कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकालीपारिको ‘टापु’ नेपाल

राष्ट्रियताको ‘स्पेस’ मा धेरै अटाएको छैन, यो दोधारा–चाँदनी । जति अटाएको छ, त्यसमध्ये अटाउनुपर्ने खास कुरा नै छुटाइएको छ । त्यो यथार्थ यहाँ आएपछि मात्रै देख्न–बुझ्न सकिन्छ । देशबाट चुँडिएका यहाँका ‘जनता’ कत्रो सकसमा बाँचिरहेका छन् !
आरके अदीप्त गिरि

हामीले इतिहासदेखि पढ्दै–सुन्दै आएका हौँ, नेपालको राजनीतिक सिमाना मेचीदेखि महाकाली हो । तर, महाकाली तरेर दोधारा–चाँदनी पुगेपछि नेपालको भूगोलबारे हाम्रो बुझाइ गलत साबित हुन्छ । नेपाली इतिहासमा कोरिएका र पढ्दै–बुझ्दै आएका भूगोलका मानक रचनाहरू फिक्का र अमूर्त लाग्छन् । मनले आफैँसँग संवाद गर्छ— महाकालीपारि पनि ‘अर्को नेपाल’ रहेछ । 

महाकालीपारिको ‘टापु’ नेपाल

उहिल्यैदेखि दोधारा–चाँदनीबारे सुन्दै, पढ्दै आएको भएपनि यसको यथार्थ कथाबाट म अज्ञात रहेछु । यो भूगोल आफ्नै देशसँग पराई छ भन्ने तथ्य मलाई यहाँ आएर मात्रै थाहा भयो । शासकहरूले किन यस भूमिलाई सधैँ अर्घेलो सम्झे होलान् ? किन यो भूगोल सधैँ ‘एकान्तवास’ बस्न अभिशप्त छ ? किन झन्डै नक्साबाट अलगजस्तो लाग्छ ? इतिहासले कत्रो विडम्बनाको खेल खेलेको रहेछ, यहाँका गाउँघर डुल्दा बोध भयो ।


राष्ट्रियताको ‘स्पेस’ मा धेरै अटाएको छैन, यो भूगोल । जति अटाएको छ, त्यसमध्ये अटाउनुपर्ने खास कुरा नै छुटाइएको छ । त्यो यथार्थ यहाँ आएपछि मात्रै देख्न–बुझ्न सकिन्छ । देशबाट चुँडिएका यहाँका ‘जनता’ कत्रो सकसमा बाँचिरहेका छन् ! यही भूमि टेकेपछि मात्र उनीहरूको चीत्कार, पीडा र आक्रोश बुझ्न सकिन्छ । नेपाली भएर पनि उनीहरू भारतसँग कसरी आश्रित हुन बाध्य छन्, सिंहदरबारको धुरीबाट कहिल्यै देखिएन ।


कथा दोधारा र चाँदनीको

विसं २०२१ सम्म यो भूमि नेपालीको खासै चासोको विषय थिएन । उतिबेला बाजुराबाट बसाइँ सरी यहाँ झरेका गणेशबहादुर सिंह बताउँछन्, ‘त्यसबेला म यहाँ आउँदा बीस–बाइस वर्षको थिएँ । अहिले ७६ पुगेँ । पहिला त यहाँ धेरै पातलो बस्ती थियो । यहाँ पनि मान्छे बस्छन् भन्ने कसैलाई थाहा थिएन ।’



काँसघारी र जङ्गल फाँडेर बस्ती बसालेको हिजो–अस्तिझैँ लाग्छ, गणेशबहादुरलाई । पहाडबाट भारत जान भनेर हिँडेका उनलाई कसैले भनेछ— राजा महेन्द्रले यहाँ जमिन खुला गरेका छन् । त्यसपछि उनको यात्रा यता मोडिएछ । उसबेला राजा महेन्द्रले पहाडबाट झरेकाहरूलाई मधेसमा बस्ती बसाउने नीति नै लिएका रहेछन् । त्यसयता उनी यहीँका बासिन्दा बनेका छन् ।


काकाको साथ लागेर गणेशबहादुर पहिलोपल्ट यस ‘टापु’ भूमिमा प्रवेश गरेको सम्झन्छन् । उतिबेला पूरै ‘जङ्गल–मुलुक’ थियो यो । वनबासाको बोर्डर हुँदै भारतीय भूमिबाट छिरेका थिए उनी । आफ्नो कथा सुनाइरहँदा उनको अनुहारमा खुसी झल्किन्थ्यो ।

जम्माजम्मी ३४ किलोमिटरमा फैलिएको छ, यहाँको भूगोल । १४ सय मिटर फराकिलो भई बग्ने महाकाली नदीले टाढा पारेको भएर नै यो ‘भूमि’ महाकालीपारिको नेपालका रूपमा रहन गयो । जसरी राजा महेन्द्रले बस्ती बसाए उसैगरी यो १४ सय मिटरको दूरी उहिल्यै छोट्याइदिएको भए आफूहरूले अहिले यस्तो अर्घेलो व्यवहार महसुस गर्नु नपर्ने यहाँका स्थानीय सम्झन्छन् ।


मेटिएको पहिचान

साबिकमा दोधारा र चाँदनी दुइटा गाविस थिए । अहिले यी दुवै एकाकार भई ‘महाकाली नगरपालिका’ बनेको छ । २०७१ सालमै नगरपालिका घोषणा गरिएको थियो, त्यतिबेला नाम दोधारा–चाँदनी नगरपालिका राखिएको थियो । तर, पछि २०७३ मा यसको पहिचान मेटाउनेगरी नाम फेरिएको हो । अचेल आफ्नो पुरानो परिचय ओझेलमा परेको महसुस गरिरहेका छन्, यहाँका बासिन्दाहरूले । स्थानीय गगन सिंह भन्छन्, ‘यस ठाउँको नाम चाँदनी–दोधारा भन्नेबित्तिकै पहिले हाम्रै भूगोल चिनिन्थ्यो । तर, अहिले महाकाली नगरपालिकाभन्दा त कताकता परिचय विलीन भएजस्तो लाग्छ ।’


बेलाबेला महाकालीको उपद्रोले यी टापु बस्तीसम्मै पुगेर सताउँथ्यो । त्यसबाट बँच्न ‘जाइका’ ले यहाँ बाँध बाँधिदिएको रहेछ । नदीका दुवै किनारामा बनेका तटबन्धनलाई यहाँका मानिस जाइका भन्दा रहेछन् । त्यही जाइकाले गर्दा बर्खायाममा उनीहरू ढुक्कले निदाउँदा रहेछन् । त्यसैले उनीहरू जाइकालाई ईश्वरझैँ मान्छन् अचेल ।


पहिचान फर्काउने प्रयास

नाम फेरिएसँगै पहिचानको बहस पनि जारी छ यहाँ । दुई नदी महाकाली र जोगबुडाको धारमा छ— दोधारा । र, महाकालीको भङ्गालोले अर्धआकारको चन्द्रमाझैँ काटेको छ— चाँदनी । यो नै यस भूगोलको परिचय हो । स्थानीयले यसैलाई आधार मानेर आफ्नो भूगोलको परिचयको रूपमा ‘दोधारा’ र ‘चाँदनी’ राखिएकोमा गर्व गरिरहेका थिए ।


यिनै नाम हाम्रा सामान्य ज्ञानका पानामा अमिट छाप बनेर बसिसकेका छन् । विभिन्न ‘क्विज’ हरूमा सोधिने प्रश्नमा ‘दोधारा र चाँदनी’ भन्ने जवाफमा जुन रौनक छ, यहाँका बासिन्दाको मन–मुटुमा बसेको पहिचान हो यो । तर, जब राज्य पुनःसंरचनाका नाउँमा यस स्थानको नाम बिगारियो, उनीहरूलाई स्विकार्नै अप्ठेरो भयो ।


पञ्चायतकालमा बडपुर गाउँपञ्चायतको २ नम्बर वडा थियो यो ठाउँ । पछि गएर दोधारा र चाँदनी गाविस बन्न पुगेको जगत भण्डारीले सुनाए । दशकौँअगाडि बझाङदेखि बसाइँ सरी आएका गगन सिंह बताउँछन्, ‘अब फेरि नगरपालिकाको नाम पुरानै राख्ने सहमति भएको छ, दोधारा–चाँदनी ।’


अहिले गुमेको पहिचान फर्काउन यहाँको भुइँ तातेको छ । नामको लाभ–हानिका विषयमा ठूलो छलफल चलेको पाइन्छ । स्थानीयहरू महाकाली नगरपालिकाको नाम संशोधन गरेर पुनः दोधारा–चाँदनी नै राख्नुपर्ने अडानमा छन् । यसबाट प्रस्ट हुन्छ, स्थानीयको लागि पहिचान कति प्यारो छ भन्ने ।


झोलुंगे पुलले जोडेको जीवन

२०६० सालमा महाकालीमा मुलुककै लामो झोलुंगे पुल बन्यो । अनि बल्ल महाकालीले अलग्गै राखेको यो भूगोलले महेन्द्रनगरसँग हात मिलायो र जोडियो देशसँग । ‘यही पुल हो जसले हामीलाई नेपालसँग जोडेको छ । नत्र, हाम्रा लागि महेन्द्रनगर पनि सधैँको टाढा थियो,’ एक स्थानीयले भने ।


महेन्द्रनगरबाट शुक्लाफाँटा निकुञ्जको गेट हुँदै १४ किलोमिटर नाघेपछि पुगिन्छ, प्रसिद्ध दोधारा–चाँदनी पुल । १४५२ मिटर लामो यो ‘मल्टी–स्पाइनल’ पुल बडो आकर्षक रूपमा बनाइएको छ । तल–माथि उठेका लट्ठा, छेउभरि टाँगिएको जाली र बीचबीचमा अग्लाअग्ला बुर्जाजस्ता कलात्मक पिल्लर । आठवटा अग्ला खम्बा तथा चौध भागको सुन्दर जोडको रूपमा रहेको छ यो पुल ।


अचेल यिनै झोलुंगाले जोडेको छ, महाकालीवारि र पारिको जीवनलाई । पुल बन्नुअगाडि यो भूमि बर्खायाममा नेपालबाट पूरै बेखबर हुन्थ्यो । यहाँका बासिन्दालाई आफ्नै देश आउन पनि पराई माटो टेक्नुपर्ने बाध्यता थियो । महेन्द्रनगर आउनुपर्दा भारतीय बाटो भएर आउनुपर्थ्यो । कि त महाकाली तर्न काठे डुङ्गाको खतरापूर्ण यात्रा गर्नुपर्थ्यो । त्यो बाध्यतालाई अहिले यस पुलले अन्त्य गरिदिएको छ । हिजो महेन्द्रनगर सेरोफेरोका मानिसले यहाँका मानिससँग नाता सम्बन्ध जोड्न धैरै सङ्कोच मान्थे । त्यसलाई पनि यस पुलले विस्थापित गरिदिएको छ ।


***

पाल्पाबाट आफ्ना पुर्खासँगै यस भूमिमा झरेकी थिइन्, पूनम थापामगर । महाकाली नदीले कोरेको सीमारेखा र उनीहरूको पीडारेखा विलीन हुनुमा पुल नै गतिलो माध्यम भएको बताउँछिन् उनी । भन्छिन्, ‘सायद हाम्रो बुबा–आमाले पनि यति ठूलो परिवर्तन हुन्छ भन्ने सोचेका थिएनन् होला । पुलमाथि गुडिरहने मोटरसाइकलको लाम देख्दा अचेल मसँगै हाम्रा बा–आमाहरू छक्कै पर्नुहुन्छ ।’


पुल वारपार गर्ने यहाँको मुख्य यातायातको साधन भनेको अहिले मोटरसाइकल नै हो । यस पुलमा उभिएर एक छिन नियाल्दा मात्रै पनि थाहा हुन्छ, मोटरसाइकल यस भेगका जनताका लागि कति महत्त्वपूर्ण साधन बनेको रहेछ ! जसरी विकट पहाडी र हिमाली क्षेत्रमा खच्चड, घोडाको बहुआयामिक प्रयोग गरिन्थ्यो, त्यसरी नै यहाँका मानिसले मोटरसाइकलको प्रयोग बहुआयामिक रूपमा गरिरहेका छन् ।


यो पुल पार गर्दैगर्दा मलाई टोनी हेगनले नेपालको विकास प्रक्रियामा कल्पना गरेको झोलुङ्गे पुलको याद आयो । एउटा पुलले पनि कुन हदसम्म अपनत्व र समृद्धि ल्याउँदो रहेछ भन्ने कुरा यहाँ आइपुग्दा थाहा लाग्छ । पुल बन्नुअघिसम्म यहाँ खासै उल्लेख्य गतिविधि थिएन । तर, अहिले आर्थिक–सामाजिक गतिविधि फस्टाउनुका साथै पुलकै कारण जनजीवन उकासिएको छ ।एउटै बाटोले जोडेको चाँदनी, बाबाथान, मालिका र दोधारा– यी चार बजार यहाँका मुख्य आकर्षण हुन् । अहिले उनीहरूको नियमित जिन्दगीका मागहरू सरदर यिनै बजारले धानेको छ ।


प्यारो जंगबहादुर

यहाँ आइपुग्दा जंगबहादुरले घोषणा गरेको– ‘राष्ट्रियता बलियो हुनुपर्छ’ भन्ने धारणा स्मरण हुन्छ । दक्षिणमा जोगबुडा नदीपारि सानो बस्ती छ, कुतियाकबर । यहीँबाट नेपाली माटो सुरु भएको संकेत गर्छ । यहाँका नेपाली जंगबहाहुरले गाडेका जङ्गे सीमास्तम्भ देख्दा गर्व गर्ने रहेछन् । गुमेको यस पश्चिमी भूगोललाई अंग्रेजबाट फिर्ता ल्याउन गरेको कार्यमा भने यहाँका स्थानीयले जंगबहादुरलाई शीर्ष व्यक्ति सम्झँदा रहेछन् ।


खुला सीमाबाट फाइदा उठाउने भारतीयको जमात बढेको छ । यस्ता अवाञ्छित गतिविधि नियन्त्रण भइदिए आफूहरूलाई राहत मिल्ने यहाँका नेपाली बताउँछन् । उनीहरूका अनुसार, यहाँको मुख्य समस्याको समाधान भनेको संयुक्त भन्सार, अध्यागमन चौकी, सुरक्षा चौकी आदिको स्थापनामा राज्यले कूटनीतिक पहल र प्रयास गर्नु नै हो ।


समस्यासँग पौँठेजोरी

समुन्नत समाजको कल्पना गर्दा यहाँका समस्यालाई छुटाउन नहुने तर्क गर्छन् स्थानीय युवा रोशन सुनार । गाउँ डुल्दै गर्दा कञ्चनभोज गाउँको चौतारामा भेला भएका स्थानीयलाई यहाँको पछिल्लो हालखबर के छ, भनी सोधेँ । उनीहरूले प्रायः एउटै जवाफ फर्काए, ‘राज्य हाम्रा लागि जहिल्यै बेखबर छ । अब पनि हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउने हो भने हामी कहिले माथि उठ्ने ?’


स्थानीय २३ वर्षीय आकाश सुनार बताउँछन्, ‘सिमाना र बेरोजगारी यहाँका चर्का समस्या हुन् । यातायातको सहजता नहुनु यहाँको अर्को समस्या हो ।’ बर्खायाममा उर्लेर आउने महाकाली नदीले आफैँसँग लैजान्छ कि भन्ने पीरले उनीहरूलाई पिरोलिरहन्छ ।

कुतियाकबर गाउँमा करिब तीस–पैँतीस घरधुरी छन् । सिमानाको अन्तिम दक्षिणी गाउँ हो यो । यहाँका ८० प्रतिशत युवा भारतीय श्रमबजारमा पसिना बेच्न बाध्य छन् ।


अचेल यी सचेत युवाको समूह गाउँलाई केही मात्रामा भए पनि जागृत गर्न सकिन्छ कि भनेर लागिपरेको छ । विभिन्न सामाजिक जागरणका कार्यक्रम लिएर उनीहरू गाउँघर डुलिरहेका हुन्छन् । सीमा विवादको समस्या चर्किंदै गर्दा उनीहरू नेपाली भूमिको रक्षार्थ सीमाक्षेत्रका समस्याबारे पनि बहस गर्छन् । हिजोको जस्तो समस्या नबल्झिओस् भन्ने नै उनीहरूको प्रमुख ध्येय हो । साथै विविध एजेन्डामा केन्द्रीय राजनीतिको ध्यान यतापट्टि तान्ने प्रयत्न गरिरहेका छन् ।


महाकाली पुलबाट नेपाल हेर्दा

‘सिङ्गो नेपाल’ को कुरा गर्दा नेपालीले आफ्नो महत्त्वपूर्ण भौगोलिक अवस्थितिलाई कुनै पनि हालतमा बिर्सिनु हुन्न । महाकालीको पुलबाट पहेँलिएर डुब्न लागेको बूढो घाम हेर्न आउनेको लर्को लाग्छ । महाकालीको दुःखको भौगोलिक यथार्थ हेर्न यहाँ आउने पर्यटक देख्दा देवकोटाले भनेझैँ नेपाल ‘सुन्दर, शान्त, विशाल’ लाग्छ ।


हाम्रो इतिहास हेर्दा सिमानाको खुम्चँदो र फैलँदो स्वरूप अदूरदर्शी शासकको वरिपरि नै घुमेको देखिन्छ । यस भूमिलाई टेकेर दुई देशीय शक्ति सन्तुलनका उतारचढावहरू केलाउँदा देश त सिमाना मात्र होइन भन्ने लाग्छ । यस पुलमा टेक्दा मलाई राष्ट्रकवि माधव घिमिरेको कविताका यी पङ्क्ति याद आए—

‘पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ

कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ !’


कविताले भनेझैँ नेपाल परापूर्वकालदेखि नै स्वाधीनता तथा ठाडो शिर पारेर अटल रह्यो । भौगोलिक तथा राजनीतिक हिसाबले नेपाल कसैको अधीनमा रहेन । कसैको छत्रछायामा देशवासी बस्नुपरेन । यो हाम्रा लागि राष्ट्रिय गौरवको विषय हो ।



देशको सिमाना भनेको राष्ट्रको संवेदनशील र महत्त्वपूर्ण तत्त्व हो । सिमानाले जमिनको सतहमा अंकित सीमारेखा मात्र जनाउँदैन । राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई पनि प्रतिनिधित्व गर्छ । बेलाबेला सत्ताको कुर्सीमा बस्नेहरूले यस मर्मलाई कुल्चिदिँदा समस्या बल्झँदै आयो ।


यस सुदूर भेगबाट निर्वाचित जनप्रतिनिधिहरू केन्द्रीय राजनीतिको मियो नबनेका पनि होइनन् । यहीँबाट राष्ट्रिय राजनीतिमा छाएका शेरवहादुर देउवा हुन् या रमेश लेखकहरूले गरेको केन्द्रीय राजनीतिको शक्तिरचनाका झिल्काहरू, यहाँ कमै मात्र परेका छन् । लोकेन्द्रबहादुर चन्दहरूले पनि बुझेनन् यहाँको मर्म । उनीहरूले यस भूमिलाई जहिल्यै चुनावी भोटको एजेन्डा मात्रै बनाए ।


मलाई भने महाकालीपारिको यो टापु नेपालसँग साक्षात्कार गरेपछि लाग्यो— साँच्चै आज पनि यहाँको जीवन असहज छ, असुविधा झेलिरहेको छ । भोग्नेहरूलाई समस्याले कति पिरल्दो हो ! अहिले पनि यहाँ एम्बुलेन्स र अति आवश्यक सामग्रीहरू भारतीय भूगोल टेकेर लैजानुपर्ने बाध्यता छ । राज्य छ भन्ने धिपधिपे आशामा दशकौँदेखि महाकालीको डिलबाट उनीहरू महेन्द्रनगरपट्टि हेरिरहन अभ्यस्त छन् । देशमा बाँडिएको ‘समृद्घिको सपना’ यहाँ कहिले साकार होला, त्यो हेर्नै बाँकी छ !

प्रकाशित : फाल्गुन १०, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?