कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धिचरणको ‘नेपाल’ : केही लिखित, केही अलिखित

युगकवि सिद्धिचरण श्रेष्ठको ‘नेपाल’ कविता छापिएको छ एउटा पुस्तिकामा । पुस्तिकाको मुखपृष्ठमा लेखिएको छ– ‘२०३९ नयाँ वर्षको शुभकामना’ । मुखपृष्ठसमेत गरी जम्मा १० पृष्ठको यो प्रकाशनमा यही एउटै कविता समावेश छ । कविता लेखिएको वा छापिएको मिति पुस्तिकामा छैन । नयाँ वर्षको साइतमा नेपालमाथि लेखिएको ‘नेपाल’ कविताको अलिखित कथा :
रघु पन्त

इन्द्रेणीको टप्प टिपेर शाखा
ओढी पछयौरी वन, भीर–पाखा
सुवासको पाउ गमक्क चाली
नाच्छन कि झैं सिर्जन नै उचाली
मर्दा कुनै आखिरको सलामी
जाने मिली गाउँघरै मलामी
यो देश नै एक गुठी समान
सम्पूर्ण हामी गुठियार जान

सिद्धिचरणको ‘नेपाल’ : केही लिखित, केही अलिखित

इन्द्रेणीको टप्प टिपेर शाखा

ओढी पछ्यौरी वन, भीर–पाखा

सुवासको पाउ गमक्क चाली

नाच्छन् कि झैं सिर्जन नै उचाली

मर्दा कुनै आखिरको सलामी

जाने मिली गाउँघरै मलामी

यो देश नै एक गुठी समान

सम्पूर्ण हामी गुठियार जान

माथिका पंक्ति युगकवि सिद्धिचरण श्रेष्ठको ‘नेपाल’ शीर्षक लामो कविताका केही अंश हुन् । यो कविता युगकविले ०३८ सालमा लेखेको हुनुपर्छ । यो एउटा कविता मात्रै छापिएको छ पुस्तिकामा र मुखपृष्ठमा लेखिएको छ– ‘२०३९ नयाँ वर्षको शुभकामना’ । मुखपृष्ठसमेत गरी जम्मा १० पृष्ठको छ यो प्रकाशन ।

कवितासंग्रह भनौं भने एउटै मात्र कविता छ । तर, यो साह्रै लामो कविता पनि होइन । विभिन्न कविहरूका यीभन्दा लामा कविता मैले पढेको छु । अनि यो खण्डकाव्य पनि होइन । ०३८ साल चैतको अन्त्यतिर वा ०३९ को पहिलो दिनमै पनि लेखिएको हुन सक्छ यो कविता । कविता लेखिएको मिति कविता छापिएको पुस्तिकामा उल्लेख छैन ।

तर, यो कविता नयाँ वर्षको सन्दर्भमा ‘नेपाल’ देशमाथि कवि सिद्धिचरण श्रेष्ठको गम्भीर चिन्तन, मनन, स्नेह, प्रेम, ममता, उद्वेग, भावुकता र संवेदनशीलताको उच्चतम अभिव्यक्ति हो । सिद्धिचरणका कविताहरूमा देशभक्ति, देशमहिमा र देशप्रतिको गहिरो प्रेमसँगसँगै युगचेतना पनि मिहिन रूपमा प्रस्फुटित भएको हुन्छ ।

कवि दुर्गालाल श्रेष्ठको घर थहिँटी चोकभन्दा उत्तरतिर ठमेलको नर्सिङ चोकभन्दा अलिक वर थियो । त्यो घरमा कवि दुर्गालाल सपरिवार बस्थे । गायक रामेश दाइका दाजु गोरखबहादुर पनि त्यो घरको माथिल्लो तलामा बस्थे । रामेश थहिँटीको एउटा घरको माथिल्लो तलामा बस्थे । र, खाना खानचाहिँ गोरख दाइकहाँ पुग्थे । म पनि गोरखबहादुरकहाँ रामेश दाइको पछि लागेर बेलाबेला गइरहन्थें त कहिले कवि दुर्गालाल भेट्न जान्थें । त्यहीँ मैले पटकपटक कवि सिद्धिचरणलाई भेटेको थिएँ ।

सुत्ने खाटभन्दा तल ओच्छ्याइएको लम्पटमा बसेर कवि सिद्धिचरण र दुर्गालालबीच घण्टौं साहित्य र विशेषगरी कवितामाथि छलफल हुन्थ्यो । कहिलेकाहीँ रामेश दाइ र म पनि त्यो छलफलमा छिर्ने गर्थ्यौं । दुर्गालाल र सिद्धिचरणबीच अर्को एक चीजको उपस्थिति अनिवार्य हुन्थ्यो— अग्लो हुक्कामा तमाखु भरिएको चिलिम र नली । ढल्किएर तमाखु तान्दै माथि दलिनतिर हेर्दै केही सोचिरहेका सिद्धिचरणको दुर्लभ दृश्य मैले धेरैपटक हेरेको छु । मञ्जुल र रामेशसँगै एक–दुईपल्ट सिद्धिचरणको घर पनि गएको छु । मञ्जुल र रामेशप्रति सिद्धिचरणको सद्भाव–प्रेम अधिक थियो । ओखलढुंगाकै भएर पनि होला रामेशलाई सिद्धिचरणको स्नेह प्राप्त थियो ।

त्यो बेला अहिलेको नेकपा (एमाले) को पूर्वरूप नेकपा (माले) पनि बनिसकेको थिएन । कोअर्डिनेसन कमिटी नै थियो त्यस बेला । एकपटक हामीलाई अध्ययन गर्न प्राप्त भएको पार्टी–मुखपत्र ‘वर्गसंघर्ष’ रामेशले दुर्गालाललाई पढ्न दिएछन् । र, आफ्नो घर आएका सिद्धिचरणलाई त्यो हेर्न दिएका बेला टुप्लुक्क रामेश पुगेछन् । सिद्धिचरण सायद त्यो बेला राजसभाका सदस्य थिए ।

त्यसपछि रामेशको सातो गएछ । राजतन्त्रको उग्र विरोध गरिएको ‘वर्गसंघर्ष’ सिद्धिचरणलाई देखाएकामा दुर्गालालसँग रामेशलाई रिस पनि उठेछ । सिद्धिचरणले ‘यस्तो उग्र बाटामा नलाग्नू’ भनेर रामेशलाई सम्झाउन खोजेछन्, तर रामेशले भनेछन्, ‘हामी त तपाईंकै चेतना भरिएका कविताले समेत प्रभावित भएर राजनीतिमा लागेका हौं । तपाईंका ‘तिम्रो बासित पैसा छैन’ र ‘क्रान्तिबिना यहाँ हुँदैन शान्ति’ जस्ता कविताहरूले हामीलाई परिवर्तनका लागि लड्न प्रेरणा दिएका हुन् ।’

सिद्धिचरण बूढाले रामेशको जवाफ शान्त भएर सुनेछन्, केही जवाफ नदिईकन । रामेशलाई त्यस बेला डर पनि लागेछ– अहो ! राजसभाको सदस्य भएको मान्छेले अब के पो गर्ने हुन् ! तर, सिद्धिचरणले राजाविरोधी चर्को त्यो मुखपत्र पढेको घटना सधैं गुपचुप राखे, केही भएन कसैलाई । मुखले राजा माने पनि अन्तर्यमा परिवर्तनविरोधी छैनन् भन्ने विश्वास लागेरै दुर्गालालले सिद्धिचरणलाई ‘वर्गसंघर्ष’ पढ्न दिएको हुनुपर्छ ।

दुर्गालालको घरमा बिहानै आएर तमाखु खाँदै कविताबारे गफगाफ गर्ने सिद्धिचरणको क्रम जारी थियो । युगको चेतना र समयले खोजिरहेको परिवर्तनको धड्कनलाई सायद सिद्धिचरणले अनुभूत गरिरहेको हुनुपर्छ । किनभने सिद्धिचरण आफैं लामो संघर्ष गरेका र जेलजीवन बिताएका मानिस थिए ।

विसं १९९७ को प्रजापरिषद् काण्डमा जेल परेका कविवरको राजनीतिक चेतना परिपक्व थियो । १८ वर्षको जेल र अंश सर्वस्वको सजाय पाएका कविवरका पिताजीसमेत त्यसबेला जेल परेका थिए । वर्षौंसम्म नेलसिक्री भिरेर बन्दी जीवन बिताएका सिद्धिचरणले कारागारमा गणेशमान सिंह, गंगालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्रीलगायत विभिन्न राजनीतिक बन्दी र नेताहरूको संगत गरेका थिए । उनको बन्दी जीवनका सम्झनाहरू ‘सिद्धिचरणका जेल संस्मरण’ शीर्षकमा प्रकाशित छ ।

०९७ साल, ००७ साल र ०४६ सालको समेत परिवर्तन देखेका कविमा युगचेतना र परिवर्तनप्रतिको चाह त राणाकालमै देखा परेको थियो । र, आफ्नो त्यस विगतप्रति उनमा गर्व र मोह पनि देखिन्थ्यो । ०९७ सालमै ‘विश्वव्यथा’ कविताको अन्त्यमा उनले लेखेका छन्—

विश्रान्ति लिई मानिस व्यर्थ बन्छन् जर्जर कमजोर

खाइलाई लम्बाउनु किन, बाँची रहने यो जोर ?

आज नखाऔं नसुतौं आओ सब मिली हड्ताल मचाऔं

कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौं ।

०९४ सालमै उनले नेपालभाषा (नेवारी भाषा) मा लेखेको ‘वर्षा’ कवितामा भनेका थिए—

हुँकार्छु खूब रिसले जगलाई हाँकी

मास्दै सबै अशुभ वस्तु कुनै नराखी

के हुन्छ शान्ति नभईकन घोर क्रान्ति

यसरी राणाकालमै क्रान्तिका कुरा गर्ने कवि सिद्धिचरणको ‘नेपाल’ कविताको हुनुपर्ने जति चर्चा भएन । यस कविताका प्रत्येक पंक्ति सुन्दर र काव्य गुणले परिपक्व छन् । पञ्चायतकालमा लेखिएको कवितामा प्रकृतिको सुन्दर वर्णनभित्र देशभक्ति मगमगाएको छ र चेतनाले सुषुप्त, तर प्रखरताका साथ आफूलाई प्रकट गरेको छ ।

तर, यो कविता गीतका रूपमा भने लोकप्रिय रह्यो । यो कविताका केही अंशलाई दुई जना गायकले गाए । भक्तराज आचार्यले गाएका पंक्तिहरू रेडियोमा अक्सर बज्छन् । वर्षौंदेखि बजिरहे पनि यो गीत सुनिरहूँजस्तो लाग्छ । उनले गाएका पंक्तिहरू यी हुन् ः

नेपाल प्यारो र पवित्र देश

सौन्दर्यधारा बहने अशेष

संगीतको मूल फुटी विशाल

छल्किरहेझैं लयबद्ध छाल

क्यारूँ, म यस देशनिमित्त क्यारूँ !

नाचूँ कि गाऊँ कि गला मिलाऊँ

सहर्ष काटी शिर नै चढाऊँ !

या श्वास जम्मै यसमै मिसाऊँ !

मान्छे यहाँका दिलदार हुन्छन्

बाँचे पराधीन भई न बाँच्छन्

स्वतन्त्रतामा जब आँच लाग्छ

आगो बनेको यसको कथा छ

हामी सबैको बलबुद्धि दाउ

जम्मा हुने एक पवित्र ठाउँ

त्यो सूर्य–चन्द्रांकित लालझन्डा

हाम्रो छ प्यारो अति प्राणभन्दा

भक्तराज आचार्यले गाएको गीतको भिडियो बनेको छैन । गीत सुन्दा आनन्द लाग्छ र कर्णप्रिय पनि छ । गीत, संगीत र शब्दको सुन्दर संयोजन छ यसमा ।

यही कविताका केही अंशलाई गायक योगेश्वर अमात्यले पनि गाएका छन्, संगीतकार न्ह्यु बज्राचार्यको संगीतमा । योगेश्वरले भक्तराज आचार्यले सुरुमा गाएका चार पंक्तिलाई गाएका छैनन् । उनले ‘क्यारूँ म यो देश निमित्त क्यारूँ !’ बाट आफ्नो गायन सुरु गरेका छन् । भक्तराजले नगाएको अर्को चार पंक्ति योगेश्वरले गाएका छन् । जो यसप्रकार छन् :

को आर्य को मंगोल र को किराँती

हामी सबैको अब एक जाति

यौटै पिई घाम, हवा र पानी

यौटै बनेको रंग, रूप, बानी

अरू भक्तराजले गाएकै पंक्ति योगेश्वरले पनि गाएका छन् । कविताको अरू आठ पंक्ति गायनको बीचबीचमा चारचार पंक्ति गरी भूषण दाहालले दुईपल्ट वाचन गरेका छन् । उनले वाचन गरेका पंक्ति यस्ता छन् :

यो देशमा जागृति भाँति–भाँति

उठाउँदै छन् शिर माथि–माथि

पीँढी युवाको अब चुप छैन

चाँजो र पाँजो नमिली हुँदैन

अरू चार पंक्ति भने भक्तराजले गाएका ‘मान्छे यहाँका दिलदार हुन्छन्’ भन्ने अंश नै हो, जसलाई भूषणले वाचन शैलीमा पढेका छन् ।

न्ह्यु बज्राचार्यको संगीतमा निकै डुबेर योगेश्वरले गाएका छन् । गीतको दृश्यांकन छायांकन पनि सुन्दर छ । त्यसैले यसलाई सुन्दै–हेर्दै वा हेर्दै–सुन्दै गर्दा बढी डुबेर अनुभूत गर्न सकिन्छ । भूषण दाहालले निर्देशन गरेको यो गीतको दृश्यांकन हेर्दा लाग्छ— भित्रैदेखि डुबेर योगेश्वरले गीत गाएका छन् ।

‘नेपाल’ कविताका यी दुई गायकले गाएका अंशबाहेक अरू पंक्ति पनि मीठा र गाउनलायक छन् ।

पहिलेको एसएलसीको नेपाली पाठ्यक्रममा ‘मेरो प्यारो ओखलढुंगा’ कविता समावेश थियो सिद्धिचरणको । कविता, कविताका रूपमा भन्दा गीतका रूपमा निकै लोकप्रिय भयो । ‘ओखलढुंगा’ कवितामा सबैभन्दा पहिले संगीत भरेर गाउने गायक हुन् रामेश । राल्फाकालमै उनले यसलाई संगीत भरेर गाउन थालेका थिए । ०२४ सालमा संगीत गरिएको यो गीतलाई ०३१ मा रेडियो नेपालमा रेकर्डिङ पनि गरियो । रामेश–मञ्जुलको सामूहिक स्वरमा सबैभन्दा पहिले मैले यो गीत सुनेको थिएँ र सुन्दा नै आनन्द लागेको थियो । रामेश आफैं ओखलढुंगाका बासिन्दा भएकाले पनि होला यो गीतप्रति उनको विशेष प्रेम देखिन्थ्यो । रामेशले संगीत गरेका गीतमध्ये मलाई मन पर्ने एउटा गीत हो यो ।

तर, यही गीत पछि फेरि नारायणगोपालले पनि गाए आफ्नै संगीतमा । रामेशले गाएको ‘मेरो प्यारो ओखलढुंगा’ सुनिरहेको मलाई नारायणगोपालले गाएको ‘मेरो प्यारो ओखलढुंगा’ सुरुमा केही नौलो लाग्यो, तर बिस्तारै प्रिय पनि लाग्दै गयो ।

दुवै गायकले गाएको ओखलढुंगाको महिमागान आ–आफ्नो जन्मस्थान सम्झँदै सुन्दा प्रत्येक श्रोताले विशेष आनन्दको अनुभूति गर्छ । जस्तोसुकै भए पनि आफू जन्मेको ठाउँलाई ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ मान्ने हामी नेपालीलाई यी दुवै गीतले संगीतको विशिष्ट रसास्वादन गराउँछन् ।

नारायणगोपालले गाएको गीतमा आधारित भएर ओखलढुंगाको दृश्यांकनसहितको म्युजिक भिडियोहरू पनि बनाइएका छन् । तर, एकान्तमा आँखा चिम्लेर रामेश वा नारायणगोपालले गाएको ‘मेरो प्यारो ओखलढुंगा’ सुन्दै हराउनु र आफैंमा भुल्नुको मजा बेग्लै छ ।

सिद्धिचरणका यी दुई कवितामा संगीतकारहरूको नजर पर्‍यो, गायकहरूको नजर पर्‍यो । अन्ततः यी सुन्दर गीतहरू बने । ‘ओखलढुंगा’ बारे लेखिएको उनको कविता पाठ्यक्रममै पढेकाहरूले ‘गीत’ का रूपमा सुन्दा निश्चय नै एकपल्ट आफ्नो स्कुले जीवन सम्झन्छन् र गीतसँगै सुदूर अतीततिर पुग्छन् । यो गीत सुन्दै गर्दा झम्झमाउँदै, रम्रमाउँदै आफू जन्मेको ठाउँ सम्झिन्छन् मानिसहरू । ‘ओखलढुंगा’ जन्मस्थान वा जन्मभूमिको कोमल सम्झना हो भने ‘नेपाल’ कवितामा आफ्नो मातृभूमिप्रतिको श्रद्धा, देशको विविधताको वर्णन र त्यसको विशिष्टताको भावबोध छ । सिद्धिचरणका कविताहरूको भावमा माटो बोल्छ, देश बोल्छ र बेलाबेला बोल्छ युग चेतना ।

गीतको स्वरूपमा कुनै कविता कति मोहक बन्दोरहेछ, यी दुई कविता सुन्दा थाहा पाइन्छ ।

प्रकाशित : वैशाख ३, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?