खै, म के बोलूँ ?
खै म के बोलूँ !
बोल्ने विषय दुई–चार होइन, हजारौं छन् यहाँ । तर, आज–भोलि मलाई बोल्नै मन लाग्दैन । कहिलेकाहीँ मलाई पनि लाग्छ, किन मलाई बोल्न मन लाग्दैन ?
बोली केलाई भन्ने ?
आजको युगमा यो प्रश्न बडो गम्भीर भएर आएको छ, सबैमाझ । प्रविधिले आफूलाई एक्सप्रेस गर्ने माध्यम मानिसहरूको हातहातमा पुर्याइदिएको छ । त्यसैले मनमा लागेका कुरा मानिसहरू तुरुन्तै बोल्छन् । चाहे त्यसको नतिजा जेसुकै आओस् । पहिले कसैलाई केही भन्नुपर्यो भने हप्तौं वा महिनौं कुरेर भन्नुपर्थ्यो । अथवा चिठी पठाउनुपर्थ्यो । आजकल प्रविधिले मान्छेलाई कुर्नै नपर्ने बनाइदियो । कसैको समर्थन वा विरोध गर्नुपर्यो भने तपाईं आफू उभिएकै ठाउँबाट तुरुन्तै गर्न सक्नुहुन्छ ।
त्यसैले आजकल बोली हलुंगो भएको छ । पहिले बोलीको तुलना गोलीसँग हुन्थ्यो । आजकल खै कुन्नि केसँग पो हुन्छ !
अहिलेको समयमा बोली सुनिने वा देखिने माध्यम बनेको छ– सोसल मिडिया । कुनै मानिस सोसल मिडियामा देखिने वा सुनिने गरी एक्टिभ भएन भने मानिसहरू सोच्छन्, ‘फलानो केही बोलिरहेको छैन ! त्यो प्रतिगमनकारी हो कि क्या हो ? पुँजीवादी दलाल पो हो कि ? कि राजावादी हो, नभए अनुदार कम्निस्ट हो ?’
केही समययता मेरो फेसबुक पेजको इनबक्समा पनि शुभचिन्तक मित्रहरूका म्यासेज आउन थालेका छन् । म्यासेजमा राजनीतिक, सामाजिक अथवा भनौं समाजसेवाका विषयमा ‘तिमी किन बोल्दैनौ’ भन्ने खालका प्रश्नहरू हुन्छन् ।
मेरा शुभचिन्तक मित्रहरूको आग्रह होला– यो मान्छे प्रतिगमनकारी, पुँजीवादी दलाल, राजावादी अथवा कठोर कम्निस्ट केही पनि नभइदिए हुन्थ्यो ।
साँच्चै तपाईंले सोचेजस्तै म केही पनि होइन । हाम्रै समाजको एक असाध्यै साधारण मानिस हुँ । आमाको कोखबाट जन्म लिँदा म कुनै पुँजीवादी दलाल, प्रतिगमनकारी, राजावादी वा कठोर कम्निस्ट भएर जन्मेको होइन । म मानिसको रूपमा जन्मेको हुँ । त्यसैले म साधारण मानिस बनेरै जीवन बिताउन चाहन्छु । मनुष्य चोलामा एक दिन बिदा लिनु त छ नै । त्यति हो, यो पृश्वीमा मनुष्य चोला लिएबापत बोलेर मात्रै होइन, केही गरेर बिदा हुन चाहन्छु ।
नेपाल विषेशतः पहाडी क्षेत्र बढी भएको मुलुक हो । अहिले बाँझो देखिने पहाडका तरेली परेका खेत–बारीछेउ भएर तपाईं पक्कै पनि हिँड्नुभएको होला । फोटो पनि खिच्नुभएको होला र मुस्कानसहितको त्यही फोटो सोसल मिडियामा पोस्ट्याउनुभएको पनि होला । तर, ती पहाडका तरेली परेका खेत–बारी बनाउन कति पुस्ताले रगत–पसिना बगायो, कहिल्यै कल्पना गर्नुभएको छ ? उहिलेका मानिसहरू हामीजस्तो बोल्ने भएको भए सायद ती तरेली परेका खेत–बारी बन्ने थिएनन् । र, आज हामी धेरै नबोल्ने भएको भए ती खेत–बारी बाँझै बस्ने थिएनन् ।
तरेली परेका ती खेत–बारीका छेवैमा उभिँदा म बडो अलमलमा पर्छु, ‘म बोलौं कि केही गरौं ?’
तैपनि शुभचिन्तकहरू सोधिरहन्छन्, ‘देशमा यस्तो बेथिति छ, तिमी किन बोल्दैनौ ?’
फिस्स हाँसेर मनमनै भन्छु, ‘खै, म के बोलूँ !’
फेरि म को हो र बोल्नैपर्ने ?
तपाईंलाई लाग्ला, ‘लेखक/कलाकार भएर तैंले यस्तो भन्न पाउँछस् ?’
कलाकार मात्र होइन, यो देशका सबै नागरिक राष्ट्रका गहना हुन् भन्ने मान्यता राख्छु म । मैले लेख्नु, कलाकारिता गर्नु र किसानले जुम्लामा स्याउ फलाउनु, शेर्पाले हिमाल चढ्नु, वीरगन्जका कारखानामा मजदुरले काम गर्नु अनि एउटा डाक्टरले बिरामीको अप्रेसन गर्नु सारमा एउटै हो । नाम त हिमाल चढ्नेले पनि कमाउँछन्, स्याउ–सुन्तला फलाउनेलाई पनि मान्छेले चिन्छन् । प्रसिद्ध डाक्टर पनि छन्, प्रसिद्ध मजदुर पनि छन् ।
जति नै आदर्श छाँटे पनि मानिसमा सामाजिक अनि मनोवैज्ञानिक दबाब पर्छ नै । मलाई पनि त्यस्तै भयो ।
त्यसैले एक दिन म बोलें ।
कुरा गएको पुस महिनाको हो । चिसो बिहानीमा म पोखरा फेवातालको किनारमा हिँडिरहेको थिएँ । अचानक एउटा दृश्यले मेरा आँखा तान्यो । दृश्यमा एक जना दिदीले तालको किनारमा मज्जाले साबुनको फिँज निकाल्दै कपडा धोइरहनुभएको थियो । दृश्य देखेर बडो चित्त दुख्यो मेरो । टाढाबाट कपडा धोइरहेकी दिदी नचिनिने गरी फोटो खिचें । अनि होटलमा पुगेर फेसबुक पेजमा लेखें, ‘फेवाताललाई माया नगर्ने पोखरेली दिदी । सबेरै बिहान हिँड्न जाँदा देखेको यो दृश्यले मेरो बिहान नै बिगारिदियो ।’
प्रतिक्रिया सकारात्मक पनि आए, नकारात्मक पनि आए । मानिसहरूको सोचअनुसार नै प्रतिक्रिया आउने हो । क्रिया भएपछि प्रतिक्रिया त हुन्छ नै ! प्रतिक्रियामाथि फेरि प्रतिक्रिया दिइरहन जरुरी ठान्दिनँ म । तर, मैले लेखेको कुरा गलत थिएनजस्तो लाग्छ । अलि प्रकृतिप्रेमी छु, त्यसैले पनि मलाई खोला–नाला, रूख–पात, जंगल–ताल सबैको माया लाग्छ । तालको क्षेत्रफल मिचिएको खबरहरू पढ्दा दुःख लाग्छ । साबुनको फिँज निकाल्दै तालमा कपडा धोएको देख्दा चित्त दुख्छ । फेवातालमा बगिरहेका होटलहरूका ढलको कुरा सुन्दा त लाजै लाग्छ ।
तर, अब मैले तालको विषयमा केही नबोल्ने निर्णय गरेको छु । बरु तालमा डुङ्गा चढेर दिनभर घुमेका फोटाहरू सामाजिक सञ्जालमा सेयर गर्छु । म न अब तालको बारेमा फेसबुकमा लेख्छु, न ट्वीटरमा । यो मेरो नितान्त व्यक्तिगत निर्णय हो ।
बोल्न पाउनु मेरो अधिकारको कुरा हो भने, बोल्न नचाहनु पनि मेरो अधिकारको कुरा हो । त्यसैले अब म केही बोल्दिनँ !
पचासको दशकमा म पोखरामा पढ्दा सुनेको हुँ ताल संरक्षणको कुरा । बोलेर तालको संरक्षण हुने भए संसारकै उत्कृष्ट ताल बनिसक्थ्यो फेवाताल । धेरै मान्छेहरू घाँटी सुक्ने गरी कराए, कोकोहोलै मच्चाए । तर, ताल खिइँदै गयो दिनप्रतिदिन ।
त्यसैले अब म बोल्दिनँ । बरु, अब म केही गर्छु ।
म तालमा कहिल्यै कपडा धुन्नँ । पिसाब पनि गर्दिनँ । न सिँगान नै फाल्छु । न त तालको जग्गा नै मिच्छु । पोखरा जाँदा तालमा ढल फाल्ने होटलमा त झन् बस्दै बस्दिनँ ।
यति काम गरेपछि फेवातालको विषयमा अब म के बोलूँ ?
कस्सम म नबोलेको होइन !
२०४६ सालको जनआन्दोलनमा म बालक थिएँ । तर, पनि गाउँका दाइहरूले आयोजना गरेको राँके जुलुसमा राँको लिएर तोते बोलीमा नारा लगाउँदै, ‘पन्तायती वेवत्ता मुल्दाबात !’ भनेकै हुँ ।
माओवादी ‘जनयुद्ध’ ताका पनि हामी फरक तरिकाले बोल्यौं । सरकारको विरुद्धमा पनि बोल्यौं । माओवादीको विरुद्धमा पनि बोल्यौं ।
फेरि दोस्रो जनआन्दोलन भयो । कस्सम मैले आफ्ना दाँत हल्लिने गरी शंख बजाएको छु, त्यो आन्दोलनमा । नारा लगाउँदा घाँटी त कति पल्ट सुक्यो सुक्यो । त्योबेला जनता र जनताको नेतृत्व गर्ने झुन्डले धेरै बोलेर पो देशलाई लोद्दर लागेको हो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ, कस्सम !
देशमा बेथिति हुँदा मलाई पनि दुख्छ । मेरो मनमा पनि चण्डीज्वाला छुट्छ । रिसले भाउन्नै हुन्छ ! रिसले भाउन्न हुँदा मान्छेको नाकमा हान्यो भने त पुलिसले लगिहाल्छ । त्यसैले हामीले खुट्टा बजार्ने त भुइँमा हो । मुड्की बजार्ने भित्तामा हो ।
तर, जति नै रिसले भाउन्न भए पनि भुइँमा खुट्टा र भित्तामा मुड्की बजारियो भने आफैंलाई दुख्छ । त्यसको सट्टा कोदाली बजार्नुभयो भने जमिन खनिन्छ । खनेको जमिनमा बीऊ छर्नुभयो भने उम्रन्छ । फसल लाग्छ । पाक्छ । अनि खान पनि पाइन्छ ।
रिसलाई सदुपयोग गर्ने कि दुरुपयोग ? आफ्नै हातमा छ !
त्यसैले मित्र अब म बोल्दिनँ । पटक्कै बोल्दिनँ । तिमी खुसी भए पनि बोल्दिनँ, दुःखी भए पनि बोल्दिनँ । कस्सम, म बोल्दै बोल्दिनँ ।
थाहा छ ?
म बोलेको भए सायद ‘टलकजंग भर्सेस टुल्के’ का सबै डाइलग बोलेरै सकिन्थे । ‘पशुपतिप्रसाद’ लगायत अरू फिल्मका डाइलग पनि हावामा उडिरहन्थे । तर, मैले तिनलाई लेखें । त्यसैले फिल्म बन्यो । आज तपाईंले ती फिल्म हेरेर मज्जा लिँदै हुनुहुन्छ । मैले ती फिल्म लेखिरहँदा मनाङ र जुम्लाका किसानले स्याउ रोपेका थिए । चोकमा बसेर तिनै अर्ग्यानिक स्याउ नुनमा चोबेर खाँदै तपाईं फेसबुकमा लेख्दै हुनुहुन्छ, ‘आखिर तिमी किन बोल्दैनौ ?’
खै, म के बोलूँ ?
मैले बुझिसकें, अब त म बोल्दै बोल्दिनँ !
मैले चुड्की बजाएको भए मेरो कथासंग्रहका सबै कथा चुड्कीमै उड्थे । नाटकहरू त झन् चोकका रमितेहरूले मात्र हेर्थे होलान् । तर, मैले त्यसो गरिनँ । त्यसैले त ती पुस्तक बनेर तपाईंको बुक र्याकमा छन् होला ।
तरेली परेका खेतबारी मैले बाँझो राखेको छैन । त्यसैले घुम्दैफिर्दै मेरो बारीको सुन्तला तपाईंले चाख्नुभयो होला ।
अब त मैले झनै कुरा बुझें मित्र, म त अब बोल्दै बोल्दिनँ ! थाहा छ किन ?
सुन्नुस्...
माथि लेखेका कुरा ट्वीटरमा लेखेको भए सायद हप्तौंका लागि ट्वीट पुग्थे होला । फेसबुकमा लेखेको भए कैयौं हप्तालाई पुग्ने स्टाटस बन्थे होला ।
तर, मैले त्यसो गरिनँ । किन थाहा छ ?
यदि मैले त्यसो गरेको भए सामाजिक सञ्जाले भाषामा त्यो बक्बक् बन्थ्यो ।
सायद कोही बम्की पनि हाल्थ्यो, ‘एऽऽऽ तिम्रो बक्बक् धेरै भयो, बन्द गर !’
त्यसैले मैले बक्बक् गरिनँ ।
त्यसो नगरेको हुनाले अहिले यो आत्मपरकै भए पनि निबन्धात्मक लेख बनेको छ । र, तपाईंले बडो चाख मानेर अथवा रिसाउँदै पढ्दै हुनुहुन्छ ।
अझै गज्जबको कुरा के भएको छ थाहा छ तपाईंलाई ?
यो लेखेबापत मलाई पैसा पनि आउनेछ । सायद त्यसले मेरो भौतिक जीवनका दुई–चार दिनलाई सजिलो बनाइदिनेछ ।
‘....... ?’
...खै म के बोलूँ ?
प्रकाशित : माघ ८, २०७८ १०:१६