कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?

महामारीको मारमा परेका विद्यार्थीले आफ्नो पढ्न पाउने, घरमै पढिरहेकाले परीक्षा दिन पाउने अधिकारबाट वञ्चित हुनैपर्ने हो त ? स्कुलले नगरे होम स्कुलिङ गरिरहेका विद्यार्थीको मूल्यांकन कसले गर्ने  ?
संगीता श्रेष्ठ

‘...यो स्कुलको मिनिमम चार्ज हो । स्कुलले पनि घरभाडा तिर्नुपर्छ । यसमा हामी केही गर्न सक्दैनौं । आई एम सरी !’

छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?

यूकेजीमा पढ्ने छोरीको अनलाइन कक्षाबारे कुरा गर्दा प्रिन्सिपलले यही भनेकी थिइन् । त्यतिखेर महसुस भयो, म शिक्षकसँग होइन, कुनै व्यापारीसँग कुरा गरिरहेकी छु । स्कुललाई विद्याको मन्दिर र आफूलाई देवी सरस्वतीको पुजारी भन्ने शिक्षकको मुखबाट नाफाखोर व्यापारीको भाषा निस्किरहेको थियो । स्कुलकी प्रिन्सिपलसँग फोनमा कुराकानी गरिरहेकी मलाई आफ्नै कानमा शंका लागिरहेको थियो ।

स्कुलले तोकेको र मैले तिर्न सक्ने शुल्कमा कुराकानी मिलेन ।

‘यो रेन्जमा तपाईंलाई भएन भने यो लग्नुस् न त !’ मोलतोल गर्दा व्यापारीले आफ्ना ग्राहकलाई भनेजस्तै प्रिन्सिपलले पनि मलाई विकल्पको सुविधा दिइन् । ‘स्टेसनरी फी तिर्नुस्, किताब होम डेलिभरी गरिदिन्छौँ, घरमै पढाउनुहोस्,’ उनले भनिन् ।

वैशाख २२ मा नेपाल सरकारले अनलाइन कक्षाबापत शुल्क उठाउन नपाउने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयमा भनिएको छ– ‘नेपाल सरकारको अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कुनै पनि तहमा नयाँ विद्यार्थी भर्ना नगर्नू /नगराउनूका साथै भर्नाका नाममा कुनै पनि शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउनेजस्ता कार्यहरू नगर्नू/नगराउनू ।’

‘बार्गेनिङ पावर’ हुँदाहुँदै पनि मैले त्यसको उपयोग गरिनँ । किनकि, शिक्षा मेरा लागि सामान होइन । वस्तु होइन । शिक्षा किन्नका लागि होइन, छोरीलाई ज्ञानसम्पन्न बनाउन स्कुल पठाएकी हुँ । कम्तीमा अवधारणाको तहमा म स्पष्ट छु ।

तर, स्कुलकी प्रिन्सिपल महोदयासँग संवाद गरेपछि मलाई सन्त कबिरको दोहा अर्थहीन लाग्यो–

‘गुरु बिन ज्ञान न उपजै, गुरु बिन मिलै न मोष ।

गुरु बिन लखै न सत्य को गुरु बिन मिटै न दोष ।।’

(अज्ञान रूपी अन्धकारलाई गुरुले चिर्छन् । गुरुले नै सत्य र असत्य, उचित र अनुचितको ज्ञान दिन्छन् ।()

सन्त कबिरले भनेझैँ विद्यार्थीको जीवनमा उच्च स्थान र शक्तिशाली प्रभाव राख्ने गुरुले ‘पैसाको बार्गेनिङ’ गर्न सुहाउँछ त ∕ त्यसको कल्पना मात्रले पनि लज्जाबोध भयो । तैपनि, गुरु भन्ने एउटा आदर्शको सम्मानमा तत्कालका लागि स्कुलले उपलब्ध गराएको दोस्रो विकल्प रोजेँ ।

कोभिड–१९ को नमिठो कोसेलीका रूपमा बेरोजगारी प्राप्त गरेकी छु । (यति ‘मेटाफोरिकल्ली’ बोल्न आवश्यक त थिएन, तर ‘मेरो जागिर गयो’ भन्ने छारो किन उडाउनु भनेर यसो गरेकी हुँ ।)

आफूले काम गरिरहेको मिडिया हाउसले पत्रिका बन्द गर्ने निर्णय गरेपछि फुर्सदमा थिएँ । छु । समय सदुपयोग पनि गर्नुपर्‍यो । वर्षौंदेखि कलम, कपी र कम्प्युटरसँग अभ्यस्त भएकाले केही नगरी यसै बस्न पनि मन नलाग्दो रहेछ ।

त्यसमाथि कोरोनाका समाचारले अति–भरिभराउ दिमागलाई डिप्रेसनबाट बचाउने चुनौती एकातिर थियो भने अर्कोतिर दस–बाह्र वर्षदेखि गरिरहेको ‘अफिसको काम’ को सट्टामा केही खोज्नु पनि थियो । छोरीको होम स्कुलिङ मनासिब लाग्यो ।

वैशाखदेखि असारसम्म सातामा तीनपटक ‘असाइन्मेन्ट’ पठाइरहने स्कुलले साउनमा अनलाइन कक्षा सुरु गरेयता वास्तै गर्न छाड्यो । विद्यार्थी र शिक्षकबीच सम्पर्क भइरहोस् भनेर बेला–बेलामा छोरीका शैक्षिक क्रियाकलापका फोटो स्कुलको ह्वाट्स एपमा पठाइराख्थेँ । यसै क्रममा एक दिन स्कुलबाट चाँडै ‘फर्स्ट टर्म असस्मेन्ट’ सुरु हुने जानकारी पाएँ । ‘गरेको कामको प्रतिफल पाउने भएँ’ भनेर खुसी भएँ । तर, त्यो खुसी केही मिनेट पनि टिकेन । परीक्षाबारे जानकारी लिन फोन गर्दा यसपटक पनि पहिलेजस्तै निराशा हात लाग्यो– ‘अनलाइन कक्षा लिइरहेका विद्यार्थीको मात्र परीक्षा लिनेछौँ ।’

त्यस क्षण संस्कृतको श्लोक सम्झिएँ–

‘गुरुर्ब्रह्मा, गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।

गुरु: साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।’

‘यस्तै गुरुलाई ‘परब्रह्मा’ भनिएको हो त ?’ मनमा अनेकन प्रश्न उब्जिए– ‘स्टेसनरीका नाममा पैसा बुझाएर स्कुलकै कोर्स बुक पढिरहेकी छोरीको पढाइको मूल्यांकन कसले गर्ने त ?’, ‘कि यस्तो कुनै ‘रुल बुक’ छ, जसले ‘अनलाइन नपढ्ने विद्यार्थीको परीक्षा लिनु हुन्न’ भन्छ ?’, ‘महामारीका समयमा गुरुले विद्यार्थीप्रति गरेको यो व्यवहार उचित हो त ?’

पत्रकार मन (पूर्वपत्रकार मन भन्नु अझ सटीक हुन्छ) छट्पटाइरह्यो । जिज्ञासाको तलतल मेट्न शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालासँग कुरा गरे ।

‘अनलाइन, अफलाइनको कुरै भएन,’ शिक्षाविद् कोइरालाले मसँग भने, ‘होम स्कुलिङमा विद्यार्थीलाई अभिभावकले पढाउँछन् । स्कुलले केही गर्नु पर्दैन । स्कुलको केही खर्च हुँदैन । तर, परीक्षाचाहिँ स्कुलले लिनुपर्छ ।’ विपत्तिमा घर–घरमै पढ्ने–पढाउने कुरामा जोड दिँदै आएका शिक्षाविद् कोइराला यसलाई स्कुलको बदमासी ठान्छन् । ‘विद्यार्थीको शैक्षिक प्रगतिको मूल्यांकन गर्नु स्कुलको जिम्मेवारी हो,’ उनले भने, ‘स्कुलले आफ्नो जिम्मेवारीबाट पन्छिन पाउँदैन ।’

अमेरिकामा ‘घरमै पढाइ’ लाई कानुनी मान्यता दिइएको छ । कोभिड–१९ को महामारीको समयमा अमेरिकाका लाखौँ विद्यार्थी घरमै पढिरहेका छन् । घरमै पठनपाठन गरिरहेका विद्यार्थीको शैक्षिक प्रगति बुझ्न स्कुलले मूल्यांकन गर्ने गर्छ । कतिपय राज्यले ‘स्ट्यान्डर्ड टेस्ट’ समेत लिने गर्छन् । अमेरिकामा मात्र होइन, अहिले महामारी झेलिरहेका संसारभरिका विभिन्न देशले होम स्कुलिङमा जोड दिइरहेका छन् ।

‘शिक्षा विद्यार्थीको नैसर्गिक अधिकार हो,’ नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यार्थीको पढाइको क्रमभंग हुन नदिन होम स्कुलिङ आवश्यक छ । ‘होम स्कुलिङ गरिरहेका विद्यार्थीको परीक्षा स्कुलले लिन हुन्न’ भन्ने कहीँ–कतै लेखिएको छैन ।’

हालै भारत, महाराष्ट्र, सोलापुर गाउँको एउटा भिडियो भाइरल भएको थियो, जसमा गाउँका भित्ता ब्ल्याक बोर्डमा परिवर्तित भएका छन् । घरमा टीभी, इन्टनेट र अभिभावकसँग स्मार्टफोन नभएका बालबालिकाका लागि स्कुलले गाउँभरिका भित्तामा शैक्षिक जानकारी लेख्ने निर्णय गर्‍यो । अंग्रेजी, हिन्दी, गणितलगायत विषयका आधारभूत ज्ञानले भित्ता रंगिए । स्कुलकै कोर्स भित्तामा लेखियो । यस कामको जिम्मा स्वयं शिक्षकले लिए । यसबाट विद्यार्थीले स्कुलकै जस्तो शिक्षा लिइरहेको उनीहरूको बुझाइ छ । ‘मुख्य कुरा यसो गर्दा कम्तीमा विद्यार्थीले शिक्षाबाट वञ्चित हुनुपरेको छैन,’ भिडियोमा एक शिक्षकले भनेका छन्, ‘विद्यार्थीले ज्ञानआर्जन गर्न पाएका छन् । यही हाम्रो लागि ठूलो उपलब्धि हो ।’

महामारीको मारमा परेका विद्यार्थीले आफ्नो पढ्न पाउने, घरमै पढिरहेकाले परीक्षा दिन पाउने अधिकारबाट वञ्चित हुनैपर्ने हो त नेपालमा ? स्कुलले नगरे होम स्कुलिङ गरिरहेका विद्यार्थीको मूल्यांकन कसले गर्ने ? विद्यार्थीको शैक्षिक प्रगतिको मूल्यांकन गर्ने कुनै निकाय हुनुपर्ने हो कि ?

यो प्रश्न मैले कसलाई गर्ने हो ? मलाई थाहा छ, किनभने पूर्वपत्रकार हुँ । यसको जवाफ कुनै जिम्मेवार निकायले दिनेवाला छैन, त्यो पनि मलाई थाहा छ ।

जवाफ त मैले पनि दिनुपर्छ । छोरीलाई दिनुपर्छ । नर्सरी, एलकेजी गरी दुई वर्ष पढेपछि पास/फेलको दशकौँ लामो परम्परा ऊभित्र पनि गढिसकेछ । ऊ मलाई सोधिरहन्छे– ‘मामु, इक्जाम कहिले ? म पास कि फेल ?’

म उसलाई आश्वस्त तुल्याउन खोज्छु– ‘तिमी त फस्ट हौ नि !’ ऊ पत्याउँदिन ।

‘कहिले स्कुल जाने ?’ उसको निरन्तर प्रश्न हुन्छ ।

म अचेल उसले नबुझ्ने गरी, उसले नबुझ्ने भाषामा बोल्न थालेकी छु, ‘छोरी, जिन्दगी कहाँ सानो स्कुल हो र ?’

प्रकाशित : आश्विन १७, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?