उडान नं. आईसी–८१४- कोसेली - कान्तिपुर समाचार

उडान नं. आईसी–८१४

मनबहादुर बस्नेत

दुई घण्टा ढिलो भएपछि विमानकी सहयात्री रचना कत्यालसँग चिनापरिचय भयो, शान्ति श्रेष्ठको  । नवविवाहित कत्याल दम्पती हनिमुनमा काठमाडौं आएको चुराबाट चिनिन् शान्तिले  ।

कुरैकुरामा शान्तिले रचनासँग भनिन्, ‘कहिल्यै प्लेन चढेको छैन । एकदमै डर लागिरहेको छ ।’
‘चिन्ता नगर्नू, हामी छौं नि,’ सँगै श्रीमान् भए पनि रचनाले ढाडस दिएपछि शान्ति थप ढुक्क बनेकी थिइन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट उडेको जहाज केहीबेरमै आतंकवादीको कब्जामा पर्‍यो । ९ पुस ०५६ मा यस्तो त्रास भोग्ने विमानमा श्रेष्ठसहित १ सय ७६ यात्रु र १५ सदस्यीय चालक दल थिए । त्यसमध्ये ८ जना नेपाली ।

इन्डियन एअरलाइन्सको आईसी– ८१४ विमान उडेको १५ मिनेटमै मास्क लगाएका हतियारधारीले हलचल नगरी टाउको निहुराउन आदेश दिए । पाइलटलाई पेस्तोल तेर्स्याए । विमान दिल्लीतिर होइन, जताजता अपहरणकारीले भन्छन् उतैउतै उड्न थाल्यो । अपहरण शब्द सुन्नासाथै शान्तिले आफूले लगाएका गरगहना पोको पारेर अपहरणकारीको हातमा राख्न खोजिन् । ‘आफैं राख्नू,’ अपहरणकारीले सुन बेवास्ता गर्‍यो ।

विमान अपहरणमा परेको दिल्लीस्थित नेपाली दूतावासले खबर पायो । राजदूत भेषबहादुर थापा जयपुर गएकाले दूतावासका उपप्रमुख मदनकुमार भट्टराई प्रमुखको जिम्मेवारीमा थिए । ‘तुरुन्तै परराष्ट्र मन्त्रालयमा खबर गरें,’ भट्टराई सम्झन्छन् । भट्टराई भारतीय सूत्रमार्फत अपहरणको सूचना अपडेट गर्दै नेपाल पठाउँथे । अपहरित विमान अमृतसर विमानस्थलमा तेल भर्न अवतरण भयो । ‘त्यहाँ भारतले अपरेसन गरेर यात्रुको उद्धार गर्लाजस्तो लागेको थियो । त्यस्तो अपुष्ट सूचना आएको पनि थियो,’ भट्टराई सम्झन्छन्, ‘तर, त्यहाँ केही नभएपछि हामीले माया मार्‍यौं ।’

अमृतसरमा अवतरण हुँदा भारतका लागि आफ्नो भूमिबाट विमान उम्कनुअघि नै द्रुत गतिमा रणनीतिक काम गर्ने चुनौती थियो । उद्धार अपरेसन गर्ने तयारी गरिरहेका भारतीय अधिकारीहरूमा भने विमानभित्र रहेका आफ्नो खुफिया संस्था रअका एक जना अधिकारी अपहरणकारीको पहिलो निसाना हुन सक्ने भय थियो । तर, कमाठमाडौं मिसनमा काम गर्ने रअका शशिभूषण सिंह तोमार विमानभित्र छन् भन्ने अपहरणकारीलाई पत्तै थिएन । तोमारले पनि आफूलाई लो प्रोफाइलमा राखेर त्यस्तो सुइँको नदिएको रअका पूर्वप्रमुख एएस दुलतले आफ्नो संस्मराणात्मक पुस्तकमा लेखेका छन् । यस्तो अनुमानले आफ्नो भूमिभित्रै विमान छँदा भारत रणनीति चाल्न चुक्यो ।


पर्याप्त इन्धनबिनै अमृतसरबाट विमान उड्यो । इन्धन भर्न नजिकै सीमापार पाकिस्तान लाहोरको विमानस्थलमा अवतरण गर्न खोज्यो । तर, अनुमति पाएन । बलजफ्ती बस्न खोज्दा विमानस्थलले बत्ती निभाइदियो । विमान चालकले नजिकैको सडकतिर अवतरण गर्न खोजेपछि फेरि बत्ती बालियो र विमान बस्यो । ‘त्योबेला मैले आँखा चिम्लिएँ,’ अपहरित विमानभित्र रहेकी शान्ति सम्झन्छिन्, ‘आँखा खोल्दा आफूलाई जिउँदै पाएँ । सपनाजस्तो भयो । ती पाइलट भगवान् हुन् । सडकमै ठोक्किइसकेको विमानलाई जोगाएर फेरि धावनमार्गमा पुर्‍याए ।’

त्रासद ती दिन
अपहरणलगत्तै यात्रुको आँखामा बाँधिएको पट्टि अपहरणकारीले कहिले खोल्न भन्थे, कहिले बाँध्न । केही पश्चिमा यात्रुको त हातसमेत बाँधिदिएका थिए । आपसमा चिनजान भएका, एउटै भाषा बोल्नेलाई एकै ठाउँ बस्न दिएनन् । ‘श्रीमान्लाई पछाडि लगे । मलाई अगाडि राखे । यसैगरी सबैलाई छरपस्ट पारे,’ श्रेष्ठ भन्छिन्, ‘हामी एकअर्कालाई देख्नसमेत नपाउने भएपछि म बेस्सरी रोएँ ।’
विमान लाहोरबाट संयुक्त अरब इमिरेट्स पुर्‍याइयो । त्यतिबेलासम्म एक जना भारतीय यात्रु रूपेन कत्याललाई अपहरणकारीले चक्कु प्रकार गरेर मारिदिए । यो घटनाको ८ दिनपछि अपहरणमुक्त हुँदासमेत उनकी श्रीमती रचनालाई थाहा थिएन । जहाज चढ्न डर लाग्छ भन्दा श्रेष्ठलाई केही हुँदैन भनेर बल दिने रचना स्वयं जीवनको अपूरणीय खतिले पुरिएको उनैलाई थाहा भएन ।
दुबईमा भारतले अपहरणकारीविरुद्ध अपरेसनको तयारी गरेको थियो । हातहतियारसहित स्पेसल एक्सन ग्रुपका ५२ जनाको टोली तैनाथ थियो, हवाई फौजको आईएल–७६ विमानमा । तर, दबईले अनुमति दिएन ।

शान्ति श्रेष्ठ

अपहरणपछि कहाँकहाँ पुगियो श्रेष्ठले पत्तो पाइनन्, अमृतसरबाहेक । कहिले बेस्सरी गर्मी हुन्थ्यो । कहिले आँत काप्ने जाडो । ‘एक ठाउँमा त अति गर्मी भएपछि आङका कपडा नै च्यातिदिएँ,’ भन्छिन् । अपहरणकारी पेस्तोल, बमसहित विमानभित्र डुलिरहन्थे । शान्तिले पाँच अपहरणकारीमध्ये एक अलि नम्र स्वभावको भएको भेउ पाइन् । डिप्रेसनकी बिरामी शान्तिले औषधि खानुपर्थ्यो । औषधि खान पाए निदाइएला र यो त्रासबाट केहीबेर भए पनि मुक्ति मिल्ला भन्ने सोचिन् । त्यसैले नम्र स्वभावको अपहरणकारी नजिकै आएको बेला समस्या सुनाइन् । उसले कञ्चटमा पेस्तोल ताकेर झोला भएको ठाउँमा पुर्‍यायो । ‘जे गरे पनि मर्ने नै हो । बरु औषधि खाएर मर्छु भनेर आँट निकालेकी थिएँ,’ उनले भनिन्, ‘मेरो भाग्य, झोला माथि नै रहेछ ।’ यो औषधि खाएपछि निद्रा पर्ने थाहा पाएका अन्य यात्रुले पनि उनको औषधि मागे ।

अपहरणकारीले दुई–तीन पाना बिस्कुट एअर होस्टेजलाई बाँड्न लगाउँथे । त्यही बेला मात्र पानी एक–दुई घुट्को दिन्थे । अपहरणकारीले बाँड्न लगाएका खानेकुरा एअरहोस्टेजले नेपालीलाई दिन नमानेको शान्ति बताउँछिन् । ‘दिए पनि गाली गर्दै दिने,’ भन्छिन् । नेपालीप्रति यस्तो रूखो व्यवहार भारतीय यात्रुले पनि देखाए । ‘तिमीहरूको देशमा सुरक्षा राम्रो नभएकाले हामीले दुःख पायौं,’ अधिकांश भारतीय यात्रुको व्यवहार सम्झँदै उनी भन्छिन् ।

यस्तो आरोप भारतले दिल्लीमा पनि लगाउँदै थियो । अपहरणको भोलिपल्टदेखि त्यहाँका राजनीतिक दलसम्बद्ध विद्यार्थी/युवा संगठनले दिल्लीको नेपाली दूतावास अगाडि प्रदर्शन थाले । दूतावासमा ज्ञापन बुझाए । भारतीय टेलिभिजन च्यानल जीन्युजले त अपहरित नेपाली यात्रु गजेन्द्र ताम्राकारलाई अपहरणकारी करार गरेर समाचार प्रसारण गरेको थियो । ‘नेपालको सुरक्षा चुक्नुमा आफ्नो विमान अपहरण भएकोले छानबिन गर्न ज्ञापन दिएका थिए,’ पूर्वपरराष्ट्रसचिव समेत रहेका भट्टराई भन्छन्, ‘दूतावासअगाडि उनीहरूले विरोध पनि गरे ।’

बिस्कुट र पानीको भरमा हिँडाइरहेका अपहरणकारीले यात्रुलाई अचानक नानरोटी दिए । अफगानिस्तानबाट पाकिस्तान आउने शरणार्थीलाई सहायता गर्ने एक संस्थामा कार्यरत एक नेपालीले उक्त खाना अफगानी भएको चिनेछन् र अन्य यात्रुले आफूहरू अफगानिस्तानमा रहेको चाल पाए । जहाज बिसाइएको विमानस्थल थियो, कान्दहर । यही ठाउँमा अपहरणकारी संस्था इस्लामिक आतंकवादी समूह हर्कत उल मुजाहिद्दिन र भारत सरकारबीच वार्ता भयो । मध्यस्थता अफगानिस्तानको तालिबानी सरकारले गरेको थियो ।

१२ पुस । भारतीय सरकारी अधिकारीले तालिवान सत्तासँग पहिलोपटक सम्पर्क गरेको दिन ।
तालिावानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको ९० प्रतिशत भूगोल कब्जामा लिएर आफ्नो सरकार चलाएको थियो । संयुक्त राष्ट्रसंघले भने बाँकी १० प्रतिशत अफगानिस्तानमा राज गरिरहेको नर्दन एलाइन्सको सरकारलाई वैधता दिएको थियो । पाकिस्तान, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाले मात्रै तालिवान सत्तालाई मान्यता दिएका थिए । इस्लामावादबाट नेपाली कूटनीतिज्ञ युगनाथ शर्मा पौडेल (हाल दिवंगत) समेत कान्दाहर पुगेका थिए । ‘तर, हामीले त्यहाँ गर्न सक्ने केही थिएन,’ भट्टराई भन्छन् ।

अपहरणकारीले भारतीय जेलमा थुनिएका आफ्ना नेता तथा कमान्डर छोड्नुपर्ने र २ सय मिलियन डलर फिरौती दिनुपर्ने सर्त राख्यो । विमानमा विश्वको मुद्रा छपाइको ९० प्रतिशत हिस्सा ओगट्ने कम्पनी द ला रियु जिओरीका मालिक रोबर्टो जिओरी दम्पती पनि थिए । तर, कसैलाई थाहा थिएन, यो जोडीले सर्लक्क यति रकमको चेक त्यही काटिदिन सक्छ भन्ने । यो दम्पतीलाई छुटाउन एउटा स्विस टोली कान्दाहर पुगेको थियो ।अन्ततः ६ दिनको वार्ताबाट मुजाहिद्दीनका नेता मौलाना मसुद अजहर, अहमद ओमार सइन शेख, मुस्ताक अहमद जरगारलाई छोड्न भारत राजी भयो । बदलामा बन्धक यात्रु छोडिए ।

क्रिसमस इभमा अपहरित यात्रु न्यु इअर इभमा दिल्ली उत्रिए ८ दिनमा । नेपाली दूतावासका चारवटा गाडी नेपाली यात्रु लिन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ थिए । दूतावासले ७ जनालाई ल्यायो । तर, एक जना छुटे । भट्टराई भन्छन्, ‘भारतमा नेपालीका लागि भिसा नचाहिने भएकाले ती यात्रु विमानबाट ओर्लेर कतै गएका हुन सक्छन् ।’ उनी को थिए ? भट्टराईलाई सम्झना छैन । आफ्ना यात्रु मुक्त भएको खुसीमा दूतावासको चउरमा सानोतिनो न्यु इअर पार्टी राखियो । आफन्तलाई फोन गर्ने सुविधा दिइयो । ‘उनीहरूले ४ घण्टासम्म फोन प्रयोग गरे,’ भट्टराई सम्झन्छन् । त्यसपछि दूतावासले परराष्ट्रमन्त्री रामशरण महतको आदेशमा सबैलाई सरकारी खर्चमा टिकट काटेर काठमाडौं पठायो ।

त्रासद घटनाबाट उम्किएकी शान्तिलाई अहिले पनि विमान चढ्दा त्यो दिनले झस्काउँछ । घटनाको १० वर्षपछि अमेरिकाको टेक्सासमा रहेका छोराबुहारी भेट्न जाँदा आफू त्यति लामो यात्रा अनिदै गुजारेको सुनाउँछिन् । ‘अब हामीलाई नर्क गइराख्नुपर्दैन । त्यही बेला देखियो,’ उनलाई यस्तै लाग्छ । शान्तिले पछि चाल पाइन्, अपहरणकारी अरू यात्रुसँगै थिए काठमाडौं विमानस्थलमा । ‘उनीहरूका झोला लामालामा र ठूला थिए,’ शान्ति २० वर्षअघि फर्किइन्, ‘हाम्रो लगेज एक्सरेमा जाँच भयो । तर उनीहरूका त्यत्रा झोला त्यत्तिकै पास भएका थिए ।’ दुई दशकअघि टीआईएको सुरक्षा कति लापरबाहीपूर्ण रहेछ ? श्रेष्ठको अनुभव काफी छ । विमान अपहरणको योजना अजहरका भाइले बनाएका थिए । १० जनाले एक वर्ष विभिन्न मुलुकका विमानस्थल अध्ययनपछि नेपाललाई अनुकूल ठहर्‍याएका थिए ।

टीआईएको सुरक्षा चिन्ता दुई दशकपछि पनि उस्तै छ । अमेरिकी विदेश मन्त्रालयले कात्तिकमा जारी गरेको आतंकवादसम्बन्धी प्रतिवेदनमा टीआईएको सुरक्षाबारे यात्रीको प्रि–स्क्रिन नहुने, शरीर जाँच सामान्य खालको रहेको लगायतका आधा दर्जन गम्भीर त्रुटि औंल्याइएको छ । यस्तो खोट अमेरिकाले नेपालबाट विमान अपहरणको दुई वर्षपछि सन् २००२ देखि निरन्तर औंल्याउँदै आए पनि सुधार मन्द छ । लागूऔषध, सुन तस्करीदेखि नक्कली नोट ओसारपसारमा यही मार्ग अत्यधिक प्रयोगमा छ । ‘विमानस्थलको सुरक्षा भरोसायोग्य छैन,’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘सुरक्षाका धेरै मापदण्ड पुर्‍याउन सकिएको छैन ।’ विमान अपहरण काण्डले थुप्रै रहस्यमयी प्रश्नहरू जन्माएर गएको छ । र, यी प्रश्नहरूको जवाफ अनुमानमा मात्रै भेटाउन सकिनेछ ।

प्रकाशित : पुस २६, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्

९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ कहाँ थियो ?

कान्तिपुर संवाददाता

मार्टिन चौतारीसँग सम्बद्ध इतिहासकार तथा अध्येता प्रत्यूष वन्त ‘समाज अध्ययन’ र ‘सिन्हास’ जर्नलका एकजना सम्पादक हुन्  । उनको लेखन, सम्पादन र सहसम्पादनमा मिडिया, समाज र इतिहाससँग सम्बन्धित थुप्रै पुस्तक प्रकाशित छन्  ।

नेपाली राष्ट्रवादको इतिहासमा विद्यावारिधि गरेका वन्तसँग पृथ्वीनारायण शाहको नायक–निर्माणसम्बन्धी सेरोफेरोमा सङ्गीत र दीपक सापकोटाले गरेको संवाद :

नेपाली समाज व्यक्तिपूजा र नायकपूजामा बढी रमाएको देखिन्छ । त्यस्तै नायकमध्ये पृथ्वीनारायण शाहको सबैभन्दा बढी चर्चा हुन्छ ? शाह इतिहासको कुन विन्दुदेखि आमपंक्तिमा स्थापित गरिए ?
हो, हाम्रो समाजमा नायक पूजा छ नै । यसबारे धेरैले लेखिसकेका, बोलिसकेका छन् । मैलेचाहिँ प्राज्ञिक अनुसन्धान वा पीएचडी गर्दा मेरो मनमा खेलेको एउटा साधारण प्रश्नलाई लिएको थिएँ । त्यो प्रश्न थियो— मेरो हजुरबाले स्कुल पढ्न त पाउनुभएन तर, उहाँ हुर्किंदा पनि उहाँले मजस्तै पृथ्वीनारायण शाह, भानुभक्त आचार्यको नाम सुन्दै र त्यसबारे कथा पढ्दै हुर्कनुभयो कि भएन ? म आफ्नो पीएचडीको काममा त्यही प्रश्नको उत्तर खोज्न लागें । म महेन्द्रको पालामा जन्मेको मान्छे हुँ । त्यतिबेला मैले पढेको स्कुलको किताबमा नेपालको इतिहास र नेपाली के हो भन्ने कथा कसरी आइपुगे भन्ने प्रश्नको उत्खनन गरेको हुँ । उत्खनन गर्दा दुईवटा कुरा एकदम टाँस्सिएर आएको देखियो । मेरो अध्ययनको निचोड यो हो— पृथ्वीनारायण शाह र भानुभक्त सँगै गाँस्सिएर आएका छन् । यो मैले पहिले पनि लेखे/बोलेको कुरा हो । त्यो म दोहोर्‍याउन चाहन्नँ ।

भानुभक्त र पृथ्वीनारायणको नायकत्व स्थापनाको आरम्भ सुरुमा नेपालबाहिरबाट भएको देखिन्छ । नेपालबाहिर बनारस, दार्जिलिङ, प्रवासमा बस्न गएका वा बस्न बाध्य पारिएका व्यक्तिलाई नेपाली जाति र पहिचानको खाँचो थियो । बनारसमा मोतीरामको कालमा र त्यसको लगभग ३०–३५ वर्षपछि दार्जिलिङमा सन् १९२३/२४ को हाराहारीमा नेपाली जातिको पहिचान खोज्ने क्रममा सुरुमा भानुभक्तलाई हिरो बनाइयो । त्यसपछि इतिहासकार सूर्यविक्रम ज्ञवालीले १५ वर्षको दौरानमा पाँचवटा किताब लेख्नुभयो । पहिलो द्रव्य शाहबारे, दोस्रो राम शाहबारे, तेस्रो पृथ्वीनारायण शाहबारे, चौथो बलभद्रबारे र पाँचौं अमरसिंह थापाबारे ।

मेरो अध्ययनले के भन्छ भने सुरुमा उहाँलाई भानुभक्तकै चस्को छिरेको हो । उहाँ बनारसमा जन्मेर हुर्केको भए तापनि, २० वर्षको भइसक्दासम्म उहाँले पढेको नेपालीको रामायणलाई भानुभक्तले उल्था गरेको रामायण भनेर नचिनी ‘सात–काण्ड रामायण’ का रूपमा पढ्दै हुनुहुन्थ्यो । र, उहाँ सन् १८९८ मा जन्मेको र त्यसको २० वर्षपछि मात्रै कसैले उहाँलाई यो रामायण भानुभक्तले उल्था गरेको रामायण हो र ती भानुभक्तमाथि मोतीरामले सन् १८९१ तिरै जीवनी लेखिसकेका थिए भनिदिए । त्यसपछि थाहा पाएर भानुभक्तलाई पुनः खोज्न थालेका हुन् । मैले त्यसलाई रिडिस्कभरी भनेको छु । डिस्कभरी मोतीरामले गरे, रिडिस्कभरी ज्ञवालीले । दार्जिलिङमा जब धरणीधर, सूर्यविक्रम र पारसमणिले २३/२४ मा साहित्य सम्मेलनमार्फतको काम बढाउनुहुन्छ, सुरुमा जातिको पहिचान बढाउन साहित्यकै काम अगाडि ल्याइन्छ । वीरहरूको इतिहास लेख्नुपर्छ भन्ने लागेर सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण शाहबारे लेख्नुहुन्छ ।

म सानो छँदा र हुर्किंदा पृथ्वीनारायण शाहले यो राज्य एकीकरण गरे भन्ने कथा पढें । नेपालीको मानसपटलमा पृथ्वीनारायण शाहकै पालादेखि पृथ्वीनारायणको वीरगाथा चल्थ्यो भन्ठानेर नै हामीले त्यसलाई पढ्यौं । अनुसन्धानको क्रममा चाहिँ त्यो होइन भन्ने थाहा भयो । सुरुमा अघि मैले हजुरबाको पुस्ताको उदाहरण दिएँ । सूर्यविक्रमले पृथ्वीनारायण शाहबारे लेखेको किताब सन् १९३५ मा छापिएको हो, आजभन्दा ८५ वर्षपहिले । सूर्यविक्रम बित्नुभएपछि नेपाली इतिहासकारमध्ये सबैभन्दा ठूला इतिहासकार भन्न मिल्ने (विशेषगरेर नेपालको मध्यकाल र त्यसअघिको इतिहास लेख्ने) धनवज्र बज्राचार्यले सूर्यविक्रमको स्मृतिग्रन्थमा लेखेको एउटा स्मृतिलेखमा भन्नुभएको छ, जब सूर्यविक्रमका किताब हामीले पढ्न थाल्यौं, त्यसपछि मात्र काठमान्डुमा पृथ्वीनारायण शाहबारे हामीलाई थाहा हुन थाल्यो र साथसाथै पृथ्वीनारायण शाहबाहेक आधुनिक नेपालका कुराहरू हामीलाई बढी थाहा हुन थाल्यो ।

हाम्रा हजुरबा स्कुल जान पाउनुभएन, पाउनुभएको भए सन् १९२० मा पृथ्वीनारायण शाहबारे उहाँले केही पनि पढ्नुहुन्थेन । त्यसको ५० वर्षपछि स्कुल पुगेको मैले र मेरो पुस्ताले चाहिँ पृथ्वीनारायण शाहलाई एकदमै अर्ग्यानिक फिगरको रूपमा पढ्यौं । मानौं पृथ्वीनारायण शाहको पालादेखि नै उनको ‘न्यारेटिभ’ स्थापित थियो भनेजसरी पढ्यौं । मेरो अनुसन्धानले के भन्यो भने, सूर्यविक्रमको किताब प्रकाशित भएदेखि त्यसको ४ दशकभित्रै (विसं १९९० पछिको ४० वर्षमा) पृथ्वीनारायण शाहलाई नायक बनाउने व्यापक काम भयो । शाह मात्र होइन, बलभद्र, अमरसिंह, भानुभक्त, यी सबैलाई नायक बनाइयो । यति छोटो समयमा, २० औं शताब्दीको ३/४ दशकभित्र यी सारा हिरो बनाइएको हो । हामीलाई लागिरह्यो, यिनीहरू सधैं हामीसँगै थिए । तर, थिएनन् । धनवज्रजीले भनेको कुरा हामीले होइन कसरी भन्ने ? यी नायक हुन्, तर २० औं शताब्दीमा बनाइएका ।

पृथ्वीनारायण शाहले दिएको व्याख्यान भनेर प्रचारित ‘दिव्योपदेश’ नामक लिखतबारे पनि सन्देह छ । लोकसाहित्य र लोकस्मृतिका कुनै तथ्यहरूले त्यो लिखत उनकै हो भनेर पुष्टि गर्छन् त ?
यो मलाई थाहा छैन । लोकसाहित्यको अनुसन्धान मैले गरेको छैन । २०औं शताब्दीको सुरुको समयलाई ध्यान राखी लोकसाहित्यमा पृथ्वीनारायण शाहबारे कति अनुसन्धान भए भन्ने विषयमा मलाई थाहा छैन । कसैले लेखेको हुन सक्छ, त्यो मैले देखेको छैन । पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ बारे पत्रपत्रिकामा प्रायः चर्चा चलिरहन्छ । १९९० सालको भुइँचालोअघि ‘दिव्योपदेश’ लाई रिफर गर्दै लेखिएको कुनै पनि अर्को चीज खासै देखा पर्दैन । यसले विभिन्न किसिमका कौतूहल जन्माउँछ । पृथ्वीनारायण शाहले ‘दिव्योपदेश’ एकै स्थानमा बसेर भनेनन् ।

यो पनि मानौं, विभिन्न कालमा उनले भनेका कुरालाई कसैले लिखित सामग्रीको रूपमा राख्यो । तर, ९० सालको भुइँचालोसम्म किन यो (दिव्योपदेश) कतै उल्लेख भएन वा प्रकाशमा आएन ? यसको उत्तर खोज्नुपर्छ । यो किन भएन, मलाई थाहा छैन । तर, यसले मेरो अघिको निष्कर्षलाई नै सघाउँछ । सन् १९३४ अर्थात् विसं १९९० मा भुइँचालो जान्छ, त्यसपछि बाबुराम आचार्यले एउटा किताबको एपेन्डिक्समा लेख्नुहुन्छ— फलानो–फलानो बस्नेतको भुइँचालोले भत्काएको घरमा ‘दिव्योपदेश’ भेटियो । र, त्यो टेक्स्ट सूर्यविक्रम ज्ञवालीलाई १९३५ को पृथ्वीनारायण शाहबारे जीवनी–किताब लेख्न उहाँले उपलब्ध गराउनुहुन्छ । नेपालबाट सारेर यहाँबाट उता पठाइएको भनिएको छ । यो चाखलाग्दो प्रसंग हो । त्यो टेक्स्टमा पृथ्वीनारायण शाहलाई शंका नगरौं तर यति लामो समयसम्म हराएर १९३४/३५ तिरै किन निस्कियो ? यसबारे थप अनुसन्धान हुन बाँकी छ ।

पृथ्वीनारायण शाहले आफैँ राखेका शिलालेख, ताम्रलेख भेटिएको चर्चा हुँदैन । उनको शेखपछि भेटिएका भनिएका (अनेकपटक उतारिएका) कागजपत्रलाई उनका भन्ने गरिएको छ । यो कति वस्तुगत र विश्वसनीय छ ?
म त्यो समयमा (पृथ्वीनारायण शाह बाँचेको वर्षहरूबारे) रिसर्च गरेको मान्छे होइन, मेरो रिसर्च २०औं शताब्दीमा हो । त्यसकारण यसको ठोस उत्तर मलाई थाहा छैन । उहाँकै कालमा भेटिएका कागजपत्र, चिठीपत्र वा उहाँकै जीवनीबारे अध्ययन गरेका दिनेशराज पन्तलगायतलाई यी प्रश्न सोध्नुपर्ने हुन्छ ।

इतिहासकारहरूले पृथ्वीनारायण शाहलाई शक्तिशाली, पराक्रमी, शूरवीर, साहसी भनेको पाइन्छ । एउटा व्यक्ति पराक्रमी वा साहसी हुँदैमा राष्ट्र निर्माण हुन्छ कि तत्कालीन ऐतिहासिक परिस्थितिको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ?
पृथ्वीनारायण शाहबारे पपुलर डिस्कोर्समा भएको र उनलाई नायक बनाउनेहरूको कुरा एक ठाउँमा भयो । हामीले चाहिँ प्राज्ञिकले भनेका कुरा सोच्नुपर्छ होला । सुरुमा नेपालको इतिहास विधामा काम गर्ने बलियो परम्परा नभइसकेको अवस्थामा उनको व्यक्तित्वबारे बढी ठाउँ दिएर केही लेखियो होला । सूर्यविक्रमकै किताब उदाहरण हुन सक्छ । सन् १९७० को अन्त्यसम्म भने २/३ कुरा प्रस्ट भइसकेको थियो । उनी ती गुणले सम्पन्न थिए । उनलाई केही गर्नुपर्छ भन्ने भइसकेको थियो । तर, त्यसको स्रोत के हो र किन सफल भए भन्नेमा २/३ वटा तर्क मानिसले अगाडि सारेका छन् ।

इतिहासकार महेशचन्द्र रेग्मीले भन्नुभएको छ— गोरखा गरिब राज्य थियो, अरू धेरै राज्यहरूजस्तै त्यो राज्य हाँक्ने मानिसलाई पनि आफ्नो राज्य धनी भएको हेर्ने रुचि थियो । राज्यविस्तार गर्दा आफ्नो जीवनस्तर पनि सुध्रिन्छ, राज्य पनि ठूलो हुन्छ, अनि ठूलो राज्यको ठूलो शासक बन्छु भन्ने विचार उनमा (पृथ्वीनारायणमा) आयो होला । यस्तो विचार गर्ने उनीभन्दा अघि अरू पनि पक्कै थिए होला । उनी नै पहिलो मानिस भन्न मिल्दैन । यत्ति हो कि, उनले राज्यविस्तारको काम गरे । रेग्मी र लुडविग स्टिलरले के भन्नुभएको छ भने कब्जा गरेको भूमिबाटै जागिर दिएर सेनालाई थेग्ने उपाय उनले निकाले र प्रयोगमा ल्याए । पृथ्वीनारायण राजा हुँदाको सुरुको अवस्था र सुगौली सन्धि गर्नुअघिको अवस्थामा आकारका हिसाबले गोरखा अधिराज्य ५ सय गुणा ठूलो थियो । यो १८/१९औं शताब्दीको दक्षिण एसियाको इतिहासमै ठूलो प्रक्रिया हो । यो प्रक्रिया सफल बनाउन पृथ्वीनारायणले जति काम सुरु गरे, त्यसमा उनको भिजन थियो, उनी राम्रा म्यानेजर थिए भनेर स्विकार्नु त पर्छ तर सँगसँगै पञ्चायतकालका पाठ्यपुस्तकहरूमा भनिएजस्तै मात्रै थिएनन् ।

पृथ्वीनारायणबारे सन् १९६४ मा गरेको पीएचडीमा डा. एलएस बराल (साहित्यमा ईश्वर बराल) ले लेखेका छन् : उनी अति चलाख मान्छे थिए । उनी आफूले जित्नुपर्ने राज्यसँग कुन सर्तमा उनीहरूलाई जित्ने वा राज्यलाई कसरी मिलाउने भन्नेमा छलफल गर्न अति जान्ने मानिस थिए । चलाख मात्रै थिएनन्, षड्यन्त्र पनि गर्न जान्दथे । आवश्यक परेको बेला संसारमा उपलब्ध सम्पूर्ण रणनीति प्रयोग गरेर सबैलाई वशमा लिन सक्थे । आफ्नो शत्रुको कमजोरी र शक्ति बुझेर कमजोरीमाथि टेकेर फाइदा लिन उनी जे पनि गर्न तयार हुन्थे, कसैलाई दिएको वाचा पनि उल्लंघन गर्न तयार हुन्थे भन्छन् बराल । उनको प्रक्रियासँगै व्यक्तिगत खुबी पनि राज्य विस्तारको लागि महत्त्वपूर्ण भएको बरालले लेखेका छन् । यी खुबी हामीले ‘महेन्द्रमाला’ किताबमा पढेजस्ता राम्रैराम्रा खुबी मात्रै थिएनन् भन्न खोजेको हुँ मैले ।

उनलाई लोकतान्त्रिक युगमा पनि ‘एकीकरणकर्ता’, ‘एकताका प्रतीक’ विशेषण र ‘बडामहाराजाधिराज’ उपाधि दिनु कत्तिको उपयुक्त हो ?
उनलाई नायक बनाउन सन् १९३० पछि जे काम भयो, यो त्यसैको उपज हो । सन् १९३५ मा सूर्यविक्रमको किताब निस्कियो । त्यसका टेक्स्टहरू परिमार्जित हुँदै मैले पढेकोमा मात्र होइन, म पछिको पुस्ता तपाईंहरूले पढेको पाठ्यपुस्तकसम्म उनको गुणगान आइपुग्यो । मैले सानोमा पढेको थिएँ— पृथ्वीनारायणले भूभाग एकीकरण गरे, भानुभक्तको रामायणले भावनात्मक एकीकरण गर्‍यो । उनले सुरु गरेको र सुगौली सन्धिसम्म पुग्दा त्यो आकार ५ सय गुणा ठूलो हुनु भूभाग जोड्नु नै हो ।

सुगौली सन्धि हुँदा त उनी बितिसकेका थिए । राष्ट्रवादी न्यारेटिभमा त्यही भूभाग विस्तारलाई एकीकरण भनियो । लोकतान्त्रिककालमा त्यसलाई एकीकरण भन्ने कि नभन्नेमा ठूलो विवाद जन्मेको छ । थुप्रै प्रक्रियाबाट जमिन जुटाएका कारण उनी ‘बडामहाराज’ भनिएका पनि हुन् । तर, लोकतन्त्रमा त्यसो भन्नेहरूको मात्रै स्पेस हुनुहुँदैन । राज्यले वा राज्य हाँक्नेहरूले कसैलाई नायक बनाएर एकीकरणको श्रेय दिन चाहन्छ भने पनि लोकतन्त्रमा त्यो एकीकरण मात्र थिएन, यस्ता अन्य पक्ष पनि थिए है भन्ने मान्छेहरू र उनलाई ‘बडामहाराज’ भनिहाल्नुपर्दैन भन्ने मान्छेहरूलाई पनि आमवृत्तमा ठाउँ हुनुपर्छ । यसरी ठाउँ नहुने हो भने म जन्मे–हुर्केको पञ्चायतकाल र लोकतन्त्रमा कुनै फरक हुँदैन । यो बहस निकै स्वस्थ बहस हो । पृथ्वीनारायणको आलोचना गर्दा कसैले जुत्ता हान्दैन भन्ने डरबिना यस्तो बहस गर्न सक्यौं भने मात्रै त्यो बहस स्वस्थ हुनेछ । प्राज्ञिक भनिएकै सभामा पृथ्वीनारायणबारे प्रश्न उठाउँदा पीएचडी गरेकै मान्छेले जुत्ता फुकालेर हान्न खोज्छ भने त्यो लोकतन्त्रका लागि डर हो ।

गणतन्त्रपछि पनि चन्द्रागिरिमा पृथ्वीनारायणकै सालिक बनाउने, राष्ट्रपतिले त्यसको उद्घाटन गर्ने, प्रधानमन्त्री त्यहीँ पुगेर कविता रच्ने, पुस २७ मा सरकारी निकायले प्रभातफेरी निकाल्नेजस्ता उपक्रम धुमधामसहित भइरहेका छन् नि ?
देवेन्द्रराज पाण्डेले केही साताअघि मार्टिन चौतारिकै कार्यक्रममा हाम्रो लोकतन्त्र प्राणबिनाको लोकतन्त्र हुन लाग्यो कि के हो भनेर चिन्ता उठाउनुभयो । प्राणबिनाको लोकतन्त्रमा हुने भनेको पञ्चायतले जे सिकायो, त्यही गर्ने हो । सालिक बनाउने, नायकको नाममा पार्क बनाउने, उनकै नाममा टेक्स्टबुक बनाउने, उनकै नाममा स्कुल खोल्ने, पुरस्कार थाप्ने ! नयाँ गर्न नजानेपछि गर्ने त्यही हो । लोकतन्त्रमा ती सबै गर्दागर्दै पनि लोक नै सबैभन्दा सर्वोपरि हुन्छन् भन्ने ठानेर लोकलाई प्रतिनिधित्व गर्ने अरू काम पनि गर्ने हो । पृथ्वी प्रज्ञा पुरस्कार दिनु अनौठो होइन, सँगै अरू अनुसन्धानको काम पनि हुनुपर्‍यो । हाम्रो (नागरिकको करबाट जम्मा भएको) पैसा प्रयोग गरेर हामीलाई काम लाग्ने अध्ययन–अनुसन्धानको काम पनि सँगै गरे भइहाल्यो । प्रभातफेरी गर्दै गरून्, मन नलागे नगए भैगो । त्यो पनि नभइरहँदा ज्यान लोकतन्त्र भएको तर, प्राणचाहिँ अर्कै तन्त्रको हो कि भन्ने देखिन आयो ।

अहिलेको पुस्ताले पृथ्वीनारायणको भूमिकालाई कसरी सम्झोस् वा समीक्षा गरोस् भन्ने ठान्नुहुन्छ ?
नयाँ पुस्ताले आफ्नोबारेमा आफैं सोच्ने हो । इतिहास पढ्न के प्रश्न बनाउने भनेर त्यही पुस्ताको मानिसले सोच्ने हो । कसकसलाई नायक बनाउने भन्ने आधारभूत प्रश्न हो भने सोच्नुपर्‍यो— पञ्चायतकालमा नायक बनाइएका मानिसलाई नै लोकतन्त्रमा पनि नायक बनाउने कि नबनाउने ? बनाए कति चरणसम्म ? त्यो सोच्नुपर्‍यो । कसैलाई नायक बनाउन मन पर्‍यो भने पनि अरू किसिमको न्यारेटिभलाई पनि प्रोत्साहन गर्ने मूल्य–मान्यताबारे राज्यले के गरिरहेको छ ? त्यो पनि सोच्नुपर्छ । त्यो नहुने हो भने राज्यको कोर चरित्रमा म जन्मेर हुर्केको काल र अहिलेको कालमा केही पनि फरक छैन भन्नुपर्ने हुन्छ । त्योबेला पनि पृथ्वीनारायणकै गुणगान, अहिले पनि उनको मात्रै गुणगान हुने हो भने त केही फरक भएन नि ! जसलाई पृथ्वीनारायणकै गुणगान गर्न मन छ, त्यो उनीहरूको लोकतान्त्रिक स्वतन्त्रता भयो, त्यही गरे भइहाल्यो । लोकतन्त्रमा लोकका आधारमा हामीले त्यति मात्र नगरौं भनेर तर्क गर्ने हो ।

हामी लोकतन्त्र आयो त भन्छौं । तर, आमवृत्तमा आलोचनात्मक बहस नहुनुका कारण के होलान् ?
मैले विद्यार्थीकाल अर्थात् वयस्क जीवनको सुरुका धेरै वर्ष नेपालबाहिर बिताएँ । नेपालका राजनितीमा प्रशिक्षित हुने मौकाबाट वञ्चित भएँ । कलेज नेपालमा पढिनँ । त्यसको बेफाइदा, केही शब्दहरूको कोशमा पाइने व्याख्याहरूलाई नै खास सत्य मानेर, सोचेर संसारबारे अपेक्षा बनाइँदोरहेछ । जसले पञ्चायतविरुद्ध लामो संघर्ष गरे, प्रजातन्त्रवादी वा प्रगतिशील भन्नेहरू, लोकतन्त्रपछि उनीहरूले आफ्नो मूल्यमान्यताअनुरूप समाजमा ती मूल्यमान्यता स्थापना गर्न भयंकर काम गर्छन् भन्ने सोचेर धेरै वर्ष म त्यो भ्रममा बाँचे । त्यो होइनरहेछ । हो रहेछ के भने पञ्चायतमा एकथरी शासक थिए, ती शासकलाई हटाएर उनीहरू आफू शासक हुन खोजेको मात्र रहेछ ।

एकेडेमीको लोकतान्त्रिकरणबारे चर्चा हुँदा एक जना ठूला मान्छेले बहसमा उत्तर दिए, ‘देशमा एकेडेमी हुन्छ र एकेडेमीले किताब छाप्छ ।’ अब त्यस्तो हठ राख्नेसँग बहस कसरी गर्ने ? एकेडेमी हुन्न भनेर मैले भनेको छैन, कसैले भने होलान् । हाम्रो बहस त लोकतन्त्रमा हुने एकेडेमीले राजतन्त्रमा स्थापना भएको एकेडेमीले भन्दा कसरी फरक काम गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ । त्यस्तो बहस नहुने हो भने त्यहाँ एक सेट प्राज्ञलाई अर्को सेट प्राज्ञले रिप्लेस गर्ने कुरा मात्र आउँछ । अहिलेको लोकतन्त्रमा यी प्रश्नको स्पेस खुम्चेको हो कि भन्ने अनुभूति हुन थालेको छ । एकदमै खुम्चिसकेको छैन, एकदमै खुम्चिन दिनु पनि हुँदैन । हामी बोलिरहनुपर्छ, हामीले भनिरहनुपर्छ— लोकतन्त्रको प्राण के हो ?

प्रकाशित : पुस २६, २०७६ ११:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×