कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो आफ्नै बिटल्समेनिया

संगीत
हिमेश

जतिबेला इन्टरनेट थिएन, चौबीसै घण्टा बज्ने टीभी च्यानल पनि सुरु भएका थिएनन्, त्यतिबेला पनि काठमाडौंमा ‘द बिटल्स’ उत्तिकै लोकप्रिय थियो,  । यस ब्यान्डका फ्रन्टम्यान जोन लेनन मन पराउने धेरै थिए  ।

हाम्रो आफ्नै बिटल्समेनिया

अहिले सोच्दा कसरी यस्तो सम्भव भयो भन्ने लाग्न सक्छ । त्यो समयमा पनि बिटल्सको लोकप्रियतालाई भाषा, राजनीति र भौगोलिक सीमाले रोक्न सकेन । सन् ६० र ७० को बीचमा यो ब्यान्ड सक्रिय रह्यो ।

ब्यान्डले पूरै विश्वमा तहल्का मच्चाइरहेका बेला हामी मात्र कसरी अलग हुन सक्थ्यौं र ? बिटल्सले पस्केका गीतमा पागलजस्तै हुनुलाई ‘बिटल्समेनिया’ नै भनिन्छ । एक प्रकारले पश्चिमेली संगीत मन पराउनेलाई यो ब्यान्डले मोहनी लगाएको थियो । उताको भाषामा ‘हिस्टेरिया’ भन्दा पनि ठीक हुन्छ कि ? लिभरपुलको यो अंग्रेजी रक ब्यान्ड अमेरिकामा जसरी लोकप्रिय भयो, त्यसका लागि छुट्टै शब्दावली नै बनाइएको छ र त्यो हो, ‘ब्रिटिस इन्भेसन इन यूएस’ ।

यसलाई भने अमेरिकामा बेलायतले गरेको आक्रमणभन्दा हुन्छ । लेननले ठीक भनेका थिए, ‘हामी जिसस क्राइस्टभन्दा पनि बढी लोकप्रिय छौं ।’ यो खुबै विवादास्पद भनाइ रह्यो । धेरैले यसलाई मन पराएनन् पनि । तर, यो साँचो भने थियो । बिटल्स जब खुबै सक्रिय थियो, त्यतिबेला उसको प्रसिद्धिलाई उछिन्न सक्ने अरू कोही थिएन । मान्छे यो ब्यान्डलाई हदको सीमा नाघेर माया गर्थे ।

लगभग चार दशकले छुन लागेको छ, लेननको मृत्युको । विशेषतः हाम्रोतिर बिटल्स र लेनन आफैँ पनि कति लोकप्रिय छन् भनी नाप्ने कुनै औजार छैन । तर, हामी आफैं महसुस गर्न सक्छौं । आफ्नै भोगाइले भन्छ, ‘म बिटल्स प्रशंसक हुँ’ भन्दा गर्व गर्नेको संख्यामा कमी छैन । सन् सत्तरीतिर काठमाडौंमा त्यस्तो पुस्ताका युवा पनि देखिन थालेको थियो, जसले हेयरस्टायल र लगाउने लुगा ब्यान्डका सदस्यकै जस्तो हुन्थ्यो । भनौं, काठमाडौंका सडकमा लेननजस्तै भएर निस्कने पनि केही थिए ।

यस्तै एक युवा हुन्— काठमाडौं पोस्टका पत्रकार कमल तुलाधर । दरबारमार्गमा हुर्के–बढेका तुलाधरले युवा उमेरमै विदेश जाने अवसर पाए । त्यहाँबाट फर्कंदा उनी बिटल्सका कडा फ्यान भइसकेका थिए । उनीसँग कुरा गर्नुपर्छ, पुराना दिन सम्झेर खुसी हुन्छन् । त्यतिबेला उनीजस्तै अरू पनि थिए । जतिबेला सन् नब्बेतिर काठमाडौंका घरघरमा क्यासेट प्लेयर थियो, टेलिभिजन बज्न सुरु भएको थियो, त्यतिबेला पनि बिटल्स र लेनन खुबै लोकप्रिय थिए ।

सन् १९८६ को विश्वकप फाइनल एनटीभीले ‘डिले’ प्रसारण गरेको थियो । त्यसअघि नेपाली दर्शकलाई टीभीमै तानेर राख्न एनटीभीले एकपछि अर्को अंग्रेजी गीत देखाएको थियो । अनुमान गर्न सकिन्छ, अंग्रेजी गीत लोकप्रिय भएर नै यस्तो काम भएको होला । त्यतिबेला काठमाडौंमा क्यासेट किन्नका लागि दुई प्रमुख स्थान थिए, एउटा न्युरोडको ‘टिक एन्ड टक’ । अर्को असन झ्वाबहालतिरको पीआरटी क्यासेट सेन्टर ।

त्यसमध्ये ‘टीक एन्ड टक’ त आफैँमा लिजेन्ड थियो, जसले ती दिनमा काठमाडौंवासीलाई अंग्रेजी गीत सुनाउने बानी बसाल्यो । विशालबजारको सबैभन्दा अगाडिको भागमा यो पसल थियो, जसको मुख ठ्याक्कै भूगोलपार्कसँग आमनेसामने थियो । यो ‘आइकन’ पसल थियो, जुन क्यासेट युगजस्तै हराइसकेको छ । ठीक त्यही बेला रेडियो नेपालमा ‘द म्युजिकल आवर’ भनेर कार्यक्रम चल्थ्यो । प्रत्येक शनिबार आउने त्यस कार्यक्रमका सञ्चालक थिए, उनै मीठो स्वरका धनी माइकल चन्द ।

पछि उनीसँग कुराकानी हुँदा भन्ने गर्थे, काठमाडौंको सभागृहमा समयसमय अंग्रेजी गीतका कार्यक्रम हुन्थ्यो । त्योबेला पनि काठमाडौंमा ब्यान्ड बनाएर गीत गाउने चलन सुरु भइसकेको थियो । यी ब्यान्डले प्रस्तुत गर्ने अधिकांश गीत बिटल्सकै थिए । अझ सके, लेननकै । त्यसको धेरैपछि एनटीभीमै भूषण दाहालले ‘सन्डे पप’ नामको कार्यक्रम चलाए । प्रत्येक आइतबार आउने त्यो कार्यक्रममा उनले एकपछि अर्को अंग्रेजी गीत पस्के, त्यसमा पनि बिटल्सका गीत पर्ने नै भयो ।

यो समय ‘एमटीभी’ को थियो र त्यतिबेलाको पुस्तालाई ‘एमटीभी जेनेरेसन’ पनि भनिन्थ्यो । ‘द म्युजिकल आवर’ र ‘सन्डे पप’ सुन्दा–हेर्दा के अनुभव हुन्थ्यो भने त्यतिबेला काठमाडौंमा ‘हेभिमेटल’ संगीत खुबै लोकप्रिय थियो । चन्द र दाहाल आफैँले पनि आफ्ना दर्शकलाई सोधेको सम्झन्छु, ‘किन काठमाडौंका पश्चिमेली संगीत पारखीलाई हेभिमेटल मन पर्छ ?’ मैले यही प्रश्न तिनै पीआरटी क्यासेट सेन्टरका दाइलाई सोधेको थिएँ । नाम थाहा भएन, ती दाइ पनि क्यासेट बेच्दाबेच्दै अंग्रेजी गीतका विज्ञ भइसकेका थिए । उनी भन्थे, ‘हाम्रोमा सबैभन्दा पहिला सुन्ने भन्ने नै हेभिमेलट हो । केही समय हेभिमेटल सुनेपछि उसको रुचिमा परिवर्तन हुन थाल्छ । यसरी हेभिमेटल सुनेको पुस्ताको अन्तिम गन्तब्य रक संगीत नै हो । ढिलो हुन सक्छ, अथवा चाँडै तिनले अन्त्यमा सुन्ने भनेकै बिटल्सजस्ता ब्यान्डको गीत हो ।’ जतिबेला यो पुस्ता बिटल्स सुन्थे, त्यतिबेला उनीहरूले भन्थे, ‘हो, वास्तविक गीत त यी पो हुन्, सरल शब्द, ठ्याक्कै बुझिने, कर्णप्रिय स्वर र लय दुवै ।

अहिले र्‍याप र आर एन्ड बीका गीत सुन्ने धेरै छन् । हुन सक्छ, हेभिमेटल गीत सुन्नेको पनि कमी भएको छैन । तर, यी पुस्ताका श्रोता पनि कुनै न कुनै दिन बिटल्सका गीतमा ठोक्किनेछन् र हुनेछन्, यो ब्यान्डका सदावहार प्रशंसक । फेरि त्यही ‘सन्डे पप’ मै फर्कने हो भने त्यसमा एउटा प्रश्न सोधिन्थ्यो र त्यसको उत्तर दिनेले केही पुरस्कार पाउने गर्थे । यस क्रममा सोधिएको पहिलो प्रश्न थियो, ‘बिटल्सले रेकर्ड गरेको पहिलो गीत कुन हो ?’
चिठ्ठीको माध्यमबाट यसको हजारौं उत्तर आए र त्यो गीत थियो, ‘लभी मी डु’ । भनिरहनु पर्दैन, त्यतिबेला ‘गुगल’ थिएन । तर, यो ब्यान्ड मन पराउनेलाई यसको ठीक उत्तर पनि त थाहा थियो । काठमान्डुमा बिटल्स र लेनन कति लोकप्रिय थिए भन्ने एउटा राम्रो उदाहरण यो पनि हुन सक्छ । लगभग २० वर्षअगाडि नेपाल भाषामा ‘नेवाः बिटल्स’ नाममा एल्बम निस्केको थियो । यसमा ब्यान्डकै गीत नेपाल भाषामा गाइएको छ । यो एल्बम झन्डै १० हजारभन्दा बढी बिक्री भएको थियो भनिन्छ, त्यो पनि केही दिनमै ।

त्यो एल्बमको कभरमा लेननसँगै ब्यान्डका चार सदस्य काठमाडौं हनुमानढोकाको कुमारी घरअगाडि हिँडिरहेको देखाइएको छ । खासमा यो ब्यान्डको चर्चित एल्बम एबी रोडको कभरकै नक्कल हो । त्यसमा पनि ब्यान्डका सदस्य यसरी नै जेब्रा क्रसिङमा लहरै बाटो काटिरहेका हुन्छन् । त्यो ‘नेवाः बिटल्स’ नेपाल भाषाको संगीत क्षेत्रमा सबैभन्दा बढी बिक्री भएको एल्बममा पर्छ । अब भनिरहनु पर्दैन, बिटल्स मन परेर त यो एल्बम पनि किन्ने धेरै भए । हुन पनि, हाम्रो आफ्नै बिटल्समेनिया पनि गज्जब छ । र, लेननलाई हार्दिक श्रद्धाञ्जली पनि ।
twitter : @himeshratna

प्रकाशित : मंसिर २१, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?