द म्यारो एन्थोलजी अफ योन्गर अमेरिकन पोयट्स’ नामक बृहत् ग्रन्थमा प्रकाशित आधुनिक कवि ल्यारी लेभिन्सको एउटा लामो कविताका केही हरफ सम्झन्छु–
म किन भइनँ एउटा रूखमा दुईखुट्टे प्रजातिको कुनै कीरा ?
मान्छे भएर जन्मनुपर्ने मैले ?
घोडा या माकुरो भएर किन होइन ?
...मेरो चयनबाट त केही पनि भएन
यो कविता पढ्दापढ्दै मैले सद्गुरु भनेर चिनिएका जग्गी वासुदेवलाई सम्झें । उनले कतै भनेका छन्, ‘यो पृथ्वीमा भएको प्रत्येक जीवको यस पृथ्वीमाथि बराबर अधिकार छ ।’ यो पृथ्वीमा ल्यारी लेभिसको जत्तिकै अधिकार छ, आरुको रूखमा झुन्डिएको एउटा कीरा या माकुरोको पनि । आज लेखिएका कविताहरूमा यो चिन्तन आइरहेको देख्छु म । मैले आफ्नो ‘युटोपिया’ नामक कवितामा विश्वको सम्पूर्ण वनस्पतिले आत्महत्या गरे के होला भनेर लखेको छु । यसबाट भर्खरै तावामा हालिएको परौठाभन्दा फरक भयो कविता । परौठा बिक्री भयो पछि त्यसको अर्थवत्ता सकियो । त्यो कसले खायो भन्ने कुराभन्दा त्यसले पाएको बिक्री मूल्यले महत्त्व राख्छ । बस् बिक्री भयो, सकियो । वस्तुहरू सबै यस्तै हुन् । आधुनिक कविता यसैले परौठा या सेलरोटी नबनाएर विचारमा, संवेदनशीलतामा रूपान्तरण हुनुपर्यो । कमोडिटी बन्नु भएन शब्द । यही र यस्तै कुरा गर्छ ऋग्वेद । ऋग्वेदको पहिलो श्लोकमा ऋषि विश्वामित्र अग्निको स्तुति गर्छन् यसरी :
ॐ अग्निमीडे पुरोहितं यज्ञस्य देव मृत्विगम । होतारं रत्नधातमम् ।
(हामी ऋषिहरू अग्निको स्तुति गर्छौं । हाम्रो यज्ञमा अग्निदेव प्रकट होऊन् । देवताहरू अग्निलाई बोलाऊन्) ।
प्राचीन ग्रीक ग्रन्थहरूमा यो लोकमा आगो लिएर आउन प्रमिथस नामक देवलाई आह्वान गरिन्छ । उनी देवलोकबाट मान्छेका लागि आगो चोरेर ल्याउँछन् । महाकवि देवकोटाले ‘प्रमिथस अनबाउण्ड’ नामक महाकाव्यमा यही विषयको विशद व्याख्या गरेका छन् । दृष्टिविहिन होमर चौध हजार घोडा देख्छन् । हामीले जलाएको, खोजेको उज्यालोमा आगो छैन । भए पनि त्यो निभिसकेको छ । अनि मैले ‘बकपत्र’ नामक कवितामा यसरी लेखें :
अथवा प्रमिथसले चोरेको आगो
जो प्रत्येक घरमा निभिसकेको छ
त्यही निभिसकेको खरानी बोकेर
म निस्केको छु संसारमा
जहाँ अँध्यारोले चारैतिर खोजिरहेछ
कविताको आगो
र, जहाँ अँध्यारो चारैतिर चम्किरहेछ
कविताको आगोमा ।
‘द म्यारो एन्थोलजी अफ् योन्गर अमेरिकन पोयट्स’ मा कवि लुइस ग्लुकका ८।१० वटा कविताहरू पनि संकलित छन् । उनले गत वर्ष मात्रै कवितामा नोबेल पुरस्कार पाइन् । उनका कविताबाट प्रभावित हुनु स्वाभाविक मानिन्छ आजभोलि । यसैमा छ रीता डोभ, ए वान जस्ता कविका कविताहरू पनि । ए वान को एउटा कविताको नमुना :
जब म एक्लो थिएँ
मृत्युबारे सोचिरहन्थें
जब म मृत्युबारे सोचिरहन्थें
म एक्लो भइरहन्थें
ऋग्वेदको अन्तिम श्लोक छ, जसले प्रत्येक व्यक्तिलाई प्रभावित पार्न सक्छ :
समानी व आकृति : समाना हृदयानिवः ।
समानमस्तु वो मना यथा वःसुसहासति ।।
(एउटै संकल्प, एउटै मन र संगठित भएर मनोकामना पूरा गर) ।
त्यो ‘दस्तावेज खोज’ भन्छ आफ्नो अन्तिम कवितामा ऋग्वेदले । यसरी कविता समान मनको समान स्वप्नदृश्य बन्दै गएको अनुभव हुन्छ । यजुर्वेदमा समेत ऋषिले ‘हिरण्यमयेन पात्रेण सत्य स्यपिहितम् मुखम् । योसावादित्ये पुरुष : सोसावहम्’ भनेर सत्य लुकेको या छोपिएको हुन्छ भनेका छन् । त्यो आवरणलाई हटाएपछि आदित्य रूपमा रहेको पुरुष देखिन्छ भन्छ यजुर्वेद । त्यो आवरणभित्रको नांगो सत्य प्रत्येक लेखकको अभीष्ट हो ।
‘एउटा पपलरको पात’ मा सम्पूर्ण जीवनलाई एउटा पातसँग तुलना गर्दै कवि मोहन कोइराला लेख्छन् : खसेका पातहरू होतपाईंका नाम र ठेगाना बताउनुस् तअलिकति भैंमा खसेका पातहरू ?
कृपया तपाईंका छापेको नेमकार्ड ब्यागमा छ कि ?
जगदीशशमशेर राणा भन्छन् : हरेक पानीको रक्सीको स्वाद र ताकत अलगअलग भएजस्तै प्रत्येक कालावधिमा कविता नयाँ र नौलो हुँदै जान्छ । मोहन कोइरालाको विम्ब संविधानलाई पुनः व्याख्या गरिनुपर्छ भन्ठान्छु म ।
कवि सिद्धिचरण श्रेष्ठ आफ्नो काव्य ‘उर्वशी’ मा एउटा सत्य कुरा यसरी व्यक्त गर्छन्, ‘यस काव्यलाई प्रारम्भ गर्दा मलाई लागेको थियो– अर्जुनको त्यस बेलाको मनको विजय नै सबकुछ हो भन्ने । तर, बुद्धिले सञ्चालित नगरेको मनको हरियाली र कुनै बखतको मनको विजयले नै हामीलाई महान् बनाउँछ भन्ने कुरा होइन । म आफूलाई अर्जुन होइन उर्वशी भइरहेको पाउँछु ।
उर्वशी म हुँ, अर्जुन मेरो आकांक्षा र अर्जुनलाई आफ्नो एकलौटी पार्न नसकिएको कारणले समेत म विचलित हुन पुगेको छु ।’ यस कृतिमा कवि गीताको प्रमुख सारको नजिक लाग्छन् । गीतामा इन्द्रियलाई शरीरबाट पर भनिन्छ, इन्द्रियबाट पर मन छ र मनबाट पर बुद्धि । जो बुद्धिबाट पनि धेरै पर छ त्यही सत्य हो । मानिसको हारलाई उर्वशीले प्रतिनिधित्व गर्छिन् । मतलब हाम्रा इच्छित आकांक्षा र जीवनका कलकलाउँदा सपनाहरूको हार । त्यसैले प्रत्येक कविता पूर्वीय शास्त्रको उपनिषद्बाट नजिक छ । सबै कविताहरू पूर्वीय दर्शनबाट प्रभावित छन् । किर्केगार्ड र नित्सेसमेत चार्वाकबाट नजिक छन् । पुग्नु र नपुग्नुभन्दा माथि उठ्नु नै जीवन हो भन्छन् गीताले झैं कवि श्रेष्ठ । मूलतः हार नै शाश्वत हो, त्यो हार हाम्रो अन्तश्चेतनामा टाँसिएको छ । हाम्रो अवचेतनमा अमूर्त शब्द बनेर हुर्किएको छ । शब्द दुःख बनेर व्यापक अर्थमा कविता बनेर अभिव्यक्त भएको छ । च्यातिएको सपनाको युगमा प्रतिष्ठित सपनाहरूको जगमा लेखिएको गोपालप्रसाद रिमालको ‘आमाको सपना’ होस् या सुशासनको खोजीमा भौंतारिएका भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ अथवा ‘पानी गल्दैन’, ‘यौटा यस्तो फूल चाहिन्छ’ र ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ का वासु शशीका कविताहरू हृदयको चास्नीमा राखिएका कविताहरू हुन् । यी कविताहरूले ल्याङस्टोन ह्युजको एउटा सानो कविता सम्झाउँछन् :
सपनालाई कस्सिएर समात
यदि सपनाहरू मरे
जीवन पखेटा भाँच्चिएको चरा हुनेछ
जो उड्न सक्दैन ।
सपनालाई कस्सिएर समात
यदि सपनाहरू निख्रिए
जीवन सुक्खा खेत हुनेछ
हिउँ जमिरहेको ।
प्रकाशित : चैत्र २६, २०७८ १०:५१