कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जात थाहा पाएपछि ‘तिमी’ !

सोना खटिक

अहिले सहरवासीले गाउँमा मात्रै विभेद छ भन्छन् । तर, कतिपय घटना हामीले सुनेका/देखेका छौं– सांसद भइसकेका दलितले समेत सहरमा भाडामा कोठा पाएका छैनन् । अरूको कस्तो अवस्था होला ? कोठा खोज्ने बेलामा जात लुकाउनुपर्ने अवस्था यद्यपि छ, सहरमा । जात थाहा पाएपछि विभिन्न बहाना बनाएर कोठाबाट निकालेका कैयौं उदाहरण छन् । 

जात थाहा पाएपछि ‘तिमी’ !

म पहिले अफिसकै अपार्टमेन्टमा बस्थेँ । कुनै समस्या आएको थिएन । जब पछि अफिसबाहिर कोठा लिएर बस्नुपर्ने भयो, समस्या सुरु भयो । साथीहरूले एक जना बाहुनकहाँ डेरा खोजिदिएका रहेछन् । घरबेटीले जात सोधेपछि मैले सत्य भनिदिएँ । खटिक जातिको संख्या एकदमै कम भएकाले हो वा उनले यो जातबारे उति नसुनेकाले, त्यति वास्ता गरेनन् । पछि अरू छिमेकमार्फत थाहा पाएछन्– खटिक जाति दलितमा पर्छ भन्ने । तर, उनले मलाई केही भनेनन् । उनलाई थाहा थियो– म सञ्चारकर्मी हुँ । उनले कानुन बुझेकाले ‘सिधै जातको कुरा गरेँ भने मलाई छोड्ने छैनन्’ भन्ने लाग्यो सायद ।

पछि उनले एउटा जुक्ति निकाले । आफ्नी श्रीमती बिरामी भएको र उनलाई दुई तलामाथि चढ्न–झर्न गाह्रो भएको हुनाले म बसिरहेको डेरा घरबेटीले नै लिने कुरा गरे । म माथिल्लो तलामा सर्नुपर्ने भयो । जबकि त्यही तलामा अर्को कोठा पनि खाली थियो । मैले माथिल्लो तलामा जान अस्वीकार गरेँ । पछि म बसेको कोठामा उनीहरू सरे । म भने छेउकै कोठामा सामान खाली गराएर बसेँ ।

सहरभित्र यस्ता घटना प्रत्यक्ष/अप्रत्यक्ष भई नै रहेका हुन्छन् । यसबारे उजुरी गर्न सकिने बाटोसमेत प्रशस्तै हुन्छ । यहाँ सार्वजनिक स्थल तथा कार्यक्रममा पनि जातीय, वर्गीय, रंगीय, लैंगिक तथा सामुदायिक हिसाबले विभेद भइरहेका छन्, जसको कुनै उजुरी परेका छैनन् र ठूलो संख्यामा पर्दैनन् पनि । किनभने हामी आफैँले विभेदलाई स्वीकार गरेका छौं । त्यसलाई विद्रोहको स्वर दिन सकेका छैनौं । जातीय हिसाबले म दलित, सामुदायिक हिसाबले मधेसी महिला । अनुहार कालो वर्णको । कतिपय ठाउँमा म अनुहारले पनि विभेदीकरणमा परेकी छु ।

सार्वजनिक कार्यक्रममा पनि हाम्रो नेतृत्व हतपती स्वीकार हुँदैन । पहिले त्यही पदमा रहेर गैरदलित, महिला, पहाडी मुलकाले नेतृत्व गर्दा सार्वजनिक कार्यक्रममा उनीहरूलाई जसरी भए पनि स्टेज दिइन्थ्यो, दिइन्छ । म त्यही पदमा रही नेतृत्व गरिरहेकी छु भने उक्त स्थानमा भएको/नभएको कुनै वास्ता गरिन्न । यस्ता अनगिन्ती उदाहरण छन् ।

औपचारिक स्थान मात्र होइन, कामको मूल्यांकन गरेर दिइने सम्मानमा पनि यस्तै हुँदै आएको छ । कार्यअनुभव र मिहिनेत हेरिँदैन । तर, जात, उमेर र समुदायका आधारमा मूल्यांकन हुँदो रहेछ ।

जिल्ला विकास समितिमा छँदाको कुरा । समितिले हरेक वर्ष विकास पत्रकारिता पुरस्कार उपलब्ध गराउँदै आएको थियो । त्यसका लागि म पनि प्रतिस्पर्धामा थिएँ । छनोट समितिले नाम छनोट गरिसकेको थियो । पछि मेरो नाम काटिएको थाहा पाएँ, गैरदलितलाई उक्त पुरस्कार प्रदान गरियो । यो त जिल्लाको हकमा हो । राष्ट्रिय स्तरमै पत्रकारितामा रहेर अझै सामुदायिक रेडियोमै काम गर्ने दलित मधेसीको नाम सरकारले कहीँ आफ्नो लिस्टमा उल्लेख गरेको देखिँदैन । विभिन्न पत्रकारकै सगंठनमा पनि समावेशिताका लागि मात्रै हो, हामी मधेसी महिला दलितलाई प्रयोग गर्ने ।

गत कात्तिकमा एउटा संस्थाको आग्रहमा म जनकपुर पुगेको थिएँ । त्यहाँ मधेसी दलितको समस्या, चुनौती र समाधानको विषयमा बोल्नुपर्ने थियो । दुईदिने कार्यक्रममा मलगायत धेरै जना गैरदलित तथा केही दलित थियौँ । होटेल पुगेपछि सम्बन्धित व्यक्तिलाई फोन गरेँ । उहाँ बाहिर हुनुहुँदो रहेछ । एक महिला कर्मचारीलाई रिसेप्सनमा पठाएर मलाई खादा ओढाई बडो सम्मानका साथ कोठामा लगियो । त्यहाँ एकापसमा परिचय भयो । ती महिला कर्मचारीले मेरो परिचय जान्नेबित्तिकै अनुहारको रङ बदलिन् । उनी यत्तिकैमा भोलि हुने कार्यक्रम स्थालमा जाने भनेर कोठाबाट बाहिरिइन् । अघिसम्म ‘तपाईं’ सम्बोधन गरेकी मलाई उनले तत्कालै भनिन्, ‘तिमी यहीँ फ्रेस भएर बस्नु, जानु पर्दैन ।’

सोचेँ, सुरुमा स्वागत गर्दा ‘तपाईं’, सम्बोधन पाएकी मलाई किन एकाएक ‘तिमी’ ?

मधेसका महिलालाई लक्षित गरी जनकपुरमा हालै सञ्चालन गरिएको कार्यक्रममा पनि मैले विभेदको महसुस गरेँ । आफ्नो अनुभव सुनाउन मलाई बोलाइएको थियो । काठमाडौंका अतिथि नआइपुग्दासम्म सबै मधेसी दलित महिलालाई भीआईपी होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो । जब अर्को दिन राजधानीबाट अतिथिको आगमन भयो, हामीलाई अर्कै होटेलमा सारियो । कार्यक्रम समावेशी बनाउन ‘दलितलाई पनि बोलाएका छौँ’ भनेर देखाइएको जस्तो लाग्यो ।

स सम्झिन्छु विगतका ती दिन, जहाँ घरमै आएर मेरा आमा–बुबा, दाइलाई व्यापक मात्रामा कुटियो । धारामा पानी भर्न जाँदा कहिल्यै सुरुमा पालो आएन । पानी खाँदा गैरदलितले माथिबाट खसाल्ने र हामी हात थापेर खाने ! उनीहरूको घरमा जाँदा ढोकाभन्दा बाहिरै बस्नुपर्ने !

बिस्तारै समाजमा केही मानवीयता पलाउँदै छ तर पर्याप्त छैन । संविधानमै छुवाछूत र विभेदमाथि लेखिएकाले पनि होला, समाज रूपान्तरणमा केही प्रयास भएका पनि छन् । तर, सहर अझै साह्रै निर्दयी नै छ ।

२१औं शताब्दीमा पनि नेपाल गरिबी, अशिक्षा, जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक विभेदलगायत पछौटे चिन्तन र अवस्थामा रहनु भनेको हाम्रा लागि लज्जाको विषय हो । हामी शिक्षितसँग यस्तो व्यवहार भइरहेको छ भने गाउँबाट भर्खर सहर प्रबेश गरेकासँग विभेद भएको छैन भनेर कसरी विश्वास गर्ने ?

(खटिक रेडियो कपिलवस्तुकी स्टेसन म्यानेजर हुन् ।)

प्रकाशित : चैत्र १, २०७६ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?