भोगाइ

मैले किन सहें ती सब ?

तराईमा उत्पातै गर्मी हुन्थ्यो । जीउभरि घमौरा निस्कन्थ्यो । घरमा छँदा आधा जीउ नांगै हुन्थ्यो । कपडा लगाएर बस् भनेर दाइ धेरै पटक रिसाइसक्नुभएको थियो । तर, मेरै उमेरका टोलका केटीहरु कपडै नलगाई उफ्रिरहेका हुन्थे ।
मुना चौधरी

मलाई आकाशजस्तै छ्याङ्ङ खुल्न मन लागेको छ । धरतीजस्तो सहनशील होइन । समुद्रजस्तो गहिरो पनि होइन । मलाई खोलाजस्तो बग्न मन लागेको छ, ताकि म बाटो बनाउँदै सबै अप्ठ्यारा भत्काउँदै आफू बाँच्नुको अर्थ सार्थक बनाउन सकूँ । डराएर होइन, हवसका दृष्टिले हेर्ने आँखाहरूलाई थर्कमान बनाएर हिँड्न सकूँ । हिँड्न सकूँ त्यसरी, जसरी लालीमय बिहानीले कालो बादललाई सफा गरेर हिँड्छ ।

मैले किन सहें ती सब ?

...

वैशाख १ को फूलबारी मेला हेर्न दिदी र भाउजूहरूसँग गएकी थिएँ । १२ वर्षकी थिएँ । एक समय मिडी पहिरन धेरै चलनचल्तीमा थियो । रातो बुट्टेदार मिडी लगाएकी थिएँ । खेतका फाँटहरू उजाड–उजाड थिए । यात्रुहरू खेतैखेत हिँडिरहेका थिएँ । हामी फूलबारीको गहबर (मूर्ति) दर्शन गरेर ढुनमुनि गाउँतिरको गहबरतिर जाँदै थियौँ । त्यहाँ पुग्न आधा घण्टा समय लाग्थ्यो । धूलाम्मे आली र खेत हुँदै हिँडिरहेका थियौँ । यात्रु धेरै थिए, पाइला टेक्ने ठाउँसम्म थिएन ।

गहबर नजिकै अग्लो आली थियो । आली हुँदै तीन जना केटा आइरहेका थिए । हामीहरू लहरै खेतको बाटो हिँडिरहेका थियौँ । एक जना

केटो अचानक आलीबाट खेतमा हाम फाल्यो । र, उसले मेरो बायाँ स्तनमा औँलाले बेस्सरी घोच्यो ।

खेतमा ऊ अचानक उफ्रिँदा उसको जीउको सबै बल भर्खरै टुसाउँदै गरेको मेरो बायाँ स्तनमा पर्‍यो । मानौँ, कुनै दह्रो लठ्ठीले उसले निर्दयी तरिकाले घोच्यो । मलाई हड्डीमा घोचेजस्तै कष्ट भयो । मेरो सास अड्कियो । हलचल गर्न नसक्ने भएँ । जहाँको त्यहीँ ठिङ्ङ उभिएँ । दिदीहरूले के भयो भनेर सोध्नुभयो । केटोले मेरो छातीमा औँलाले आक्रमण गरेको दिदीहरूले देख्नुभएनछ ।

मेरो अनुहार रातो भएको थियो, कानबाट तातो निस्किरहेको थियो । केही भएको छैन भन्दै सकीनसकी हिँड्न थालेँ । केटोको अनुहारतिर पनि हेरिनँ । केटोले यति छिटो औंलाले घोचेको थियो कि कसैले केही देखेनन् । मैले मात्र पीडा अनुभव गरेँ । एक छिनपछि बल्ल होस आयो । तर, केही बोल्न सकिनँ । एक प्रकारको अप्ठ्यारो लाग्यो । सम्झन्छु, त्यो रगत झर्लाझैं रातो भएको कलिलो अनुहार मेरै थियो ।

अहिले सोच्छु, उतिबेला दिदीहरूलाई भन्न सकेको भए केही सहयोग पाउँथेँ कि ! दिदीहरूले त्यस केटोलाई रन्किने गरी थप्पड हान्नुहुन्थ्यो होला । र, म पनि आगामी दिनमा साहसी केटी बन्थेँ होला । अनि पटक–पटक मैले त्यस्ता समस्या सामना गर्नुपर्दैनथ्यो होला ।

...

तराईमा उत्पात गर्मी हुन्थ्यो । जीउभरि घमौरा निस्कन्थ्यो । लुगा लगाउँदा घमौरा बिझ्थ्यो । घरमा हुँदा माथिल्लो जीउ नांगै बस्थेँ । कम्मरमुनि स्कर्ट मात्रै लगाएकी हुन्थेँ । लुगा लगाएर बस् भनेर दाइ धेरै पटक रिसाइसक्नुभएको थियो । तर, मेरै उमेरका टोलका केटीहरू कपडै नलगाई उफ्रिरहेका हुन्थे । त्यतिबेला मेरो मस्तिष्कमा सोच आउँथ्यो, साथीहरू छाती ढाक्ने गरी समिज वा सर्ट लगाउँदैनन् भने मचाहिँ किन लगाउने ?

मेरो शरीरमा आइरहेको तीब्र परिवर्तन मलाई स्वीकार्य थिएन । म चाहन्नथेँ, मेरा स्तन पलाऊन् । म बस्न चाहन्नथेँ लुगाभित्रको ओढारमा । म पहिलेझैं नांगै जीउ फुक्काफाल भएर साथी समूहमा खेल्न चाहन्थेँ । म चाहन्थेँ, मेरो बाल्यकाल कहिल्यै मभन्दा टाढा नजाओस् । म किशोरावस्थाका परिवर्तन स्विकार्न कदापि तयार थिइनँ ।

तर, मेरो बाल्यकाल सधैँ मसँग रहेन । जति ठूली हुँदै थिएँ, उति नै आमा र दाइहरू यो नगर्, त्यो नगर्, यसरी नहिँड्, त्यसरी नबस् भनिरहनुहुन्थ्यो । समाजले खडा गरेका कुनै पनि नियम मान्न म तयार थिइनँ । खेतका फाँटहरूमा खुलेआम धानका बाला हावासित बयली खेलेसरि प्रकृतिको काखमा र आँपको रूखमा चढेर पुली डन्डा खेल्ने बानी परेको थियो । धूलाम्मे डगहरमा जीउभरि बालुवा घसेर चुंगी, गुच्चा, भाँडाकुटी खेल्दै हुर्केकी थिएँ । त्यसैले म कुनै नियममा बस्न चाहन्नथेँ । खुलेआम त्यसरी बस्न चाहन्थेँ, जसरी सानैदेखि निस्फिक्री बसेकी थिएँ । तर, शारीरिक परिवर्तनहरूले मेरो सीमारेखा तोकिरहेका थिए ।

अहिले सोच्छु, मेरो स्तनमा कुनै परचक्रीले औँलाले घोच्दा किन मौन बसेँ ? किन विरोध गर्न सकिनँ ? तत्कालै त्यो केटोको गाला रन्किने गरी किन थप्पड हान्न सकिनँ ? हामीलाई सधैं सिकाइयो, छोरी मान्छेले लाजलाई छोप्नुपर्छ । तर, हाम्रा संवेदनशील अंगमा कसैले नराम्रो नियतले हेर्‍यो वा स्पर्श गर्‍यो भने जहाँको त्यहीँ उसलाई लात हान्नुपर्छ भनेर किन सिकाइएन ? सहेर बस्नुहुँदैन, यस्तो कुरा अरूलाई सुनाउनुपर्छ र पिडकलाई सबक सिकाउनुपर्छ भन्ने किन सिकाइएन ?

१२ कक्षा पढ्दै थिएँ । लहान बजारको एक पसलमा जिन्स पाइन्ट किनेकी थिएँ । पाइन्ट धेरै फिटिङ थियो । हाम्रो घरमा छोरी, बुहारीलाई फिटिङ कपडा लगाउने अनुमति थिएन । बा र दाइहरू जहिल्यै खुकुलो कुर्ता–सुरुवाल सिलाइदिनुहुन्थ्यो । यति खुकुलो कि कुर्ताभित्र दुई जना अटे पनि अझै खुकुलै देखिन्थ्यो । टोलका केटी साथीहरू पनि खुकुलै लुगा लगाउँथे ।

म बिहान क्याम्पस पढ्न र दिउँसो कम्प्युटर सिक्न जान्थेँ । एक दिन त्यही जिन्स पाइन्ट लगाएर कम्प्युटर सिक्न निस्किएँ । निस्किने बेला कुन्नि, बा कहाँ हुनुहुन्थ्यो देख्नुभएनछ । तर, उताबाट फर्केर आउँदा मैले लगाएको जिन्स बाले देख्नुभयो । रिसाउँदै भन्नुभयो, ‘यस्तो लुगा कसले लगाउन भन्यो हँ ? जीउमा टाँस्सिएको लुगा लगाउने अनुमति कसले दियो ? तेरो कर्तुत देखेर छिमेकीहरूले के सोचे होलान् ? किन किनिस् यस्तो लुगा ? कहाँ किनिस् ? कसले भन्यो किन्न ? लाज नामको चीज छ कि छैन तँसँग ?’

बाको गाली खाएर मैले शिर निहुराएँ । मानौं, नचाहिने काम गरेछु, ठूलै अपराध गरेछु ।

म एकान्तमा एक छिन रोइरहेँ । जतनसाथ जिन्स अलमारीमा राखेँ । त्यो जिन्स अब म कुनै अवस्थामा पनि लगाउन सक्दिनथेँ । लगाएँ भने बाको टोकसो सुन्नुपर्थ्यो । जिन्स पाइन्ट लगाउने रहर निकै थियो । तर, बाको अनुमतिबिना त्यो लगाउने फेरि साहस भएन । मैले आफ्ना सबै रहर मनभित्रै मारेँ ।

भोलिपल्ट क्याम्पस सकेर जिन्स पसलमा पाइन्ट फिर्ता गर्न गएँ । फिर्ता गरेर खुकुलो कपडाको पाइन्ट लिएँ । पसलमा चेन्जिङ रुम थिएन । मैले चुनीदार सुरुवाल र कुर्ता लगाएकी थिएँ । पसलेलाई सोधेर स्टोर रुम गएँ । सुरुवालको माथिबाटै मैले पाइन्ट लगाएर ठीक भयो कि भएन भनेर जाँचेँ । पाइन्ट लगाउँदै गर्दा पसले स्टोर रुममा आयो । मलाई लाग्यो, सायद कुनै कपडा लिन आएको होला ।

मनजिक आउँदै उसले सोध्यो, ‘पाइन्ट ठीक भयो ?’ मैले उतिर हेर्दै नहेरी टाउको हल्लाउँदै जवाफ फर्काएँ, ‘एकदम ठीक भयो ।’ मेरा कुरा सुनेर ऊ मनजिक आयो । र, उसले मेरो पाइन्टको टाँक छाम्यो । कम्मरको टाँक छाम्दै अचानक एक सेकेन्डमै मेरो तल्लो पेटामा हात छिराउँदै बेस्सरी चिमोट्यो । चिमोटेर तुरुन्तै हात निकाल्यो र पिठ्युँमा धाप मार्दै भन्यो, ‘यो पाइन्ट ठीक छ नि है ?’

उसलाई कसेर गालामा थप्पड हान्नुपर्ने ठाउँमा मैले उल्टै लाजले टाउको निहुराएँ । चिमोटेर हात निकाल्दै ऊ फेरि काउन्टरमा गएर बस्यो ।

डरले म रातीनीली भइसकेकी थिएँ । पूरै जीउ काँपिरहेको थियो । निधारभरि पसिना थियो । त्यो पाइन्ट हतपत फुकालेर, बटारेर म झोलामा हाल्दै कतै नहेरी डराउँदै पसलबाट निस्केँ । छेउछाउका मान्छेलाई पनि त्यो पसलेको कर्तुतबारे बताउन सकिनँ । हल्ला पनि गर्न सकिनँ । विरोध गर्नु त झन् परको कुरा थियो । हुँदाहुँदा क्याम्पस पढ्न जाँदा मैले त्यो बाटै हिँड्न छोडिदिएँ ।

त्यति नै बेला मैले त्यो पसलसँग किन प्रतिवाद गर्न सकिनँ ? म किन डराएँ ? त्यो कुरा बा–आमालाई किन भन्न सकिनँ ? त्यसपछि मलाई लाग्यो— बाले भनेको कुरा सही रहेछ । केटी मान्छेले खुकुलै कपडा लगाउनुपर्छ । यस्तै यस्तै अपराधी आँखाबाट मलाई जोगाउन बा र दाइले यसो भन्नुभएको हो । मैले त्यस दिनदेखि जिन्स लगाउन छाडेँ । लुकेर पनि कहिल्यै जिन्स लगाइनँ ।

अहिले सोच्छु— केटी मान्छेले फिटिङ लुगा लगाउनु हुँदैन भनेर सिकाउनु कहाँको न्याय थियो ? मन लागेका लुगा लगाउनुपर्छ । तर, लुगालाई लाञ्छना लगाउने र हवसका दृष्टिले हेर्ने घटिया आँखाहरूमा सकारात्मक सोचको पट्टी भिराउनुपर्छ भन्ने किन सिकाइएन ? संवेदनशील अंग छाम्ने हातहरूलाई प्रतिवाद गरि रोक्न सक्नुपर्छ भन्ने किन सिकाइएन ?

केटी मान्छेले खुकुला लुगा लगाउनुपर्छ र पुरुषअघि टाँस्सिएका लुगा लगाएर प्रस्तुत हुनु हुँदैन भन्ने कुरा केटीको हकमा मात्रै किन ? केटीहरूलाई अपराध र हवसका दृष्टिले हेर्नेहरूले नै सोच परिवर्तन गर्नुपर्छ भन्ने किन सिकाइएन ? स्वेच्छाचारी यौनिकता प्रकट गर्नेहरूमाथि तत्कालै दह्रोसँग जाइलाग्नुपर्छ भन्ने किन सिकाइएन ?

किन मैले ती सबै झेलेँ ? किन मौन बसिरहेँ ? किन सहें ती सब ?

...

पछि एमएड गर्न काठमाडौँ आएँ । पहिलो वर्षमा राम्रो अंक ल्याएर प्रथम श्रेणीमा उत्तीर्ण भएँ । दोस्रो वर्ष चल्दै थियो । दोस्रो वर्ष उत्तीर्ण भएपछि गाउँकै क्याम्पसले मलाई पढाउन बोलाएको थियो । धेरै खुसी थिएँ । पहिलो वर्षमा प्रथम श्रेणीमा उत्तीर्ण भएकीले दोस्रो वर्षमा पनि राम्रै अंक ल्याउँछु भन्ने आशा थियो । तर, दुःखको कुरा दोस्रो वर्ष ५० पूर्णांकको एउटा विषयमा म अनुत्तीर्ण भएँ । गाउँको क्याम्पसमा पढाउने मेरो इच्छा त्यत्तिकै रह्यो ।

क्याम्पसमा सँगै पढ्ने ६० वर्ष कटेको एक जना साथी थियो । उसले भन्यो, ‘रि–टोटलिङका लागि बल्खुमा निवेदन हाल, मेरो एक जना साथी छ । उसले क्याम्पस पढाउँछ । उसले तिमीलाई सहयोग गर्छ ।’ र, साथीको फोन नम्बर दियो । उसको साथीले मलाई कपनमा भेट्न बोलायो ।

भोलिपल्ट उसलाई भेट्न कपन गएँ । कपन चोकको सानो चियापसलमा हामी भेट्यौँ । मैले आफ्ना लागि कालो चिया मगाएँ । उसले आफ्ना लागि बियर मगायो । म चिया र ऊ बियर खाइरहेका थियौँ । बियर खाइसकेर उसले भन्यो, ‘हेर्नुस् म तपाईंलाई रि–टोटलिङ गराउने बेलामा अंक थपेर उत्तीर्ण गराइदिन्छु । तर, त्यसको बदलामा तपाईं मलाई के दिनुहुन्छ ?’

म उसको माग सुनेर ट्वाल्ल परेँ । म विद्यार्थी मान्छे, उसलाई के पो दिन सक्थेँ र ? न मसँग पैसा थियो, न सम्पत्ति । मैले सोचेँ, उसले पैसा माग्नेछ । त्यसो भए म रि–टोटलिङ गराउँदिनँ । पैसाले शैक्षिक योग्यता किन्दिनँ ।

मैले केही नबोल्दै उसले थप्यो, ‘भोलि १० बजेपछि मेरो घर आउनुस् । मेरा छोराछोरी स्कुल र श्रीमती अफिस गइहाल्छन् । एक छिनको त काम हो नि । त्यसपछि म तपाईंलाई नम्बर थपेर उत्तीर्ण गराइदिन्छु ।’

उसको कुरा सुनेर डरले र रिसले मेरो जीउ काँप्न थाल्यो । केही भनौं, बियर खाएको छ, यस्तो बेला के भन्नु ? ऊ होसमै छैन । त्यहाँ भएका मान्छेहरूलाई भनौं, उनीहरूले मेरो विश्वास गर्दैनन् सायद । किनकि त्यहाँका मान्छेहरूले उसले मसँग बोलेका संवाद सुनेका थिएनन् । म चुप लागेर टेबलबाट उठेँ । काउन्टरमा पैसा तिरेँ ।

चियापसलबाट निस्किँदै गर्दा त्यो मान्छेले सोध्यो, ‘के भयो ? किन केही नबोली हिँड्नुभो ?’

म केही नबोली सरासर कपन चोकमा यात्रु कुरिरहेको कपन–बंगलामुखी यातायात चढेर डेरा फर्किएँ ।

पहिले नै स्तन र तल्लो पेटमा अत्याचारीेका आक्रमण भोगेकी थिएँ । अब त सीधै शारीरिक सम्पर्कको प्रस्ताव आएको थियो । नचिनेको, कहिल्यै नदेखेको मान्छेले अनायास बिस्तारामा सुत्ने प्रस्ताव गरेको थियो । डेरा पुगेर धेरैबेर रोएँ । कसैलाई केही भन्न सकिनँ ।

रि–टोटलिङका लागि निवेदन हालेँ । तर, त्यो मान्छेसँग सहयोग मागिनँ । रि–टोटलिङको परिणाम जस्ताको त्यस्तै आयो । म अनुत्तीर्ण भएँ ।

...

मैले बोर्डिङ स्कुल पढाउन थालेँ । स्कुल पढाउँदै अनुत्तीर्ण भएको विषय दैनिक एक घण्टा बेलुकी पढ्न थालें । जति जति बेला पढ्न बस्थेँ, त्यो मान्छेको अनुहार आँखाभरि नाच्थ्यो । क्रोधित हुन्थेँ । क्रोधले झन् बेस्सरी पढ्ने जाँगर चल्थ्यो ।

म आफ्नो इज्जत बेचेर होइन, मिहिनेत गरेर उत्तीर्ण हुन चाहन्थेँ ।

वर्षैभरि त्यो विषय पढ्दा–पढ्दा कुन पेजमा कुन पाठ छ, सबै कण्ठस्थ भइसकेको थियो । अर्को वर्ष जाँच दिएँ । राम्रो अङ्क ल्याएर उत्तीर्ण भएँ ।

म सोच्छु, अहिले भए बिस्तारा बनाउन खोज्ने त्यस्ता मान्छेलाई पिउँदै गरेको तात्तातो चिया उनीहरूका अनुहारमा छ्यापिदिन्थेँ । हिंस्रकहरूको भयंकर प्रतिवाद गर्ने थिएँ ।

त्यति बेलै छ्यापेकी भए म दरिली हुने रहिछु । तर, त्यति बेला म के भएँ हँ ?

आज मेरो मन आकाशजस्तै छयाङ्ङ भएको छ । आफूलाई स्फूर्त अनुभव गरिरहेकी छु । मेरो गह्रौं मन हलुका भएको छ ।

मनको भारी बिसाउन पाएकोमा आफूलाई हिंसाका दृष्टिले हेर्ने मान्छेहरूलाई सजाय दिएझैँ भएको छ ।

प्रकाशित : चैत्र १२, २०७८ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?