‘नेभरमाइन्ड’ नारच्याङ

मान्छेहरु संगीतलाई हृदयको झंकार मान्छन् । तर, म सोच्छु– संगीतले विचारलाई उद्वेलित गर्नुपर्छ । त्यसैले भक्ति गीत, गजल, भजन, सूफी कहिल्यै मेरो फेभरेट भएन । 
रोशन शेरचन

आरम्भ 
सांगीतिक यात्रा केवल संगीतकार वा गायकको मात्रै हुन्छ भनेजस्तो गर्छन् मान्छेहरू । तर, कुरो त्यसो होइन । श्रोताको पनि आफ्नै सांगीतिक यात्रा हुन्छ । कुरो बस्, त्यो आन्तरिक हुन्छ ।

विभिन्न रुचिमध्ये कसैले संगीतलाई अटुट सहयात्री बनाएको छ भने पक्कै उसको धमिलो वा सङ्लो आरम्भ, उकाली ओराली, देउराली, घुम्ती, बिसाउने चौतारो र गन्तव्य हुन्छ । गन्तव्यपछि फेरि यात्राको निरन्तरता हुन्छ । जीवनका विभिन्न कालखण्डमा सुनेका, मन परेका, तरंगित भएका, मुग्ध पारेका, उद्वेलित बनाएका अनेकन् संगीतका भंगालाको समष्टि प्रभावलाई पर्गेल्न अत्यन्त कठिन छ । तर, कठिन भए पनि केही मानिस त्यो पर्गेल्ने जमर्को गर्छन् । यो लेख तिनै कम मानिसको लाममा उभिने एउटा प्रयास हो ।

२५ कात्तिक, २०७८ साँझ । साढे छ बजेको हुँदो हो । म ओछ्यानमा पल्टेर युट्युबमा संगीत सुनिराखेको थिएँ, युट्युबले पठाइदिएको प्ले–लिस्टमा । दायाँ भित्ताको ह्वाइट बोर्डमा गिजिरमिजर अक्षरमा थाल्नुपर्ने, सक्नुपर्ने काम र पदयात्राका सूची लेखिएको छ । चार भित्तामा ठोक्किएर प्रकाश मद्दिम छ । त्यसैको जगमा नीरवताको आयतन सघन भएको थियो । मेरो फुर्सदको समय प्रायशः युट्युबको एल्गोले तयार पारिदिएको प्लेलिस्ट सुनेरै बित्छ । आर्टिफिसियल इन्टेलिजेन्सको युगमा पर्सनलाइज्ड प्लेलिस्ट अब नयाँ हुन छाड्यो । जनराका समूहहरू अप्सनमा देखिन थाल्छन् । बिस्तारै थाहा लाग्दै गयो, मैले धेरै मन पराउने संगीत अल्टरनेटिभ रक जनराका रहेछन् । खासमा म सबैखाले संगीत सुन्छु– पूर्वीय, पश्चिमी । लोक, आधुनिक, शास्त्रीय भन्दिनँ, तर फेभरेट भन्ने त हुन्छ ! सोचें– संगीतवरपर निर्माण भएका केही फेभरेट स्मृति सोहोरेर केही लेखौं !

माउ–खण्ड

संगीतप्रतिको अत्यधिक रुझान ममा कसरी पस्यो ? धेरै ठोकुवा गरेर भन्न सकिँदैन, तर केही घटना र सन्दर्भ अनुमान गर्न सकिन्छ । सर्सर्ती पर्गेल्दा गण्डकी बोर्डिङ स्कुलको वातावरण धेरै संगीतमय थियो । माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण र लमजुङ सदनबीच हुने वार्षिक सांगीतिक प्रतियोगिताको विशेष रौनक हुन्थ्यो । उपल्लो कक्षाका दाइहरूले (अधिकांश हङकङ, सिंगापुर लाहुरेका छोराहरू) बजाउने गिटार र कंगोका धुन, विदेशी शिक्षक वा फादरले हामीलाई गिटारमा गीत सुनाएका घटना हाम्रो कमलो हृदयभित्र पसेको हुनपर्छ ।

नोटेसनसहितको गिटार क्लास पनि हुन्थ्यो, जसको अहिले धमिलो सम्झना मात्रै छ । सिम्पल कर्डमा बजाएको जन डेनभरको ‘कन्ट्री रोड टेक मी होम’, ‘सन्डे मर्निङ’ (गायक बिर्सें) र लियो सायरको ‘आई लभ यु मोर दन आई क्यान से’ खुब सुन्थ्यौं । छात्रावासमा सिनियर दाइहरूको बेडछेउ भित्तामा टाँस्सिएको बोनिएम, अब्बाको पोस्टरले आकर्षित गर्थ्यो । अहिले सोच्दा पोस्टरले नै मुग्ध बनाउने तहको सरल समय रहेछ त्यो । क्यालेन्डरमा २०३१ देखि २०३७ को कालखण्ड थियो । उमेर पनि काँचो, जे पनि टिप्न मन लाग्ने जिज्ञासु ।

क्याम्पस पढ्दा वकमैनले संगीतप्रतिको रुझानलाई अर्कै तहमा उकाल्यो । वकमैन त्यो समयको विस्मित पार्ने प्रविधि थियो । महँगो भएकाले किन्ने सामर्थ्य सबैसँग थिएन । त्यो धेरैभित्र म पनि पर्थें । कहिलेकाहीँ साथीसँग मागेर सुन्थेँ र अद्भुत लोकमा पुगेको अनुभव गर्थें । हेडफोन लगाएर सुन्दा टाउकोमाथिको मध्यभागबाट (टुप्पी उम्रने स्थान) संगीतको ध्वनि आउँथ्यो, त्यो वास्तवमै अचम्मको अनुभव थियो । स्टिरियो साउन्ड भएकाले त्यसो भएको रहेछ । रेडियोको सपाट साउन्ड सुनिरहेको कानमा गिटार, ड्रम र स्वर नै फरकफरक दिशा र गहिराइबाट आएको बोध हुने त्यो मेसिनप्रति म बेस्मारी आकर्षित भएँ । किशोरवयभरि ऐकान्तिकता र अन्तरमुखी स्वभावले कहिल्यै छाडेन । थपमा पोखरा र हेटौंडाको रमणीयता ! वकमैन भएको कोही न कोही मेरो साथी हुन्थ्यो (सायद वकमैन भएकैले मैले साथी बनाएँ कि ? आजकल सोच्छु) । बिटल्सको लव सङ्ग्स भोल्युम १ र २ हेटौंडाको राप्ती खोला किनारमा खुब सुनेँ ।

विश्व शेरचनबाट डाय स्टेयर्सको भर्खर निस्किएको एल्मब ‘ब्रदर इन आर्म्स’ बारे थाहा पाएँ । त्यो एल्बम धेरै पटक सुनेँ । त्यस ब्यान्डको फ्रन्ट मेन मार्क नफलरलाई तीस/पैंतीस वर्षपछि पनि अनवरत सुनिरहेको छु । ‘मनी फर नथिङ’ नागर युवाहरूमाझ अत्यन्त चर्चित भयो । एमटीभीले सहरका नागर युवा वर्गलाई भरपूर मनोरञ्जन दियो । त्यसताक रेडियो नेपालमा प्रत्येक शनिबार बज्ने माइकल चन्दको ‘म्युजिकल आवर’ ले पनि थप मलजल गर्‍यो । वन विज्ञानमा स्नातक गर्दा मित्र रामु सुवेदीको सोनी वकमैन खुब सुनेँ । कति माग्नु ? दोस्रो वर्षमा ट्याक्सीमा प्रयोग गर्ने सेकेन्ड ह्यान्डको कार स्टुरियो किनेँ र संगीत सुन्ने कर्मलाई तीव्रता दिएँ । रुम पार्टनर रवीन्द्र महर्जनले कहिल्यै ‘मलाई डिस्टर्व भयो’, ‘भोलुम कम गर्नू’ वा ‘बन्द गर्नू’ भनेनन् ।

अहिले सोच्दा साह्रै बुझ्ने रुमपार्टनर पाएको रहेछु । बब डिलनको ‘ओ मर्सी’, ब्रुस स्प्रिस्टिङको ‘टनल अफ लभ’, यु टुको ‘जोसुवा ट्री’ लगायत ‘इगल्स’, ‘बी बी किङ’ र जे जे केलको ‘ब्लुज्’ ! रजनीशको प्रवचन र कितारोको संगीत सुन्नु अर्को लत थियो । युट्युबको अहिलेजस्तो साम्राज्य थियो, त्यसबेला वकमैनको थियो । स्नातक सकेर जागिर गरेपछि भने वकमैन किनेँ । सुन्ने तीव्रता झन् बढ्यो । जागिरको राम्रै अंश क्यासेट पसलमा जान्थ्यो । यो क्रम २०४५ देखि २०५४ सम्म राम्रै चल्यो ।

पुस्तक अलि सचेत भएर किनिन्छ, पढिन्छ । संगीतको हकमा त्यसो नहुने रहेछ । निःशुल्क प्लेलिस्ट आउँछ– बजायो, अन्य काम गर्दै गयो, पृष्ठभूमिमा संगीत बज्दै जान्छ । स्कुल, क्याम्पस, रेडियो नेपालको म्युजिकल आवर, नेपाल टीभीमा भूषण दहालले सञ्चालन गर्ने ‘सन्डे पप’ हुँदै विभिन्न क्यासेट ! मखन गल्लीमा पैसा तिरेर कन्सर्ट हेरेका दिन र अहिलको युट्युब संसार जोड्दा श्रोताका रूपमा मेरो संगीत–सहयात्रा अचाक्ली छ्यासमिसे छ । जन डेन्भर, डन विलियमजस्ता लोकगायकदेखि ल रिडको भल्भेट अन्डरग्राउन्ड र सेक्स पिस्तोलजस्तो पंक ब्यान्डदेखि निर्भाना, पर्लजामजस्तो ग्रन्ज ब्यान्ड ! नुसरत अली फत्ते खाँको सूफी संगीत, किशोर कुमारको रोमान्टिक गीतदेखि बब डिलनको लोक रक अटाउँछ त्यहाँ– रोलिङ स्टोन, क्विन, टिना टर्नर, एसीडीसी, गन एन्ड रोजेज, ब्याड कम्पनी, वन जभी, ट्राभलिङ विलवरी, जिम मरिसन, बब मार्ले, पल साइमनदेखि हाम्रै दीप श्रेष्ठ, अरुण थापा र नेपथ्य ! ब्लुज् जनराका धेरै नभए पनि आधा दर्जन नाम होलान् । रेडियो नेपालमा बज्ने सुगम संगीतको अध्याय त छँदै छ । एफएम युगभन्दा अघि सबै नेपालीको साझा स्टेसन त्यही थियो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म । सांस्कृतिक क्षेत्रको त्यो हदको रेखीय फम्यार्ट अहिले सोच्दा विचित्रको लाग्छ । यस्तो पृष्ठभूमिमा मेरो सांगीतिक रुचिलाई एक वाक्यमा जीवरिश भन्न सकिन्छ ।

स्नातक भई जागिरमा जोमसोम जाँदा पच्चीस/छब्बीस वर्षको अल्लारे ठिटो थिएँ । मुस्ताङको सुक्खा र बंजर ल्यान्डस्केपमा बाल्यकालीन स्मृति किरिङमिरिङ आइरहन्थ्यो । बाल्यकालका केही वर्ष जोमसोममा बितेको थियो मेरो । जोमसोममा बैंसका निहुरिएका मादक हाँगा नियाल्दै कालीगण्डकीको बतास ओढेर आरईएम धेरै सुनेँ– आरईएमको एल्बम, ‘आउट अफ टाइम’ र ‘अटोमाटिक फर द पिपल’ । गिटारप्रधान संगीत, अनेकार्थ शब्दरचना र माइकल स्टिपको अद्भुत स्वरमा हेलिएँ । कालान्तरमा थाहा भयो– गिटार बेस्ड संगीत मलाई बढी रुच्दो रहेछ ।

नेपथ्यमा गिटार बेस्ड संगीतमा मेरो स्वाभाविक रुचिका केही कारण रहेछन् । सानैमा गिटार देखेको, स्कुलमा दाइहरूले कहिले बजाइ भ्याउलान् र झ्याङ–झ्याङ पारुँला भनेर पर्खेको, पहिलो तलबले गिटार किनेको, किशोर कालमा तीन स्थानमा गिटार सिकेको ! कर्कश संगीतभन्दा पृष्ठभूमिमा गिटार, ड्रम बजोस् र स्वरले संगीतको अग्र भाग ढाकोस् । आरईएम, निर्भाना, पर्ल जाम, स्म्यासिङ पमकिङ, मिडनाइट अयल, यु टु, भल्भेट अन्डरग्राउन्ड ब्यान्ड दोहोर्‍याई तेहेर्‍याई सुनेँ । अल्टरनेटिभ रकमा मात्र सीमित भइनँ म । बब डिलन, ब्रुस स्प्रिस्टटिङ, मार्क नफलर पनि उत्तिकै सुनेँ ।

डिलनको प्रतिरोधी चेतनाबाट राल्फालीहरू प्रभावित थिए भन्ने राल्फालीको अन्तर्वार्तामा पढेको थिएँ । औद्योगिक क्रान्तिको यान्त्रिकीकरणले गाँजेपछि पश्चिमा युवाहरूले जुर्मुराउँदै संगीत, कला र साहित्यको सहारा लिएको बुझिन्छ । एलेन गिन्सवर्ग, ज्याक केरुअकलगायतका बिट कविहरूले डिलनलाई गहिरो प्रभाव पारेका थिए । हाम्रोमा कवि ईश्वरवल्लभ बिट कविहरूबाट केही हदसम्म प्रभावित रहेको मैले भेटेको छु ।

गिन्सवर्ग, केरुअक, फर्लेघट्टी, विलियस वरोजका नाम र सन्दर्भ वल्लभ दाइका लेखमा दोहोरिरहन्थे । पञ्चायती शासनको निरंकुशताको विरोधमा राल्फालगायतका प्रतिरोधी संगीत हामीकहाँ पनि सृजना भयो । नित्सेको आत्मप्रलापलाई पनि जागरण धुनमा लिपिबद्ध गरेका रहेछन् राल्फालीहरूले । राजनीतिक र भौगोलिक सिमाना अस्वीकार गरी प्रतिरोधी चेतनाका आत्माहरू निर्बाध हिँडडुल गरिरहन्छन् । भूतमा त्यो भएको थियो । वर्तमानमा पनि त्यस्तो देखिरहेका छौँ । त्यसैले भन्न सकिन्छ, भविष्यमा पनि यस्तो भइरहनेछ ।

अल्टरनेटिभ रक कस्तो जनरा हो ? यसका प्रवृतिगत विशेषता के हुन् ? भन्न कठिन छ, तर केही अनुमान गर्न सकिन्छ । सन् सत्तरीमा प्रारम्भ भएको यो जनरा असीको दशकमा उत्कर्षमा पुगेको थियो । संस्थापनसँगको पुस्तागत मतभेदलाई (नन कन्फमिर्टी) सायद अल्टरनेटिभ रकको आत्मा मान्न सकिन्छ । मूलधारले संगीतलाई वस्तुकरण गर्ने प्रवृत्ति र संगीत कम्पनीले गर्ने प्रचारको तामझामविरुद्ध त्यो लक्षित थियो । मूलधारको संगीतलाई नकार्दै बरु साना तथा स्वतन्त्र उत्पादक (लेबल) मार्फत श्रोतामा पुग्ने यिनले आग्रह राखे । कतिपय सांगीतिक ब्यान्ड त चर्चामा आउन नचाहने मात्र होइन, बरु आफ्ना खास स्रोतमै सीमित भई अन्डरग्राउन्ड बस्न रुचाए । निर्भाना, पर्ल जाम सबै प्रारम्भमा अन्डरग्राउन्ड ब्यान्ड थिए । तर, अन्टरनेटिभ रकलाई परिभाषित गर्ने क्रममा देखा पर्ने मसिना भिन्नताहरू (नुआन्स) बारे संगीतज्ञ, गायक, रेकर्ड कम्पनी र स्कलरबीच मतान्तर छ ।

घोडेपानीमा जागिरे छँदा हामी बस्ने ‘नमस्ते होटल’ को मालिकका छोरा नरेनले निर्भानाको संगीत गाएर पर्यटक दंग पार्थे । नरेन वास्तवमै राम्रो गिटार बजाउँथे । कति टुरिस्ट त रोकिएर, सुनेर र प्रशंसा गरेर जान्थे । केही टुरिस्टले बजाउँथे पनि । लालीगुँरासको घना जंगलले घेरिएको त्यो सुनसान देउरालीमा तीन खालको ध्वनि मात्र सुनिन्थ्यो– पोखराबाट जोमसोम उड्ने जहाज, खच्चडको घण्टी र नरेनको गिटार । जंगल र खोंचमा प्रतिध्वनित भएर गिटारको ध्वनि पनि चर्को सुनिन्थ्यो । हामी संगीतकै कुरा गर्थ्यौं । नरेन भन्थे– ‘दाइ निर्भाना सुन्नू है, दामी छ ।’ पोखरा झरेको मौका पारेर महेन्द्रपुलमा निर्भानाको एल्बम ‘नेभरमाइन्ड’ (१९९१) किनेँ । त्यसका अल अपोलोजिज, द मेन हु सोल्ड द वर्ल्ड, कम एज यु आर, पोली, लिथियमलाई घोडेपानी, सिख, घारा, नारच्याङ फिल्ड भ्रमणमा अत्यधिक सुनेँ ।

मेरो डार्क कालखण्डमा निर्भानाको डार्क संगीतको संयुक्ति निकै मिलेको थियो । विरेचन पनि प्रशस्त भयो । समूहमा हुन्थ्यौं फिल्ड जाँदा– कमल थापा, लक्ष्मी पुन र म । कहिलेकाहीँ ओम दाइ हुन्थे । म प्रायः बाटामा वकमैनमै मग्न हुन्थेँ, आफ्नै संसारमा । अनुभव भन्छ– आफ्नै संसारमा रम्नेहरू एकहोरो हुन्छन् । एकहोरो जीवन एकांगी बन्ने सम्भावना बढी हुन्छ र त्यसबाट बच्नुपर्छ । निर्भाना सुन्दा म सधैं फेरि १९९५, १९९६ तिरको घोडेपानी, घान्द्रुकको स्मृतिमा पुग्छु । ती स्मृतिमा जान आजकल धेरै मन लाग्दैन । वास्तवमा विगतका वैयक्तिक रुचिका कुराहरू त्यति गर्न मन लाग्दैन । तर, यद्यपि जंक यार्डजस्तो त्यो अवचेतनमा प्रवेश गर्ने हो भने अनेकन् लेख लेखिन्छन् ।

त्यसबेला सुनेको एउटा ब्यान्ड भने जलवायु परिवर्तनको सन्त्रास बढिरहेको अहिलेको समयमा झन् सान्दर्भिक पाउँछु– ‘मिडनाइट अयल’, एक अस्ट्रेलियन ब्यान्ड । एल्बम ‘डिजेल एन्ड डस्ट’ (१९८७) त्यति नै बेला धेरै अपरम्परागत लागेको थियो । यो लेख लेख्दा फिल आओस् भनेर फेरि त्यो एल्बम सुनेँ, करिब पच्चीस वर्षपछि । पर्यावरणीय ह्रासबारे चिन्ता गरेर गाइएको ‘धरती जलिरहेको छ’ (बेड्स आर बर्निङ) अत्यन्त लोकिप्रय भएको थियो । ‘मिडनाइट’ पृथ्वीको भविष्यकै चिन्ता गर्ने सामयिक ब्यान्ड हो । ‘बेड्स आर बर्निङ’ मा, अस्ट्रेलियन कविला समुदायको जीवन पद्धति, डेजर्ट ल्यान्डस्केप र त्यहाँको वनस्पति जोगाउनुपर्ने सांगीतिक आग्रह छ :

पर जहाँ नदी टुंगिन्छ / ब्लड उड र डेजर्ट ओक

होल्डन रेक र बोइलिङ डिजेल/ पैंतालीस डिग्रीमा उम्लिरहेको भेटिन्छ

कसरी नाच्न सकिन्छ / जब पृथ्वीको सन्तुलन भत्कँदै छ ?

कसरी सुत्न सकिन्छ / जब हाम्रो धरती जलिरहेको छ ?

जीवरिश वाणी

मान्छेलाई राम्रा–राम्रा संगीतभन्दा पनि बाल्यकाल वा किशोरकालमा सुनेको गीत मन पर्दो रहेछ । कालसँग नजोडिई संगीत आउँदैन । कुनै पनि संगीतले सुन्नेलाई पहिलोपटक सुन्दाको त्यो क्षण, जोडिएको पात्र, घटेको सन्दर्भ र अझ बृहत्मा सांस्कृतिक पर्यावरणको झल्को दिन्छ । म कसरी अपवाद हुन सक्छु ? पटकपटकको प्याटर्न अवलोकनबाट मलाई केचाहिँ थाहा भयो भने म अडियोपर्सन रहेछु, भिजुअल होइन ।

चाक्षुक कलाका विधाहरू नाटक र सिनेमा मलाई संगीतको तुलनामा कम मन पर्छन् । संगीतले प्रदान गर्ने तहको ऊर्जा अन्यमा पाउँदिनँ । संगीतलाई धेरैले हृदयको झंकार मान्छन्, तर मेरा निम्ति संगीतले विचारलाई उद्वेलित गर्नुपर्छ । त्यसैले भक्ति गीत, गजल, भजन, सूफी मेरो फेभरेट कहिल्यै भएन । मनभन्दा आँखा लोभी हुने युग छ । कर्पोरेट पुँजीवादले यसैलाई संस्थागत गरिरहेको छ । चकाचौंधको दुनियाँ आखिर आँखाको रमिता मात्रै न हो ! त्यसले न आत्मालाई शान्ति दिन्छ, न मस्तिष्क उद्वेलित बनाउँछ ।

फोहोरेको थैलामा बोक्छु म मानह्याटनलाई

जसमा ल्याटिन भाषामा लेखिएको छ

अरूको हित चिताउनुजस्तो अपजस अहिलेको समयमा केही छैन !

– ल रिड, भल्भेट अन्डरग्राउन्ड

प्रकाशित : माघ १५, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं-लन्डन-काठमाडौं-लन्डन...

थाहा छैन यो रेसमी आवाज र माइकको सम्बन्ध फेरि कसरी जुर्छ । उनी स्वयं जान्दैनन्, सधैंका लागि उनी अवकाश लिँदै छन् कि यो एक विश्राम मात्रै हुनेछ !
घनश्याम खड्का

सुन्नेहरू जान्दछन्, बोलीको माधुर्य कस्तो हुन्छ ! जसरी सुमन खरेललाई चिन्नेहरू उनलाई सुनिरहूँ भन्ने अनुराग पाल्छन् । चार दशक भएछ उनको मधुरो, रेशमी आवाज विद्युतीय तरंगहरूमा फैलिएर रेडियो हुँदै मानिसका कानबाट पसेर हृदयमा बसेको ।

मैलेझैं एउटा सिंगै पुस्ताले बुझ्ने भएदेखि ‘बीबीसी नेपाली सेवा’मा एउटा मह घोलेजस्तो रेसमी आवाज सुनेर हुर्कियो । मैलेझैं एउटा सिंगै पुस्ताले त्यो रेशमी आवाज पहिले सुन्यो र त्यस वाणीको धनिको नाम सुमन खरेल हो भन्ने पछि बुझ्यो ।

सुमनको स्वर कुनै व्यक्तिको नभएर त्यो एउटा इतिहासलाई ध्वनित गर्ने समयको स्वर होजस्तो भ्रान्तिसमेत हुने अवस्था थियो एक समय, जतिखेर नेपालमा संकटकालले गर्दा ज्यादा बोल्न सक्ने अवस्था थिएन र उनी लन्डनबाट हरेक रात पौने नौ बजे निर्धक्कसँग खबरहरू फलाक्ने गर्थे ।

यस्तो सम्मोहक वाणीका स्रोत सुमन केही वर्षयता त देखिन पनि थालेका थिए टेलिभिजनको पर्दामा, जहाँ उनी मूलधारको पत्रकारिताले ज्यादा नखोतल्ने विषय र पात्रबारे बहस चलाउँथे उस्तै मोहक शैलीमा । बीबीसीको जागिर र लन्डनको बसाइ दुवैलाई छाडेर नेपाल आई ‘कान्तिपुर टेलिभिजन’मा उनी देखिन थालेपछि मैलेझैं उनलाई केवल सुन्दै मात्रै आएका असंख्य श्रोताले थाहा पाए, सुमनको आवाज मात्रै होइन, उनको व्यक्तित्वमा नै एउटा माधुर्य छ । त्यसको केही कालपछि एक साँझ उनीसँग भेट हुने मौका जुरेको थियो लन्डनमा । महिना, डेढ महिनामा उनी लन्डन–काठमाडौं गरिरहँदा रहेछन् । काठमाडौं आयो, टेलिभिजनको काम सक्यो, लन्डन फर्क्यो, घरपरिवारको नियास्रो मेट्यो र फेरि काठमाडौं फर्क्यो । यस्तो उनको तालिका रहेछ ।

‘अब म जाँदै छु फर्केर’ कोरोनाको पहिलो लहर सुस्ताएजस्तो भएपछिको एउटा भेटमा सुमनले सुनाए ।

‘अनि टेलिभिजनको काम ?’ मैले मानूँ रोक्न नहुने कुनै काममा बाधा आउन लाग्दा निस्कने तहमा प्रश्न गरेँ ।

‘त्यो अब बन्द हुँदै छ’ उनले केही भएको छैन जस्तो गरी उस्तै बेपरवाह रेशमी जवाफ फिराए ।

त्यसपछि केही कुरा भए उनीसँग । सन् २०१५ मा बीबीसी सकेर नेपाल फर्केपछि उनका दुई मुख्य काम काठमाडौंमा थिए । पहिलो, ब्रिटिस फोर्सेस ब्रोडकास्टिङ सर्भिस (बीएफबीएस) को समाचार प्रमुख भई बेलायती सेनामा कार्यरत नेपाली सैनिक सम्बद्ध समाचार प्रसारणको नेतृत्व गर्नु । दोस्रो, कान्तिपुर टेलिभिजनमा हरेक हप्ता ‘टक सो’ चलाउनु ।

अचानकसँग कोरोनाले संसारको रीतमा खलबल ल्यायो । आठ–नौ महिना पर्खंदा पनि उनले लन्डन फर्किन पाएनन् । एक अति दुर्लभ रोग रेट्स सिन्ड्रोमका कारण वाणीहीन भई सानैदेखि बिच्छ्यौनामै थला परेकी छोरी स्मारिकाको एक्लो रेखदेखमा खटिएकी पत्नी सितुलाई साथ दिन पाएनन् । यो अवधिमा उनले छोरीलाई कुनै मद्दत पनि गर्न सकेनन् । कोरोनाले संसार पूर्ववत् अवस्थामा आउन वर्षौंजस्तो लाग्ने आकलन आइरहेका बेला ओमिक्रोन भेरिएन्टले फेरि संसार हल्लायो । अवस्था यस्तो बुझेपछि सुमनले ३७ वर्षको लामो वाणी व्यवसायलाई विश्राम दिन लागेका रहेछन् । गत साता उनले कान्तिपुर टेलिभिजन र बीएफबीएस दुवैबाट बिदा लिए ।

छोरालाई डाक्टर बनाउने गीतकार बाबु किरण खरेलको सपना पूरा गर्न चिकित्साशास्त्रको विद्यार्थी हुँदा भगवान् कोइरालाहरू उनका सहपाठी थिए । आफ्नै सपनाको बाटो पच्छ्याउँदै एप्रोन फुकालेर २४ वर्षको उमेरमा २०४१ मा ‘रेडियो नेपाल’ छिर्दा सुमन राजधानीको ‘मोस्ट इलिजिबल ब्याचलर’ बन्न पुगे जोसँग कुरा गर्न, भेट्न र एकान्तमा प्रेमका केही मधुर कुरा गर्न हजार आँखाहरू प्रतीक्षारत हुन्थे । रेडियो नेपालमा समाचार पढ्न जाँदा हरेक दिन एउटा फोन आउँथ्यो सुमनलाई । यस्ता अनेक लहडी शुभेच्छुकहरूबाट सुमन नित्यजस्तो घेरिएरै रहे ।

रेडियो नेपालमा तहल्का मच्चाउने रेसमी आवाजवाला गोरे, अग्लो र अनुहारमा मृदु मुस्कान छरेर हिँड्ने ठिटो कलेजमा पढ्न पुग्दा चाहनाको एउटा आँधी आउँथ्यो वरपर । यस उपक्रमको सात वर्षपछि उनी बीबीसी नेपाली सेवामा काम गर्न लन्डन पुगे । त्यहाँ बसेको चारै वर्षमा उनलाई नेपालको अग्घोरै माया लाग्यो । लन्डनको घर बेचबाच पारेर उनी सपरिवार नेपाल फिरे । यहाँ आएर उनी आमसञ्चारको तालिम चलाउने काममा सक्रिय भए । नारायण श्रेष्ठ, विजय पौडेलजस्ता थुप्रै पत्रकार उनको तालिम गृहबाट तयार भएका केही नाम हुन् भन्ने सम्झँदा सुमनलाई त्यो समय त्यसै खेर गएको रहेनछ भन्ने सन्तुष्टिको अनुभव हुन्छ ।

दरबार हत्याकाण्डपछि सुमनलाई बीबीसी नेपाली सेवाले फेरि बोलायो । यस पटक उनले नाइँ भन्न सकेनन्, किनभने छोरी स्मारिकाको दुर्बल स्वास्थ्यलाई सम्बोधन गर्ने कुनै संयन्त्र नेपालमा उनले देखेनन् ।

फेरि उनी सपरिवार लन्डन पुगे । त्यसपछि बीबीसीबाट स्वैच्छिक अवकाश लिएका सुमनले परिवारलाई फेरि नेपाल ल्याउने आँट गर्न सकेनन् । सधैँ उडिरहने जहाजका कारण नेपाल आएर रहर र लन्डन पुगेर पारिवारिक दायित्व दुवै पूरा गर्न उनलाई बाधा थिएन । तर, कोरोनाले सारा संसार ठप्प भएपछि सुमन नेपालमा काम गर्ने धीत नमर्दै फर्कने अवस्थामा पुगे ।

‘अपाङ्गता भएकालाई पढाउने एउटा गतिलो स्कुलसम्म पनि छैन मेरो देशमा भन्दा सारै मन दुख्छ,’ उनको मधुर बोलीमा यस पटक पीडाको गहिरो लेपन पनि थियो, ‘आशा गर्छु, छिट्टै नै विशेष स्कुल र अस्पतालहरू यहाँ खुलून् ।’

अचेल सुमन जाने तयारीमा छन्, मित्रहरूसँग भेटघाट र विदाबादी गर्दै छन् । फेब्रुअरी १३ तारिखका दिन उड्ने टिकट पनि उनले काटिसकेका छन् ।

थाहा छैन यो रेसमी आवाज र माइकको सम्बन्ध फेरि कसरी जुर्छ ! उनी स्वयं जान्दैनन्, सधैंका लागि उनी अवकाश लिँदै छन् कि यो एक विश्राम मात्रै हुनेछ ! जे होस्, हालैका आउने दिनहरूमा उनको कुनै ‘डेडलाइन’ भने हुने छैन । फुर्सदिला दिन उनी छोरीका साथमा हुनेछन्, लन्डनका पार्कहरूमा सुस्ताउनेछन् र जता गए पनि हुने पाइलाहरू चाल्नुको आनन्द लिनेछन् । संसार एउटा ठूलो घडी हो र जिन्दगी त्यसको पेन्डुलम हो भने सुमनले एउटा निश्चित दूरी हिर्काइरहेका छन्, काठमाडौं–लन्डन–काठमाडौं–लन्डन....!

प्रकाशित : माघ १५, २०७८ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×