कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२१६ महिनापछि मैना

न्याय माग्न देवी सुनार खाली खुट्टै काठमाडौं पुगिन् । भन्छिन्– संसारको कुनै पनि आमालाई मेरोजस्तो दुःख नपरोस् ।
शुकदेव थपलिया

मेरी मैना खोइ ?
राजालाई थाहा छ, तर किन बोल्दैन ऊ ?
गिरिजालाई थाहा छ, माधवलाई थाहा छ !
ओलीलाई थाहा छ....
...प्रचण्ड र बाबुरामलाई पनि थाहा छ...
सुर्जेबहादुरलाई थाहा छ, पशुपतिलाई थाहा छ
मालीगाउँदेखि लोकन्थलीसम्म
नारायणहिटीदेखि झम्सीखेलसम्म
झन्डा हल्लाउँदै हिँड्नेहरूलाई थाहा छ
फोहोरा दरबारलाई थाहा छ
मेरी मैना खोइ ?
...ए राजा, अब तिमीले भन्नैपर्छ
मेरी मैना खोइ ?
– श्यामल (मैना सुनारकी आमा)

२१६ महिनापछि मैना

मैना सुनारकी आमा देवीका प्रश्नहरूको उत्तर दिन सरकार अझै असमर्थ छ । कवि श्यामलको माथिको कविताझैं मैना सुनारकी आमा अझै सोधिरहेकी छन्– मेरी मैनालाई न्याय खोइ ? मैनाको हत्या भएको १८ औं वार्षिकी (२०७८, फागुन–५) मा प्रधानमन्त्री शेरबहादुर देउवालाई चिठी लेखिन् देवीले, ‘यस वर्ष मेरी छोरी ३३ वर्षकी हुने थिइन् । उनका लागि मेरा धेरै सपना थिए, जसरी तपाईंका छोराप्रति तपाईंका सपना छन्... ।’

...

महाराजगन्ज टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभागमा न्यायको पर्खाइमा छ– मैनाको निर्जीव अस्थिपञ्जर । २०६० फागुन ५ गते देवी सुनारको मन एक्कासि चिसियो । घरको आँगन टेक्दा छोरी मैनालाई तत्कालीन शाही नेपाली सेनाले लगेको सुनेर उनी झन्डै मूर्च्छा परिन् । आफूलाई खोज्दै आएका सेनाले १६ वर्षकी छोरी लिएर गएको खबरले देवीको धर्ती भासिएझैं भयो । सिङ्गो आकाशले थिचेझैं भयो ।

...

काठमाडौंबाट ४५ किलोमिटर पूर्वी उत्तर, धुलिखेलबाट १५ किलोमिटर उत्तरमा पर्छ– काभ्रेको पाँचखाल । नगरपालिकाको ११ नम्बर वडाअन्तर्गत १३ किलोमिटर भित्र छ– सुनारटोल । लस्करै ११ घरधुरी भएको त्यस ठाउँबाट पारिका हिमालका केही भाग र केही लोभलाग्दा डाँडा प्रस्ट देखिन्छन् ।

घर नजिकै कच्ची मोटरबाटोमा सुनारटोलका बालबालिका खेलिरहन्थे । अहिले समय फेरिएको छ । मानिसहरू गाउँमा भेटिँदैनन् । भेटिएकाहरू पनि खेल्ने उमेरका छैनन् । खेल्ने उमेरका भए पनि अब सडकमा खेल्दैनन् । ट्रिपरको धूलोले वस्तीलाई फुङ्ग अनि उराठलाग्दो बनाइदिएको छ ।

२०४४ भदौ २ को बिहान मैना जन्मिँदा उनका हजुरबुवाले गाउँले डाकेर भोज खुवाएका थिए । मैना आफ्ना भाइहरूको स्याहार गर्दै हुर्केकी । गाउँमा मेलापात गरेकी । स्कुल पुग्न घरको काम सक्नैपर्ने । मेलापात, ज्याला, मजदुरी गरेर गुजारा गरिरहेको परिवार । देवी सुनारले मेलापात, घाँस–दाउरा गर्दा पनि डोकोमै बोकेर हुर्काएकी थिइन् मैनालाई ।

मैना ५ वर्ष पुग्दा देवीले गाउँकै एक साथीसँग उनको मित लगाइदिएकी थिइन् । भगवती मावि घर नजिकै थियो । मितिनीसँग आउजाउ गर्दागर्दै मैनालाई नियमित स्कुल जाने बानी परिसकेको थियो । साथीहरू सुशीला र सुनितासँग मैना बनमाराका पात चुँडेर चुङ्गी खेल्थिन्, लुकामारी खेल्थिन्, लक्कु ढलाइ खेल्थिन् । मैना हक्की र निडर थिइन् ।

साथीहरूकी प्यारी थिइन् । झगडा परे मिलाउँथिन् । भित्तेपत्रिका लेख्थिन् । दैनिकी लेख्थिन् डायरीमा । पत्रकार बन्ने लक्ष्य लिएकी थिइन् । आमा भने छोरीलाई ‘चलचित्र कलाकार बन्नुपर्छ’ भन्थिन् । परिवारमाथि समाजको दृष्टिकोणसमेत बुझ्न भ्याइसकेकी थिइन् मैनाले । जातीय उत्पीडनको प्रतिकार गर्नुपर्छ भन्थिन् आमासँग । ‘सर्लक्क परेको सिल्की कपालमा सधैं बाङ्गो सिउँदो बनाउने, काला ठूला करुणामय आँखाको कोसमा लामा बाक्ला परेली, साना कान, गोलो अनुहार, ठूला निधार, सपक्क मिलेको दाँत भएकी छोरी हाँस्दा नायिका करिश्माजस्तै देखिन्थी’, देवी स्मृतितिर पस्छिन् ।

मैना काठमाडौं बस्ने फुपू दिदीसँग सहर घुम्न चाहन्थिन्, धरहरा हेर्न चाहन्थिन् । त्यो रहर अधुरै रह्यो । अहिले भने काठमान्डुमै छिन्– सासबिनाको अस्थिपञ्चर भएर । डीएनए परीक्षणलगायतको लामो अनुसन्धानबाट शव मैनाकै भएको खुले पनि आमा देवीको प्रण छ– न्याय नपाएसम्म छोरीको अन्तिम संस्कार नगर्ने ।

...

मैनापछि देवीले दुई छोरालाई जन्म दिइन्– राम र आदित्य । मैनाको हत्या हुँदा राम ११ वर्षका थिए । आदित्य ९ वर्षका । १८ वर्षपछि राम दिदी स्मरण गर्छन्, ‘म छुच्चो थिएँ । प्रायः बाआमा र दिदीलाई घुर्क्याउँथे । स्कुल जान्नथेँ । दिदी सम्झाइबुझाइ गर्थिन् । मलाई ज्ञानी मान्छे भन्दै नुहाइदिन्थिन्, तेल लगाइदिन्थिन्, लुगा लाइदिन्थिन्, पढ्न सिकाउँथिन् । रिसाउँदा फकाउँथिन् ।’

मैनालाई घरबाट सेनाले लैजाँदाका प्रत्यक्षदर्शीमध्ये एक हुन्– राम । ‘बिहानै सैनिक हाम्रो घर आए । घरको ढोका फुटाएर भित्र छिरे । ओछ्यानका सिरानी पल्टाएर केके खोजेजस्तो गरे । केही भेटेनन् । बन्दुक बोकेका सैनिकले मलाई डोरी ल्या भनेर हकार्‍यो । त्यही डोरीले दिदीलाई पछाडि हात बाँधेर लिएर गए । म रुँदै परसम्म चिच्याउँदै गएँ । एउटा सेनाले मलाई छातीमा हान्दै पछाडि धकेलिदियो । म सिस्नोको घारीमा बजारिन पुगेँ । उठेर हेर्दा उनीहरू निकै पर पुगिसकेका थिए । मलाई सिस्नोले पोलेको पनि याद भएन । त्यस दिन दिदीले कालो कुर्ता–सुरुवाल र प्लास्टिकको चप्पल लगाएकी थिइन् ।’ कसैले कालो कुर्ता–सुरुवाल लगाएको देख्दा राम दिदीलाई सम्झन्छन् ।

देवीको माइती गाउँमा माओवादीले सताउन थालेका थिए । उनी माइत पुग्नु अघिल्लो दिन गाउँका एक जना शिक्षकको घरबाट अन्न, बाख्रा, भाँडाकुँडा लुटेका थिए माओवादीले । त्यही रात ती शिक्षकको भैंसी देवीको दाइको गोठमा ल्याइपुर्‍याएका थिए माओवादीले । भैंसी कसरी त्यहाँ आयो ? गाउँमा बिहान हल्ला भयो । शिक्षकले उनका दाइविरुद्ध सेनालाई सुराकी लगाए । त्यसपछि सेना देवीको दाइको घर पुग्यो । यो २०६० फागुन १ मध्यरातको घटना थियो ।

देवी माघ २९ मै आफ्नो माइती पोखरीचौँरी पुगेकी थिइन् । फागुन १ गते दिउँसो माओवादीले विभिन्न कार्यक्रम गर्दै गाउँमा ‘जनयुद्ध दिवस’ मनाए । कार्यक्रममा देवीलगायत अन्य आफन्त जबरजस्ती सरिक हुनुपर्‍यो ।

‘त्यही रात घरको ढोका लात्तीले फोडेर सैनिकहरू भित्र पसे । भाइ दीपक, दाजु कर्ण र भदैनी रिनाको नाम लिइरहेका थिए । हामी भुइँमा लस्करै सुतेका थियौँ । मैले सुतेको बुइगलको झ्यालबाट बाहिर हेरेँ । बुट्टेदार हरियो ड्रेसमा पूरै बारीका पाटा भरिएका थिए,’ देवी सम्झन्छिन्, ‘हामीलाई चोटामै आएर घिसार्दै आँगनमा पुर्‍याए । तिमीहरू सब माओवादी भन्दै लात्ताले भकुरे । भदैनी रिनालाई आँगनमा ल्याए । माओवादी... आतंककारी... भन्दै अपशब्द बोल्दै भकुरे । भदैनीलाई पछाडि हात बाँधेर बुटले हान्दै लिएर गए । उनी छुटकारा पाउन खोज्थिन्, सक्दिनथिन् । रोइन्, कराइन् तर छाडेनन् ।’

अलिपर बारीको पाटामा पुर्‍याएर बत्ती निभाए । छेवैको गोठमा लगेर बलात्कार गरे । एकछिनपछि बन्दुक पड्केको आवाज सुनियो । सँगै भदैनीको पनि आवाज आयो । देवीले सोचिन्– सेनाले बन्दुक अन्तै पड्काएर तर्साएको मात्रै होला । तर, बिहान हेर्दा भदैनीको आँखा र छातीमा गोली हानेका रहेछन् ।

भोलिपल्ट गाउँकै सुभद्रा चौलागाईंलाई पनि मारेको हल्ला चल्यो । त्यही दिन सेनाले अर्का निर्दोष टसी लामालाई पनि माओवादी भन्दै मारेको थियो । सेनाको रिपोर्टमा माओवादी भिडन्तमा मारिएको भनियो । यी सब घटनाका प्रत्यक्षदर्शी थिइन् उनी, सबै सत्य बाहिर ल्याउने सोचिन् देवीले । फागुन ३ गते मानवअधिकारकर्मीको टोली पुग्यो गाउँमा । देवीले सबै विवरण बताइन् । भोलिपल्ट सेनाको ज्यादतीमाथि समाचार छापिए । देवीको फोटोसहितको समाचारको प्रभाव उल्टो पर्‍यो । फागुन ५ मा सेनाले देवीको घरबाट मैनालाई पक्रियो । ‘देवीलाई नल्याएसम्म नछाड्ने’ भन्दै सेनाले बाबुकै अघिल्तिर पछाडि हात बाँधेर मैनालाई पाँचखाल ब्यारेक लगे ।

‘श्रीमान् मलाई लिन चौरीदेउराली पुग्नुभयो । घरबाटै अपहरण गरिएकी छोरी लिन म गाउँलेसहित ६ फागुनमा ब्यारेक पुगेँ । तर, उनीहरूले ल्याएको छैन भन्दै फर्काइदिए । त्यसपछि म जिल्ला प्रशासन कार्यालय, सैनिक मुख्यालय र क्याम्पहरू धाउन थालेँ,’ देवी सम्झिन्छिन् । काभ्रेका तत्कालीन सीडीओ शम्भु कोइरालाले देवीलाई भनेका थिए, ‘माओवादीले लगे होलान् । सेनाले लगेका हुन् भने त तेरो छोरी फिर्ता आउँदिन । सेना जंगलको अर्नाको राँगोजस्ता भका छन् ।’

...

न्याय माग्न देवी धेरै ठाउँ धाइन् । खाली खुट्टै काठमाडौं पुगिन् । आतंकका कारण आफन्तकै साथ पाइनन् । ‘निरक्षर थिएँ । छोरीको हत्यापछि मैले काठमाडौंको प्रेरणा महिला विद्यालय वसन्तपुरमा ४ कक्षासम्म १५ महिना पढेँ । अहिले पत्रिका पढ्न राम्ररी आउँछ । शुद्ध लेख्न जान्दिनँ । संसारको कुनै पनि आमालाई यस्तो दुःख नपरोस्,’ देवी रुन्छिन् । न्याय माग्दामाग्दै मैनाका बुबा बिते ।

बेपत्ता भएको लामो समयसम्म पनि देवीलाई आशा थियो– सेनाकै उच्च अधिकारीहरूले मैनालाई घरेलु कामदार बनाएर राखेका होलान्, एक दिन फर्की आउलिन् । तर, ‘त्यो दिन’ कहिल्यै आएन । राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त कार्यालयको सहयोगमा प्रहरीले पाँचखाल ब्यारेकको जंगलमा २०६३ चैत ९ मा मैनाको शव उत्खनन गर्‍यो । घटनामा संलग्न सैनिक अधिकृतहरूको अदालतमा बयान थियो– मैनालाई पक्राउपछि पानीमा डुबाएर र करेन्ट लगाएर यातना दिइएको । डीएनए परीक्षणपछि शव मैनाकै भएको पुष्टि भयो । ‘जिउँदी छोरी लगेको सेनाले हड्डी मात्रै दियो,’ देवी भन्छिन् ।

...

लगभग पँाँच वर्षअघि जिल्ला अदालत काभ्रेले तीन सैनिक अधिकृतलाई दोषी ठहर गरेको थियो । जेल सजाय तोकिएका तीनैलाई अझै कारबाही गरिएको छैन । तत्कालीन काभ्रे जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलले २०७४ वैशाख ३ मा तालिम केन्द्रका तत्कालीन सहसेनानी सुनीलप्रसाद अधिकारी, सहसेनानी अमित पुन, महासेनानी बबी खत्रीलाई ५ वर्ष कैद हुने फैसला गरेका थिए । सहसेनानी निरञ्जन बस्नेतलाई चाहिँ अदालतले सफाइ दियो । न्यायाधीशले फैसलामा लेखेका थिए, ‘कसुर २० वर्ष कैदकै गरे पनि ज्यान मार्ने उद्देश्य नदेखिएकाले पाँच वर्ष कैद गर्नु न्यायोचित हुने न्यायकर्ताको चित्तमा लागेको ।’

मैना हत्याको १८ औं वार्षिकीमा प्रधानमन्त्री देउवालाई चिठीको अन्त्यमा देवीले लेखेकी छन्, ‘अदालतको आदेशको सम्मान गर्दै हत्याराहरूलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्राथमिक दायित्व तपाईंले पूरा गरेको हेर्न चाहन्छु ।’ के प्रधानमन्त्रीले देवीको चिठीसम्म पढ्न भ्याए होलान् ?

प्रकाशित : फाल्गुन २८, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?