्महत्या रोकथाम हटलाइनहरू नेपालमा नभएका होइनन् । केही वर्षयता सरकारी र गैरसरकारी क्षेत्रबाटै यसको पहल भएको छ । तर, त्यो पर्याप्त छैन । साँझ परेपछि सरकारी कार्यालयझैं ती बन्द हुन्छन् । राति १२ बजे कसैले त्यस्ता हटलाइनमा फोन गर्‍यो भने नउठेर टुँ...टुँ... गर्न थाल्छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार, गत आर्थिक वर्ष आत्महत्या गर्नेको संख्या ७,१४१ थियो, जुन अघिल्लो वर्षभन्दा १४.२ प्रतिशतले बढी हो ।

आत्महत्याको प्रयास विफल हुँदा जीवनभरका लागि थपिने पीडाको पाटो छुट्टै छ । शारीरिक रूपमा पुग्ने क्षतिले जीवन नै बर्बाद पारिदिन्छ । यसमा अपांगता पहिलो सूचीमा पर्छ । त्यस्तै, सामाजिक दृष्टिकोणमा बदलाव, साथीभाइद्वारा बेवास्ता आदि असर चीरकालसम्म रहन्छन् । यसले त झनै मानसिक पीडा दिन्छ ।

परीक्षामा फेल हुँदा वा प्रेमी—प्रेमिकाले धोका दिँदा आवेशमा आएर गरिने यस्ता निर्णयहरू घातक हुन्छन् । तर, त्यो अवस्थासम्म कसले पुर्‍यायो ? राम्रो अंक, राम्रो करिअर, पैसा र सफलतालाई यति धेरै प्राथमिकतामा राखिएको छ कि अलिकति असफल हुनासाथ सबै सकिएझैं लाग्छ । मानसिक रूपमा दबाब दिने यस्ता गणितीय तत्त्व हुन्थेनन् भने आत्महत्याको दर यति भयावह हुन्थेन ।

अझै कोरोना महामारीपछि त किशोरकिशोरी र बालबालिका मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् । लकडाउनका बेला धेरैले आफूलाई सिध्याए । समाचार बने । तर, कुनै मानसिक रोगले निलेको उनीहरूलाई पत्तै भएन । मानसिक स्वास्थ्यप्रति पूरै बेखबर हाम्रो शिक्षा प्रणाली पनि यसमा सबैभन्दा बढी जिम्मेवार छ । विद्यालयमा हुने सजायका प्रक्रियाले पनि विद्यार्थीको मानसिक स्वास्थ्यमा असर गरिरहेको छ । शारीरिक सजाय सहरी क्षेत्रमा धेरै कम भए पनि दुर्गम क्षेत्रमा अझै उस्तै छ । त्यससँगै, नेपालका कुनै पनि विद्यालयमा विद्यार्थीका लागि छुट्टै मनोपरामर्शदाता छैनन् । शिक्षकहरूले धम्क्याउँदा चिठ्ठी लेखेर आत्महत्या गरेका उदाहरण हाम्रैसामु छन् ।

केही समयअघि सरकार, पत्रकार र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी आत्महत्या रोकथामसम्बन्धी एउटा कार्यक्रममा भाग लिएँ । मलाई लागेको थियो— मानसिक स्वास्थ्य समस्याबारे छलफल हुनेछ । यसबारे बोल्न र सचेतना जगाउनका लागि नयाँ यात्रा थालिनेछ । तर, कार्यक्रममा मानसिक स्वास्थ्य सचेतनाबारे बहस त भएन नै, उल्टो आत्महत्याको विषयलाई समाचार कसरी बनाउने वा आत्महत्या शब्दलाई कसरी विस्थापन गर्ने भनेर प्रशस्त सुझाव आए ।

म चुपचाप बाहिरिएँ । कहिलेकाहीँ यसरी चुपचाप बाहिरिनुपर्दा म दुःखी हुन्छु ।

यस्तै दृष्टान्तले मर्मान्त पारेपछि म एक दिन आफूवरपरको समाजमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम बढाउने प्रस्तावसहित वडा कार्यालय गएँ ।

‘विद्यालय तहदेखि नै यसबारे खुलेर बोल्ने प्लेटफर्म दिए मानसिक स्वास्थ्यसम्बन्धी गलत धारणा कम गर्न सकिन्छ, आफ्नो शारीरिकसँगै मानसिक परिवर्तन र सुस्वास्थ्यका बारेमा उनीहरूले जान्ने—बुझ्ने मौका पाउनेछन्,’ मैले भनें ।

वडा सचिवले खरर उत्तर दिए, ‘एक त बल्लबल्ल स्कुल खुल्या छन्, अहिल्यै यस्तो कार्यक्रम नगरौं । विद्यार्थी यसै तनावमा छन् ।’

म छक्क परें ।

मानसिक स्वास्थ्य भन्नेबित्तिकै जटिल बुझ्ने र योबारे कुरै गर्नु हुँदैन भन्ने सोचले पीडितको संख्या झन्झन् बढ्दो छ । यस्ता समस्यासँग जुधिरहेकाहरूले सबैसँग खुलेर बोल्न सक्ने वातावरण बनाइदिन यो सरकार र समाज कसैले सकेकै छैनन् । कोरोना महामारीका बेला मानसिक स्वास्थ्य, परामर्शबारे बहस भनेर ठूलाठूला कुरा भए पनि अहिले ती सबै पहल सेलाएका छन् ।

हाम्रो समाजमा यस्ता धेरै पात्र छन्, जो

चुपचाप कसैले मूल्यांकन गर्ला भनेर एक्लै रोएर बस्छन् । कोही परिवार सम्हाल्दासम्हाल्दै भित्रभित्रै

यति टुटिसकेका हुन्छन् कि आफू को हो, बिर्सिन थाल्छन् । कोही त्यस्ता छन्, जो आफ्ना मान्छे

गुमाएको पीडाले रातदिन छटपटाइरहन्छन्, तर मनको आँधीबेहरी कसैलाई सुनाउन सक्दैनन् । एउटा घटनामा आफ्ना प्रिय व्यक्तिलाई गुमाएपछि ‘पीटीएसडी’ र डिप्रेसनले ग्रसित एक साथी भन्छ, ‘यो डिप्रेसनले मान्छेलाई स्वार्थी बनाउँछ । मान्छेलाई बिस्तारै पत्थर बनाउँछ । भावनाहीन वस्तु बनाउँछ । न आफ्नो माया लाग्छ न अरूको । आँखैअघि माकुराको जालोझैं फैलिएको अन्धकारमा डुबेर मान्छेले जीवनबाट

मुक्ति चाहन्छ ।’

मान्छे किन रुन्छ ? किनकि रुन सजिलो छ ।

रुन पनि एक्लै सजिलो ठान्छ मान्छे । हामी रोएको अनुहार देख्न चाहँदैनौं ।

मान्छेहरू भन्छन्— सकारात्मक सोचौं । सकारात्मक सोच्ने मान्छेको संगत गरौं । सकारात्मक मानिसले सकारात्मक ऊर्जा दिन्छ ।

त्यसो भए आफ्नो नकारात्मक सोचाइसँग लडिरहेका मान्छेको संगत कसले गर्छ ? मुस्कुराएको मात्र हेर्न चाहने मान्छेहरूको भीडमा चुपचाप र उदास मान्छेको अनुहार कसले हेर्छ ?

कोही किन दुःखी हुन्छ ? कोही किन उदास हुन्छ ?

जो गए, तिनीहरू काँतर होइनन् । पीडित हुन् । मानसिक स्वास्थ्यबारे थाहै नपाई, आफ्ना गुनासा कसैलाई सुनाउनै नसकी उनीहरू आफूसँग लड्दालड्दै हारे । यो सुन्दर संसारबाट अलप भए । उनीहरूलाई जीवनको भीमकाय दर्शन होइन, माया र सहानुभूति मात्रै चाहिएको छ । ताकि कसैले मृत्यु रोज्नु नपरोस् । आत्महत्या गर्नु नपरोस् । हामी ठीक छैनौं भने ठीक हुनेछौं । यो समस्या नियन्त्रण गर्न सकिन्छ । डिप्रेसन पनि निको हुन्छ । एन्जाइटीको उपचार सम्भव छ । थेरापीहरू छन् । आफ्नो मन र आफूलाई बुझ्न सके अघि बढ्न सकिन्छ ।

किनकि जीवन सुन्दर छ । यो जीवन सुन्दर

संसार सयर गर्न सहयोग गर्ने जहाज हो । यो जहाजको सयर साँच्चिकै सुन्दर छ । यसमा सयर गर्दा

कहिलेकाहीँ ‘सी सिकेनस’ लाग्न सक्छ । कहिलेकाहीँ आँधीबेहरी आएर जहाजै डुब्लाझैं हुन सक्छ । जहाज बाटो बिराएर महिनौंसम्म हराउन पनि सक्छ । कहिलेकाहीँ बरफका ढिक्काहरू ठोक्किन पनि आउन सक्छन् । तर, ती बाधाहरूबाट बाँचियो भने यात्रा सम्झनलायक हुनेछ ।

त्यसैले, मानसिक स्वास्थ्य समस्यालाई वर्जित नगरौं । छलफल गरौं । सचेतना बढाऔं । यसबारे खुलेर बोल्न सक्ने वातावरण बनाऔं । किनकि भन्छन् नि— हरेक मानिसको जीवनमा आत्महत्याको सोच एक न एक पटक जरुर आउँछ आउँछ ।

तर, यो सोचाइ रोक्न सकिन्छ ।

तथ्यांक भन्छ— आत्महत्या प्रयास गर्नेहरूलाई उचित परामर्श दिइयो भने ९३ प्रतिशतले दोस्रो पटक प्रयास गर्दैनन् । हामीले कदम उठायौं भने ती ७ प्रतिशतलाई पनि जोगाउन सकिन्छ ।

जसले यो कठोर संघर्ष गरिरहनुभएको छ, सबैलाई भन्न चाहन्छु— दिमागभित्रको शून्यता र नैराश्य एक दिन हटेर जानेछ । उज्यालो आउनेछ । रङहरू फर्किनेछन् । हरेक सेकेन्ड भार भइरहेको जीवन सिमलको भुवाजस्तै हलुका हुनेछ । केही सेकेन्ड वा मिनेटको आवेगले यति सुन्दर र अनुपम जीवन नमासियोस् ।

कतै पढेकी थिएँ— अन्त्यमा सबै ठीक हुन्छ ।

यदि ठीक छैन भने त्यो अन्त्य होइन ।

प्रकाशित : वैशाख ३१, २०७९ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

हे पापिनी !

स्वस्थानी कथामा वर्णन गरिएजस्तो महिलाहरु पापिनी हुन् भने हामी सबै पापिनी हौं ! ‘आँखा तर्ने, लुकाएर खाने, रिसाउने, मुखमुखै लाग्ने, महिनावारी नबार्ने, व्रत नबस्ने !’ कति महिलाले आँखा कति तरे तरे ! लुकाएर त कति खाइयो ! कति रिसाइयो ! कति मुख छाडियो ! व्रत कहिल्यै बसिएन ! जरूर साथी, हामी असंस्कारी ! जरूर साथी, हामी पापिनी !
शिक्षा रिसाल

माघे संक्रान्तिमा बाँकी भएका तिल, लड्डु, चाकु अनि कहिलेकाहीँ सुन्तला र बदाम ! घरमा यस्तै हुन्थे– श्रीस्वस्थानीका प्रसाद । प्रसादको लोभले पनि हात जोडेर स्वस्थानीको कथा सुन्न बस्थ्यौं । बहाना स्वस्थानी भए पनि सबैको ध्यान प्रसादमै हुन्थ्यो । हाम्रो पुस्ताका लागि ‘स्वस्थानी’ एउटा ‘नोस्टाल्जिया’ हो ।

साँझ पर्नासाथ सबै जना हात धोएर बिहान बगैंचाबाट टिपेका फूलमा अलिकति पानी हालेर पुष्पाञ्जली बनाउँथे । अनि सबै एकाग्र भएर सुन्न बस्थे ।

आँखा बन्द गरेर घाँटीका नसा फुलाउँदै ‘यम ब्रह्म बरुरेन्द्ररुद्र...’ स्वस्थानी व्रत कथा सुरु गर्थे ।

‘कुमारजी आज्ञा गर्नुहुन्छ— हे अगस्त्य मुनि’ !

हजुरबुबाको विशेष प्रभाव थियो ममा । उहाँलाई मैले लयमा स्वस्थानी वाचन गरेको खुब मन पर्थ्यो । स्वस्थानीको कथा हरेक वर्ष पढ्दापढ्दै कण्ठ भइसकेको थियो । तर, पनि कुनैकुनै बेला घाँटी किक्लिक्क हुन्थ्यो । डर लाग्थ्यो । रुन आउँथ्यो ।

बाल्यकालमा स्वस्थानी एउटा दन्त्यकथाजस्तो लाग्थ्यो । बाल्यकालमा दन्त्यकथा कसलाई मन पर्दैन र !

वर्षैभरि कहिले स्वस्थानी पढ्ने दिन आउलाजस्तो लाग्थ्यो । अलि पढ्न सक्ने भएपछि त म आफैं खरर स्वस्थानी पढ्न थालिसकेकी थिएँ । तर, स्वस्थानीप्रतिको झुकाव लामो समय टिक्न सकेन ।

हुर्कंदै गर्दा स्वस्थानीप्रतिको दृष्टिकोणमा परिवर्तन हुँदै जान थाल्यो । यो मलगायत धेरैले अनुभव गरेको कुरा हो । अहिले आएर स्वस्थानी समस्यै समस्या र असमानताले भरिएको एउटा ‘आउटडेटेड’ ग्रन्थजस्तो लाग्छ । यस्तो ग्रन्थ— जसले समाजलाई अघि होइन, झन् पछि धकेल्ने काम गर्छ । सामाजिक चेतना बढाउने होइन, खुम्च्याउने काम गर्छ ।

नट माई स्वस्थानी !

किन ?

महिला अत्याचारको कथा मन पर्नुपर्छ भन्ने छैन । पहिले पो चेतना थिएन, मन पर्थ्यो । पुरुष–महिलाबीचको असमानता थाहा थिएन, रमाइलो लाग्थ्यो । बिस्तारै पितृसत्तात्मक समाजमा हुर्कंदै गएपछि यो ग्रन्थमा भएका समस्या देखिन थाले । स्वस्थानीमा भएका महिला पात्रहरूमा आफूलाई देखिन थालियो । उनीहरूका पीडा आफ्ना लाग्न थाले ।

हुन त कत्तिको नाजुक आस्थामाथि ठेस लाग्ने होला, तर स्वस्थानी किताब पढ्न बन्द गरिदिए हुन्छ । वा यसमा संशोधन हुनुपर्छ । तर, त्यो पनि सम्भव नहोला । किनकि यो हाम्रो संस्कारमा घुलिसकेको छ । बालबालिकाहरू यही कथा पढ्दै, सुन्दै हुर्किन्छन् । उनीहरूमा विकास हुने चेतनामा लैंगिक असमानताको जरो गढिसकेको हुन्छ ।

कोही जन्मिँदै शोषक र पितृसत्ताको समर्थक हुँदैन । समाजले बनाउने हो । माफ गर्नुहोस् ! तर, यस्ता ग्रन्थहरू सुनाउन बन्द गरिएन भने हामी झन् ढुंगेयुगतिर जानेछौं ।

स्वस्थानी व्रतकथाअनुसार, महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा फेरि उनको जन्म भएको हो । पार्वती सानै उमेरदेखि महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् ।

यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भनेअनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकीले महादेव पति पाएको विश्वास गरिन्छ । व्रतको प्रभावले शिव–पार्वतीको विवाह भएको कुरा पौराणिक धर्मग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

यो कथा पढ्दा म सधैं काल्पनिक संसारमा पुग्थें । ग्रन्थमा उल्लेख गरिएका कुराहरू सबै मेरो दिमगभरि चल्थे । मन उद्विग्न हुन्थ्यो ।

स्वस्थानी कथाका सबै घटना काठमाडौंवरपरै भएको देखिन्छ– सत्य युगमा । जस्तै : साँखुमा साली नदी, श्लेषमान्तक वन !

स्वस्थानी कथाको प्रभाव भएर होला— मेरो घरमा भिक्षा माग्न आउने जोगीले कहिल्यै कुर्नुपरेन । जब कोही भिक्षा माग्न आउँथे, म दौडँदै गएर एक पाथी चामल दिन्थेँ । एक दिन आमाले देखिहाल्नुभो । ‘यत्रो धेरै कसले दिन्छ ?’ मैले रुन्चे स्वरमा भनेँ, ‘अनि मलाई सराप दिए भने ?’ कत्रो डर ? कथामा एक पात्र छिन्— गोमा ।

गोबरबाट जन्मिएकी उनी एक दिन घरमा एक्लै हुँदा कनिका केलाएर बसेकी हुन्छिन् । यत्तिकैमा भगवान् शिवजी एक जोगीको रूप धारण गरेर आउँछन् । गोमाले ‘एकै छिन है, कनिका केलाइसकेपछि भिक्षा दिन्छु’ भन्छिन् । तर, शिवजीले उनलाई श्राप दिनु थियो, दिन्छन् । उनले ५ वर्षकी नानीलाई श्राप दिन्छन्, ‘लौ, तेरो सात वर्षको उमेरमा सत्तरी वर्षको बूढोसँग बिहे हुनेछ । पापिनी, तैंले दुःख पाउनेछस् !’

फेरि उही शिवजी ७० वर्षको वृद्ध शिवशर्मा ब्राह्मण बनेर आउँछन् । अनि गोमा ब्राह्मणीसँग बिहे गर्छन् । पूजाका लागि उनी फूल टिप्न रूख चढ्छन् अनि खसेर मर्छन् । उनको आत्मा कैलाशतिर जान्छ । वर्षौंपछि उनका छोरा नवराज आएर रूखमुनि हेर्दा आफ्ना बाउको हाडखोर फेला पार्छन् ।

स्वस्थानी महिला पात्रहरूले असाध्यै दुःख पाएको कथा हो ।

स्वस्थानीमा भनिएको छ, ‘एउटी महिलाले आफ्नो श्रीमान्लाई आँखा तरेर हेरे अन्धी हुन्छे । मुख चलाए लाटी हुन्छे । लुकाएर खाए कुकुर्नी हुन्छे ।’

यी हरफ पढ्दा मलाई सानै बेला रिस उठ्थ्यो । अहिले एकदम क्रोधित हुन्छु । स्वस्थानीमा महिलाका व्यवहारहरू वर्णन गरिएका छन् ।

जस्तै : रातो–रातो आँखा पारी । दाह्रा किटी । आँखाबाट आँसु खसाली ।

यो कस्तो हेपाइको भाषा हो ?

‘श्री स्वस्थानी माता को हुन् ? कहाँबाट आइन् ? कहाँ छिन् ?’ भनेर गोमाकी बुहारी चन्द्रावतीले प्रश्न मात्रै के गरेकी थिइन्– बिचरा वर्षौंसम्म साली नदीको तीरमा श्रापित जीवन बाँच्नुपर्‍यो । कहिले होसमा आउँदै, कहिले बेहोस हुँदै बस्नुपर्‍यो । चन्द्रावतीको कोणबाट हेरौं । गरिब घरमा बिहे भयो । त्यसमाथि श्रीमान् पनि बुबाले खोजिदिए । त्यतिबेला उनलाई माइत जान मन लाग्यो, गइन् । त्यसमा सबैले उनको कुरा काटे– ‘दुःखका बेला एक्ली सासूलाई छाडेर चन्द्रावती माइत गई । कस्ती पापिनी !’

नवराज राजा भए लावण्य देशको । अनि आफू महारानी भएपछि वर्षौंसम्म वियोगमा बसेकी चन्द्रावतीलाई श्रीमान भेट्न हतार भइहाल्ने भयो । नवराजले चन्द्रावतीलाई लिन डोलेहरू पठाए । डोलेहरूलाई भोक लाग्यो । त्यही वनमा अप्सराहरू आई स्वस्थानीको व्रत–पुञ्ज गर्न लागेका हुन्छन् । प्रसाद लिएर जाँदा चन्द्रावतीले आँखा रातो पारिन्, दाह्रा किटिन्, बलिन्द्र आँसुका धारा खसालिन् । डोलेहरूलाई गाली गरिन् । ४ जना हुँदा २–२ जना भएर खाना खोज्न गएका भए पनि हुन्थ्यो । सुनसान वनमा महारानीलाई एक्लै छाडेर जाँदा उनी बिच्किनु स्वाभाविक थियो ।

त्यसपछि चन्द्रावतीले प्रसाद खाँदिनन् । उल्टो फालिदिन्छिन् र खुट्टाले कुल्चेर थु... थु... गर्छिन् भनी स्वस्थानीमा लेखिएको छ ।

त्यसपछि चन्द्रावतीका दुःखका दिन सुरु हुन्छन् । साली नदीमा आँधीहुरी आउँछ । डोलेहरूलाई बगाउँछ । डोलेहरूले स्वस्थानीको व्रत–पुञ्ज प्रसाद खाएकाले उनीहरूले मोक्ष प्राप्त गर्छन् । तर, चन्द्रावती ? वर्षौंसम्म साली नदीको तीरमा कहिले मूर्च्छा पर्छिन्, कहिले अवचेतन अवस्थामा हुन्छिन् । त्यत्रो राजाले आफ्नी श्रीमती कहाँ छिन् भनेर किन पत्ता लगाउन नसकेका होलान् ?

अझै सबैभन्दा डरलाग्दो— ऋषिहरूले जब चन्द्रावतीलाई खानेकुरा ल्याइदिन्छन्, तब—‘माटो खाऊँ भन्दा ढुंगा भयो, ढुंगा खाऊँ भन्दा खरानी भयो, खरानी पनि खाऊँ भन्दा ठूलो बतास आएर उडाएर लग्यो ।’

अनि ऋषिहरूले पनि चन्द्रावती त साह्रै पापिनी रहिछे भन्ने निर्क्योल निकाली जान्छन् । तर, फेरि स्वस्थानी माताको व्रत बसेपछि उनका सबै पाप नष्ट हुन्छन् । उनी पखालिन्छिन् । उनी चोखो हुन्छिन् । उनलाई अप्सराहरूले भन्छन्– तँ अब पापिनीबाट पुण्यवती भइस् !

बाल्यकालमा जब चन्द्रावतीको कथा सुनिन्थ्यो, तब हामीलाई पनि चन्द्रावती नै गलत लाग्थ्यो । उनले सजाय पाएर दुःख पाउँदा आनन्द आउँथ्यो । अझै दुःख पाए हुन्थ्योजस्तो लाग्थ्यो । हो, हाम्रा ग्रन्थहरूले यही कुरा सिकाइरहेका छन् । देउता र भगवान्हरूले जे–जसो गरून्— सब माफ हुने ! मानिसले अलिकति बाटो बिरायो भने श्रापित जीवन बाँच्नुपर्ने ! खोलाको बगरमा मुढोझैं सुत्नुपर्ने ! त्यहीमाथि महिलाले त बाटो बिराउनै भएन । नत्र त ऊ पापिनी, राक्षसनी भइहाली !

भगवान् होलान्/नहोलान्, आफ्नो ठाउँमा छ, तर स्वस्थानीजस्ता किताबले भगवान्सँग डराउनुपर्छ भनी सिकाउँछन् । देउताहरूलाई नपुजे जीवन नर्कबराबर हुन्छ भनी पढाउँछन् । बाल्यकालमा स्वस्थानीको किताब कुल्चिँदा वा झुक्किएर भुइँमा खस्दा पनि हाम्रो सातो जान्थ्यो । ओहो ! स्वस्थानी माताले अब श्राप दिन्छिन् भनेर रातभर निद्रा लाग्दैनथ्यो । खाँदा–खाँदै प्रसाद मुखबाट खसेर भुइँमा पुग्यो भने ‘ला ! अब चन्द्रावती भइने भयो’ भनेर मनबाट चैन हराउँथ्यो ।

स्वस्थानी कथामा वर्णन गरिएको जस्तो महिला सबै पापिनी हुन् भने हामी सबै पापिनी हौं !

‘आँखा तर्ने, लुकाएर खाने, रिसाउने, मुखमुखै लाग्ने, महिनावारी नबार्ने, व्रत नबस्ने !’

कति महिलाले आँखा कति तरे तरे ! लुकाएर त कति खाइयो ! कति रिसाइयो ! कति मुख छाडियो ! व्रत कहिल्यै बसिएन !

जरुर साथी, हामी असंस्कारी !

जरुर साथी, हामी पापिनी !

शिवजीले सतीदेवीलाई धेरै माया गर्ने रहेछन् । तर, सतीदेवीले आगोमा हाम फालिन् । यो कथा पनि मलाई कहिल्यै चित्त बुझेन । सतीदेवीको शरीर लिएर फेरि शिवजी संसारभरि पुग्छन् । बहुलाउँछन् । सतीदेवीको शरीरका अंग पतन हुँदै जान्छन् । त्यहाँ सबै शक्तिपीठहरू बन्दै जान्छन् ।

सतीदेवी फेरि पार्वतीका रूपमा जन्म लिन्छिन् । अनि श्रीस्वस्थानी र तीजका व्रत सबै बसेपछि महादेवसँग विवाह गर्न पाउँछिन् ।

ओहो ! आगोमा जलेर खरानी भई अर्को जन्म लिई दुनियाँ तपस्या गरेपछि शिवजीलाई पाउने रे ! के अत्याचार हो यो ? यो प्रेम हो कि दासत्व ?

शिवजी पनि कति ‘कुल’ ! मन लागे वनमा मृग बनेर डुलेको छ । पार्वतीले मलाई चिन्छे कि चिन्दिनँ भनेर गेम खेलेको छ । मन लागे खोलामा गएर सबै अप्सरालाई गर्भवती बनाइदिएको छ । तर, जब जालन्धर आएर पार्वतीसँग ‘फ्लर्ट’ गर्न खोज्छन्, तब उसको भागमा मृत्यु ! वाह रे शिवजी ! त्यो पनि उनकै पत्नीको तपस्या भंग गरेर रे ! विष्णु भगवान् जालन्धर बनेर वृन्दाकोमा जान्छन् । वृन्दालाई के थाहा— आफ्नै श्रीमान् हो सोच्छिन् नि ! यता श्रीमतीको तपस्या भंग, उता श्रीमान्को मृत्यु !

मानिसजस्तै भगवान्का पनि कमजोरी छन् । भगवान्हरूमा पनि समस्या छन् । तर, भगवान्का सबै गल्ती माफ, मानिसलाई सजाय ! भगवान्का गल्तीहरू ‘चतुर्‍याइँ’, मान्छेका गल्तीहरू ‘पाप’ ! महिलालाई त झन् घोर सजाय !

त्यसो त हाम्रो धर्ममा महिलाले दानवहरूको नष्ट पनि गरेका छन् । मधु कैटव, चण्डमुण्ड, महिषासुरजस्ता राक्षसलाई सखाप पार्ने पार्वतीका अनेक रूप हुन् । जब घोर अन्याय हुन थाल्छ, तब एक महिलाले कालीको रूप धारण गर्छिन् रे ! महिला भगवान् प्रायः कम शक्ति भएकाहरू देखिन्छन् । कालीलाई अलिकति बलियो देखाइएको छ, तर उनी पनि रिसाहा र एकोहरो स्वभावकी रे ! शक्ति बाँडफाँटमा पनि यहाँ असमानता छ ।

यी भगवान्लाई भने वर्षौं पत्थर बनेर बस्नु नपर्ने । अहल्याको कथा पनि त्यस्तै छ । गौतम ऋषिकी पत्नी अहल्या निकै सुन्दर हुन्छिन् । इन्द्र त एक नम्बरको लम्पट भइहाले । उनलाई अहल्या मन पर्‍यो भन्दैमा सूर्य भगवान्लाई आधा रातमा उदाउन भन्छन् । सूर्य पनि मान्ने फेरि ! गौतम ऋषिको भेष धारण गरेर अहल्यासँग सम्भोग गर्छन् इन्द्रले । अब यसमा अहल्याको के दोष ? गौतम ऋषिले यो कुरा थाहा पाउँछन् । त्यसको सजायस्वरूप अहल्या वर्षौंसम्म पत्थर भएर बस्नुपर्छ । मुक्ति पाउन भगवान् रामको जन्म र कति जुनी पर्खिनुपर्छ । के अत्याचार हो यो ?

ढुंगा त भगवान् विष्णु पनि भए । उनलाई पनि शालिग्राम हुनुपर्‍यो । झार र रूख हुनुपर्‍यो । तर, उनलाई तिनैमा कैद हुनुपरेन ।

यी कथाहरू कति सत्य होलान्, कति मिथ्या होलान्— थाहा छैन । तर, यस्तै ग्रन्थले समाजमा प्रभाव पार्छन् । संस्कार र संस्कृतिमा हावी हुन्छन् । समस्याग्रस्त यस्ता ग्रन्थले पितृसत्तात्मक आडम्बरले मात्तिएको समाजलाई झन् बल दिन्छन् ।

लेख्नेले पनि कमाल लेखेको छ । यसरी लेखेको छ कि मानौं सबै शतप्रतिशत सत्य घटना हुन् । साली नदी भनेको छ । साली नदी पनि वास्तविक ठाउँ हो । सतीदेवीको अंग पतन भएका पीठहरू पनि छन् । यस्ता तत्त्वले मानिसमा झन् विश्वास पैदा गर्छन् ।

धर्म भनेको के हो ? एउटा अनुशासन हो । नियम हो, जसले मान्छेलाई कुकर्म र गलत बाटोमा जानबाट रोक्छ । सत्मार्गमा डोर्‍याउँछ । के त्यो भएकै छ त ? लैंगिक भेदभाव र असमानताका कथाले कसरी नयाँ पुस्तालाई असल बाटो देखाउन सक्छन् ?

तर, प्रश्न गर्नु हुँदैन । कसैले यहाँ धर्मलाई अलिकति पनि आलोचना गर्‍यो भने ‘डलरवादी, फेमिनिस्ट, आस्थामाथि आँच पुर्‍याएको’ आदि प्रतिक्रिया आउँछन् ।

‘हिन्दु धर्म धेरै लचिलो छ । सहनशील छ । अरू धर्मबारे आलोचना गर्न पनि पाउँदैनौ’ भन्दै रटेको जवाफ आउँछ ।

धर्म, देवता र संस्कारमा बहसै गर्नु हुन्न, यी कुरालाई छुनै हुन्न भन्ने अघोर पुरातनवादीको झुन्डले समाज बिटुलो बनाएको छ ।

धार्मिक ग्रन्थहरूले पस्किने अन्धविश्वासबारे विमर्श किन हुँदैन ? छलफल र बहस किन हुँदैन ? अस्ति भर्खर एउटा लेख पढेकी थिएँ । लेखको आशय थियो— आख्यानका किताबबारे कसैलाई मतलब छैन, तर स्वस्थानीका किताब सबैका घरमा सजिएका छन् । बौद्धिकता पस्कने आख्यानका किताबहरू बेवास्ता गर्दै कुरीति, अन्धविश्वास र लैंगिक असमानता पस्कने ग्रन्थहरू घरघरमा, चोकचोकमा भेटिन्छन् । यसैले देखाउँछ हाम्रो समाजको दिशा ।

हिन्दु धर्मका धेरै ग्रन्थ छन् । वेद र कथाहरू छन् । एक युगले अर्को युगमा कथा बुन्दै बुन्दै गएको छ । एउटै कथाले हजार कथा बोकेका छन् । धेरै कुरा राम्रा पनि छन् । तिनले नैतिकता र आचरण सिकाउँछन् । राम्रा कुराबारे बहस आवश्यक पनि छैन । तर, गलत कुराहरू सिकाइनु हुँदैन । पढाइनु हुँदैन ।

‘गीता’ कै कुरा गर्ने हो भने स्वामी गौर गोपाल दासले भनेका छन्, ‘गीता एउटा ग्रन्थ मात्र होइन, जीवन कसरी जिउने भनी सिकाउने एउटा अनुपम र सुन्दर रचना हो ।’ हुन पनि गीताका हरफ सुन्दै प्रेरणादायी लाग्छन् ।

‘रामायण’ र ‘महाभारत’ हेर्ने हो भने त्यही व्यथा छ । सीता हुन् या द्रौपदी, राधा हुन् या रुक्मिणी— सबै पीडित छन् । सबै चपेटामा परेका छन् । युद्धका दोष पनि उनीहरूले नै बोकेका छन् ।

पुरुषहरू पनि बुझिनसक्नु छन् । युद्धमा हजारौं, लाखौंले रगत बगाउँछन् । आफ्नो पुरुष दम्भ र आडम्बरका कारण युद्ध रच्छन् । अनि भन्छन्, ‘जतिजति ठूला युद्धहरू भएका छन्, सबै स्त्रीका कारण भएका छन् ।’

प्रिय पुरुषहरू ! आफ्नो अहम् र दम्भलाई महिलाको पछ्यौरीमा कति लुकाउँछौ ?

आमा भन्नुहुन्छ, ‘यो सबै लेख्नेले जस्तो पायो त्यस्तै लेखेर हो । संस्कृतबाट उल्था गर्दा कुराहरू बिग्रिएका हुन् । यतिसम्म कठोर छैनन् हाम्रा कथाहरू ।’

तर, जब–जब राधा, रुक्मिणी, सीता, अहल्या, द्रौपदी, गोमा, गान्धारी, कुन्ती र सुपर्णखाका कथा सुन्छु, सोच्छु– धर्मजति कठोर अरू के नै छ र ?

प्रकाशित : माघ २२, २०७८ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×