१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

मनोरञ्जन व्यापारी

“रत्नाकर” बाट “वाल्मीकि” बनेका मनोरञ्जन व्यापारीको लेखकीय छलाङ ।
दिनेश काफ्ले

सन् १९८०/८१, कलकत्ता ! हातहतियारको कारोबार गरेको र शान्ति भंग गरेको आरोपमा दुई वर्षर् जेलको हावा खाएर भर्खरै छुटेका मनोरञ्जन व्यापारी आफ्नो पुरानो काममा फर्केका थिए– रिक्सा चलाउने । यात्रु हुँदा तिनलाई गन्तव्यसम्म पुर्‍याउँथे, अनि नहुँदा यात्रु सिटमा उपरखुट्टी लाएर किताब पढ्थे ।

मनोरञ्जन व्यापारी

एक दिन दिउँसोको खाना खाइवरी सधैंझैं किताब पढिरहेका बेला एउटी भद्र महिला उनको रिक्सा चढ्न आइपुगिन् । उनलाई जानु थियो, जादवपुर ।


पढ्दै गरेको किताब व्यापारीले यात्रु सिटमुनि थन्क्याए । यात्रुलाई सिटमा बस्न भने र रिक्सा हुइँक्याए जादवपुरतिर । रिक्साको पाइदान ठेल्दै गर्दा अघि पढ्दै गरेको किताबमा भेटिएको एउटा शब्द सम्झें, जसको अर्थ उनले बुझेका थिएनन् । सोचें– यी भद्र महिला प्राध्यापकजस्ती देखिन्छिन् । यिनलाई पक्कै थाहा होला ।


‘दिदी, जिजीविषाको अर्थ के हो ?,’ उनले सोधे ।


‘जिजीविषा भनेको जीवन जिउने उत्कट इच्छा हो,’ यात्रुले अर्थ्याइन् । ‘तर, तिमीले कहाँ सुन्यौ यो शब्द ?’ आम बोलीचालीमा खासै प्रयोग नहुने शब्दको अर्थ एक रिक्सा चालकले सोध्दा उनी छक्क परेकी थिइन् ।


‘एउटा किताबमा ।’


‘कति पढेका छौ ?’


‘म स्कुल नै गएको छैन ।’


‘त्यसो भए कसरी पढ्न सिक्यौ त ?’


‘आफैँ ।’


‘म एउटा जर्नल छाप्दछु, जसमा तिमीजस्तै कर्मठ मानिसहरू लेख्छन् । के तिमी पनि लेख्छौ ? लेख्यौ भने म छापुँला ।’


व्यापारी एउटा पाठक मात्रै थिए । आफू पनि लेख्न सक्छु भन्ने उनले सोचेकै थिएनन् । ‘मसँग त्यस्तो लेख्नलायक के नै पो होला र खै ?,’ उनी अन्कनाए ।


‘तिम्रो रिक्साचालक जिन्दगीबारे लेख न ! कति कमाउँछौ ? कमाइले खर्च टर्छ कि टर्दैन ? यस्तै यस्तै !’
‘ल म कोसिस गर्छु, सकें भने लेखेर ल्याउँछु । बरु ठेगाना दिनुस् न !’


यात्रुले एउटा चिर्कटोमा आफ्नो नाम–वतन लेखेर दिइन् ।


‘ओहो, तपाईं ?’ चिर्कटोमा लेखिएको नाम देखेर व्यापारीको होस–हवास उड्यो । ती भद्र महिला थिइन्— महाश्वेता देवी । अघि भर्खरै पढ्दै गरेको किताब ‘अग्निर बा’ की लेखिका । त्यही किताबमा त हो उनले ‘जिजीविषा’ शब्द फेला पारेको !


बंगाली साहित्यकी मूर्धन्य लेखिकासँगको त्यो भेट व्यापारीको जीवनको एउटा महत्त्वपूर्ण घटना थियो । त्यही भेटले उनलाई रिक्साचालकबाट लेखक बन्ने यात्रा तय गरिदियो ।


‘बर्तिका’ जर्नलको सन् १९८१ को जनवरी–मार्च अंकमा उनको लेख छापियो, ‘रिक्सा चलाई’, अर्थात् ‘म रिक्सा चलाउँछु’ । लेख छापिएपछि साहित्यानुरागीमाझ हंगामा भयो— को हो यो मनोरञ्जन व्यापारी ? कहाँ भेटिन्छ मनोरञ्जन ?


जादवपुर विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी उनलाई खोज्दै आउन थाले । उनको अन्तर्वार्ता लिए, उनीसँग साहित्य विमर्श गरे । उनको लेखबारे लेख छापे ।
...
सन् २०१८ को मार्च महिनाको एक साँझ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको आर्ट्स एन्ड एस्थेटिक्स विभागको प्रेक्षालयमा मनोरञ्जन व्यापारी त्यहाँका विद्यार्थी र शिक्षकहरूसँग भलाकुसारीका लागि आए । घिउ रङको कुर्था पैजामा र कालो चप्पल लगाएका, काँधमा आगोछा र झोला भिरेका उनी मञ्चमा उक्ले, अनि झोलाबाट एक दर्जन जति किताब निकालेर मञ्चको अघिल्लो छेउमा फिँजाए ।


सामान्यतया दिल्लीका साहित्यिक कार्यक्रममा भेटिने लेखकभन्दा उनको हुलिया र हर्कत भिन्न थियो । कार्यक्रममा जाँदा आफ्ना किताब आफैँ लैजाने र बेच्ने लेखकको जमाना हराइसक्यो । दुई–चार सयप्रति किताब आफैँ छाप्ने अनि सके बेच्ने, नसके साथीभाइलाई बाँड्ने लेखकको दुखियारी छवि बदलिइसकेको छ । आजभोलि एजेन्टले प्रकाशक खोजिदिन्छन्, अनि प्रकाशकले छाप्ने, बेच्ने, साहित्यिक कार्यक्रम या अन्तर्वार्ताका लागि समय मिलाइदिने सबै काम गरिदिन्छन् । चल्तीका लेखकहरू साहित्यिक कार्यक्रममा जाँदा प्रकाशकले किताब बेचुवा टोली छुट्टै पठाउँछन् । लेखकको काम त केबल कार्यक्रममा बोल्ने, गफगाफ गर्ने अनि वाइन पिएर बिदा हुने रहन्छ ।


त्यसैले लेखक मनोरञ्जन व्यापारीले आफ्ना किताब आफैँ ल्याएर फिजाउँदा एकै छिन त लाग्यो— कहाँबाट आए यी पुरानो ढर्राका लेखक ? तर, उनी सचेत रहेछन्— बंगालीमा लेखिएका (अनुवादबाहेक) उनका किताब जहाँकहीँ सजिलै पाइँदैनन्, त्यसैले पाठकको हितकै लागि उनले किताब लगेर बेचिदिनुपर्छ । त्यसैबाट बाटो खर्च निस्के त झन् राम्रो ।


उनी अंग्रेजी नबोल्ने, उनको बंगला सबैले नबुझ्ने । अंग्रेजी बोल्न सक्नेहरूको बोलवाला रहेको उक्त ‘एलिट’ प्रेक्षालयमा बंगाली लवजको हिन्दीमा धमाकेदार प्रस्तुति दिएर त्यस साँझ उनले एक किसिमको क्रमभंग गरे ।


त्यसो त जेएनयू मात्र नभएर पूरा भारतकै साहित्यिक वृत्तमा उनले धमाकेदार प्रवेश गरेका थिए तिनताक । वर्षको सुरुआतमा उनको आत्मकथा ‘इन्टेरोगेटिङ माई चन्डल लाइफ’ शिल्पा मुखर्जीको अंग्रेजी अनुवादमा छापिएको थियो । त्यसै वर्षको जयपुर साहित्य महोत्सवमा उनी भारतीय साहित्यको ‘अन्डरडग’ को रूपमा आए ।

अमेजन–वेस्टल्यान्ड प्रकाशकले उनका सबै किताब अंग्रेजी अनुवादमा छाप्ने घोषणा गर्‍यो । वर्षको अन्त्यतिर उनको उपन्यास ‘देअर इज गनपाउडर इन द एअर’ अरुणभ सिन्हाको अनुवादमा आयो । लगालग दुई किताब अंग्रेजीमा आएपछि र साहित्य महोत्सवको ‘डार्लिङ’ भएपछि त अघिल्लो वर्षसम्म बंगाली साहित्य वृत्तभित्र मात्र सीमित व्यापारीको परिचयले अग्रगामी छलाङ नै मार्‍यो ।


‘हेर्नुस्, म त अनपढ मानिस परें । कहिल्यै विश्वविद्यालय गएको छैन । तपाईंहरू यति ठूलो विश्वविद्यालयमा पढ्नुहुन्छ, खुब धेरै किताब पढ्नुभएको छ । तपाईंहरूसँग कस्तो प्रश्न छ, जसको उत्तर किताबमा भेट्नुभएन र एक अनपढसँग सोध्न चाहनुहुन्छ ?’ कार्यक्रमको सुरुआतमै व्यापारीले सोधे ।
अनि आफैँले उत्तर दिए, ‘त्यसो त प्राज्ञिक क्षेत्रमा मेरो ज्ञान तथा अनुभव तपार्इँको काम नआउला तर जीवनमा भने पक्कै आउँछ ।’


आमलेखक या बौद्धिकको बारेमा हामीले सामान्यतया बनाउने ‘इमेज’ उनी पहिलो भेटमै भत्काइदिन्छन् । रिक्सा चलाएर र फरक क्षमताका केटाकेटीको विद्यालयका भान्सेका रूपमा बडेमाका डेक्चीमा डाड–पन्यु घुमाएर बनेको उनको पुग–अपुग ७० वर्षे शरीर हृष्टपुष्ट देखिन्छ । लेखक कम, कुस्तीबाज बढी देखिन्छन् । चपाई–चपाई भाषामा बोल्ने स्वभाव छैन । ‘दबंग’ हाउभाउ छ, दमदार छ बोली । हिन्दी शब्द सापटी लिएर भन्नुपर्दा उनको व्यक्तित्वमा ‘कडकपन’ छ ।


कडकपन त उनको जन्मजात लक्षण नै हो । उनी जन्मँदा उनका बुबासँग सुडेनीले एक थोपो मह मागिन् । नवजात शिशुलाई एक थोपो मह चखाइदियो भने उसको जीवनमा सधैंभरि मीठास रहन्छ भन्ने जनविश्वास थियो उनीकहाँतिर । तर, बिहान खाए बेलुका के खाउँला भन्ने चिन्ता गर्नुपर्ने हरितन्नम परिवारले एक थोपो महको जोहो गर्न सकेन ।


‘म जन्मँदा एक थोपो मह पनि चाख्न पाइनँ । त्यसैले मेरो जीवनमा मीठास आएन । मैले आफ्नो जिन्दगी अभागी दलित बाउको अभागी दलित छोरोको रूपमा जिएको छु, तिक्ततापूर्ण जीवन जिउन बाध्य भएर । म चाहन्छु कि मीठा–मीठा कुरा गरूँ, तर मेरो जीवन नै यति तीतो छ कि म चाहेर पनि कसैलाई प्रेम गर्न सक्दिनँ, मीठो बोल्न सक्दिनँ । आखिर साँपको चुम्बन पनि त विषालु हुन्छ । यो मेरो दुर्भाग्य हो,’ उनी भन्छन् ।


त्यो तिक्तता, त्यो कडकपनले नै उनको सीर्जनशील लेखनलाई ऊर्जा दिएको छ ।
...
मनोरञ्जन व्यापारी पूर्वी पाकिस्तान (अहिलेको बंगलादेश) को बरिसाल जिल्लामा सन् १९५० तिर जन्मेका हुन्, एक–दुई वर्ष तलमाथि हुन सक्छ, किनकि ठ्याक्कै मिति र वर्ष उनलाई थाहा भएन । उनको परिवार सन् १९५३ मा भारतको पश्चिम बंगालमा बसाइ सरेको थियो । हरितन्नम परिवारले उनलाई स्कुल पठाउन सकेन, त्यसैले पाखुरा चल्ने भएदेखि नै उनी काम खोज्न घरबाट भागे ।


अधिकांश भगौडा पुग्ने पहिलो मुकाम हो— रेल अड्डा । कलकत्ता रेलवे स्टेसनमा उनी भरिया बने । खुब दुःख पाए । अति भएपछि कसैको पछि लागेर काम खोज्दे आसाम गए । त्यता पनि दुःख पाए, अनि कलकत्तै फर्के । रिक्सा चलाए । दिनभरि रिक्सा चलाउँथे, साँझ परेपछि भट्टी पस्थे, भट्टीबाट निस्केपछि सडकमा मारपिट गर्थे ।


एक गरिब, दलित तथा अशिक्षित व्यक्तिले विद्यमान सामाजिक व्ययस्थाभित्रबाट आफ्नो जीवन माथि उकास्न सक्दैन भन्ने कुरा उनले आफ्नो भोगाइबाट बुझिसकेका थिए । यस्तैमा कसैले उनलाई उक्सायो, ‘यो पाराले जिन्दगी चल्दैन, हिँड् नक्सलबारी । त्यहाँ विद्रोह चलिरहेको छ । खान लाउन दुःख हुँदैन ।’


त्यसरी उनी सन् १९७० को दशकमा चारु मजुम्दार र कानु सन्यालले नक्सलबारीबाट सुरु गरेको नक्सल विद्रोहमा होमिए । राजनीतिक चेतले भन्दा पनि सुरुमा त उनी साथीको लहैलहैमा लागेर होमिएका थिए । अनि चिया पसलमा गिलास माझेर, रेल अड्डामा भारी बोकेर, रिक्सा चलाएर गुजारा गर्न हम्मे–हम्मे भएको अवस्थामा विद्रोहमा लागे राहत मिल्ला भन्ने आशा थियो । अझ भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का कार्यकर्ताले नक्सली भनेर पहिले नै भक्कुमार गोदेपछि नक्सली बन्नुबाहेक अरू उयाय उनीसँग थिएन । विद्रोहको भाष्य त उनले पछि आएर मात्रै सिके, जब उनी किताब पढ्न–लेख्न सक्ने भए ।


आफ्नो पुस्तक ‘इन्टेरोगेटिङ माई चन्डल लाइफ’ मा उनले यस विषयमा थप लेखेका छन् । ‘भारतमा हामीले देखेका करिब २०० वटा साना–ठूला आदिवासी तथा किसान विद्रोहहरू ‘दास कापिटल’ वा ‘रेड बुक’ नपढेका ती आम मानिसले सुरु गरेका हुन् । जीवनको यथार्थले नै उनीहरूलाई विद्रोहमा लाग्न प्रेरित गरेको हो, न कि कुनै सिद्धान्तले ।’


सन् १९७० को दशकमा नक्सल विद्रोहले बंगाल थर्काएको थियो । पढे–लेखेका युवा वर्गरहित समाज निर्माण गर्न विश्वविद्यालय या नोकरी छोडेर विद्रोहमा होमिएका थिए । मजदुर, किसानले गरिबीको बन्धन तोड्न कुटो–कोदालो त्यागेर बन्दुक समाएका थिए । आर्थिक र सामाजिक चेपुवामा परेका मनोरञ्जन पनि लहैलहैमा लागेका थिए ।

तर, नक्सली हुन सजिलो कहाँ थियो र ? उनको परिवार मोहल्लाबाट निकालिएर घरवारविहीन भयो, बाबु रोगले थलिँदै गए र भाइ ‘नक्सलीको भाइ’ को आरोपमा मारिने डर भयो । नक्सलवादबाट पनि भागेर उनी पुगे दण्डकरण्य, जहाँ पूर्वी पाकिस्तानबाट आएका शरणार्थीलाई राखिँदै थियो । शरणार्थी शिविरमा पनि आखिर सुख कहाँ छ र ? उनको नियति थियो— त्यहाँबाट पनि भाग्नु ।


भागादौडी, लुकाछिपी, गुण्डागर्दीमै बिताइदिए, उनले आफ्नो १९७० को पहिलो दशकको जिन्दगी । सन् १९७५ वा १९७६ मा त प्रहरीले उनलाई पक्राउ नै गर्‍यो दुई वर्ष जेल कोच्यो, कानुनी उपचारबेगर ।
महाश्वेता देवीसँगको भेट असलमा उनको जीवनको दोस्रो महत्त्वपूर्ण घटना थियो । पहिलो घटना त जेलमा भएको थियो । जेलमा व्यापारीको ‘दोस्ती’ थियो एक पढे–लेखेका कैदीसँग । व्यापारी अनपढ भएको थाहा पाएपछि ती कैदीले व्यापारीलाई पढाउने जिम्मेवारी लिए । जेलरलाई भनेर कापीकिताब मिलाइदिए ।


चौबीस वर्षको उमेरमा बल्ल व्यापारीले कखरा सिके ।


‘जेल मेरो विश्वविद्यालय हो,’ उनी भन्छन् ।


जेल जीवन उनका लागि वरदान भैदियो । जेलभित्र लागेको पढाइको प्यास मेट्न यताउता भौंतारिन थाले । रेल्वे स्टेसनका अखबार र पत्रिका आद्योपान्त पढ्थे, अनि जस–जसकहाँ पढ्न पाइन्छ, उसैकहाँ जान्थे । होमियोपेथिक उपचार विधिदेखि एस्ट्रोलोजीसम्म, मार्क्सवादी साहित्यदेखि कोकशास्त्रसम्म । विद्यासागर पुस्तकालयको सदस्यता लिएर ताराशंकर, विभूतिभूषण बन्द्योपाध्याय, माणिक बन्द्योपाध्याय, रवीन्द्रनाथ टैगोर, शरतचन्द्र चटोपाध्याय, महाश्वेता देवी आदिका रचना पढे । बुझे— किताबले त अर्कै संसार देखाउन सक्दो रहेछ ।


पढाइको प्यास मेट्न सजिलो थियो, तर भोको पेट कसरी पाल्ने ? उनी ज्यान पाल्नका लागि फेरि रिक्सा चलाउन थाले ।


तर, पहिलेको रिक्सा चलाई र अबको चलाइमा फरक थियो । पहिले आफ्नो रिक्साको प्यासेन्जर सिटमा उनी तरबार राख्थे । अब त्यहाँ किताब राख्न थाले ।


‘मैले आफूलाई बारम्बार सम्झइरहनुपर्थ्यो कि मभित्रको डाँकु रत्नाकरलाई त्यागेर एउटा यस्तो रत्नाकरमा परिणत गर्नु थियो, जो पछि गएर वाल्मीकि बन्यो,’ उनी भन्छन् ।


चौबीस–पच्चीस वर्षको उमेरमा पढ्न सिकेर तीस–एकतीस वर्षको उमेरमा साहित्यमा पहिलो खुट्किलो टेकेसँगै उनको विद्रोहको स्वरूप पनि बदलियो । उनी पहिले गुण्डा थिए, अब ‘गान्धी’ भए ।


उनी भन्छन्, ‘जेल जानु र लेख्न थाल्नुभन्दा पहिले म सोच्थें, कोही–कोही मानिस यो दुनियाँमा बाँच्नलायक छैनन् । तिनलाई नमार्ने हो भने तिनले अरू हजारौं मानिसको जीवन बर्बाद गरिदिन्छन् । तर, उमेर बढ्दै गएपछि बुझ्दै गएँ, मैले सोचेझैं हुँदो रहेनछ । त्यसैले, जसलाई मार्न चाहन्थें, तिनलाई आख्यानका पात्र बनाएर मारें ।’


पछिल्ला चालीस वर्षमा उनको कलमरूपी हतियारले आठ उपन्यास, चार संस्मरण संग्रह र पचासभन्दा बढी कथामा भित्रका कैयौं खलनायक मारिसकेको छ ।


विगत एकाध दशकमा दलित साहित्यमा चासो बढेको छ । यासिका दत्त, सुजाता गिड्ला आदि अंग्रेजीमा लेख्नेहरू ठूलै धक्का दिँदै मूलधारमा स्थान ओगटिरहेका छन् भने ओमप्रकाश वाल्मीकि, नामदेव धसलजस्ता १९८०–९० का लेखक अंग्रेजी र अन्य भाषामा अनुवादमार्फत फेरि पढिन थालेका छन् । मराठी, हिन्दी, गुजराती दलित साहित्यभन्दा पछाडि परेको बंगाली दलित साहित्य पनि अब बल्ल जुर्मुराउन थालेको छ ।


आफ्नो ठाउँ मागेर होइन खोसेरै लिने हो भन्ने मनोरञ्जन व्यापारी आएपछि यस्तो लाग्दै छ, पहिले मै हुँ भनेर साहित्यको मूल बाटो ओगटेर बस्नेहरू अब ‘रस्ता खाली करो, भाइ आ गया’ भनेर ‘साइड’ लाग्दै छन् ।


जागिरे जीवनबाट निवृत्त भएका उनी अहिले फुर्सदमा छन् । र, नै त झन् भयाई–नभ्याई छ— पत्रिकालाई अन्तर्वार्ता दिन, साहित्य महोत्सवमा बोलिदिन, पुरस्कार थापिदिन । एकताका जादवपुर विश्वविद्यालयको गेटबाहिर रिक्सामा यात्रु कुरिबस्ने उनको साहित्यको समालोचना त्यही विश्वविद्यालयको ‘कम्प्यारटिव लिटरेचर’ विभागको जर्नल (वर्ष ४६, पेज २५–३७) मा हालसालै छापिएको छ ।

त्यसैले त विद्यार्थीको रूपमा विद्यालय छिर्नै नपाएका उनलाई जीवनको उत्तरार्द्धमा आएर लाग्न थालेको छ— जीवन खेरै गएको चाहिँ होइन, गाँठे !

प्रकाशित : मंसिर २८, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?