कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दृष्टिविहीनको हिमालय यात्रा

घनश्याम खड्का

उनी चर्मचक्षुले होइन, मनको दिव्यदृष्टिले संसारको सौन्दर्य परख गर्छिन्  । त्यसैले त हिमालय पर्वतको सौन्दर्यको वर्णन सुनेपछि चुप लागेर घरमा बसिरहन सकिनन्  ।

दृष्टिविहीनको हिमालय यात्रा

हालैको साता आफ्नो देश इजरायलबाट काठमाडौं आइपुगेकी डिना दुवाडी अर्को दिन लाङटाङतिर लागि हालिन् ।


स्याफ्रुबेंसी पुगेपछि उनलाई बोकेको गाडी फर्कियो, उनीचाहिँ सेतो छडीले छामछामछुमछुम गर्दै हिमालतिर उक्लिन थालिन् । मध्यदिनमा सद्दे आँखाले हिँड्दा पनि लाङटाङ जान लरतरो ज्यान र हिँडाइले सकिन्न । किनभने, स्वर्गको मोहनीजस्तो देखिने सुन्दर लाङटाङ उपत्यका पुग्न अजंगका थुप्रै पहाड छिचोल्नुपर्छ । गहिरा गल्छीजस्ता बनेर पहाडको खोँचमा बग्ने नदीहरूलाई धेरैपटक तर्नुपर्छ । यो सब भूगोल कहीँकहीँ त एक पाइला पनि नअट्ने साँघुरा र अप्ठेरा बाटो हुँदै नाप्नुपर्छ । यस्तो अप्ठेरो बाटोमा उमेरले ६४ वर्ष लागेकी र आँखाले अढाई दशकदेखि भर नपाएकी डिना लौराको अन्दाज र गाइडको निर्देशनका भरमा लाङटाङ उपत्यका पुगेरै छाडिन् ।


चाँदीको अद्भुत खजानाजस्ता अग्ला हिमालहरू चारैतिर छन् र यो भूगोल उधुमै सुन्दर छ भनेर उनलाई सँगै आएका इजरायली मित्रहरूले आफ्नो मातृभाषामा सुनाए । ‘हिमाल कस्तो छ भनेर मैले देख्न नसके पनि यसको सौन्दर्य भने महसुस भयो,’ डिना भन्छिन्, ‘हुन पनि, विछट्टको आनन्दी ठाउँ रहेछ हिमालय ।’


हिमालको सौन्दर्य बोध गर्ने डिनाका आफ्नै काइदा छन् । तटीय क्षेत्रको उष्ण हावापानीबाट आएकी उनलाई चिसो हावाले अँगालो हाल्न आइपुगेपछि त्यसै पनि फरक अनुभूति हुने नै भयो । ‘त्यसमाथि मैले बाटोभरि नै प्रकृतिलाई अनेक स्वरहरूमा सुन्न पाएँ जो इजरायलको माटोमा पाइन्न,’ उनी भन्छिन्, ‘त्यो सबको आनन्द त अद्भुतै रह्यो ।’


खोलाको कुलकुल, चराको चिरबिर र जंगलको सुसेली उनका कानमा पर्दा त्यसले कुनै मीठो संगीतले झैं उनलाई मादक बनायो । यसका अतिरिक्त हिमालयको काखमा बिताएको प्रत्येक पलमा उनले एक गहिरो र दिव्य मौनतालाई महसुस गरिन् । त्यो लयदार शान्ति, शीतल हावा र अर्कै जगत्को खबर ल्याएजस्ता चराहरूको अलौकिक चिरबिरको संगीतको सौन्दर्य बोध गर्न उनका लागि आँखाको आवश्यकतै किन थियो र !


लाङटाङको सौन्दर्यपान गर्न भनेर आएका १० इजरायली पर्यटकको टोलीमा आँखाबिनै हिमालय अनुबोध गर्ने र अलौकिक खुसीले आह्लादित हुने डिना मात्रै थिइनन् । उनीझैं पूर्णरूपमा संसारलाई हेर्न नपाएका ५७ वर्षीय जियान बार्दिगो अनि मुस्किलले अलिअलि मात्रै देख्न सक्ने अवस्थाका ४२ वर्षीय याकुव याकोबोब र ५६ वर्षीया बेट्टी बान बसात पनि त्यस टोलीमा उस्तै संघर्ष र आनन्दको अनुभूति सँगाल्दै लाङटाङ पुगेका थिए ।


‘रमाइलो कुरा के भने, मैले बाटोभरि नै पानी बगेको आवाज सुनिरहेँ,’ पेसाले इजरायलमा कर अधिकृत जीयान भन्छन्, ‘त्यो पक्कै पनि हिउँ पग्लिएर आएको होला भन्ने लाग्यो ।’ पानीको आवाजबाट जियान कति आह्लादित थिए भने एउटा समथरजस्तो ठाउँमा त उनी नदीमै पुगे र पानीलाई छोए । ‘अहो ! कति चिसो रहेछ पानी !’ उनी भन्छन्, ‘त्यसको चिसोपनको अनुभूतिले मलाई त बहुतै रमाइलो भयो ।’


लाङटाङ यात्रामा पाँच दिन बिताएर ठमेलस्थित यहुदीहरूको एक धर्मशालामा बसेर लेबनान फर्किने तयारीमा रहेका उनीहरू हालैको एक साँझ वर्षौंपहिलेको कुनै साथीलाई झैं हिमालयको फेदीमा पुग्दाको अनुभव बडो मज्जाले अन्य तन्नेरी इजरायलीहरूलाई सुनाइरहेका थिए । हिमाल राम्रो तर जानचाहिँ असाध्यै कठिन भएको उनीहरू सबको निचोड छ ।


‘बाटोको कुरा गर्नुहुन्छ भने यो ज्यादै अप्ठेरो रहेछ,’ इजरायलको प्रसिद्ध तेल–अभिव विश्वविद्यालयमा आर्किटेक्टकी लेक्चरर बेट्टी भन्छिन्, ‘आँखा देख्नेलाई पनि त्यहाँ जान बहुतै मुस्किल पर्दोरहेछ, हामी आँखाको समस्या भएकालाई त त्यो एकदम खतरनाक यात्रा हो जो मलाई यहाँ आउनुअघि थाहा थिएन ।’


डिना र जियानजस्तो पूर्ण रूपमा आँखा नदेख्ने समस्या बेट्टीलाई छैन । ‘सुरुङबाट बाहिर हेरेजस्तो म अलिअलि देख्न सक्छु,’ बेट्टी भन्छिन्, ‘त्यस्तो देखाइले लाङटाङको बाटामा काम दिने रहेनछ ।’ इजरायलदेखि नै उनलाई सघाउँदै आएका उनका कुशल पथप्रदर्शक जाफिर पाज्ल्को पाखुरामा पाखुरा अड्काएर उनले भनेअनुसारकै ठाउँमा पर्ने गरी लौराको सहाराले जमिनमा पाइला राख्दै अघि बढ्दा बेट्टी, डिना र जियानहरूलाई हुनसम्मको अप्ठेरो भयो ।


‘त्यसमाथि बाटो साह्रै लामो रहेछ,’ उनी भन्छिन्, ‘बिहान पाँचै बजे उठेर अँध्यारो नहुन्जेलसम्म जंगलमा हिँडी नै रहन पर्‍यो, यसले गर्दा यात्राको रमाइलो भनेजस्तो लिनचाहिँ पाइएन ।’ लाङटाङ हतारमा होइन धेरै दिनको फुर्सद लिएर हल्लिँदै र टल्लिँदै प्रकृतिको काखमा रमेर मतापले घुम्नुपर्ने ठाउँ रहेछ भन्ने उनलाई लागेको छ ।


यात्रामा कठिनाइ भए पनि अनुभव भने उनलाई अद्भुत भएको छ । ‘इजरायल गएपछि म अरू धेरै पर्यटकलाई नेपाल जान भन्छु र अर्कोपटक अरू थप दृष्टिविहीन साथीलाई पनि लिएर आउँछु’ उनी भन्छिन्, ‘किनभने, नेपालका मान्छे साह्रै रमाइला र यहाँको प्रकृति अति नै सुन्दर रहेछ, यस्तो ठाउँमा सबले एकपटक घुम्नैपर्छ ।’


दृष्टिविहीनलाई सघाउ पुग्ने खालका पूर्वाधार विकास गरेर कठिनाइ भने अलिक कम गराउन पाए नेपाल झनै गज्जब ठाउँ हुन्थ्यो भन्ने उनी ठान्छिन् । ‘हेर्नुस्, हामी आँखा मात्रै नदेख्ने हौं, खुट्टाले मज्जासँग हिँड्न सक्छौं र आफ्ना काम अरूले जस्तो आरामसँग गर्न सक्छौं,’ उनी भन्छिन्, ‘त्यसका लागि सुहाउँदो संरचना र सुविधाहरू भने चाहिन्छ जो नेपालमा नभएको देख्दा अलिक गाह्रो भने अवश्य नै भएको हो ।’


इजरायलमा फुटपाथमा छडीले छाम्न सकिने धर्सो छ, बाटो काट्न लाग्दा जेब्राक्रसिङमा रातो बत्ती बल्यो कि हरियो बल्यो भनेर कराउने मेसिन छ अनि छ म कहाँ आइपुगेँ भनेर मोबाइलको एउटा खास बटन थिच्दा ठाउँको नाम खरर्र भनिदिने प्रणाली । नेपालमा आउँदा डिना र बेट्टीहरूलाई यस्तो सुविधा भएन जसले गर्दा आफूहरू पूर्ण रूपमा अरू कसैको सहारामा अघि बढ्न परेको र त्यसले आफू अरूभन्दा कमजोर छु भन्ने भाव पैदा गराएको ठान्छन् ।


‘मलाई युरोप र अमेरिकाजस्ता ठाउँमा जाँदा आफू अरूभन्दा कमजोर छुजस्तो अनुभव नै हुँदैन किनभने त्यहाँका सबै कुरा हाम्रा अप्ठेरालाई हेरेर बनाइएको हुन्छ,’ उनी भन्छिन्, ‘नेपालमा भने त्यस्तो केही रहेनछ, यहाँका साथीहरूलाई कति समस्या हुँदो हो !’
पत्रयात्राबाट फर्केलगत्तै काठमाडौंका केही दृष्टिविहीनसँग भेटघाटको चाँजो मिलाएर बेट्टीले उनीहरूले भोग्न परिरहेको असुविधाहरूका बारेमा सुनिन् पनि । ‘यति सुन्दर देश रहेछ, आँखा नदेख्नेहरूलाई त्यसको महसुस गराउनचाहिँ सुविधापूर्ण संरचना चाहिन्छ,’ उनी भन्छिन्, ‘म आशा गर्छु, अर्कोपटक पदयात्रामा आउँदा केही बदलाब अवश्य आउला ।’


मुटु नै जमाउलाजस्तो लाङटाङको चिसै पानीमा नुहाउन पर्दा, सौच गर्न पनि सुतेको होटलबाट धेरै पर जानुपर्दा र शौचालयमा कमोड नहुँदा उनीहरूको हिमालय यात्रा थप कष्टकर भयो । ‘तर हामीले पाएको आनन्दका अगाडि यो केही पनि होइन,’ जियान मुस्कुराउँछन्, ‘समय र पैसा टन्न भएछ भने अर्कोपटक आउँदा म अन्नपूर्ण पदयात्रामा जान्छु, लामो भए पनि त्यहाँको बाटोचाहिँ लाङटाङको जति अप्ठेरो छैन रे ।’


उनीहरूका आँखा हेर्दा अरूका झैं सामान्य देखिन्छन् । उनीहरू सबका आँखा जन्मिँदा सद्दे थिए । उनीहरूले संसारको रूप, रङ र आकारप्रकार अरूले झैं वर्षौंसम्म देखेका थिए । तर, बिस्तारै उनीहरूका आँखामा धमिलो पर्दाले ढाक्दै गयो र एक दिन त्यसले काम नदिने भयो । वंशाणुगत कारणले फेरि कहिल्यै नफर्किने गरी बिदा भएको आँखाको ज्योतिका कारण उनीहरू संसारलाई मनको दिव्यदृष्टिले हेर्न अभ्यस्त हुन थाले । यही उपक्रममा बेट्टी र डिनाहरू लाङटाङ आइपुगेका रहेछन् ।

नेपालको छोटो बसाइमा हिमालयको अनुभव र त्यहाँका सरल मानिसका प्रति उनीहरूको मनमा पर्न गएको आत्मिक सन्तुष्टिको प्रभाव सुनिसकेपछि मलाई देख्न र बोल्न नसक्ने प्रसिद्ध अमेरिकी लेखिका हेलन केलरको याद आयो जसले भनेकी छन्, ‘संसारको सर्वोत्तम र सुन्तरतम चीजलाई हेर्न सकिँदैन, न छुन नै, यसलाई त मात्र हृदयले अनुझव गर्न सकिन्छ ।’
@bodhighanashyam

प्रकाशित : मंसिर ७, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?