कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनि मैले स्कुल छाडेँ

सामाजिक रूपान्तरणका लागि विविध अभियान चले । राजनीतिक परिवर्तनसँगै मानवअधिकार र समानताका बहस उठे पनि जातीय विभेद समाप्त भएको छैन । गाउँदेखि सहरसम्म दलितहरूले पाइलापाइलामा अपमान सहनुपरेको छ । सहअस्तित्व र समानता स्वीकार नगर्ने हठ नेपाली समाजमा कायमै छ । यसै सन्दर्भमा दलितको सहर–भोगाइसम्बन्धी सामग्री ॅकोसेली’ का अबका केही अंकमा पस्किनेछौं ।
साझना तोलांगे

घरका चारै भित्तामा कलेजी रङ पोतिएको थियो । परम्परागत बुट्टेदार हरिया झ्याल भएको तीनतले घरमा ढलाने कौसी र अग्ला–अग्ला ढलाने पिँढी थियो । वरिपरि खासै घर बनेका थिएनन् । करिब चार/पाँच मिनेट हिँडेर पुगिने दूरीमा पुराना शैलीका घर देख्न सकिन्थ्यो ।

अनि मैले स्कुल छाडेँ

अन्य घरको तुलनामा मेरो घर निकै सजिएको र राम्रो थियो । कहिलेकाहीँ मानिसहरू मेरो घरलाई लज भनेर झुक्किन्थे र बस्न मिल्छ कि भनेर सोध्न आउँथे । लज होइन घर हो भन्ने थाहा पाएर आफैँ अप्ठ्यारो मानेर फर्किन्थे । र, त्यतिखेर मचाहिँ मेरो घरपरिवार देखेर साँच्चै गर्वको महसुस गर्थें । यो त्यतिखेरको कुरा हो, जतिखेर मलाई थाहा थिएन— समाज कसरी बनेको छ, समाज कुनकुन अवयव मिलेर बन्छ ।

म मेरो घरको हरियो झ्यालमा बसेर धुलिखेलको सुन्दरता नियालिरहेको हुन्थेँ । त्यतिखेर सबै राम्रा लाग्थे । त्यहाँबाट देखिने सेता हिमाल र हरिया पहाड देखेर मोहित हुन्थेँ । खासाबाट काठमाडौंका लागि हुइँकिएर आउने बसका धोद्रो आवाजले म घरीघरी झस्किन्थेँ । गाडी चल्नु भनेको जिन्दगी चल्नुजस्तै लाग्थ्यो मलाई ।

मसँगै स्कुल जाने मेरा समुदायका दाइ–दिदीले स्कुल छाडिसकेका थिए । कारण थियो— सामाजिक, राजनीतिक र बौद्धिक चेतनाको कमी । कमजोर आर्थिक स्थिति भएका मेरा छरछिमेकीले आफ्ना छोराछोरीलाई पढाउने हेइन, काममा लगाउन थालिसकेका थिए । मलाई भने मेरी आमाले पढ्नुपर्छ भनेर हौसला दिन्थिन् । र, म पनि हौसिएर स्कुल जान थालेकी थिएँ ।

भक्तेश्वर प्राविमा तीन वर्ष पढेपछि म बोर्डिङ स्कुल भर्ना भएँ ।

५ कक्षामा पढ्दै गर्दा एक दिन पानी पिउन स्कुलको धारामा गएकी थिएँ । मेरो कक्षाको एउटा केटाले पालो मिचेर पानी पिउन खोज्दा मैले त्यसको प्रतिवाद गर्न पुगेछु । उसले मलाई निकै गाली गर्‍यो, घचेट्यो र भुइँमा लडाइदियो । मलाई खासै दुखेको थिएन, तर उसले जसरी गाली गर्‍यो, त्यसले चाहिँ साँच्चै दुखायो । ‘मैले पिउने पानी नछो, तँ सानो जातकी होस्’ भनेर जुन छुद्र बोली उसले बोल्यो, त्यसको बदलामा म केवल मौन रहेँ । त्यो दिन मेरो जिन्दगीको एउटा ठूलो पुस्तक बन्यो । मैले आफू बाँचेको समाज र समाजमा हुने गरेका विभेद पढ्न पाएकी थिएँ ।

धारामा छुट्टै पानी थाप् भनेको, पसलभित्र छिर्न नदिएको, साथीहरू सबै एकअर्काको घरमा जाँदा मलाई नबोलाउनुको कारण बिस्तारै–बिस्तारै बुझ्न थालेकी थिएँ । पहिला किन त्यसो भन्थे मलाई थाहा थिएन । म भित्रभित्रै खुम्चिएँ । मान्छे भएर मान्छेजस्तो नगनिनुमा निकै पीडाबोध भयो । पहिले मलाई जे–जे कुरा राम्रो लाग्थ्यो, अब ती सबै नराम्रो लाग्न थालिसकेको थियो । मलाई यति गाह्रो भयो कि मैले, त्यही वर्ष त्यो स्कुल छोडिदिएँ । र, सरकारी स्कुल सञ्जीवनी माविमा कक्षा ७ मा भर्ना भएर पढ्न थालेँ ।

दलित परिवारमा जन्मेका बच्चाको अवस्था चित्रण गर्न खासै गाह्रो थिएन त्यतिबेला । गरिबी, विपन्नता व्याप्त थियो । परिवार शिक्षित थिएन । पुर्खादेखि गरिआएको त हो नि भनेर जाँड–रक्सी पिएर मात्तिने, अनि कमै मात्र काम गर्ने मेरो वरिपरिका मान्छेका दिनचर्या थियो । गैरदलितले हाम्रो ठाउँमा जग्गा किन्ने चलन बढ्दै जाँदा थोरै पैसामा लोभिएर दलितहरूले जग्गा बेच्न थालेका थिए ।

किनकि उनीहरूले गरिबीको कारण जग्गा बेचेर पैसा कुम्ल्याउनु र त्यसबाट रक्सी पिउनुमा आफ्नो अहोभाग्य ठाने । त्यसमध्ये मेरा आफ्नै बुबा पनि पर्थे । घरको स्थिति पहिलाको जस्तो सुन्दर रहेन । बाल्यकालमा पाएको सुविधा घट्दै गए र दुःखहरू बढ्न थाले । एकातिर जातीयताले निम्त्याएको सामाजिक पीडा, अर्कोतिर गरिबी र अपहेलना, जिन्दगी धेरै नै असहज महसुस हुन्थ्यो मलाई । किन जन्मेछु भन्ने प्रश्न आउँथ्यो मनमा ।

मेरै आँखाअघि धेरै दलित परिवार बिस्तारै जमिनविहीन बन्दै गए । मेरै परिवारको पनि करिब ५ आना जग्गा गैरदलितले अतिक्रमण गरे । पचासौं वर्षदेखि हिँडिरहेको बाटोमा समेत बार लगाए । मेरो परिवारमा यसबारे के गर्ने कसैलाई जानकारी थिएन । कहाँ जाने, के भन्ने, आफ्नो गल्ती हो कि अरूको गल्ती हो, बोल्न मिल्ने हो या नमिल्ने हो, अन्योल र मौनता वर्षौंसम्म साँचिरहे । म बुझ्ने भएपछि यो समस्याबारे कुरा राख्दा गैरदलितले गालीगलौज मात्र गरेनन्, धम्कीको भाषा बोले । न्याय दूर आकाशको तारा भयो, जसलाई कल्पनामा मात्र छुन सकिन्छ ।

दलितहरूलाई जंगबहादुर राणाले १९१० को मुलुकी ऐन बनाएर च्यापे । त्यसको आडमा बसेर समाजले उनीहरूलाई तल्लो स्तरमा राख्दै थिच्दै गयो । यसरी थिच्यो कि उनीहरू उँभो लाग्नुको साटो झन्–झन् दबिँदै गए । उनीहरूको सम्मान मिचियो, उनीहरूसँग भएको जमिन मिचियो । मिचिएको जग्गा कि त कम पैसामा बेच्न पर्‍यो कि छोड्नुपर्‍यो । अशिक्षा थियो, आफ्नो अधिकार थाहा थिएन । संस्कारको नाममा पिउने रक्सीले स्थिति खस्कँदो थियो । परम्परागत काम छोडिसकेका उनीहरू धेरैजसो ज्यालादारी मजदुरी गर्थे । बालबच्चाको स्थिति कमजोर थियो । असमानता, हेला, विभेद मेरा आँखावरपर नाच्थे र मेरो मनलाई शिथिल बनाउँथे । कसैले बताउँदैनथिए, आखिर के भइरहेको छ ।

२०६३ साल, जतिखेर म स्कुले जीवन सकेर कलेज पढ्दै थिएँ, त्यतिबेला मैले रेडियोलाई कर्मथलो बनाएँ । काम गर्न थालेँ— रेडियो एबीसी बनेपामा । समानताको वकालत गर्ने कार्यक्रम ‘दलित आवाज’ पनि चलाएँ । त्यही समयमा म प्रभातफेरि नामक काभ्रेको साप्ताहिक पत्रिकामा पनि काम गर्थें, जसले दलित सवालमा प्रशस्त समाचार लेख्ने ठाउँ दियो ।

२०६५ सालतिर काभ्रेको बतासे भन्ने गाउँमा ८ वर्षीया सानी नानीलाई छुवाछूत गरियो । करिब ४० वर्षीया महिलाले धारोमा गाईबस्तुले पानी पिउने भाँडा छोएको निहुँमा घाइते हुने गरी बालिकालाई कुटिन् । पत्रकार भएको नाताले मलगायत अन्य दलित अधिकारकर्मी पनि घटनास्थल पुग्यौं । छुवाछूत गर्ने महिलासँग कुरा बुझ्दा ‘दलित भएर हाम्रा भाँडा छुनेलाई पिटिन्छ’ भन्दै उनी जंगिइन् । मानौं, दलित भनेको मान्छे होइनन् र उनीहरूलाई पिट्न, गाली गर्न सबै छुट छ π पत्रकारहरूले उनले भनेको यो वाक्य भिडियो रेकर्ड गरेका थिए ।

उक्त भिडियोलाई प्रमाणको रूपमा प्रयोग गर्दै, हामीले पीडकविरुद्ध धुलिखेल प्रहरी चौकीमा उजुरी दिन ती बालिकाको परिवारलाई झक्झकायौं । उजुरी परेपछि ती बालिका र तिनको बुबामाथि उजुरी फिर्ता गर भनेर धम्क्याइयो । त्यही कारण गाउँमा बस्न नसकेर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको कोठामा बसे बालिका र उनका बुबा–बुबा । अन्ततः धेरै दोधारका बाबजुद पनि ती बालिकाको बाबुले छोरीलाई न्याय दिलाउने साहस निकाल्ने प्रण गरे । उनीहरूले उजुरी फिर्ता लिँदै लिएनन् ।

उजुरी दिएको भोलिपल्ट करिब बिहान ९ बजेतिर पीडक महिलालाई प्रहरीले चौकीमा उपस्थित गराए । ८ वर्षीया बालिकाको शरीरमा चोट लागेको थियो । उनलाई ज्वरो आएको थियो । पीडक महिलालाई सजाय दिनु हुँदैन भन्दै लगभग २०० को हाराहारीमा आए गाउँलेहरू । सजाय दिएको भए ती महिला कम्तीमा तीन वर्ष जेल बस्नुपर्थ्यो । बालिकाको पक्षमा कोही गाउँले पनि कोही बोलेनन् । उनीहरूले हामी चार–पाँच जना दलित अधिकारकर्मीलाई प्रहरी चौकीमा घेरेर थर्काए ।

पीडितलाई न्याय दिनुपर्छ भनेर पैरवी गरिरहेका हामीलाई चौकीको इन्स्पेक्टरले प्रहरी चौकीमै बसेर ‘तिमीहरू डलर पचाउन आएका’ भन्दै गाली गरे । यस्तो दबाबबीच पीडक र पीडितबीच मेलमिलाप गरेर त्यो केस टुंग्याइयो । हेर्दाहेर्दै न्यायको घाँटी रेटियो । प्रतिवादका लागि उठेका आवाजको

हत्या गरियो ।

यस्ता कैयौं घटना दोहोरिए । छिटपुट आवाज उठाउने कोसिस पनि भए । तर, अधिकांश दलित न कहिल्यै आफ्नो अधिकारका लागि बोले, न अत्याचार र विरोधमा बोले । विकासले छोएको भनिएका सहरका दलित पनि चुप रहिरहे । दलित समुदायले आफ्नो आत्मसम्मान प्राप्तिका लागि प्रयास गर्ने, आफ्नो अधिकार पाउनका लागि कोसिस गर्ने र आफ्नो क्षमतालाई प्रदर्शन गर्ने वातावरण कहिल्यै पाएनन् । आज पनि गाउँका मात्र होइन, सहरका दलितको अवस्था पनि सुधारोन्मुख छैन । उनीहरू जन्मिने र जिन्दगीलाई खान लाउनकै आवश्यकतावरिपरिको वृत्तमा घुमाएर सकाउने नियतिसँग जुधिरहेका छन् । दलितले अब बोल्नैपर्छ— यति कडा आवाजमा कि सबै सुन्न बाध्य होऊन्, हाम्रा आवाज ।

प्रकाशित : फाल्गुन १७, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?