कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाका बाह्र व्यापार

त्यो बिहानै बाका पैताला तराईतिर नकुदेका भए, दिउँसो स्कुल पसेको माओवादीको हूलले के गर्थ्यो कारबाहीको नाममा ? को भन्न सक्छ ? कसैले उहाँको गलामा धारिलो खुकुरी राख्न सक्थ्यो । अथवा, कन्चटमा बन्दुक तेर्स्याउन सक्थ्यो । अनि त्यसपछि ? हतियार समाउनेको मुड ! माथिको आदेश !
विवेक ओझा

काठमाडौँ — स्कुलको एक्जाम नदिई घर फर्किएँ । ड्रेस नखोल्दै बालाई गुनासो पोखेँ, ‘योपटक साँच्चै एक्जाम हलमा बस्न दिएनन् । फी नतिर्ने सप्पैलाई फर्काइदिए ।’आमाको निराश अनुहार ढोकाको किनारबाट झुल्कियो । उहाँको गला खुलेन ।

बाका बाह्र व्यापार

बातर्फ हेरिरहनुभयो केवल । आमालाई बाको आवाजको पर्खाइ थियो । बाको दाहिने ओठ व्यंग्यगत तवरले मुस्कुरायो । सायद स्कुलमाथिको व्यंग्य थियो । हुन सक्छ त्यो आफैँमाथिको व्यंग्य थियो, ‘ठीकै छ । योपटक अरू कसैलाई फस्ट आउन दे !’


ठट्टाजस्तो । अनपेक्षित । गैरजिम्मेवार शब्दहरू । फेरि पनि मलाई त्यो कुरासँग आपत्ति लागेन । छ–सात कक्षामा पढ्ने फुच्चेसँग गतिलो तर्क पनि त हुँदैन । बाले नै त्यसो भनेपछि मेरो चिन्ता घाम चर्केपछिको तुँवालोजस्तै हरायो, तितरबितर । उहाँको उद्देश्य थियो— मलाई नकारात्मक असर नपरोस् । तर, त्यही कुराले बालाई गहिरो असर पुर्‍याएछ । उहाँलाई चिन्तित मात्र होइन, हैरान एवं परेसान बनाएछ । त्यही घटना थियो बालाई बम्बै (इन्डिया) सम्म घोक्य्राउने । र, बा ‘गोर्खाली/बहादुर’ बनेर हिँड्नुभो बम्बै ।


त्योअघि बाले पैसा कमाउन थुप्रै प्रयास गरिसक्नुभएको थियो । मुग्लान बाको पैसा कमाउने अन्तिम प्रयास थियो । बाका लागि मुग्लान पस्नु अपेक्षित थिएन । न त त्यो जीवनको स्वाभाविक मोड थियो । चौकीदारी, स्याउ बोक्ने भरिया वा परिआएको काम गर्न तयार भई बाका पाइलाले दूरी त तय गरे । तर, हेर्नै बाँकी थियो— बाको जीवनको विषम परिस्थितिको नतिजा ।


बा सरकारी शिक्षक हुँदा स्याउ बोक्न मुग्लान जानुपर्ला भन्ने कल्पना थियो होला उहाँसँग ? के उहाँले कुनै सेंठको महलअगाडि चौकीदारी गरेर बस्नुपर्ला भन्ने सोच्नुभएको थियो होला ? कालोपाटीमा सरकारी चक घोटिरहँदा बाले मुग्लानमा घोटिनुपर्ने कुरा खराब सपनामा समेत देख्नुभएको थिएन, पक्कै । तर, समयको खासियत यस्तै छ । यसका बक्ररेखा कसरी कोरिन्छन्, कोही जान्दैन । समान रूपले बगिरहेको जीवन कसरी भिक्टोरिया फल्सजस्तै झर्न सक्छ एक्कासि ? दुःखको गहिरो खोँचमा !... को जान्दछ सबथोक ?


केही यस्ता गल्ती हुन्छन्, जसले सहीभन्दा उच्च कोटीको परिणाम ल्याउँछन् । त्यस्तै भूल थियो— बाले सरकारी जागिर छोड्नु । त्यो भूल ज्यान रोज्नुजस्तै थियो । जागिर बगाइदिनु आफू किनार लाग्नुजस्तै थियो । आखिर भूल भूल नै त हो ! त्यो भूलले परिवारको सम्पूर्ण स्रोत निमोठ्यो, हाम्रा बाल्यकालीन रहर र मीठो गाँस पनि खोस्यो । पेन्सन पाक्नै आँटेको जागिर छोड्नु पक्कै बाको रहर थिएन ।


बाले जागिर छाड्नु दुई दिनअघिसम्म सबथोक कुशल थियो । त्यस दिनबाट बिग्रियो जुन दिन छापामारहरू कक्षाकोठामा पसे । कालोपाटीमा आधा कोरिएका अक्षरहरू बालाई पूरा गर्न दिइएन । र, उनीहरूले घोक्र्याउँदै लगे बालाई, धानखेतमा । र, दिनभर त्यहाँ धान काट्न लगाए । नानाभाँती धम्की, ‘यो त सुरुआत हो । एक–दुई दिनमा देख्लास् !’


गाली, ‘माँ... !’ आरोप लगाए, ‘चन्दा बुझाउँदा पनि गनगन गर्छस् रे !’ त्यो साँझ गाउँको चियापसलमा पसेपछि थाहा भयो, छापामारले स्कुलको अफिसमा पसेर प्रध्यानध्यापकलाई समेत सूचित गरेछन्, ‘आफू बिदामा गईकन अरूलाई खेताला राख्न्या मास्टर क्या चाइयो ? जतिबेला पन नराम्रो खबर आउन सक्छ । कानमा धार लाइराख ।’


हामीलाई भेट्न बा तराई आउनुहुन्थ्यो कहिलेकाहीँ । कसैलाई दुई–चार दिनलाई खेताला (शिक्षक) राखेर । त्यो नै बाको ठूलो गल्ती साबित भयो । आफूलाई कारबाही हुने गाइँगुइँ हल्ला त सुनिन्थ्यो पहिल्यै । त्यही हल्ला साँचो हुने लक्षण देखिँदै थियो । छापामारले अफिसमा पसेर दिएको धम्कीले बाको डर झनै अग्लियो । त्यसको पछिल्लो दिन झनै कुरूप खबर कानमा पोखिदियो शुभचिन्तकले, ‘भोलि दिउँसो खास कारबाई हुन्या कुरो चुह्याको छ । उपाया सोचिराख काका ।’ ...त्यसपछि निकै थर्थरायो बाको हृदय अस्तव्यस्त, जसरी दमाहाको छाला थर्थरिन्छ ड्वाङ्ग हिर्काएपछि ।


यो लेख लेखिरहँदा एक साँझ मैले बालाई सोधेँ, ‘त्यस्तो डरलाग्दो खबर सुन्दा मगजमा के घुमेको थियो ?’ बाले एकै छिन दायाँबायाँ मुन्टो मोड्नुभो । विगतका कुराले आँखा भावुक देखिनुभो, ‘छोराहरूको अनुहार सम्झिएँ ।’ त्यतिले उहाँको चित्त बुझेन, ‘त्योबेला चारैतिर शिक्षकका डरलाग्दा दुर्घटनाहरू सुनिन्थे । आफ्नै दुर्घटना कल्पिएँ ।’


हो त । कस्ता घटना भएका थिएनन् त्यो समय ? रूखमा बाँधेर चुट्दासमेत चित्त नबुझ्दा हात–खुट्टा भाँचिएनन् र ? त्यतिले पनि चित्त नबुझ्दा लाससमान शरीरलाई खुकुरीले चिरिएन र ? घाउमा नुनखुर्सानी दलिएन र ? अनि त्यतिले पनि चित्त नबुझ्दा गोली ठोकिएन र छातीमा ?... स्वयम् ईश्वरलाई समेत थाहा हुन्थेन, कसलाई के हुन सक्थ्यो त्यो समय ?


त्यही अन्योल परिस्थितिले जन्मिएको डरका कारण बाले राजीनामा बुझाउनुभयो । बिहानको प्रथम प्रहरमै । र, हतारिँदै तराई झर्नुभयो । आफन्तहरूले राय राखे, ‘कृष्णले त्यसो नगरे हुन्थ्यो । तीन–चार वर्षमा पेन्सन पाकिजान्थ्यो । जेठो छोरो कम्तीमा एसएलसी त गर्थ्यो ।’


तर, त्यो बिहानै बाका पैताला तराईतिर नकुदेको भए, दिउँसो स्कुल पसेको माओवादीको हूलले के गर्थ्यो कारबाहीको नाममा ? को भन्न सक्छ ? कसैले उहाँको गलामा धारिलो खुकुरी राख्न सक्थ्यो । अथवा, कन्चटमा बन्दुक तेर्स्याउन सक्थ्यो । अनि त्यसपछि ? हतियार समाउनेको मुड ! माथिको आदेश ! वा छापामारहरूकै योजना ! कदाचित् केही भएको खण्डमा तिनै राय राख्नेहरू भन्थे, ‘त्यत्रो सुइँको पाको थियो । जागिरको माया नमान्नुपर्ने ।’


जिन्दगीमा परिणामपश्चात् राय राख्नुजस्तो सजिलो काम सायद अर्को छैन । र, जीवनको एक पाइला, एक मोड र एक कार्यले नै पूरै जीवनको नक्सा फेर्न सक्छ यसमा पनि शंका छैन । जीवनमा एउटै पाइलाले समेत अभूतपूर्व परिणामसँग अर्थ राख्छ । बाको त्यो एक पाइलाले बालाई मात्र तराई झारेन । पूरै परिवारलाई ‘युटर्न’ गरायो । परिवारको स्थिति, बाजस्तै झर्‍यो ओरालै–ओरालो । ठीक त्यसरी, जसरी खड्कावाडाको पहाडनेर नीलो कर्णाली कम्मर ढल्काउँदै मोडिन्छ, तराईतिर । खैर, जे भयो अछ्छा भयो । परिवारका अन्य सदस्यजस्तो दुःखी भइनँ म । मलाई त झन् खुसी लाग्यो, ‘बाले पहाड जानु पर्दैन अब ।’


त्यसपछि सुरु भए बाका अनेकन प्रयास, जसमा बाले सुन्ना अंक मात्र डिजर्भ गर्नुहुन्छ । यो त्यही असफताको कथा हो । व्यापारको सुरुआत नै खराब रह्यो । पहिल्यैदेखि अंकललाई जिम्मा लगाइएको पसल बेच्नुपर्‍यो । बाले सोच्नुभएको रहेछ, त्यो पसल थप राम्ररी चलाउनुपर्ला । तर, त्यो ‘जुत्ता–चप्पल’ पसल खाली खुट्टा कुदिरहेको रहेछ, ओरालो । बाजस्तै... । पसलको मूल्यांकन नाटकीय किसिमको न्यून थियो !


लगानीभन्दा दस गुणा कम । पसल त भित्रभित्रै फर्सीझैँ कुहिएको रहेछ । ऋण पुरानै बाँकी थियो, थप लगानी गर्ने साहस थिएन बासँग ।पसल बेचिसकेपछि बाले आश्वासन दिनुभयो, ‘केही नयाँ गरिहाल्छु, पख् ।’ त्यो कुराले आमा ढुक्क हुनुभयो । हामी त झन् सानै थियौं क्यार ।


बा ‘फरक’ गर्नुपर्छ भन्ने धुनमा हुनुहुन्थ्यो । नयाँ कुरा सोच्न बालाई केही महिना लाग्यो । जे सोच्नुभयो विछट्टै सोच्नुभयो, ‘यहाँ पनि कफी र नरिवल खेती गर्नुपर्‍यो । मरीच पनि फल्छ होला । त्यो सफल भएपछि चिया पनि पक्कै फल्छ । झापा पनि तराई नै त हो ।’ मलाई मात्र होइन, धेरैलाई त्यो अचम्मलाग्दो लाग्यो । मैले पनि एकपटक घरको जग्गावरिपरि चिया बगानको कल्पना गरेँ ।


टीभी र तस्बिरबाहेकमा ती कुनै पनि चीज देखेको थिइनँ । कतिपय मानिस त्यो कुरा सुनेरै हाँसे । तर, बा दृढ भएर झापा जानुभो । त्यहींबाट दुई बोरा कफी, आठ–दस बोरा नरिवलको बीउ र साथमा मरीचका लहरा ल्याउनुभो । त्यो रोप्न भाइ र मैलेसमेत मद्दत गर्‍यौं बालाई । बा भन्नुहुन्थ्यो, ‘यो स्याम्पल खेती हो । सफल भएमा जग्गा लिजमा लिएर गर्नुपर्छ ।’


हामीलाई लागेको थियो, स्याम्पल खेती पक्कै सफल हुनेछ । मेरै हातले रोपेको नरिवल कसो नउम्रिएला ? र, त्यो फल्नेछ पनि । त्यसपछि बिघौं जग्गामा व्यापार फैलिनेछ, बोटका पातहरू फैलिएजस्तै । तर... नतिजा सोचेजस्तो मीठो निस्किएन । कल्पना र भावनाभन्दा यथार्थ पक्कै पनि फरक हुन्छ । त्यहाँ फरक मात्रै भएन, पूरै उल्टो भयो । खरानी भयो लगानी, मिहिनेत र आशा । मरीचका लहराहरू गले । लगभग तीन–चार सय नरिवलका दानाहरूबाट बिरलै केही नरिवल टुँसाए । समग्रमा हामीलाई ती आठ–दस थान टुँसाएका नरिवलका बोट बेच्नसमेत हम्मेहम्मे पर्‍यो ।


छिमेकीलाई किनिदिन आग्रह गर्नुपर्‍यो । कफी ? कफी टुँसाउँछ कि टुँसाउँदैन, विचार नै गर्नुभएन बाले । बाको मानसिकता मरीच गलेजस्तै गल्यो वा नरिवल नटुँसाएझैँ टुँसाएन । त्यो दुई बोरा कफीले धेरै महिनासम्म घरको कुनो रोजिरहे । अन्ततः हामीले त्यो सब नहरमा बगाइदियौँ । बाको अद्भुत आइडिया नहरमै बग्यो कफीसँगै । फेरि पनि बाको कुरा उस्तै थियो, ‘ह्या, केही गरिहाल्छु नि, पख् न पख् ।’


हामी फेरी उसैगरी आशाले भरियौं, आमाझैं ढुक्क भयौं । नयाँ नै गर्ने सोचका दुई कारण थिए बासँग । पहिलो व्यापारलाई प्रतिस्पर्धारहित बनाउनु ! अनि दोस्रो, छोटो समयमै बढी कमाउने अपेक्षा राख्नु ! तिनमा एउटै कुरा पनि व्यापारमा सम्भवप्रायः हुँदैन । भए पनि त्यसको दीर्घकाल रहँदैन । खैर, बाले पुनः बिल्कुल नौलो योजना सोच्नुभयो, चार–पाँच महिनाको ग्यापमा । त्यो पनि अनौठो खालको थियो, ‘सोझै चाइनाबाट सामान ल्याएर टीकापुरमा बेच्ने ।’ त्योबेला टीकापुरमा खासाबाट सोझै सामान ल्याउनु निकै दूरको कुरा थियो ।


त्यो काम पाटनरसिपमा हुने भयो । त्यही कामका लागि बा चाइना लाग्नुभो । तराईका हामीलाई भारत जानु सामान्य थियो तर चाइना... ? मलाई निकै नै अद्भुत महसुस भयो त्यो समय । म धेरैपटक मख्ख परें, ‘ओहो, बा चाइना पुगेर माल ल्याउनुहुन्छ अब ।’ त्यो पुराना व्यापारहरूभन्दा खास लाग्यो ।


नभन्दै खासाबाट लत्ता–कपडा ल्याइए । कैयौँ कपडामा चाइनिज अक्षरहरू कुदिएका हुन्थे । एक थान चाइनिज लिपिमा लेखिएको टिसर्ट मैले हडपेँ । र, केही वर्षसम्मै लगाएँ । सेतो टि–सर्टमा कुँदिएका राता अक्षर हेरेर म धेरैपटक मख्ख पर्थें । यद्यपि त्यो लेखाइ बुझ्न सम्भव थिएन । साँच्चै के लेखेको थियो होला, बेबकुफ... खतरा... वा बुद्धिमान ?


जहाँसम्म व्यापारको सवाल छ, त्यो सजिलै भयो । तर, पूरै माल बिक्री हुन केही समय लाग्यो । त्योबीचमा भएको कमाइ ऋण तिर्न र घरखर्चमै सकियो । संयोगवश पार्टनर पहाडतिर लागे । अनि, बा एक्लै खासा उक्लनुभएन कहिल्यै ।


केही गर्ने उमेर बाँकी नै थियो । परिवारका लागि केही गर्नु जरुरी पनि थियो । केही नयाँ गर्ने सोचसमेत बदलिएको थिएन, ‘केही नयाँ गरिहाल्छु नि !’ फेरि नयाँ उपाय सोच्न बालाई त्यस्तै चार–पाँच महिना लाग्यो । त्यो योजना पनि भिन्नै खालको थियो । प्रत्येक पटकझैं बाको सपना र हिसाब गज्जबको हुन्थ्यो, ‘यहाँका मानिसलाई डुनोट के हो था’छैन । टीकापुरमै डुनोट बनाउँछु । पूरै बजारमा सप्लाई गर्छु । पाउरोटीको बजार डुनोटले सुकाइदिन्छ ।’


साँच्चै त्यसबेलासम्म मैले डुनोट तस्बिरमा समेत देखेको थिइनँ । डुनोट कस्तो हुन्छ, थाहा नभएको परिवारमा पुनः एक किसिमको आशा जाग्यो । जब कुनै विकल्प हुँदैनन्, सम्भावनाको अंशले समेत ठूलै आशा दिन्छ । र, हिम्मत जुटाउँछ । त्यसैले सबैले आशा गर्‍यौं, ‘पहिलेका व्यापारभन्दा त्यो व्यापार पक्कै चल्नेछ ।’


ऋण थपियो । बा काठमाडौं पुग्नुभयो । त्यहाँबाट बेकरी आइटम बनाउने थरीथरी किसिम र साइजका साँचाहरू ल्याउनुभो । साथमा ल्याइए डुनोट फुलाउने केमिकल ‘इस्ट’ का चक्कीहरू । अनि थियो एउटा किताब जुन डुनोट, सेल, लालमोहन, रसबरी, केक आदिबारे थियो । त्यो किताब रेसिपी बनाउने किताब कम, कथाको किताब ज्यादा लाग्थ्यो । बडो रोचक ढंगका कथा थिए त्यसमा । जस्तो— सेल र डुनोटको संवाद, रसबरी र लालमोहनको झगडा । जाम र जेरीको खिचातानी आदि । र, कथा सकिँदासम्म बनाउने तरिका, फाइदा–बेफाइदा । स्वाद र स्वरूपको बयान भइसक्थ्यो । त्यो किताब पढ्न मलाई निकै रमाइलो लाग्यो । बाले पढ्न सुरु गर्नुपहिल्यै मैले पढी भ्याएँ ।


त्यो किताब बाले बिस्तारै पढ्नुभो । किताब पढिनसक्दै ‘इस्ट’ छेउकुना हुँदै कुहिन सुरु भो । काम थालौं भन्दाभन्दै ‘इस्ट’ कुहिएर ‘गु’ जस्तो गन्हाउन थाल्यो । पूरै घरभरि गन्ध फैलिएपछि ‘इस्ट’ नजिकैको नहरमा बगाइदियौँ, जहाँ हामीले पहिल्यै कफी बगाएका थियौं । टीकापुरमा इस्ट पाउन सम्भव थिएन । न त बा इस्ट ल्याउन काठमाडौं पुग्न नै सम्भव थियो । बरु, बेकरीका भाँडाहरू थन्किए । सुरु नहुँदै काम तुहियो ।


यो सिलसिला निकै लामो छ । कैयौं थालिएका काम तीन–चार महिनाभन्दा बढी चल्नै सकेनन् । ढुङ्ग्री फुराउने कारखाना, चार महिना । दूध–डेरी पसल चार महिना । जग्गा बेच्ने एजेन्टको प्रयास, आधा दिन । यस्ता अनेकन प्रयास चले । कागजमा योजना र मुनाफाको अंक जोडिए थुप्रैपटक । र, सुचारु नहुँदै सेलाए यत्तिकै । बाले भन्न छोड्नुभएन, ‘ह्या केही नयाँ गरिहाल्छु । पख न पख ।’ अरू आशा र भरोसा पनि त थिएन । सायद त्यसैले, हामी ढुक्क हुन छोडेनौं ।


बाको अस्थिरता सम्झेर म धेरै वर्षसम्म हाँसें, बासँग जिस्किएँ कैयौंपटक । ठानेको थिएँ, बासँग स्थिर रहने क्षमता छैन । मलाई यो बुझ्न समय लाग्यो, घाइते मन बोकेको मान्छे, घाइते प्राणी छटपटाएझैं छटपटाउँछ । ऊ उचित सोच्न सक्दैन । उचित गर्न सक्दैन । बाको मन घाइते भएरै उहाँमा धैर्य जमिरहेको थिएन । तालमेल हराएको थियो । उहाँ भूतसँगको पछुतोमा, वर्तमानको अन्योल र भविष्यको अन्धकारबीच पिल्सिनुभएको थियो । तीनवटै समय उहाँको पक्षमा थिएनन् । त्यस्तो परिस्थितिमा मान्छे आत्तिनु अस्वाभाविक होइन । आत्तिनु स्वाभाविक किन पनि थियो भने समयले अँध्यारोमा अँध्यारो थपिरहेको थियो दिन प्रतिदिन ।


बा त्यसरी व्यापक आत्तिएपछिको परिणाम थियो, उहाँको बम्बै पस्ने निर्णय । त्यो प्रयाससमेत सफल नभए उहाँले कुनै पनि काम गर्नुहुनेछैन, सबैले जानिसकेका थिए भित्रभित्रै । समयले पिट्दैपिट्दै मानिसलाई चाहेको आकारमा ल्याइदिन्छ । निहुराइदिन्छ, जमिन छोइने गरी, तन्काइदिन्छ आकाश होचिने गरी, धार लगाइदिन्छ वा भुत्तो बनाइदिन्छ । मान्छे पुराना महफिल वा वियोग बिर्सिदिन्छ, बिर्सिनुपर्ने खालको बनाइदिन्छ ।


त्यसैले बाले जसरी आमाले पनि बिर्सिनुपर्‍यो, पुरानो सुन्दर जिन्दगी । दुई दशकसम्मको व्यथित सम्मानजनक पेसा । अन्ततः आमाको अनुहारमा बा बम्बै जाँदै गर्दा आशाका धर्साहरू कोरिए । हाम्रा माग थपिएपछि केही दिनसम्म त आमाले सजिलैसँग भन्नुभयो, ‘तेरो बुबाले पैसा पठाएपछि किनौंला ।’


पीसीओ बुथबाट थाहा हुन्थ्यो— बाको खबर । उहाँले काम थालेको पनि पीसीओबाटै थाहा भयो । बा कुनै सानदार घरको गेटमा चौकीदार हुनुभएको खबर सुन्दा रत्तिभर दुःख लागेन । बरु हामी कहिले बाको एक महिना पुग्ला भनेर पर्खिन थाल्यौं । आवश्यक चीजलाई पेन्डिङमा राख्दै गयौँ । तर, बाको पगार (तलब) आएन । पगार आउने समयअगावै स्वयं बा आइपुग्नुभो । त्यो हामी सबैका लागि अनपेक्षित झट्का थियो ।


बाको स्वरूप फेरिएको थियो । आँखा त्रसित देखिन्थे । त्यति डरपोक आँखाहरू त्यसअघि मैले कहिल्यै देखेको थिइनँ/छैन । उहाँले आमालाई समेत हेर्नुभएन ध्यानसँग । फेरि पनि बाको ओठे मुस्कान अनुहारको निराशता टाल्न खोज्थ्यो । कालो बादलमा लुकामारी गरिरहेको जूनजस्तै बाको अनुहार उज्यालिन्थ्यो–अँध्यारिन्थ्यो । थोरथोरै पलपल ।


हजुरआमाले निकै नै चिन्तित मुद्रामा प्रेमपूर्वक सोध्नुभो, ‘क्या भयो लाटा ?’ अहँ, बा बोल्नुभएन खासै, ‘ठीकै छ । केई भ्या छैन ।’ मलाई बाको आवाज पनि फेरिएको भान भयो । अहिले सम्झँदा अनुमान गर्छु, पीडाले थिचिएको स्वर कहाँ प्रफुल्ल हुन्थ्यो ! त्यो दिन उहाँले सुरुमै नुहाउनुभो अनि खाना खानुभो । मैले निकै सूक्ष्म ढंगले बालाई नियालिरहेँ– अनौठो मानेर ।


कताकता बाको भेषमा कोही अरू नै पो आएको हो कि ठान्यो मनले । सूक्ष्म ढंगले नियाल्दा आफैँमाथि पनि त शंका लाग्न सक्छ, अहिले आएर पो थाहा भयो । बाले मलाई आफूनजिक बोलाउँदासमेत म कछुवासरी सरेँ । उहाँले काखीमा राखेर दुवै पाखुराले च्याप्दासमेत अजिब शंका उब्जिइरहे मनमा । मलाई त्यो सोच कहाँबाट आयो ? किन एक छोराले बाको काख पनि सुरक्षित मानेन ? खैर, यो कुरा कुनै दिन व्याख्या गरौंला ।


बा पुरानै लयमा फर्किन केही दिन लाग्यो । केही दिनमै बाले भारतबाट फर्किनुको कारण खोल्नुभो, ‘छोरा बराबरका केटाहरू ‘तूँ’ भनेर आदेश दिन्छन् त्यहाँ । त्यस्ता हजारौं बच्चा पढाएको सम्झिएरै सहन गाह्रो भो ।’ उहाँको अर्को पनि विचार थियो, ‘सरकारी जागिर त छाडेँ । त्यो जाबो चौकीदारी के हो र ? केही न केही गरिहाल्छु, पख ।’


त्यो समय मलाई बाको कुरा वाइयात लाग्यो । उहाँसँगै बस्न पाइने कुराले पनि खुसी लागेन । बरु आफ्ना आवश्यकता पूरा नहुने भएर दुःख लाग्यो । केही गरिहाल्छु भनेको सुन्दा एक किसिमको आशासमेत जुर्मुरायो । तर, शंकासहितको आशा थियो त्यो ।

000

बा भारतबाट फर्किनु आजभोलि स्वाभाविक लाग्छ । बाईस वर्षसम्म प्रेम र सम्मानबीच हुर्किएको मानिसमा स्वाभिमान ठडिनु अनौठो विषय होइन । म बालाई यसो हेर्छु, पन्ध्र–बीस दिन कुनै घरमा चौकीदार भएर टिक्न सक्नुको कारण खोज्छु । पक्कै छोराहरूको भविष्यको चुनौती र परिवारको दुःखले दबाएको थियो उहाँलाई । तर, विद्यार्थीसमान बच्चाहरूको ‘ता’ सम्वोधनले उहाँले दबाईराखेको अहम्लाई पुनः ब्युँतायो । उसो त म सबै कामको सम्मान गर्छु— यद्यपि कार्यक्षेत्र, सक्षमता र अनुभवले मानिसमा केही विशेष मनोवृत्ति पैदा भएका हुन्छन् ।


भारतबाट फर्किसकेको केही महिनापछि उहाँले नयाँ योजना सुनाउँनुभो, ‘जग्गा लिजमा लिएर आलु खेती गर्छु ।’ हामी सबै हाँस्यौं । पहिलेझैं ढुक्क भएनौं हामी । न त बाको भरोसा गर्‍यौं । किनकि दाइले एसएलसी पास गरिसकेको थियो । र, कमाउन थालिसकेको थियो । केही नहुँदा पो रातको सपनासँग पनि आस लाग्छ । जूनकीरीसँग पनि आगोको अपेक्षा गरिन्छ ।

प्रकाशित : फाल्गुन १७, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?