हेमा, लतिका, लता- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कोसेली

हेमा, लतिका, लता

एउटा बेला थियो– लता घरघरै धाउँथिन् काम माग्न । अब यस्तो बेला आएको थियो– संगीतकार मात्रै होइन, डाइरेक्टर, प्रोड्युसर, फाइनान्सरसमेत उनीकहाँ धाउन थाले । अनि लताले विभिन्न सर्त राख्नुपर्ने बेला आयो । जस्तो– द्विअर्थी गीत नगाउने, ‘क्याब्रे–सङ’ नगाउने !
ध्रुवचन्द्र गौतम

गोवामा एउटा मन्दिर थियो— मंगेश मन्दिर । मंग+ईश . मंगेश । मंगेश मन्दिरको वा देवताको नाउँमा त्यहाँ एउटा गाउँ बस्यो— मंगेशी । सम्भावना यो पनि छ कि, गाउँ मंगेशी पहिल्यैदेखि थियो । मंगेशी ग्राम–वासीहरूले कुनै कालमा त्यो मन्दिर बनाएको अथवा महादेवको मूर्ति प्रकट भएकाले, गाउँलेहरूले मन्दिर बनाए र पूजा गर्न थाले । कहिलेदेखि, यो ज्ञात छैन । मंगेशी गाउँका निवासी भन्थे, अति प्राचीनकालमा । त्यसका पुजारी हुन्थे, एक पुजारीको सेखपछि उसको सन्तान पुजारी बन्थ्यो । त्यसरी कुनै बखत एक पुजारीको एक पुत्र जन्म्यो— दीनानाथ ।

पुजारी देवताको पूजन र भजन–कीर्तन पनि गर्थे । गाउँमा सबै मराठीभाषी थिए, भजन–कीर्तन पनि मराठीमै हुन्थ्यो । दीनानाथ पुजारीका पुत्र भएपनि आफू पुजारी भएनन् । अन्य छोराहरूले पूजाआजा सम्हाले । सम्भवतः पिताको मृत्यु भएपछि पारिवारिक कारणले दीनानाथ आफ्नी पत्नी शेवन्तीलाई लिएर इन्दौर सरे, महाराष्ट्रबाट मध्य प्रदेश । दीनानाथको रुचि भने गायनमा देखियो, जसले शास्त्रीय संगीत समेत सिकिसकेका थिए ।

पछि आफ्नो भाग्य फल्छ कि भनेर उनले इन्दौरबाट बम्बई सर्ने योजना तय गरे । तर, इन्दौर छँदै उनकी पत्नी शेवन्ती गर्भवती भइसकेकी थिइन् । त्यही भएर उनले प्रसवसम्म पर्खिने अठोट गरे । आर्थिक दृष्टिले मध्यमवर्गीय दीनानाथको परिवारमा पहिलोपटक एक सन्तानको जन्म भएको थियो, सन् १९२९ मा । ती कन्याको नाउँ राखियो— हेमा । त्यसपछि नै दीनानाथ श्रीमती शेवन्ती र छोरी हेमा च्यापेर बम्बई सरे । बम्बई गएर उनी नाटकमा काम गर्न थाले, शास्त्रीय संगीतको शिक्षा दिन थाले । मंगेशी गाउँबाट आएकाले उनको थर भयो— मंगेशकर अर्थात, मास्टर दीनानाथ मंगेशकर । यसरी छोरीको नाउँ भयो— हेमा मंगेशकर ।

नभन्दै दीनानाथ मंगेशकरलाई बम्बई फाप्न सुरु भयो, उनले आफ्नै थिएटर कम्पनी खोले । उनी गायनका धुरन्धर प्रतिभा थिए । प्रसिद्ध भए सुरुमा, त्यसपछि प्रख्यात भए । नाउँ सर्वत्र चल्न थालेपछि उनका मित्र बने, शिष्य बने । यसरी उनको गुजारा पनि राम्रै चल्न थाल्यो । छोरी हेमाको जन्म उनका लागि लच्छिनको साबित भयो । आफ्ना बाबुको संगीतको रियाज हेमा शिशु बेलैदेखि सुन्थिन्, ध्यानपूर्वक । कहिलेकाहीँ उनले पिता सँगसँगै ओठ पनि चलाउँथिन्, गुनगुनाएझैं । हेमाकी आमा शेवन्ती खाँटी मराठी संस्कारकी थिइन् । उनी पारीवाला सेतो धोती मराठी गाउँले किसिमले लगाउँथिन् । पुना, बम्बईमा मैले पनि त्यस्ता महिला प्रशस्तै देखेको छु । जस्तो माछा बेच्ने केटीहरू रङविरङका धोती लगाएर र धोतीका टुप्पो अघिल्तिरबाट पछिल्तिर लगेर कम्मरमा घुसार्थे । महाराष्ट्रका गाउँमा अझै त्यो परम्परागत चलन छ । तर, हेमाले आमाको शैली समातिनन् । उनी फ्रक लगाउन थालिन्, पछि धोती साधारण किसिमले लगाउँथिन् । हो, रङ भने आमाकै मन पराइन् उनले पनि— श्वेत धवल सारी । यसलाई सरस्वतीको वर्णन गर्दा ‘या शुभ्र वस्त्रावृतार’ भनिन्छ ।

एकदिन हेमा एक शास्त्रीय राग सुनिरहेकी थिइन्, दीनानाथका एक शिष्यले गाइरहेका थिए । एक्कासि पाँच वर्ष पनि नकाटेकी बालिकाले बीचैमा भनिन्— ‘तपाईंले गाएको रागमा यो गल्ती छ ।’

शिष्य वाल्ल पर्‍यो र भन्यो, ‘के गल्ती छ ?’

‘यो गल्ती छ । यो यसरी गाउनुपर्छ, सुन्नुस् ।’

हेमाले शिष्यलाई चकित पार्नेगरी त्यो राग सच्याएर सुनाइदिइन् । शिष्य बालिकाको सुरको ज्ञानमा नतमस्तक हुँदै डुब्यो ।

शिष्यले अति उत्सुक भएर सोधे— ‘तिमी को हौ र यहाँ कसरी आयौ ?’

‘म महान् शास्त्रीय गायक श्री दीनानाथ मंगेशकरकी पुत्री, सुश्री हेमा मंगेशकर हुँ ।’ यो घटना फिँजिएर मास्टर दीनानाथसम्म पुग्यो । उनी पनि छक्कै परे । बेलुकीपख घर आएर उनले हेमालाई डाके । हेमा डराउँदै आई— ‘के भयो बाबा ?’

बाबाले भने, ‘दिउँसो गाएको राग मेरा अघिल्तिर गाऊ त ।’ हेमाले अलिकति हच्केर भए पनि गाइदिईन् । छोरीको सुरमा मुग्ध भएका दीनानाथले भने— ‘आजदेखि म तिमीलाई पनि संगीतको शिक्षा दिन्छु ।’

उनले त्यसै क्षण हार्मोनियम ताने र छोरीलाई अघि गाएको राग नै, सूक्ष्म तालले सिकाउन थाले । हेमाको संगीत शिक्षाको प्रारम्भ त्यही साँझदेखि भएको थियो । उनलाई पिताले त्यो रागको सूक्ष्मता बताउँदै राग सिकाए । छोरी त्यतिकै सूक्ष्मताले टिप्थीन् । दीनानाथले त्यसैदिन एउटा काम अर्को गरे । छोरीको नयाँ नाउँ फेरिदिए । तिनताक उनको एक मराठी नाटककी बंगाली नायिका लिई— लतिका । दीनानाथ त्यो नामबाट अत्यन्त प्रभावित थिए । त्यसैले तिनैलाई सम्झँदै भने— ‘हेमा होइन, आजदेखि तिम्रो नाउँ लता, लता मंगेशकर । दीनानाथ मंगेशकरकी छोरी लता मंगेशकर ।’

त्यो एकै दिनमा धेरै घटना भए, हेमाको जीवनमा । त्यसअघि कसैले उनको गाना सुनेको थिएन । त्यसकारण उनको पहिलो ‘पर्फमेन्स’ त्यसलाई मान्न सकिन्छ । त्योभन्दा ठूलो घटना के भयो भने हेमा जन्मेको पाँच वर्षपछि फेरि जन्मिन्— लता मंगेशकरका रूपमा । उनले सिकेको र गाएको त्यो पहिलो राग थियो— धनश्री राग ।

एकदिन दीनानाथ मंगेशकरको ठूलो सम्मानको कार्यक्रम बनायो, एक संस्थाले । लता आएर भनिन्— ‘बाबा तपाईंसित म पनि जान्छु ।’

दीनानाथले भने, ‘तिमी गएर के गर्छ्यौ त्यहाँ ?’

‘बाबाले सिकाएको राग गाउँछु ।’

‘कुन राग ?’

‘राग खम्बावर्ती ।’

लताले त्यो समारोहमा धक नमानि गाएपछि सबै चमत्कृत भए । अन्य राग–गायकले आशीर्वाद दिए, पिताले अंकमाल गरे । राग धनश्री र राग खम्बावर्ती, दुवै ‘रेयर’ राग मानिन्छन्, निकै कठिन पनि । तर, लताको प्रतिभाले सहजै गाइदियो । ९ वर्षको उमेरमा गाएको त्यही गीत लताको जीवनको पहिलो ‘पब्लिक पर्फमेन्स’ थियो । यसरी लता हुने थालनी भइसकेको थियो, धेरै उतारचढावसहित ।

दीनानाथका लतापछि हृदयनाथ, मीना, उषा र आशा चार सन्तान भए ।

...

लता १३ वर्षकी हुँदा पिता दीनानाथ मंगेशकरको मृत्यु भयो । केही पछि आमाको पनि मृत्यु भयो । लता सबभन्दा ठूली त १३ वर्षकी थिइन् भने अरू त भन्ट्याङभुन्टुङ नै भन्न सकिने थिए । १३ वर्षको उमेरदेखि लताको संघर्ष सुरु हुन्छ । त्यसले गर्दा स्कुल जाँदाजाँदैकी लताले स्कुल छाडिन् । उनी मराठी रंगमञ्च र फिल्ममा काम गर्न थालिन् । बाबु जीवित हुँदै पनि उनले स्टेजमा र फिल्ममा अभिनय गर्ने, गाउने गरेकी थिइन् । हिन्दी र मराठी गरि १० फिल्ममा लताले अभियन गरिन् । पहिलो गीत मराठी फिल्म ‘मंगला गौड’मा गाएकी थिइन्, तर अन्त्यमा फिल्ममा भने त्यो गीत राखिएन । लताले मास्टर विनायकको मञ्च र फिल्ममा पनि काम गरिन् । फिल्म र गीत नचल्दा अलिक हतास त उनी बनेकी थिइन्, तर हारिनन् । उनी अन्य फिल्म संगीत निर्देशककहाँ धाउन थालिन् ।

त्यसबखत फिल्म–संगीतको दुनियाँमा नूरजहाँ, अमीर बाई कर्नाटकी, सम्साद बेगम आदिको राज थियो, पुरा एकछत्र । तिनका तुलनामा यिनको आवाज सुनेपछि संगीतकार के भन्दै ‘रिजेक्ट’ गर्थे भने— ‘तिम्रो आवाज यति पातलो र तिखो छ कि फिल्ममा यो चल्दै चल्दैन ।’ यसरी चारैतिर हन्डर खाएपछि एक दिन उनको भेट त्यसबखतका एक प्रसिद्ध संगीतकार गुलाम हैदरसँग भयो । हैदरले लताका कुरा सुनेपछि भने, ‘म तिमीलाई ब्रेक दिन्छु । हेर्नु, तिम्रो स्वरले सारालाई एक दिन पछार्नेछ ।’ त्यसबखत उनी एक फिल्ममा संगीत दिँदै थिए, नाउँ थियो, ‘मजबूर’ । यो फिल्ममा उनले एउटा गीत गाइन् । जसको बोल थियो : ‘वो गोरा छोरा चला गया...।’ ‘ब्रेक’ पाएको लताको यो गीत हिट भयो, निकै लोकप्रिय । संगीतकारहरू भन्न थाले— ‘छोरी में पोटेन्सियल तो कुछ है ।’ यही गीतले लतालाई ‘दी लता मंगेशकर’ बन्ने बाटो सोझ्याइदिएको थियो । फिल्म सन् १९४८ मा रिलिज भएको थियो, त्यसबखत उनी १९ वर्षकी थिइन् । त्यसपछि उनले फिल्म पाउन थालिन् । सन् १९४९ मा तीन फिल्म रिलिज भए । अरू पनि रिलिज भए, तर यी तीन फिल्म ‘स्म्यास हिट’ भए— अन्दाज, वरसात र महल ।

यी तीनै फिल्म हिट मात्र भएनन्, भविष्यका लागि ‘ट्रेन–सेटर’ पनि साबित भए । ‘अन्दाज’ महबूब खानले बनाएका थिए । यस फिल्मले त्रिकोणात्मक प्रेमको परम्परा सेट गर्‍यो । पछि यस्ता धेरै फिल्महरू बने— ‘अन्दाज’ परम्परामा । आजसम्म पनि हिन्दी फिल्ममा ‘अन्दाज’ को गोरेटो समातेर फिल्महरू बन्दै छन् । ‘वरसात’ पहाडी सौन्दर्यलाई झल्काउने, सहर र गाउँको प्रेम–कथामा आधारित छ । यसका निर्देशक राज कपूर थिए । राज कपूर यसअघि ‘आग’ बनाएर धेरै नचलेको ‘आगो’ तापेर बसेका थिए । तर, ‘वरसात’ देखि भने फेरि आगोमा पानी छम्केजस्तै शीतल छायो । ‘महल’ एक रहस्यमय प्रेम–कथा थियो । यो त ट्रेन–सेटर मात्र होइन, हिट पनि ठूलै भएको थियो । संयोग के भने यी तीनै फिल्ममा लताले गाएकी थिइन् । यीमध्ये पनि ‘महल’ लाई लताको भाग्य चम्काउने फिल्म भन्न सकिन्छ । ‘महल’ कमाल अमरोहीको फिल्म थियो, जसले पछि मीनाकुमारीसँग बिहे गरेका र छाडेका थिए । ‘महल’मा अशोक कुमार नायक थिए र नायिका थिइन् मधुबाला । अशोक कुमार त स्थापित कलाकार थिए । तर, ‘महल’ ले दुई जनाको भाग्य यसरी चम्कायो, तिनले फेरि कहिल्यै पछि फर्केर हेर्नु परेन । एउटा यिनै लता मंगेशकर, अर्की ‘महल’ की नायिका मधुबाला । यहाँ लताको प्रसंग छ, त्यसकारण लतातिरै जाऊँ ।

‘महल’ को गीत ‘आएगा, आएगा, आएगा आनेवाला’ लाई त्यसबखतको लोकप्रियताको हिसाबले एउटा ‘प्लस’ दिएर पुग्दैन । ‘ए’ मा कति ‘प्लस’ थप्नुपर्छ, म भन्न सक्दिनँ । यही त्यो गीत हो, जसपछि लता एक से एक सफलताको खुड्किलो चढ्दै गइन् र त्यो उचाइमा पुगिन्, जहाँ आजसम्म कोही पुग्न सकेन ।

यसअघि लताको परिवारैले जुन संघर्ष गर्‍यो, त्यसमा एउटा प्रश्न पनि उठ्ला । भाइ–बहिनीहरूले संगीतबाहेक अरू काम गरे पनि त परिवार चल्दो हो, तर किन गरेनन् ? ती कुनै धनाढ्य पनि थिएनन् । यो प्रश्न एकदम स्वाभाविक छ । तर, यसको एउटा त्यत्तिकै स्वाभाविक कारण पनि रहेछ ।

पिताको कुनै श्राद्धमा, केही चराहरूले आएर सेलाएको प्रसाद खाइरहेको दृश्य तिनले देखे । तिनलाई लाग्यो— पिताकै हंस चराहरूको रूपमा तिनलाई संगीतको आशीर्वाद दिन आएको हो र त्यो प्रसाद ग्रहण गरेको हो ।

त्यसदिन चारै भाइ–बहिनीले प्रतिज्ञा गरे, पिताको आत्माको शान्ति–सन्तुष्टिका लागि यो जरुरी छ कि हामी पनि पिताजस्तै संगीतमा समर्पित होऔं । अनि तिनले अठोट गरे— भोकभोकै मरे पनि संगीतबाहेक अन्य कर्ममा नलाग्ने । यही कारण हो जति संघर्ष गरे पनि, दीनानाथ मंगेशकरका यी चारै सन्तानले अरू कुनै काम गरेनन्, कहिल्यै पनि । संगीतमै समर्पित रहे, स्थापित भए पनि वा नभए पनि ।

अब लताको कथा । सन् १९५० देखि उनले गाउन्जेलसम्म अर्थात् २००९–१० सम्म लताले ‘राज’ गरिन् । यति मात्र होइन, स्वर–सम्राज्ञी नै भएर बसिन् । फिल्म डाइरेक्टर/प्रोड्युसर लताको गीत एउटा पनि भएन भने भन्थे— ‘लता बाईबिना कुछ अधूरा सा लगता है, नहीं ?’ अनि एउटा गीत लताले गाइदिऊन् भनेर लताको घर धाउन थाल्थे । एउटा बेला थियो— लता घरघरै धाउँथिन् काम माग्न । अब यस्तो बेला आएको थियो— संगीतकार मात्र होइन, डाइरेक्टर, प्रोड्युसर, फाइनान्सरसमेत उनीकहाँ धाउन थाले । अनि उनले विभिन्न सर्त राख्नुपर्ने बेला आयो । जस्तो— द्विअर्थी गीत नगाउने, ‘क्याब्रे–सङ’ नगाउने आदि । तर, उनी कोमल मनकी थिइन्, उनको व्यक्तित्वमा स्वाभाविक रूपमा विनम्रता थियो । सामान्य कुराकानीमा समेत त्यो कोमलता, विनम्रता झल्किन्थ्यो । सरल व्यवहार र परिधानले उनलाई भव्यता दिएको थियो । त्यसैको फाइदा लिएर कहिलेकाहीँ प्रोड्युसर/डाइरेक्टर उनलाई पगालिहाल्थे र ‘गाउन्नँ’ भनेको गीत पनि गाउन लगाउन सफल हुन्थे । त्यसमध्ये एक थियो— ‘आ...जाने जा... !’ यो नायिका हेलेनमाथि फिल्माइएको थियो, पुरापुर ‘क्याब्रे–सङ’ !

...

सन् १९४९ मा ‘वरसात’ को सफलतापछि राज कपूरको ‘आरके’ टिम नै बन्यो । त्यसमा शंकर–जयकिशन, शैलेन्द्र–हसरत, राज कपूर त भइहाले । मुकेश र लता मंगेशकर पनि मिसिए । हुन पनि राज कपूरले आफूले बनाएको फिल्ममा गायिका लताबाहेक कोहीले गाउने सोच्नै सक्दैन थिए । सन् १९५९ मा एउटा हिट फिल्म आयो— ‘अनाडी’ । फिल्म त ऋषिकेश मुखर्जीको थियो, तर टिम भने आरके टिम नै थियो धेरैजसो । नायक राज कपूर, शंकर–जयकिशन, मुकेश, शैलेन्द्र–हसरत अनि लता । केवल टिमको एक अनिवार्य हिस्सा नर्गिस छुटेकी थिइन् । ‘अनाडी’ की नायिका नूतन थिइन् । फिल्म हिट मात्र भएन, त्यसका गीतहरू एकदम सुपर–डुपर हिट भए । राज कपूर, मुकेश, शैलेन्द्रले ‘फिल्मफेयर’ अवार्ड जिते ।

लताले गाएको ‘अनाडी’ का गीत आज पनि ताजा लाग्छन् । लताले अवार्ड र उपाधि पनि प्रायः सबै पाइन्, भारतमा पाउन सकिने । ‘कोकिलकण्ठी’, ‘नाइटिंगेल’, ‘मेलोडी क्वीन’, ‘स्वर–सम्राज्ञी’ आदि कति हो कति ! उनी लन्डनको प्रसिद्ध ‘अलबर्ट हल’ मा गाउने, प्रथम भारतीय बनिन्, १९७४ मा । उनी पद्म भूषण, पद्म विभूषण अनि भारत सरकारले दिने नागरिक सम्मान ‘भारत–रत्न’ले पनि सम्मानित भइन् । (मलाई राजनीतिबाहेकको अन्य क्षेत्रका भारतीय नागरिकले ‘भारत–रत्न’ लताबाहेक सचिन तेन्दुलकरले पाएको मात्रै याद छ ।)

दादासाहेब फालके अवार्ड, फिल्म क्षेत्रको सर्वोच्च सम्मान मानिन्छ । त्यो पनि उनले पाइसकेकी छन् । ‘फिल्म फेयर अवार्ड’ भारतमा सबभन्दा लोकप्रिय र महत्त्वपूर्ण अवार्ड मानिन्छ । चारपटक पाएपछि लताले नै घोषणा गरिदिइन्— ‘मेरो नाउँ नोमिनेसन लिस्टमा नआओस् । म होइन, अवार्ड अन्य नयाँ सांगीतिक प्रतिभाले पाउनुपर्छ ।’ नत्र उनको नाउँ नोमिनेसनमा हरेक वर्ष आउँथ्यो, यसमा सन्देह छैन ।

लता सारा गायिकाको आदर्श भइन् । उनको व्यक्तित्व विनम्र तर, स्वाभिमानी । यस्तै केही कुरामा अड्डी लिएर एसडी बर्मनसँग भने उनले केही वर्ष गाइनन् । कति वर्षपछि उनीहरू मिले र फेरि गाउन थालिन् । राज कपूरसँग यस्तै भयो— ‘जिस देश में गंगा बहती है’ पछि अथवा ‘संगम’ पछि । लताले रोयल्टीको माग यसरी गर्न थालिन्, त्यो नौलो बनिदियो । दिइएको पारिश्रमिकबाहेक फिल्मको नाफामा गायक–गायिकाको पनि हिस्सा हुनुपर्छ भन्ने उनको माग थियो । यसरी कसैले पनि त्यसअघि रोयल्टी मागेकै थिएन । कतिलाई त अचम्म पनि लाग्यो— के भन्छे यो ?

यो कुरा सुनाउँदा सोझा रफीले भनेछन्— ‘हामी त गाएको पारिश्रमिक पाइहाल्छौं नि, अनि किन चाहियो रोयल्टी ?’ रफी भलाद्मी थिए, सोझो मनले भने । तर, लता मंगेशकरलाई यो कुराले चित्त नखाएपछि लताले भनिछन्— ‘म रफीसँग गाउँदिन ।’

रफीले विनम्र भएरै भनेछन्— ‘ठीक है, खुद की मर्जी ।’

यसरी रफी र लताले पाँच वर्षजति सँगै गाएनन् । तर, फिल्म इन्डस्ट्रीलाई त दुवै चाहिन्थ्यो नै । के गर्ने ? त्यसैबीच विदेशमा एउटा कन्सर्टमा गएका बेला सँगै जाने एक पत्रकारले भनेछन्— ‘लता दी, रफी साहब एक अच्छे इन्सान है ।’

त्यसबखत लताको जवाफ थियो— ‘कुछ ज्यादा ही अच्छे ।’

उनले राज कपूरलाई पनि भनिन्, ‘मलाई अतिरिक्त रोयल्टी चाहिन्छ ।’

राज कपूरले भने, ‘मैले त दिने गरेको छैन ।’

‘त्यसो भए तपाईं नदिनुस्, म तपाईंको फिल्ममा गाउँदिनँ ।’

राज कपूरले भने— ‘हेर, म एक बिजनेसम्यान हुँ, र म राज कपूर हुँ ।’

लताले पनि भनिन्— ‘म पनि यहाँ कुनै ‘रानीबाग’ मा घुम्न आएकी त होइन । म पनि त लता हुँ ।’ तर, के गर्ने ? राज कपूरलाई यता लता नभई नहुने भयो । उनले ‘बेबी’ फिल्म प्लान गरे । अनि, एक दिन पुगे लताको घर । भने, ‘हे माता, तिमी गाऊ, म रोयल्टी दिन्छु ।’ अनि लताले गाइन् पनि ।

अर्को पक्ष यस्तो पनि छ । किशोर कुमारसँग लता गाउँथिन् । तर, किशोर अत्यन्त चञ्चल र चकचके थिए । यस्तो उनको चकचक– गाउँदा कहिले उफ्रने, कहिले नाच्ने, कहिले लडीबुडी खेल्ने ! ज्यादै भएपछि शान्त स्वभावकी लतालाई मन नपरेर उनीसित गाउने अफरलाई ‘नाइँ’ भन्न थालिन् । किशोरले यो थाहा पाए र भने, ‘म पनि उनीसित गाउँदिनँ ।’

तर, फिल्ममा त ‘सिचुएसन’ अनुसार गायक–गायिका अपरिहार्य हुन्छ । लतालाई गाउन भनियो । लताले भनिन्, ‘होइन, त्यस्तरी गाउँदिन भनेको होइन, त्यस्तै परे गाउँछु पनि ।’ यता किशोर कुमारलाई भन्दा सनकी बनेरै किशोरले भनिदिए, ‘अब म लतासँग तब गाउँछु, जब उनी आएर मेरो अन्तर्वार्ता लिन्छिन् ।’

अब यो सनकलाई के भन्ने ? हार खाएर लताले लिइन् एउटा इन्टरभ्यु । त्यसको प्रदर्शन भइसकेको छ । लताले सोधिन्, ‘तपाईं गाउँदा यति चटकी ताल किन देखाउनुहुन्छ, म त सक्दिनँ त्यसरी गाउन ।’ किशोरले भने, ‘म अभिनेता पनि हुँ नि । ती सब बनावटी हुन् । अभिनय बनावटी हुन्छ । म त्यसो नगरी सक्दिनँ ।’

...

लतालाई धेरैले सरस्वतीको अवतार नै मान्छन् । अझ श्वेत सारीमा गाउँदा उनको स्वर सरस्वतीकै स्वरजस्तै लाग्छ रे ! एकपटक महान् मानिने संगीतकार बडे गुलाम अली खाँले लता सुनेपछि भने स्नेहले, ‘कमबख्त, बेसुरी तो होती ही नहीँ ।’

आज सरस्वती पूजा, अर्थात माघ २४ गते । हामीकहाँ पनि यस दिन सरस्वतीको एक मूर्तिलाई पूजा गरिन्छ । बिहान राजकृष्ण अमात्यको फोन आयो । राजकृष्ण नेता हुन्, उनी र म वीरगन्जकै हौं ।

राजकृष्णले आजकै दिन सम्झेको के कारणले भने सरस्वती पूजाका दिन उहिले हाम्रो स्कुलमा सधैं भव्य सांस्कृतिक कार्यक्रम हुन्थ्यो । त्यस कार्यक्रममा केटाकेटीदेखि म गाउँथेँ । मान्छे मन पराउँथे पनि । ती कार्यक्रममा म सुपेन्द्रसँग पनि गाउँथेँ, एक्लै पनि गाउँथे । एक्लै गाउँदा, प्रायः लता मंगेशकरकै गीत हुन्थे ।

यसमा पनि कारण छ, कहावतझैं । गायक नारायणगोपालका पिता जहिले पनि आफ्नो थालीमा भात पस्केपछि, नारायणगोपाललाई सुकी दिएर भन्थे— ‘जा त घ्यू किनेर ल्या ।’

भित्री सहरमा घर थियो, निस्किनासाथ पसल आउँथ्यो । नारायणगोपाल सुकीको घ्यू किनेर हतारहतार पितालाई ल्याएर दिन्थे । पिता घ्यू नभई भातको गाँस नहाल्ने ! एक दिन ठिंग भएर एक ठाउँमा नारायण उभियाउभियै गरे । एक छिनपछि झल्याँस्स भए, भएपछि थाहा पाए, सुकी त हातबाट कहाँ खसेछ कहाँ ? खोजे धेरैबेर । तर, पाइएन । त्यस दिन घरमा पुग्दा के भयो, त्यो मलाई नारायणगोपालले बताएनन् अथवा मलाई याद भएन । त्योभन्दा पनि महत्त्वपूर्ण स्मृति के छ भने स्वरसम्राट् के गर्न अडिए त बाटैमा र, त्यो सुकी हरायो ? वास्तवमा उनलाई टक्क उभ्याउने एउटा रेडियोको आवाज थियो । सडकमा कुनै घरबाट रेडियोमा एउटा गीत आइरहेको थियो । स्वरसम्राट् मन्त्रमुग्ध भएर त्यही गीत सुन्न थाले र, सुकी हराएछ— एक प्रकारको बेहोसीमा । त्यो गीत कसको थियो थाहा छ ? तिनै ‘क्वीन अफ मेलोडी’ लता मंगेशकरको । अनि कुन गीत थियो थाहा छ ? अनुमान गर्नुस्, पाठकगण, मिल्न सक्छ ।

त्यो गीत थियो, उही— ‘आएगा, आएगा, आनेवाला आएगा... आएगा ।’

त्यस्ती सरस्वती माताको ‘अवतार’ लता मंगेशकरको आज ‘सरस्वती पूजा’ कै दिन ९२ वर्षको उमेरमा बिहान ८ः२७ मा निधन भयो । दुनियाँलाई आफ्नो स्वरको आकर्षणले लठ्याउने लता, ‘भारत–रत्न’ आज सरस्वती पूजाकै दिन चिरनिद्रामा लीन भइन् र राजकीय सम्मानका साथ पेडर रोड ‘प्रभु–कुञ्ज’ को आफ्नो घरबाट पहिलोपटक स्वररहित निस्केर पञ्चतत्त्वमा विलीन भइन् । राजकृष्ण अमात्यले पनि यही सरस्वतीको कारण, आज सरस्वती पूजाका दिन मलाई फोन गरे किनभने बाल्यकालमा लताको गीत गाउने म पनि, अहिले उनैलाई सम्झिरहेको हुँला ।

कुनै बेला एक अर्को मित्र, दत्तात्रेय राय त फोन गर्नासाथ लयमा भन्थे— ‘नाच रे मयूर झनझना के घुँघरु... !’ अनि मात्र कुरा सुरु गर्थे । ‘नाच रे मयूर’ गीत ‘कठपुतली’ भन्ने फिल्मको हो, शंकर–जयकिशनको संगीतमा, लताले गाएको अत्यन्त लोकप्रिय गीत । मैले यही सरस्वती पूजाकै दिन स्टेजमा गाएको गीत थियो, जुन दत्ता सधैं सम्झन्थे । अब ती त्यस्तरी सम्झने मित्र छैनन् यो दुनियाँमा ।

लता मंगेशकर सबैलाई माया गर्थिन् । प्रधानमन्त्री नरेन्द्र मोदी जन्मदिनमा भेट्न जान्थे, ‘लता दिदी’ भन्थे र उनको घरमा बेलाबेला जाँदा गुजराती खाना ख्वाउँथिन् रे लताले । अटलबिहारी, इन्दिरा गान्धी, शरद पवार सारा राजनीतिज्ञ त के कुनै पेसाका पनि विशिष्टदेखि सामान्यसम्म सबै प्रभावित थिए ।

एउटा घटना छ । लताले ‘फिल्म फेयर’ त लिन्न भनिन् । तर, फिल्म–फेयरले दुई पटक अवार्ड लिन बाध्य बनायो उनलाई । एउटा ‘लाइफ टाइम अचिभमेन्ट फिल्म फेयर’ र अर्को ‘स्पेसल अवार्ड, फिल्म फेयर’, यी अवार्ड फेरि प्रतियोगितात्मक नभएर योगदानात्मक हुनाले लिइन् । त्यसैले भनिन्छ— ‘अवार्ड’ नै लताको हातमा परेर धन्य हुन्थ्यो । सन् १९६३ मा प्रदीपले लेखेको र मदनमोहनले संगीत दिएको गीत ‘ए मेर वतन के लोगों, जरा आँख मे भर लो पानी, जो सहिद हुए है उनकी, जरा याद करो कुर्वानी’ गाएपछि लतालाई तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले श्रोताका रूपमा बसेर सुनिरहेका थिए । लतालाई आफूनिर बोलाएर, आँखाभरि आँसु पार्दै भनेका थिए— ‘बेटा आज तुमने मुझे रुला दिया ।’

लता एउटा कुरासँग भने घृणा नै गर्थिन्– रक्सीसँग । विदेशको कुनै कन्सर्टमा एक दिन वाद्यवादकले रक्सी खाएछ । लता सबको हालचाल सोध्दै त्यहाँ पुगिन् । वाद्यवादकले भन्यो, ‘विदेश में थोडा–थोडा... ।’ अलिक लठ्ठिएको हुनाले ठट्टाको स्वर हुँदो हो । त्यसबखत लताले केही भनिनन् । तर, अर्को पटकदेखि उसलाई कुनै कन्सर्टमा लगिनन् । यो घृणासँग एउटा अत्यन्त करुण–कारण जोडिएको छ । लताका पिता दीनानाथ मंगेशकर एकदम प्रख्यात र ठूला संगीतकार थिए । तर, उनको स्वर पातलो थियो । दीनानाथलाई पुरुष स्वर पातलो भएको सुहाउँदैन भन्ने लाग्थ्यो । त्यसकारण उनी चिन्तित रहन्थे । एकदिन कुनै मित्रले सल्लाह दियो— एक–एक चम्चा ब्रान्डी सुत्ने बेलामा खायो भने स्वर मोटो हुन्छ, केही दिनमा ।

दीनानाथ लागे, एकएक चम्चा ब्रान्डी सेवन गर्ने उपचारमा । क्रमशः स्वर त बाक्लिएन, ब्रान्डीको यात्रा भने बाक्लिँदै गयो । चम्चा पेगमा, पेग ग्लासमा, ग्लास बोतलमा परिणत हुँदै गयो । अनि उपचार लतमा परिणत भयो । ब्रान्डी ह्वीस्कीमा परिणत भयो । वास्तवमा त्यही ‘ब्रान्डीको बोतल’ ले लताका पिताको ज्यानै लियो । अनि लता रक्सीसँग कसरी घृणा नगरून्, यति करुण कारण भएपछि ।

कस्तो लाग्ला, त्यस्ती महान् गायिका सरस्वतीकण्ठी लता मंगेशकर गाउँदागाउँदै एकाएक चुप लागुन्, अझ सधैंका लागि चुप लागुन् ? गिनिज बुकमा सबभन्दा बढी गाउने गायिका, धेरै भाषामा गाउने गायिकाको मौनताले उत्पन्न गरेको अनन्त सन्नाटा ? (लताले नेपालीमा पनि गीतहरू गाएकी थिइन्, फिल्मी र गैरफिल्मी ।)

सम्भवतः उनी सामु त मौन पनि मधुर भएर भन्ला एकाएक : नाम गुम जाएगा, चेहरा ये बदल जायगा/मेरी आवाज ही पहचान है...।

लता कुनै बिर्सने विषय हो र ? जावेद अख्तरकै शब्दमा म पनि सहमत छु : लता दिदी जैसी न कोई था, न कोई है, न कोही होगा ।

बाहिर भारतका प्रधानमन्त्रीहरू जाँदा कुनै विदेशी सरकार प्रमुखले भनेको सम्झन्छु : हामीसँग तपाईंसँग भएका सबथोक प्रचुर छन् । दुई कुरा छैनन्– एक ताजमहल, अर्को लता मंगेशकर । अब भन्ने बेला आएको छ— आज देखिने ताजमहल छ, र सुनिने लताको आवाज ।

लताको आवाज सुन्नु र ‘फिल’ गर्नु नै उनलाई वास्तविक श्रद्धाञ्जली हुन्छ । अहिले म त्यही श्रद्धाञ्जली दिन चाहन्छु, लता मंगेशकरलाई ।

प्रकाशित : माघ २९, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्

एक थिए सितारा

तिनताक नायक–नायिकालाई वास्तविक ठानेर तिनको रोमान्सको चर्चा हुन्थ्यो, जुन आजसम्मै यथावत् छ । दिलीप कुमारको पनि लगभग सारा नायिकासँग प्रेम–सम्बन्धको चर्चा चल्यो– मधुबाला, नर्गिस, वैजयन्तीमाला आदि । तर, धेरैजसो नायिकासँग उनको बोलचालसमेत थिएन । दिलीप कुमार डेढ महिनाअघि बिते, तर आख्यानकार ध्रुवचन्द्र गौतमले उनको कथा सजीव बनाएका छन्
ध्रुवचन्द्र गौतम

सन् ५० को दशकमा एसियाका सिनेमाप्रेमीहरू तीन भागमा बाँडिएका थिए— दिलीप कुमार, राज कपूर र देवानन्द ! अरू पनि थिए, तर मूलतः यी तीन नायक थिए, जसले सम्पूर्ण उक्त जनसंख्यालाई थामेका थिए । 

मेरा दुई मित्रहरूमा केटाकेटीदेखि नै एउटा देवानन्द–भक्त थियो, अर्को थियो राजकपूर–भक्त । हामी त्यसबखत प्रशंसकलाई ‘भक्त’ भन्थ्यौं ।

त्यस अर्थमा केटाकेटी बेलादेखि नै मलाई दिलीप–भक्त भन्थे उनीहरू । म वास्तवमा त्यस बेलादेखि नै दिलीप कुमारको प्रशंसक थिएँ र सधैं भइरहें ।

त्यसबखतका पत्रिकाहरूमा अंग्रेजी भए, ‘थ्री बिग’ र हिन्दी भए ‘तीन बडे’ भनेर तिनका तस्बिर छापिन्थे । तैपनि मलाई यिनीहरूमा दिलीप कुमार नै श्रेष्ठ अझ सर्वश्रेष्ठ लाग्थे ।

दिलीप कुमारका भाइ नसीर खाँ (जो आफैं पनि कलाकार हुन्) मार्फत देवानन्द र दिलीपको चिनजान भएपछि देवानन्दले लेखेका छन्, ‘दिलीप कुमार, द बिगेस्ट, क्यारिस्म्याटिक एक्टर अफ इन्डियन स्क्रिन ।’

राज कपूरले स्वीकार गर्दै भनेका छन्, ‘तू सी ग्रेट एक्टर हो, लाले !’

दिलीप कुमार कसरी दिलीप बने ? ती त एक खानदानी फल व्यापारी थिए र चौध वर्षको उमेरसम्म उनले कुनै पनि फिल्म हेरेका थिएनन् । उनले १४ वर्षको उमेरमा हेरेको कुनै अंग्रेजी फिल्म थियो । त्यसबखत कसैले अनुमान पनि गर्न सक्दैनथ्यो, एकदिन तिनै दिलीप कुमार ‘मेथड एक्टिङ’ पहिलो पटक विश्वमा परिचित गराउने भारतीय सिनेमाका ‘द दिलीप कुमार’ बन्नेछन् र, अझ एकदिन भारतीय सिनेमाको ‘द लास्ट एम्परर’ भनेरै उनीमाथि ग्रन्थ लेखिन्छ !

प्राचीनकालमा एउटा ‘पुष्पपुर’ भन्ने जनपद थियो रे । त्यसै जनपदलाई कालान्तरमा, अगाडि आउने सहर भनेर पेसावर नाउँ दिए– मुगल बादशाह अकबरले । आज पनि त्यस सहरलाई ‘पेसावर’ भनिन्छ, अंग्रेजकालमा ‘फ्रन्टियर’ नाउँले पनि सम्बोधन गरिन्थ्यो ।

पेसावरको पुस महिनाको एउटा हाड कमाउने जाडो बिहान । कुहिरो वातावरणभरि थियो ।

त्यस्तो काम–छुट्ने जाडोमा, पेसावरको एक घरमा आयशा बेगम नामक एक महिला, लेबर–पेनले छट्पटाइरहेकी थिइन् । ११ डिसेम्बर १९२२ का दिन आयशाले आफ्नो तेस्रो सन्तानलाई जन्म दिइन् । तिनको नाउँ राखियो– युसुफ खान । पिता, जो फलका थोक व्यापारी थिए, उनको नाउँ सरवर खान थियो ।

केटाकेटीदेखि नै उनी प्रकृतिमा रमाउँथे । उनको परिवार पछि देवलाली भन्ने ठाउँमा सर्‍यो, त्यसपछि बम्बई । बम्बईको क्रफोर्ड मार्केटमा उनको फलफूल मण्डी थियो । क्रफोर्ड मार्केटमा पनि धेरैपटक पुगेको छु । त्यो एउटा ठूलो व्यापारिक केन्द्र थियो, धेरै वस्तुको ।

केटाकेटीदेखि नै युसुफ एक एकान्तप्रेमी बालक थिए, तैपनि उनी जीवनमा फुटबल खेलाडी बनेर नाउँ कमाउन चाहन्थे । पछि पनि खेलकुदप्रतिको त्यो रुचि यथावत् रह्यो । उनी ब्याडमिन्टन, क्रिकेट पनि राम्रो खेल्थे ।

स्टार बनेपछि एक पटक फिल्मका सानो दर्जाका कलाकारको सहायता गर्न एउटा क्रिकेट म्याचको आयोजना भएको थियो, जसको सानो टुक्रा मैले पनि पर्दामा हेर्न पाएको थिएँ । पछि पनि त्यो देखाउने गरिन्थ्यो । मैले खेलेकै बेलाको अंश हेरेको थिएँ । एकातिरको कप्तान दिलीप थिए भने अर्कातिरको राज कपूर ।

त्यो क्रिकेट म्याच दिलीप–टिमले नै जितेको थियो । त्यसैगरी दिलीप कुमारलाई चंगा उडाउने सोख थियो । उनका कैयौं बाकस भरीभरी रंगीविरंगी चंगाका चाङ हुन्थे । प्रायः चंगा पनि उनी नै अर्काको काटिदिन्थे, त्यति सिपालु थिए ।

दोस्रो विश्वयुद्धपछि सरवर खानको फलको व्यापारमा घाटा हुन थाल्यो । दिलीप अलि ठूला भएपछि उनी पनि व्यापार हेर्न थाले । राम्रो र ताजा फलका लागि उनी विभिन्न ठाउँ गइरहन्थे, जस्तो नैनीताल आदि । यसरी उनले ठाउँ र व्यक्तिसित किसिम किसिमका परिचय र अनुभव बटुल्न थाले ।

आमा आयशालाई उनी असाध्यै मान्थे । आयशा नरम बोल्थिन् र कैयौं दुःख निलेर बस्ने उनको शान्त स्वभाव थियो, अन्तर्मुखी । मलाई लाग्छ, आमाको स्वभावबाटै दिलीपको पनि अन्तर्मुखी स्वभाव बन्यो ।

बम्बई बस्न थालेपछि एकदिन उनी चर्चगेट स्टेसनतिर घुमिरहेका थिए । उनका परिचित डा. मसानी भेट भए (दिलीपले उनको नाउँ उल्लेख गरेका छैनन्) । तर, त्यस भेटअघि दिलीपको जीवनको एक ठूलो मोडबारे बताउनु जरुरी छ ।

पिता सरवर खानसँग त्यसो त उनी अलि डराउँथे नै । बहस गर्दैनथे । बीस वर्षको उमेरमा एकपटक पिताको कुनै कुरामा पहिलोचोटि उनको बहस भयो । पिताले गाली गरे । छोरालाई चित्त बुझेन र एकदिन घर छाडेर हिँडिदिए, पुना पुगे । त्यहाँ उनले रेस्टुरेन्टमा नोकरी पाए, सैनिक क्यान्टोनमेन्ट थियो ।

उनको अंग्रेजी र उर्दू दुवै भाषामा अद्भुत ‘कमान्ड’ थियो । त्यसले उनलाई नोकरी पाउन सजिलो भयो । त्यहाँ रेस्टुरेन्टमा खान आउने सैनिक अफिसर र तिनका श्रीमतीहरू उनको बोल्ने शैली र भाषाको ज्ञानबाट प्रभावित पनि हुन्थे । एक पटक त कुनै समारोहमा भाषण पनि दिए, अंग्रेज–राज्य भए पनि भाषण देशभक्तिपूर्ण दिएका थिए ।

निकै समय बितेपछि आमा कत्ति दुःखी होलिन् भन्ने सम्झेर उनी घर फर्के । आमा, दाजुभाइ, दिदीबहिनी सब खुसी भए । पिताले गाली गरेनन्, दिलीपलाई यही पर्याप्त थियो ।

सरवर खानको परिवार बम्बई आयो । खान त्यहींबाट फलको व्यापार गर्थे । तर, उनको व्यापारले गति नलिँदा परिवारको आर्थिक अवस्था कमजोर भइरहेको थियो ।

यस्तैमा एकदिन उनी चर्चगेट स्टेसन घुमिरहेका थिए । त्यही, अघि भनिएका डा. मसानी भेट भएका थिए । उनले दिलीपलाई भने, ‘युसुफ, म देविका रानीलाई भेट्न मलाड जाँदैछु । तिमी पनि हिँड, तिम्रा लागि केही काम भए कुरा गरिदिन्छु ।’

ती आशान्वित भएर मसानीसँगै गए ।

त्यसबखत ‘बम्बे टाकिज’ भन्ने फिल्म निर्माण कम्पनीको स्टुडियो मलाडमा थियो । हिमांशु राय र देविका रानी मिलेर स्टुडियो चलाउँथे । इस्मत चुगताई, नरेन्द्र शर्मा, किसन चन्दर, भगवतीचरण वर्माजस्ता ठूला लेखकसमेत ‘बम्बे टाकिज’ सँग जोडिएका थिए ।

डा. मसानी हिमांशु रायका चिकित्सक थिए । तर, त्यसबखतसम्म हिमांशु रायको मृत्यु भइसकेको थियो । र, अब ‘बम्बे टाकिज’ की एकछत्र मालिक्नी देविका रानी नै थिइन् । देविका रानी स्वयं एक प्रख्यात नायिका र कहलिएकी सुन्दरी थिइन् । उनको व्यक्तित्व पनि भव्य थियो ।

‘बम्बे टाकिज’ को देविका रानीको भव्य अफिसमा दिलीप कुमार बसेका थिए । डा. मसानीले भने, ‘यिनी कुनै कामको खोजीमा हिँडेका नवयुवक हुन्, यिनको नाउँ युसुफ हो ।’

देविका रानीले पारखी आँखासहित युवकलाई हेरिन् । उनीहरू बीचको प्रश्नोत्तर संक्षिप्त थियो ः

‘कहिल्यै फिल्ममा काम गरेका छौ ?’

‘छैन ।’

‘गर्न इच्छुक छौ ?’

‘छु ।’

‘तिमीलाई म १२५० दिन्छु, हुन्छ ?’

‘हस् ।’

‘त्यसो भए त्यससम्बन्धी करारपत्र आदि हेर र साइन गर, म पठाइदिन्छु ।’

त्यस संक्षिप्त कुराकानीपछि अभिनेता दिलीप कुमारको जन्म भयो । देविका रानीको पारखी नजरले के भविष्य देख्यो कुन्नि, उनले तत्काल ‘ज्वार–भाटा’ नामक फिल्मका लागि उनलाई साइन गराइहालिन् ।

यता, दिलीपले ‘हुन्छ’ त भनिहाले, बेरोजगारीको बेलामा, तर उनी त फुटबलर अझ क्रिकेटर बनेर भारतका लागि टेस्ट–म्याच खेल्ने सपना देख्थे । उनलाई कहाँ फसियोजस्तै लागिरहेको थियो ।

साइन गर्नुअघि घर पुगेपछि डा. मसानीलाई भने, ‘मलाई आउनु–जानुपर्छ, परिवारको खर्च छ, वर्षको १२५० मा कसरी पुग्ला ?’

मसानीले तत्काल देविका रानीलाई फोन गरे, ‘यो केटो त वर्षको १२५० ले पुग्दैन भन्छ नि !’

देविका रानीको हाँसोको आवाज आयो, ‘सोझो केटो रहेछ । वर्षको होइन, महिनाको १२५० भनेकी हुँ मैले ।’

त्यो रकम उनका लागि अकल्पनीय थियो । सम्भवतः उनीअघि त्यति धेरै रकम कसैले पहिलो फिल्मका लागि पाएको पनि नहुँदो हो ।

‘ज्वार–भाटा’ बनाउँदा एकदिन देविका रानीले भनिन्, ‘तिम्रो यो युसुफ नाउँ फिल्मका लागि सुटेबल हुँदैन । अर्को एउटा निरपेक्ष नाउँ राख्नुपर्छ ।’ उनलाई आपत्ति थिएन । कारण पनि थियो– उनी परिवारमा अहिल्यै फिल्म खेल्ने कुरा भन्न चाहन्नथे । उनका पिता सरवर खान, फिल्मका कडा विरोधी थिए । उनी फिल्म अभिनेताहरूलाई ‘भाँड’ भन्थे ।

राज कपूरका बाजे लाला बसेसर नाथ, सरवर खानका पारिवारिक मित्र थिए, उनका छोरा पृथ्वीराज फिल्मका प्रख्यात अभिनेता थिए । त्यसैगरी पछि राज कपूर र उनका भाइहरू पनि फिल्ममा आउन थाले ।

सरवर खान भन्थे, ‘आफ्ना सन्तानहरूलाई के यस्तो घटिया काममा लगाएको ?’

युसुफ खान, दिलीप कुमार नबनेर वासुदेव वा जहाँगिर पनि बन्न सक्थे, किनभने उनका अगाडि तीन नाउँमध्ये एक नाउँ छान्ने विकल्प थियो । दिलीपलाई जहाँगिर नाउँ मनपरेकै पनि थियो । तर, एकदिन भगवतीचरण वर्माले भने, ‘दिलीप कुमार राम्रो हुन्छ ।’ त्यसपछि देविका रानीले आफूले नै छानेका तीन नाउँमा दिलीप कुमार नै राखिदिइन् ।

यसमा दिलीपले पनि होलो माने । कम से कम परिवारले पनि दिलीप कुमारलाई चिन्ने छैनन्, जुन उनको चाहना पनि थियो ।

‘ज्वार–भाटा’ सन् १९४४ मा रिलिज हुँदा दिलीप जम्मा साढे उन्नाइस वर्षका थिए । पहिलो फिल्म फ्लप भयो । दिलीपको ‘भावहीन’ अनुहारको आलोचना भयो । ‘जोगन’ भन्ने फिल्म, जुन नर्गिसको साथ थियो, एकदम हिट भयो । ‘मेला’ पछि उनी झन् माथि पुगे । अनि ‘शहीद’ ले त उनलाई सुपरस्टार नै बनाइदियो । त्यसपछि दिलीप पछाडि फर्केनन् । अब उनको ‘भावहीन’ मानिएको अनुहार तिनै आलोचकका दृष्टिमा ‘संवेदनशील’ हुन थाल्यो । उनले साउतीमा बोलेकालाई नयाँ ‘मेथड एक्टिङ’ को थालनी भनियो । उनको मौनलाई प्रभावशाली ‘एक्सप्रेसन’ भनियो ।

उनी आँखाले अभिनय गर्ने अभिनेताका रूपमा चिनिए । उनलाई ‘मेथड एक्टिङ’ का जन्मदाता मानियो । दिलीपको भनाइअनुसार, ‘मेथड एक्टरभन्दा मलाई अलिक भ्रम पनि परेको थियो, तर पछि बुझें, यो भनेको नेचुरल एक्टिङ अर्थात् स्वाभाविक अभिनयलाई भनिन्छ ।’ दिलीप कुमारले आफ्नो शैली विकसित गरे– मौलिक । त्यो यस्तो भयो कि पछिका अभिनेता–पुस्तामा हरेक अभिनेतामा एक दिलीप कुमार हुन्छ भनेर अन्य नायक–नायिका भन्न थाले । यस्तो पनि भन्थे, ‘त्यसबखत सबै दिलीप कुमार बन्न चाहन्थे रे ।’

अरूको के कुरा गर्नु, मलाई नै एकपटक जब एक कविको अभिनय स्टेजमा गर्ने अवसर आयो, मैले दिलीप कुमारकै असफल भए पनि अनुकरण गरेको थिएँ । तर, त्यो असफल दिलीप कुमारले समेत तीन अन्य नायकलाई उछिनेर प्रथम पुरस्कार पाएको थियो, सर्वश्रेष्ठ अभिनयका लागि । अभिनयका लागि त्यो मेरो प्रथम र अन्तिम पुरस्कार थियो । त्यसपछि मैले फर्केर हरिनँ अर्थात् कहिल्यै अभिनय नै गरिनँ ।

एकदिन राज कपूरका बाजे बसेसर नाथ र दिलीपका पिता सरवर खाँ, बम्बईमा घुमिरहेका थिए । बसेसरले भने, ‘तिमी त मेरा सन्तान फिल्ममा लागे भनेर ‘भाँड’ काममा लागे भन्थ्यौ, ऊ त्यहाँ हेर त !’

बसेसरले परतिरको भित्ताको एउटा पोस्टर देखाए । त्यो ‘मेला’ फिल्मको पोस्टर थियो । सरवरले भने, ‘हाँ देखा, कोई दिलीप कुमार हिरो है, कौन है यह ?’

‘उसका चेहरा गौर से देखिए जनाब ! दिलीप कुमार कोई और नहीं आप ही के शाहजादें हैं ।’

सरवरले हेरे । छाँगाबाट खसेजस्ता भए ।

बसेसरले भने, ‘नाम बदला है सूरत नहीं ।’

बल्ल त्यहाँदेखि सारा परिवारले थाहा पायो– युसुफ फिल्ममा काम गर्न थालेछ । खलबल नै भयो त्यो पठान परिवारमा । तर, त्यतिन्जेलसम्म दिलीप आजको भाषामा सुपरस्टार बनिसकेका थिए । बाबु रिसाए पनि दिलीपले सारा हिन्दुस्तानलाई रिझाइसकेका थिए ।

‘शहीद’ रिलिज भएपछि त झन् सारा पूर्वआलोचक पनि उनको अभिनयको प्रशंसक बने । त्यो फिल्म हेर्न एक दिन सुटुक्क दिलीपका पिता गएछन् । फर्केर आएपछि उनले गम्भीर भएर दिलीपलाई बोलाइपठाए । दिलीप कुमार डराउँदै थिए, सरवर स्वयं दिलीपको कोठामा आए । उनको गम्भीर अनुहार देखेर दिलीप झन् झस्के । तर, केही नबोली उनले दिलीपको पिठ्युँमा धाप पो मारेर गए । त्यो स्याबासीको धाप थियो । त्यो क्षण दिलीपलाई लाग्यो, उनको एक अर्को फिल्म सुपर हिट भयो । त्यसपछि उनी निर्बाध फिल्म खेल्न थाले ।

उनी ‘बम्बे टाकिज’ मा थिए, पछि बम्बे टाकिजकै एस मुखर्जी अर्थात् शशधर मुखर्जीले छुट्टै फिल्मिस्तान कम्पनी खोले । दिलीप अशोक कुमारलाई ‘अशोक भैया’ भन्थे । ती अशोक भैया ‘फिल्मिस्तान’ मा गए । एस मुखर्जी उनको नाता पर्ने हुनाले यसरी दुई फ्याक भएपछि कम्पनीका लेखक, निर्देशक, क्यामेरा म्यान पनि बाँडिए ।

मलाई लाग्छ, कम्पनीहरूको यस्तो विभाजन पनि एउटा कारण थियो, जसले ‘स्टार सिस्टम’ लाई जन्म दियो । पहिले तलबमा बस्ने कलाकारहरू फ्रीलान्स हुँदै गए, आफ्नो ‘स्टार भ्यालु’ बढ्दै गएअनुसार उनीहरू आफ्नो पारिश्रमिक आफैं तोक्ने भए ।

त्यहीअन्तर्गत सन् ५० सम्ममा कम्पनीहरू खुल्ने, बन्द गर्ने हुन थाले । त्यसबखत पृथ्वीराज, मोतीलाल, वास्ती सहगल अनि अशोक कुमार ठूला र लोकप्रिय स्टार थिए । तर, भारतीय सिनेमामा स्टार सिस्टमको जन्म भएपछि यी ‘थ्री बिग’ को जन्म भयो र लगभग दुई–तीन दशकसम्म यिनकै राज्य चल्यो हिन्दी सिनेमामा ।

तिनताक नायक र नायिकालाई वास्तविक ठानेर तिनको रोमान्सको चर्चा पनि हुन्थ्यो, जुन आजसम्मै यथावत् छ । दिलीप कुमारको पनि लगभग सारा नायिकासँग प्रेम–सम्बन्धको चर्चा चल्यो– मधुबाला, नर्गिस, वैजयन्तीमाला आदि । ‘हलचल’ पछि नर्गिसले ‘दिलीपसँग कहिल्यै खेल्दिनँ’ भनिन् । वैजयन्तीमाला र दिलीप कुमारको बोलचाल नै बन्द थियो ‘संघर्ष’ फिल्म खेल्दा ।

‘मुगल–ए–आजम’ खेल्दा मुधबाला र दिलीप कुमार बोल्दैनथे । ‘फुटपाथ’ मा एक दृश्यमा दिलीपले मीनाकुमारीलाई थप्पड हान्नुपर्ने थियो । मीनाकुमारीको शब्दमै थाहा पाऊँ, ‘दिलीपले किन हो, अभिनय गर्नुपर्ने ठाउँमा साँच्चिकै रन्थनिने गरी थप्पड हाने, पठानको जोडदार थप्पडले मलाई रिँगटा नै लाग्यो र म रोएँ ।’

तर...तर, यी सबबाहेक पनि सबैजना मान्दथे– दिलीप कुमार एक महान् एक्टर हुन् । देवानन्दको प्रसंग आइसकेको छ । अमिताभ त आफ्नो कलेज–जमानादेखि नै कलेज बंक गरेर ‘गंगा–जमुना’ हेर्न जान्थे । सुनिन्छ, उनले ‘गंगा–जमुना’ एघारपटक हेरेका थिए । आज उनी भन्छन्, ‘फिल्मको इतिहास लेख्दा जहिले पनि दिलीप कुमारअघि र दिलीप कुमारपछि भनेर लेखिनेछ ।’

राज कपूर त दिलीप कुमारका पारिवारिक मित्र नै थिए । एकपटक ‘प्रेम–रोग’ को सुटिङ चलिरहेको थियो, नायक थिए उनैका छोरा ऋषि कपूर । एक दृश्यमा ऋषि कपूर ‘टेकमाथि टेक’ खाइरहेका थिए । एकाएक निर्देशक राज कपूर क्यामेरा पछिल्तिरबाट कराए, ‘मलाई युसुफ चाहिन्छ, युसुफ !’

यसरी दिलीप छाएका थिए हिन्दुस्तानमा, सारा कलाकारमा र दक्षिण एसियामै पनि । विश्वमै व्याप्त हुन्थे कि ? भन्न सकिन्न । एकपटक डेभिड लिनजस्ता विश्वप्रसिद्ध निर्देशकले ‘लरेन्स अफ अरेबिया’ फिल्ममा खेल्ने अफर दिए, दिलीपले खेलेनन् । पछि त्यो रोल उमर सरिफले गरे र तिनले साइड हिरोको अस्कर पाए रे ! ‘साइड रोल’ भएरै दिलीपले नगरेका हुन् कि ?

त्यसैगरी सत्यजित रेले पनि एउटा फिल्म दिन खोजेका थिए, ‘सगीना’ बंगालीमा बन्नु धेरैअघि । तर, दिलीपले सत्यजित रेको फिल्ममा पनि खेल्दिनँ भने । त्यसको कारण भने फेरि अर्कै छ ।

फिल्मका सबै क्षेत्रमा हस्तक्षेप गर्ने आरोपका विषयमा दिलीपको एउटै जवाफ थियो, उनी फिल्म ‘परफेक्ट’ होस् भनेरै सारा कुरा हेर्न चाहन्थे, अन्य कलाकारको अभिनय, स्क्रिप्ट सब ‘दमदार’ भए फिल्म उत्कृष्ट बन्छ, त्यसकारण उनी सबै क्षेत्रलाई विचार गर्दै फिल्म खेल्थे ।

दिलीप कुमारका प्रेमकथामा केही हदसम्म मात्रै यथार्थ होला, होइन भने त ‘यो हल्लैहल्लाको देश हो’ । त्यहाँ पनि वैजयन्तीमालाबारे दिलीपले लेखेका छन्, ‘गंगा–जमुना’ मा वैजयन्तीमालालाई लिनासाथ सधैंझैं अखबारमा उनको प्रेमका गफहरू छापिन थालिहाले ।’

‘गंगा–जमुना’ उनको सबैभन्दा महत्त्वाकांक्षी फिल्म थियो । त्यो फिल्म नीतिन बोसको निर्देशन भनिए पनि लेखनदेखि निर्देशनसम्मै दिलीपले गरेका थिए । ‘गंगा–जमुना’ हिन्दी फिल्मको एक ‘माइल स्टोन’ साबित भयो । मैले पनि त्यो फिल्म पाँच पटक हेरेको छु । पाए अझै हेर्छु ।

उनको प्रेम–सम्बन्धबारे धेरै हल्ला छन्, तर थोरै सत्य पनि छ । तैपनि रूपको परिभाषा मानिने मधुबालासँग उनको प्रेम सच्चा थियो— ती दुवैको । उनले अदालतमै पनि बयान दिँदा भने, ‘यो केटीसित मैले प्रेम गरेँ, गर्छु र नमरेसम्म गरिरहन्छु ।’

दिलीप कुमार र मधुबालाको विवाह किन हुन सकेन ? त्यसका लागि छुट्टै लेख चाहिन्छ । जे होस, त्यो सच्चा, तर असल प्रेम थियो ।

सायरा बानोसँग उनको विवाह भयो । सायराअनुसार, उनी १२ वर्षकै उमेरदेखि श्रीमती दिलीपकुमार बन्न चाहन्थिन् । उनीसँग फिल्म खेल्न खोज्दा दिलीपले आफ्नो केश देखाउँदै भनेका थिए, ‘यो देख्यौ, मेरो तिलचामले कपाल ? तिमी त बालिका छौ मेरा अगाडि ।’

सायरासँग दिलीपले फिल्म नखेलेपछि उनी खिन्न भइन् र आफ्नो ‘तुनुक मिजाजी’ देखाउँदै दिलीपतिर नहेर्ने, सामुन्ने पर्दा पनि मुन्टो घुमाएर हिँड्ने गर्न थालिन् । दिलीप कुमार त्यसलाई ‘बालहठ’ भनेर हाँस्थे ।

तर, परिस्थितिवश निकै समयपछि एकदिन दिलीप र सायरा संयोगले समुद्र किनारमा घुम्दै थिए । दुई जना मात्रै घुम्ने अवसर आउँदा दिलीपले भने, ‘सायरा, तिमी साँच्चिकै मैले सोचेजस्ती केटी होइनौ, म आजदेखि तिमीलाई गम्भीर रूपमा लिन्छु र अहिल्यै प्रस्ताव राख्छु– के तिमी मसित विवाह गर्छ्यौ ?’

यो एक्कासिको दिलीपको प्रस्तावमा सायरालाई विश्वासै भएन । तर, दिलीप अझै सायराको हत्केला समाएर गम्भीर मुद्रामा थिए । सायरा त उनकै शब्दमा ‘सातवाँ आसमान’ मा भइन् ।

यही क्षणपछि दिलीपको जीवनको अर्को मोड आयो । उनको विवाह हुँदा दिलीप ४४ र सायरा २२ वर्षकी थिइन् । दिलीप भन्छन्, ‘केटाकेटीमा ज्योतिषमा मेरो त्यति विश्वास थिएन । तैपनि आमाहरूको करमा ज्योतिषीलाई देखाइयो । चिना, हात सब हेरेर ज्योतिषीले भन्यो, ‘यो बालक असाधारण हुनेछ । सफलताको आकाशमा पुग्नेछ । यसको विवाह एक सफल कन्यासँग हुनेछ, तर यसको उमेरभन्दा त्यो आधाकी हुनेछ ।’

उनी भन्छन्, ‘म त्यही सम्झिरहें ।’ हुन पनि त्यसबखत सायरा ‘जंगली’ देखि चर्चित नायिका बनिसकेकी थिइन् । तर, ज्योतिषीले पनि त्यति ‘अक्युरेट’ सोचेको थियो कि थिएन, चटक्कै चिरेजस्तै उमेर थियो विवाह हुँदा दिलीप ४४, सायरा २२ वर्ष ।

ढिलो बिहे भए पनि धुमधामले भयो । दुई मिनेटको बाटोमा हिँड्न एक घण्टा लागेको थियो । सारा स्टारहरू त थिए नै, जनताको भीड उर्लेर झन् साँघुरो पारेको थियो, बान्द्राको त्यत्रो फराकिलो सडकलाई पनि ।

विवाहको एउटा रोचक घटना छ । उहिल्यै कुनैबखत दिलीपको चिर कुमारत्वलाई लिएर राज कपूरले कुनै पत्रिकामा अन्तर्वार्ता दिएका थिए, ‘दिलीप कुमारले जुन दिन बिहे गर्ला, त्यस दिन म बामे सरेर हिँड्छु ।’

बिहेमा जन्ती जाँदा कुनै ठाउँमा उनलाई झल्याँस्स यो कुराको सम्झना भएछ । राज कपूर तत्काल कारबाट ओर्ले । सबैले अचम्म मान्दा/नमान्दै उनी त एकाएक भुइँमा बामे सर्न थाले— सायराको घरबाहिर नै । सबैले अचम्म मानेर हेरे मात्र होइन, त्यत्रा महान् फिल्मकारको यो ‘हरकत’ मा बेस्सरी हाँस्न पनि थाले । दिलीप कुमार भने मुस्कुराइरहेका थिए । उनलाई थाहा थियो, यसलाई आफ्नो प्रतिज्ञा याद आएछ ।

कलकत्तामा एक पटक सायरा र दिलीप भएको कारले भीडले गर्दा बाटो पाएन । प्रशंसकहरूले घेरे मात्रै होइन, उनीहरू भएको कारलाई जुरुक्कै बोकेर सडकसम्मै पुर्‍याइदिए ।

दिलीप र सायराको वैवाहिक जीवन आदर्श रह्यो । एक पटक सायरा निकै बिरामी परिन्, लामै । त्यसबखत दिलीम सुटिङ मात्रै होइन, निद्रासमेत त्यागेर रातभरि सायराको स्याहार–सुसार गर्थे । तर, फेरि सायरा झन् असल पत्नी साबित भइन् । उनले दिलीपको अन्तिम समयसम्म पनि आफैं सेवा–शुश्रूषा गरिन् । त यी वास्तवमा आदर्श नै पति–पत्नी थिए, जीवनभरि ।

यसमा खलल एकपटक तब पर्‍यो, जब एकाएक एकदिन दिलीपले अस्मा भन्ने एउटी आधुनिक केटीसँग विवाह गरेको खबर आयो । केही समयसम्म त दिलीप कुमारले पनि यो खबरलाई टारे, तर पछि वास्तविकता स्विकार्नैपर्‍यो ।

त्यसबखत सायरा बानोको एक अन्तर्वार्ता ‘फिल्मफेयर’ मा छापिएको थियो । त्यो पढ्दा यति मार्मिक र करुण लाग्यो कि म सायराप्रति सहानुभूतिपूर्ण भएँ । त्यही एक पटक हो, मलाईसमेत दिलीपसँग वितृष्णा भएको, यद्यपि त्यो उनको निजी विषय थियो । तर, उनको ‘फिल्मी छवि’ सित पनि मेल खाएको थिएन त्यो घटना ।

पछि ‘मेहर’ को तीन लाख रकम तिरेर उनले अस्माबाट छुटकारा पाए बल्ल । त्यो समयदेखि आजसम्म सायराको ग्ल्यामरस रूप फिल्ममा देखे पनि उनलाई एक आदर्श पत्नीको आदर्श उदाहरणकै रूपमा मैले ठानेको छु– फिल्मी जगत्मा मात्रै होइन, निजी जीवनमा पनि ।

हालै दिलीप कुमारको निधन भएको छ । ‘सुपुर्दे–खाक’ भएका छन् दिलीप । दिलीपको प्रस्थानपछि सायराबारे मलाई केही थाहा छैन । आधा शतकजतिको वैवाहिक जीवनपछि उनी कति एक्ली भएकी होलिन् ! उनीप्रति सहानुभूति जाग्रित हुन्छ ।

दिलीपबारे म कति जान्दछु र ? तर, जति जान्दछु यतिमा अटाउँदैन । मेरा लागि उनी सधैंका प्रशंसनीय एक मात्र अभिनेता थिए । मेरा दृष्टिमा उनको हिन्दी फिल्मलाई जुन देन छ, त्यो उनैले मात्र दिएका छन्, त्यो देनमा अब अरू सामेल हुन सक्दैनन् । उनी एक अभूतपूर्व कलाकार हुन् । न भूतो भविष्यचाहिँ भन्दिनँ, तर भारतीय अभिनय परम्परामा पहिलो पटक उनले जति ल्याए, त्यसमा त ‘भविष्यति’ पनि भन्न सकिन्छ ।

दिलीपप्रति अहिले श्रद्धाञ्जलीका यी शब्द लेख्दालेख्दै उनको एक प्रिय शेर याद आयो, जुन उनी धेरै ठाउँमा, समारोहमा पढ्थे । आफ्नो ‘बायोग्राफी’ थालनी उनले त्यही शेरबाट गरेका छन् :

सकूने दिल के लिए कुछ तो एहतमाम करूँ,

जरा नजर जो मिले फिर उन्हें सलाम करूँ

मुझे तो होश नहीं आप मशविरा दीजिए

कहाँ से छेडुँ फसाना कहाँ तमाम करूँ

दिलीप कुमारजस्ता अभिनेता जन्मिन धेरै समय लाग्छ । उनका लागि श्रद्धाञ्जली दिँदा के लेखूँ ? आफ्नै शब्दमा लेख्छु :

आँखो से बोलता था

चुप्पी से लपटें उगलता था

भीड में मुस्कुराता था

तनहाई में जलता था ।


अपनी आहों में जीता था

देर तक दूर तकता था

यूँ तो वह एक सितारा था

चाँद वन कर चमकता था ।

प्रकाशित : भाद्र १२, २०७८ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×