कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

कृष्ण मेननको बहुरंगी जीवन

शीतयुद्धको पहिलो दुई दशकको अन्तर्राष्ट्रिय राजनीति हेर्ने एउटा आँखीझ्याल हो यो किताब । नायक मेनन नै हुन्, तर नेहरूको व्यक्तित्व र राजनीतिक शैलीलाई पनि प्रकाश पारेको छ किताबले ।
राम लोहनी

भारतको हालको केरला प्रान्तमा सन् १८९६ मा जन्मेका भीके कृष्ण मेननको जीवनको सत्ताइस वर्ष (१९२४–१९५१) बेलायतमै बित्यो । बेलायत रहँदा ‘इन्डिया लिग’ को सचिवको रूपमा भारत स्वतन्त्रताका लागि अंग्रेज सरकारलाई दबाव दिने काममा मेननको ठूलो योगदान थियो ।

कृष्ण मेननको बहुरंगी जीवन

मेनन आफ्ना धारिला अभिव्यक्तिका कारण देशभित्र र देशबाहिर पनि चर्चित थिए । अध्ययनशील, वाकपटु र निरन्तर काममा खटिरहन सक्ने क्षमता मेननका गुण थिए । दोस्रो विश्वयुद्धपछिको शीतयुद्धको प्रारम्भिक दशकमा भारत र नेहरूको अन्तर्राष्ट्रिय पहिचानमा मेननको ठूलो सहयोग थियो ।

मेननको असामान्य बौद्धिकता, तर्कशक्ति र देश प्रेमका कारण नेहरूले मेननलाई आफ्नो निकटतम सहयोगीका रूपमा स्थापित गरेका थिए । भनिन्छ, नेहरू मेननसँग जति र जसरी खुल्थे, त्यति अरूसँग खुल्न सक्दैनथे । अध्ययनशील स्वभाव र वाम झुकाव दुवैको साझा गुण थियो । नेहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोर्चामा कडा रूपमा उभिन सक्ने सहयोगीको खाँचो थियो भने मेननलाई राजनीतिक संरक्षकको ।

तत्कालीन विश्व–राजनीतिका महत्त्वपूर्ण मुद्दाहरू, कोरियाली युद्ध, इन्डो–चाइना, स्वेज नहर विवाद, असंलग्नता आदिमा मेननको योगदानको अझै पनि परिचर्चा हुने गर्छ । कश्मीर विवादमाथि संयुक्त राष्ट्र संघमा दिएको आठ घण्टा लामो भाषण यसको उदाहरण हो । ऐतिहासिक, राजनीतिक, सामाजिक, साहित्यिक आदि सूचनाहरूले भरपूर मेननको प्रस्तुति र बहस जहिल्यै अत्यन्तै प्रभावकारी हुन्थ्यो । यसले अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग मेननको सोझो टकरावको स्थिति पनि पैदा गर्‍यो । अमेरिकी राष्ट्रपति आइजनहावर र केनेडी, बेलायती प्रधानमन्त्री चर्चिल, संयुक्त राष्ट्र संघका महासचिव ड्याग ह्यामरसोल्ड आदिसँगको टकराव उल्लेखनीय थिए । रामास्वामी बेंकटरमणका अनुसार, मेनन संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय राजनीतिका ‘सिस्मोग्राफ’ थिए । कुन देशको कुन घटनाले कुन स्केलको कम्प आयो ‘मेनन–स्केल’ बाट थाहा हुन्थ्यो भन्ने बेंकटरमणको टिप्पणी उल्लेखनीय छ । मेननको मृत्युमा इन्दिरा गान्धीको टिप्पणी थियो– ज्वालामुखी शान्त भयो ।

वाम झुकावका कारण पश्चिमले मेननलाई सधैं अस्वीकार गरिरह्यो । आफू कहिल्यै कम्युनिस्ट नभएको मेननको स्पष्टोक्ति स्वदेश–विदेश कतै पनि पत्यारलाग्दो बनेन । भारतमा बल्लभभाई पटेल, जेबी कृपलानी, मोरारजी देसाई आदि प्रवृत्तिका नेताहरू मेननको कडा विरोधी थिए । समाजवादी नेताहरूसँग पनि मेननको दीर्घ हुन सकेन । सन् १९६७ मा कांग्रेसबाट विस्थापित भएपछिको संसदीय चुनावहरूमा कम्युनिस्ट समर्थनमा विजयी भए पनि समग्रमा मेननले स्वदेशमा पनि कम्युनिस्टहरूको समर्थन कहिल्यै पाएनन् । हंगेरीको मामलामा सोभियत नीतिको आलोचना गरेपछि र आणविक निशस्त्रीकरणमा संयुक्त राष्ट्र संघमा जबरजस्त भाषणहरू दिएपछि सोभियत संघ पनि मेननको पक्षमा देखिएन । १९६२ को चीनसँगको युद्धपछि त चीनसँग पनि उनको मोहभंग भयो । अन्तर्राष्ट्रिय पहिचान उत्कर्षमा पुगेको र हरेक अन्तर्राष्ट्रिय मुद्दामा मेननको आवश्यकता महसुस हुँदै गरेको अवस्थामा चीनसँगको युद्धले मेननको लोकप्रियताको पारोलाई एकैचोटि तल झारिदयो । चीनविरुद्धको सहयोगका लागि पश्चिमी राष्ट्रहरूले मेननको बहिर्गमनलाई मुख्य सर्तको रूपमा तेर्स्याए ।

१९५७ मा रक्षामन्त्री बन्नुअगावै मानिसहरू मेननको जीवनी लेख्न आतुर थिए । विश्वराजनीतिबारे मेननको दृष्टिकोणको सर्वत्र अपेक्षा हुन्थ्यो । तर, मेनन व्यक्तिको जीवनीलाई कहिल्यै प्राथमिकता दिँदैनथे । पार्टीभित्रको तीव्र प्रतिरोधको बावजुद नेहरूको दबावमा मेननलाई संसदीय निर्वाचनमा टिकट दिएपछि र नेहरूले मतदाताहरूलाई विशेष अपिलसमेत गरेपछि मेननको चर्चा झन् चुलियो । भारतको अन्तर्राष्ट्रिय साख बढाउन बौद्धिक योगदान गरेको भनेर बलिउडका चर्चित कलाकारहरूले अपिल नै प्रकाशित गरे । बलराज साहनी, शाहिर लुधियानवी, लता मंगेसकर, राजेन्द्रकुमार, दिलीपकुमार, देवानन्दजस्ता हस्तीहरू मेननको प्रशंसक थिए । मेननको बम्बे चुनावको छुट्टै किताब नै लेखियो । १९६७ मा स्वतन्त्र चुनाव लड्दा ‘टाइम म्यागेजिन’ ले कभरेज नै गरेको थियो ।

यही क्रममा सन् २०१९ मा प्रकाशित जैराम रमेशको ‘अ चेकर्ड ब्रिलियन्स’ मेननको बहुरंगी तथा उतारचढावयुक्त जीवनीको पछिल्लो चित्रण हो । भारत, अमेरिका, सोभियत रुस, बेलायत, चीन विभिन्न मुलुकले सार्वजनिक गरेका वर्गीकृत डकुमेन्ट, मेननसँग काम गरेका र अन्तरंग सम्बन्ध भएका विभिन्न व्यक्तिको संस्मरण र मेननसँग आदानप्रदान हजारौं चिठीको अध्ययनबाट निखारिएको जीवनी हो यो किताब । यसमा लेखकले आफू बोल्नुभन्दा तत्काल लेखिएका र अन्य व्यक्तिले व्यक्त गरेका धारणालाई संश्लेषण गरी एउटा न्यारेसन तयार पारेका छन् । यस अर्थमा यो जीवनी अन्य जीवनीभन्दा फरक ठान्न सकिन्छ ।

मेननको एकपक्षीय आलोचना वा समर्थन पुस्तकको थिम बन्ने परम्पराबाट अघि बढेर रमेशले यो पुस्तकमा उनको वस्तुपरक मूल्यांकन प्रस्तुत गर्ने प्रयास गरेका छन् । लेखकले मेननका उपलब्धि मात्र नभई कमजोरीको पनि अभिलेखीकरण गरेका छन् । समग्रमा मेननको व्यक्तित्वको एउटा सन्तुलित पुनर्निर्माण गर्न पुस्तक सफल देखिन्छ ।

पुस्तक ‘१९४७ अघि’ र ‘१९४७ पछि’ गरी दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा व्यक्तिगत परिचय, अध्ययन र इन्डिया लिगमा सक्रिय रहँदाको समयको वर्णन छ । किशोरावस्थामा थिओसोफिकल सोसाइटीकी आनी बेसन्टसँगको भेट र बेलायतमा लन्डन स्कुल अफ इकोनोमिक्समा ह्यारोल्ड जे. लास्कीसँगको भेट तथा उनीहरूबाट प्राप्त संरक्षकत्व मेननको जीवनमा महत्त्वपूर्ण देखिन्छ । लन्डनमा लास्कीको संरक्षकत्वमा लन्डन स्कुल अफ इकोनोमिक्समा लामो समयसम्म विद्यार्थीका रूपमा मान्यता पाउन सफल भएका थिए मेनन, जुन विश्वविद्यालयको इतिहासमै असामान्य घटना थियो । मेनन लेबर पार्टीमार्फत बेलायती राजनीतिमा पनि सक्रिय रहे । उक्त पार्टीबाट स्थानीय नगरको पनि नेतृत्व गरे । हाउस अफ कमन्सको निर्वाचनमा लेबर पार्टीबाट प्रत्याशीको रूपमा मेननको नाम चर्चित पनि बन्यो । विद्यार्थीकालदेखि नै पहिला ‘कमनवेल्थ अफ इन्डिया लिग’ र पछि इन्डिया लिगको सचिव बनेर लन्डन र बेलायतभर भारत स्वतन्त्रताका लागि आवाज उठाइरहे । यो क्रममा बर्ट्रान्ड रसल, आल्डोस हक्सले, जेबीएस ह्याल्डेन आदिको सहयोग र समर्थन पनि पाए । बेलायती कम्युनिस्ट पार्टी र भारतको कांग्रेससहित समाजवादी पार्टीहरूको पनि मेननलाई सहयोग थियो ।

सन् १९४७ पछि माउन्टबेटन भारतको भाइसराय भएपछि शक्ति हस्तान्तरणमा मेननको महत्त्वपूर्ण भूमिका थियो । कमनवेल्थको सदस्य बन्न मेननले नै नेहरूलाई मनाएका थिए । योबाहेक लन्डनस्थित भारतीय प्रथम उच्चायुक्त, संयुक्त राष्ट्र संघमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व, राज्यसभा तथा तल्लो सभामा सांसद, रक्षामन्त्री र सन् १९६२ पछिको सक्रिय राजनीतिक वृत्तबाट बहिर्गमनपछिको गतिविधिलाई दोस्रो खण्डले समेटेको छ । यही अवधिमा मेननको अन्तर्राष्ट्रिय परिचय उत्कर्षमा पुगेको थियो । चीनसँगको युद्धमा पराजयपछि पराजयको मुख्य जिम्मेवार व्यक्तिको रूपमा राजीनामा दिएपछि भने मेननको छवि उठ्न सकेन । लेखकले पुस्तकमा मेननको पक्ष–विपक्षमा उठेका तर्कहरू तथा मेननको नेतृत्वमा भएका कामहरू उपयुक्त उद्धरणहरूद्वारा प्रस्ट पार्ने सफल प्रयास गरेका छन् ।

चीनसँगको पराजयको कारणमा मूलतः नेहरू र मेननको सुरक्षा नीतिलाई मुख्य दोषी ठानिन्थ्यो । यस पुस्तकले भने मेननले पाएको असहयोग र अवरोधलाई पनि महत्त्व दिएको छ । अर्थमन्त्री मोरारजी देसाईले रक्षा मन्त्रालयलाई यथेष्ट बजेट दिएका थिएनन्, तर सम्भावित युद्धका लागि आवश्यक युद्धसामग्री जोहो नगरेको आरोप लगाउन पनि छाडेनन् । बजेटको अभावमा हिउँदमा उच्च हिमाली क्षेत्रमा युद्धरत सेनालाई कपडा, जुत्ताको समेत व्यवस्था हुन सकेको थिएन । मेननले युद्ध सामग्रीहरूको स्थानीय उत्पादन प्रारम्भ गराएका थिए । चीनसँगको युद्धमा यसको लाभ नमिले पनि १९६५ र १९७१ को पाकिस्तानसँगको युद्धमा भने उपयोग हुन सकेको कुरा लेखकले चर्चा गरेका छन् । संसद्मा गान्धीको अहिंसाको अनुयायीले युद्धसामग्रीमा बजेट खर्चिन नहुने तर्क उठिरहन्थ्यो । यसबाहेक सुरक्षा प्रमुखहरूको अक्षमता र उदासीनता पनि पराजयको एउटा कारक थियो भन्ने बिस्तारै उजागर हुँदै गयो । लेखकका अनुसार, नेहरू मेननका विविध कमजोरीबारे जानकार थिए, तर उनको बौद्धिकता भारतको सम्पत्ति भएकाले यसलाई मुलुकको हितमा अधिकतम प्रयोग गर्नुपर्छ भन्ने विचारबाट निर्देशित थिए । यद्यपि लेखक सीमायुद्धमा चीनसँगको पराजयको कारणमा प्रधानमन्त्री र रक्षामन्त्रीको रणनीतिलाई अस्वीकार भने गर्दैनन् ।

भारतको मुख्य समस्या पाकिस्तानसँग मात्र रहेको भन्ने मेननको धारणाले सीमा विवाद युद्धसम्म पुगेको भन्ने टिप्पणी पनि भेटिन्छ । लेखक रमेश चीनसँगको सीमाविवाद सहमतिमा लेनदेनबाट सल्टाउनुपर्छ भन्ने विचारबाट मेनन निर्देशित थिए भन्ने निष्कर्ष निकाल्छन् । मेननको यही धारणा नै संसद्मा धेरै आलोचित र अस्वीकृत भयो । तिनै आलोचकमध्येका अटलविहारी बाजपेयी प्रधानमन्त्री हुँदा सहमतिबाट सीमाविवाद समाधानका लागि वार्ता टोली गठन गर्न तयार भएका थिए । पुस्तकको निचोड के बुझिन्छ भने कृष्ण मेनन सही हुँदाहुँदै पनि आफ्नै व्यवहार, परिबन्द र आग्रहको सिकार भएका थिए ।

पुस्तकले मेननको बहुरंगी जीवनको सफल चित्रण गरेको छ । लन्डन रहँदा यिनले विभिन्न प्रकाशकसँग मिलेर महत्त्वपूर्ण पुस्तकहरूको सम्पादन गरेका थिए । मेननको सम्पादनमा प्रकाशकहरूले पुस्तकहरूको सिरिज नै निकालेका थिए । गैरआख्यान क्लासिकहरूको पेपरब्याक संस्करणहरू प्रकाशन गर्न मेननले दिएको सल्लाहअनुसार नै पेन्गुइन प्रकाशनले पेलिकन शाखा स्थापना गरेको थियो । पुस्तक सम्पादनबाहेक मेनन निरन्तर विभिन्न पत्रपत्रिकामा समसामयिक विषयमाथि लेखरचना पनि लेखिरहन्थे । मेननले आफ्नै सम्पादकत्वमा विभिन्न पत्रिका पनि प्रकाशन गरेका थिए । नेहरू मेननसँग आर्थिक नीति निर्माणलगायत विभिन्न विषयमा सल्लाह मागिरहन्थे । मेननलाई रक्षा मन्त्रालयको सट्टा योजना तथा नीति निर्माण मन्त्रालय वा शिक्षा मन्त्रालयको जिम्मा सुम्पेको भए मुलुकले अझ बढी लाभ पाउन सक्थ्यो भन्ने टिप्पणी पनि भेटिन्छ । बेलायतबाट कानुनको डिग्रीसमेत लिएका मेननले बहस गरेका केही मुद्दाहरू उल्लेखनीय छन् ।

उतारचढावयुक्त जीवनमा विभिन्न महिलाहरूसँग मेननको बेलाबेला विभिन्न स्तरका सम्बन्धहरू रहेका थिए । तर, मेनन अविवाहित नै रहे । उनी शाकाहारी थिए । अत्यधिक चिया पिउनुपर्ने र खानेकुरा एकदमै कम खाने स्वभावका कारण मेननमा विभिन्न शारीरिक समस्या देखिन थालेको थियो । १९७४ मा मृत्यु हुनु एक घण्टाअघि मेननले ‘आफ्नो अन्तिम कप’ चिया पिएका

थिए ! खेलौनाहरू जम्मा गर्ने यिनको अनौठो बानी पनि थियो । निम्न रक्तचाप, बाथ, अनिद्राको साथै मेननमा निश्चित हदसम्म मानसिक समस्या पनि थियो । एकदमै दुब्ला यिनलाई पचास वर्ष नपुग्दै छडीको सहायता आवश्यक परिसकेको थियो । नेहरूले इन्दिरा गान्धीलाई लेखेको एउटा चिठीमा अवसाद (डिप्रिसन) को बारेमा बुझ्न मन भए मेननले आफूलाई लेखेको पत्रहरू पढ्न सुझावसमेत दिएका थिए । नेहरूले मेननलाई लेखेका विभिन्न पत्रले मेननको मानसिक अवस्था, कामको धपेडी र शारीरिक अस्वस्थतामाथि यथेष्ट प्रकाश पार्छन् ।

कृष्ण मेननको यो जीवनीले नेहरूकालीन भारतको राजनीतिलाई मात्र प्रकाशित गर्दैन । शीतयुद्धको पहिलो दुई दशकको अन्तर्राष्ट्रिय राजनीति हेर्ने एउटा आँखीझ्याल पनि हो यो पुस्तक । पुस्तकको नायक त मेनन नै हुन् । पुस्तकले नेहरूको व्यक्तित्व तथा राजनीतिक शैलीलाई पनि राम्रोसँग प्रकाश पारेको छ । पुस्तकमा नेपालबारे खासै चर्चा छैन । भारतको राजनीतिमा अमेरिकी चासो र हस्तक्षेप प्रसंग भने नेपाली पाठकलाई चाखलाग्दो हुन सक्छ ।

प्रकाशित : माघ २२, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?