कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतका बाबाहरू

रजस्वलाको सुरुआतमा धेरैजसो महिला कठिन परिस्थितिमा हुन्छन्  । घरको सबभन्दा शुद्ध अनि पवित्र ठाउँमै हुँदा रगत बग्यो भने ? जस्तो : खाना पकाइरहेका बेला भान्सामा वा सरसफाइ गरिरहेको बेला पूजाकोठामा वा अन्य कुनै त्यस्ता शुद्ध अनि पवित्र ठाउँमा महिनावारी हुँदा बस्न वर्जित छ  ।

भारतका बाबाहरू

केही दिनसम्म भान्साको कुनै काममा हात लगाउन वर्जित छ । तर यो मासिक चक्र हरेक महिना हुने कुरा हो । यसमा कसैको हात हुँदैन । वर्षदिनभित्र यस्ता घटना भइरहन्छन् । यस पापबोधबाट फुक्का गर्ने एउटै दिन छ, ऋषि पञ्चमी ।

युट्युबमा यस प्रकारको बयान दिइरहेका एक बाबाको भिडियो हेरिसकेपछि मैले उनलाई चिनेँ । ती बाबालाई टेलिभिजनको तीन लोकप्रिय न्युज च्यानलले आफ्ना कुनै न कुनै कार्यक्रम प्रस्तुत गरेका थिए । युट्युब अनि अन्य ठाउँमा मैले ती बाबाका भिडियो हेरेँ । कुन न्युज च्यानलले उनलाई प्रस्तुत गर्‍यो ? त्यस च्यानलको नाम यहाँ लिनु जरुरी छैन ।

एनडीटीभीबाहेक प्रायःजसो टेलिभिजनका हरेक च्यानल अनि हरेक भाषाका वेबसाइटले यस किसिमका कार्यक्रम प्रस्तुत गर्छन् । ती कार्यक्रममा राशिफलदेखि अर्ती–उपदेश दिने किसिमका कार्यक्रम पनि हुन्छन् । जस्तो मैले भर्खरै हेरेँ । मेरो आशय ती कार्यक्रमहरूमा के भनिन्छ, समयअनुसार त्यसमा कति कुरा परिवर्तन भए अनि हाम्रो समयको कस्ता चिन्तालाई लिएर त्यसमा बहस हुने गर्छ भनेर जाँच गर्नु हो ।

युट्युब अनि टेलिभिजनहरूमा बाबाहरूले कस्तो किसिमको धर्मशास्त्रीय ज्ञान बाँडिरहेका वा सिफारिस गरिरहेका छन् ? रजस्वलाका आदिम धारणा भत्काउने कोसिसमा जुटेका नारीको आँखाबाट हेर्दा त्यो कस्तो देखिन्छ ? म यो कुरा पनि बुझ्न खोजिरहेको छु ।

सतहमा स्पष्ट देख्न सकिन्छ, कसरी ती रंगीन बाबाहरू न्युज च्यानलतिर आउँछन् अनि पुराना अन्धविश्वासहरूलाई उधिनेर आधुनिक सन्दर्भमा पुनःस्थापित गर्न चाहन्छन् ? तिनीहरू समझदार हुन्छन् अनि हुन्छन् त्यत्तिकै बुद्धिमान पनि । कुनै क्रान्तिका लागि उनीहरू हाम्रा अगाडि आएका होइनन् । आदिम समयमा पुगेर आयुर्वेदको युगलाई फर्काउन पनि उनीहरू टीभीमा देखा परेका होइनन् । तर उनीहरू यस्ता सेल्सम्यान हुन्, जो मानव समाजलाई कष्ट दिइरहेका १ सय ८ बिमारीको एउटै औषधि बेचिरहेका छन् । यस प्रक्रियामा उनीहरूले आफ्नै आर्थिक साम्राज्य खडा गरिरहेका छन् । परम्परामाथि एकोहोरो भक्तिले यो काम पूरा हुने होइन । त्यसैकारण ती बाबाहरू उदार भावनाले आधुनिकतालाई ठाउँ दिन्छन् । उनीहरू आफ्ना बकवास विचारहरूलाई आधुनिकताका परिधिभित्र राखेर काम गर्ने परम्परा स्थापित गर्न व्याकुल छन् । यसबारे म अलिपछि टिप्पणी गर्नेछु ।

टेलिभिजनका आलोचकहरूले राति प्रसारण हुने प्राइम टाइम कार्यक्रममा देखाइने गलत कुरा खोज्नका लागि आफ्ना सारा ऊर्जा खर्च गरिरहेका छन् । यी कार्यक्रमहरूको मुख्य मुद्दा भनेको महिलाहरूको सुरक्षा सवाल अनि सहरको साँघुरा ठाउँहरूमा महिलाहरूलाई कसरी उन्मुक्त बनाउने भन्ने हो । उनीहरूको दिमागबाट ती ज्योतिषी वा एङ्करहरू उम्कन्छन्, जो बिहानको प्राइम टाइममा खचाखच भरिन्छन्, जो आफ्नो कपडा अनि आचरणले अनुकूल अवसर बनाइदिन्छन् अनि समाजको ठूलो तप्का– विशेषगरी महिलाहरूको असुरक्षाको स्थितिलाई सुदृढ गरिदिन्छन् ।

ज्योतिषशास्त्र वैध हो कि होइन भन्ने बहस थोत्रिइसक्यो । एक–दुईजना छोडेर मलाई त्यस्तो मान्छे थाहा छैन, जो आफ्नो समस्या सुल्झाउने हेतु ज्योतिषीलाई छाडेर डाक्टरको शरण पर्छन् । यसले समाजमा गहिरो गरी जरा गाडेको छ ।

हिन्दी भाषामा ब्रोडकास्ट गर्ने बाबाहरूको तुलनामा अंग्रेजी भाषा अपनाउने बाबाहरू फरक वर्गमा छुट्टिन्छन् । दैनिक राशिफल नदिएर त्यसको ठाउँमा उनीहरू बेचैन क्रेताहरूलाई जीवन प्रबन्धक पिल्स दिन्छन् । अंग्रेजी बोल्ने बाबाहरूसँग बडो शान्तपूर्वक अन्तर्वार्ता लिइन्छ अनि अंग्रेजी बाबाहरू हिन्दी बाबाहरूलाई अपमानको दृष्टिले हेर्छन् । एक गरिबले अध्यात्मका लागि कुनै बाबाको शरण लिँदा त्यो अन्धविश्वास भइदिन्छ । तर धनी अध्यात्मका लागि कुनै बाबातिर धाउँदा त्यो तनाव प्रबन्धक कोर्स साबित भइदिन्छ ।

डेरा सच्चा सौदा सिरसाका प्रमुख गुरमित रामरहिम सिंहलाई जब दुई बलात्कारको मामिलामा जेल पठाइयो, धेरै ठाउँमा उनी अनि उनका भक्तबारे लेखियो— गरिब मात्र बाबाहरूको प्रभावमा आउँछन् । यो एक बकवास हो । यसमा धनी अनि मध्यम वर्गका मान्छे पनि गुरमितजस्ता बाबाको शरण पर्छन् । एउटा भिन्नता के भने ती धनीहरू अंग्रेजीमा बोल्छन् अनि एलोभेरा जुस बेच्ने काम गर्छन् ।



समकालीन भारतमा राजनीतिक नेता अनि मन्त्रीहरूले यस्ता गुप्त पूजाको आयोजना गर्छन्, जसमा लाखौँ खर्च हुन्छ । यो खर्चबारे कसैले कसैसँग कुरा गर्दैन, जो न प्यान कार्डले रेकर्ड गर्छ, न आधार नम्बरले । हाम्रो राजनीतिक वर्ग यस्ता अन्धविश्वासको मुख्य अभिभावक हो । क्रिकेटरहरूदेखि समाजका जानेमाने मान्छेहरू पनि यस्ता अन्धविश्वासलाई सही ठहर गर्छन् । डेरा सच्चा सौदाका समर्थकहरूलाई यस अर्थमा अज्ञानी भन्न सकिँदैन ।

यो भन्न तर्कसम्मत हुँदैन, ती बाबाहरूको उत्पत्ति अनि बढ्दो संख्याको मुख्य कारण समाचार च्यानलहरू हुन् । ती बाबाहरूको आफ्नै च्यानलहरू छन्, जसको सहायताले नागरिकसँग संवाद गर्छन् । यस्ता धेरै सूचनात्मक च्यानलहरू पनि छन, जहाँ नयाँनयाँ बाबाहरूका उत्पत्ति हुन्छ । बाबाहरूको आफ्नै वेबसाइट अनि सामाजिक सञ्जालको टिम छ । सबै बाबाहरू ज्योतिषी हुन् अनि सबै ज्योतिषीहरू बाबा । यसले उनीहरूलाई धेरै अरू मञ्च दिने काम गर्छ । ज्योतिषशास्त्रका कार्यक्रमहरूका लागि हिन्दी च्यानलहरूबीच उग्र प्रतिस्पर्धा चलिरहेको छ । हरेक कार्यक्रम आफैँमा एक ब्रान्ड हो ।

अब तिनै बाबातिर फर्कौं, जसले युट्युबको भिडियोमार्फत रजस्वलाबारे महिलाहरूलाई सल्लाह दिइरहेका थिए । बाबाले आयोजना गर्ने विशेष कार्यक्रमका धेरै प्रकरणको एउटा ट्यागलाइन छ, सात जन्मसम्म नसकिने पैसा कसरी कमाउने ? थाहा पाउनुहोस् । भारतका करोडौँ मान्छे गरिबी रेखामुनि छन् । जो यस रेखादेखि माथि छन्, उनीहरू पनि संघर्ष गरिरहेका छन् । तिनीहरूलाई सात जन्मसम्मका लागि धन पाइन्छ भन्नु रकेट साइन्स होइन— यसले कसलाई लोभ्याउँदैन ?

आफ्नो कार्यक्रममा बाबाले दाबा गरेका छन्— १६ वर्षसम्म १६ दिन देवी महालक्ष्मीको व्रत राख्नेले निरन्तर धनको आपूर्ति पाउनेछ । उनी आफैँले पनि यस व्रतलाई १६ वर्षसम्म पालन गरेको अनुभव सुनाए । उनले कमाएको धनको कारण व्रत हो या टेलिभिजनको कार्यक्रम ? मलाई यो कुरा बुझ्न गाह्रो भयो । उनले धनी मान्छेहरूको नाम उल्लेख गरेर भने— उनीहरू चाहे जुनसुकै तरिका अपनाउन्, उनीहरू धनी नै रहिरहनेछन् । ती धनी मान्छेहरूलाई भ्रष्ट नभनेर बाबाले भने— उनीहरूले पनि कुनै न कुनै जन्ममा महालक्ष्मीको व्रत पालन गरेका होलान्, जसको कारण यस जन्मसम्म धनी छन् । बाबालाई ती मान्छेहरू कसरी धनी भए ? त्यो कुरा त थाहा छँदैछ, यो पनि थाहा छ— हरेक मान्छेको नजर ती फाइदातिर हुन्छ, जो यस किसिमका मान्छेबाट असुल्न सकिन्छ ।

(स्पिकिङ टाइगरद्वारा प्रकाशित ‘द फ्री भ्वाइसः अन डेमोक्रेसी, कल्चर एन्ड द नेसन’ किताबलाई लेखनाथ क्षत्रीको अनुवादमा सांग्रिला बुक्सले ‘मुक्त आवाज : लोकत्रन्त्र, संस्कृति र राष्ट्रवादबारे’ शीर्षकमा प्रकाशित गरेको छ ।)

प्रकाशित : मंसिर २१, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?