बजाउने हात खोजिरहेछ ‘ङ’- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजाउने हात खोजिरहेछ ‘ङ’

कुन्साङ

सेताम्ये हिमालहरूबीच बसेको छ– हुम्लाको खम्गुङ अर्थात् खगाल गाउँ । हिउँले गाउँलाई सर्लक्कै ढाकेको छ । चारैतिर हिमाल र बीचमा गाउँ । हिमालहरूमा ठक्कर खाँदै–खाँदै गाउँमा गुन्जिरहन्छ– कर्णाली नदीको सुसेली ।

ताम्ये हिमालहरूबीच बसेको छ– हुम्लाको खम्गुङ अर्थात् खगाल गाउँ । हिउँले गाउँलाई सर्लक्कै ढाकेको छ । चारैतिर हिमाल र बीचमा गाउँ । हिमालहरूमा ठक्कर खाँदै–खाँदै गाउँमा गुन्जिरहन्छ– कर्णाली नदीको सुसेली ।

पहिले–पहिले आजका दिन गाउँ कार्चेन (उज्यालो हुनुपहिले उदाउने तारा) सँगै ब्युँझिन्थ्यो । हप्तादिन अघिदेखि नै मान्छेहरू डोको भरीभरी लुगा बोकेर छ्रर्युक (तातो पानी) जान्थे । दिनैभर लुगा धोएर साँझ मात्रै फर्किन्थे । दवा च्यु अर्थात् दसौं महिना (माघ) को छेवा च्याङा (१५ गते) का दिन बिहानैदेखि गाउँमा मानीको ङ (बाजा) बज्न सुरु हुन्थ्यो । कर्णाली ङ को तालमा नाच्दै–नाच्दै बग्थ्यो । कर्णालीको सुसेलीसँगै लिङ्स्याङको तिखो ध्वनि वरिपरिका हिमालहरूमा ठोक्किएर गुन्जिरहन्थ्यो । लाग्थ्यो, हिमालहरू पनि मानीमा रमाइरहेका छन् । गाउँमा अर्कै रौनक छाउँथ्यो । तर, अहिले गाउँमा त्यो रौनक छैन । उस्तो चहलपहल पनि छैन । मात्र कर्णाली एकोहोरो सुसाइरहेको सुनिन्छ ।

६४ वर्षे बलबहादुर लामा टाक्तेल लतिर (हिमाल) हेरेर टोलाइरहेका थिए । उनी बेलाबेला घडी हेर्थे । लामो हाई काढेर भन्थे, ‘एक बज्न लागिसक्यो । अहिलेसम्म सुनसान छ– गाउँ ।’

बलबहादुर सम्झिन्छन्, ‘पहिले–पहिले मानीमा निकै रमाइलो हुन्थ्यो । हप्ता दिनपहिले पल्लो गाउँबाट माटो ल्याएर बाक (मुखौटो) बनाइन्थ्यो । मानी निकै पुरानो पर्व हो ।’ यो ठाउँमा कहिलेदेखि बस्ती बस्यो, त्यसको लिखित अभिलेख त छैन, तर यहाँ बस्ती बसेदेखि नै गाउँलेहरूले मानी मान्दै आएका छन् । यहाँको रलिङ गुम्बाको स्थापना पन्ध्रौं शताब्दीमा भएको अनुमान छ । सुरुमा रलिङ गुम्बाको रिम्पोछे खम्गुङमा बस्न आएको र पछि यहाँबाट उडेर रलिङमा बसेको भन्ने मान्यता छ । अर्थात् पन्ध्रौं शताब्दीभन्दा अघिदेखि नै मानी मान्दै आएका थिए यहाँका पुर्खाहरूले ।

मानी

भोत/लामाहरू दवा च्यु अर्थात् दसौं महिनाको छेवा च्याङादेखि तीन दिनसम्म मानी पर्व मनाउँछन् । पहिलो दिन दिउँसो गुम्बामा पूजा गरिन्छ । पूजापछि तोङरमा (मानी नाच्ने सार्वजनिक जग्गा) गाउँका सबै मान्छे जम्मा भएर सम्दुल (भूमि पूजा) गरी मानीको सुरुवात गरिन्छ । गाउँका बूढापाकाहरू चारदिशालाई छ्याङ चढाउँछन् । मानी सुरु हुनु दुई महिनाअघि नै चार जना मानीका ङ्याँर्व (अगुवा) हरू गाउँलेका घर–घर पुगेर चिनु उठाएर छ्याङ बनाउँछन् । ङ्याँर्वहरू प्रत्येक वर्ष फेरिन्छन् । पहिलेदेखि चलिआएको ह्युल्ठिम (नियम) अनुसार ङ्याँर्वहरू फेर्ने चलन छ ।

दोस्रो दिन बिहानैदेखि मान्छेहरू तोङरमा जम्मा भएर छ्याङ खान्छन् । मानी हेर्नेहरू वरिपरि बस्छन् । नाच्ने बाक्प (मानी नाच्ने मान्छे) हरू ङको तालमा ताल मिलाएर गालो घेरा बनाएर नाच्छन् । सबै बाक्पहरूको अनुहार रुमाल, खादा वा अरू पातलो कपडाले छोपिएको हुन्छ । पहिले–पहिले बाक्पहरू माटोको बाक बनाएर लगाउँथे । अहिले माटाको बाक बनाउने पनि कोही छैनन् ।

तोङर जाने बाटोतिर हेर्दै बलबहादुर भन्छन्, ‘मानी विशेषगरी सातथरीका नाच नाचेर मनाइन्थ्यो– बाक्प, ङाव, खिरागोन्बो, लामो, सिर्क्या, लाक्फिलोक र लालोङ । मानीको पहिलो र दोस्रो दिन बिहानैदेखि बाक्प र लाक्फिलोक नाचिन्थ्यो । तेस्रो दिन पनि बाक्प र लाक्फिलोक नै नाच्ने चलन थियो । बाक्प र लाक्फिलोक नाचिसकेपछि बेलुका ङाँव, सिर्क्यां, लामों र खिरागोन्बो नाचिन्थ्यो । लामो र ङावबीच लामो समय युद्ध हुन्थ्यो । ङाव आफ्नो तरबारले लामोलाई मर्न खोज्थ्यो । लामो धनुले ङावलाई हान्थ्यो । अन्तिममा युद्ध ङावले जित्थ्यो । लामो र ङावको युद्धपछि खिरागोन्बोले चार दिशा पुकार्थे । गाउँमा नराम्रा घटना नघटून्, रोग नलागोस्, अनिकाल नलागोस् र खेतीपाती राम्रो होस् भनेर भूमिको पूजा गरेर मानी सकिन्थ्यो । मानीको नाचहरू सकेपछि बेलुका महिला–पुरुषहरू राम्रा गहना लगाएर लालोङ नाच्थे ।’

तर, अहिले पहिलेजस्तो छैन मानी । मानीको सबै नाच ङको तालअनुसार नाचिन्छ । ङ बजाउने सिपालु ङर्त्वा (ङ बजाउने मान्छे) हरू मरेर गए । अहिले गाउँमा सिपालु ङर्त्वा छैनन् । ङर्त्वा र गीत गाउन जान्ने मान्छे नभएपछि लालोङ पनि हराएर गयो । अहिले बाक्प र लाक्फिलोक मात्र नाच्छन् यहाँ । अरू नाच पनि हराउँदै जाने क्रममा छ ।

पहिले हिमालमा कृषि र भेडाबाख्रा पालनबाहेक जीविकोपार्जनको अरू माध्यम थिएन । गाईगोरु, भेडाबाख्रालाई रोग नलागोस्, अनिकाल नलागोस् भनि चारदिशा पुकारेर सम्दुल गरिन्थ्यो । अहिले जीविकोपार्जनका अनेक माध्यम खुलेका छन् । समयसँगै जीविकोपार्जनमा आएको परिवर्तनले चाडपर्वमा पनि परिर्वतन ल्यायो । समाजमा आएको बदलावका विभिन्न कारण गीतहरू पुस्तान्तरण हुन सकेनन् । गीत र ङहरू पुस्तान्तरण हुन नसकेपछि मानी पनि बिस्तारै हराउँदै गयो ।

स्वतन्त्रताको पर्व

मानीलाई रमाइलो गर्ने पर्वका रूपमा मात्रै हेर्न मिल्दैन । स्वतन्त्रताको चाडपर्व पनि भनिन्छ– मानीलाई । मानीमा नाच्दा, स्याप्रु खेल्दा, ठट्टा गर्दा कोही पनि रिसाउन पाइँदैन । तर, पहिले–पहिले त्यो स्वतन्त्रता महिलाहरूका हकमा लागू हुन्थेन । ‘स्वतन्त्रताको चाड’ मा पुरुषजस्तै स्वतन्त्र भएर नाच्ने, स्वतन्त्रता उपभोग गर्ने स्वतन्त्रता महिलाहरूलाई थिएन । महिलाहरू मानीमा बाक्प नाच्न पाउँदैनथे । महिलाहरू बाक्प नाच्दा गाउँमा अपशकुन हुन्छ भनिन्थ्यो । गाउँका बूढाहरू/पुरुषहरू भन्थे, ‘इज्जत नभएकी महिलाले मात्रै बाक्प नाच्छन् ।’ ऊबेला संस्कारका नाममा महिलाको यौनिकतामाथि नियन्त्रण गरिन्थ्यो । परिवार र समाजको कथित इज्जतका लागि महिलाहरूको स्वतन्त्रता कैद थियो । आदिवासी–जनजाति महिला केन्द्रित धेरैजसो लेखबाट ‘जनजाति महिलाहरूमा लैंगिक विभेद कम छ’ भन्ने भाष्य निर्माण भएको छ ।

आदिवासी–जनजाति महिलाहरूले सम्बन्धविच्छेद, पुनर्विवाह जीवनसाथी र प्रेमी छान्नेलगायतका विषयमा निर्णय गर्ने अधिकार राख्छन् । प्रेम र यौनका विषयमा पनि आफ्ना विचार अभिव्यक्त गर्छन् । तर, आदिवासी–जनजाति समुदायमा पनि यौन, प्रेम, स्वतन्त्रता उपभोग र मनोञ्जनको अभ्यास फरक–फरक छ । विविधतायुक्त संस्कार, संस्कृति, फरक–फरक जीवनशैली र आर्थिक, राजनीतिक अवस्था पनि फरकफरक भेटिन्छ । उनीहरूको सवाल, समस्या र पहिचान पनि फरक छन् । फरक सवाल, समस्या र पहिचानको चर्चा, परिचर्चा कमै भएको छ ।

महिला सङ्घर्ष

बाक्प कुर्दाकुर्दै दुई बज्न लागेको थियो । बल्ल ङ र लिङ्स्याङको आवाज आउन थाल्यो । हामी तोङर पुग्दा आठ/नौ जना बाक्पहरू नाच्दै थिए । त्यसमा पुरुषहरू मात्र थिएनन्, महिलाहरू पनि थिए । हिमाली गाउँको प्राकृतिक सुन्दरतालाई अझ सुन्दर बनाएको थियो त्यो दृश्यले । तर, त्यो सुन्दर दृश्यको बाटो त्यत्ति सुन्दर थिएन । सुरुसुरुमा महिलाहरूले बाक्प नाच्दा परम्परा, समाजले अस्वीकार गरिदियो ।

बाक्प हेर्दै गरेकी ७४ वर्षीय एक एपी (बजै) लाई आफूले जीवनभरि बाक्प नाचेको कहिल्यै सम्झना छैन । भन्छिन्, ‘महिलाहरूले बाक्प नाच्दा गाउँमा राम्रो हुँदैन भन्थे । अहिले महिलाहरू पनि बाक्प नाच्छन्, लाक्फिलोक पनि नाच्छन् । खै त केही नराम्रो भएको छैन ।’ त्यो सुन्दर नाचको दृश्य महिलाहरूले परम्परा, संस्कार, संस्कृति र समाजसँग गरेको एउटा सुन्दर विद्रोह हो । अनि त्यो विद्रोही महिलाहरूको सुन्दर प्रतिरोधी चेतना पनि हो ।

प्रकाशित : वैशाख ३, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

हिमाली कथा : हिउँमा हाइभिजन हल

हिउँ साँच्चै कहालीलाग्दो हुन्छ । कठ्याङग्रिँदो हिउँसँग लड्नु नपर्नेहरुले हिमाली दुःख महसुस गर्नै सक्दैनन् । हिउँमाथि बसेर मधुरो उज्यालोमा मान्ठहरु चुपचाप सिनेमा हेरिरहेका थिए । लाग्थ्यो, ती मान्ठ हिउँमा टक्क अडिएका अग्ला–होचा हिमाल हुन् ।
कुन्साङ

हुम्लामा ठूल्ठूला घर बनेका थिए । नयाँ होटल र मोबाइल पसल खुलेका थिए । तर, ०५६ सालमा खुलेको रत्ना कुमारी हाइभिजन हलको ढोका सधैंका लागि बन्द थियो ।

हिउँ उसलाई रमाइलो लाग्ला जसलाई चिसो मौसमसँग लड्नुपर्दैन । मोटो ज्याकेट लगाएर हिउँमाथि उभिएर एंगल–एंगलका फोटो खिच्न रुचि हुनेहरूलाई हिउँ रमाइलो लाग्ला ! तर, हिउँले खाएर सुन्निएका औंलाहरूलाई हिउँ कसरी रमाइलो लाग्न सक्छ ? आधा पेट खाएर चिसो गोठमा बसेका मान्छेहरूलाई हिउँ कसरी रमाइलो लाग्छ ? माटोले छाएको घरको छानाबाट तप्पतप्प पानी चुहिँदाको त्यो कर्कश आवाज रोमान्टिक कसरी हुन सक्छ ? वास्तवमा आम–मान्ठका लागि हिउँ ‘रमाइलो’ थोक होइन, उनीहरूका लागि हिउँ केवल हिउँ हो । हाम्रा खेतीप्रणाली–पानीका स्रोतहरू हिउँदको हिउँ र बर्खाको पानीमा निर्भर हुने भएकाले हिउँ हाम्रालागि महत्त्वपूर्णचाहिँ छ ।

२०६५ को एक दिन, घमाइलो थियो । ङ्यो काङ्बसँगै सिमकोट लाग्ना आइपुगेको थिएँ । सिफो हिमाल हिउँको अँगालोमा चुपचाप निदाएको थियो । घाम लागेपछि पग्लेको हिउँमा लोट्दै–लोट्दै ६ घण्टा उकालो–ओरालो हिँडेर चामल निकाल्न आइपुगेको थिएँ– सिमकोट । टलक्कै टल्किएको थियो हिउँ र सिमकोट बजारका घरमा छाएका जस्तापाताहरू– आँखै तिर्मिराउने गरी । गोठमा बस्दाबस्दै हुक्केका गाईवस्तु धेरै दिनपछि लागेको घाममा रमाइरहेका थिए । चराचुरुंगी हिउँ पग्लेका ठाउँमा चारो खोज्दै थिए, चुच्चाले । बर्खामा घुँडा–घुँडासम्म पुग्ने खोलाहरू पनि यो हिउँदमा जमेर टक्क अडिएको थियो । मानौं जमिनमुनिबाट कसैले खोलालाई च्याप्पै समातिराखेको छ ।

बिहानै दाउरा बेच्न आएका मान्ठहरू कठ्यांग्रिएका हातलाई काखीमा लुकाएर घर फर्किंदै थिए । कोही हिउँमा लोट्दै–लोट्दै दाउरा बेच्न सिमकोट बजारतिर गइरहेका थिए । फुपू र म एउटा थाक्पा र रित्तो थैलो काखी च्यापि खाद्य संस्थान पुग्यौं । त्यतिबेला एयरपोर्टभित्रबाटै तल्लो र माथ्लो बजार आउजाउ गर्न मिल्थ्यो । खाद्य संस्थान नजिकिँदै गर्दा अम्तै भीड देखियो ।

खाद्य संस्थानको ढोका खोल्नुअघि नै अम्तै मान्ठ लाइनमा बसिसकेका थिए । म पनि फुपूसँगै हतपत्त चामलको लाइनमा बसें । अधिकांश मान्ठले हातमा रित्तो थैलो बोकेका थिए । चामलको चिट पाएका मान्ठहरू परैबाट चिनिन्थे । उनीहरू पटक–पटक खल्ती छाम्थे । चिट हराइजाला भन्ने चिन्ता जो थियो । मान्ठहरूको हल्लाले नजिकैको धुपीको रूखमा बसेको ढुकुरको जोडी भुर्र रानीवन जंगलतिर उडे । भुर्र उडेको ढुकुरसँगै धुपीको रूखबाट हिउँका डल्लाहरू हाँगा–हाँगामा ठक्कर खाँदै झरनाको पानीजस्तै गरि भुइँमा झर्‍यो ।

पहुँच हुनेहरू लाइन नबसेरै सीधै चामलका बोरा काँध हालेर निस्किन्थे । पहुँच नहुनेहरू पालो पर्खेको पर्खै थिए । हिउँमा उभिँदा–उभिँदै खुट्टा पनि हिउँझैं चिसो भइसकेको थियो । त्यतिबेला अहिलेझैं सिमकोट बजारमा चामल किन्न पाइँदैनथ्यो । भात हाम्रा लागि कहिलेकाहीँ आउने चाडपर्वजस्तै थियो, तर स्वाद बिग्रेको जिब्रोले जहिले पनि भात खोज्ने ! हुम्लामा कहिलेदेखि खाद्य संस्थानले चामल बाँड्न सुरु गर्‍यो, थाहा छैन् । तर, चामल आएपछि चामलसँग साट्न सिमी मात्रै रोपेर मानिसले अन्य बालीहरू (लरे, मर्सी) कम लगाउन थाले । यसरी त्यहाँका अम्तै रैथाने बाली लोप हुने अवस्थामा छ ।

घाम छेवैको धुपीको रूखमाथि अड्किएको थियो । हाम्रो पालो आएकै थिएन । सिंगो हुम्लाका मान्ठ उर्लिएर आएजस्तै भीड देखिन्थ्यो । लाइन झन्–झन् लम्बिँदै गइरहेको थियो । रित्तो थैलो बोकेका मान्ठहरू हतारमा देखिन्थे । अम्तै भीड ढोका वरपर झुम्मिएका थिए । लाइन केही सरेपछि भित्रबाट चामल सकिएको जानकारी आएको थियो । रित्तो थैलो बोकेर आएका मान्ठ रित्तै थैलो काखी च्यापेर घर फर्किन थाले । हामी पनि थाक्पा र थैलो बोकेर भीडमै मिसियौं । अब घाम धुपीको रुखभन्दा अलि पर पुगिसकेको थियो । हिउँमा लड्दै–लड्दै त्यति दुःख गरेर आउँदा पनि चामल नपाएकोमा फुपूको अनुहारमा गाढा अँध्यारो छाएको थियो । कठ््याङग्रिँदो हिउँसँग लड्नु नपर्नेहरूले यि दुःख महसुस गर्नै सक्दैनन् । हिउँ साँच्चै कहालीलाग्दो हुन्छ ।

...

एयरपोर्ट गेटनेर पुगेपछि फुपूको अनुहार अचानक उज्यालियो । छेवैको माटोले छाएको एकतले घरतिर तान्दै फुपूले भन्नुभयो, ‘टीभी तारु डो !’ (टीभी हेर्न जाऔं) । टीभीबारे सुनेकी त थिएँ, तर कहिल्यै हेरेकी थिइनँ । खाद्य संस्थान र एयरपोर्टबीच टिनले छाइएका चार/पाँचवटा दुईतले घरहरू थिए । ती घरबीच माटोले छाएको एकतले घरबाहिर एउटा सानो बोर्डमा लेखिएको थियो— रत्नाकुमारी हाइभिजन हल–२०५६ । केही डर, केही उत्सुकता बोकेर फुपूसँग म ठूलो टीभी हेर्न गएँ । हिउँको चम्किलो उज्यालोबाट भित्र पसेकाले सुरुमा केही देखिनँ । बिस्तारै धमिला आकृतिहरू मधुरो प्रकाशसँगै प्रस्ट हुँदै आए । मधुरो उज्यालोमा मान्ठहरू चुपचाप भुइँमा बसेर अगाडि हेरिरहेका थिए । लाग्थ्यो, ती मान्ठ हिउँमा टक्क अडिएका अग्ला–होचा हिमाल हुन् । सन्नाटालाई चिरेर कतैबाट चर्को आवाज आइरह्यो । चर्को आवाजसँगै आकाशमा बिजुली चम्केजस्तो झलक्क उज्यालो आयो । यता डरले मैले फुपूको हात च्याप्प समातेँ । फिल्म सुरु भएपछि मेरो उत्सुकता हरायो, आफूभित्रको डर मात्रै बाँकी रह्यो । फुपूको हात समातेर चुपचाप बसिरहें । चुप बस्नुबाहेक अरू उपाय पनि त थिएन । भाषा नबुझेपछि मलाई फिल्म रमाइलो लागेन । अरू मान्ठ कहिले हाँस्थे, कहिले जोडजोडले कराउँथे । मचाहिँ मूर्तिझैं चुपचाप थिएँ । उसो त मलाई अलिअलि नेपाली भाषा आउँथ्यो, तर फिल्ममा बोलेको केही पनि बुझिनँ ।

लगभग मैले एक निद्रा आँखा चिम्लेर बसेपछि मान्ठहरू बाहिर जान थाले । बल्ल बाहिर जान पाइनेमा खुसी लागेको थियो । प्रायः मान्ठ गइसक्दा पनि फुपू भुँइबाट उठ्नुभएन । हात तान्दा पो थाहा भयो— फुपू पनि भाषा नबुझेर सुत्नुभएको रहेछ । त्यसपछि हामी बाँकी फिल्म हेर्न भित्र गएनौं । भोलिपल्ट फुपू र म हिउँमा चिप्लिँदै–चिप्लिँदै रित्तो थैलो बोकेर घर फर्कियौं । अरू बेला उकालो चढ्दा कहिले ओरालो बाटो आउला जस्तो लाग्थ्यो, तर त्यस दिन कहिल्यै ओरालो बाटो हिँड्न नपरोस्जस्तो लागेको थियो । हामीले लगाएको ग्येमी

(ताक्लाकोट) जुत्ताको रेखा मेटिइसकेको थियो । रेखा मेटिएको ग्येमी जुत्ता हिउँमा धेरै चिप्लिन्थ्यो । हिउँमाथि बसेर दुवै हात टेकेर ओरालो बाटो पार गर्‍यौं । वास्तवमा हिउँ परबाट हेर्नेका लागि जति सुन्दर हुन्छ, त्योभन्दा कैयौं गुणा कष्टकर हुन्छ हिउँ भोग्नेहरूका लागि ।

...

यसरी मैले पहिलोपटक फिल्म हेरेकी थिएँ । भनिन्छ नि पहिलोपटक गरिएका तमाम कुरा प्रिय हुन्छन् । सायद त्यसैले मैले त्यो फिल्मको नाम कहिल्यै बिर्सिनँ– तृप्ति नाडकर, भुवन केसी, डैनी डेन्जोंगपा र मुरलीधर अभिनीत ‘साइनो ।’ केही नबुझे पनि साइनोसँग यसरी पहिलोपटक साइनो जोडिएको थियो । फर्केर हेर्दा लाग्छ, म त भाषिक प्रतिबन्धमा पो परेको रहेछु । राज्यसत्ताको ‘एक राष्ट्र–एक भाषा’ नीतिअन्तर्गत नेपाली भाषाको प्रयोग सबै महत्त्वपूर्ण क्षेत्रमा लागू गरिएकाले गैर–नेपालीभाषीलाई (मातृभाषी) राजनीतिक, आर्थिक, शैक्षिक क्षेत्रमा पछाडि पारिएको हो । राज्यसत्ताले लामो समयदेखि थोपर्दै आएको यस्तो नीतिका कारण धेरै मातृभाषा लोप भए । यस्तो खालको नीति गैरनेपाली भाषाभाषीमाथि गरिएको डरलाग्दो अपमान हो । २०४५ फागुन २९ गते प्रदर्शन भएको ‘साइनो’ फिल्म हुम्लामा २० वर्षपछि प्रवेश गरेको रहेछ । यसबाट पनि सजिलै अनुमान लगाउन सकिन्छ राजनीतिक, आर्थिक, शैक्षिक क्षेत्रसँगै अन्य क्षेत्रमा पनि हुम्ला कति पछाडि छ ।

तीन वर्षअघि हुम्ला जाँदा घुम्दै–घुम्दै तल्लो बजार पुगेकी थिएँ । तल्लोबजार निकै बदलिएको थियो । नयाँ कार्यालय थपिएका थिए । ठूल्ठूला घर बनेका थिए । नयाँ होटल, मोबाइल पसल खुलेका थिए । तर, २०५६ सालमा रत्ना कुमारी चन्दले स्थापना गरेको रत्नाकुमारी हाइभिजन हलको ढोका भने बन्द थियो ।

प्रकाशित : आश्विन १६, २०७८ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×