कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दस हजार माइलको यात्रा

जगत देउजा

राजगोपाल पीभी भारतका सुपरिचित गान्धीवादी अभियन्ता  । उनी बारम्बार दोहोर्‍याउँछन्— हिंसाको मूल कारक गरिबी, असमानता र विभेद हो  ।

यसको जरोसम्म पुगेर समाधान खोज्नुपर्छ । तब मात्र शान्ति पाउन सकिन्छ । यसका लागि अहिंसात्मक आन्दोलन चाहिन्छ ।
‘एकता परिषद्’ को संयोजन गरिरहेका उनले भारतमा सयौं पदयात्राको अगुवाइ गरेका छन् । सन् २०१२ मा ग्वालिएरदेखि दिल्लीसम्म १ लाख मानिसको १ महिने यात्रा उनकै अगुवाइमा भएको थियो । त्यतिखेर १ लाख मानिस सडकमा नै खाने र सडकमा नै सुत्ने गरी व्यवस्थापन गरिएको थियो । तर गाडी सञ्चालनमा अवरोध पुर्‍याइएको थिएन । एक छाक मात्र खाएर यात्रा गरिएको थियो । पछि सरकारसँग भूमिसुधार लागू गर्नेलगायतका १० बुँदे सम्झौता पछि आन्दोलन समापन गरिएको थियो ।
यो पदयात्रामा एउटा अनौठो घटना भयो । यात्राका क्रममा ट्रक दुर्घटनामा परी दुई पुरुष यात्रीको मृत्यु भयो । उनीहरूका पत्नी पनि पदयात्रामा थिए । दुर्घटनापछि न ट्रक जलाइयो न मृतकका पत्नीहरू घर फर्किए । उनीहरू पदयात्रामा सहभागी भइरहे । उनीहरूले भने, ‘हामी जुन उद्देश्यका लागि आएका हौं, त्यो पूरा नभई फर्किन्नौं ।’ यो यात्रामा लेखकसहित केही नेपाली पनि सहभागी थियौं ।
यिनै राजगोपालको नेतृत्वमा दस हजार माइलको यात्रा भइरहेको छ ।

दिल्लीदेखि जेनेभा
‘जय जगत् २०२०’ नाम दिइएको यो यात्रा दिल्लीको राजघाटबाट सुरु भएको हो । २ अक्टोबर २०१९ मा गान्धीको जन्मदिन पारेर सुरु गरिएको यो एक वर्षपछि २ अक्टोबरमै जेनेभामा समापन हुनेछ । यात्रीहरू जेनेभा भने विश्व शान्ति दिवस २५ सेप्टेम्बरमा पुग्नेछन् । ८ लिन लगातार जनसंसद् आयोजनासँगै कार्यक्रमको विधिवत् समापन हुनेछ । जेनेभास्थित संयुक्त राष्ट्रसंघको मुख्यालयअघि हुने यस संवादमा ५ हजारजना सहभागी हुनेछन् । संसद्मा समावेशिता, पर्यावरण, पुनर्निर्माण र सबैलाई सामाजिक न्याय हुनुपर्ने विषय उठाइनेछ ।
नोभेम्बरको पहिलो साता यात्रा हरियाणा, उत्तर प्रदेश, राजस्थान हुँदै मध्यप्रदेश पुगेको थियो । ५० जना यात्रीको यो टोलीले ३ सय ५८ दिन पैदलयात्रा गर्नेछ । ७० को दशकमा डाकुहरूले हतियार बिसाएर शान्ति ल्याएको चम्बलमा यात्री पुग्दा स्थानीयले स्वागत गरेका थिए । चम्बलका करिब ५ सय डाकुहरूलाई हतियार बिसाई अहिंसात्मक बाटोमा ल्याउने कार्यको मध्यस्थता यिनै राजगोपालले गरेका थिए ।
यो पदयात्राको यात्रीमा युवा र सामुदायिक अगुवाहरू छन् । तीमध्ये १० जना अभियानकर्मी छन् भने १० जना फ्रान्स, केन्या, बेल्जियम र स्विट्जरल्यान्डका नागरिक छन् । भारत–पाकिस्तान सीमा क्षेत्र ओरधास्थित गान्धी आश्रममा पुगेपछि यात्रा शान्ति सम्मलेनमा परिणत हुनेछ । यो यात्रा गान्धीको १५० औं र विनोभा भावेको १२५ औं जन्म दिनको सन्दर्भ पारेर आयोजना गरिएको हो ।
यात्रीहरू १३ देश पाकिस्तान, इरान, अजरबैजान, जर्जिया, बुल्गेरिया, सर्बिया, उत्तरी मासेडोनिया, कोसोभो, अल्वानिया, मोन्टेनेग्रो, बोस्निया, क्रोसिया, इटाली देश पार गर्दै स्विजरल्यान्ड पुग्नेछन् । केही अप्ठेरा ठाउँमा भने यात्रा गाडीबाट हुनेछ । पाकिस्तानको यात्रामा नेपाली टिमले अगुवाइ गर्नेछ । पूरै यात्रामा भाग लिन नसक्ने वा नचाहनेले ३० दिनका लागि मात्र पनि सहभागी हुन सक्नेछन् ।



शान्ति र न्यायका लागि विश्व यात्रा
‘जय जगत्’ सबैलाई ब्युँझाउने यात्रा हो । आर्थिक, सामाजिक, वातावरणीय संकटलाई चाँडो सही तरिकाले सम्बोधन गर्न ढिला नगर्न सबैलाई चेतावनी यात्रा हो । जीवनको लयमा परिवर्तन गर्न आवश्यक छ । उपभोक्तावादी संस्कृतिले हामीलाई एक दिन नराम्ररी सिध्याउनेछ । यस्तै सन्देश बोकर यात्रीहरू गाउँ–गाउँ र बस्तीमा पुगेका छन् ।
यात्रीहरूले गान्धीका अलावा विनोभा भावे र अम्बेडकरलाई पनि आदर्श पात्रको रूपमा लिएका छन् । विनोभा भावेले सन् १९५० देखि १९६० को दशकमा भूमि प्राप्तिका लागि देशव्यापी यात्रा गरेका थिए । यात्रामा उनले ४२ हजार एकड जमिन दान लिए र पछि भूमिहीनलाई वितरण गरियो । जसलाई भू–दान अभियान भनिएको थियो । समाजमा व्याप्त गरिबी, असमानताको विरुद्ध अम्बेडकर जिन्दगीभर लडे ।
यो यात्रामा विश्व बैंक, संयुक्त राष्ट्रसंघजस्ता विश्वव्यापी संगठनको भूमिकाबारे पनि छलफल हुनेछ । जेनेभामा अहिंसात्मक अर्थव्यवस्थाको विषयमा तिनका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ । नाफा र आर्थिक वृद्धिका कुरा मात्र गर्ने गरिबी र न्यायबारे नबोल्ने संगठनलाई अहिंसात्मक अर्थव्यवस्थाबारे सोच्न र बोल्न आह्वान गरिनेछ । यो यात्राले स्थानीय मुद्दालाई विश्वव्यापी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । ‘हामी समुदायका सानो कुरालाई महत्त्वका साथ उठाउँछौं । विकास तलबाट सुरु हुनुपर्छ भन्ने कुरालाई बहसमा ल्याउँछौं,’ केहीअघि यात्राको अन्तिम तयारी कार्यशालाका लागि नेपाल आएका रोजगोपलले भनेका थिए ।
शोषण, अत्याचार, दमन, गरिबी अप्रत्यक्ष हिंसा हो । प्रत्यक्ष हिंसालाई हामी देख्छौं र खुलेर विरोध गर्छौं । तर अप्रत्यक्ष हिंसामा हामी कम बोल्छौं । जबसम्म अप्रत्यक्ष हिंसाविरुद्ध बोल्दैनौं, तबसम्म दुनियाँमा हिंसा कम हुनेछैन । अप्रत्यक्ष हिंसाको अन्त्य नगरी प्रत्यक्ष हिंसा रोकिँदैन । शान्तिको रटानले मात्र पुग्दैन, शान्तिका लागि न्याय चाहिन्छ । यात्राले यो नाराको पनि पैरवी गर्नेछ ।
यात्राको छिनछिनको अपडेट सोसियल मेडियाबाट दिइएको छ । अभियन्ता अनिश यसका लागि खप्पिस छन् । उनका अनुसार यात्रा हालै झिरिया पुगेको छ । कहिले हिन्दी, कहिले स्पेनिस र कहिले फ्रेन्चहरू गीतहरू गुन्जिरहेका छन् । गीतले यात्रीहरूलाई ऊर्जा दिएको छ भने सर्वसाधारणलाई सन्देश । गाउँगाउँ बस्ती बस्तीमा उत्पीडित समुदायको अधिकारका लागि छलफल
भइरहेको छ ।
नोभेम्बर १६ तारेखका दिन झिरिया गाउँका पार्दी समुदायका महिला र पुरुषसँग रूखमुनि छलफल भयो । पार्दी समुदाय घुमन्ते हुन् । उनीहरूले जंगलको बास र जंगलमा आधारित जीवनकथा यी यात्रीलाई सुनाएका थिए । घुमन्तेहरूले कसरी मानिसहरूले वन विनाश निम्त्याइरहेका छन् र यसले घुमन्ते तथा जंगली जनावरको बासलाई असर गरिरहेको छ भन्ने सुनाएका थिए ।
यो यात्राको अर्को उद्देश्य समुदायहरूमा रहेका सीप र ज्ञानलाई चिन्ने पनि हो । स्थानीय उपाय र सीपलाई कसरी विश्वव्यापी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पनि यसले खोजी गर्नेछ ।

प्रकाशित : मंसिर १४, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

भोला काका

डोरीमा धोती सुकाएको देख्दा झसंग भएँ र आफैंलाई सोधेँ, ‘के उनी फेरि गाउँ फर्किए ?’ भोला काकाको विम्ब मेरो मस्तिष्कबाट कहिल्यै हराउन सकेन ।
फणीन्द्र संगम

भोला गाउँबाट भागेछ,’ सिकुवामा नाम्लो पछार्दै बुबाले भन्नुभयो ।उहाँको अनुहार सधैंभन्दा बढी रातो देखिन्थ्यो । हातमा मैलो ढाकाटोपी अँठ्याउँदा कपाल लछप्पै भिजेका थिए, पसिनाले ।

त्यतिन्जेलमा लोटामा भरि पानी लिएर आमा बाहिर निस्किसक्नुभएको थियो । खाटमा बस्दै बुबाले घटघटी एकै झमटमा पानी रित्याउनुभयो । घाँसको भारी बोकेर आधा घण्टाको बाटो हिँड्नुपर्दा तिर्खाले खरिनुभएको थियो सायद ।


‘हो र ? कहिले ?’ आमाको आश्चर्यमिश्रित प्रश्न ।


‘आज बिहानै ! भालेको डाँकमा ।’


सोचेँ– ‘त्यै भ’र पो, हाम्रोमा भा’को भित्तेघडी झिकेर लगेको र’छ ।’ बेलुका निकैबेर गफिएका भोला काकाले भित्तामा झुन्ड्याएको घडी झिकेर लगेको रहस्य बल्ल बुझेँ मैले ।


भोला काका कहिले हाम्रो गाउँमा भित्रिए, मलाई यकिन छैन । इलाम सदरमुकामनजिकै भए पनि बिजुली र गाडीको सुविधाबाट वञ्चित– साङ्गरुम्बा । सदरमुकामदेखि गाउँको दूरी झन्डै दुई/अढाई घण्टा पैदल । भोला काकाले किन हाम्रो गाउँ नै रोजे होला ? यही प्रश्नले निकै हानेको थियो मलाई ।


जे होस्, भोला काका साङ्गरुम्बा आए । उनी आएको केही दिनमा नै गाउँमा नयाँ सिरक बन्न थाले । बाक्लाबाक्ला डसना तयार भए । बेग्लै चहलपहल भित्रियो ।


धुनिया अर्थात्, सिरक–डसना बनाउने शिल्पी । बुबाले प्रस्ट्याएपछि धुनिया शब्द नै मैले पहिलोपटक सुनेको हुँ । भोला काकाको छोरा थियो, शर्मा । बाउछोराको आश्रय थियो, हाम्रै घरको एक कोठा । केही दिनपछि गाउँमा अरू धुनिया पनि थपिए— शम्भु, छोटेलाल... ।


गाउँलेहरूमा एकाएक नयाँ सिरक बनाउने लहर नै चल्यो । बिदाको दिन म सिरक बनाएको हेर्थें । दुई–तीनवटा मान्द्रो बिछ्याएर त्यसमाथि थुपारिएको रुवाको रासलाई खलखली हुन्जेल पिट्थ्यो शर्मा । रुवा कुट्ने लौरो चिल्लो हुन्थ्यो । बेलुका थन्क्याउने बेला त्यसलाई माया गरेर तेल लगाइदिन्थ्यो अनि आफ्नो कपालमा पुछ्थ्यो । भोला काका कुटिसकेको रुवालाई आफ्नै साधनमा फिट्थे । मोटो धागो कसिएको, गितारजस्तो देखिने धनुषमा जिस्ता (दुईपट्टि गाँठो निस्केको मुंग्रो) चलाएको हेर्न खुब मजा आउँथ्यो ।


सिरक बनाउने अनौठो साधन देखेपछि मैले भोला काकालाई थप जिज्ञासा राखेँ । ‘यो लामो धागोजस्तो छ नि पहेँलो, ऊँटको नसा हो । कहिले चुटिँदैन,’ बुढीऔंला र चोरऔंलाले त्यही नसा तन्काउँदै उनी भन्थे, ‘यसले त ट्रेनलाई पनि तानिदिन्छ ।’


ट्रेन तान्ने ऊँटको नसा ? म छक्क पर्थें । यति बलियो नसा बोकेर हिँड्ने ऊँट कस्तो होला भन्ने जिज्ञासाले फेरि अत्याउँथ्यो मलाई । किताबका पानामा निर्जीव ऊँट त देखेको थिएँ, तर उसको चाल हेर्न पाएको थिइनँ । किनकि गाउँमा कतै टीभी थिएन ।

घर नजिकै थियो साङ्गरुम्बा माध्यमिक विद्यालय । अलिअलि अंग्रेजी मिसाएर बोल्ने भोला काकाले स्कुलका सरहरूसँग समेत दोस्ती जमाइसकेका थिए । कतिसम्म भने डाँडागाउँका पुण्य काकासँग त उनले मीत नै लगाइदिए ।


एकपटक घर जान्छु भनेर हिँडेका काका झन्डै एक हप्तापछि मात्रै फर्किए । यसपटक उनी मात्रै आएनन्, साथमा थियो नयाँ हिरो साइकल । मैले निद्रा नलागुन्जेल सुमसुम्याइरहेँ । घन्टी बजाइरहेँ । ‘बेटा, तलाईं म भोलि स्कुलको गिरानमा लगेर सात फन्का घुमाइदिन्छु, अहिले सुत्,’ काकाले यसो भन्दा मलाई कति बेला बिहान होलाझैं भएको थियो ।


त्यस दिन मेरो ओछ्यानमा बिहान छिट्टै भित्रियो । दिनभर पढाइमा ध्यान गएन । अन्तिम क्लास नभए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो । किनकि भोला काकासँग साइकल चढ्नु थियो । छुट्टी हुनासाथ घर पुगेर कपडा फेरेँ र हुर्रिंदै खेल मैदान पुगेँ । जहाँ गाउँका दाइहरू प्रायः फुटबल खेल्थे । हामी भने मोजा वा चप्पल काटेर बनाइएको ‘गोल’ मै रमाउँथ्यौं । त्यस दिन भने सबै भोला काकाको साइकलमा केन्द्रित थिए ।


मैदानको वरिपरि साइकलमा चक्कर मारिरहेका काकालाई हेर्नेको सानोतिनो भीड नै लागिसकेको रहेछ । उनी थकितजस्तो देखिए र साइकलको स्ट्यान्ड लगाए ।


‘काका, म पनि साइकल चढ्ने,’ छेउमा पुगेर मैले भनेँ ।


‘भरखर आइपुगिस् बेटा । ल, म तलाईं काँधमा चढाएर ह्यान्डिल नसमाई कुदाइदिन्छु ।’ स्ट्यान्डलाई दाहिने खुट्टाले पछाडि धकेले र मलाई चढाउन तयार भए ।


‘मेरो काँधमा चढ्,’ उनी निहुरिनासाथ म फुत्त काँधमा चढिहालेँ । साइकल हाँक्दा सुरुमा त अत्तालिएको थिएँ । तीन–चार राउन्ड घुमाइसक्दा आफैं उडेको अनुभूत गर्न थालेँ । जसरी रुवा फिट्दा शर्माले आँगनभरि रुवा उडाउँथ्यो, त्यही रुवामा आफूलाई रूपान्तरित गरेँ । बीचबीचमा काका भन्थे, ‘आँखा चिम्ली त अब, स्वर्गै पुगेजस्तो मज्जा हुन्छ ।’


म आँखा चिम्लन्थेँ । स्वर्ग त पुगिनँ तर त्यो क्षण भोला काका नै मेरा लागि स्वर्गभन्दा कम लागेनन् । उनैले गाउँमा पहिलोपटक साइकल ल्याए । मैले जीवनमै पहिलोपटक देखेको साइकल उनकै थियो । त्यही साइकल पहिलोपटक कुदाउन पाएँ ।

इलाम बजारमा दुइटा फिल्म हल थिए— राज भिडियो सिनेमा हल र पञ्चकन्या हाइभिजन । बिहीबारे हटियाको दिन बजार जाँदा भोला काका कहिलेकाहीँ फिल्म हेरेर आउँदा रहेछन् । हामीलाई कहानीका टुक्राटाक्री सुनाउँथे र रोमाञ्चित बनाउँथे ।


काकाबाट फिल्मको कहानी सुनेपछि हुन सक्छ, ठूल्दाइमा पनि सिनेमाको रस बस्यो । बजार गएको बेला प्रायः फिल्म हेरेरै आउँथे उनी । कहानी भने भोलिपल्ट बिहान घाँस काट्न जाँदा बाटोमा सुन्न पाउँथ्यौं । दाइको बेग्लै कापी थियो, जहाँ उनले हेरेका सिनेमाको नाम हुन्थ्यो । अनि रेडियो नेपालबाट बजेका गीतका हरफहरू ।


फिल्म हल, सिनेमा, हिरो–हिरोइन, यिनै कुराले मेरो दिमाग टन्किन थालिसकेको थियो । मेरो छटपटी काकाले बुझेछन् । एक दिन भने, ‘तँ पनि मसँग हटिया हिँड् बेटा । म माधुरीको सिनेमा देखाउँछु ।’ बुरुक्क उफ्रेर आमा भएको ठाउँमा गएँ । उहाँ पसलमा व्यस्त हुनुहुन्थ्यो । मैले मसिनो स्वरमा भनेँ, ‘आमा, म भोला काकासँग इलाम जान्छु ।’


‘स्कुल नगई–नगई इलाम जाने तँ ?’ आमाले सहमति जनाउनुभएन ।


‘भोलि बिहीबार बिहानको स्कुल त हो नि,’ मैले बहाना मिलाएँ, ‘स्कुल छुट्टी भएपछि घर आएर जान्छु नि ।’


‘हुन्छ । तर, भोलिको लागि बाख्रालाई घाँस काटिराख् नि ।’ म कचिया बोकेर बारीतिर लागेँ ।

स्कुलकै पोसाक सेतो सर्ट र निलो पाइन्ट (अरू नयाँ लुगा मसँग थिएनन्) लगाएर तयार भएँ । झन्डै अढाई घण्टाको पैदल यात्राले खुट्टा थाकिसकेका थिए । पसिनाले लगभग भिजिसकेको थिएँ म । इलाम चोकबजार नजिकै पीपलबोट छेउ थियो राज भिडियो हल । होचो दुईतले काठको घरभित्र । काकाले टिकट लिएपछि हात समाएर भीड छिचोल्दै भित्र छिराए ।


मधुरो बत्तीमा हल्का उज्यालो छरिएको थियो । उनीसँगै छेउमा बसेँ । ‘अब खुब मोज गर्, कान्छा,’ यसो भन्दै उनले कमिजको गोजीबाट सुपारी र गुट्खा मोलेर एक फ्वाँक मुखमा हाल्न भ्याइहाले । बिस्तारै बत्ती झ्याप्पै निभ्यो । म अत्तालिएँ । भोला काकाले मेरो छटपटी बुझे सायद । भन्दै थिए, ‘अब फिल्म सुरु गर्छ । आनन्दले मैसँग हेर्लास् ।’


अगाडि भित्तामा बिस्तारै उज्यालो छायो । सुरुमा हिरो, हिरोइनको नाम देखाउन थाल्यो । म्युजिक सँगसँगै फिल्मको नाम ठूलो अक्षरमा लेखियो । त्यस्तो ‘आर्ट’ गरेको अक्षर त मैले गाउँमा ‘शुभ विवाह’ लेखेको मात्रै देखेको थिएँ ।


फिल्म त सुरु भयो तर हिन्दी रहेछ । संवाद नबुझे पनि हिरो–हिरोइनको रोमान्स देखेँ, गुन्डालाई रामधुलाइ दिएको चाख मानेर हेरिरहेँ । अहिले सम्झन्छु, फिल्मको नाम ‘बेटा’ रहेछ । जतिबेला म लगभग सात वर्षको थिएँ ।


फिल्म सकिन लाग्दा मात्रै झसंग भएँ । किनकि कोठा पूरै अन्धकार छ । लाग्यो– रात पर्‍यो, अब घर कसरी जाने ? कहिलेकाहीँ राति पढिरहेका बेला टुकीमा तेल सकिन्थ्यो र बत्ती झ्याप्पै निभ्थ्यो, ठीक त्यस्तै महसुस गरेँ । म चुइँकिन थालेपछि काकाले सम्झाए, ‘किन रुन्छस् ए । पिसाबले च्याप्यो भने भन् ?’


मैले दायाँबायाँ मुन्टो हल्लाएँ । ‘रात परिसक्यो, छिटो निस्कौं । नत्र घर कसरी पुग्ने ?’ भन्न पनि सकिनँ । फेरि सोचेँ— भोला काका छँदै छन् । मलाई केको चिन्ता ।


बाहिर निस्कँदा त घाम पो लागिरहेको ! यसरी जीवनमै पहिलोचोटि हल मात्रै होइन फिल्म पनि हेर्न पाएँ— भोला काकासँग ।

सिद्धिथुम्का डाँडाबाट घाम ओरालो लाग्दै गर्दा साँझ भित्रिइसकेको थियो । म रेडियोमा वासुदेव मुनाललाई सुनिरहेको थिएँ । आमाले भन्नुभयो, ‘भोलाले आज उसको परिवारै ल्याउँदै छ रे !’


केही दिनअघि घर जान्छु भनेर हिँडेका काका त्यस दिन फर्किएका थिए । बुबालाई अलिपर लगेर उनले भने, ‘साँल्दाजु, मैले आफ्नो जहान र केटाकेटी पनि लिएर आ’को छु । सधैं कति घर गइरहनु । सँगै हुँदा मन पनि अडिँदो रहेछ...’


केहीछिनमै मजेत्रोले घुम्लुङ्ग शिर ढाकेकी काकी देखिइन् । उनले बायाँ हातले सानी छोरी डोहोर्‍याएकी थिइन् । दुई छोरा पछाडि देखिए । काकाले सबैको परिचय गराइदिए । मेरै उमेरको छोराको नाम रहेछ— शाकिर ।


घाँस काट्न जाँदा शाकिर पनि मसँगै जान थाल्यो । रूखमा चढेर हिन्दी गाना गुनगुनाइबस्थ्यो ऊ । तर, म बुझ्दिनथेँ । परिवार थपिएपछि उनीहरूका लागि अर्को कोठा पनि थपियो । त्यसको केही दिनपछि काका परिवारसहित डाँडागाउँका भट्टराई बाजेकहाँ सरे ।


एक दिन गाउँभर हल्ला फैलियो— भोलाले क्यामेरा किनेर ल्यायो । क्यामेरा हुनेहरू दसैं–तिहारका बेला सेलिब्रिटी बन्थे । फोटो खिचाउनका लागि वल्लो/पल्लो गाउँबाट तारन्तार खबर आइरहने ।


काका साँझमा आइपुगे । भोलिपल्ट कतै हिँड्नुपर्ने भएकाले क्यामेरा लिन डाँडागाउँ पठाए । ‘मलाई बिहानका लागि चाहिएको हो, आज उतै बसेर भोलि बिहानै आउनू,’ निर्देशन दिएर उनी दोकान लाइनतिर निस्किए ।


म तत्काल उकालो दौडिइहालेँ । काकी खाना पकाउँदै रहिछन् । क्यामेरा लिन आएको बताएपछि उनले भनिन्, ‘अहिले रातबिरात कहाँ जान्छ ? भोलि बेहानै लिनू र जानू ।’ म एक छिन अनकनाएँ र शाकिरतिर हेरेँ । उसले आँखाले इसारा गर्‍यो । मैले ‘हुन्छ’ भनेँ ।
आज शाकिरसँग सुत्न पाइने भयो ! मनमा खुसी चढिसकेको थियो । शाकिरका भाइबैनी अघि नै सुतिसकेका रहेछन् ।


‘हाम्पनि सुतुम्,’ शाकिर भाइबैनीलाई भित्तातिर ठेल्दै खाटमा चढिसकेको थियो । उनीहरूले ओढेको तन्ना पन्छाउँदै भन्यो, ‘म छेउमा सुत्छु, तँ ह्याँ बीचमे आइज ।’ जब मैले नांगो खाट मात्रै देखेँ, भरंग भएँ । न गुन्द्री बिछ्याइएको थियो, न त डसना । डसनामाथि तन्ना हुनुपर्ने, तन्नालाई त उनीहरूले सिरक बनाएका रहेछन् ।


धुनियाको घरमै सिरक, डसना छैन ! एक छिन अवाक् बनेँ म । सुत्नु नै थियो । शाकिर छेउमा, त्यसपछि म, उत्तापट्टि उसका भाइबैनी लहरै सुत्यौं । केहीबेरमा मेरो ढाड बिझाउन थाल्यो । उठ्दा आँखा पोलिरहेको थियो ।


घाँटीमा क्यामेरा झुन्ड्याएर डाँडागाउँबाट झर्दा म फुरुंग थिएँ । रूखमा बसेका चरातिर क्यामेरा सोझ्याउँथे र फोटो खिचेझैं खिचिक्क गर्थें । पुसको बेला भए पनि बिहानको घाम न्यानो थियो । अदुवाका बोट सुक्न थालिसकेका थिए । तोरी फुलेकाले बारी पहेँको साडीमा सजिएझैं देखिन्थ्यो ।


मलाई साँच्चिकै फोटो खिच्न मन लाग्यो । जेसुकै होस्, तोरीबारीको एउटा फोटो खिच्छु–खिच्छु । आँट बढ्यो । क्यामेरा तेर्स्याएँ । आँखामा टाँसे र नाक खुम्च्याउँदै अर्को आँखा चिम्लिएँ । ओहो, सानो प्वालबाट कस्तो सुकिलो तोरीबारी ! खिचिक्क पारिहालेँ । फूलमा बस्न आएको मौरीको अर्को पनि... ।


आँगनमा बसेर चिया पिउँदै रहेछन्, काका । हतारहतार क्यामेरा जिम्मा दिएँ । जब उनले गोजीमा हात छिराएर नयाँ रिल झिके, म खिस्रिक्क परेँ । क्यामेरामा रिल लोड गरेपछि झन् पक्का भयो— बिहानभरि फोटो खिचेको क्यामेरामा त रिल नै रहेनछ !
तर, मैले कसैलाई भनिनँ ।


यसरी मैले क्यामेरा देख्न पाएँ । आफैंले छामे । चलाएँ । र, जीवनमै पहिलोपटक भोला काकाको क्यामेराले फोटो खिचेँ ।
शाकिर र मलाई दुईतिर राख्दै केही दिनपछि काकाले घोषणा गरेका थिए— आजदेखि तिमेरी मीत भयौ । अब तँ होइन तिमी भन्नुपर्छ । झगडा गर्नुहुँदैन ।’ मेरो जीवनमा पहिलोपटक मीत लगाइदिने पनि उनै भोला काका थिए ।

भोला काका किन अचानक भागे गाउँबाट ?


मेरो बालमस्तिष्कमा धेरै महिनासम्म यही प्रश्न खेलिइरह्यो । भोला काकाको विम्ब मेरो मस्तिष्कबाट हराउन सकेन । एक दिन म डाँडागाउँ पुगेको थिएँ । आँगनमा टाँगिएको डोरीमा भोला काकाको धोती देखेँ । झसंग भएँ र आफैंलाई सोधेँ, ‘के काका फेरि गाउँ फर्किए ?’


समयचक्रसँगै भोला काका छुट्दै गए । जसरी मबाट बालापन छुटिरहेको थियो । सम्झिन्छु, झन्डै २० वर्षअघिको ऋतिक रोशन काण्डमा ‘इन्डियन’ हरूलाई खुब गाली गर्थे केही । पहिलो सूचीमै पर्थ्यो— धोती ! मेरो मुटुमा च्वास्स बिझ्थ्यो । लाग्थ्यो, यिनीहरू भोला काकालाई नै गाली गरिरहेका छन् ।


संविधान निर्माणपछि आफ्ना माग नसमेटिएको भन्दै मधेसी मोर्चाले आन्दोलन चर्कायो । वीरगन्जमा गोली लागी भारतीय युवकको मृत्यु भएको समाचार आउँदा मेरो दिमागमा झड्का लाग्यो । कतै त्यो शाकिर त थिएन ?


मेरो मीत !


यस्ता अनेकौं घटनामा स्मृतिदंश बल्झिएर आउँछ । त्यसबेला अटाईनअटाई आउँछन्, शाकिर, भोला काका, शम्भु, छोटेलालहरू । खुसुक्क छाडिजाने भोला काकाको विम्ब भने मस्तिष्कबाट कहिल्यै हराएन । जसले मलाई तीन कुरा सिकाए– साइकल कुदाउन । क्यामेरा चलाउन । र, फिल्म हेर्न ।

प्रकाशित : मंसिर १४, २०७६ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×