२५ सय वर्षअघिको आक्रोश

रामचन्द्र श्रेष्ठ

आचार्य चतुरसेन (अगस्ट २६, १८९१–फेब्रुअरी २, १९६०) को बहुचर्चित क्लासिक हो– ‘वैशालीकी नगरवधू’ । ‘सोमनाथ’, ‘वयं रक्षाम्’ लगायत उत्कृष्ट आख्यानका लेखक उनले आधा शताब्दीको सिर्जनशील यात्रामा लगभग साढे चार सय कथा, बत्तीस उपन्यास, कैयौं नाटक र काव्य रचना गरे । चतुरसेनको स्मृति–दिवसमा ‘वैशालीकी नगरवधू’ माथिको समीक्षा प्रस्तुत छ ।

महिलाको स्वाधीनतामाथि हस्तक्षेप गर्ने जनपदलाई जति छिटो रगतमा डुबाइदिन सकिन्छ उत्ति नै बेस हुन्छ– यो २५ सय वर्षअघिको आक्रोश हो । जब आफूलाई जबरजस्ती नगरवधू बनाइन थालिएको थियो, अम्बपालीले यसरी आक्रोश व्यक्त गरेकी थिइन् । यो आक्रोश केवल मनमा कैद भएर बसेन । समयका अनेक उपक्रममा यो निस्तेज पनि भएन । आफ्ना सपनाको हत्या गरेर परम्परा र कानुनको आडमा नगरवधू बनाइएपछि अम्बपालीले वैशालीको पतनका लागि कुनै कसर बाँकी राखिनन् ।


उसो त अम्बपालीलाई वैशालीका गणपति सुनन्दले सम्झाएका हुन्छन्, ‘सार्वजनिक हितका लागि व्यक्तिगत इच्छा तिलाञ्जली दिनुपर्छ ।’ सिंगो वैशाली अम्बपालीलाई नगरवधू बनाउने मुद्दामा विभाजित थियो । उनको अस्वीकृतिले वज्जीसंघको एकता नै संकटमा पर्थ्यो । त्यसैले सुनन्दले ‘व्यक्तिगत इच्छा’ को बलिदानी माग्छन् ।


२५ सय वर्षपछि डा. शिवमाया तुम्बाहाम्फेलाई सभामुख बन्नबाट रोक्न यस्तै–यस्तै तर्कहरू गरिएको थियो । पार्टीको एकता वा पार्टीको हितका लागि उनको योग्यताको बलिदान मागियो । र, फेरि पनि शिवमाया सार्वजनिक हितका लागि व्यक्तिगत इच्छा र सामर्थ्यको बलिदानी गर्न विवश पारिइन् । राजीनामा गर्दै गर्दा शिवमायाले कटु यथार्थ ओकलिन्— राज्यसत्ता भन्दा पितृसत्ता बलियो रहेछ । आखिर इतिहास दोहोरिनेरहेछ, फरक–फरक आवरणमा । उसो त हाम्रा वर्तमान कर्म र चिन्तनहरूले निकटदेखि सुदूर इतिहाससँग

साइनो राख्छन् ।


प्रतिगमनविरोधी आन्दोलनको अन्त्यतिर राजनीतिका विविध आयाम बुझ्ने भोक चर्को थियो । भोक मेट्न अनेकन किताब पढिन्थ्यो । यसै क्रममा हात लागेको थियो आचार्य चतुरसेनको उपन्यास– ‘वैशालीकी नगरवधू ।’ तर, यो पढ्नु उति सजिलो थिएन । हिन्दी भाषा, त्यो पनि संस्कृत शब्दावलीले भरिपूर्ण । मोटाइ पनि उस्तै । लगभग तीन महिना घोटिएपछि उपन्यासको स्वाद महसुस भएको थियो । पछि चतुरसेनका कथाहरू पढ्न थालेपछि ‘वैशालीकी नगरवधू’ झनै सुस्वादिलो बन्दै गयो । जिन्दगीमा अक्सर यस्तै हुन्छ । पहिलो गाँसमा औधी स्वादिला लागेका वस्तुहरू बिस्तारै अरुचिमा बदलिन्छन् र घृणा गरिएका क्रमशः स्वादिला हुन्छन् । कैयौं मान्छे प्रिय ठान्दाठान्दै पराई भइसकेका हुन्छन् । कैयौं पराई थाहै नपाई आफन्त बन्छन् । जिन्दगी बेलाबेलामा रहस्यको ठूलो पोकोझैं लाग्छ । तर, रहस्यको ठूलो पोको त अम्बपालीको जन्म नै हो ।


‘धिक्कृत कानुन’

‘वैशालीकी नगरवधू’ बुद्धको समयको कथा हो । उत्तर भारतमा केही बलिया राज्यहरू स्थापित भइसकेका हुन्छन् । त्यसमध्ये एउटा हो– वज्जी संघ । यो विदेह राज्य फुटेर बनेका लिच्छवी संघहरूको राज्य हो । वज्जीअन्तर्गत आठ कुल संग्लग्न छन् । वज्जी संघ गणतन्त्रात्मक राज्य हो, जहाँ राजाको पनि निर्वाचन हुन्छ । सभाले गर्ने निर्णय सर्वोपरि हुन्छ । तर, त्यस्तो सभा वा राज्यसंयन्त्रमा सबै जाति र वर्गको पहुँच छैन । सामन्त, व्यापारीलगायतका कुलीनहरूको मात्रै पहुँच छ । वैशाली वज्जी संघको राजधानी हो । वैशालीमा एउटा अचम्मको कानुन छ— नगरको सबैभन्दा सुन्दर युवती कोही एक जनाको श्रीमती हुन पाउँदैन । सुन्दर युवतीलाई बिहे गरेर गृहस्थी जीवन बिताउने अधिकार छैन । उसलाई नगरवधू बनाइन्छ ।


दरबारको उपवनको रेखदेख गर्ने नायक महानामनले आँपको रूख (आम्रवृक्ष) मुनि एउटी सुन्दरी बालिका भेट्टाउँछ । सन्तानविहीन महानामन दम्पतीले त्यो बालिकालाई सन्तानको रूपमा अपनाउँछन् । आम्रवृक्षमुनि फेला परेको हुनाले नाम अम्बपाली (आम्रपालीको अप्रभंस) राखिन्छ । बालिका अति सुन्दर हुन्छे तर त्यही सुन्दरता नै उसको भविष्यको तगारो भएको हुन्छ । बालिका हुर्कंदै गएपछि नगरवधू बनाइन सकिने सम्भावनासँग डराएर महानामन दरबार छोडेर गाउँमा जान्छ । अम्बपाली ११ वर्ष पुग्दा उसकी आमाको निधन भइसकेको हुन्छ । महानामन वृद्ध र गरिब हुन्छ । गरिबीका कारण अम्बपालीका रहर पूरा गर्न नसक्ने भएपछि महानामन पुनः वैशाली फर्किन बाध्य हुन्छ । वैशालीमा उसको भेट साथी चन्द्रदेवको छोरा हर्षदेवसँग हुन्छ । उसले पुनः राजप्रासाद सेवामा अवसर पाउँछ ।


महानामनलाई जे डर थियो, त्यही भइछाड्छ । अम्बपालीलाई नगरवधू बनाइन्छ । अम्बपाली भर्खर–भर्खर हर्षदेवसँग प्रेममा परेकी थिई । उसका गृहस्थी जीवनका सपनामा पालुवा लाग्दै थिए । जबरजस्ती नगरवधू बनाइने भएपछि ऊ औधी आक्रोशित हुन्छे । सभा बस्छ । सभामा ९०२ जना सदस्य हुन्छन् । सामन्तपुत्र, व्यापारीलगायतका युवा भारदार हुन्छन् । उनीहरू बहस गरिरहेका हुन्छन् । लिच्छवीको कानुनको पालना गराउन उत्तेजित देखिन्छन् । छिन–छिनमा खुँडा र तरबार प्रदर्शन हुन्छ । माहोल उत्तेजित हुन्छ । यसैबीचमा महानामनको प्रवेश हुन्छ । उसलाई एक्लै देखेर सभा क्रोधित हुन्छ । तर, श्वेत परिधानमा अम्बपालीको प्रवेश हुन्छ । ऊ सभालाई सम्बोधन गर्छे र भन्छे, ‘यो तिमीहरूको धिक्कृत कानुन हो ।’ व्यापारको केन्द्र भएकाले वज्जी संघ समृद्ध हुन्छ । समृद्धि र शक्तिको केन्द्र वैशालीलाई कसैले पनि कुनै आक्षेप लगाउन सकेको हुँदैन । तर, समंद्ध गणराज्यको कानुनलाई एउटी अबला नारीले ‘धिक्कृत कानुन’ को उपमा दिन्छे । सभाको निन्दा गर्छे । खडा र तरबार फेरि चम्किन्छन् । तर, अम्बपालीले अडान कायम नै राख्छे । ‘नगरवधू’ को प्रावधानलाई उसले वज्जी संघको गौरवमा कलंक भएको बताउँछे । के प्रकृतिप्रदत्त सुन्दरता नै आफ्नो अपराध हो भन्ने सीधा तर कठिन प्रश्न तेर्स्याउँछे ।


आखिरमा तीनवटा सर्तमा मात्र नगरवधू बन्न तयार हुने बताउँछे । ऊ मृत्यु स्विकार्न तयार छे तर आफ्ना सर्तमा सम्झौता गर्न तयार छैन । ती तीन सर्त हुन्छन्— पहिलो, राजालाई बराबर दरबार, सम्पत्ति, मुद्रा र सुविधा प्राप्त होस् । दोस्रो, उसको महलको सुरक्षा कुनै किल्लाको जस्तो होस् । अर्थात्, उसको बेग्लै सेना होस् । तेस्रो, उसको आवासमा आवतजावत गर्ने अतिथिहरूको कुनै जाँच गरिनेछैन । सभाले तेस्रो सर्तमा कुनै कारणले जाँचपड्ताल गर्नुपरेमा एक साताअगाडि नै खबर गर्ने संशोधन गर्दै सबै सर्त स्वीकार गर्छ । सिंगो राज्यलाई आफ्ना सर्तहरूको बलमा दबाएर अम्बपाली नगरवधू बन्छे ।


रहस्यहरू

राजनीति अनेक दृृश्य, अदृश्य खेल र समीकरणहरूले सञ्चालित हुन्छ । यिनै उपक्रममा राजनीतिले अनेकौं रहस्य सिर्जना गर्छ । मदन भण्डारीदेखि नारायणहिटी हत्याकाण्ड हाम्रा निकट इतिहासका रहस्य हुन् । उसो त निर्वाचनका परिणामहरू पनि कम रहस्यपूर्ण हुँदैनन् । ‘वैशालीकी नगरवधू’ राजनीतिमा सिर्जित हुने घात–प्रतिघात र अनेकौं रहस्यले भरिपूर्ण छ ।


वज्जीसँग टक्कर लिने समृद्ध राज्य छ मगध, जहाँका राजा छन्— बिम्बसार । बिम्बसारका पिताको समयमा त्यहाँ गोविन्द स्वामी नामक वेदपाठी ब्राह्मणथिए । उनले एक दिन सम्राट्लाई एक बालिका दिँदै उसको पालनपोषणको जिम्मा लिन आग्रह गरे । सम्राट्ले उक्त आग्रह स्वीकार गर्दै छोरा बिम्बसारसरह उनलाई छोरीको रूपमा पालनपोषण गर्ने वचन दिए । बालिकाको नाम मातंगी राखियो । गोविन्द स्वामीसँग अर्का एक शिष्य बालक पनि थिए, जसको नाम वर्षकार थियो । उनी कसका सन्तान हुन्, थाहा थिएन । बच्चा एघार वर्ष पुगेपछि गोविन्द स्वामीले सम्राट्लाई सुम्पिँदै राम्ररी शिक्षा–दीक्षा दिएर हुर्काउन र पछि महामात्य (महामन्त्री) बनाउन भन्छन् । स्वामीले कुनै पनि कारणले वर्षकार र मातंगीको बिहे नगराउनू भनेका हुन्छन् । तर, हुर्कंदै जाँदा वर्षकार र युवराज बिम्बसार दुवै मातंगीप्रति आकर्षित हुन्छन् । यस विषयमा उनीहरूको झगडा पनि हुन्छ । तर, लुकीछिपी मातंगीलाई भेट्न दुवैले छोड्दैनन् । यसैबीचमा मातंगी गर्भवती हुन्छिन् । त्यो गर्भ वर्षकार र बिम्बसारमा कसको हो भन्ने रहस्य मातंगीले खोल्दिनन् । बच्चा जन्मिएपछि वर्षकारले दासीमार्फत उक्त शिशु फाल्न लगाउँछ । फ्याँकिएको शिशुलाई महावैज्ञानिक सिद्ध शाम्बव्य काश्यपले भेट्टाउँछन् र पालनपोषण गर्छन् । उक्त शिशु पछि सोमप्रभको नामले परिचित हुन्छ । सोम तक्षशिलाबाट ज्ञान प्राप्त वीर, साहसी र कुशाग्र बुद्धिको हुन्छ । सम्राट्को निधनपछि बिम्बसार राजा हुन्छन् । मृत्युअगाडि उनले बिम्बसार र वर्षकारलाई सम्राट् र महामात्य बन्न आदेश दिन्छन् । एउटा गोप्य पत्र दिँदै बिम्बसारको राज्यारोहणको तीन वर्षपछि खोल्नू र त्यति नै बेला मातंगीको बिहे गर्नू भनी लेखेका हुन्छन् । पछि पत्र खोलिँदा रहस्य बाहिर आउँछ । त्यसमा लेखिएको हुन्छ– मातंगी वर्षकारकी बहिनी भएकाले बिहे हुँदैन ।


पत्र खोल्ने समयमा मातंगी फेरि गर्भवती हुन्छिन् । उनलाई वैशाली पठाइएको हुन्छ । उतै उनले गोप्य रूपमा एक कन्यालाई जन्म दिन्छिन् र स्वास्थ्यलाभ गरेर फर्किन्छिन् । कन्या वर्षकारको हुन्छ । जब पत्रले मातंगी र वर्षकारको सम्बन्धको रहस्य खोल्छ, उनी निकै निराश हुन्छिन् र राजसुविधा त्यागेर तपस्विनी बन्छिन् । पछि उनी आर्य मातंगीको नामले प्रसिद्ध हुन्छिन् ।


बदला

अम्बपालीमा केन्द्रित भए पनि ‘वैशालीकी नगरवधू’ अनेकौं उपकथामा उनिएको छ । तत्कालीन उत्तर–भारतको समग्र राजनीति यसमा प्रतिविम्बित छ । तत्कालीन राजनीतिको केन्द्रमा आर्यहरू छन् । आर्यहरूले राजनीतिमा हिंसालाई प्रशस्त स्थान दिएका छन् । राजनीतिमा शक्ति संघर्षमा अपनाइने अनेकौं दाउपेचले कथा भरिएको छ । आचार्यपाद काश्यपले कुण्डनी नामक सुन्दरीलाई विषकन्याको रूपमा हुर्काएका छन् । चम्पा आक्रमण–क्रममा मगध महामात्य वर्षकारको पक्षमा कुण्डनीलाई प्रयोग गरिन्छ । चम्पा जाने बेलामा सोमप्रभ र कुण्डनी असुरहरूको कब्जामा पर्छन् । तर, कुण्डनीले आफ्नो सुन्दरता र विषको बलमा असुरहरूको हत्या गर्छे । आचार्य वर्षकार रत्न व्यापारीको भेषमा चम्पामा घुस्छ । कुण्डनी उसको पुत्री बनेर राजाको दरबारमा छिर्छे । त्यहाँ पनि विषको बलमा राजाको हत्या गर्न सफल हुन्छे । आर्य राजनीति कुटिलता, हत्या र हिंसाले लतपतिएको हुन्छ । तथापि युद्धलाई जायज नै ठहर्‍याइन्छ ।


युद्धलाई वैधानस्करण गर्ने प्रयत्नमा एक प्रसंगमा आचार्य शाम्बव्य भन्छन्, ‘युद्ध जीवनको अपरिहार्य घटना हो । युद्ध मानव सभ्यताको इतिहास हो ।’ अर्को एउटा बलशाली राज्य छ— कोसल । कोसलका राजा प्रसेनजित अति नै यौनपिपासु हुन्छन् । उनले कपिलवस्तुका शाक्यसँग वैवाहिक सम्बन्ध गाँसेका हुन्छन् । शाक्यहरूले छल गरेर दासीसँग बिहे गराइदिएका हुन्छन्, जसबाट विदुडभको जन्म हुन्छ । आफू दासीपुत्र भएको ज्ञात भएपछि विदुडभ आक्रोशित हुन्छ । किनभने ऊजस्ता वर्णसंकरलाई राज्यसत्तामा ठाउँ हुँदैन । त्यसैले ऊ शाक्य कुल नास गर्न उद्यत हुन्छ । ऊ आर्यहरूमाथि बदला लिने मनसायमा हुन्छ । प्रसेनजितसँगको बहसमा विदुडभ भन्छ, ‘आर्यहरूले घृणा गर्ने दासीपुत्र, वर्णसंकरहरूलाई हामी सार्वजनिक गराउनेछौं । हामी आर्यहरूको सम्पूर्ण अधिकार, सबै राज्य र सबै सत्ता खोस्नेछौं ।’


आचार्य चतुरसेनले विदुडभमार्फत आर्यको विरोधमा वर्णसंकर र दासहरूको पक्ष लिएका छन् । ‘वैशालीकी नगरवधू’ आर्य साहित्यको गह्रौं भारीले थिचिएर अव्यक्त रहेका वर्णसंकर र दासहरूको पक्षमा लेखिएको साहित्य हो । सन् १९४९ मा उपन्यासको भूमिकामा आचार्य चतुरसेनले इतिहासकारहरूले नदेखेको तर मिश्रित जातिले आर्यको धर्म, साहित्य, राजसत्ता र संस्कृतिमाथि विजय प्राप्त गरेको प्रगतिशील संस्कृति उजागर गरेको स्विकारेका छन् । प्रसेनजितको सुरक्षा दिएका हुन्छन्— वीर बन्धुलले । लामो संघर्षपछि सोमप्रभले बन्धुलको हत्या गरेर विदुडभलाई राजा बनाउँछ ।


अम्बपालीको प्रथम प्रेमी हर्षदेव व्यापारीको भेषमा चर्चित हुन्छ । उसले वैशालीमाथि बदला लिने प्रण गरेको हुन्छ । उसले मगध सम्राट् बिम्बसार र अम्बपालीको भेट गराउँछ । अम्बपाली मगधको भावी सम्राट्की माता बन्ने सर्तमा बिम्बसारसँग प्रणयसम्बन्ध राख्न मञ्जुर हुन्छिन् ।


मगधले वैशालीमाथि आक्रमण गर्छ । आक्रमणको प्रतिरोधका लागि पूरा तयारी गरेर बसेको हुन्छ वैशाली । तर, वैशालीभित्रैबाट मगधलाई सहयोग मिलिरहेको हुन्छ । अम्बपालीको आवासगृहले गुप्त रूपमा मगधलाई सहयोग गर्छ । मगधको सैन्य नेतृत्व आर्य मातंगीका पुत्र सोमप्रभले गरेको हुन्छ । भीषण युद्ध हुन्छ । युद्धमा समयमा राजा बिम्बसार बेपत्ता हुन्छ । युद्धको खास उद्देश्य नगरवधूलाई राजमाता बनाउने हो भन्ने थाहा पाएपछि सोमले युद्ध अन्त्य गर्छ । सोमले सम्राट् बिम्बसारलाई पक्राउ गरी कैद गर्छ । पछि आर्या मातंगीले सबै रहस्य खोलिदिन्छिन् । थाहा लाग्छ, सोमप्रभ सम्राट् बिम्बसारको छोरा हुन्छ । अम्बपाली उसकी बहिनी हुन्छे । तर, अम्बपालीको पिता वर्षकार हुन्छ । यसरी उपन्यासको पूर्वार्द्धमा अम्बपालीको जन्मको रहस्य पटाक्षेप हुन्छ ।


बुद्धं शरणं गच्छामि

भीषण युद्धको एक वर्षपछि गौतम बुद्ध वैशाली आउँछन् । वैशाली सुनसान हुन्छ । अम्बपालीको महलको दैलो बन्द भएको एक वर्ष भइसकेको हुन्छ । उनले गोप्य रूपमा बालकलाई जन्म दिन्छिन् । त्यो बालक बिम्बसारको पुत्र हुन्छ । बालक भावी मगध सम्राट्को रूपमा मगध पठाइन्छ । बुद्ध–आगमनको खबर सुन्नासाथ अम्बपाली बुद्धको दर्शन गर्न जान्छिन् । बुद्ध ८० वर्ष पुगिसकेका हुन्छन् । अम्बपालीले भोजनको निमन्त्रणा गर्छिन् । लिच्छवीहरूले पनि बुद्धलाई भोजनको निमन्त्रणा गर्छन् । बुद्धले अम्बपालीलाई भोजनका लागि आउने वचन दिइसकेको बताउँछन् । लिच्छवीहरूले फेरि एकपटक अम्बपालीसँग हार महसुस गर्छन् ।


आफ्नो विशाल महलमा बुद्ध र समस्त भिक्षुहरूलाई भोजन गराइसकेपछि अम्बपालीले बुद्धसँग कुनै भिक्षुको उत्तरीय (काँध ओढ्ने वस्त्र) माग्छिन् । भिक्षु आनन्दले दिन्छन् । अम्बपाली भित्र जान्छिन् । आउँदा उनले केवल उत्तरीय मात्र बेरेकी हुन्छिन् । न कुनै आभूषण, न कुनै वस्त्र । बुद्धसँग उनी प्रव्रज्या माग गर्छिन् । कुनै बेला आफ्नो रूप र यौवनले संसार जितेकी, धन, सम्पत्ति, सेना, कुनैमा कमी नभएकी अम्बपाली केवल भिक्षा मागिएको उत्तरीयमा बेरिएर बुद्धको शरणमा जान्छिन् । कथाको अन्तिममा थाहा लाग्छ, अम्बपालीलाई मौन प्रेम गर्ने सोमप्रभ भिक्षु भइसकेको हुन्छ ।


समकालीन राजनीतिमा अनेकौं उतारचढाव आइरहँदा आचार्य चतुरसेनको पुनः स्मरण हुन्छ । ‘वैशालीकी नगरवधू’ मार्फत उनले सामन्ती राजनीतिको अनकौं जालझेल चित्रण गरे । आधुनिक राजनीति पनि जालझेल, कपटभन्दा पर छैन । उसो त जिज्ञासाको हत्या उतिबेला पनि र अहिले पनि नाजायज ठहरिन्छ । एउटा सन्दर्भमा आचार्य शाम्बव्य सोमप्रभसँग भन्छन्, ‘राजनीतिमा अति कौतूहल जायज हुँदैन ।’ यही वाक्यले समकालीन नेपाली राजनीतिमा छाएको मौनताको बाक्लो बादल बुझ्न सघाउँछ । आखिर हाम्रो दाशता र मौनता पनि यसरी नै सिर्जना गरिएका त हुन् !


आचार्य चतुरसेनले उपन्यासलाई घटनाप्रधान बनाउँदा–बनाउँदै पनि कैयौं ठाउँमा जादुयी यथार्थवादको भरपूर प्रयोग गरेका छन् । विषयलाई अतिशयोक्ति बनाउन पनि कुनै कसर बाँकी राखेका छैनन् । बुद्धको अन्तिम धर्मचक्र प्रवर्तनमा २ लाख मानिसको उपस्थिति र मगध–वैशाली लडाइँमा दस दिनमा ९६ लाख नरसंहारको आँकडा अपत्यारिलो लाग्छ । बुद्ध र महावीर जैनले तत्कालीन समाजको धर्म, संस्कृति र राजनीतिमा सुधारका लागि गरेको हस्तक्षेपको चित्रणले हाम्रो वर्तमान सभ्यता इतिहास पुरानो अनेकौं द्वन्द्वको प्रतिफल हो भनी स्विकार्न करै लाग्छ । बन्धुल श्रीमती रोहिणीको मुखबाट आचार्य चतुरसेनले दासप्रथाको विरोध गरेका छन् ।


‘वैशालीकी नगरवधू’ ले हामीलाई हाम्रो भूगोलको सुदूर विगत प्रतिविम्बित गर्छ भने त्यसको आलोकमा वर्तमान राजनीतिका उतारचढाव, घात–प्रतिघात र रहस्य महसुस गर्न सघाउँछ । प्रकाशित : फाल्गुन ३, २०७६ १२:५३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

यी साना खुसी

मीरा ढकाल

चालीस वा पचासको दशक ! पश्चिम पहाडको जिल्ला स्याङ्जा ! आँधिखोला किनारको कुनै एक गाउँ । तपाईंको दिमागमा कस्तो दृश्य आयो ? कल्पना गर्नुस् न ! गर्नुभयो ? पख्नुस् है ! प्रकृति, खोलानाला, पहरा, छहरा, चरा, कीरा, पुतली यस्तै–यस्तै दृश्य आयो ?

हो, मेरो बाल्यकाल यस्तै हुनपर्ने हो । यस्तै यावत् यादहरूले मेरो बाल्यकाल भरिपूर्ण हुनपर्ने हो । तर, विडम्बना मेरो बाल्यकाल यस्तो भएन र यसको जिम्मेवार म आफैँ हुँ । आजकलका केटाकेटीलाई जसरी हातमा मोबाइल, कम्प्युटर, ट्याब पनि दिइएको थिएन मलाई । त्यो अवस्थामा इन्टरनेटको अम्मल लाग्ने सम्भावनै रहेन । तर, पनि मचाहिँ घरको चार भित्ताभन्दा पर पुग्दै पुगिनँ । आँगन नाघेर कतै जान आफैँले कुनै कसरत गरिनँ । तर, मेरो भाइ डुलिबस्थ्यो । कहिले जीउभरि सिस्नोले पोलिएर आउँथ्यो । कहिले हिलोमा दलिएर आउँथ्यो । अझै कहिले त स्कुल हापेर लिँड्कोमा चढेर आनन्द लिन्थ्यो । अटेरी भनेर गाली पनि खान्थ्यो । आफ्नै भाइले यस्ता हर्कत गरे पनि मचाहिँ खै किन हो, घरमै रमाउँथेँ । मेरै साथीहरू छेउकै खोलामा माछा मार्न जान्थे । थालमा कपडाले बेरेर सानो प्वालमा पिठो दलेर माछा पार्थे । उनीहरू रूखबिरुवा, चरा कीराको नाम जान्दथे । कहिले त गोजीमा भएको गुलेली निकालेर भुर्र चरालाई ठहरै पार्थे । फुर्र उडेका पुतली समाउन सक्थे । गाइनेकीरा समातेर धागोमा डोरी बाँध्थे । गाउँकै छेउको काउरोटीको रहको गहिराइ मापन गर्थे । टाप्रेको डिल कति डरलाग्दो छ बताउँथे । भालु पहाडको भीमकायपनाको विस्तार लगाउँथे । तर, म ? त्यसै मौन बसिदिन्थेँ । किनकि मसँग उनीहरूलाई सुनाउने विशेष अनुभव नै थिएन ।


साथीहरू खेल्थे, कुद्थे, उफ्रिन्थेँ । अहिले फर्केर आफ्नै विगत हेर्दा मैले सायद साँघुरो घेरामा आफैँलाई कैद गरेँ र प्रकृतिको सान्निध्यतामा प्राप्त गर्ने असिम आनन्द र सानासाना खुसीबाट आफैँलाई वञ्चित गरेको थिएँ भन्ने लाग्छ ।


यो त मेरो हिजोको कथा हो । आजको कथा भने फेरिएको छ । म त्यसै फेरिएको भने होइन । फोटोग्राफीमा रुचि बढेपश्चात् म बिस्तारै फेरिएँ । फोटोसँग मात्र होइन, प्रकृतिसँगको अभिरुचि पनि बढ्दै गयो । घरबाट निस्केर बाहिरको वातावरणमा रमाउन थालेँ । पहिले पैदल हिँड्न आनाकानी गर्ने म फुर्सद निकालेरै भए पनि हिँड्न थालेँ । र, सुरु भयो नयाँ सिलसिला । साथीसँग हिँड्दा म फेरि पछाडि छुट्न थालेँ । सबै अगाडि पुगिसक्दा म स–साना कुरामै अल्झिन थालेँ । एक्लै–एक्लै जंगल डुल्दा दंग पर्न थालेँ । अरूले यादसम्म नगर्ने मसिना कुराले मेरो ध्यान तानिदिन्थे । सानासाना कुरालाई तस्बिरमा कैद गर्न थालेँ । म्याक्रो फोटोग्राफीमा चासो बढ्यो ।


अझै चरा, कीरा र पुतलीमा विशेष लगाव हुन थाल्यो । पुतलीजस्ता साना जीवको तस्बिर कैद गर्न सहज त छैन । तर, तस्बिरले दिने आनन्द भने अद्वितीय छ । सानासाना जीवले गर्ने साना हर्कतले दिने खसीको पल भने ठूलो र अनौठो ! मेरा लागि फोटोग्राफी बृहत् वस्तुको सानो दृष्टि होइन, बरु सानो वस्तुप्रतिको बृहत् दृष्टि हो । सृष्टिमा भएका सानासाना कुरालाई मिहिन ढंगले हेर्नु हो र साना वस्तुको विशिष्ट गहनतालाई चाखपूर्वक नियाल्नु हो । क्षणभरमा बिलाइजाने पल कैद गरेर ती पलले दिने खुसी लम्याउनु पनि हो ।

सानासाना पुतलीमा देखिने विविधता, रङको गहनता हिरक्कलाग्दो हुन्छ । व्यस्त दैनिकीमा हामी साना–साना जीवलाई देखेनदेखै गरिदिन्छौँ । पुतली सुन्दर जीव हुन् । तर, पुतली सुन्दर जीव मात्र होइन । हामीले सामान्य हिसाबमा हेर्दा एक बोटबाट अर्को बोट, एक फूलबाट अर्को फूल डुल्ने पुतली । अझ एक छिन नअडिएर प्वाँख फरफराउँदै वा तातो ढुंगामा घाम तापेर बस्ने पुतली ।


परागशेचकको रूपमा मौरीजस्तै पुतलीले पनि समग्र खाद्य सुरक्षा, पोषण सूरक्षामा अहं भूमिका निर्वाह गर्छन् र कृषि पर्यावरणीय सेवामा योगदान गर्छन् । अझ भनौँ, दिगो विकासको शून्य भोकमरीको लक्ष्यमा यी मौरी र पुतलीजस्ता साना परागशेचकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् ।


बढ्दो सहरीकरण, कृषिमा बढ्दो बिषादीको प्रयोगले पुतलीजस्ता हितकारी जीवलाई नकारात्मक असर परिरहेको छ । वैज्ञानिकले पुतलीको व्यवहार परिवर्तनलाई स्थानीय वातावरणको अवस्था मापनको सूचकांकको रूपमा समेत लिन्छन् । पुतलीको भविष्य संकटमा छ । यसले हामीसम्म चुनौती ल्याउनेछ ।


हामीले अब पुतलीजस्ता साना तर पर्यावरणमा योगदान गर्ने जीवलाई चिन्न, चिनाउन र जोगाउन जरुरी छ । हामी ठूला–ठूला कुरा खोजिबस्छौँ, खुसी हुन पनि बृहत् कारण खोज्छौँ । तर, खुसीको स्वरूप साना–साना कुरामा हुन सक्छन् भन्ने याद गर्दैर्नौँ । मलाई लाग्छ, जिन्दगीमा साना कुरामा ठूलो खुसी खोज्ने प्रयास जारी राख्नुपर्छ । मैले त्यस्तै साना खुसी खोज्ने प्रयासलाई फोटोग्राफीमार्फत जीवन्त राख्ने कोसिस गरेको छु ।

प्रकाशित : फाल्गुन ३, २०७६ १२:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×