कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
उत्सव–समय

जयपुरमा ‘नेपाली ब्लूज’ !

‘रुख जति बूढो हुन्छ, त्यति बूढो हाम्रो साहित्य छ । र, पात जति नयाँ पलाउँछ, त्यति नयाँ हाम्रो साहित्य जन्मिरहेको छ । तर, हाम्रो भाषाले अझै मान्यता पाएको छैन । किनकि, नेताहरुलाई भाषा साहित्यको कुनै सरोकारै छैन ।’
छुदेन काविमो

अचानक कोरोनाको कहर यसरी छादियो, जसले सबथोक ठप्प पारिदियो । घुम्नलाई पूरै बन्देज लगाइदियो । मान्छे घरभित्र थुनिँदै गए । हठात किताब किनेर पढ्नधरि नपाइने स्थिति बनिदियो । साहित्यिक उत्सवहरू अनलाइनतिर सीमित हुँदै गए । लगभग तनावमै दुई साल बिते ।
अनि त बल्ल माहोल अलि ठीक हुँदै गयो । त्यही बनिएको माहोलबीच फातसुङ–को अंग्रेजी संस्करण आइदियो । त्यही अंग्रेजी अनुवादले मेरा निम्ति नयाँ बाटो खोलिदियो । र, नै म जयपुर लिटरेचर फेस्टिवल पुगेँ ।

जयपुरमा ‘नेपाली ब्लूज’ !

यो कथा त्यही साहित्यिक उत्सवको सम्झना मात्रै हो ।

हो । त्यो जयपुर लिटरेचर फेस्टिवलको मञ्च थियो, जहाँ ‘नेपाली ब्लूज’ वाला सेसन हुँदै थियो । मञ्चमा ‘कर्नाली ब्लूज’ का लेखक बुद्धिसागर थिए । र, थिएँ म पनि । हामी दुवै एकै भाषाका लेखक त थियौँ । तर, हामीले सुनाउने कथा अलगअलग भूगोलको पीडा थियो ।

उसो त हामी ती लेखकहरूमा पर्थ्यौं, जसले नेपालीमा किताब लेखे । तर, अंग्रेजी अनुवादकै बाटो भएर जयपुर महोत्सवसम्म पुगे, जुन महोत्सवमा देश–विदेशका लेखकहरूले आफ्ना अनुभव बाँडिरहेका थिए । अलगअलग भाषाका लेखकहरू जुन मञ्चमा उभिइरहेका थिए, त्यहीँ नेपालीभाषी लेखकका रूपमा उभिन पाउँदा यसै रमाइलो लागिहाल्ने रैछ । सोचें, ‘केही नयाँ सुरुवात हुँदै छ । र, यसको सुरुवात नै खुब रमाइलोसँग भइरहेछ ।’

बुद्धिसागर बाह्र वर्षअघि पनि जयपुर फेस्टिवल पुगेका रहेछन् । तर, दर्शकका रूपमा । त्यतिबेला उनी ‘कर्नाली ब्लूज’ लेख्दै थिए रे । त्यो बाक्लो उपन्यास उनले फेस्टिवलबाट फर्किएपछि नै लेखिसिध्याएका रहेछन् । बाह्र वर्षअघि फेस्टिवलको भीडमा हराई हिँड्ने त्यही बुद्धिसागर थिए, जसलाई यसचोटि नेपालका बेस्ट सेलर लेखक भनेर मञ्चमा बोलाइरहेका थिए ।

अनि ?

अनि, त हामी मञ्च उक्लियौं ।

बुद्धिसागरले ‘नेपाल ब्लूज’ सुनाए । मैले ‘दार्जिलिङ ब्लूज’ सुनाइदिएँ ।

हो, त्यो साहित्यको महाकुम्भ नै थियो, जहाँ फरक भूगोलका लेखकहरू आइपुगेका थिए । फरक भाषाका लेखकहरू भेला भएका थिए ।

अंग्रेजी भाषाका लेखक चहनदास चौधरी भन्थे, ‘लेखक नै ती प्राणी हुन्, जसले निसंकोच एकार्कालाई आफ्नो मान्छे सम्झिन सक्छन् । किनकि उनीहरू सबै एकै जातका हुन्छन् । लेख्ने–पढ्ने जातका ।’

साँच्चै हो नि । उत्सवमा आइपुग्ने लेखकहरू हरेक किसिमका हुन्थे । हरेक विचारका हुन्थे । तैपनि भेटेपछि लागिहाल्थे, ‘यी सबै एकै जातका प्राणी हुन् ।’ फरक भाषाका नयाँ लेखकसँग भेट्दा म जहिले सोचिरहेको हुन्थेँ, ‘संसार बुझ्नु हो भने, अब हरेक लेखकले

आफ्नो मूल भाषाभन्दा बाहिरको भाषा र साहित्य धेर बुझ्न जरुरी छ !’ उसो त हरेक भाषाका लेखकसँग आफ्नै समस्या पनि छँदैरहेछन् । हिन्दीभाषी लेखकहरूमा किताब कम बिकेकामा चिन्ता रहेछ । अधिकांश अंग्रेजीमा लेख्नेहरू ग्लोबल मार्केटमा आफ्नो प्रभाव जम्न नसकेकामा चिन्तित रहेछन् । त्यसमा अझै ठूलाठूला साहित्यिक पुरस्कारहरूको राजनीति त छँदै थियो । जेसुकै किन नहोस् ? तर, लेखकले अनुभव गर्ने समस्याहरू भनेको चैं एकैएकै किसिमको हुने रहेछ ।

हिन्दीभाषी लेखक प्रभात रन्जन दिल्लीमा रहेर जानकीपुल डटकम– चलाउँदा रहेछन् । बिहारको सीतामणिमा जन्मिएका रन्जनको गाउँ नेपालको जनकपुर नजिक रहेछ । जब पहिलोचोटि हाम्रो गफ भयो, उनी अलि भावुक बनिहाले । किन रहेछ त ? पछि बुझेँ । उनलाई लागेको रहेछ, म नेपालको हुँ । र, उनको घर नेपालको जनकपुर नजिक हो, जसलाई छाडेर उनले दिल्ली बस्नुपरेको छ ।

मैले यहीँनेर थोरै दार्जिलिङ ब्लूज सुनाउन परिहाल्यो । सुनेपछि बल्ल उनी थोरै लजाए । र भने, ‘तपाईंहरूको भाषाको किताब अनुवादमार्फत अरूलाई पढाउन जरुरी छ । यस्तो कन्फ्युजन भइरहँदैन ।’

उनी निकै बेर हाँसिरहे । हामी कार्यक्रम हलतिर छिर्‍यौं ।

पहिलो कार्यक्रम हेरेपछि मैले बुझेँ, राजस्थानीभाषी लेखकको आफ्नै समस्या छ, जुन भाषाले अझै भारतमा संवैधानिक मान्यता पाएको छैन । त्यहाँ एउटा सेसन राखिएको थियो, ‘मै एक जीवित भाषा हुँ !’ कार्यक्रम हेरेपछि मैले राजस्थानी लेखकलाई सोधेँ, ‘तपाईंहरूको त आफ्नै राज्य छ । तैपनि भाषाले अझै मान्यता पाएको छैन र ?’

लेखक चीज नै भावुक हुन्छ । उनी बडो भावुक बनिहाले । र सुनाए, ‘रूख जति बूढो हुन्छ, त्यति बूढो हाम्रो साहित्य छ । र, पात जति नयाँ पलाउँछ, त्यति नयाँ हाम्रो साहित्य जन्मिरहेको छ । तर, हाम्रो भाषाले अझै मान्यता पाएको छैन । किनकि, नेताहरूलाई भाषा साहित्यको कुनै सरोकार छैन ।’

सुनेपछि लाग्यो, लेखक मात्रै होइन संसारभरिकै नेताहरूलाई पनि लाग्दो हो, ‘विश्वका हरेक नेताहरू एकै जातका प्राणी हुन् ।’ किनकि नेपालको होस् वा दार्जिलिङको, राजस्थानको होस् वा बिहारको सबै नेताको प्रवृत्ति एकैएकै किसिमको हुने रहेछ ।

अँ ! म बिहारका नेताको कुरा गर्नेवाला थिएँ ।

यो कथा अलि मार्मिक छ, जसको कारण नै लेखक प्रभात रन्जनले गाउँ छाड्नुपरेको थियो ।

जनकपुर नजिकको त्यो गाउँ, जसलाई सीतामणि भनिन्छ । लोक विश्वास रहेछ, ‘रामायणकी सीता त्यहीँ जन्मिएकी हुन् ।’ भाग्यवश लेखक प्रभात रन्जन पनि त्यहीँ जन्मिए । तर, अभाग्यवश त्यो गाउँमा सबैभन्दा ठूलो दुःख पनि थियो । जुन दुःख गाउँनजिकको नदीमा नबनिएको पुलको थियो । उनको गाउँअघि लखनदेई नदी थियो, जो वाग्मती नदीकै एउटा शाखा रहेछ, जहाँ पुल थिएन । र, नै गाउँलेहरू हैरान थिए ।

तर, जब प्रभात तेह्र वर्षको भए तब सरकारी घोषणा भयो, ‘नदीमाथि पुल बनिनेछ ।’ जिल्ला प्रशासकले आएर पुलको शिलान्यास गरे । नरिवल फुटाए । तर, शिलान्यास गरेको वर्षौंपछि पनि पुल बनिएन । त्यसैले गाउँका युवाहरू पलायन हुन थाले । कोही विदेशतिर हानिए । प्रभात आफैंचाहिँ दिल्ली बस्न थाले ।

जब बीस वर्षपछि गाउँबाहिर रहेका साथीहरूसँग कुरा भयो, सबैले त्यही पुलबारे प्रश्न गरे, ‘अझै बनिएन र पुल ?’

तब प्रभातलाई लाग्यो– नबनिएको पुलमाथि कथा नै लेख्नुपर्ने रहेछ । उनले पहिलो कथा लेखे, ‘जानकी पुल !’

३४ वर्षको उमेरमा लेखिएको त्यही कथाले प्रभातलाई लेखक बनायो ।

उनले कथा लेखेको अर्को बीस वर्ष भइसकेको छ । बल्ल आज नदीमा पुल बनिएको छ । तर, गाउँमा अब नयाँ पीडित कोही छैनन् । सबै बाहिरिइसकेका छन् । त्यो सुदूर गाउँ बिस्तारै सहर बन्न त लागेको छ । तर, प्रभातहरू अब त्यहाँ फर्किनेवाला छैनन् । भएको जमिन पनि बेच्ने क्रममा छन् ।

मलाई जानकी पुलले आफ्नै गाउँको घिसखोलाको याद दिलायो । सीतामणिमा जस्तै मेरो गाउँमा पनि नेताहरू हरेक चुनावका बेला टुप्लुक्क आइपुग्छन् । र, घोषणा गरिराख्छन्, ‘भोट जिते पुल बनाउनेछु । सडक बनाउनेछु ।’

अनि ? जब भोट सकिन्छ, फेरि सब हराइदिन्छन् । लाग्छ, ‘संसारका हरेक नेताहरू पनि पक्कै एकै जातका हुन्छन् । अलिकति ढाँट्ने, अलिकति छल्ने जातका हुन्छन् ।’ छाडिदिनुस् दुःखका कुरा । हामी उत्सवतिरै फर्कौं । जयपुरको साहित्यिक महाकुम्भ हेर्दा जोकोहीलाई लागिहाल्छ, ‘यस्तो उत्सव जयपुर साहित्यिक उत्सव नै हुन सक्छ ।’ त्यो रमझम । त्यो लेखकहरूको जमघट । किताबप्रेमीहरूको त्यो भीड । त्यो राजस्थानी संगीतको धुन । त्यो माया, त्यो सत्कार । फेस्टिवलमा पुगेका हरेक लेखकले सोच्दा हुन्, ‘जुन जयपुरलाई इतिहासले पिंक सिटी भनेर चिनाइरहेको छ । त्यही जयपुरलाई भविष्यले साहित्यिक उत्सवको नगर भनेर चिनाउनेवाला छ ।’

जयपुर फेस्टिवलका निर्देशिका हुन् लेखक नमिता गोख्ले । उनीसँग मलाई ‘फातसुङ’ ले होइन, ‘सङ अफ द सोयल’ ले भेटाएको हो । त्योभन्दा अघि मैले उनलाई आजतक–तिरको कार्यक्रममा आक्कलझुक्कल देखेको हुँ । तर, कतै भेटेको चैं थिइनँ । कालेबुङमा रहिरहेकै बेला एक दिन अनुवादक अजित बरालले सुनाए, ‘अनुवादको पाण्डुलिपि नमिता गोख्लेले पढ्ने भएकी छन् । तर, टिप्पणीचैं किताब मन परे मात्रै लेख्छिन् रे !’

उनको कुरा गराइको स्टाइल त्यस्तै त्यस्तै हुन्छ । पहिले अलिकति खुसी दिने किसमको । त्यसपछि फेरि डर र शंका एकैसाथ छाडिराख्ने किसिमको । योभन्दा अघि नै उनले अर्को शंका छाडिसकेका थिए । यूकेको एउटा पब्लिकेसन हाउसले पाण्डुलिपि पढिरहेको छ । तर, मन पराउँछ, पराउँदैन त्योचैं भन्न सकिन्न !

तर, यति त अब म ढुक्क थिएँ– सङ अफ द सोयल’ अब मेरो मात्रै होइन, अनुवादकको पनि त किताब हो । होइन र ?

जर्ज बनार्ड शाले भनेका छन्, ‘तपार्इंको हातमा एउटा आइफल होस् । र, मेरो हातमा पनि एउटा आइफल होस् । हामीले साटासाट गर्‍यौं भने के हुन्छ ? केही हुन्न । तपाईंसँग फेरि पनि एउटै आइफल रहन्छ । मसँग पनि एउटै रहन्छ । तर, तपाईंसँग एउटा आइडिया छ । र, मेरामा पनि एउटा आइडिया छ । अनि हामीले यसलाई साटासाट गर्‍यौं भने के हुन्छ, थाहा छ ? हामी दुवैसँग दुई–दुईवटा आइडिया हुन्छ ।’

मलाई लाग्छ, किताब पनि यस्तै थोक हो । अनुवाद पनि यस्तै थोक हो । मैले विश्वास गरेँ, उपन्यास अब दुईवटा भइसकेको छ । एउटा नेपालीको र अर्को अंग्रेजीको । मन नपराए सोचौंला, ‘अंग्रेजीको चैं मन नपराएको हो ?’

तर, संयोगले किताबलाई दुवैतिरबाट प्रेम मिल्यो । त्यसपछि त अंग्रेजी टिप्पणी लेखिदिने लेखक गोख्लेसँग मेरो भेट जयपुर फेस्टिवलबीच भयो । दर्जनौं चर्चित अंग्रेजी किताब लेखिसकेकी गोख्लेलाई यस वर्ष साहित्य अकादमी पुरस्कार दिइएको छ । फेस्टिवलको तेस्रो दिन उनलाई अकादमी दिइँदै थियो । दिल्लीमा कार्यक्रम थियो । त्यसको ठीक अघिल्लो साँझ बुद्धिसागर र मेरो भेट उनीसँग भयो । व्यस्तताबीच पनि हाम्रो टेबलमा आएर उनले गफ सुरु गरिन् । अन्य लेखकहरूलाई पालैपालो हाम्रो परिचय सुनाइन् । नेपाली भाषाबारे बताइन् । र, भनिन्, ‘अकादमी लिन जान पाइनँ । अरू कसैलाई पठाउँला । म त्यहाँ गएर पनि केही गर्न सक्दिनँ, किनकि, मन त मेरो यहीँ हुनेछ ।’

मलाई बल्ल लाग्यो, ‘जयपुर फेस्टिवल भनेकै मनले गर्ने उत्सव हो । रहरले होइन ।’

शशी थरुरदेखि मनोज बाजपेईसम्म । शेहान करुणातिलाकादेखि रश्मि द्वाराइश्वामीसम्म । रिजुला दासदेखि आदिती महेश्वारीसम्मको सेसन चलिरहेकै थियो । तर, त्योभन्दा गजब ध्यान त हाम्रो मनोज शुक्लाको कार्यक्रमले तान्यो । बलिउडका मसहुर गीतकार शुक्लालाई ‘दैनिक भाष्कर’ को पक्षबाट एउटा सम्मान दिने कार्यक्रम रहेछ । उनको इन्ट्री नै यति भयानक थियो कि जोसुकैको ध्यान सहजै खिच्न सकिहाल्थ्यो ! मञ्चमा उक्लिनुअघि बडिगार्डले घेरिरहेका उनी एक कुनामा थिए । अघिल्तिर रहेको प्रोजेक्टरमा उनले लेखेको गीत बज्न थाल्यो, ‘मै फिर भी तुमको चाहुँगी... ।’

लगातार उनका सुपरहिट गीत देखाइयो । त्यसपछि उनले ‘बाहुबली’ मा लेखेको डाइलग सुनाइयो । अनि त बल्ल उनी मञ्च चढे । उनले मञ्च उक्लिनेबित्तिकै हल नै रंगीन बनिहाल्यो । पत्रिकाका सम्पादकले बहस सुरु गरे । तर, यति मीठो गीत लेख्ने गीतकारले बहसलाई हठात हिन्दु–मुस्लिमको मुद्दातिर तानेर लगे । नारा नै लगाउन सुरु गरे, ‘जय श्रीराम । हरहर महादेव ।’ अनि अकबर, बाबर गर्दै भ्याएजति जम्मैलाई गाली ठोक्न थाले । ‘म तपाईंको कुरासँग पूरा सहमत त छुइनँ’, मध्यस्थता गरिरहेका सम्पादकले यति बोल्ने आँट त गरेकै हुन् । तर, यतिन्जेलसम्ममा त हल राजनीतिक पार्टीको कार्यालयजस्तो बनिसकेको थियो । उनले अब अरू बोल्ने आँट गर्न सकेनन् । सम्पादकको अनुहारको पसिना हेरेपछि मलाई लाग्यो, ‘भारतीय मिडियाको हालत अब सोचेभन्दा धेरै दयनीय बनिसकेको छ ।’

मनोज शुक्लाको गीत कति प्रेमिल छ है ? तिनका गीत नगुनगुनाउने सायदै कोही छन् । उनको गीतले सीधा मनमा छुन्छ । तर, यस्तो प्रेमिल गीत लेख्ने गीतकारले यस्तो नफरत कसरी उकेल्न सकेको होला ? मैले अझै बुझ्न सकेको छैन । सायद सत्ताको रङ धेरै गाढा हुँदो हो । त्यसैले त अचेल हरेक भारतीय सिनेमा, संगीत हुँदै साहित्यतिर पनि यसको दाग देखिन थालेको छ ।

सर्जकको अनुहारमा लागेको सत्ताको रङको छिटा निकै कुरूप देखिन्छ । जसले इंगित गरेको भविष्य पक्कै सुन्दर हुनेछैन । मलाई अहिले लागेको चिन्ता यति मात्रै हो ।

हो । जयपुर जानुअघि मसँग अलिकति डर थियो । अलिकति उत्साह थियो । साथीहरू भन्थे, ‘त्यहाँ हावाई महल छ । अम्बर प्यालेस छ । मरूभूमि छ । सब घुमेर आउनू ।’ तर, पाँच दिन यसरी मिलिक्कै बिते । हामीले उत्सवबाहेक दुईवटा होटल मात्रै देख्न भ्यायौं । फर्किनेबेला बुद्धिसागरले ठट्टा गरे, ‘अब कसैले जयपुर कस्तो रहेछ ? सोधे भन्दिने, दुईवटा ठूलाठूला बिल्डिङ रहेछ ।’

तर, त्यही दुई बिल्डिङकै बीचमा त जयपुर साहित्यिक महोत्सव हुँदै थियो । जहाँ देश–विदेशका लेखकहरू आइपुग्छन्, नोबेल जित्ने लेखकहरू आइपुग्छन्, बुकर जित्ने लेखकहरू आइपुग्छन्, पुलित्जर जित्ने लेखकहरू आइपुग्छन् । र, हामीजस्तो कम से कम केही मान्छेको मन जित्ने कोसिसचैं गरौं न भनेर लेख्ने लेखकहरू पनि संयोगले पुग्छन् । होइन त ? तर, लेखक भेला हुने ठाउँ भनेको अक्षरहरू भेला हुने ठाउँ पनि त हो । किताबहरू भेला हुने ठाउँ पनि त हो । यो संसार कहीँ सहजै अटाएर बस्न सकेको छ भने त्यो किताबका पन्नाहरूमा नै अटेर बस्न सकेको छ ।

त्यसैले मलाई लागिरहेकै छ, ‘जयपुरबाट थोरै संसार त चियाएर नै फर्किएको छु ।’

प्रकाशित : चैत्र २६, २०७८ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?