‘आशा भर्ने पुस्तक हुन्’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
पुस्तकको आविष्कार हुनुअघि पनि मानव जीवन थियो । अहिले पनि कैयौं नागरिक निरक्षर छन्, तर जिन्दगी जिइरहेकै छन् । तर, कम्तीमा मचाहिँ पुस्तकबिनाको जीवन कल्पनै गर्न सक्दिनँ । आज हामी जहाँ छौं, इतिहासको खुड्किला टेकेर हिँड्ने क्रममा आइपुगेका हौं । धरातल चिनियो भने मात्रै उचाइ चिन्न सकिन्छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![‘आशा भर्ने पुस्तक हुन्’](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/miscellaneous/pradeep-gyawali-2912022045127-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
त्यसैले नयाँ पाठकहरूलाई म नेपाली इतिहास बुझाउने पुस्तक पढ्न आग्रह गर्छु । सङ्घर्षशील व्यक्तिका जीवनीले पनि तपाईंलाई अगाडि बढ्ने ऊर्जा दिन्छन् ।
अहिले म नेपाली सेनाका पूर्वउपरथी पूर्ण सिलवालको नयाँ किताब ‘नेपाल्स इन्स्ट्याबिलिटी कनन्ड्रम’ पढिरहेको छु । किताबमा अवकाशप्राप्त सैन्य अधिकृतको आँखाबाट नेपालमा अस्थिरताका कारण पहिल्याउने प्रयास गरिएको छ ।
अघिल्लो महिना मैले तीनवटा पुस्तक पढेँ– सुजित मैनालीको ‘सती’, एड डग्लसको ‘हिमालय : अ ह्युमन हिस्ट्री’ र यानिस भारुफाकिसको ‘टकिङ टु माई डटर अबाउट द इकोनोमी : अ ब्रिफ हिस्ट्री अफ क्यापिटलिजम’ ।
नारीहन्ता प्रथाको चिरफार
‘सती’ ले नेपाललगायत दक्षिण एसियामा झन्डै एक शताब्दीअघिसम्म व्याप्त एउटा अमानवीय र नारीहन्ता प्रथाको समाजशास्त्रीय र सांस्कृतिक चिरफार गर्छ । कुनै बेला महिलालाई देवी भनेर पूजा गर्ने समाज पतिको मृत्युपछि पत्नीलाई जबर्जस्ती जिउँदै जलाउने क्रूर प्रचलनमा कसरी प्रवेश गर्यो ? लेखक मैनालीले यसको वैज्ञानिक अनुशीलन गरेका छन् । उनको ठम्याइ छ– जतिबेला समाजमा निजी सम्पत्तिको उदय भयो र एकल विवाह–परम्परा सुरु भयो, त्यही विन्दुबाट महिलाहरू परिवार र समुदायको हर्ताकर्ताको अवस्थाबाट पुरुषको अधीनस्थ अवस्थामा धकेलिन पुगे । क्रमशः पुरुषसत्ताले उनीहरूलाई निजी वस्तुको रूपमा व्यवहार गर्न थाल्यो । महिलाहरूको यही ऐतिहासिक पराजयको परिणाम थियो– सती प्रथा । यसपछाडिका धर्मान्धता, अन्धविश्वास र वर्चस्वका विभिन्न आयामको उनले निकै मिहिन चर्चा गरेका छन् ।
मानव इतिहासमाथि विमर्श
‘हिमालय : अ ह्युमन हिस्ट्री’ ले मूलतः हिमालय क्षेत्रमा मानव इतिहासको चर्चा गर्छ । पर्वतारोहणमा रुचि राख्ने डग्लसले हिमालयको उत्पत्तिका भौगर्भिक जरा पहिल्याएका छन् । हिमालय काखमा विकसित विभिन्न सभ्यताको चर्चा गरेका छन् । मुख्यतः बुद्ध धर्म/संस्कृतिलाई केन्द्रित गरी यस भूखण्डमा सांस्कृतिक विकासको ऐतिहासिक अन्वेषण गरेका छन्, मानव जीवनको परिचर्चा गरेका छन् ।
तिब्बतमा मानव जातिको बसोबास कम्तीमा २० हजार वर्ष पुरानो रहेको तर्क पुष्टि गर्दै उनले लामो बसोबासले उनीहरूमा उचाइ खेप्न सक्ने जैविक वैशिष्ट्य विकास भएको बताएका छन् । बुद्ध धर्मको उद्भवअघि यस क्षेत्रमा विकसित रैथाने आस्था र प्रचलन के कस्ता थिए ? तिनले यस क्षेत्रको चिन्तन परम्परामा कस्तो प्रभाव पारे ? तन्त्रवादको विकास कसरी भयो ? तिब्बत र चीनबीचका सांस्कृतिक सहकार्य र द्वन्द्व कस्तो थियो ? इस्ट इन्डिया कम्पनीलगायत पश्चिमी जगत् यस क्षेत्रमा कसरी घुस्दै आयो ? यी सभ्यता/संस्कृतिको विकासमा नेपालको योगदान कस्तो रह्यो ? यी विषयमा गहन अन्वेषण पुस्तकमा अभिव्यक्त भएको छ ।
यस क्रममा डग्लसले नेपाल राज्यको निर्माण (उनले यसलाई गोरखाको उदय भनेका छन्) र यसको ऐतिहासिकताको पनि पर्याप्त चर्चा गरेका छन् । हिमालयको उचाइ अध्ययनका लागि भएका विभिन्न प्रयास, आरोहण र यस सिलसिलामा सुरु भएको भूराजनीतिक प्रतिस्पर्धाबारे उनको व्याख्या चाखलाग्दो छ । समग्रमा पुस्तक गहकिलो र जानकारीमूलक छ । तर, तिब्बतको राजनीतिक अवस्था र नेपालको समकालीन इतिहासको चर्चा गर्दा भने उनी सांस्कृतिक अध्येता कम, एङ्ग्लो–अमेरिकी विचारधारा बोकेका राजनीतिक टिप्पणीकार बढी देखिन्छन् ।
किशोरी छोरीसँग संवाद
‘टकिङ टु माई डटर अबाउट द इकोनोमी : अ ब्रिफ हिस्ट्री अफ क्यापिटलिजम’ ग्रीसका पूर्वअर्थमन्त्रीले सरल भाषामा लेखेको पुँजीवाद विषयको चाखलाग्दो पुस्तक हो । किशोरी छोरी जेनियासँग संवादको शैलीमा लेखिएको यो पुस्तक अर्थशास्त्र र विशेषगरी पुँजीवादी अर्थतन्त्रका विभिन्न आयाम बुझ्न निकै उपयोगी छ । ‘नेहरूज् लेटर’ शैलीको यो पुस्तकले असमानता र यसका आर्थिक कारणबारे गहन छलफल गर्छ । किन अङ्ग्रेजहरू अस्ट्रेलियामा नियन्त्रण जमाउन र त्यहाँका आदिवासी एबोर्जिन समुदायको संस्कृति, भूमि र भाषा नष्ट गर्न सफल भए ? एबोर्जिनल समुदायले किन बेलायतमाथि आक्रमण गर्न सकेन ? उनीहरू क्षमता, वुद्धि र शौर्यमा कमसल भएरै हो या यसपछाडि अन्य ऐतिहासिक–आर्थिक कारण छन् ? रोचक शैलीमा उनी प्रश्न गर्छन् र जवाफ पनि दिन्छन् ।
बजार–समाजको उदय कसरी भयो ? यसले कसरी विश्वमाथि आधिपत्य जमायो ? ऋण र मुनाफाबीच कस्तो अन्तरसम्बन्ध छ ? ब्याङ्कहरूको जादुगरी भूमिका कस्तो छ ? मानव आविष्कृत मेसिन कसरी बिस्तारै स्वामी बन्दै छन् ? सिक्का, कागजी नोट र डिजिटल सङ्केतका रूपमा रहेको मुद्राले कसरी समाजमा वर्चस्व कायम गर्न सफल भएको छ ? यस्ता प्रश्नमा पुस्तकले सरल भाषामा तार्किक बहस गरेको छ ।
अनुभवजन्य र विनिमय मूल्यबीचको भिन्नता, जलवायु परिवर्तन र वातावरण विनाश, मानवनिर्मित यन्त्रहरूबाट बिस्तारै मानव विवेक नै नियन्त्रणमा पर्दै गरेको अवस्था, औपचारिक लोकतन्त्रलाई सारवान बनाउनुपर्ने खाँचो र गरिबी निवारणका लागि सार्थक हस्तक्षेपको अनिवार्यताजस्ता उनका तर्क मननीय छन् । तर, समानताका लागि मुद्रालाई राजनीतिक नियन्त्रणबाट मुक्त गरेर कुनै पनि देश या ब्याङ्कको निर्णायक भूमिका नरहने ‘बिटक्वाइन’ जस्तो ढाँचामा लैजानुपर्छ भन्ने उनको तर्क व्यावहारिक लाग्दैन ।
एउटा आशा
ऊर्जा र प्रेरणाका लागि म फिक्सन पढ्छु । विशेषगरी उपन्यास, जीवनी र कविता पनि । तर, सूचना र ज्ञानका लागि भने ननफिक्सन नै पढ्छु– समाजशास्त्रीय, सांस्कृतिक र विचारधारात्मक आयाम समेटिएका पुस्तक । किताब र लेखक मन पर्ने भन्ने कुरा उमेर, जिम्मेवारी र चेतनाको आयामले फरक पार्दो रहेछ ।
केही किताबले ममा गहिरो प्रभाव छाडेका छन्– होवार्ड फास्टको ‘माई ग्लोरियस ब्रदर्स’, मिखाइल सोलोखोभको ‘भर्जिन सोइल अपटर्न्ड,’ अल्बेयर कामुको ‘द जस्ट’, के. दामोदरनको ‘भारतीय चिन्तन परम्परा’, नेल्सन मण्डेलाको ‘लङ वाक टु फ्रिडम’, युअल नोआ हरारीको ‘सापियन्स’, स्टेफन हकिङको ‘ब्रिफ आन्सर्स टु द बिग क्वेस्चन्स’, अनशनका क्रममा २७ वर्षमै जीवन गुमाएका आयरिस विद्रोही बबी स्यान्ड्सको जीवनमा आधारित ‘नथिङ बट एन अनफिनिस्ड सङ,’ पाब्लो नेरुदाको ‘रुको ओ पृथ्वी’, जनकलाल शर्माको ‘हाम्रो समाज : एक अध्ययन’, रमेश विकलको ‘अविरल बग्छ इन्द्रावती’, हर्क गुरुङको ‘मैले देखेको नेपाल’, मदनमणि दीक्षितको ‘माधवी’ आदि ।
आत्मश्लाघाले भरिएका, कुण्ठा या निराशा मात्रै पोखिएका र सतही पुस्तक मलाई मन पर्दैन । सोच्छु, पुस्तकका अन्तिम पाना पढिसकेपछि जतिसुकै पीडा भए पनि मनमा एउटा आशा भरिन सकोस् । आजको रात जतिसुकै चिसो भए पनि भोलि बिहान उज्यालो त अवश्य हुनेछ, पुस्तकबाट म यस्तै अपेक्षा गर्छु ।
-कुराकानीमा आधारित
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)