गुरुकुलसँगै ब्युँझेका स्मृति- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुरुकुलसँगै ब्युँझेका स्मृति

यहाँको राजनीति र परिवर्तन आगो पार गरेर आएको छ । रङ्गमञ्चले त्यो अनौठो अप्ठ्यारो यात्रालाई अनेकौं नाट्य प्रस्तुतिमा देखाएको छ । त्यो थलो थियो– गुरुकुल ।
अभि सुवेदी

थापागाउँस्थित कुञ्ज नाटकघरमा ३० पुस २०७८ मा ‘पुतलीको घर’ मञ्चन गरी गुरुकुल निकै वर्षपछि फेरि आयो । यो नर्वेली नाटककार हेन्रिक इब्सेन (१८२८–१९०६) ले लेखेको र अंग्रेजीमा ‘अ डल्स हाउस’ भएर सन् १८७९ मा प्रकाशित नाटक हो । यसलाई सुनील पोखरेलले नेपालीमा ‘पुतलीको घर’ (२०६३) शीर्षकमा रूपान्तरण गरेर गुरुकुलबाट छापेका हुन् । दक्षिण एसियामा उन्नाइसौं शताब्दीको यो युरोपेली नाटकलाई कालिक उद्बोधनका रूपमा प्रयोग गरियो । यस्तो चेतनाको पहिलो केन्द्र थियो– बंगाल ।

प्रसिद्ध बंगाली नाट्य निर्देशक शम्भु मित्रले सन् १९५८ मा बंगालीमा रूपान्तरण गरेर कलकत्ताको एक रङ्गमञ्चमा यो नाटक मञ्चन गरे । त्यसको शीर्षक थियो ‘पुतुल खेला’ अथवा ‘पुतलीको खेल’ । त्यसो त बंगालीमा यो पहिलो अनुवाद थिएन ।

त्यसभन्दा पहिला सन् १९५१ मा ‘पुतुलेर संसार’ शीर्षकमा प्रसिद्ध नाट्य निर्देशक उत्पल दत्तको निर्देशनमा यो नाटक कलकत्तामै प्रस्तुत भइसकेको थियो । तर, मित्रको अनुवाद र निर्देशनमा इब्सेनको यो नाटकको बढी प्रभावकारी प्रयोग भएको थियो । त्यसपछि मैले पढेअनुसार, सुनीलको अनुवाद यो भेगमा गरिएको अत्यन्त सफल प्रयोग हो । यो नाटक सुनीलले पहिले कसैलाई अनुवाद गराएर मलाई देखाए । केही नबुझिने त्यो अनुवाद देखेपछि मैले सुनीललाई भनें, ‘भाइ, तपाईं आफैं अनुवाद गर्नुहोस् ।’ त्यसपछि सुनीलले अनुवाद गरेको यो नाटकको पाण्डुलिपि हेरेपछि म अत्यन्त पुलकित भएको थिएँ ।

इब्सेनको यो नाटकको अनुवाद र मञ्चनको कथा चीन र जापानमा पनि छ, यहाँ विस्तृत लेख्न सकिँदैन । यसबाट नोर्डेली देशहरूमा इब्सेन एक पहिचान हुन् भन्ने बुझिन्छ । इब्सेनलाई नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्डका मानिसले आफ्नै नाटककारको रूपमा लिन्छन् । ती मृत्यु भइसकेका उन्नाइसौं शताब्दीका नाटककार इब्सेन नोर्डेलीका साझा पहिचान हुन् । एउटा वाचाल घटना छ । डेनमार्क एलबोर्ग सहरको थिएटरमा सुनीलले अक्टोबर २००३ मा ‘पुतलीको घर’ र ‘अग्निको कथा’ मञ्चन गराए । नेपालबाट नाटक प्रस्तुति गर्नेसँगै एउटा साझा सेमिनारमा भाग लिन लोकराज बरालसहित हामी केही एकेडेमिकहरू पनि गएका थियौं ।


अन्तिम दिन ‘अग्निको कथा’ सकिएपछि उनीहरूले एउटा पार्टी दिएका थिए । त्यसमा एक जना प्रोफेसरसँग मेरो पहिचान भयो । उनले मलाई सोधिन्, ‘प्रोफेसर, यो ‘अग्निको कथा’ लेख्ने नाटककार मरेको कति भयो ?’ कुरा वाचाल र रमाइलो थियो । तर, मेरो भनाइको अर्थ हो नोर्डेलीका निम्ति इब्सेन नै नाटककार हेर्ने मापदण्ड हुन्, जो विगतका भए पनि जीवित राखिराख्नुपर्ने एक संस्कृतिको पर्याय र माग हुन् । ती प्राध्यापकलाई नोराको भूमिकामा निशाले गरेको अभिनय अत्यन्त मन पर्‍यो । उनले निशाको अभिनयमा अर्कै संस्कृतिको घरायसी परिवेशमा पनि कसरी इब्सेनको नारी काल्पनिकीको प्रयोग हुने रहेछ भन्ने देखेको सुनाइन् । गुरुकुल माघ २३ गते २०५९ सालको दिन ‘अग्निको कथा’ मञ्चन गरेर बानेश्वर डाँडामा बनाएको सम नाटकघरमा आरम्भ भएको थियो । त्यही नाटक मञ्चन गरी पुस ३० गते २०६८ को दिन जमिनको लिज सकिएका कारण गुरुकुलले बन्द भएको घोषणा गर्‍यो ।

‘अग्निको कथा’ को मञ्च अनुप बरालले डिजाइन गरेका थिए, जुन सधैं रह्यो । पछि दिल्ली नाट्य फेस्टिभलमा यो नाटक गर्दा अनुप बरालले मुख्य पात्र ज्ञानको पाठ खेलेका थिए । दिल्लीका अखबारमा अनुपको अभिनयको प्रशंसा भएको पढ्यौं । यो बीचको समय आधुनिक नेपाली नाटक र रङ्गमञ्चका निम्ति अत्यन्तै महत्त्वपूर्ण रहिआएको छ ।

यो कालमा सक्रिय युवा निर्देशक, नाट्य कलाकार र लेखकहरूमा गुरुकुल र सुनील पोखरेलको प्रभाव देखिएको छ । तर, आधुनिक नेपाली नाट्यमञ्च र मञ्चनको यो कालमा सर्वनाम थिएटरका निर्माता, निर्देशक र लेखक अशेष मल्लले रचेको इतिहास अलग र स्वतन्त्र छ । अरू निर्देशक र कलाकारले पनि यो कालमा आफ्नै कामहरू गरे । त्यसमा अनुप बरालका आफ्नै शैली, काम र थिएटर थिए । त्यस्तै गुरुकुलसँग नजिकको सम्बन्ध भएका, तर स्वतन्त्र निर्देशक र नाटकहरू गर्ने पुष्कर गुरुङ यो कालमा सक्रिय थिए । यी सुनील पोखरेलका समकालीन मित्रहरू सबै अहिले पनि सक्रिय भएको कुरा महत्त्वपूर्ण छ भनेर उल्लेख मात्र गरेको हुँ । अनेकौं लेखक, शोधकर्ता र रङ्गमञ्चका इतिहासकारहरूले यो विषयमाथि लेखिआएका छन् । यो लेखको उद्देश्य केवल गुरुकुलको फेरि आरम्भ भएको सुखद कुराले प्रेरित भएर केही कुराहरू लेख्नु मात्र हो । गुरुकुलको विषयमा लेख्नु मेरा निम्ति अर्को कारणले महत्त्वपूर्ण छ ।


गुरुकुलकालमा मैले लेखेका पाँचवटा जति नाटक त्यही मञ्चमा प्रस्तुत भए । दुईवटाबाहेक ती सबै सुनीलको निर्देशनमा गुरुकुलमा त्यहीँका कलाकारले अभिनय गरेर प्रस्तुत भए । ती सबैमा मूल अभिनय गर्ने महिला पात्र निशा थिइन् । ती दुइटा नाटकचाहिँ मैले त्यही कालमा लेखेको ‘ठमेलको यात्रा’ थियो, जुन पुष्कर गुरुङको निर्देशनमा गुरुकुलमा वैशाख २०६१ मा मञ्चन भएको थियो ।

पुष्करले ब्रोसरमा लेखेका छन्, ‘नाटक गर्नुपर्छ भन्नेमा विशेष सुनील पोखरेल र अनिल पाण्डे दाइको उक्साइ, अनुप बरालको मञ्च परिकल्पना र राजन खतिवडा भाइको दिन–रातको मञ्च निर्माण/प्रपर्टी मेकिङ आदिको सामूहिक मद्दतले यो ठमेलको यात्रा निर्माणमा ठूलो सहयोग पुगेको छ ।’ नेपाली संस्कृतिमा आधारित सत्यमोहन जोशीले लेखेका नाटकहरू पनि गुरुकुलमा मञ्चित भए । अरू पनि धेरै भए । त्यस अर्थमा गुरुकुल मञ्च नाट्यकर्मीहरूको एउटा संगम भएको थियो । माओवादीकाल र त्यसको अन्त्यको चित्रण गरेर मैले लेखेको नाटक ‘मायादेवीका सपना’ निशाको निर्देशन र मूल अभिनयमा प्रस्तुत भएको थियो । त्यो नाटक निशाले दिल्लीमा नारी थिएटर फेस्टिबलमा र गुरुकुलमा सफलतापूर्वक प्रस्तुत गरेकी थिइन् । नाटककै माध्यमबाट त्यही कालको यो देशको सांस्कृतिक परिवर्तनको चित्र त्यसमा उल्लेख गरेको हुँ । गुरुकुललाई एकादेशको अमूक रङ्गमञ्चको कथाको रूपमा हेर्ने चलन छ । त्यसले भ्रम सिर्जना गर्छ । त्यस्तो धारणाले मूल कुरो नै छुट्छ ।

यो गुरुकुल नाट्य मञ्च र संस्थाले आधुनिक नेपाली रङ्गमञ्चमा खेलेको भूमिका र गरेको कर्म यसको एकल कथा होइन । सुनीलको भूमिका, उनको काल्पनिकी, सफलता र निराशाका कथा त्यसमा आउँछन् । त्यो अर्कै कथा हो, जसबारे अनेकौं लेख लेखिएका छन् । मैले पनि लेखेको छु । तीमध्ये ‘माइकेलान्जेलोको पग्लेको मर््तृि’ शीर्षकमा ‘कान्तिपुर’ १७ साउन २०७१ मा प्रकाशित लेख म सम्झिन्छु, जसमा सुनीलको विषयमा लेखेको छु ।

गुरुकुल वैश्विक थिएटर संस्कृतिको एउटा थलो भएको थियो, जुन नेपालमा त्यसअगाडि रचिएको थिएन । हामी सन् २००० मा अन्तर्राष्ट्रिय नाट्य संस्थाको सदस्य भएपछि यो क्षेत्रका बंगलादेश, भारत र नेपालका नाटकका साझा प्रस्तुति गर्ने थलो भयो, गुरुकुल । गुरुकुलले नाटक हेर्ने संस्कारको स्थापना गर्‍यो । त्यो बेला युवाहरूका भाष्यमा परिचित विषय अग्नि थियो । हामीले त्यो आगो लुकाएनौं, त्यसैको नाटक गर्‍यौं । तिनै युवाले आगोमा अन्तर्निहित विशाल सिर्जनाको सम्भावना देखे । हामीले त्यो भाष्य कवितामा राख्यौं । तिनै युवा नाटकका धरोहर भए । मैले भर्खरै गुरुकुलका निम्ति लेखेको छु, ‘स्थापनावादी, क्रान्तिकारी, पुरातनवादी र अभाँगार्दहरू सबै नाटक हेर्न र कति भाग लिन आए । गुरुकुल त्यसैले संगीत र चित्रकलाको पनि थलो भयो । विख्यात चित्रकारहरू कुची र क्यानभास लिएर गुरुकुल थिएटरमा, अझ नाटक चलिरहेकै बेला, चित्रकला बनाउन आए ।’

नेपाली राष्ट्रिय चरित्र हेर्दा यहाँको राजनीति र परिवर्तन आगो पार गरेर आएको छ । रङ्गमञ्चले त्यो अनौठो र अप्ठ्यारो यात्रालाई अनेकौं नाट्य प्रस्तुतिमा देखाएको छ । त्यो थलो मूलतः गुरुकुल थियो । गुरुकुल बन्द भएपछि खुलेका र युवाहरूले चलाएका सबै थिएटर त्यस्ता खोजी र नयाँ सिर्जनाका थलो भए । शिल्पी, मण्डला, कौसी, थिएटर मल, पुरानो घर र राष्ट्रिय नाचघरले अनेकौं नाटकलाई शक्ति र सिर्जनका थलोको रूपमा प्रयोग गरिआएका छन् ।

निशाले मलाई भनिन्, ‘अबको गुरुकुलमा म एउटा नयाँ किसिमको नाट्य संस्कृतिको नैरन्तर्य भएको हेर्न चाहन्छु । जिन्दगी यही हो, अनि म अर्को भाष्य जान्दिनँ ।’ तर, निशाले नजानेको अर्को भाष्य जटिल छैन । यो निशा र सुनीलको सहयात्रा हुनेछ । सुनीलले ‘नेपथ्य’ (अंक ८, २०६२) मा लेखे, ‘नाटकको प्रदर्शन सकिएपछि त्यसको प्रभाव हाम्रो घरसम्म आइपुग्छ । एकखालको डरलाग्दो खालीपन, आफूलाई रित्याएको अनुभव, एक्लोपन । अभि दाइले एउटा नाटक मेरो हातमा राखिदिनुभयो– ‘नाटकपछिको यात्रा’ । (यो नाटक उहाँकै ‘पाँच नाटक’ मा प्रकाशित भएको छ अहिले ।) हाम्रो घर एउटा अर्को मञ्च रहेछ भन्ने कुरा मैले त्यस दिन बुझें । अनौठो लाग्यो र एकदम डर लागेर आयो । अहिलेसम्म त्यो नाटक खेल्ने आँट गर्न सकेको छैन ।’

तर, अबको गुरुकुलको कर्म निशा र सुनीलको सहज र सिर्जनशील सहयात्रा हुनेछ ।

प्रकाशित : माघ ८, २०७८ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्

‘आदिकवि’ कविते कामी र ‘राष्ट्रकवि’ सोतांगे जेठालाई सम्बोधन

समाजका अरु सदस्यले आ–आफ्ना काम गरेजस्तै कविहरु कविता लेख्छन्, बस् त्यति हो ! कविता छुट्टै केही होइन । ‘कविता छुट्टै केही हो’ भन्ने विचारले कविहरुलाई समाजको इपिसेन्टरतिर होइन, दायित्वको ग्राभिटीभन्दा बाहिर धकेल्छ ।
कविते कामी र सोतांगे जेठा समाजकै जराबाट उम्रिएका अलिखित अक्षरहरू थिए । उनीहरूको जस्तो जीवन वा प्रत्यक्ष आजीविकाद्वारा लेखिएको कविता मैले आजसम्म पढेकै छैन ।
भूपाल राई

म्याक्सिम गोर्कीले संस्कृतिमाथि दिएको परिभाषा कतै पढेपछि कवितालाई हेर्ने मेरो आँखामा दोस्रो चस्मा फेरिएको हो । उनी भन्छन्, ‘संस्कृति भनेको मानव श्रमद्वारा निर्मित दोस्रो प्रकृति हो ।’ पहिलो प्रकृति प्राकृतिक हो, जसलाई पृथ्वीका सारा जीवजन्तुले जस्ताको तस्तै उपभोग गर्छन् । प्रकृतिबाट प्राप्त आजीविकाका सारा कच्चा वस्तुलाई उनीहरू कच्चा अवस्थामै प्रयोग गर्छन् । तर, मान्छे मात्रै त्यस्तो जीव हो, जसले प्रकृतिलाई आफ्नै अनुकूलतामा ढाल्छन् ।

सजिलोका लागि यसो भनौं, उनीहरू प्रकृतिबाट प्राप्त वस्तुलाई वस्त्रमा बदल्छन् । प्रकृतिको कच्चा खाद्यान्नलाई आफ्नो रुचिअनुसारको तयारी परिकारमा बदल्छन् । प्रकृतिलाई भाषामा, ज्ञानमा, संज्ञानमा बुझ्छन् । उनीहरू सोच्छन्, चिन्तन गर्छन् । यो नै मानवनिर्मित दोस्रो प्रकृति हो, जो संस्कृतिको रूपमा विकसित भयो । यसरी संस्कृति प्राकृतिक होइन, निर्मित हो ।

यसबाट सारतः दुई मजबुन निकाल्न सकिन्छ । पहिलो, संस्कृति निरन्तर मानव चिन्तन प्रणालीको उपज हो । दोस्रो, यो सामाजिक श्रमको निर्मिति हो । र, कविता पनि मानव निर्मित संस्कृतिकै एक अंश भएको हुनाले यसलाई माथिका दुई मजबुनकै सारतत्त्वमा बुझ्नुपर्ने हुन्छ । लामो समयको संज्ञानात्मक परिणाम हुनाले कविता मानव चिन्तन प्रणालीभन्दा पर छैन । साथसाथै समाजले निर्माण गरेका कच्चा भाषा र कच्चा अन्तरवस्तुलाई नै व्यक्तताको तयारी परिकारमा बदल्ने कार्य हुनाले कविता सामाजिक श्रमको कडी पनि हो । त्यसैले कुनै कविता त्यतिखेर मात्रै बोधगम्य हुन्छ, जति त्योभन्दा अगाडि त्यसको सामाजिकता बुझिएको हुन्छ । त्यसको समाजशास्त्र केलाइएको हुन्छ ।

आँखामा दोस्रो चस्मा फेरिएपछि मैले देखेको कविताको यथार्थ यही सामाजिकता हो, जसबारे त्यसभन्दा अगाडि सम्भवतः केही भिन्न खालको बहस हुन्थ्यो । सुनिन्थ्यो, कविहरू समाजको सरोकारक्षेत्रभन्दा नितान्त बाहिर विचरण गरिहिँड्ने त्यस्ता काट्टिएका पखेटाहरू हुन्, जसको सरोकारको विषय केवल आकाश हो, धर्ती होइन । सम्भवतः कवितालाई हेर्ने अघिल्लो चस्माद्वारा निर्मित यो धारणाले कविहरूलाई असामाजिक ठहर गरेको थियो । तर, दोस्रो चस्माले भन्छ, मान्छेका सारा चिन्तन प्रणाली सामाजिक श्रमकै उपज हो । र, कविता चैतनिक श्रमकै उपदान हुनाले त्यो समाजभन्दा बिलकुल भिन्न छैन । यहि अभिन्न बोधका कारण आजसम्म बनेका सबै शास्त्र र शास्त्रीय व्याख्याभन्दा थोरै छेउ लागेर अचेल म कवितालाई सम्बोधन गर्छु । त्यसैले कविता मेरा लागि अब छुट्टै साधनाको विषय रहेन । समाजमा एउटा डाक्टरले जति श्रम गरेर डाक्टर बन्छ मेरो साधना त्यति हो, वा त्यस्तै त्यस्तै हो । एउटा इन्जिनियरले वा कुनै मजदुरले जति समय लगानी गरेर त्यो बनेको हुन्छ मेरो तपस्या त्यति हो । अर्थात् अर्को शब्दमा भन्ने हो भने समाज निर्माणको तराजुमा तिनीहरूको योगदान जति छ कविहरूको त्योभन्दा कम छैन । समाजका अरू सदस्यले अरू अरू काम गरेजस्तै कविहरूले कविता लेख्छन्, बस् त्यति हो । त्यो छुट्टै केही होइन । यसले कविहरूलाई दायित्वको ग्राभिटीभन्दा बाहिर होइन, समाजको इपिसेन्टरतिर धकेल्न मद्दत गर्छ । अब म प्लेटोले आफ्नो गणराज्यबाट निष्कासन गरेको दुई हजार वर्षपछाडि कविहरूलाई उनीहरूकै समाजमा फर्काउन चाहन्छु ।

कविताको चस्मा विवेचनापछि अब भने आजको शीर्षस्थ विषयतिरै लागूँ, जसको सांकेतिक खाता शीर्षकमै खोलिसकिएको छ । सन्दर्भ छ, मेरो पहिलो कविताको । यद्यपि मलाई थाहा छैन कुनै कविको पहिलो कविताको चर्चा समाजका लागि कति आवश्यक छ ? अर्थात् त्यसको भ्रूणकथाले कसैका लागि महत्त्व कति राख्छ ? तैपनि यस्तो प्रश्न अक्सर सोध्ने गरिन्छ । मलाई पनि अनेक पटक सोधिएको छ । त्यही प्रश्नको जवाफहेतु अब म शीर्षकको विषयतिर केन्द्रित हुन चाहन्छु ।

...

कुरा सुरु गर्नुअघि सर्वप्रथम दुई कुरा प्रस्ट पारिहालौं ।

एक, यो दशकौं पुरानो चिहानबाट उठेको एक निस्चेष्ट उद्बोधन हो । अर्थात् चिहानबाट पैदा भएको एउटा क्षीण आवाज । चिहान– एक अनाम कविताको । अर्थात् मेरो जीवनकै पहिलो कविताको, जो कतै सुषुप्त अवस्थामा मभित्र चिरस्थापित छ । अर्थात् मेरो मानसको धूमिल पत्रभित्र, जसको अक्षर तथा कागजरूपी भौतिक अवशेष कतै छैन ।

दुई, त्यो चिहानबाट सुरु हुने कथामा त्यस्ता दुई अभियुक्त छन्, जसले मेरो त्यो पहिलो कविताको निर्माणमा निस्फल योगदान दिएर एक अक्षम्य अपराध गरेका छन् । त्यसैले मेरो पहिलो कविताको सन्दर्भ उठ्नासाथ उनीहरू हठात सम्झनामा आइहाल्छन् । उनीहरू मेरो बाल्यकालको सामाजिक–सांस्कृतिक साक्षीहरू हुन । उनीहरूले अनजानमै मेरो बाल मानसभित्र सुषुप्त अवस्थामा रहेको कवित्वको टुसालाई कोट्याउने काम गरेका छन् । म आफैंलाई थाहा थिएन न उनीहरूलाई नै थाहा थियो, कविताको त्यो अनजान टुसा, जुन आगामी दशकभित्रै कलिलो बेर्नाको रूपमा प्रकट हुनेवाला थियो, त्यसैलाई उनीहरूले हावाको सानो झोक्काले हिर्काएका छन् । उनीहरूले यसरी एक अन्तर्मुखी, तर सुखी केटोलाई कविताको शुष्क र दुःखद मार्गतिर अभिप्रेरित गर्ने जघन्य अपराध गरेका छन् । उनीहरू मेरो जीवनको निर्दोष अपराधीहरू हुन् । त्यसैले उनीहरूलाई मैले यहाँ अभियुक्त करार गरेको छु ।

यति कुरा प्रस्ट पारिसकेपछि मान्नोस्, मेरो यस यात्राको ढोका अब खुल्यो ।

...

– ‘तपाईंको पहिलो कविता कुन हो ?’

– ‘र, कुन उमेरमा लेख्नुभयो ?’

यात्राको ढोका बस् यिनै दुई प्रश्नबाट खोलूँ, जुन अक्सर मलाई सोधिएको छ/सोधिने गरिन्छ । अर्थात् म आज जुन आलेखको यात्रामा छु, खास यिनै प्रश्नको कारणले छु । नचाहँदा नचाहँदै पनि कैयौं पटक सोधिने यिनै प्रश्नले मलाई यति लेख्न बाध्य पारेका छन् । सोचिरहेछु, अब मैले यिनीहरूको एकमुष्ट उत्तर दिनैपर्छ ।

एकछिन गम खानोस्, एक कवि हुनुको हैसियतमा अनेक पटक सामना गर्नुपर्ने प्रश्न के यही हो ? जसको सामना अरू धेरैले पनि गरेका होलान् । तर, अरू धेरैसँगजस्तो प्रश्नको बनिबनाउ उत्तर मसँग कहिल्यै थिएन । अध्यावधि छैन । किनभने प्रश्नले उत्खनन गर्न खोजेको त्यो पहिलो कविताको कुनै नाम मसँग सम्झनामा छैन । न छ त्यसको कुनै आदि अन्त्य । न कुनै पाउ वा पंक्तिको अवशेष । मात्र बाँकी छ आफ्नै मानसभित्र त्यसको भत्किसकेको चिहान र त्यही चिहानको धूमिल याद । यसरी आफैंभित्र एक जर्जर चिहानको धूलोबाहेक जसलाई प्रमाणित गर्न मिल्ने अक्षर र अर्थको कुनै भौतिक अवशेष छैन, त्यसको एक थान सग्लो उत्तर हुने कुरै भएन । बरु अनेक ठाउँ अनेक पटक त्यसका अनेक उत्तरहरू भए होलान् । अनेकचोटि मैले कपोलकल्पित उत्तरको सहारा लिएँ होला ।

कहिलेकाहीँ लाग्छ, यस्तो प्रश्न किन गरिन्छ ? के यो त्यति आवश्यकीय प्रश्न हो ? अथवा के यो त्यस्तो प्रश्न होजस्तो कि कसैलाई सोधियोस्– तिम्रो जीवनकै प्रथम पाइला कुन हो ? के आमाको काखबाट निवृत्त प्रथम पाइला र कुनै कथित पहिलो कविता एउटै हो ? प्रथम पाइलाबाट सुरु भएर बाँचुन्जेल नछुट्ने जीवनको नैरन्तरताजस्तै हो र कविता ? के कुनै कविलाई जस्तै कुनै सिकर्मीलाई यो सोधिन्छ कि तिमीले बनाएको पहिलो कुर्सी कुन हो ? या कुनै सर्जनलाई सोधिन्छ कि तिमीले चिरेको पहिलो पेट कसको थियो ? यदि सोधिँदैन भने एक कविमाथि मात्र यत्रो भार किन ? किन कविलाई अरूभन्दा छुट्टै डिलमा राखेर हेरिन्छ ? मलाई लाग्छ, यही छुट्टैपनको बरतावले कवितालाई अरू सबै मानव श्रमबाट अलग राखेको छ । यही भावले कवितालाई लामो समयसम्म समाजबाट टाढा राख्ने काम गर्‍यो । जनताको सम्बन्धबाट च्युत गरेर जनताकै हुनबाट त्यसलाई रोक्यो ।

अर्को कुरा, ल ठीक छ, कसैको पहिलो कविता या त्यस्तो कुनै दुर्लभ कर्म पत्ता लाग्यो रे ! तर, त्यो पत्ता लागेको दुर्लभ कुरासँग समाजले राख्ने अर्थ के हुन्छ ? र, कसैले कवितादि कर्म कुन उमेरबाट लेख्न सुरु गर्‍यो भन्नेसँग समाजले के सरोकार राख्छ ? मानूँ, कसैले कविता सानै उमेरमा लेख्यो रे ! महाकाव्य या उपन्यास (जुन काम गर्नेलाई अचेल सेलिब्रेटी मानिन्छ) नै तयार गर्‍यो रे ! के त्यसो भए ऊ समाजभन्दा माथिको चीज भैगयो ? माथिको दोस्रो प्रश्नको उत्तर नढाँटी दिने हो भने आफ्नो कथित पहिलो कवितासँग मेरो पनि १२/१३ वर्षकै उमेर जोडिन गएको हो । र, सम्भवतः कविताका लागि यो सानै उमेर पनि हो । के त्यसो भए म अरू धेरै मान्छेभन्दा विशेष भैगएँ ?

बुझ्नुपर्ने कुरा, उमेरको सानोपनसँग परिपक्व कविताको कुनै साइनो छैन । कच्चा उमेरले लेख्ने विषय समाजको परिपक्क कविता हुँदै होइन । यो ‘अन्डर नाइन्टिन क्रिकेट टुर्नामेन्ट’ जस्तो विषय होइन । यो त परिपक्व उमेर र समाज विमर्शले उत्पादन गर्ने विचारको फसल हो । त्यसैले म अब माथिको त्यो दोस्रो प्रश्नलाई यहीँनिर खारेज गर्न चाहन्छु । आफ्नै कथित सानो उमेरलाई समेत खारेज गरेर मेरा सम्पूर्ण कवितालाई छुट्याउन चाहन्छु ।

भनिसकेँ मसँग मेरो पहिलो कविताको आफैंले खुट्याउन सक्ने कुनै अनुहार छैन । कुनै नाक नक्सा छैन । शब्द र वाक्यरूपी हड्डी–मासुको सानो अवशेषसम्म छैन । एउटा कपालको केस्रासमेत बँचेको छैन । छ त मात्र त्यसको असामायिक मृत्युको विषाद र आफैंभित्र रहेको त्यसको चिहानको क्षीण आभास छ । त्यसले बयान गर्न खोजेको दुःखको झल्को छ । शब्द र अर्थभन्दा धेरै पर कतै धूवाँजस्तो उडिरहेको आफ्नै बालापनको कथा छ । र, सबभन्दा बढी, सबभन्दा टड्कारो त्यही पहिलो प्रश्न छ– ‘तपाईंको पहिलो कविता कुन हो ?’

आउनोस्, अब फेरि कुनै फुटकर उत्तरको दरकार नपर्ने गरी त्यसको अन्तिम उत्तरतिर जाऊँ ।

...

उत्तर तयारि गर्नुअघि, पहिले ती दुई पात्रको परिचय नदिई नहुने हुन्छ, जसलाई मैले सुरुमै अभियुक्त करार गरेको छु । ती दुई अभियुक्त, जसले मेरो पहिलो कविताको भ्रूण निर्माणको काम गरेका छन्, तिनीहरूको चर्चा नगरी यो आलेख अपूर्ण मात्रै होइन अर्थहीनसमेत हुन जान्छ । त्यसैले आउनोस् पहिले ती दुई अभियुक्तसँग चिनापर्ची गरौं ।

पहिलो अभियुक्त : कविते कामी

तीसको पूर्वार्द्ध दशकको एक वयस्क मान्छे । तर, ‘कविते’ उसको सक्कली नाम होइन । उसको सक्कली नाम रघुवीर विश्वकर्मा । तर, सबैले भन्थे– केवल ‘रघे’ । भोजपुर जिल्लाको पूर्वोत्तर कुनामा एउटा पुरानो गाउँ छ, याकु जिमिगाउँ । मेरो मामाली गाउँ, जहाँ बसेर म पढ्ने गर्थें । त्यहाँ एउटा ठूलो डम्म बसेको मलिलो फाँट छ । त्यसमा राईहरूको घना बस्ती छ । त्यही राई बस्तीको उत्तरी सिरानमा अवस्थित छ– एउटा भिरालो पाखा, जसलाई ताकमारे पाखा भनिन्छ । त्यही पाखाको रैथाने बासिन्दा थियो ऊ । त्यो भिरालो पाखामा उसको सानो फुसको घर थियो । केही भुराभुरीहरू थिए । फलाम र आरनको कारिन्दा थियो ऊ । फुर्सदमा स्वास्नी पछाडि लाएर राई गाउँतिर झर्नु उसको सधैंको दिनचर्या बन्थ्यो । ऊसँग एउटा रेडिमेड जवाफ थियो– ‘बिष्टको घर, दुःखीको भर ।’

अँ त ‘कविते’ उसको सक्कली नाम थिएन । त्यो उसले आफ्नै खुबीले आर्जन गरेको नाम थियो । ऊसँग यस्तो एउटा खुबी थियो जस्तोसुकै विषयलाई पनि ऊ तत्कालको तत्काल एक किसिमको लयात्मक छन्दमा ढाल्न सक्थ्यो । उस्तै परे मानिसहरूसँग त्यही छन्दमा सवाल–जवाफ गर्न सक्थ्यो । हरेक घटना र परिस्थितिलाई ऊ तुरुन्तै त्यस्ता पंक्तिहरूमा बयान गर्न सक्थ्यो । मानिसहरू त्यस्ता पंक्तिलाई कविता भन्ने गर्थे । ताकमारेबाट झरेको बेला बिष्टहरूको प्रत्येक घरमा ऊ हाजिर भएकै हुन्थ्यो । र, प्रत्येक घरको तत्कालीन स्थिति आकलन गरेर हिँड्ने बेला प्रत्येक पटक एउटा न एउटा कविता छाडेर हिँड्थ्यो । यही विशिष्ट खुबीको कारण उसले नाम पाएको हो– ‘कविते’ । न्वारानमा उसको नाम रघुवीर थियो । समाजले रघुवीर बिर्सेर ‘रघे’ बनाइदियो । अलि पछि रघे पनि बिर्सेर कविते बनाइदियो । झन्पछि ‘कविते’ माथि ‘कामी’ थपिदियो । अब ऊ ‘कविते कामी’ भयो । यही नामसँग ऊ तत्कालीन समाज व्यवस्थाले बनाएको एउटा ‘हाइरार्की’ बाँचिरह्यो । स्वाभाविक थियो, समाजले उसको कवितालाई पनि उसकै दर्जामा राखेर हेर्ने भैगयो । उसको कविता वा टुक्का मानिसहरूका लागि हास्य प्रसाधन थियो । तर, अनौठो संयोग, यही ‘कविते कामी’ मेरो लागि भने छुट्टै भएर निस्क्यो । ऊ मेरो पहिलो कविताको भ्रूण–कथासँग जोडिन पुग्यो ।

दोस्रो अभियुक्त : सोतांगे जेठा

राई गाउँको बीचमा घर थियो निजको । उमेरले ऊ पहिलो अभियुक्तभन्दा अलिक प्रौढ । तर, ‘सोतांगे जेठा’ उसको पनि असली नाम थिएन । उसको असली नाम चन्द्रबहादुर राई थियो । सम्भवतः उसको पुर्खा सोलुको सोताङतिरबाट त्यो गाउँमा आएर बसेको हुनाले उसलाई सोतांगे भनिएको थियो । तर, उसको नामलाई विद्रूपीकरण गरेर ‘चन्द्रे’ भनिएको कहिल्यै सुनिएन, जसरी कसैलाई सजिलैसँग ‘रघे’ भनिन्थ्यो । बरु उसले सम्मानका साथ ‘सोतांगे जेठा’ भन्ने अर्को वैकल्पिक नाम पाएको थियो । यो किनभने ऊ समाज–पिरामिडको एक तलामाथिको मान्छे थियो । ऊ राई थियो । विश्वकर्मा थिएन ।

उसका एक जोडा छोरा थिए । तत्कालीन समाजको विश्वासअनुसार, धेरै छोराछोरी मरेर गए भने नराम्रो र हेय नाम राख्दा बाँकी सन्तान बाँच्नेछन् । जस्तै ः गुहे, गन्धे, धार्ने, डल्ली, ओख्ली इत्यादि । यस्तो नाम राख्यो भने कालले पनि घिनाएर छुँदैन भन्ने विश्वास थियो । त्यसैले उसको ठूलो छोराको नाम ‘गुहे’ राखिएको थियो । ऊ भन्थ्यो– छोराको नाम ‘गुहे’ राखेपछि बाँकी दुई सन्तानहरू रहेका हुन् । मानिसहरू उसलाई यदाकदा ‘गुहेको बाउ’ वा ‘गुहेम्पा’ पनि भन्थे । यो उसको अर्को सम्मानित नाम थियो ।

ऊ हिउँद हिउँदमा फेरवाले काम गर्न मधेस झर्ने गर्थ्यो । फेरवाले भन्नाले यताको सामान उता लगेर बेच्ने र उताको सामान यता ल्याउने । कहिलेकाहीँ झापाको माईबेनी मेलामा झरेर खोर्सानी, सिद्रा आदि बेचेर घरको खाँचो टार्ने गर्थ्यो । उसको सानो छोरा गनेस मसँगै पढ्थ्यो, मेरै वयको । अक्सर स्कुल छाड्ने/जोडिने गरिरहे पनि गनेस मेरो मिल्ने साथी थियो । त्यसैले उसको घरको आँगन मेरो नियमित खेल्ने मैदान थियो ।

सोतांगे जेठा कवितेजस्तै टुक्काबाज त थिएन, तर संयोगले यस्तो गरायो कि ऊ पनि मेरो पहिलो कविताको दोस्रो सूत्रधार बन्न पुग्यो । एउटा अनौठो कुरा, दुवै अभियुक्त सामाजिक हैसियतको तराजुमा समान थिएनन् । पहिलोलाई समाजले अछुत मान्थ्यो दोस्रोलाई छुत । तर, कविता यस्तो विषय थियो, जसको लागि ती दुवैको भूमिका समान थियो । बराबर थियो । कविताले समाजको त्यो कथित भेद मान्दैनथ्यो ।

...

दुई अभियुक्तको संक्षिप्त परिचय त लगभग सक्कियो । तर, तिनीहरूको अपराध के थियो ? अब त्यो पनि हेरूँ ।

भनिसकेँ सोतांगे जेठाको आँगन मेरो नियमित खेल मैदानजस्तै थियो । स्कुल बिदाका दिन उसको सानो छोरा र मेरो भेट अनिवार्यजस्तै हुन्थ्यो । यस्तैमा एक दिन हामी खेलिरहेका थियौं । अचानक कविते अर्थात् मेरो पहिलो अभियुक्त सोतांगेको सिकुवामा आएर टुक्रुक्क बस्यो । निकै बेरसम्म दुई बीच भलाकुसारी चल्यो । केके वार्तालाप भयो त्यतातिर फुच्चे खेलाडीहरूको चासो जाने कुरै भएन । तर, हिँड्ने बेला कवितेले जे भन्यो, त्यसले अचानक मेरो ध्यान खिच्यो ।

भनिरहेको थियो– ‘हजुर, एउटा टुक्का यस्सो सुनाउँ कि ?’

‘सुना... सुना...’– सोतांगे जेठाले अनुमति दियो ।

तब कवितेले उसको नैसर्गिक खुबीअनुसार तत्कालै भट्याइहाल्यो–

‘पहाडैबाट ‘गुहेको बाउ’ झर्‍यो माईबेनी मेलैमा

जति फूल फुल्छ त्यति फूल झर्छ नहुने बेलैमा’

त्यो सुनेर सोतांगे जेठा यस्तो क्रुद्ध देखियो कि अचानक ट्रिगर दबाएको बन्दुकझैं पड्क्यो– ‘साला गधा, अन्त्यमा कोही नपाएर मलाई नै छ्याँस्ने काम गरिस् !’ त्यसपछि उसले कथित तल्लो जातका लागि समाजले निर्माण गरेको सबै गाली फलाक्दै कवितेलाई त्यहाँबाट लघार्‍यो । लगत्तै कविते त्यहाँबाट सुइँकुच्चा ठोक्यो ।

घटना हेरिरहेको मैले त्यहाँ अरू के भइरहेको थियो, त्यो त खास बुझिनँ । तर, मलाई किन हो किन कवितेको त्यो टुक्काले भने अनौठो ढंगले आकर्षण गर्‍यो । मलाई केही थाहा थिएन खास त्यो के थियो ? या त्यसले भन्न खोजेको के थियो ? के त्यो कुनै कविता नै थियो ? थाहा थिएन त्यसमा वर्णित गुहेको बाउ, माईबेनी मेला, फूल आदिले संकेत गर्न खोजेको के थियो ? तैपनि किनकिन त्यसले मभित्रको अन्तरमा कताकता केके हल्लाएझैं महसुस हुन गयो ।

अहिले सम्झिन्छु, सोतांगे जेठाको पारिवारिक स्थिति, उसको आर्थिक अवस्था, बाध्यताले निर्देश गरेको उसको जीवनचर्या मात्र एक पंक्तिमा कति सजिलै उसले चित्रण गर्न सकेको ! दुई छुट्टाछुट्टै अर्थमा अभिव्यक्त फूलको त्यो बिपर्यास विम्बको प्रयोग, त्यो अर्थ–सामाजिक व्याख्या । ओहो ! त्यो एउटा सानो पंक्ति कहिल्यै नमेटिने छिपा भएर बस्यो मेरो मानसपटलमा । त्यसले साँच्चि नै पहिलोचोटि म आफैंभित्र पनि त्यस्तै केही छ भन्ने बोध गराएरै छाड्यो । कवितेले अनजानमा यही एउटा अपराध गर्‍यो ।

त्यसपछि कति समय बित्यो हेक्का रहेन । त्यो बीच फेरि कविते त्यो घरमा फर्क्यो, फर्केन पत्ता भएन । कतिऔँ हप्ता या कतिऔँ महिनापछि फेरि म उसै गरी त्यही आँगनमा खेलिरहेको थिएँ । अचानक फेरि कविते टुप्लुक्क आइपुग्यो ।

उसलाई देखेर पुरानै गालीमिश्रित लवजमा सोतांगेले भनिहाल्यो– ‘फेरि आइस् तँ साले, कविते ?’

उसले पनि आफ्नो पुरानै लवजमा जवाफ फर्कायो– ‘नआएर के गर्नु हजुर ! बिष्टको घर, दुःखीको भर...।’

त्यसपछि फेरि उही गलफत्ती । उही भलाकुसारी । उही सुर्ती बिँडी, उही जाँड पानी । निकै बेरपछि ऊ बिदा भएर हिँड्यो । खै किन हो यसपटक उसले टुक्का जोडजाड गर्ने जाँगर देखाएन ।

घरदेखि माथिल्लो बारीको डिलमा ऊ के पुगेको मात्र थियो, अचानक केही सम्झेझैं गरेर सोतांगेले उसलाई बोलायो– ‘ए कविते, यता आइज आइज ।’

‘किन हजुर’– भन्दै ऊ फेरि आँगनमा झर्‍यो ।

ऊ छेउमा पुगेको मात्रै के थियो त्यतिबेलै सोतांगेले हतारहतार भन्यो– ‘लौ सुन् तेरो अस्ति... को जवाफ ।’

ऊ आज्ञाकारी भएर ध्यानमग्न भयो । सोतांगेले कति दिन, कति महिना लगाएर बुनेर राखेको जवाफ पोखाइहाल्यो–

‘हिमालै चुली त्यो पल्लोपट्टि नाग र नगेनी

ताकमारेबाट ओरालो झर्छ रघे र रघेनी ।’

त्यो सुनेर कवितेले बिना कुनै प्रतिक्रिया फेरि उही पुरानै कुरा दोहोर्‍यायो– ‘नझरेर के गर्नु हजुर ! बिष्टको घर, दुःखीको भर ।’ त्यसपछि भने ऊ साँच्चि नै उकालो लाग्यो ।

सोतांगे जेठाले त त्यसरी एक टुक्का जवाफद्वारा कति दिनअगाडिदेखिको उकुच शान्त पारेको थियो । तर, उसको जवाफले मलाई भने झन् अशान्त, झन् आन्दोलित गर्‍यो । मभित्रको कविताको सुषुप्त टुसालाई पछिल्लो शृंखलाले झन् बेस्सरी हल्लाइदियो । मलाई त्यतिबेलै लाग्यो यदि यस्तै कुरालाई कविता भनिन्छ भने यो काम मबाट पनि सम्भव कसो नहोला ! किनभने ती दुई जीवन्त पात्र, जसलाई मैले आफ्नै आँखाले भोगेको थिएँ, उनीहरूले नै मेरो मार्ग सहज बनाइदिएका थिए, जसको हेक्का तर उनीहरू स्वयंलाई थिएन । उनीहरू मेरा लागि त्यस्ता ज्युँदा कविहरू थिए, जो कलमको सट्टा जीवनको निबले कविता लेख्थे । ठीक माछाजस्तै, पानीमा खेलेर पानीमै तैराकी कला छाड्ने, तैपनि आफैंलाई थाहा नहुने । उनीहरू समाज दर्शन मात्र होइन समाजकै जराबाट उम्रिएका अलिखित अक्षरहरू थिए । सत्य हो उनीहरूको जस्तो जीवन वा प्रत्यक्ष आजीविकाद्वारा लेखिएको कविता मैले आजसम्म पढेकै छैन ।

यसरी उनीहरूले पालैपालो मलाई भित्रैदेखि हल्लाउने काम गरे । उनीहरूले गरेको अपराध बस् यही थियो । उनीहरूकै अपराधको कारण मलाई कहिल्यै नहिँडेको बाटोतिर पाइला चाल्ने एक किसिमको आँट पलाएर आएको थियो ।

फलस्वरूप मैले त्यो पहिलो कविता लेखेँ । तिनै दुई महान् गुरुहरूकै बान्कीमा, ठ्याक्कै त्यही लय, त्यही छन्दमा– मैले त्यो लेखेँ ।

...

कविता बारे दुइटा भनाइ बहुप्रसिद्ध छ ।

एउटा हो– उमेरमा जो पनि कवि हुन्छ । अर्को हो– मानिसको पहिलो कवितायात्रा प्रेमबाट सुरु हुन्छ । तर, संयोगले यी दुइटै कुरा ममाथि चरितार्थ भएन । पहिलो कुरा कविता लेख्न मलाई कुनै खास उमेर पर्खिनु परेन । दोस्रो, मेरो पहिलो कविता प्रेमबाट सुरु भएन । बरु मेरो कविता आफ्नै समयको दुःखबाट सुरु भयो । संकष्ट र भयको बयान अनि आफैंले भोगेको भौतिकीबाट सुरु भयो । त्यो कविता, जसलाई मैले आफ्नो पहिलो कविता मानेको छु, अब हेरौँ, त्यसको भावभूमि ठ्याक्कै यस्तो छ ।

३०/३१ सालतिरको कुरा । कक्षा आठतिरको विद्यार्थी थिएँ । भनिसकेँ लगभग १२/१३ वर्षको किशोर । याकु जिमिगाउँस्थित मेरो मामाघरबाट कम्तीमा डेढ घण्टा दूरीमा थियो स्कुल । स्कुलको नाम थियो– विश्वप्रेमी हाइस्कुल । त्यतिखेर दस कक्षासम्म पढाइने स्कुललाई हाइस्कुल भनिन्थ्यो । र, विश्वप्रेमी सारै थोरैमध्येको एउटा पुरानो हाइस्कुल थियो । स्कुल जाने दिन जहिले पनि म बिहानैदेखि चिन्ताग्रस्त हुन्थेँ । त्रसित हुन्थेँ । यसका दुई कारण थिए ।

एक, स्कुल एकदमै टाढा थियो । ठीक दस बजे हुने ‘प्रेटाइम’ मा पुग्न जहिले पनि हम्मे पर्ने । गाउँको ठाउँमा अक्सर समयमा खाना पाक्न गाह्रो हुन्थ्यो । खाना पाक्नासाथ भारी पेटमा झोला टिपेर दौडिहाल्नुपर्थ्यो । मेरो चिन्ता अक्सर बिहानको नौ बजेबाट सुरु हुन्थ्यो । घडी हुँदैनथ्यो । आँगनमा तेल पेल्न राखेको ठूलो ढुंगामा धुरीबाट चियाएको घाम झरेपछि मेरो नौ बज्थ्यो । त्यसपछि मलाई एकदमै हतार हुन्थ्यो र हरेक बिहान पसिना पुछ्दै पाखाघरको ठाडो उकालो चढ्नुपर्थ्यो । यसरी जाँदा डेढ घण्टा र आउँदा डेढ घण्टा गरि दैनिक तीन घण्टा लाग्ने त्यो लम्बेतान बाटो मैले पूरै दस वर्ष हिँडेर नापेको छु ।

दुई, बाटो एकदमै अत्यासलाग्दो थियो । पाखाघरको उकालो चढेपछि गाउँ सिद्धिन्थ्यो । त्यसपछि सुरु हुन्थ्यो अनकन्टार जंगल । गहिरो र अँध्यारो खोला खोल्सी । छाबुक (मृत बच्चाहरू राख्ने ठाउँ) को कहालीलाग्दो भीर । बीचमा थियो बाटैमा जोडिएको एउटा ठूलो चिहानघारी । हतारका कारण स्कुल जाने साथीहरू प्रायः कहिलै पनि सँगै पर्दैनथे । रातभरि भूत–प्रेत, तर्साउने र मरेको मान्छेको कथा सुन्नुपर्ने परिवार/समाज । म हरेक दिन त्यो एक्लो र एकलास बाटोमा पर्ने चिहानघारी पुगेपछि सास न बास हुन्थेँ । केही कुराको सानो आहट या पात खसेको आवाजले समेत तर्सिन्थेँ । अक्सर कहिलेकाहीँ त्यहाँ आलो चिहान पनि थपिएको हुन्थ्यो । त्यहाँ पुगेपछि म कहिले सासै नफेरी दौडिन्थेँ । कहिले आलो चिहान हेर्दै उल्टो पाइला चालेर पछाडि सर्थें । यसरी जसोतसो एक दिनका लागि त्यो डरलाग्दो चिहानघारीबाट मुक्त हुन्थेँ । म सम्झिन्छु, मेरो त्यतिखेरको दैनिकी पठनपाठनको अलावा त्यही अत्यास, डर र मुक्तिको खोजमा बित्ने गर्थ्यो । ठीक त्यही डरलाग्दो कथ्यको जमिनमा, त्यही भौतिक दुःख या कष्टप्रद बाटोको बयानबाजीमा मैले त्यो पहिलो कविता लेखेको थिएँ । यतिखेर, जतिखेर मसँग त्यसको कुनै नाम निसाना छैन, अहिले लाग्छ, त्यसको शीर्षक ‘स्कुल जाने केटो’ या ‘स्कुलको बाटो’ यस्तै केही हुनुपर्ने हो । तर, त्यस्तो नाम पनि मैले उबेला राखेँ कि राखिनँ त्यो पनि मलाई याद छैन । यत्ति याद छ, मैले त्यो कविता पहिलो र अन्तिमचोटि छेउघरका भरिमान मामालाई सुनाएको थिएँ । मलाई थाहा छैन ती मामा अहिले जीवित छन् कि छैनन्, तर उनी नै मेरो कविताको पहिलो श्रोता हुन्, यति थाहा छ । त्यसपछि त्यो कविताको अक्षर–कपी के भयो ? कहाँ हरायो ? केही सम्झना छैन । न कहिल्यै मैले त्यसलाई सम्झेँ । न खोजी नै गरेँ । लाग्छ, कतै त्यो हराउनुको पछाडि ती दुई अभियुक्तहरूकै सजीव छाया त कारक थिएन ! जसको अगाडि मैले सायद आफूलाई खरो उतार्ने आँट गरिनँ । के उनीहरूकै छायाका कारणले मलाई आफ्नै कविताको चैं आधा पंक्ति पनि याद रहेन ? या यस्तो पनि हुन सक्छ, म आफ्नै निकट आगत बारे जानकार थिइनँ, जसले गर्दा मैले त्यसको भावी मूल्यलाई आँक्न सकिनँ ।

जे होस्, मैले लेखेको तर आफैंसँग नरहेको त्यो पहिलो कविताको भावभूमि हुबहु यही हो । यति भएपछि मान्नोस्, त्यो सक्कली कविता पनि यही हो । त्यो पहिलो प्रश्नको अन्तिम र एकमुष्ट उत्तर पनि यही हो । बस् यही नै हो ।

र, अब आजको यो आलेख–यात्रा पनि यत्तिमै सक्कियो । मात्र त्यसको धूमिल चिहानसँग जोडिएका दुई कुरा भने मेरो मानसपटलभित्र सधैंलाई बाँकी रहने भयो ।

एक, त्यो डरलाग्दो चिहानघारी, जसले मलाई आज पनि यत्रो समयको अन्तरालपछि पनि सपनामा अक्सर तर्साइरहन्छ । सपनामा त्यो चिहानघारी देखेको दिन अझै पनि ब्युझँदा मलाई खलखली पसिना छुटिरहेको हुन्छ ।

दुई, ती दुई अभियुक्तहरू, जो आफैं तत्कालीन समयका जीवित कविताहरू थिए र जसलाई बुझ्न कुनै किताबी ज्ञान होइन त्यही समाजको पाठ्यक्रम काफी थियो । उनीहरूमध्ये एक कविते कामी मेरो जीवनकै पहिलो आदिकवि थियो । र, अर्को सोतांगे जेठा थियो पहिलो राष्ट्रकवि !

प्रकाशित : माघ १, २०७८ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×