३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८
प्रसव

त्यसपछि म थाकें...

बच्चा निस्कने समयमा बल आवश्यक पर्ने भएकाले शक्ति खर्च नगर्न आमा सम्झाउनुहुन्थ्यो । दुखाइ व्यवस्थापनका लागि मैले श्वास लिने प्राकृतिक विधि कोसिस गर्न खोजेँ, तर त्यसमा केन्द्रित हुन सकिनँ । म थाकेँ ।

एक दिन बिहानै साढे चार बजे हल्का पेट दुख्यो । केहीबेरमा महिनावारीमा जस्तै रगत बग्यो । गर्भावस्थामा पहिलोपटक यस्तो भएको थियो, म आत्तिएँ । आमा, बबा र दाइलाई उठाएँ । करिब छ बजे हस्पिटल पुग्यौं । श्रीमान्‌लाई पनि खबर गरियो, जो कन्ट्याक्ट ट्रेसिङमा परेकाले होम आइसोलेसनमा थिए । त्यतिबेला कोरोनाको पहिलो लहर अन्तिम चरणमा थियो । इमर्जेन्सी वार्डमा बच्चाको धड्कन जाँच भयो, ठीक थियो । मलाई भर्ना हुन भनियो ।

त्यसपछि म थाकें...

नियमित जाँच गरिरहेका डाक्टर आठ बजेतिर आए/जाँचे । केही असहज वा दुखाइ थिएन । व्यथा सुरु नभएकाले परिवारका अरू सदस्यले कुर्नुपर्ने जरुरी ठानिनँ । सबैलाई आ–आफ्नो काममा जान भनेँ । मेरो साथमा आमा हुनुहुन्थ्यो । यसबीच श्रीमान्ले पीसीआर टेस्ट गरे, उनको दोस्रो परीक्षण थियो त्यो । दुर्भाग्य यसपटक पनि पोजेटिभ देखिए ।

१० बजेतिर प्रसव व्यथा सुरु भयो, त्यसपछि क्रमशः च्याप्दै लग्यो । दुखाइ असह्य हुँदै गयो । कोठामा आमा र म मात्रै थियौं । सरसफाइ गर्ने दिदी मलाई हेर्दै भनिरहनुभएको थियो, ‘भर्खर व्यथा सुरु भएको छ, यो दुखाइ त केही होइन अझै धेरै सहनु छ ।’ उनको यस्तो कुरा सुनेर म निकै हतास भएको थिएँ । त्यसमाथि नर्स पनि बेलाबेला उही कुरा दोहोर्‍याइरहन्थिन् । मलाई भने दुखाइ असह्य हुँदै गइरहेको थियो, त्यसमाथि अझै घन्टौं लाग्ने सुनेपछि मैले आत्मविश्वास गुमाइरहेकी थिएँ । यस्तो कठिन समयमा मनोबल बढाउनु त कता हो कता उल्टो यस्तो सुन्नुपर्दा मलाई निकै नमज्जा लागेको थियो । मेरो पीडा देख्न नसकेर आमाले भन्नुभयो, ‘खुरुक्क अपरेसन गरेको भए यस्तो कष्टै भोग्नु पर्दैनथ्यो ।’ अस्पतालमा सोधपुछ गरेर शल्यक्रियाबाट बच्चा सहजै जन्मिन्छ भन्ने थाहा पाउनुभएछ आमाले । आफूले तीन बच्चा जन्माउँदाको कहालीलाग्दो प्रसव पीडा छोरीले सामना गरिरहँदा आमा दुःखी हुनु स्वाभाविकै थियो । उहाँका सबै व्यथा लामा अवधिका थिए । सानो दाइको पालामा आमालाई पाँच दिनसम्म व्यथा लागेको थियो । यस्तो अनुभवबाट गुज्रनुपरेको आमाले मेरो सजिलोका लागि शल्यक्रिया सुझाउनुभएको थियो । मलाई पनि त्यतिबेला दुखाइ सहन नसक्दा शल्यक्रिया गरेको भए हुने भन्ने नलागेको होइन । तर, बिहानै डाक्टरले भनेका थिए, ‘भरे व्यथा लागेर दुखेपछि अपरेसन गरिदिनू भन्ने होइन है ।’

अघिल्ला जाँचमा डाक्टर प्राकृतिक वा शल्यक्रिया कुन अपनाउने भनेर सोधिरहन्थे । मेरो र गर्भाशयको बच्चाको स्वास्थ्य सामान्य भएकाले प्राकृतिक नै कोसिस गर्नुपर्छ भन्ने गर्थे । अन्तिम पटकको जाँचमा उनले यही कुरा दोहोर्‍याएका थिए । परिस्थितिअनुसार, जे उत्तम हुन्छ त्यही गर्ने विचारमा थिएँ म ।

‘कन्ट्र्याक्सन’ झन् बलियो भएर छिटोछिटो आउन थाल्यो । यो ‘एक्टिभ लेबर’ को चरणमा हुने गर्छ । दुखाइमा गुणात्मक वृद्धि भयो । शरीरका सबै हड्डी भाँचिएजस्तो । शरीरभित्रका अंगहरू एकसाथ बाहिर निस्किन लागेझैं हुन्थ्यो । तल्लो भागको ढाड खस्नै लागेजस्तो भएको थियो । पीडा सहन नसकी म ठूलै स्वरमा रोएँ । त्यसबेला बच्चा निस्कने समयमा बल आवश्यक पर्ने भएकाले शक्ति खर्च नगर्न आमा सम्झाउनुहुन्थ्यो । दुखाइ व्यवस्थापनका लागि मैले श्वास लिने प्राकृतिक विधि कोसिस गर्न खोजेँ, तर त्यसमा केन्द्रित हुन सकिनँ । म थाकेँ । यतिबेलासम्म मेरो धैरै सेन्टिमिटर डाइलेट (घर खुलेको) भइसकेको हुनुपर्छ । तर, प्रगति भइरहेको छ कि छैन जानकारी गराइएन । केहीबेरमा मलाई जाँच गरियो, त्यही क्रममा पानी फुटाइयो । अनि प्रसूति कक्षमा लगियो ।

दुखाइ यथावत् थियो । कसैले मेरो ढाड सुम्सुम्याइदिए मात्रै पनि धेरै राहत मिल्ने थियो भन्ने लाग्यो । ‘यहाँसम्म राम्रो गरिरहेकी छौ, अब केही समय बाँकी छ, तिमीले सक्छौ’ भनी हौसला दिनुको सट्टा ‘नचिच्याउनू–नचल्नू’ भनिरहेका थिए नर्सहरू । प्रसवमा भएका महिलाका चिकित्सकीय र मनोवैज्ञानिक आवश्यकता पूरा गर्नु स्वास्थ्यकर्मीको दायित्व हो । तर, तिनले यसलाई बिर्सेका थिए । यस्तो बेला दुखाइ कम गर्न नर्सहरूको राम्रो बोली–वचनले पनि धेरै मद्दत गर्छ भन्ने मलाई थाहा थियो । तर, उनीहरूको व्यवहार हेर्दा यो थाहा पाएर पनि बुझ पचाएझैं गरिरहेका थिए भन्ने लाग्यो । त्यसबेला थकानले म निदाउन खोजेँ । नर्सहरू ननिदाउन भन्थे । यत्तिकैमा एक जना पुरुष आए र उनको सहयोगमा केही समयको प्रयासपछि बच्चा जन्मियो । त्यसबेला दिउँसोको १ बजेको थियो ।

केहीबेरपछि मलाई बच्चा देखाइयो । उसको अनुहार प्रस्ट देख्न सकिनँ । दुखाइले आँखा धमिलो बनाएको थियो । अरूलाई जस्तो बच्चा पहिलोपटक देख्दा ममा न सबै पीडा हरायो न खुसीले आँखा नै रसाए । ममा कुनै भावना आएन । बच्चाप्रति तुरुन्तै आत्मीयता नहुनु सामान्य हो । करिब २० प्रतिशत आमा–बुबालाई मेरोजस्तै हुने अध्ययनहरूले देखाएको छ । समयसँगै बच्चासँग आत्मीयता बढ्दै जाला भन्ने ठानेँ । मलाई प्राकृतिक तरिकाले बच्चा जन्माउन सकेकामा गर्व महसुस भइरहेको थियो । बच्चा जन्मेपछि टाँका लगाउने काम सुरु भयो । यत्रो दुखाइ छिचोलेपछि पनि फेरि अर्को दुखाइ सहनुपर्ने भयो । लामो समयसम्म उठ–बस गर्नै गाह्रो भयो । प्रसूति कक्षबाहिर कुरेर बस्नुभएकी आमा रुनुभएछ । बल गर्न नसकेकाले नर्सले भ्याकुमबाट बच्चा तान्नुपर्छ भनेकाले पनि उहाँ आत्तिनुभयो । भ्याकुम–डेलिभरीको तयारी हुँदै गर्दा बच्चा स्वाभाविक तरिकाले जन्मियो । प्रविधि र स्वास्थ्य विज्ञानमा भएका विकाससँगै उपचारका नयाँ–नयाँ विधि सबैको पहुँचमा पुगेका छन् ।

हाम्रा ग्रामीण तथा दुर्गम क्षेत्रमा समयमै उपचार नपाएर गर्भवती महिलाको मृत्यु हुनेगर्छ । म सहरी क्षेत्रमा भएकाले सहजै अस्पताल जान सकेँ, स्वास्थ्य ठीकठाक भएकाले पीडै सहेर भए पनि बच्चालाई प्राकृतिक जन्म दिएँ । विशेषतः सहरी क्षेत्रमा शल्यक्रिया, भ्याकुम–डेलिभरी वा व्यथा लाग्ने औषधिजस्ता आधुनिक विधिले प्राकृतिक तरिकाले बच्चा जन्माउने क्रम घटेको छ । बच्चा जन्मिने दिन नजिकिँदै जाँदा प्रसूतिलाई लिएर गर्भवती महिला निकै डराउने गर्छन् । व्यथा लाग्दा कस्तो हुन्छ ? के कुरामा ध्यान दिनुपर्छ ? दुखाइ व्यवस्थापन कसरी गर्न सकिन्छ ? समस्या आए कसरी सामना गर्ने ? नियमित चेकजाँचमा डाक्टरले यस्ता जानकारी दिँदैनन् । यही मनोवैज्ञानिक डरले कतिपय महिला शल्यक्रिया विधि रोज्छन् । यस्ता अग्रिम जानकारीले गर्भवती महिलालाई आफ्नो क्षमताप्रति विश्वास जगाउन र डर हटाउन मद्दत पुग्छ । त्यसैगरी स्वास्थ्य सेवा प्रदायकको राम्रो व्यवहारले प्रसूति सहज, सुरक्षित र सकारात्मक गराउन सकिन्छ ।

प्रकाशित : माघ २९, २०७८ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?