बजाउने हात खोजिरहेछ ‘ङ’

कुन्साङ

सेताम्ये हिमालहरूबीच बसेको छ– हुम्लाको खम्गुङ अर्थात् खगाल गाउँ । हिउँले गाउँलाई सर्लक्कै ढाकेको छ । चारैतिर हिमाल र बीचमा गाउँ । हिमालहरूमा ठक्कर खाँदै–खाँदै गाउँमा गुन्जिरहन्छ– कर्णाली नदीको सुसेली ।

ताम्ये हिमालहरूबीच बसेको छ– हुम्लाको खम्गुङ अर्थात् खगाल गाउँ । हिउँले गाउँलाई सर्लक्कै ढाकेको छ । चारैतिर हिमाल र बीचमा गाउँ । हिमालहरूमा ठक्कर खाँदै–खाँदै गाउँमा गुन्जिरहन्छ– कर्णाली नदीको सुसेली ।

पहिले–पहिले आजका दिन गाउँ कार्चेन (उज्यालो हुनुपहिले उदाउने तारा) सँगै ब्युँझिन्थ्यो । हप्तादिन अघिदेखि नै मान्छेहरू डोको भरीभरी लुगा बोकेर छ्रर्युक (तातो पानी) जान्थे । दिनैभर लुगा धोएर साँझ मात्रै फर्किन्थे । दवा च्यु अर्थात् दसौं महिना (माघ) को छेवा च्याङा (१५ गते) का दिन बिहानैदेखि गाउँमा मानीको ङ (बाजा) बज्न सुरु हुन्थ्यो । कर्णाली ङ को तालमा नाच्दै–नाच्दै बग्थ्यो । कर्णालीको सुसेलीसँगै लिङ्स्याङको तिखो ध्वनि वरिपरिका हिमालहरूमा ठोक्किएर गुन्जिरहन्थ्यो । लाग्थ्यो, हिमालहरू पनि मानीमा रमाइरहेका छन् । गाउँमा अर्कै रौनक छाउँथ्यो । तर, अहिले गाउँमा त्यो रौनक छैन । उस्तो चहलपहल पनि छैन । मात्र कर्णाली एकोहोरो सुसाइरहेको सुनिन्छ ।

६४ वर्षे बलबहादुर लामा टाक्तेल लतिर (हिमाल) हेरेर टोलाइरहेका थिए । उनी बेलाबेला घडी हेर्थे । लामो हाई काढेर भन्थे, ‘एक बज्न लागिसक्यो । अहिलेसम्म सुनसान छ– गाउँ ।’

बलबहादुर सम्झिन्छन्, ‘पहिले–पहिले मानीमा निकै रमाइलो हुन्थ्यो । हप्ता दिनपहिले पल्लो गाउँबाट माटो ल्याएर बाक (मुखौटो) बनाइन्थ्यो । मानी निकै पुरानो पर्व हो ।’ यो ठाउँमा कहिलेदेखि बस्ती बस्यो, त्यसको लिखित अभिलेख त छैन, तर यहाँ बस्ती बसेदेखि नै गाउँलेहरूले मानी मान्दै आएका छन् । यहाँको रलिङ गुम्बाको स्थापना पन्ध्रौं शताब्दीमा भएको अनुमान छ । सुरुमा रलिङ गुम्बाको रिम्पोछे खम्गुङमा बस्न आएको र पछि यहाँबाट उडेर रलिङमा बसेको भन्ने मान्यता छ । अर्थात् पन्ध्रौं शताब्दीभन्दा अघिदेखि नै मानी मान्दै आएका थिए यहाँका पुर्खाहरूले ।

मानी

भोत/लामाहरू दवा च्यु अर्थात् दसौं महिनाको छेवा च्याङादेखि तीन दिनसम्म मानी पर्व मनाउँछन् । पहिलो दिन दिउँसो गुम्बामा पूजा गरिन्छ । पूजापछि तोङरमा (मानी नाच्ने सार्वजनिक जग्गा) गाउँका सबै मान्छे जम्मा भएर सम्दुल (भूमि पूजा) गरी मानीको सुरुवात गरिन्छ । गाउँका बूढापाकाहरू चारदिशालाई छ्याङ चढाउँछन् । मानी सुरु हुनु दुई महिनाअघि नै चार जना मानीका ङ्याँर्व (अगुवा) हरू गाउँलेका घर–घर पुगेर चिनु उठाएर छ्याङ बनाउँछन् । ङ्याँर्वहरू प्रत्येक वर्ष फेरिन्छन् । पहिलेदेखि चलिआएको ह्युल्ठिम (नियम) अनुसार ङ्याँर्वहरू फेर्ने चलन छ ।

दोस्रो दिन बिहानैदेखि मान्छेहरू तोङरमा जम्मा भएर छ्याङ खान्छन् । मानी हेर्नेहरू वरिपरि बस्छन् । नाच्ने बाक्प (मानी नाच्ने मान्छे) हरू ङको तालमा ताल मिलाएर गालो घेरा बनाएर नाच्छन् । सबै बाक्पहरूको अनुहार रुमाल, खादा वा अरू पातलो कपडाले छोपिएको हुन्छ । पहिले–पहिले बाक्पहरू माटोको बाक बनाएर लगाउँथे । अहिले माटाको बाक बनाउने पनि कोही छैनन् ।

तोङर जाने बाटोतिर हेर्दै बलबहादुर भन्छन्, ‘मानी विशेषगरी सातथरीका नाच नाचेर मनाइन्थ्यो– बाक्प, ङाव, खिरागोन्बो, लामो, सिर्क्या, लाक्फिलोक र लालोङ । मानीको पहिलो र दोस्रो दिन बिहानैदेखि बाक्प र लाक्फिलोक नाचिन्थ्यो । तेस्रो दिन पनि बाक्प र लाक्फिलोक नै नाच्ने चलन थियो । बाक्प र लाक्फिलोक नाचिसकेपछि बेलुका ङाँव, सिर्क्यां, लामों र खिरागोन्बो नाचिन्थ्यो । लामो र ङावबीच लामो समय युद्ध हुन्थ्यो । ङाव आफ्नो तरबारले लामोलाई मर्न खोज्थ्यो । लामो धनुले ङावलाई हान्थ्यो । अन्तिममा युद्ध ङावले जित्थ्यो । लामो र ङावको युद्धपछि खिरागोन्बोले चार दिशा पुकार्थे । गाउँमा नराम्रा घटना नघटून्, रोग नलागोस्, अनिकाल नलागोस् र खेतीपाती राम्रो होस् भनेर भूमिको पूजा गरेर मानी सकिन्थ्यो । मानीको नाचहरू सकेपछि बेलुका महिला–पुरुषहरू राम्रा गहना लगाएर लालोङ नाच्थे ।’

तर, अहिले पहिलेजस्तो छैन मानी । मानीको सबै नाच ङको तालअनुसार नाचिन्छ । ङ बजाउने सिपालु ङर्त्वा (ङ बजाउने मान्छे) हरू मरेर गए । अहिले गाउँमा सिपालु ङर्त्वा छैनन् । ङर्त्वा र गीत गाउन जान्ने मान्छे नभएपछि लालोङ पनि हराएर गयो । अहिले बाक्प र लाक्फिलोक मात्र नाच्छन् यहाँ । अरू नाच पनि हराउँदै जाने क्रममा छ ।

पहिले हिमालमा कृषि र भेडाबाख्रा पालनबाहेक जीविकोपार्जनको अरू माध्यम थिएन । गाईगोरु, भेडाबाख्रालाई रोग नलागोस्, अनिकाल नलागोस् भनि चारदिशा पुकारेर सम्दुल गरिन्थ्यो । अहिले जीविकोपार्जनका अनेक माध्यम खुलेका छन् । समयसँगै जीविकोपार्जनमा आएको परिवर्तनले चाडपर्वमा पनि परिर्वतन ल्यायो । समाजमा आएको बदलावका विभिन्न कारण गीतहरू पुस्तान्तरण हुन सकेनन् । गीत र ङहरू पुस्तान्तरण हुन नसकेपछि मानी पनि बिस्तारै हराउँदै गयो ।

स्वतन्त्रताको पर्व

मानीलाई रमाइलो गर्ने पर्वका रूपमा मात्रै हेर्न मिल्दैन । स्वतन्त्रताको चाडपर्व पनि भनिन्छ– मानीलाई । मानीमा नाच्दा, स्याप्रु खेल्दा, ठट्टा गर्दा कोही पनि रिसाउन पाइँदैन । तर, पहिले–पहिले त्यो स्वतन्त्रता महिलाहरूका हकमा लागू हुन्थेन । ‘स्वतन्त्रताको चाड’ मा पुरुषजस्तै स्वतन्त्र भएर नाच्ने, स्वतन्त्रता उपभोग गर्ने स्वतन्त्रता महिलाहरूलाई थिएन । महिलाहरू मानीमा बाक्प नाच्न पाउँदैनथे । महिलाहरू बाक्प नाच्दा गाउँमा अपशकुन हुन्छ भनिन्थ्यो । गाउँका बूढाहरू/पुरुषहरू भन्थे, ‘इज्जत नभएकी महिलाले मात्रै बाक्प नाच्छन् ।’ ऊबेला संस्कारका नाममा महिलाको यौनिकतामाथि नियन्त्रण गरिन्थ्यो । परिवार र समाजको कथित इज्जतका लागि महिलाहरूको स्वतन्त्रता कैद थियो । आदिवासी–जनजाति महिला केन्द्रित धेरैजसो लेखबाट ‘जनजाति महिलाहरूमा लैंगिक विभेद कम छ’ भन्ने भाष्य निर्माण भएको छ ।

आदिवासी–जनजाति महिलाहरूले सम्बन्धविच्छेद, पुनर्विवाह जीवनसाथी र प्रेमी छान्नेलगायतका विषयमा निर्णय गर्ने अधिकार राख्छन् । प्रेम र यौनका विषयमा पनि आफ्ना विचार अभिव्यक्त गर्छन् । तर, आदिवासी–जनजाति समुदायमा पनि यौन, प्रेम, स्वतन्त्रता उपभोग र मनोञ्जनको अभ्यास फरक–फरक छ । विविधतायुक्त संस्कार, संस्कृति, फरक–फरक जीवनशैली र आर्थिक, राजनीतिक अवस्था पनि फरकफरक भेटिन्छ । उनीहरूको सवाल, समस्या र पहिचान पनि फरक छन् । फरक सवाल, समस्या र पहिचानको चर्चा, परिचर्चा कमै भएको छ ।

महिला सङ्घर्ष

बाक्प कुर्दाकुर्दै दुई बज्न लागेको थियो । बल्ल ङ र लिङ्स्याङको आवाज आउन थाल्यो । हामी तोङर पुग्दा आठ/नौ जना बाक्पहरू नाच्दै थिए । त्यसमा पुरुषहरू मात्र थिएनन्, महिलाहरू पनि थिए । हिमाली गाउँको प्राकृतिक सुन्दरतालाई अझ सुन्दर बनाएको थियो त्यो दृश्यले । तर, त्यो सुन्दर दृश्यको बाटो त्यत्ति सुन्दर थिएन । सुरुसुरुमा महिलाहरूले बाक्प नाच्दा परम्परा, समाजले अस्वीकार गरिदियो ।

बाक्प हेर्दै गरेकी ७४ वर्षीय एक एपी (बजै) लाई आफूले जीवनभरि बाक्प नाचेको कहिल्यै सम्झना छैन । भन्छिन्, ‘महिलाहरूले बाक्प नाच्दा गाउँमा राम्रो हुँदैन भन्थे । अहिले महिलाहरू पनि बाक्प नाच्छन्, लाक्फिलोक पनि नाच्छन् । खै त केही नराम्रो भएको छैन ।’ त्यो सुन्दर नाचको दृश्य महिलाहरूले परम्परा, संस्कार, संस्कृति र समाजसँग गरेको एउटा सुन्दर विद्रोह हो । अनि त्यो विद्रोही महिलाहरूको सुन्दर प्रतिरोधी चेतना पनि हो ।

प्रकाशित : वैशाख ३, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

हजुरबाको रेडबुक

नारायण ढकाल

एक लेखकको युवाकालसम्मको चरम आशा–निराशाको आत्मप्रकाशन हो यो । भगवत्‌गीताप्रति असीम अनुराग भएका लेखकका हजुरबा जीवनका अन्तिम दिनहरुमा रातो जिल्दा भएको गीताभित्रका श्लोक वाचन गरिबस्थे । हजुरबाको गीता–प्रेम वर्णव्यवस्थाको पक्षमा थियो भन्ने बुझ्न लेखकलाई पाँच दशकभन्दा बढी लाग्यो । माओत्से तुङका रेड बुक र हजुरबाको रेडबुकबीचको किनारामा उभिएर लेखिएका यी स्मृति लेखकका आत्म–विज्ञप्ति पनि हुन् ।

१.

मेरा हजुरबा आफ्नो जीवनको पछिल्लो कालखण्डमा प्रायः सधैं एउटै मात्र पुस्तक पढिरहेका हुन्थे । रातो जिल्दा भएको त्यो पुस्तक सधैँ उनको सिरानीमा रहन्थ्यो । फुर्सद भयो कि उनी त्यसलाई झिक्थे र श्लोकहरू वाचन गर्न थाल्थे । त्यो संस्कृत भाषामा थियो । उनको जीवनका ती अन्तिम दिनहरूमा मैले उनको त्यो विशेष खालको पुस्तकमोहबारे धेरै पटक प्रश्न सोधेको थिएँ ।

‘हैन हजुरबा, हामी प्रत्येक वर्ष नयाँ किताब पढ्छौं । हरेक वर्षको अन्तिम परीक्षापछि हामी नयाँ कक्षामा पुग्दा कस्ता किताब आउलान् भनी कुर्छौं, तर तपाईं भने वर्षौंदेखि उही एउटा किताब मात्र पढिरहनुभएको देख्छु । किन यसो गर्नुभएको ? के सहरका किताबपसलमा तपाईंले पढ्ने नयाँ किताब हुँदैनन् ?’

हजुरबा हाँस्थे मात्र, केही जवाफ दिँदैनथे ।

म फेरि आफ्नो जिद्दी दोहोर्‍याउँथें, ‘तपाईंले हाम्रोजस्तो स्कुलमा पढ्न नपरेकाले यस्तो गर्नुभएको हो कि हजुरबा ? कि के हो ?’

फेरि पनि उनको मुखमुद्रा उही सनातनी हास्यरसले पोतिन्थ्यो, तर जवाफका शब्द झर्दैनथे ।

मेरो निकैको कचकचपछि एक दिन उनले जवाफ दिएका थिए, ‘चुप लाग् पटमूर्ख, तँ यो कुरा भविष्यमा बुझ्नेछस्, अहिले हैन ।’

यो २०२३ सालतिरको कुरा हो । त्यसबखत म तेह्र वर्षको थिएँ । उनी त्रियासीमा लम्किँदै थिए । बुढ्यौलीको उत्कर्षमा पुगे पनि उनको स्मरणशक्ति भने धेरै मजबुत थियो । उनका आँखा चखिला र कान उत्तिकै तिखा थिए । दाँत सबै सग्ला थिए । हाम्रो गाउँमा उनको छवि एक प्रखर ज्योतिषी, हिन्दु कर्मकाण्डका उद्भट ज्ञाता र कानुन क्षेत्रका प्रकाण्ड

विद्वान्का रूपमा स्थापित थियो । फलित ज्योतिष विद्यामा उनको शक्तिशाली पकडले मानिसहरूमा उनीप्रति अन्धभक्ति जगाएको थियो । उनले गरेका अधिकांश भविष्यवाणी चमत्कारसरह हुन्थे । कर्मकाण्डको विषयमा उनी आफैं निर्णयसिन्धु थिए । पीडितलाई निःशुल्क कानुनी सहायता दिने गरेकाले उनको परोपकारी व्यक्तित्वसमेत उच्च आसनमा बिराजमान थियो । उनले रुपैयाँ–पैसा वा अन्नपात रिन दिएर ब्याज खाने काम कहिल्यै गरेनन् । गाउँमा उनको ठूलो सम्मान र इज्जत–प्रतिष्ठा थियो ।

मेरा कुनै पनि किताब राता थिएनन् । तिनका गाता हरिया, सेता वा काला हुन्थे । तर, हजुरबाले सुमसुम्याइरहेको त्यो किताब मात्र किन रातो थियो ? मेरो जिज्ञासु मन सधैं यही एक प्रश्नले थिचिइरहन्थ्यो ।

२.

रातो किताबको कुरा आउँदा म अलि पछिको प्रसंग सम्झिन्छु । अब म युवक भइसकेको थिएँ । त्यसताका वाम राजनीतिमा माओत्से तुङले लेखेका राता किताब अर्थात् रेड बुकहरू निकै चर्चित थिए । ती किताब चिनियाँ धुरीतिर ढल्केको वाम राजनीतिका महाआख्यानजस्तै बनेका थिए । नेपालमा मात्र होइन, तिनको जादु विश्वका कुनाकुनामा विस्तारित थियो । कुनै पनि कार्यकर्ताले चार खण्डमा प्रकाशित माओत्से तुङका संकलित रचनाहरू पढ्यो भने त्यो जब्बर क्रान्तिकारी बनेको ठहरिन्थ्यो ।

नेपालमा यो किताब निरञ्जन गोविन्द वैद्यको किताबपसल भोटाहिटीमा पाइन्थ्यो । उनको किताबपसल मार्क्सवादी सिद्धान्त र साहित्यको अनुपम भण्डार थियो । निरञ्जनगोविन्द वैद्य नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्यमध्येका एक व्यक्तित्वसमेत थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनमा म भद्रगोल जेलमा परें । त्यो जेलको अजङ्गको राक्षसी फलामे ढोकाबाट भित्र छिर्दा मलाई झापा आन्दोलनका नेता भोगेन राजवंशीले क्रान्तिकारी शैलीमा हात मिलाएर पहिलो स्वागत गरेका थिए । क्रान्तिकारी शैलीमा हात मिलाउनु भनेको हात जोडसित समात्ने र झट्कार्ने तरिका हो, जसले निकै जोस उत्पन्न गर्थ्यो । भोगेन राजवंशीलाई चारु मजुमदारले नेतृत्व गरेको भारतीय कम्युनिस्ट पार्टी नक्सलवादी समूहले नेपालमा क्रान्ति फैलाउन पठाएको थियो । यस्तो कार्यलाई अर्न्तराष्ट्रिय भाइचारा र सहयोगको उच्चतम क्रान्तिकारी आदर्श मानिन्थ्यो । तर, क्रान्तिको संगठन गर्दागर्दै उनी पक्राउ परे र जन्मकैदको सजाय भोग्न विवश भए ।

जेलभित्र पस्नासाथ गठिलो शरीर र कालो वर्णका भोगेन राजवंशीले मेरो क्रान्तिकारी क्षमता मापन गर्न पहिलो प्रश्न सोधेका थिए, ‘कमरेडले माओका रेडबुकहरू पढ्नुभएको छ ?’

‘मोटामोटी चारैवटा खण्ड पढें कामरेड, तर हाम्रो क्रान्तिलाई बुझ्न त्यति किताब मात्र पढेर पुग्ला र ?’

‘त्यसो त एउटा जुझारु क्रान्तिकारी बन्न चारैवटा रेडबुकको मजबुन खिचेर बनाएको माओका कोटेसनहरूको सानो किताब पढे पर्याप्त हुन्छ । क्रान्तिलाई चाहिने सबै कुरा त्यो सानो रेडबुकमा छन् । धेरै पढ्ने कुरा जसले गर्छ त्यो त संशोधावादी हो, क्रान्तिकारी होइन ।’

‘कोटेसनको किताब त मैले पढेको छैन कामरेड ।’

‘किन नपढ्नुभएको ?’

‘इतिहासको सन्दर्भसहितको व्याख्याबिना उद्धृत गरिएका ती कोरा नारा र कठमुल्ला सूत्रहरूले क्रान्तिकारी बाटोलाई सही किसिमले दिशानिर्देश गर्न सक्लान भन्ने मलाई लाग्दैन कामरेड ।’

‘के भन्नुभएको कमरेड तपाईंले यो ? यो त पक्का संशोधनवादीको जस्तो कुरा हो । माओका हरेक एक शब्द बन्दुकका हजारौं गोलीजत्तिकै शक्तिशाली हुन्छन् ।’

‘मचाहिँ यस्तो ठान्दिनँ कामरेड । यो कोरा रोम्यान्टिसिज्म हो ।’

त्यो वादविवादपछि उनले मलाई बेरेको प्रेमिल अंगालो बिस्तारै खुकुलिँदै गयो । त्यसपछि भद्रगोल जेलभित्र मैले बिताएका सत्ताइस दिनमा उनले मलाई एक आँखाले पनि हेर्न चाहेनन् । किनकि उनको आँखामा म गएगुज्रेको संशोधनवादी खलनायक थिएँ, जो महान् माओका राता उद्धरणहरूलाई उपेक्षा गरिरहेको थियो ।

३.

तर, मेरो हजुरबाको रातो किताबचाहिँ अर्कै विषयको थियो ।

२०२४ सालको चैते दशैंको महाअष्टमी तिथिमा उनको देहावसान भयो । म त्यसबखत दस कक्षामा पढ्थें, पद्मोदय हाइस्कुल रामशाहपथमा । हजुरबाको निधनपछि धेरै समयसम्म उनको रातो किताब उनका अरू किताब राख्ने ठाउँमा यथावत् थियो । त्यसपछि नै मलाई थाहा भएको हो, त्यो रातो किताब पण्डित कोमलनाथ अधिकारीकृत ‘कोमल गीता’ रहेछ ।

‘कोमल गीता’ लाई ‘पञ्चरत्न गीता’ पनि भनिएको थियो । पहिलोपल्ट श्री ३ जुद्धशमशेरको पैसामा त्यो छापिएको थियो । कोमलनाथ अधिकारीले आफ्नो अनुवादपछि त्यसको पाण्डुलिपि जुद्धशमशेरलाई चढाएका थिए । उनको त्यस कामबाट प्रभावित भएर जुद्धशमशेरले मोरु पाँच सय बकससमेत दिएका थिए । पछि २०१८ सालमा पण्डित अधिकारीले त्यो पुस्तकको कपिराइट खोटाङ स्थायी घर भएका र तत् समय काशी के. २२ बटा ५६ दुर्गाघाटमा डेरा गरी बसेका वेदाचार्य पण्डित बालकृष्ण आचार्यलाई भारु दुई हजारमा बिक्री गरेका थिए । हाल त्यो ग्रन्थ पण्डित बालकृष्ण आचार्यका कनिष्ठ पुत्र नारायणप्रसाद आचार्यले प्रकाशन गरेका छन् । यी तथ्य अहिलेसम्म पनि पुस्तकका अग्रपृष्ठहरूमा उल्लेख छँदै छन् ।

मेरा हजुरबाको संकलनमा ‘महाभारत’, ‘रामायण’, ‘श्रीमद्भागवत्’, ‘निर्णय सिन्धु’, ‘मुहूर्त चिन्तामणि’ आदि थुप्रै किताब थिए । गीता महाभारतको भीष्म पर्वभित्रको एक अंश भएकाले उनी महाभारतको पुस्तकबाटै पनि त्यो कृति छिचोल्न समर्थ थिए । त्यसबाहेक कवि शिरोमणि लेखनाथ पौड्यालले पनि नेपालीमा गीताको भावानुवाद गरिसकेका र त्यो कृति चक्रपाणि चालिसेको ‘संक्षिप्त भारत’ पुस्तकमा छापिएकाले संस्कृत नजान्ने, तर नेपाली भाषा जान्नेहरूका लागि गीता पढ्न अर्को सहज विकल्प मिलेको थियो । तर, मेरा हजुरबाले चाहिँ ‘कोमल गीता’ नै रोजेका थिए । किन रोजे, म अझै स्पष्ट भन्न सक्दिनँ ।

मेरा हजुरबा आफ्नो समयका ठूला प्रगतिशील व्यक्तित्व थिए, तर सँगसँगै जनविरोधी वर्णव्यवस्थाका पनि उत्तिकै पक्षधर थिए भन्ने सत्य मेरो जीवनसित गाँसिएको एउटा घटनाले दर्साउँछ । म त्यसबेला अलि सानै थिएँ । आठ/नौ वर्षको हुँदो हुँ । म गाउँको एउटा साथीसँग मेरो घर नजिकैको सार्की गाउँमा पुगेको थिएँ । सायद त्यो भदौ महिनाको कुनै दिन थियो ।

सार्की गाउँमा मखमली सर्किनी नामकी एउटी अधबैंसे दिदी थिइन् । उनलाई सबैले नइकिनी मखमली भन्थे । उनको नामअगाडि नइकिनी भएको कारण थियो, उनी रोपार र खेतालाको नाइके वा प्रबन्धक थिइन् । खेताला खोज्नुपर्‍यो भने सबैले उनलाई भन्थे ।

सार्की गाउँमा उनी भेटिइन् । उनी आफ्नो कम्मरमा बाँधेको खाँडीको पटुकाबाट उसिनेको हरियो भटमास झिक्दै, बोक्रा छोडाउँदै र खाँदै गरिरहेकी थिइन् । मलाई उनको यो उपक्रमले तान्यो र म उनलाई एकोहोरो हेर्न थालें । मेरो असजिलो हेराइ देखेर उनले ठट्टालु भावमा भनिन्, ‘के क्वारक्वारती हेर्छौ ए बाउन चरी । मुख रसायो ? रसाएर के अर्नु ? हाम्ले उसिनेको भटाँस् तिमरुले खान्न हुन्न क्यारे । खायौ भने तिम्रो जात जाइहाल्छ । हा हा हा ।’

मलाई उनले गिज्याएको मन परेन । तत्काल मेरो मनमा ईर्ष्याको तातो लाभा उम्लियो । त्यसैले उनले केही सोच्नुभन्दा अगाडि मैले छापामार रफ्तारमा उनको पोल्टोमा हात घुसारें र जबरजस्ती एक मुठी भटमासको कोसा निकालें । उनी विराट अलमलमा परिन्, तर मैले एउटा कोसा मुखभित्र हालिसकेको थिएँ । मैले दाँतैले बोक्रा छोडाएँ, खोस्टा निकालें र गेडाचाहिँ चपाउन थालें ।

‘के गरेको ए यो बाउन चरी ? तिम्ले मुलाई जिम्दै नर्कमा पुराम्ने भयौ,’ उनले थरथर काम्दै भनिन् ।

मेरो यो चाला देखेर मेरो साथी पनि छक्क पर्‍यो ।

म हाँस्दै विजयमुद्रामा त्यहाँबाट फर्कें ।

मेरो साथीले त्यो घटनाको नालीबेली मेरा हजुरबालाई हुबहु सुनायो । त्यसपछि हजुरबाले रौद्र रूप धारण गरे । उनले मलाई घरभित्र पस्न दिएनन् । साँझको समय थियो । मेरो घरमा ठूलो रमिता भइरहेको थियो । हजुरबा ठूलो तनाव र छटपटीमा थिए । उनी घरभित्र पसे । गौरेटोबाट एक गाग्री पानी ल्याए र मेरो टाउकामा खन्याए ।

‘ए बुहारी, एउटा जनै र सुनपानी लेऊ । तिम्रो कोखबाट यस्तो धुन्धुकारी जन्मेला भनेर मैले कहिल्यै सोच्न सकिनँ ।’

आमा सुँक्कसुँक्क रोइरहेकी थिइन् । जनै फेरेर सुनपानीले अभिषेक गरेपछि मात्र म घरभित्र प्रवेश गर्न योग्य भएँ ।

त्यो घटनापछि म निकै उतर्सिएँ । मलाई हजुरबाले कामना गरेको तथाकथित असल बाहुन बन्ने बाटामा कहिल्यै हिँड्न मन लागेन । क्रमशः समाजको आँखा र परिभाषामा म जातिच्युत हुने यात्रामा हिँड्न थालें । सायद हिप्पी र हङ्ग्री जेनरेसनतिरको मेरो लगाव रातो गीता पढ्ने मेरा हजुरबाले मप्रति गरेको त्यही घटनाको बदला थियो । अथवा त्योभन्दा पछि तीसको दशकमा मैले भूमिगत कम्युनिस्ट पार्टीको सदस्यता लिएर त्यो आन्दोलनमा सामेल हुनुमा हजुरबाको व्यवहारविरुद्ध प्रतिक्रियाको अर्को उचाइ थियो ।

अथवा अरू के थियो ?

४.

गीताको गुदीको विषयमा लामो समयसम्म ममा भ्रमहरू रहे । म संस्कृत भाषामा त्यति पोख्त नभएकाले मैले त्यसको काव्यात्मक अग्लाइ बोध गर्न सकिनँ । संस्कृतमा जे जति जानेको थिएँ, त्यो मैले सुनेको र कक्षा नौ तथा दशमा पढेको सरलीकृत संस्कृतका कारण बनेको थियो । चौध वर्षको उमेरसम्ममा घरमा हजुरबाले बताएको गीताको बखान नै मेरो मस्तिष्कमा लेपन भएको सत्य थियो । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । न हन्यते हन्यमाने शरीरे । हतो वा प्राप्यसि स्वर्ग जित्वा वा भोक्ष्यसे महीम् । ममा यी र अरू केही श्लोकहरू कण्ठाग्र हुनुमा हजुरबाको मुख्य योगदान थियो । उनी मेरा प्रथम गुरु थिए । ममा अक्षरब्रह्मको ज्ञान उनैबाट भएको हो । उनी मेरो व्रतबन्धमा गायत्री मन्त्रका गुरु पनि थिए, जबकि अहिले म त्यस मन्त्रबाट चाहिँ धेरै टाढा पुगेको छु ।

पद्मोदय हाइस्कुलमा प्रधानाध्यापक ईश्वरराज अर्यालले इतिहास पढाउँथे । उनी राणाविरोधी आन्दोलनका कथा झिक्थे र लेखक सहिद शुक्रराज शास्त्रीले गीताको प्रवचन गर्दाको सन्दर्भ सुनाउँदै भन्थे, ‘१९९७ साल भदौमा शुक्रराज शास्त्रीले इन्द्रचोकमा गीता प्रवचन दिँदा राणा शासनको चर्को विरोध गरेका थिए । फलस्वरूप उनी गिरफ्तार भए । पछि उनलाई श्री ३ जुद्धशमशेरले टेकुमा लगी झुन्ड्याएर मारे ।’

हेडसरको कुराले म लट्ठिन्थें र रोमाञ्चित बन्थें ।

इतिहास पढ्दै जाने क्रममा मैले बुझें– शुक्रराज शास्त्री भगवत्‌गीताका पक्षधर भए पनि बालविवाह र छुवाछुत प्रथाका भने घोर विरोधी थिए । साथै उनी विधवा विवाहका पनि पक्षधर थिए । उनको सक्रियतामा १९९७ सालमा नागरिक अधिकार समिति स्थापना भएको थियो । समितिका अन्य सदस्यमा कवि केदारमान व्यथित, गंगालाल श्रेष्ठ, राजालाल आदि मुख्य थिए । त्यस समितिको उद्देश्य थियो– देशमा विद्यमान सामाजिक र राजनीतिक विषमतालाई हटाउन अभियान चलाउनु । समितिले राजधानी काठमाडौंका विभिन्न चोक डबलीमा हिन्दु धर्मशास्त्र र त्यसमा पनि गीताको आडमा प्रवचनमाला चलाएको थियो । उनलाई गिरफ्तार गरेपछि नेवारले गीता पढेको र सरकारको स्वीकृतिबिना भाषण गरेको आरोप लगाइएको थियो । मैले ‘प्रेतकल्प’ उपन्यासमा नेपालमा आर्यसमाजीहरूको गतिविधिको चर्चा गर्दा शुक्रराज शास्त्रीको यो आयामबारे लेख्न मिलेको थिएन । किनकि त्यो उपन्यासको कालअवधि १९८० सालसम्म मात्र थियो । मेरो उपन्यासको कालअवधिमा शुक्रराज शास्त्री आफ्ना पिता तथा नेपालको आर्यसमाजी आन्दोलनका नेता माधवराज जोशीको लालनपालन र छत्रछायामा हुर्किरहेका थिए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा गीताको कर्मयोगको सारलाई मिसाउनेमा कवि ईश्वर बल्लभका पिता मुरलीधर भट्टराई पनि हुन् भन्ने कुरा मैले हाम्रा अग्रजहरूबाट सुनेको हुँ । अग्रजहरूमध्येका एक मेरा पिताजी पनि बारम्बार भनिरहन्थे, ‘उनी असनको डबलीमा पुराण भन्थे र दोहोरो अर्थ लाग्ने गरी आफ्नो विचार राख्न खुबै सिपालु थिए । राणाका चरले उनको बक्रोक्तिको चलाखी बुझ्न सक्दैनथे ।’

मुरलीधर भट्टराईबारे मैले नकारात्मक कुरा पनि सुनेको छु । उनी क्रान्तिकारी पक्षका नभएर राणा पक्षका मानिस थिए भन्नेहरू पनि थिए । यसो भन्नेहरू सही थिए वा यो उनीमाथि लगाइएको कपोलकल्पित आरोप थियो, मैले अहिलेसम्म पनि ठहर गर्न नसकेको विषय हो ।

गीता र कृष्णप्रतिको स्वतःस्फूर्त मोहको एउटा हास्यास्पद कथा पनि छ मसित । २०३५ सालमा म आफ्नो गाउँमा पुस्तकालय स्थापना गर्ने अभियानमा संलग्न थिएँ । त्यसबेला मेरो अगुवाइमा एक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । त्यो कार्यक्रममा प्रगतिशील साहित्यकार हृदयचन्द्रसिंह प्रधानको नाटक ‘कृष्णको जन्म’ मञ्चन भएको थियो ।

त्यो नाटकको निर्देशक र कलाकार म आफैं थिएँ । मलाई राम्ररी थाहा छ, मेरो निर्देशन र अभिनय दुवै झुर थिए । साथै नाटक विधाका सर्वमान्य सिद्धान्तको कसीमा हृदयचन्द्रको यो कृति पनि अब्बल थिएन । यसको प्रमुख महत्त्व यसले प्रदान गरेको वैचारिक सन्देशमा निहित थियो । देशमा अन्याय र अधर्म बढेको छ, अधर्मीलाई दण्ड दिन कृष्णको जन्म हुँदै छ । नाटकको सार यही थियो ।

मैले हृदयचन्द्रका थुप्रै नाटकको भण्डारबाट यो रचना नै किन रोजें ? किनकि राणा शासनको विरोधमा राणाकालमै लेखिएको यो कृति तानाशाही पञ्चायतको विरुद्धमा पनि उत्तिकै सान्दर्भिक थियो । त्यसबाहेक कृष्णको जन्मबारेको महाभारत र गीताको चर्चित प्रतीकलाई रोज्नुमा त्यो रचनाप्रतिको सम्मोहनको दृष्टान्त थियो, जो हाम्रो इतिहासका अन्य नायकहरूले पनि रोजेका थिए ।

गीताको महानताबारे भारतीय दार्शनिक डा. सर्वेपल्लि राधाकृष्णनले सबैभन्दा धेरै मेरो दिमाग भुटेका थिए । उनले आफ्ना थुप्रै पुस्तक र लेखहरूमा गीताको मूल्यांकन गर्दै त्यसको महत्त्व र अर्थ स्थापना गरेका छन् । भगवत्‌गीता ग्रन्थको परिचय खण्डमा उनले लेखेका छन्, ‘भगवत्‌गीता एक दर्शनग्रन्थ कम र एक प्राचीन धर्मग्रन्थ अधिक हो । यो कुनै गुह्य ग्रन्थ होइन, जो विशेष रूपले दीक्षित वर्गका लागि लेखिएको होस् मानौं उनीहरू मात्र यसलाई बुझ्न सक्षम छन् । अपितु यो एक लोकप्रिय काव्य हो । यो कृतिले तिनै मानिसहरूलाई सहयोग गर्छ, जो अनेक पटक परिवर्तनशील वस्तुहरूका क्षेत्रमा

भट्किँदै हिँडिरहेका छन् ।’ यही कारणले होला, मैले आफ्ना केही रचनाहरूमा गीताका श्लोकहरूको प्रयोग गरेको छु । विशेषगरी मेरो लामो कथा ‘आत्महन्ता’ मा एक किसिमको विपर्यास उत्पन्न गर्न गीताको उद्धरण प्रयोग भएको छ ।

५.

२०७८ सालको असोज महिनाको कुनै एक दिन आजका हाम्रा प्रखर जनवादी कवि विनोदविक्रम केसीले फोनबाट भने, ‘दाइ, भेट्न पाए हुन्थ्यो ।’ म लगत्तै उनलाई भेट्न बागबजारस्थित बेला प्रकाशनको कार्यालयमा पुगें । बेला प्रकाशन भर्खरै खुलेको एक जिम्मेवार प्रगतिवादी प्रकाशन संस्था हो । कवि तथा राजनीतिज्ञ आहुतिको चर्चित पुस्तक ‘जात वार्ता’ त्यही प्रकाशनको उत्पादन हो । प्रश्नोत्तर शैलीमा लेखिएको त्यो पुस्तक निकै गहन र महत्त्वपूर्ण छ । कवि विमल निभाको ‘डेगन्द्र राजवंशीको आत्महत्या’ कवितासङ्ग्रह पनि त्यहाँबाट हालै प्रकाशित भएको छ । विमल निभा नेपालका एक ठूला जनकवि हुन् ।

कवि विनोदविक्रम केसी त्यहाँ काम गर्छन् । म दिउसो त्यहाँ पुग्दा उनी नजिकैको खाजा घरमा खाजा खाइरहेका थिए । यो रत्न पुस्तक गल्लीको सानो नेवारी खाजाघर हो । दिउसोको दुई नाघिसकेकाले मेरो भोक पनि जागृत भइसकेको थियो । मैले चना र चिउरा खाने विचार गरें, जुन मलाई मन पर्ने जनपक्षीय खाजा हो । त्यही क्रममा उनले भने, ‘एउटा पुस्तक निस्केको छ । त्यसको रिभ्यु गर्न सक्ने उपयुक्त पात्र दाइ नै हुनुहुन्छ भनेर दुःख दिन खोजेको ।’

उनले मलाई दिन खोजेको पुस्तकको नाम थियो– ‘गीताको गाँठो’ । भगवत्‌गीताबारे यथार्थवादी विमर्श । यस पुस्तकमा संकलित लेखक थिए : एसजी सरदेसाइ, डीडी कोसम्बी, दिलीप बोस र बीआर अम्बेडकर । यिनलाई नेपालीमा अनुवाद गर्ने व्यक्तित्व हुन् प्रगतिवादी समालोचक निनु चापागाईं । यिनले यसअघि पनि धेरै विश्वविख्यात मार्क्सवादी विचारकहरूका रचना नेपालीमा अनुवाद र सम्पादन गरिसकेका छन्, जसमा कार्ल मार्क्स, फ्रेडरिक एङ्गेल्स, म्याक्सिम गोर्की, लु सुन, जर्ज लुकाज, बर्टोल्ट ब्रेख्त आदि पर्छन् ।

त्यहाँ मैले कवि केसीको आग्रह सकारें र किताब लिएर घर फर्कें । तर, घर आएपछि मैले गल्ती गरेको छुजस्तो लाग्यो । किनकि गीताको विश्लेषण मेरो प्राधिकारको विषय होइन । यी विषयको विषद् ज्ञानको अभाव छ ममा, तर पनि पाठक प्रतिक्रियासम्म त लेख्नुपर्छ भन्ने लाग्यो । तैपनि मेरी आमाको स्वास्थ्य बिग्रेका कारण मैले लामो समय त्यसलाई पढ्न सकिनँ । गएको जाडो याममा त्यसलाई पढ्ने अवसर जुर्‍यो र त्यस किताबका विचारहरू मेरो मस्तिष्कमा ठोक्किँदा म हजुरबा, उनको रातो गीतामोह र अमानुषिक वर्णव्यवस्थाप्रतिको निष्ठालाई स्मरण गरिरहेको थिएँ ।

डीडी कोसम्बी, एसजी सरदेसाई, दिलीप बोस र बीआर अम्बेडकर छिमेकी देश भारतका मेधावी चिन्तक र सामाजिक—राजनीतिक अभियन्ता हुन् । उनीहरूले भारतको साम्यवादी जागरण अभियानमा धेरै बौद्धिक मलजल गरेका छन् । यस हिसाबले पनि ‘गीताको गाँठो’ को मेरो पठन–अनुभव निकै आनन्ददायी र उत्तेजक बन्न पुग्यो ।

डीडी कोसम्बी (सन् १९०७–६६) गणितका प्रकाण्ड विद्वान्का साथै भारतीय इतिहास, संस्कृति र मार्क्सवादका धुरन्धर पण्डित हुन् । जसरी अल्बर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्त शुद्ध विज्ञानको क्षेत्रमा एउटा नवीन क्रान्ति थियो, त्यसरी नै उनको वैचारिक निबन्ध ‘समाजवाद नै किन’ धेरै उच्चकोटीको कालजयी रचना हो । मलाई कोसम्बीको व्यक्तित्व पनि आइन्स्टाइनको जस्तो लाग्छ जबकि आइन्स्टाइनसित तुलना गर्दा उनको बौद्धिकताको अवमूल्यन हुन्छ । ‘इन्ट्रोडक्सन अफ टु द स्टडी अफ इन्डियन हिस्ट्री’ उनको चर्चित पुस्तक हो । ‘गीताको गाँठो’ मा संगृहीत उनको रचनाको शीर्षक छ– भगवत्‌गीताका सामाजिक राजनीतिक पक्ष । यसबारे अनुवादक तथा सम्पादक चापागाईं लेख्छन्, ‘कोसम्बीको लेखको शीर्षकले संकेत गरेजस्तै लेख भगवत्‌गीताका सामाजिक र राजनीतिक पक्षको विश्लेषणमा केन्द्रित रहेको छ । उनको धारणाअनुसार गीताको रचना सुखसुविधासम्पन्न समुदायको आवश्यकता पूर्ति गर्नका लागि गरिएको हो । कुनै पनि व्यक्तिले वर्गीय व्यवस्थाको वैधतालाई कुनै चुनौती नदिई गीताबाट कुनै पनि अर्थ निकाल्न सक्छ भन्ने उनको निष्कर्ष रहेको छ’ (गीताको गाँठो, पृष्ठ. ७) ।

अर्को लेखका रचयिता एसजी सरदेसाई राजनीतिकर्मी तथा मार्क्सवादी विचारक हुन् । उनले गीता लेखनको इतिहास, मिथक र अन्धविश्वासलाई ऐतिहासिक तथ्यको कसीमा खण्डन गरेका छन् । भारतीय इतिहासमा मगधकालपछि सिर्जित विचारधारात्मक अन्तरालको परिपूर्तिका निम्ति गीता लेखिएको हो भन्ने उनको अडान छ । उनी लेख्छन्, ‘गीताले सुस्पष्ट र असन्दिग्ध रूपले चार्तुवर्ण्य ईश्वरीय हो भन्ने मान्यता र उपनिषद्हरूको आध्यात्मिक आदर्शवाद अर्थात् ब्रह्म, आत्म अनि मोक्ष प्राप्तिका लागि आत्मब्रह्ममा विलीन हुनुपर्छ भन्ने मान्यतालाई पुनर्पुष्टि गर्छ’ (पृष्ठ ६३) । ‘शूद्रलाई दासताको साङ्लोले कसेर मात्र नपुगेर गीताले सुरुदेखि अन्त्यसम्म तल्ला तहका मानिस र महिलाप्रति चर्को घृणा प्रदर्शन गर्छ’ (पृष्ठ ६५) ।

यस किताबमा अर्को महत्त्वपूर्ण लेख छ दिलीप बोसको । उनी भारतीय कम्युनिस्ट पार्टीका नेता थिए । उनले भारतीय स्वतन्त्रता आन्दोलनमा हिन्दु क्रान्तिकारीहरूले गीताको प्रयोग कसरी गरे भन्ने विषद् चर्चा गरेका छन् । त्यसमा उनले स्वतन्त्रता आन्दोलनमा मुसलमान क्रान्तिकारीहरूलाई परेको असजिलोको पनि सटीक बयान गरेका छन् । उनले बृहत् ऐतिहासिक पर्यावलोकनसहित भारतमा हिन्दुवादी फासीवादको जन्मको गर्भकक्षको स्थापत्य गीतामा निहित रहेको दर्शाएका छन् ।

पुस्तकको अन्तिम रचना छ, डा. भीमराव अम्बेडकरको । उनी हामी सबैले जानेका सम्मानित व्यक्तित्व हुन् । उनी लोकतान्त्रिक भारतीय संविधानका निर्माता, अर्थशास्त्री, विधिवेत्ता र राजनेता पनि हुन् । त्यसबाहेक उनी भारतीय दलित आन्दोलनका अग्रणी विचारक पनि हुन् । उनी लेख्छन्, ‘भगवत्‌गीता धर्म सिद्धान्त वा ईश्वरवाणी होइन । ...भगवत्गिता न धर्मग्रन्थ हो न त यो दार्शनिक ग्रन्थ नै हो । यसले दार्शनिक आधारमा धर्मका खास खास सिद्धान्तहरूको समर्थन गरेको छ’ (पृष्ठ १४६) । युद्धलाई उचित भन्नु, वर्ण व्यवस्थालाई ईश्वरप्रदत्त मान्नु र प्रतिक्रान्तिको प्रतिरक्षा गर्नु गीताको मुख्य विशेषता हो भन्नेमा डा. अम्बेडकर अडिग छन् ।

६.

अन्त्यमा, ‘गीताको गाँठो’ पढिसकेपछिको मेरो सानो निष्कर्ष :

मेरा हजुरबाको गीताप्रेम वर्णव्यवस्थाको पक्षमा थियो भन्ने सत्य बुझ्न मलाई पाँच दशकभन्दा बढी समय लाग्यो । उनमा आफ्नो समयका प्रशस्त विरोधाभास थिए । उनी कुनै–कुनै बेला दयानन्द सरस्वतीको ‘सत्यार्थ प्रकाश’ लाई पनि राम्रो किताब भन्ने गर्थे । मैले ‘प्रेतकल्प’ को रचनागर्भमा यस सन्दर्भबारे अलि लामो चर्चा गरिसकेको छु । एकातिर उनको भगवत्‌गीताप्रतिको चरम अनुराग र अर्कातिर अस्पृश्यता र बालविवाहका विरोधी अनि विधवा विवाहका कट्टर पक्षधर स्वामी सरस्वतीलाई पनि मनको अर्को कुनामा राख्ने लोभ । यसको अर्थ के हुन्छ ? मेरो विचारमा उनको यो चरम दुविधा मानवद्वेषी युगको मौलिक अन्तरविरोध थियो ।

तर, म भने हजुरबाको त्यो पापी युगको पक्षमा कहिल्यै उभिन सकिनँ ।

प्रकाशित : वैशाख ३, २०७९ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×