कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

कञ्चनाको ड्रिम क्याचर्स

भीष्म उप्रेती

सन् २०१८ को अक्टुबर महिनामा भारतको नयाँदिल्लीमा फाउन्डेसन अफ सार्क राइटर्स एन्ड लिटरेचरले आयोजना गरेको दक्षिण एसियाली साहित्य सम्मेलनको उद्घाटन सत्र सकिएपछि लन्च ब्रेकमा मेरो कञ्चनासँग भेट भएको थियो । उनी ब्लाउज, सारीमा ठिक्कको हिल भएको जुत्ताको आवाज छोड्दै दाहिने काँधमा सानो हातेब्याग झुन्ड्याएर म भएतिर आइन् ।

कञ्चनाको ड्रिम क्याचर्स

म लन्चको लाइनमा लागिसकेको थिइनँ । त्यसैले आफ्नो ध्यान उनैतिर फर्काएँ । पैँतीस–चालीस वर्ष बीचकी साँवली वर्णकी दक्षिण एसियाली महिलाको औसत उचाइ भएकी उनीसँग एकदमै सुन्दर मुस्कान थियो अनुहारभरि फैलेको । मैले उनलाई नयाँ किताबका लागि बधाई दिएँ । उनी झनै उज्याली भइन् र भनिन्– ‘धन्यवाद ।’

उनले लेखेको अङ्ग्रेजी कथाहरूको नयाँ सङ्ग्रह ‘ड्रिम क्याचर्स’ आजैको उद्घाटन सत्रमा विमोचन भएको थियो । उनलाई भनेँ, ‘मलाई किताब दिन्नौ ? मैले तिम्रो कथा नपढ्नू ?’

‘दिन्छु नि, पर्ख । त्यसैले त तिमीतिर आएको,’ उनले गुलाबी मुस्कानसहित भनिन् । हातेब्यागबाट किताब निकालिन्, हस्ताक्षर गरिन् र मलाई दिइन् । मैले पुस्तकलाई प्रेमपूर्वक हातमा लिएँ र सरर्र पानाहरू पल्टाएँ ।

लेखक कञ्चना प्रियकण्ठालाई मैले पहिलोपटक सन् २०१७ को मे महिनामा भारतकै जयपुरमा देखेको हुँ । त्यहाँ यही फोसवाल नामको संस्थाले दक्षिण एसियाली सुफी साहित्य सम्मेलन आयोजना गरेको थियो । म नेपालबाट जाने सहभागी टोलीको सदस्य थिएँ र कञ्चना श्रीलङ्काली टोलीकी सदस्य । त्यहाँ हामीबीच हेराहेर भयो, एक–अर्काको कविता पनि सुन्यौँ, तर औपचारिक परिचय र कुराकानी भएन । त्यसैले मैले कञ्चनालाई पहिलोपटक भेटेको चाहिँ नयाँदिल्लीमै हो, जुन दिन उनले मलाई उनको किताब उपहार दिइन् ।

नेपाल फर्केको केही समयपछि एक दिन अचानक मलाई कञ्चनाको याद आयो । पुस्तकको भीडबाट उनको ‘ड्रिम क्याचर्स’ निकालेँ र पसेँ त्यसभित्र । कथाका स्त्री पात्रको भावभंगिमा, आवाज, नखरा र मनोदशामा सायद मैले कञ्चनालाई खोजेँ, कतै कतै पाएँ पनि ।

‘ड्रिम क्याचर्स’ मा नौवटा कथा छन् । तीमध्ये ‘सपुनामली’ शीर्षकको कथा सबैभन्दा लामो छ । नौवटै कथा विषयवस्तुले एक–अर्कासँग फरक छन् । ‘पङ्खा’, ‘स्वतन्त्र गुडिया’ शीर्षकका कथामा निर्जीव पात्रलाई मानवीकरण गरी कथा बुनिएको छ । केही कथाहरूमा चमेरो, कुकुरजस्ता चरित्रलाई मानवीकरण गरी उनीहरूका व्यवहार र मनोदशालाई सफलतापूर्वक उतारिएको छ । कञ्चनाको रुचि मानवइतर चरित्रलाई लिएर कथा बुन्नुमा समेत देखिन्छ । गैरमानव चरित्र लिएर लेखिएका कथामा अत्यन्त सफल छिन् उनी ।

किताबमा एउटा कथा छ ‘रेल’ शीर्षकको । यो कथा श्रीलङ्कामा लामो समय चलेको रक्तपातपूर्वक आन्तरिक लडाइँको सेरोफेरोमा लेखिएको छ । कथाको पुरुष पात्र कवि पनि हो । यसमा त्यस पुरुष पात्रले बोकेको आदर्श र ऊभित्रको पुरुषवादी अहङ्कारी सोचको द्वन्द्व प्रस्तुत छ । कसरी एउटा व्यक्ति एकैपटक आदर्श र पाखण्डको दुइटा मुखुण्डा बोकेर समाजमा बाँचेको हुन्छ ? यो विषय कथाले भन्छ । मेरो विचारमा कञ्चनाले लेखेका उत्कृष्ट कथामध्ये यो एक हो । केही कथा सामाजिक विषयवस्तुमाथि छन्, केहीमा प्रेमलाई अभिव्यक्त गरिएको छ, जुन आजको नेपाली समाजमा पनि त्यसरी नै विद्यमान छन् ।

आजको श्रीलङ्काली समाजको आत्मालाई कञ्चनाले कथाहरूमा सफलतापूर्वक चित्रण गरेर हामीलाई उपहार दिएकी छन् । यी कथाहरू नेपाली पाठकलाई आफ्नै कथा, आफ्नै दुःख, सुख, आफ्नै भावना र मनोदशा हुन् भन्ने लाग्छ ।

कञ्चनाको भाषा नदीजस्तो बग्छ । कविताको भाषामा आख्यान लेख्छिन् । आख्यानमा स्वाभाविक रूपले चरित्रहरूको जीवनमा आउने उतारचढाव र इमोसन्स व्यक्त गर्दा भाषामाथि नियन्त्रण राख्न सफल छिन् । भाषाको आकर्षण, चमक र गतिले पाठकलाई अन्यत्र भाग्न दिँदैन । यो कञ्चनाको लेखनीको सफलता हो ।

...

कञ्चनाको कथासङ्ग्रह पढिसकेपछि उनलाई भनेँ, ‘मलाई तिम्रो किताब निकै मन पर्‍यो ।’ उनी खुसी भइन् । पुस्तकलाई नेपालीमा ल्याउन सके राम्रो हुन्थ्यो भन्ने सोचेको थिएँ । ‘तिम्रो पनि किताब अङ्ग्रेजीमा छ भने मलाई पठाऊ, पढ्छु’ उनले भनिन् । मैले मेरो ‘पाइला पाइला’ उपन्यासको अङ्ग्रेजी अनुवाद पठाएँ । उनी लेखक साथै प्रकाशक पनि हुन् । मेरो पुस्तकमाथि पछि हामीले सहकार्य पनि गर्‍यौं ।

केही समयपछि मैले उनलाई भनेँ, ‘तिम्रो किताब म नेपालीमा अनुवाद गरूँ ?’ हर्षित भएर उनले भनिन्, ‘हुन्छ ।’

मैले त्यस कथासङ्ग्रह अनुवाद गरेँ । मलाई लाग्छ, नेपाली कथाकार र कथाका पाठकले यी कथा पढेपछि श्रीलङ्काको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक अवस्थाको जानकारी त पाउँछन् नै, कथा भन्ने शैली र सन्तुलनबाट समेत लाभ लिन सक्नेछन् ।

अनुवाद र त्यसको पुनर्पठन सकेको निकै समयपछि शिखा बुक्सबाट ‘ड्रिम क्याचर्स’ कथासङ्ग्रहको नेपाली अनुवाद ‘सपुनामली र अन्य कथाहरू’ महामारीमा प्रकाशन भयो । यो किताबले नेपाली र श्रीलङ्काली साहित्य तथा साहित्यकारलाई जोड्ने सेतुको काम गर्नेछ । साहित्य विकासका निम्ति हाम्रो साहित्य अन्य भाषामा अनुवाद हुनु र अन्य भाषाका सुन्दर पुस्तक नेपाली भाषामा प्रकाशित हुनु दुवै आवश्यक छ ।

प्रकाशित : चैत्र ५, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?