जिन्दगी : एक चाइनिज चेकरको गेम- कोसेली - कान्तिपुर समाचार
कोसेली

जिन्दगी : एक चाइनिज चेकरको गेम

पात्रहरुको मनको अन्तरकुन्तर चहारेर तिनका सूक्ष्म मनोभावलाई तीक्ष्णतासाथ प्रस्तुत गर्न सक्ने तोल्सतोयको जस्तो विलक्षणता अरुमा सायदै होला । त्यसैले नै तोल्सतोय संसारकै महानतम ‘अफसानानिगार’ मानिन्छन् । यस्तो तथ्य बुझिसकेपछि कसैले पनि अफसानानिगार बन्नेतर्फको आफ्नो पाइलालाई कमिलाको पाइला नठानिरहन सक्तैन । त्यसमा यो पंक्तिकार कसरी अपवाद हुन सक्छ ?
लेखक त्यो हो, जसले गल्प साहित्यको रचना गर्छ या आख्यानको पूर्णांग पुस्तक लेख्छ । उपन्यास लेखनलाई म शीर्ष स्थानमा राख्छु, जसको रचना गर्न ठूलो परिश्रम, एकाग्रता र लगनशीलताको खाँचो पर्छ ।
वसन्त थापा

लेखक भनेर चिनाउँछन् मलाई अचेल मानिसहरू । सानै वृत्तमा सही, चिनारी बनेको छ यो मेरो ।

हाम्रो सामाजिक संस्कार नै यस्तो छ, हरेकलाई एक–एकओटा फ्रेममा राख्नैपर्छ । त्यो भूतपूर्व पुलिस, त्यो सरकारी कर्मचारी, त्यो प्रोफेसर, त्यो वकिल, डाक्टर, पत्रकार, इन्जिनियर, ठेकेदार, व्यापारी, नेता, लोकल दादा आदि आदि । फोटो स्टुडियोमा फोटो खिचाउँदा कुन साइजको फोटो बनाउने भनेर सोध्थे पहिले पहिले । अटो साइज, पासपोर्ट साइज, बी टु साइज, क्याबिनेट साइज आदि हुने गर्थे । त्यसरी नै व्यक्तिलाई समाजले एउटा फ्रेम या एउटा साइजमा जड्न रुचाउँछ, उसको पेसा व्यवसायका आधारमा । त्यही उसको निजी चिनारी बन्छ । तर, मेरो हकमा भने एकनासको चिनारी कहिल्यै रहेन । यो सदैव चलायमान रह्यो, सधैं बदलिरहने । जीवनको यात्रा नै मेरो त्यस्तो रह्यो, सीधा सरल रेखामा चल्न सकेन– सधैं बांगोटिंगो, टेडोमेढो, चाइनिज चेकरको गेमजस्तो । मानिसहरू साहु, व्यापारी, पुलिस, सेना, वकिल, न्यायाधीश, शिक्षक, डाक्टर, नेता, पाइलट, मिस्त्री हुन्छन् र जीवनभर उनीहरू त्यही भनेर चिनिन्छन्, त्यसैको फ्रेममा जकडिन्छन् । म भने अनेक साइजको फ्रेममा पस्दै निस्कँदै गरें । म पुस्तक प्रकाशकको फ्रेममा थिएँ र एक अर्थमा अझै छु पनि । त्यसअघि म पत्रकारको फ्रेममा थिएँ । त्यसभन्दा अगाडिको कुरा नगरौं केके थिएँ के–के !

भूपी शेरचनको यस ‘चिसो एस्ट्रे’ मा खरानी बनेर टाँसिइरहनलाई अनेक वृत्ति र उद्यम गरें । कम्तीमा पनि दस अवतार त लिएँ मैले यसै जुनीमा । त्यसैअनुसारको हुलिया बनाएँ र त्यसैअनुसार चिनिएँ । त्यस्ता धेरै फ्रेमहरूमा पस्दै तिनलाई भत्काउँदै हिँड्ने मलाई समयचक्रले घुमाउँदै अहिले लेखकको फ्रेमभित्र पसालेको छ । यसमा मलाई बिलकुल कुनै सिकायत छैन । अपितु मलाई अत्यन्त खुसी लाग्छ, लेखकको चिनारी पाएकामा । म भित्रभित्रै दंग पर्छु कसैले मलाई लेखक भनेर चिनाउँदा । म यसलाई आफूले प्राप्त गरेको इज्जतिलो उपाधि ठान्छु । मेरो नामअगाडि भूतपूर्व मन्त्री, सचिव, जर्नेल, राजदूत, न्यायाधीशको फुँदा नजोडिएर के भो लेखकको खिताब पाएको छु, जुन खिताब चाहँदैमा कसैले पाउन सक्दैन भन्ने लाग्छ । यसै पनि असली लेखक र असली संगीत श्रष्टाप्रति मेरो श्रद्धा असीम छ र तिनलाई म उच्चतम कोटिको सर्जक मान्छु । तसर्थ आफैं लेखकका रूपमा दरिन पाउँदा गौरवको अनुभूति हुनु नितान्त स्वाभाविक हो ।

तर, म आफैंले खडा गरेको मापदण्ड र मैले आफूखुसी तयार पारेको परिभाषाबमोजिम भने म लेखक किमार्थ होइन । लेखकको त्यस उच्च आसनमा बस्ने अधिकार राख्दिनँ । यसो त मैले धेरै लेखेको छु सानैदेखि नै । अनेक थोक लेकेको छु– स्कुल पढ्दा हस्तलिखित पत्रिकादेखि पर्चा, पम्पलेट, वक्तव्य, कविता, गीत, निवेदन, तमसुक, अर्काको प्रेमपत्र, लेख–निबन्ध, समाचार, सम्पादकीय, पुस्तक समीक्षा, मृत्यलेख, संस्मरण, स्तम्भ, रिपोर्ताज । कथा पनि तीनवटा लेखेको छु, उहिल्यै । दुईवटा त सामयिक साहित्यिक पत्रिकामा उसैबेला छापिए पनि । लेखक श्यामप्रसादले ‘लेखक कसरी बन्ने’ भन्ने किताबमा आजभन्दा सत्तरी वर्षअगाडि नै दिएको परिभाषा अनुसार लेखकको दायरामा पत्रपत्रिकामा लेख छपाउनेहरू पनि पर्छन् । त्यस अर्थमा अरू धेरैले झैं म पनि लेखक भएको दाबी गर्न सक्छु र गमक्क फुल्न सक्छु लेखकको पगरी गुँथेर । हुन पनि लेखक भनेको कुनै चीज लेख्ने व्यक्ति हो सामान्य अर्थमा । उहिल्यै राणाको पालामा ‘राइटर’ भन्ने दरबन्दी नै हुने गर्थ्यो अड्डामा । अर्थात् ती लेखन्दास हुन्थे । त्यसैले गाउँघरमा ‘राइटर बाजे’ भन्ने सम्बोधन पाउने व्यक्तिहरू पनि हुने गर्थे पहिले पहिले । राइटर बाजेहरूलाई त लेखक भन्न भएन । जसरी त्यस्ता लेखन्दास वा ‘राइटर’ लाई वास्तविक लेखक मान्न सकिन्न, त्यसरी नै म आफूलाई पनि लेखक ठान्दिनँ मैले जतिसुकै विषयमा जतिसुकै लेखेको भए पनि ।

म आफैंले बनाएको निजी मान्यताबमोजिम लेखक त्यो हो, जसले गल्प साहित्यको रचना गर्छ या आख्यानको पूर्णांक पुस्तक लेख्छ । गल्प वा आख्यानको बृहत्तर परिभाषाअन्तर्गत धेरै थोक पर्न सक्छन्– आत्मकथा, यात्रा विवरण, निजात्मक निबन्ध, संस्मरण, कथा–कहानी, उपन्यास आदि । तिनमा पनि उपन्यास लेखनलाई म शीर्ष स्थानमा राख्छु, जसको रचना गर्न ठूलो परिश्रम, एकाग्रता र लगनशीलताको खाँचो पर्छ । उर्वर कल्पनाशीलता र सृजनशीलता, भाषाको लालित्य अनि अभिव्यञ्जनाको शिल्प, सौन्दर्य र लावन्य उपन्यास लेख्न चाहिने अनिवार्य गुणहरू हुन् । उपन्यासका कथानकको बुनोट, पात्रहरूको चरित्र चित्रण, परिवेश तथा परिस्थितिको वर्णन, कथोपकथनलाई यथार्थ एवं प्रभावोत्पादक ढंगले शब्दहरूमा व्यक्त गर्नका लागि लेखन प्रतिभा त चाहिन्छ नै त्यसले सतत अभ्यासको पनि माग गर्छ ।

त्यसबाहेक लेखक त्यो हो, जो आफूलाई लेखक मान्छ, जसले लेखकको उपर्ना लगाएको हुन्छ, जो लेखन कर्मप्रति समर्पित छ, जो नलेखी बस्नै सक्दैन र जो कथाकहानी, उपन्यास अर्थात् समग्रमा गल्प साहित्यको सृजनामा लीन रहन्छ । लेखन त्यस्तो व्यक्तिका लागि व्यवसाय र व्यसन दुवै हुन्छ । लेखन कर्म ‘पार्टटाइम लभर’ भनेजस्तो हुँदैन । यो फुल टाइम कार्य हो । हरिवंश राय बच्चनको मान्यतामा अर्थोकै पेसा र व्यवसाय अपनाएर पनि कवि बन्न सकिन्छ र कविता लेख्न सकिन्छ, तर लेखक बन्नलाई पूर्णकालिक हुनैपर्छ । असली लेखकलाई पैसा कमाउन जग्गा दलाली गर्ने≤ सम्मानका लागि आत्मप्रचार गरिहिँड्ने≤ पद, प्रतिष्ठा र पुरस्कार पाउन कुनै धनपति वा राजनीतिक गणपतिको स्तुति गाउने वा चाकरी गरिहिँड्ने फुर्सद हुँदैन ।

थप कुरा, आफूलाई लेखक भन्नु एउटा गहन दायित्व वहन गर्नु पनि हो । त्यो दायित्व पाठकप्रतिको हो, समाजप्रतिको हो र मूलतः जानीजानी लेखक हुनुको अभिभारा बोक्ने आफैंप्रतिको हो । लेखक भन्ने अनि केही नलेखी बस्ने ? त्यस्तो हुन सक्दैन । यो त विद्यावारिधि गरेर केवल जागिर खानलाई डाक्टरको उपाधि झुन्ड्याउनुजस्तो हुन्छ । विद्यावारिधि गर्नु भनेको तत्सम्बन्धी विधामा अन्तिम छोर पुग्ने गरी अनवरत अध्ययन, अनुशीलन, अन्वेषण गर्ने प्रतिबद्धता हो । त्यसो नगर्ने हो भने त्यो डाक्टर भन्ने उपाधि नामअगाडिको फुँदामा सीमित रहन्छ ।

यसप्रकार आफैंले कोरेको लेखकीय लक्ष्मणरेखाको परिधिबाट म आफूलाई पूरै बाहिर रहेको पाउँछु । आफैंले बनाएको मान्यताको कुनै पनि सर्त पूरा गर्न सक्ने सामर्थ्य आफूमा पाउँदिनँ । सबभन्दा पहिलो कुरा त लेख्ने काम मलाई असाध्य दुस्तर र दुष्कर लाग्छ । पर्वतारोहण सम्बन्धमा आफूले आर्जन गरेको अनुभव र विचारबारे थुप्रै पुस्तक लेखिसकेका विश्वविख्यात आरोही सर क्रिस बोनिङ्टनले एउटा भेलामा भनेका थिए, ‘पर्वत चढ्नु त मज्जा लाग्ने काम हो, तर लेख्नु भनेको साह्रै नै गाह्रो काम हो ।’ सर क्रिसको यस भनाइप्रति मेरो पूर्ण सहमति छ । जुनसुकै काम गर्न मलाई गाह्रो लाग्दैन । बन्चरो चलाउन, कोदालो खन्न, बिरुवा गोडमेल गर्नेदेखि लिएर घरधन्दा र बुहार्तनको कामसमेत हरेक प्रकारका हातेकाम गर्न म तयार रहन्छु । ती काम गर्न किञ्चित् गाह्रो लाग्दैन मलाई । तर, लेख्न भनेपछि मेरो पाइला भारी हुन्छ, अगाडि बढ्दैन । जसरी हुन्छ लेख्ने कामलाई म सकेसम्म पन्छाइरहन्छु र कुनै बहाना खोजिरहन्छु नलेख्नलाई । अरू महत्त्वका काम भ्याउनुपर्ने भएकाले लेख्ने समय नै निकाल्न सकिनँ भनेर आफैंलाई ढाँटिरहन्छु । खाने मुखलाई जुँघाले छेक्दैन, तर म जुँघालाई दोस्याइरहन्छु आफ्नो कमजोरीलाई छोप्न । मलाई स्कुलको वार्षिक परीक्षामा बसेजस्तो हुन्छ केही लेख्न बस्दा । ‘केही लेख्छन्, चित्त बुझ्दैन, अनि केर्छन्, पुनः लेख्छन्, पुनः हेर्छन्’ भनेर लेखेका थिए कवि भूपी शेरचनले । लेख्न बस्दा म आफूलाई ठीक त्यही मनोदशामा पाउँछु । विचार काँचो होला, अभिव्यक्ति सपाट होला, सही शब्द नपर्ला, वाक्य गठन अमिल्दो होला भन्ने डरले एउटा अनुच्छेद लेखिसक्दानसक्दै कवि भूपीले लेखेझैं त्यसलाई सच्याउने, मिलाउने वा केरमेट गर्नेतिर लाग्छु ।

अरूले उम्दा कुरा उम्दा तरिकाले उम्दा भाषामा लेखेको पढ्दा जहिले पनि सोच्छु, उनीहरूलाई त्यस्तो शब्दब्रह्म कहाँबाट आउँछ भनेर । चार खण्डमा प्रकाशित हरिवंश राय बच्चनको आत्मकथामा विशेषगरी पहिलो खण्ड ‘क्या भुलुँ क्या याद करूँ’ पढ्दा उनको भाषा शिल्प र सौन्दर्यबाट बाँधिएर म त्यो पुस्तक पढिसिध्याउनको सट्टा त्यसका पृष्ठहरूलाई जोगाई जोगाई पढ्थें कुनै कृपणले एक–एक पैसा हिसाब गरी गरी खर्च गरे जसरी । हिन्दीमा मोहन राकेस, निर्मल वर्मा, राजेन्द्र यादव वा कमलेश्वर र ‘नई कहानी’ को अभियानसित जोडिएका लेखकहरूले लेखेका आख्यान पढ्दा त्यसरी नै अभिभूत हुन्थें युवा वयमा । मेरो निजी अध्ययनको माध्यमका रूपमा अंग्रेजी भाषाले हिन्दीलाई प्रतिस्थापित गरेको एक जुगै भइसक्यो । तैपनि तिनको आश्वाद अझै बिर्सेको छैन, शायद बिर्सन सकिन्न पनि । अहिले पनि आफूसँग भएका तिनका किताब पल्टाउने गर्छु यदाकदा । अंग्रेजी भाषाका मन पर्ने लेखक निकै छन्, तर भीएस नयपल र ग्राहम ग्रिनको गद्यशिल्पबाट चमत्कृत हुन्छु । नेपाली भाषाका केही लेखकको रचनाशक्तिबाट पनि म प्रभावित छु र भित्रभित्रै तिनको प्रशंसक रहँदै आएको छु । प्रभावकारी तथा मर्मस्पर्शी रचनाहरू पढेपछि अभिप्रेरित भएर लेख्नलाई जुर्मुराउनुको सट्टा त्यसको उल्टो म झनै पो दबिन पुग्छु एक प्रकारको हीनताबोधबाट । उनीहरूको सामु आफू के लेखिरहनु भन्ने लाग्छ । यस्तो भावना बोक्ने मानिस लेखक कसरी बन्न सक्छ ?

मौलिक लेखनको तुलनामा बरु मलाई कसैले लेखेको कुरा सम्पादन गर्न र अंग्रेजी भाषामा लेखिएको कुरालाई नेपालीमा अनुवाद गर्न मन पर्छ । अनुवाद कर्म त यसै पनि मेरो आय आर्जनको एउटा स्रोत नै रहँदै आएको छ लामो समयदेखि । यद्यपि यी दुवै कामलाई सजिलो भने म अवश्य मान्दिनँ । तैपनि खासगरी अनुवाद गर्नु मलाई मामाको घोडी चढ्नुजस्तो लाग्छ । घोडा अरूको, सवारी आफ्नो । दुल्की चाल चल्ने कि सरपट दौडाउने, खुसी आफ्नो । सम्पादनको काम मलाई नाउले कपाल काटेझैं लाग्छ । कपाल अरूको, कैंची र छुरा आफ्नो । स्वतन्त्र र मौलिक लेखनको काम मेरो हिसाबमा बाटो नभएको ठाउँमा आफैंले बाटो खन्दै अघि बढ्नुजस्तो हो । त्यसैले यसलाई अति दुसाध्य नभए पनि दुष्कर कार्य मान्छु म ।

यति हुँदाहुँदै पनि केही तारतम्यका कारण मैले नचाहँदा नचाहँदै पनि लेखकको चिनारी प्राप्त गरेको हुँ । यस तारतम्यको सुरुवात भएको थियो मित्र राजेन्द्र दाहालको अनुरोधबाट । उनी पाक्षिक ‘हिमाल खबरपत्रिका’ को सम्पादक हुँदा निकाल्न लागेको दसैं विशेषांकका लागि एउटा संस्मरण लेखिदिन मलाई अनुरोध गरे उनले । आठ सय चानचुन शब्दको आफ्नो स्तम्भ ‘ऋतुविचार’ लेख्न त धौ–धौ हुन्थ्यो मलाई, कताको लामो लेख लेख्ने ? तथापि उनको आग्रहलाई टार्न नसकेर केटाकेटीमा हामी दसैं कसरी मनाउँथ्यौं र आज कसरी मनाउँछौं भन्ने विषयमा जेनतेन एउटा संस्मरणात्मक लेख लेखें मैले । त्यसभन्दा अगाडि त्यस्तै संस्मरणात्मक लामो लेख मैले लेखेको भनेको मार्टिन चौतारीले छापेको ‘रेडियोसँग हुर्कंदा’ भन्ने पुस्तकका लागि थियो । दसैंका लागि लेखेको लेखमा साहित्यको कुनै अवयव मौजुद थियो थिएन त्यो त थाहा भएन, तर त्यो संस्मरण छापियो र त्यसप्रति पाठकहरूबाट राम्रै प्रतिक्रिया आएको हुनुपर्छ ।

हुनुपर्छ भन्छु किनभने अर्को दसैं आयो, फेरि आग्रह आयो, फेरि लेखें । त्यसपछिको दसैंमा फेरि लेखें । यसप्रकार धेरै दसैं आए र लेख्ने आग्रह पनि आइरहे । अलि पछि भने दसैंछेक अरू पत्रिकाबाट पनि लेखिदिन अनुरोध आउन थाल्यो । एउटा लेख लेख्न नै हम्मे पर्ने मलाई त्यो अनुरोध थामिनसक्नु हुन्थ्यो । त्यसैले दसैं आउँदै गर्दा मनमा अत्यास बढ्दै जान्थ्यो, जसरी परीक्षाको दिन नजिकिँदै गर्दा विद्यार्थीको मनमा डर बढ्छ । दसैं अंकका लागि मैले लेखेका सबैजसो लेखहरू संस्मरणात्मक प्रकृतिका रहँदै आएका छन् । मेरो खेलो भन्नु नै आफ्नै बाल्यावस्था, किशोरकाल र युवा वयका सम्झना हुन् । तिनैलाई ओल्टाईपल्टाई लेखिरहें र लेख्दै छु । जान्नेले र सक्नेले आफ्नो अतीतको आलम्बमा उपन्यास नै तयार पार्छन् । यस अकिञ्चनले त्यसो गर्न कहाँ सक्नु ?

मैले द्वैमासिक ‘हिमाल’ को सम्पादन गरुन्जेल कसैले लेखक भनेनन् मलाई । बरु पत्रकार भन्थे । तर, दसैंको अवसरमा निस्केका लेखहरूले गर्दा भने म कतिपयको दृष्टिमा लेखक हुन पुगें, त्यसमाथि पनि संस्मरण लेखक । अझ थप, दसैंका बेलामा मात्र लेख्ने हुनाले म ‘दसैं लेखक’ भनेर समेत दरिएँ । यद्यपि म अरू समय पनि लेखन कर्ममै व्यस्त रहन्छु, तर अनुवाद र सम्पादनको फाँटमा । यतातिर आएर दसैंको लिक छाडेर पनि मैले केही लेख्ने जमर्को गरेको छु, त्यो छुट्टै कुरा हो ।

‘एनिमल फार्म’ का प्रसिद्ध ब्रिटिस लेखक जर्ज अरवेलले कसैले लेख्नुका पछाडि चारवटा मकसद रहने गर्छन् भनेका छन्– व्यक्तिगत अहम् तुष्टि गर्नेदेखि राजनीतिक अभीष्ट पूरा गर्नेसम्म । दुर्बलतायुक्त मानव हुँ, तसर्थ अर्धचेतन मनमा कतै ती मकसद टाँसिएर बसेका भए म भन्न सक्तिनँ । तर, पूर्ण चेतनमा भने त्यस्ता मकसद राखेर मैले लेखेको छैन । लेखक हुनुको उपर्ना नलगाएको र त्यससितै जोडिएर आउने जिम्मेवारी नबोकेको हुनाले आफ्ना विचार लेखेर व्यक्त गर्ने वा कुनै महत्त्वको कुरा हराउला भन्ने डरले त्यसलाई अभिलिखित गरिरहने कुनै बाध्यता ममा रहेको पनि ठान्दिनँ । ख्याति रहरले मिल्ने कुरा होइन, स्वाध्याय र निष्ठायुक्त अनवरत परिश्रमको प्रतिफलस्वरूप मिल्छ । टाकानटुकुन लेखेर मिल्दैन, त्यो मैले राम्रोसित बुझेको छु । रह्यो राजनीतिक अभीष्टपूर्तिको कुरा, मिथ्या प्रचारको बिगबिगी भएको आजको समयमा लेखेर केही हुन्छ भन्ने विश्वास पनि पातलिँदै गएको छ । लेख्नु निरर्थक उपक्रम प्रतीत हुन थालेको छ । आफ्नै हत्केलामा राखिएको सञ्चारयन्त्र हेर्नमै तल्लीन रहने आजको माहोलमा कसलाई पो फुर्सद होला कागजमा छापिएको कसैले लेखेको कुरा पढ्ने भन्ने पनि लाग्छ ।

मानिसका आ–आफ्नै अभिप्रेरणा होलान् लेख्नुका पछाडि । तर, म कुनै लेख लिएर पत्रिकामा आक्कलझुक्कल देखापर्ने कारण भने सोझो र एकदम सरल छ । म कसैको अनुरोधमा लेख्ने गर्छु । अनुरोध गर्नेले सकेमा मोटामोटी विषय पनि सुझाइदिनुपर्छ अनि म करबलले लेख्न बस्छु, त्यसलाई पूरा गर्नुपर्ने खटाइएको एउटा जिम्मेवारी ठानेर । ब्रिटिसहरूले हान भनेर तारो देखाइदिएपछि गोर्खा सिपाहीले गोली हानेजस्तो । मैले यसो भनेको सुनेर लेखक कुमार नगरकोटीले एकपटक भनेका थिए, ‘तपाईं त फर्माइसी लेखक हुनुहुँदो रहेछ दाइ । फर्माइस आएपछि मात्र लेख्ने ।’ उनले जुराइदिएको यो विशेषण पनि मेरा लागि नसुहाउँदो छैन ।

म आफू फेसबुक, ट्वीटर वा इन्स्टाग्रामजस्ता आजका आधुनिक सञ्चार संयन्त्रभित्र नपसेको हुनाले मैले बेलाबखत लेखेका प्रबन्ध पढ्ने पाठक कति छन् त्यसको अनुमान मलाई छैन । आफ्नो रचना छापिएपछि त्यसको लिहंक निकटका र सात समुद्रपारिका केही मित्र र आफन्तहरूलाई पठाउँछु, जसको संख्या एक हातका औंला जति पनि पुग्दैन । केही सहृदयी मित्रहरू छन्, जो उपन्यास किन लेख्नुहुन्न वा आत्मकथा लेख्नोस्न भनेर हौस्याउँछन् मलाई । मैले नेपालीमा अनुवाद गरेका किताबहरूबारे चाहिँ मानिसहरू बिरलै उल्लेख गर्छन् । अनुवादलाई मौलिक लेखनजस्तो सृजनात्मक कार्य नठानिने हुनाले त्यसो भएको हो सायद । जति अनुवाद गरे पनि अनुवादक अनुवादक नै भएर डल्लिरहन्छ, लेखकको स्थानमा उक्लन सक्तैन दुनियाँको दृष्टिमा ।

मलाई पूर्णांग लेखकको भेषमा हेर्न चाहने शुभेच्छुकहरूबाट अनेक हौसला पाए पनि मैले बुझेको छु उपन्यास वा गल्प साहित्यको सृजना गर्नु कति विराट चुनौती हो भन्ने । कथाकहानी र उपन्यास लेख्नेलाई उर्दूमा ‘अफसानानिगार’ त्यसै भन्ने गरिएको होइन । अरवेलले धरि किताब लेख्ने कामलाई लामो समय कुनै पीडादायी रोगबाट थलिनुजस्तै हो भनेबाट नै बुझ्न सकिन्छ त्यस चुनौतीको आयाम । भन्नलाई त इन्द्रबहादुर राईले ‘आज रमिता छ’ को प्राक्कथनमा तीनचौथाइ यथार्थ र एकचौथाइ कल्पनाको मिश्रणबाट उपन्यास बन्छ भनेर सजिलो गरी भनेका छन् । यथार्थमा भने कल्पनाको त्यही एकचौथाइ भागले थला पार्छ । आफ्नै जिन्दगीको तीनचौथाइ अनुभव र यथार्थलाई पनि भाँति पुर्‍याएर पस्कन नसके उपन्यास भुसको बोरा बन्छ । कथोपकथनलाई पत्यारिलो बनाउनु अनि पात्रहरूको चरित्र निर्माण गरेर तिनलाई जीवन्त तुल्याउनु चानचुने सीपले पुग्दैन । सिद्धहस्त लेखकले मात्रै त्यस्ता पात्रहरूलाई कलमद्वारा सग्लो उभ्याउन सक्छ, जो पाठकको दिमागमा उत्कीर्ण भएर रहन सक्छ । दोस्तोयवस्कीको ‘क्राइम एन्ड पनिस्मेन्ट’ को हिन्दी अनुवाद पढेर कलेजको मेरो एक सहपाठी उसैबेला ‘रास्कोल्निकोफ, रास्कोल्निकोफ’ गर्थ्यो । उपन्यासको मुख्य पात्र थियो रास्कोल्निकोफ र मेरो साथी त्यसबाट उधुमै प्रभावित भएको थियो । त्यस्तै, दिवंगत कवि गोविन्द वर्तमान जहिल्यै ‘द इडियट’ का मूल पात्र प्रिन्स मिस्किनको जटिल चरित्रचित्रणको वाहवाह गर्थे । सम्झनेहरू ‘आज रमिता छ’ को जनकलाई पनि सम्झन्छन् र ‘शिरीषको फूल’ को सुयोगवीर वा सकम्बरीलाई पनि बिर्संदैनन् ।

एक जना मित्र छन् प्रकाश मानन्धर नामका, संगीतकार न्ह्यु वज्राचार्यका मामा । काठमाडौं निवासी प्रकाश तत्कालीन सोभियत संघमा अध्ययनार्थ गएका थिए र साहित्यमा अभिरुचि राख्ने हुनाले उनले मूल रूसी भाषामै लियो तोल्सतोयका कृतिहरू उतै पढिभ्याएका थिए । उनको निजी मूल्यांकनमा तोल्सतोयको दाँजोमा संसारका अन्य कुनै लेखक छैनन् र उनी यो कुरा दाबीका साथ भन्छन् । रूसी भाषामा नसही तोल्सतोयका अनूदित पुस्तकहरू थोरै भए पनि पढ्दा प्रकाशको दाबी अन्यथा लाग्दैन । पात्रहरूको मनको अन्तरकुन्तर चहारेर तिनका सूक्ष्म मनोभावलाई तीक्ष्णतासाथ प्रस्तुत गर्न सक्ने तोल्सतोयको जस्तो विलक्षणता अरूमा सायदै होला । त्यसैले नै तोल्सतोय संसारकै महानतम ‘अफसानानिगार’ मानिन्छन् । यस्तो तथ्य बुझिसकेपछि कसैले पनि अफसानानिगार बन्नेतर्फको आफ्नो पाइलालाई कमिलाको पाइला नठानिरहन सक्तैन । त्यसमा यो पंक्तिकार कसरी अपवाद हुन सक्छ ?

कवि वा लेखक हुनलाई भित्रबाटै हुटहुटी जाग्नुपर्छ या अरवेलझैं पछि गएर लेखक बन्छु भन्ने अठोट छ वर्षको उमेरमै उम्रनुपर्छ । हरिवंश राय बच्चनले आफूले कवि नहुन हरसम्भव प्रयास गरेको, तर कवि नभई रहन नसकेको उल्लेख गरेका छन् आफ्नो आत्मकथामा । जब प्रतिभावान् हृदयमा सृजनाको जरुवा उम्रन्छ त्यो कसैगरी थाम्न नसकिने हुन्छ– दुर्दमनीय बन्छ । त्यसले पागलपनको हदसम्म जोड पक्रिन्छ र बाहिर ननिस्की छाड्दैन । चरम गरिबीको अवस्था र छोराछोरीहरूको झ्याउँझ्याउँमाझ बसेर पनि ती सबैबाट बेखबर बनेर लेखिरहन्थे रे उर्दूका नामुद अफसाना निगार शहादत हसन मन्टो । लक्ष्मीप्रसाद देवकोटाले एकै रातमा तीनवटा कथा लेखिभ्याएको पनि कतै पढेको थिएँ । भर्खर केही समयअघि त हो एउटा अन्तर्वार्तामा सम्राट उपाध्यायले हरेक दिन केही नलेखी बस्न नसक्ने र पन्ध्र मिनटकै लागि भए पनि केही लेख्नैपर्ने

आफ्नो बानी भएको बताएका थिए । त्यस किसिमको समर्पण वा बहुलठ्ठीपन नभई कोही गतिलो लेखक बन्न सक्तैन, भइहाले पनि धेरै टाढा पुग्न सक्दैन ।

माथि वर्णित यावत् कारणहरूले गर्दा मैले आफूलाई कहिल्यै लेखक ठान्न सकिनँ, लेखक हुनुको आभाबाट प्रभावित हुँदाहुँदै पनि । त्यसैले सन् २००१ मा पहिलोचोटि संयुक्त राज्य अमेरिका जाँदा सानफ्रान्सिस्कोका एक जना अमेरिकी मित्रले ‘तिम्रा लागि नै यो साँचिराखेको’ भनेर ‘अमेरिकन राइटर्स एसोसिएसन’ लेखिएको घाम छेल्ने टोपी मलाई दिँदा सहर्ष त्यो उपहार थापे पनि त्यसलाई नलगाई थपक्क राखेको थिएँ आफूलाई त्यो टोपी लगाउन योग्य पात्र नठानेर । म लेखन प्रकाशनको कामसित जोडिएको देखेका त्यो टोपी दिने ती मित्रले मलाई ठूलै लेखक ठानेका हुँदा हुन् । काठमाडौं आएपछि मैले त्यसको कथासहित त्यो टोपी मेरा सोम खगेन्द्र संग्रौलालाई सौगात दिएँ । त्यसको वास्तविक अधिकारी उनी नै थिए मेरो नजरमा । पछि उनले यस प्रसंगलाई उल्लेख पनि गरे आफ्नो एउटा लेखमा ।

यसप्रकार आफू लेखक नभएको मान्यता बोक्दाबोक्दै र यस जुनीमा असली लेखक हुन नसक्ने यथार्थ बुझ्दाबुझ्दै पनि लेखक भएर चिनिनुको महत्ताबोध भने मलाई पूर्णतया छ । त्यस चिनारीप्रतिको लोभ ममा छैन भन्नु सरासर बेइमानी ठहरिन्छ । सार्थक नहोला र झूटमुठकै सही लेखकको यो चिनारी वहन गर्न पाएकोमा अकथनीय सन्तोषको अनुभूति हुन्छ मलाई । त्यस अनुभूतिलाई कायम राख्नलाई टुक्रे ओस्ताजको पारामा भए पनि बेलाबखत कनीकुथी टाकनटुकुन कोर्ने यत्न रहिरहनेछ मेरो । लेखक हुनुको विभ्रम नै किन नहोस् त्यसैको न्यानो च्यादर ओढेर जिन्दगीको उबडखाबड बाँकी यात्रा तय गर्ने चाहना छ मेरो, यो सत्य हो ।

प्रकाशित : चैत्र ५, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्

विरोधाभास : सांस्कृतिक भिजिटिङ कार्ड

प्राचीन भारतमा पाँच प्रकारका असमानता थिए – दासता, वर्ण, जात, लिंग र अस्पृश्यता । दासता आर्थिक र राजनीतिक अधिकारसँग सम्बन्धित अवधारणा हो ।
राम लोहनी

प्राचीन भारत’ नामले हालको भारतको राजनीतिक सीमालाई मात्र जनाउँदैन । हिमालयको दक्षिण, दक्षिण पूर्व र उत्तर पश्चिमको अफगानिस्तानसम्मको भूगोल यसले समेट्छ । आधुनिक मानवको यस उपमहाद्वीपमा भएको बसोबासको इतिहास मूलतः दुईवटा स्रोतमा निर्भर छन्– लिखित ग्रन्थ तथा अभिलेख र भौतिक संस्कृतिका अवशेष । भौतिक संस्कृतिको विश्लेषणले जनजीवनको भौतिक पाटोलाई त उजागर गर्छ, तर सामाजिक तथा राजनीतिक पक्ष प्रस्ट पार्दैन । लिखित पाठहरूले स्वाभाविक रूपले शासक र सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने हुँदा सिंगो समाजको चित्र त्यसले पनि प्रस्तुत गर्न सक्दैन । तर, पनि इतिहासको कथ्य यिनै प्राथमिक स्रोतहरूमा निर्भर रहनुको विकल्प छैन । त्यसैले उपिन्दर सिंह भन्छिन्– ‘इतिहासको परिशीलनका लागि प्राथमिक स्रोतहरूको सावधानीपूर्वक परीक्षण, विवेकको सम्यक् प्रयोग, कठोर विश्लेषण र वस्तुपरकताको सचेत प्रयास आवश्यक पर्छ ।’

उपिन्दर सिंह प्राचीन भारतको इतिहासमा एक आधिकारिक व्यक्ति हुन् । इतिहासको कथ्य निर्माणमा ग्रन्थ–अभिलेखको साथै पुरातत्त्व र तत्कालीन समयका कलात्मक सिर्जनाको पनि उत्तिकै सहयोग लिनुपर्ने सिंहको धारणा छ । भर्खरै उनको ‘एन्सन्ट इन्डिया : कल्चर अफ कन्ट्राडिक्सन्स’ नामको किताब प्रकाशित भएको छ । यो पुस्तक प्राचीन भारतको सिलसेलवार इतिहास होइन । पुस्तकमा सिंहले पाँचवटा अन्तर्विरोधी प्रकरणको छनोट गरेकी छन् । हरेक प्रकरण (थिम) भित्रका विपरीत ध्रुवीय भावहरू उपमहाद्वीपको संस्कृतिमा अनौठो ढंगले समानान्तर, तर परस्पर सम्पूरक भएर आजपर्यन्त प्रभावकारी रहिरहेका छन् ।पुस्तक मूलतः इसापूर्व ६०० देखि सन् १००० बीच विकसित दार्शनिक, साहित्यिक र कलात्मक उपलब्धिहरूमा आधारित छ । विषयको स्रोत पर्गेल्ने क्रममा प्रमाण बटुल्न र उपर्युक्त प्रकरणको अविच्छिन्नताको पुष्टि गर्न लेखक आवश्यकताअनुसार इसापूर्व ६०० अघिका वैदिक तथा हरप्पन सभ्यता र सन् १००० पछिका समयमा पनि विचरण गर्न पुग्छिन् । पुस्तक परिचय र एपिलोगसहित पाँच थिमका लागि एक एक पाठ गरी सातवटा पाठहरूमा विभाजित छ ।

असमानता र मुक्ति

प्राचीन भारतमा पाँच प्रकारका असमानता थिए– दासता, वर्ण, जात, लिंग र अस्पृश्यता । दासता आर्थिक र राजनीतिक अधिकारसँग सम्बन्धित अवधारणा हो । वर्ण एउटा धार्मिक अवधारणा हो, जसले वंशानुगत वर्ग विभाजनलाई सैद्धान्तीकरण गर्छ । जात व्यवस्थाले रक्तशुद्धिलाई जोड दिएर स्त्रीको प्रजनन र यौनिकतालाई नियन्त्रण गर्ने प्रयास गर्छ । संस्थागत असमानता साहित्यमा पनि प्रतिविम्बित भएको छ । नाटकहरूमा उच्च जाति र कुलीनहरूका संवाद संस्कृतमा हुन्थे भने महिला तथा तल्ला वर्गका संवाद प्राकृतमा हुन्थे ।

दासहरूले ग्रीस, रोममा जस्तो प्राचीन भारतमा कुनै विद्रोह गरेनन् । व्यक्तिगत रूपमा दासहरू दासत्वबाट मुक्त हुन सक्थे । सामाजिक असमानतालाई हटाउने कुनै संस्थागत प्रयास पनि भारतीय इतिहासमा भएन । उपनिषद्कालमा ज्ञान तथा भक्तिमार्गको विकल्प खडा भयो । भक्ति परम्पराले वर्णगत र जातगत विभाजनलाई अस्वीकार गरेर जुनसुकै वर्ण र जातलाई भक्तिमार्गबाट भगवत् प्राप्तिको अवसर प्रदान गर्‍यो । यसमा वैष्णव, शैव र शाक्त परम्परा उल्लेखनीय छन् । जैन र बौद्ध परम्पराले पनि वर्णगत तथा जातगत विभाजनको विपक्षमा प्रचार गरे । जैन र बौद्ध संघमा जुनसुकै वर्ण र जातका व्यक्ति प्रवेश गर्न सक्ने भयो । तर, पनि यिनीहरूले खुलेर समाजमा व्याप्त असमानताको विरुद्धमा सामूहिक उद्घोष गरेनन् । केही विकल्प छाडेर बौद्ध तथा जैन आचार्यहरू ब्राह्मण र क्षेत्रीय समुदायकै रहे । व्यक्तिगत तहमा जोसुकैले निर्वाण वा मुक्ति प्राप्त गर्न सक्नेचाहिँ भयो । तर, मुक्त नभएका दासलाई संघमा प्रवेश गराउने स्तरको क्रान्तिचाहिँ भएन ।

कामना तथा वैराग्य

भारतीय परम्परामा विद्यमान कामना र वैराग्य, प्राप्ति र त्याग, प्रवृत्ति र निवृत्ति, संग्रह र अपरिग्रह, सम्भोग र ब्रह्मचर्य जटिल अन्तर्विरोधी अवधारणा हुन् । चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षमध्ये अर्थ र काम स्पष्ट रूपले सांसारिक तथा दैहिक सुखसँग सम्बन्धित छन् । धन आर्जन गर्नु जति महत्त्वपूर्ण छ, धनको त्याग पनि उत्तिकै महत्त्वपूर्ण ठानिन्छ । देहमिलन र इन्द्रीय सुख जति अनिवार्य छ,

ब्रह्मचर्य पनि उति नै पूजनीय छ । महादेव कामदेवलाई भस्म पनि गर्छन्, यौनकलामा उत्तिकै पारंगत पनि छन् । मन्दिरभित्र अपरिग्रह र पारमार्थिक सुखको प्रार्थना गरिन्छ भने मन्दिरबाहिर टुँडालमा दैहिक मिलनका विविध आसनका कलात्मक अभिव्यक्ति भेटिन्छन् । ऐतिहासिक स्मारक र गुफाहरू कामकलाका चित्र विचित्र सिर्जनाहरूले सम्पन्न छन् । राजा महाराजाहरूको अन्तपुर सुन्दरी स्त्रीहरूले खचाखच भेटिन्छन्, तर इन्द्रीय सुखमा मात्र सीमित राजाहरू नराम्ररी पतन पनि हुन पुग्छन् । कामबाटै कामातित पारमार्थिक उपलब्धि प्राप्त गर्ने तन्त्र पनि यहीँ छ, कामलाई निषेध र नियन्त्रण गरेर निर्वाण, कैवल्य प्राप्त गर्ने उपदेश दिने बौद्ध तथा जैन वचनहरू पनि उत्तिकै प्रिय छन् । काव्य साहित्य पनि प्रेम मिलन र शृंगाररसले लबालब छन् ।

ब्रह्मचर्यको उपदेश दिने ऋषिमुनि तथा वानप्रस्थीहरू सपत्नीक हुन्छन् । देवताहरू पनि सपत्नीक छन् । कतिपय देवताहरूको यौनकाण्डलाई पुराणहरूले विभिन्न रूपले वर्णित पनि गरेको छ । एकातिर सम्भोगलाई कामनारहित सन्तान प्राप्तिको माध्यम मान्ने धर्मशास्त्र छ । अर्कोतिर कामशास्त्र छ, जसले सम्भोग र इन्द्रीय सुखलाई लक्ष्य मान्छ । गृहस्थ धर्मलाई उत्कृष्ट धर्म पनि मानेको छ, र गृह नै मोक्षको अवरोध पनि मान्छ । शास्त्र कामसुखको अनुभव स्त्रीहरूले जति पुरुषले गर्न नसक्ने भनेर स्विकार्छ, स्त्रीहरूको कामेच्छालाई सभ्य पनि मान्दैन । काम र अर्थ अपरिहार्य हो, तर यिनलाई जित्न सके मात्र पारमार्थिक सुख प्राप्त हुने र मुक्ति मिल्ने सन्देश हरेक धार्मिक सम्प्रदायले दिन्छन् ।

देवी र स्त्रीद्वेष

हाम्रा शास्त्र, परम्परा, साहित्य, कलाका अधिकांश सर्जक पुरुष छन् । उनीहरूका लागि स्त्री देह रहस्य र त्रासको केन्द्र हो । यसले उनीहरूमा स्त्रीहरूप्रति सम्मान र द्वेष दुवै भावको सिर्जना गरेको छ । सम्मानस्वरूप देवीको रूपमा स्त्रीहरू पूजित छन् भने द्वेषको कारण तिरस्कृत पनि छन् । वर्ण, जात, उमेर, व्यवसाय, वर्ग आदिको आधारमा स्त्रीहरूको हैसियतमा फरक भेटिन्छ । सभ्यताको प्रारम्भिक कालतिर स्त्री शरीर सिर्जना र प्रजननको स्रोत मानिन्थ्यो । त्यसले उनीहरूलाई सम्मान प्रदान गर्‍यो ।

हिन्दु परम्परामा लक्ष्मी, दुर्गा, काली, राधा आदि नामका फरक फरक क्षमताका शक्तिशाली देवीहरूको परिकल्पना गरिएको छ । बुद्ध तथा जैन परम्परामा पनि देवीको उपासना हुन्छ । तर, उनीहरू निर्वाण, अर्हत्व वा तीर्थंकर पदको हकदार हुन सक्दैनन् । त्यसका लागि उनीहरूले पुरुष रूपमा जन्म लिनुपर्ने दाबी गरिन्छ । बौद्ध संघहरूमा भिक्षुणीले कनिष्ठ भिक्षुलाई पनि अभिवादन गर्नुपर्थ्यो । जैनहरूमा स्त्रीहरूलाई दिगम्बर साधु बन्न स्वीकृति छैन । साधनाका अवरोधकका रूपमा भिक्षुणी तथा गृहस्थ स्त्रीहरूबाट बच्न भिक्षुहरूलाई निरन्तर सजग गराइन्छ । स्त्री देहलाई नरकको द्वार मान्ने कथ्य प्रबल छ । देवीहरू जति नै शक्तिशाली भए पनि उनीहरू शक्तिशाली देवताका पत्नी, सहधर्मिणी वा प्रेयसीका रूपमा परिचित छन् । भक्ति परम्परामा पनि स्त्री सन्तहरूको हैसियत पुरुष सन्तको बराबर देखिन्न । वास्तविक जीवनमा पनि स्त्रीहरू दोस्रो दर्जाका ठानिन्छन् । धर्मशास्त्रहरूले स्त्रीलाई पिता, पति वा पुत्रको नियन्त्रण तथा संरक्षकत्वमा रहन निर्देश दिएको छ । इतिहासमा केही स्त्रीहरू शक्तिशाली देखिन्छन् । तर, ती आफैं शक्तिका स्रोत होइनन् । यौन शुद्धताको नैतिकता केवल स्त्रीहरूका लागि निर्देशित छ । शास्त्रहरूले विधवाको त्यागमय जीवन तथा सतीको प्रशस्त गुणानुवाद गरेका छन् ।

हिंसा र अहिंसा

अहिंसालाई भारतीय उपमहाद्वीपको पहिचान मानिन्छ । यहाँ विकास भएको बौद्ध तथा जैन धर्म अहिंसाका प्रबल पक्षपाती हुन् । जैन साधनामा अहिंसाको हदैसम्मको अभ्यास गरिन्छ । आहारमा शाकाहारी भोजन जहिल्यै स्तुत्य हुन्छ । स्वयम् बुद्ध शाकाहारी थिएनन्, तर भोजनका लागि पशु हिंसा बुद्ध धर्ममा तिरस्कृत छ । हिन्दुहरूमा पनि नृशंस पशु हत्या बर्जित छ । यज्ञ वा तान्त्रिक साधनामा दिइने बलिमा पशुको मुक्ति हुने विश्वास गरिन्छ र मासुलाई प्रसादको रूपमा ग्रहण गरिन्छ ।

तथापि प्राचीन भारतको इतिहास हिंसात्मक युद्धका घटनाहरूबाट मुक्त छैन । युद्ध र हत्यालाई राजधर्म, क्षत्रिय धर्म तथा धर्मयुद्धको आवरण प्राप्त छ । त्यसो त राजधर्मका उपकरणमा साम, दान, दण्ड र भेदमा दण्ड अन्तिम उपकरण हो । महाभारतजस्ता ठूला युद्धलाई पनि शान्तिका लागि अपरिहार्य युद्ध भनेर व्याख्या गरिएको छ । गीतामा कृष्णले अर्जुनलाई, निमित्त कर्ताको रूपमै सही, हिंसाकै लागि उत्प्रेरित गरेका छन् । पुराण तथा अन्य साहित्यमा शत्रु संहार गर्ने तथा कमजोर समुदायको संरक्षण गर्ने नायक तथा राजाको प्रशस्त प्रशंसा गरिएका छन् । सम्राट् अशोकले आफ्नो साम्राज्यमा अपनाएको अहिंसा नीति उदाहरणीय ठानिन्छ ।

बहस र विवाद

दक्षिण एसियाली विद्वत् तथा दार्शनिक परम्परा सहिष्णु र समन्वयकारी मानिन्छ । प्राचीन समयमा यहाँ विविध विचारहरूको उद्भव भए, प्रतिस्पर्धी सम्प्रदायहरू जन्मे, अन्यत्रबाट पनि फरक धार्मिक मतावलम्बीहरू प्रवेश गरे । तिनीहरूबीचको प्रमुख द्वन्द्व वैचारिक तहमा केन्द्रित रह्यो । विचारको प्रतिस्पर्धाको लक्ष्य सत्यको पहिचान रहन्थ्यो । यस पुस्तकले समेटेको पन्ध्र सय वर्ष उपनिषद्काल, वैदिक तथा गैर–वैदिक दर्शन तथा तिनका भेद–उपभेदको विकास, महाभारत, रामायणलगायतका विविध काव्यको सिर्जनाको समय हो ।

विद्वत् समुदायमा संवाद, वाद, प्रतिवाद, संभाष, हेतु, तर्क, आन्विक्षकी आदि शब्दहरू लोकप्रिय थिए । न्याय दर्शनले बहसको प्रकार, विधि आदिबारे विशद चर्चा गरेको छ । मीमांसा दर्शनका अनुसार विषय, संशय, पूर्वपक्ष, उत्तरपक्ष, निर्णय गरी बहसका पाँच अंगहरू हुन्छन् । उपनिषद्कालमा जनकको सभा बहसका लागि प्रख्यात थियो । उपनिषद्को याज्ञवल्क्य–मैत्रेयी संवाद, बौद्ध दर्शनको मिलिन्द–नागसेन बहस चर्चित छन् । इसापूर्वको छैटौँ र पाचौँ शताब्दी विचार र बहसको स्वर्णयुग थियो । महाभारत ग्रन्थ विचार र बहसको संग्रह नै हो । लोकायत नामको नास्तिक दर्शन, शैव, वैष्णव तथा शाक्त मतभित्र भक्ति एवम् तन्त्र परम्परा विकास भए । वैचारिक प्रतिस्पर्धासँगै विवाद र द्वन्द्व पनि विद्यमान थियो । विपक्षीलाई पराभूत गर्ने, पराजितको हत्या गर्नेजस्ता घटना पनि हुन्थे । जैन तथा बौद्ध विद्वान्का विवाद, जनकको सभाका घटनाहरू, शंकर दिग्विजय आदिलाई वैचारिक द्वन्द्वका उदाहरणका रूपमा लिन सकिन्छ । दर्शन, धार्मिक मत तथा विचारहरू बहस र विवादका विषय मात्र बन्थेनन्, साहित्यिक व्यंग्यका विषय पनि बन्थे ।

निष्कर्ष

घटनाहरूलाई क्रमबद्ध रूपमा नबताई इतिहासको कथ्य निर्माण गर्ने सिंहको कला बेजोडको छ । इतिहासको कथ्य घटनाहरूको संग्रहबाट भन्दा त्यसमा निहित केन्द्रीय विचारहरूको द्वन्द्वात्मक प्रस्तुतिबाट बढी प्रभावकारी हुन्छ भन्ने उदाहरण हो सिंहको यो पुस्तक । सरल भाषा, विचार र घटनालाई प्रस्ट पार्न समकालीन कलात्मक सिर्जनाका फोटा र पुस्तकको अन्तमा उपलब्ध चुनिएका ग्रन्थहरूको सूचीले पुस्तकलाई थप पाठकमैत्री बनाएको छ । आजको दक्षिण एसियाली जनजीवनको सूक्ष्म वैचारिकी र इतिहासको शास्त्रीयकालमा विकसित त्यसको नियामक प्रतिस्पर्धी दार्शनिक मतहरूको गतिशील अन्तर्घुलनलाई सरल रूपले बुझ्न चाहने पाठकलाई सिंहको यो किताब उपयुक्त पठन ठहरिन्छ ।

प्रकाशित : चैत्र ५, २०७८ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×