कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्पाइडर म्यान : नो वे होम

माकुरे जालोमा अल्झिएको संसार

निर्देशक– जोन वाट्स
कलाकार–टम हल्यान्ड, जेन्डाया, बेनेडिक कम्बरब्याच
सुशील पौडेल

मार्भल सिनेमाटिक युनिभर्स (एमसीयू) को अहिलेसम्मकै सबैभन्दा अब्बल फिल्म साबित बनेर आयो, टम हल्यान्डको ‘स्पाइडर म्यान’ ट्रिलोजी ‘स्पाइडर म्यान : नो वे होम’ । यस फिल्मको कहानी त्यहींबाट सुरु हुन्छ, जहाँबाट सन् २०१९ मा आएको ‘स्पाइडर म्यान : फार फ्रम होम’ टुंगिएको थियो, जसमा पिटर पार्कर (टम) नै स्पाइडर म्यान भएको गुह्य मिस्टेरियोले दुनियाँसामु खुलासा गरिदिएको थियो ।

माकुरे जालोमा अल्झिएको संसार

माकुरे जालोको वेशमा आफ्नो असली परिचय लुकाएर दुनियाँलाई खलपात्रसँग जोगाउँदै आएको असल छिमेकी पिटर त्यसपछि भने एकाएक विवादित बन्छ । हत्याराको ट्यागसमेत लाग्छ । समर्थक र आलोचक बराबरी बन्छन् । पिटर आफ्नै कारणले गर्लफ्रेन्ड एमजे (जेन्डाया) र बेस्टफ्रेन्ड नेड (ज्याकोब बटालोन) देखि परिवारसम्मलाई परेको असरले बेचैन छ ।

पिटर आफूलाई स्पाइडर म्यानको शक्तिमा भन्दा पूर्ववत् सर्वसाधारण हुनुमै खुसी देख्छ । संसारलाई पहिलेकै समयमा फर्काउन (जुन बेला उसलाई कसैले पनि स्पाइडर म्यानका रूपमा चिनेकै थिएनन्) परिचित जादुयी साथी एभेन्जर डक्टर स्ट्रेन्ज (बेनेडिक कम्बरब्याच) को मद्दत लिन्छ । केही कमजोर भइसके पनि डक्टर स्ट्रेन्ज पिटरलाई सहयोग गर्न जादुको मन्त्र लगाउँछ । तर, सबै योजना सधैं सोचेअनुसारै चल्ने भए समस्या नै किन पर्थ्यो ? मन्त्रोच्चारणमा आउने अवरोधले फिल्ममा कैयन साइड इफेक्ट निम्त्याइदिन्छ । तब छिर्छ फिल्म कन्फ्लिक्टमा ।

जबरजस्त कन्फ्लिक्ट नै फिल्मको प्राण हो । एमसीयूका दर्शक त्यसपछि रोमाञ्चित हुन्छन्, जब पुराना पात्रलाई पनि पर्दामा भेट्छन् । स्पाइडर म्यानलाई आच्छुआच्छु पार्न साम रिमीद्वारा रचित खतरनाक भिलेन पुनर्जीवित भई आउँछन् । मार्भल युनिभर्सका पुराना दर्शक नोस्टाल्जिक बन्न थाल्छन् भने नयाँ दर्शक पनि मल्टिस्टारको भीडले उत्साहित हुन्छन् ।

आफ्नाको साथ र डक्टर स्ट्रेन्जको सहयोगले पिटर पुनः एक पटक आफ्नो मिसनमा लाग्छ, स्पाइडर म्यान नै बनेर । उसले महसुस गर्छ, जति ठूलो तागत, उति नै ठूलो जिम्मेवारी ।

टम हल्यान्डअघि नै स्पाइडर म्यानको वेश अपनाउने टोबी मग्विरे अथवा एन्ड्रयु गार्फिल्डका पालका फिल्म ‘स्पाइडर म्यान’, ‘स्पाइडर म्यान २’, ‘स्पाइडर म्यान ३’ वा ‘द अमेजिङ स्पाइडर म्यान’ देखि ‘द अमेजिङ स्पाइडर म्यान २’ सम्मको कहानी र पात्रलाई ‘स्पाइडर म्यान : नो वे होम’ सँग जोड्न यसका निर्देशक जोन वाट्सले यसपटक सफल प्रयास गरेका छन् । यसपटक निर्देशकले फिल्मलाई एक्सनप्रधान मात्रै बनाएका छैनन्, भावनात्मक सम्बन्धमा पनि उत्तिकै खेलेका छन् । सुपरम्यानहरूभन्दा पटकथा बलियो देखिनु फिल्मको सफलता हो । यसमा शृंगार थपिदिएको छ, फिल्मको संगीत, स्पेसल इफेक्ट्स अनि छरितो सिनेमाटोग्राफी र चुस्त सम्पादनले ।

फिल्ममा सुपर हिरोज, भिलेनको भीडमा पनि एभेन्जरको टिमको सबैभन्दा कान्छो सुपरहिरो स्पाइडर म्यानलाई टम हल्यान्डले अलग र सशक्त पहिचान दिलाउन सक्षम बनेका छन् । साढे दुई घण्टाको फिल्मले दर्शकलाई किञ्चित् निराश पार्नेछैन । फिल्मले बक्सअफिसमा मात्रै उछाल ल्याएको छैन, बरु लार्जर द्‍यान लाइफ पात्र/चरित्रलाई दर्शकका प्रियदेखि भयानकसम्म बनाउँदै मार्भल कमिक भर्समा जोडेको छ ।

प्रकाशित : माघ १, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?