बालबालिकालाई ‘कोसेली’- कोसेली - कान्तिपुर समाचार

बालबालिकालाई ‘कोसेली’

राम्रा, नयाँ, सचित्र किताब हात परेको दिन केटाकेटी किताबसँगै रमाउँछन् । खुसी भएर किताब ओल्टाइपल्टाइ गर्छन् । सक्दो छिटो पढिसक्छन् । ‘ पढ’ भन्नै पर्दैन ।
नरेन्द्रकुमार नगरकोटी

सानो छँदा ‘चित्र छ कि छैन ?’ भन्दै पाना पल्टाउँदै किताबसँग खेलेको सम्झना मजस्तै धेरैसँग हुनुपर्छ । मेरो समयका किताबमा विरलै हुन्थे चित्र । चित्र भए पनि सामान्यतया रङ्गीन हुँदैनथे । किताबका पानामा चित्र छन् कि छैनन् भन्दै अनुमान गर्ने खेल बडो आनन्दको हुन्थ्यो ।

आजकाल हामी प्रायः यस्तो सुन्न अभिशप्त छौं, ‘केटाकेटी किताबै पढ्दैनन् ! पढाइमा ध्यानै दिँदैदन् ! भएका किताब पनि पढ्दैनन् !’

अभिभावक/शिक्षकका यस्ता डायलग खारेज गर्न जरुरी छन्– राम्रा, सचित्र किताब । राम्रा, नयाँ, सचित्र किताब हात परेको दिन केटाकेटी किताबसँगै रमाउँछन् । खुसी भएर किताब ओल्टाइपल्टाइ गर्छन् । सक्दो छिटो पढिसक्छन् । ‘पढ’ भन्नै पर्दैन ।

प्रश्न उठ्छ, कुन किताब राम्रो ? राम्रा किताब कहाँ पाइन्छन् ? यसै सन्दर्भमा, सचित्र किताब प्रालिले एकैपटक प्रकाशन गरेको छ, १० सुन्दर बालकिताब– ‘कोसेली’ । ‘३ वर्षदेखि १० वर्षसम्मका बालबालिकाका लागि सचित्र किताबको कोसेली’ भनेर चिटिक्कको प्याकेटमा किताबहरू राखी होम डेलिभरी पनि गरिरहेको छ । तिनै दस किताबमाथि संक्षिप्त चर्चा गरौं ।

‘आकारको घाउ’ रत्न प्रजापतिको कथा हो । चित्रचाहिँ समित श्रेष्ठको । कथामा ग्याजेट नै आकारको साथी हुन्छ । उसका आँखा कमजोर बन्छन् । ऊ हरेक विषयमा पछि पर्दै जान्छ । साथीहरू पनि टाढिन्छन्, ऊ एक्लिन्छ । ग्याजेटको लतले बालबालिकामा पर्ने असरबाट बच्न सचेत गराउँछ कथाले ।

सिर्जना शर्माको लेखन र नीलम भुर्तेलको चित्रमा तयार पारिएको छ ‘उपहार’ । आदित्यको जन्मदिनको विषयमा लेखिएको कथामा ‘के उपहार दिने ?’ भन्ने दुविधा प्रस्तुत छ । मौलिक खानालाई महत्त्व र जङ्क फुडलाई निरुत्साहित गर्न कथाले प्रेरित गर्छ ।

‘कथा भन्ने खाट’ मा शाश्वत पराजुलीले खाटलाई पात्र बनाएर कथा लेखेका छन् । चित्र छ– कृष्णगोपाल श्रेष्ठको । बाआमाले खाट बेच्न लागेको कुरा हजुरबाको कथा सुनेका मिलनलाई मन नपरेको प्रसंगबाट कथा अगाडि बढ्छ ।

‘के पो गर्ने खै ?’ निर्मला चापागाईको लेखन हो । यसमा अविन श्रेष्ठले बनाएका जीवन्त चित्रहरू छन् । बालबालिकाका मनमा उठ्ने प्रश्न र जिज्ञासालाई चित्रकारले आकर्षक रूपमा प्रस्तुत गरेका छन् ।

‘गाउँ खाने कथा’ हरूले शोभितमान बनियाका चित्रसँगै केटाकेटीलाई तान्छन् । किताबले केटाकेटीलाई नयाँ विषयमा प्रश्न गर्न, सोच्न, उत्तर खोज्न प्रेरित गर्छ । हरेक पानामा एउटा प्रश्न सोधिएको छ । अन्तिम पानामा उत्तरको सूची पनि छ ।

‘चकचके खरायो’ लेखक–चित्रकार बियाट्रिक्स पोटरको किताबको नेपाली अनुवाद हो । अनुवाद कृष्णदीप सिग्देलले गरेका हुन् । पोटरकै चित्रहरू भएको किताबमा बादल नाम गरेको साहसी खरायोको कथा छ ।

‘चुलबुले च्यान्टु’ मा कृष्णदीप सिग्देलको लेखन र सोनाम तामाङको चित्र छ । कथामा चकचक गर्ने सानो बाँदरलाई रोचक किसिमले प्रस्तुत गरिएको छ ।

सुशीला खनालको लेखनमा दीपक गौतमका चित्रले सजिएको किताब हो ‘प्यारी’ । आमा र सन्तानको मायालाई मूल विषय बनाइएको किताबका हरेक पानामा भाका हालेर गाउन मिल्ने गरी शब्द बुनिएको छ ।

रोशन पोखरेलको कथा ‘भूत’ मा सुमन महर्जनले चित्र बनाएका छन् । अनिलले राति भूत देखेको प्रसंगले डर लागे पनि अन्तमा रमाइलोसँग कथा टुङ्ग्याइएको छ ।

‘लोभी कुकुर’ इसापूर्व ६२० मा जन्मेका इसप कथाको पुनर्लेखन हो । कृष्णदीप सिग्देलको लेखन भएको किताबमा सोनाम तामाङको चित्र छ । इसपका कथालाई नेपाली परिवेशअनुसार रोचक ढंगले लेखिएको छ ।

‘कोसेली’ का यी १० किताबको सम्पादन कृष्णदीप सिग्देलले गरेका हुन् । छरितो–आकर्षक साजसज्जामा तयार पारिएका किताबहरूका कागज तथा छपाइ अब्बल छ ।

-नगरकोटी मासिक बालपत्रिका ‘बाल उदय’का सम्पादक हुन् ।

प्रकाशित : आश्विन ३, २०७७ ११:००
प्रतिक्रिया
पठाउनुहोस्

फरक भूमि र परिवेशमा आईपीएल : १३औं संस्करण शनिबारदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्ततः हुने नहुने दोधारबीच यसपल्टको इन्डियन प्रिमियर लिग (आईपीएल २०२०) आज शनिबारदेखि सुरू हुँदै छ । त्यो पनि यूएईमा । भारतमा कोरोना भाइरस संक्रमणको महामारी रोकिने कुनै छाँटकाँट छैन, बरू उल्टै बढ्दै छ । यस्तोमा प्रतियोगिताको १३ औं संस्करण हुँदै छ, विदेशी भूमिमा । त्यो पनि खालि तीन सहरमा ।

यस्तोमा यसपल्टको प्रतियोगिता पूर्णतः फरक हुनेछ, सर्वथा भिन्न । यसबीच एउटा तथ्य के निश्चित छ भने विश्वकै सबैभन्दा धनी यो क्रिकेट लिगले अब्बल दर्जाको क्रिकेट भने पस्कने छ । समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको रिपोर्ट :

स्पिनरको आईपीएल २०२०

फेब्रुअरीतिर जतिबेला भारतलाई कोरोना भाइरस संक्रमणको महामारीले छोप्नै लागेको थियो, त्यतिबेला इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि एउटा योजना सारिएको थियो । पूरा प्रतियोगिता एउटै सहरमै गर्ने र त्यसका लागि तीन मैदानको प्रयोग गर्ने । त्यतिबेला यसलाई कसले पनि निको मानेनन् । बरू धेरैले भनेका थिए, के यस्तो हुनसक्छ र ? आखिरमा आईपीएलका फ्रेन्चाइजले आफ्नो घरेलु र विपक्षी टिमको मैदान हेरेर टिम बनाएका थिए ।

प्रायः टिमको योजना थियो, घरमा हुने सात खेलमा सक्दो बढी अंक बटुल्ने । तर अहिले स्थिति कस्तो छ भने पूरा प्रतियोगिता अर्कै देशमा सारिएको छ । त्यो पनि सर्वथा नयाँ परिस्थितिमा । यस्तोमा केही टिमलाई घाटा हुन सक्नेछ, केहीलाई फाइदा । केही टिमले नयाँ परिस्थितिअनुसार आफूलाई सजिलै फेर्ने छन्, केहीले यो काम फिटिक्कै गर्नसक्ने पनि छैनन् । यसपल्ट ठ्याक्कै फरक हुने के हो भने कसैलाई पनि ‘होम एडभान्टेज’ हुने छैन ।

खाली कतिसम्म भने केही टिमले होटल नजिकको मैदानबाट खेल्न पाउनेछन् र त्यही मैदानमा बढी खेल खेल्नेछन् । त्यसैले यो आफैंमा घरको मैदान हुन सक्नेछ । जस्तो, रोयल च्यालेन्जर्स बेंग्लोर, दिल्ली क्यापिटल्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सले लिग चरणमा आफ्ना आधाभन्दा बढी खेल दुबईमा खेल्नेछ । बाँकी दुई टिमले भने अबुधाबीमा सक्दो बढी खेल्ने अवसर पाउने छ ।

सुरुमा सबै टिम आफ्ना खेलाडीलाई स्थानीय वातावरण, मौसम, पिच आदिसँग अभ्यस्त गराउन व्यस्त रहनेछ । दुबई र अबुधाबीभन्दा फरक मैदानका रूपमा रहेका शारजहाँले भने आठै टिमका तीन तीन खेलका आयोजना गर्नेछ । यो पूरा प्रतियोगिताका लागि ‘गेम चेन्जर्स’ पनि हुनसक्छ । महत्त्वपूर्ण तथ्य पिचको व्यवहार कस्तो हुनेछ त ? यसको पहिलो सिधा जवाफ हो, यूएईमा स्पिनरलाई बढी सफलता मिल्ने गर्छ, त्यसैले आईपीएल २०२० स्पिनरको प्रतियोगिता हुनेछ ।

तर, सबै त्यति सजिलो छैन । यूएईमा फेब्रुअरीदेखि मार्च क्रिकेटको खास सिजन हो । अक्टोबर–नोभेम्बरमा तिनै मैदानमा क्रिकेट हुँदा पिचको स्वरूप फरक हुनसक्छ । जम्माजम्मी ४० दिनको अन्तरमा दुबईको पिचमा २४ खेल हुनेछ । प्रतियोगिताको अन्त्य अन्त्यतिर पुग्दा पिच कस्तो भइसक्ने होला ? अहिलेका लागि खाली अनुमानमात्र गर्न सकिन्छ । रन बनाउन सजिलो हुने छैन, जति रन आउने छ, त्यो पनि सुस्त गतिले आउने छ ।

त्यसले यसपल्टको आईपीएल २०२० मा टस कसले जित्नेछ, त्यसको ठूलो अर्थ हुनेछ । पहिले ब्याटिङ गरेको टिमले तयार पारेको लक्ष्य उसले रक्षा गर्नसक्ने सम्भावना बढी हुनेछ । त्यसैले जसले टस जित्यो, उसले पहिले ब्याटिङ गर्ने निर्णय बढीभन्दा बढी हुनेछ । त्यसैले टस जित्नुको अर्थ त्यही टिमले खेल जित्ने सम्भावना बढी हुनु हो, जितको प्रतिशत बढ्नु हो । यूएईमा पछिल्लो समय भएका घरेलु र अन्तर्राष्ट्रिय खेलको तथ्यांकले यही देखाउँछ ।

अझ त्यसमाथि अधिकांश खेल साँझ सुरु भएर रातितिर सकिने छन् । त्यसैले टस जित्नु अझ महत्त्वपूर्ण हुनेछ । पहिलो इनिङ्समा पिचको व्यवहार जस्तो छ, त्यसपछिको इनिङ्समा पिचले त्यस्तै काम गर्नेछ भन्न सकिन्न । त्यसैले अत्यधिक सम्भावना के छ भने यसपल्टको प्रतियोगितामा तीन शब्द खुब चल्नेछ । यो हो– स्पिन, स्पिन र स्पिन । यूएईका यी क्रिकेट मैदानमा यसअघि पाकिस्तानी सुपर लिग (पीएसएल) पनि भइसकेको छ ।

त्यसमा स्पिनर त निर्णायक साबित भएका छन् नै, केही बायाँहाते तीव्र गतिका बलर पनि घातक साबित भएका छन् । त्यसै पनि भारतीय क्रिकेट स्पिन आक्रमणमा बढी निर्भर हुने गर्छ । त्यसैले जसको स्पिन आक्रमण बलियो छ, त्यो टिमको जित सम्भावना यसपल्ट बढी छ । यी त भए सबै अनुमान । भलै, यी सबैका लागि पुराना तथ्यांककै मदत लिइएको छ । खाली एउटै तथ्यमात्र निश्चित छ, यसपल्टको आईपीएल २०२० यसअघिका संस्करणभन्दा धेरै अर्थमा फरक हुनेछ ।

कस्ता छन् त टिम ?

मुम्बई इन्डियन्स

मुम्बई इन्डियन्ससँग निकै बलियो सुरुआती ११ छ । यी सबै स्थानमा प्रयोग गर्न मिल्ने वैकल्पिक खेलाडी पनि कमी छैन । भारतीय टिमका पाँच खेलाडी अहिलेको मुम्बई टिममा छन् । यसले टिमको स्वरुप बलियो देखाउँछ । समस्या यहींनिर हुनसक्छ, किनभने पूरा टिममा खासै धेरै अनुभवी खेलाडी कोही पनि छैनन् ।

जसप्रित बुमराहलाई केही अप्ठ्यारो भयो भने तीव्र बलिङ आक्रमणमा समस्या हुन सक्छ । तर सम्झौं, मुम्बई आईपीएल इतिहासकै सबैभन्दा सफल दुई टिममध्ये एक हो ।

चेन्नई सुपर किंग्स

आईपीएलको अर्को सफल टिम हो, चेन्नई सुपर किंग्स । अनि यो टिमसँग जति प्रतियोगिताको अनुभव बिरलै होला । अझ यो टिमको सबैभन्दा ठूलो अस्त्र भनेकै खारिएका खेलाडी हुन् । यो टिम धेरैभन्दा धेरै स्पिन आक्रमणमा टिकेको हुन्छ । यसमा तलमाथि भयो भने के गर्ने ? दोस्रो उपाय नहुन सक्छ ।

टिमको प्रदर्शन धेरै हदसम्म शेन वाट्सनको टिक्न सक्छ, तर केही प्रमुख खेलाडीले नखेल्ने निर्णय गरेको हुनाले यसले टिम समीकरणमा फरक पारेको छ ।

रोयल च्यालेन्जर्स बेंग्लोर

आधुनिक ट्वान्टी–२० टिम कस्तो हुनुपर्छ, रोयल च्यालेन्जर्स बेंग्लोरलाई हेर्नुपर्छ । समस्या के भने यो टिमले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । अहिलेको टिमका केही खेलाडीको नाम लिने बित्तिकै त्यो विपक्षी टिमका लागि दबाब सिर्जना गर्न पर्याप्त छ ।

जस्तो, विराट कोहली, आरोन फिन्च, एबी डी भिलियर्स आदि आदि । जस्तै ठूला नाम भए पनि खेलको अन्त्यतिर निर्णायक प्रदर्शन गर्ने खेलाडीको टड्कारो अभाव छ, यो स्टारसम्मिलित बेंग्लोर टिममा ।

दिल्ली क्यापिटल्स

कम्तीमा कागजमा निकै बलियो टिम हो, दिल्ली क्यापिटल्स । यसका अधिकांश घरेलु खेलाडी त्यस्ता छन्, जसले अबको केही वर्षमा भारतीय टिमका लागि आधार साबित गर्न सक्नेछन् । लगभग युवा टिमभन्दा हुन्छ, दिल्लीलाई ।

दिल्लीको भाग्यमा पनि अहिलेसम्म उपाधि लेखिएको छैन । सिमरन हेटमायर टिमका सबैभन्दा ठूलो अस्त्र हुन सक्छन् । तर टिमको सबैभन्दा बलियो पक्ष भनेकै स्पिन आक्रमण हो । अनि प्रमुख समस्या, फेर एकपल्ट डेथ बलिङ ।

राजस्थान रोयल्स

राजस्थान रोयल्समा जत्तिका स्थापित चार प्रमुख विदेशी खेलाडी अन्यत्र कहीं छैनन् । यसमा सबैभन्दा अगाडि त बेन स्टोक्स नै छन् । उनी एक्लै कुनै पनि समय खेल आफ्नो पक्षमा पल्टाउन सक्षम छन् । पछिल्लो समय इंग्ल्यान्डका लागि उनले धेरैपल्ट यो काम गरिसकेका छन् ।

तर समस्या के हुनसक्छ भने उनको अनुपस्थिति भएमा यस्तै भूमिका टिमका लागि कसले खेल्छ त ? रोबिन उत्थपा आफ्नो खेलजीवनको लगभग अन्त्यतिर छन् र उनले त्यसको भरपूर फाइदा उठाउनुपर्छ ।

कोलकाता नाइट राइडर्स

ठूला प्रतियोगितामा अनुभवी खेलाडीको धेरै आवश्यकता हुन्छ । यो तथ्यमा कोलकाता नाइट राइडर्सले माथ खान बेर छैन । हुन पनि दिनेश कार्तिकलाई छाडेर टिममा बाक्लो अनुभव भएका खेलाडी नै छैनभन्दा हुन्छ ।

त्यसो त आन्द्रे रसेल उत्तिकै अनुभवी खेलाडी हुन् । तर, समस्या के छ भने चोट रसेलको खेलजीवनको अर्को पर्यायजस्तै हो । टिम पक्कै युवा छ, त्यसैले कोलकाताले यसलाई बलियो पक्ष मानेर आफ्नो मुख्य रणनीति बनाउन सक्छ ।

किंग्स इलेभेन पन्जाब

जति ठूला नाम, उत्तिकै लामो ब्याटिङक्रम । यही सबैभन्दा ठूलो विशेषता हो, किंग्स इलेभेन पन्जाबको । जस्तो, केएल राहुल, मायंक अग्रवाल, क्रिस गेल, ग्लेन म्याक्सवेल, अनि निकालेस पूरन ।

यसपल्ट पन्जाबको यो ब्याटिङक्रम चल्ने हो भने यसलाई रोक्न विपक्षी टिमलाई पक्कै गाह्रो हुनेछ । टिमसँग मोहम्मद सामीका रूपमा तीव्र बलिङ अस्त्र पनि छ । टिमको प्रदर्शन धेरै हदसम्म राहुलको निर्णयमा भर गर्नेछ । प्रश्न हो, उनी कत्तिको परिपक्व देखिने छन् त ?

सनराइजर्स हैदराबाद

आधुनिक क्रिकेटकै सबैभन्दा आक्रामक ब्याट्सम्यानका रूपमा सनराइजर्स हैदराबादसँग छ, डेविड वार्नर । उनी कप्तान त हुन नै । उनी कुनै पनि समय टिमलाई आक्रामक सुरुआत दिन सक्षम छन् । उनलाई जोनी बेरिस्टोले साथ दिन सक्छन् र यसलाई ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा उत्कृष्ट प्रारम्भिक ब्याटिङ जोडी मानिन्छ ।

त्यसलगत्तै केन विलियम्सन छन् । तर टिमसँग उत्तिकै बलियो मान्न सकिने बलिङ आक्रमण भने छैन र यसले समस्या सिर्जना गर्न सक्छ ।

तीन मैदान

दुबई

दुबई अन्तर्राष्ट्रिय स्टेडियम सहरको बाहिरी भागमा छ । यो यूएईको सबैभन्दा ठूलो रंगशाला हो । यसमा उपलब्ध सुविधा अन्तर्राष्ट्रिय स्तरका छन् । रंगशालाबाट पाँच मिनेटको दूरीमा आईसीसीको एकेडेमी छ । मुख्य खेल मैदानको छेउछाउ अभ्यास पिच उपलब्ध छैन, तर एकेडेमीमा यही कामका लागि भनेर ३८ पिच उपलब्ध छन् ।

अहिलेसम्मको तथ्य विश्लेषण गर्ने हो भने दुबईको पिचले स्पिनरलाई मदत गर्ने निश्चित छ । भलै, सुरुआती दिनमा यो ब्याट्सम्यानलाई सहयोग गर्ने ‘फ्ल्याट पिच’ थियो ।

अबुधाबी

शेख जायेद क्रिकेट स्टेडियम सन् २००६ मा मात्र निर्माण गरिएको हो । यसको आकार लगभग ‘ओभल सेप’ मा छ । यो विश्वकै सबैभन्दा ठूला क्रिकेट मैदानमध्ये एक हो । यहाँ नेटमा अभ्यासका लागि २४ टर्फ उपलब्ध छन् । सहरबाट केही टाढा रहेको हुनाले यहाँ भीडको पनि कुनै समस्या हुने छैन ।

तर यसलाई ट्वान्टी–२० क्रिकेटका लागि उपयुक्त रंगशाला भने मानिन्न । यहाँ बिरलै मात्र चौका र छक्काको वर्षा देखिने छ । त्यसैले यहाँ ठूला स्कोर बिरलै बन्छ, ब्याट्सम्यानले यहाँको पिचमा कडा संघर्ष गर्नुपरेको छ ।

शारजहाँ

सन् १९८२ मा स्थापिन गरिएको शारजहाँ क्रिकेट स्टेडियमलाई धेरै अर्थमा ऐतिहासिक मान्न सकिन्छ । भारतीय क्रिकेटका सन् ९० का धेरै कथा यस रंगशालासँग जोडिएका छन् । पछिल्लो समय यहाँका भौतिक पूर्वाधार निर्माणमा धेरै काम भएको छ ।

यससँगै सुविधा पनि थप गरिएको छ । यो सहरको मध्य भागमा छ, त्यसैले खेलाडी र आयोजकले धेरै सुरक्षाका उपाय अपनाउनुपर्नेछ । जहाँसम्म पिचको प्रश्न छ, यो ‘फ्ल्याट’ हुने गर्छ, त्यसैले यो ब्याट्सम्यानका लागि स्वर्ग हुन सक्नेछ ।

नीताको प्रभाव

नीता अम्बानी हुन्, मुम्बई इन्डियन्स लिगकी मालिक । केही समयअघि जारी गरेको १० प्रभावशाली महिला खेल व्यक्तित्वमा उनको पनि नाम परेको थियो । त्यो सूचीमा परेका अन्य दुई चर्चित नाम हुन्, टेनिसकी सेरेना विलियम्स र जिम्न्यास्टिककी सिमोनी बाइल्स । स्पोर्ट्स बिजनेस नेटवर्क ‘आईस्पोर्टकनेक्ट’ ले यो सूची जारी गरेको हो ।

यो संस्थाले भनेको छ, ‘नीताले मुम्बई इन्डियन्स फ्रेन्चाइज टिमको नेतृत्व गरिरहेकी छन् । यो इन्डियन प्रिमियर लिग आईपीएलको सर्वाधिक सफल टिम हो । त्यसबाहेक नीता भारतका अन्य खेल गतिविधिमा पनि सहभागी छिन् ।’

नीता भारतका सर्वाधिक धनी व्यापारी मुकेश अम्बानीकी पत्नी हुन् । सन् २०१४ यता उनी रिलायन्स इन्डस्ट्रिजको बोर्डमा पनि छिन् । उनको मुम्बईले अहिलेसम्म चारपल्ट आईपीएलको उपाधि जितेको छ र यो टिम प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । नीता मुम्बई टिमको अभ्यासदेखि खेलका क्रममा प्रत्यक्ष सहभागी हुने गर्छिन् ।

प्रकाशित : आश्विन ३, २०७७ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×