रायपुरममा असन !

रायपुरमका धेरै कुरा असनसँग मिल्दाजुल्दा लागे । कतिपय घरहरूले समेत असनकै झल्को दिए । उताझै यहाँ पनि सलल उकालो लागेका एक कोठे भवन प्रशस्त देख्न पाइन्छ ।
सजना बराल

यहाँ मैले गुनासो गर्नुपर्ने चीज धेरै थिए  । काठमाडौंमा भइदिएको भए यिनलाई हेरेर खुब रिसाइरहेकी हुन्थेँ होला  ।

ZenTravel

मलाई त्यहाँको धूलाम्मे बाटो, फोहोरको डंगुर, छाडा चौपाया, गजगज हिलो, खचाखच मान्छेहरू देखेर दिक्क लाग्थ्यो । तर, उस्तै अवस्थाको रायपुरम पुग्दा म मुस्कुराएँ । लाग्यो काठमाडौंको कुनै गल्लीभित्र छिर्दै छु, अनि फोहोर पनि अचानक मगमगाउन थाल्यो ।
म पहिलोपल्ट उत्तर–चेन्नई डुल्दै थिएँ । म बस्ने दक्षिण–चेन्नईको अड्यार जिल्ला आधुनिक छ । यहाँका बस्तीहरू प्रायः प्लान गरेर बनाइएका छन् । रायपुरम भएको उत्तरी भेग यस्तो व्यवस्थित छैन । यो पुरानो बस्ती हो, हाम्रो असन बजारजस्तै लाग्ने । यताबाट छिरेर उतापट्टि निस्किने दुलाहरू भेटिन्छन् यहाँ । एडम स्ट्रिटबाट समु चेट्टी लेन, समु चेट्टीबाट पिल्लायर कोभिल स्ट्रिट र त्यहाँबाट वल्ड वासरम्यानपेट पुग्दा मेरो आँखाभरि असन नाचिरह्यो ।
रायपुरम माझीहरूको बस्ती हो । यहाँको ‘कासीमेडु फिसिङ हार्बर’ प्रसिद्ध छ । सोह्रौं शताब्दीदेखि यहाँ माछा मार्नका लागि हार्बर निर्माण गरिएको इतिहास रहेछ । तर, अहिले यो ठाउँ माझीहरूको बस्ती नभई उत्तर भारतीयहरूको थलोका रूपमा चिनिन थालेको छ । ‘यो फिसरम्यानहरूको एरियामा माछाको गन्ध आउन छोडेको धेरै भइसक्यो,’ मद्रास हाई कोर्टका वलिक एन. गणेशनले भने, ‘माछा मार्ने समुदाय यहाँबाट विस्थापित हुँदै छ ।’
नभन्दै रायपुरमका गल्लीपिच्छे मैले हिन्दीभाषीहरू भेटेँ । चेन्नईमा हिन्दी बोल्नेसँग जम्काभेट हुँदा रमाइलो लाग्छ, गफ गर्न पाइने भएर । नत्र तमिल इल्ले (तमिल आउँदैन) भन्दै हच्किनुपर्छ । धन्न, अटो चालकदेखि मरिना बिचमा मकै पोल्ने अन्ना (दाइ) रेल गाडीमा गज्रा उन्दै गरेका अक्का (दिदी) हरू लाई समेत टुटेफुटेकै सही, अंग्रेजी बोल्न आउँछ र परदेशीहरूलाई सजिलो भइदिन्छ ।
हामी नेपाल, बंगलादेश, भुटान र अफगानिस्तानबाट चेन्नई पुगेकाहरू फरर हिन्दी बोल्छौं । यहाँ चेन्नइका भारतीयले हिन्दी नजानेको देख्दा सुरुसुरुमा सकसक लाग्यो । अलिअलि त आउँछ होला भन्ठानेकी थिएँ मैले । तर, दक्षिण भारतीयहरू मरेकाटे हिन्दी बोल्दैन रहेछन् । उनीहरू आफ्नै भाषा, आफ्नै संस्कृति, आफ्नै पहिचानमाथि गर्व गर्छन् । सन् १९३७ मा भारतीय राष्ट्रिय कांग्रेसले विद्यालयमा हिन्दी भाषाको अध्ययन अनिवार्य गर्दा यहाँ ठूलो विरोध भएको थियो । त्यसयता तमिलनाडु र सिङ्गो दक्षिण भारतले हिन्दी बहिष्कार गर्दै आएको रहेछ ।
उत्तर भारतीयलाई त चेन्नइमा डेरा पाउन समेत मुस्किल पर्ने ! हाम्रो कीर्तिपुरमा पनि गोरखाका मान्छेलाई कोठा दिँदैनन् भन्ने सुनेको थिएँ, त्यही पो याद आयो । मेरा दिल्लीका साथीहरू चेन्नईमा डेरा नपाउँदाको हैरानी सुनाइरहन्थे । शुभम् भन्थ्यो, ‘मलाई कति ठाउँमा नर्थ इन्डियन भनेर सीधै लखेटे, यहाँका सारा मान्छे पूर्वाग्रही छन् ।’ उसले अन्ततः फेसबुकको फ्ल्याट एन्ड फ्ल्याटमेट्स ग्रुपमार्फत थिरुवान्मियुरमा कोठा पाएछ । घरबेटी जाती निस्किएपछि ऊ आफ्नो भनाइ संशोधन गर्न थाल्यो, भन्थ्यो, ‘कोही–कोही पूर्वाग्रही भए पनि धेरैजसो तमिल मनकारी नै छन् ।’
दिल्ली र मुम्बईका साथीहरू उतैको रेल र मेट्रो सही थियो भन्दै चुकचुकाइरहेका हुन्छन् । मलाई भने चेन्नईको सार्वजनिक यातायात ‘बढिया’ लागिरहेको छ । उनीहरूले आफ्नो ठाउँको प्रशंसा गरिरहेका बेला म पनि ‘हाम्रो देशमा पाइलैपिच्छे माइक्रोबस भेटिन्छन्, घुमफिर गर्न सजिलो छ’ भनेर गफ लाइदिन्छु । उनीहरू ‘हिमाल हेर्न आउँछु’ भन्छन् । हरिया डाँडा र सेतो हिमालका कुरा सुन्न यहाँ जो पनि लालायित हुने । हाम्रो देशलाई भारतका युवा पुस्ताले प्यारो गरेको देख्दा खुसी लाग्छ । तमिलहरूले पनि ‘नेपाली हुँ’ भन्नासाथ आतिथ्यता देखाउँछन् ।
यहाँ आएको दोस्रो दिन हामी तारामनीबाट रेल चढेर भेलाचेरी जाँदै थियौं । डब्बाभित्र एक जना प्रहरी अन्ना भेटिए । हामी नेपाली भएको चाल पाएपछि उनले हामीसँग नेपाली पैसा छ कि भनेर सोधे । अनीताले बीस रुपैयाँको नोट निकालिन् । ‘योर मनी इज भेरी ब्युटिफुल’ भन्दै उनले निकैबेर ओल्टाइपल्टाइ गरे । र, अन्तमा भारु बीस दिँदै नेरु बीस आफैं राख्छु भन्न थाले । अनिताले भारु पर्दैन, नेरु राख्नुस् भनेपछि उनी मक्ख परेका थिए । हरेकपटक रेल चढ्दा वा भेलाचेरी जाँदा हामी त्यो घटना सम्झन्छौं ।
चेन्नइमा छ वटा रेलवे लाइन र दुइटा मेट्रो लाइनले दैनिक हजारौं यात्रुलाई वारपार गराइरहेका हुन्छन् । भारतमा सन् १८३० को दशकमा चेन्नईबाटै रेलवे प्रणाली सुरु भएको थियो रे । तत्कालीन मद्रास सहरको पहिलो रेलवे स्टेसन रायपुरममा स्थापना भए पनि यो बिस्तारै लथालिंग भएछ । सन् २००६ मा दक्षिण रेलवे जोनले जीर्णोद्वार गरेर रायपुरम रेलवे स्टेसनलाई पुनर्जीवन दिएयता यसले भारतीय रेलवे सेवाको सबैभन्दा पुरानो संरचनाका रूपमा ख्याति कमाइरहेको छ ।
रायपुरमको जुन गल्लीमा म थिएँ, त्यहाँ जताततै कपडाका दोकान देखिन्थे । सबै सरप्लस स्टोर । सबैका कामदार उत्तर भारतीय । दिल्ली, बिहार, लखनउ, गुजराततिरबाट यहाँ आएर पसल थाप्ने क्रम बढ्दो छ । सटरपिच्छे कपडाका गोदाम र फेन्सी स्टोरहरू छन् । यहाँका कतिपय घरमुली तमिलहरू सारा घर भाडामा लाएर आफू अन्यत्रै बस्दा रहेछन् । सक्नेले मध्य र दक्षिण चेन्नईतिर घर किन्ने गरेको पाइयो ।
रायपुरमका धेरै कुरा असनसँग मिल्दाजुल्दा लागे । कतिपय घरहरूले समेत असनकै झल्को दिए । उताझैं यहाँ पनि सलल उकालो लागेका एककोठे भवन प्रशस्त देख्न पाइन्छ । तर, सारा रायपुरम एकनाश छैन । यसको दक्षिणी इलाका चर्च नै चर्चले भरिएको छ । यहाँ सेन्ट पिटर्स, सेन्ट जर्ज, म्याटर डोलोरोसाजस्ता दर्जनौं चर्च छन् । यिनको बनोट असाध्यै सुन्दर लाग्छ । चेन्नईमा हिन्दुपछिको ठूलो जनसंख्या क्रिस्चियनकै रहेछ ।
चर्चहरूको बगलमा पार्सी (इरानी) हरूको मन्दिर पनि छ । यसलाई ‘फायर टेम्पल’ भन्दा रहेछन् । सन् १९२० मा स्थापना भएको यो मन्दिरभित्रको आगो (बर्निङ फायर) आजसम्म कहिल्यै निभेको छैन रे । पुजारीहरूले दिनको पाँचपटक यसमा दाउरा झोस्ने गर्छन् । मन्दिरमा गैरपार्सीलाई प्रवेश निषेध छ । रेल, फिसिङ हार्बर र क्याथोलिक चर्चपछि रायपुरम पार्सी समुदायका लागि परिचित ठाउँ हो ।
भारतमा पार्सीको ठूलो संख्या गुजरात र मुम्बईमा छ । व्यवसायी रतन टाटा, गोदरेज खानदान, कलाकार बमन इरानी, अभिनेता जोन अब्राहमहरू भारतीय–पार्सी रहेछन् भन्ने कुरा मैले चेन्नई आएर बुझेँ । क्लबवाला, झुनझुनवाला, मोटरवालाजस्ता थर पनि पार्सीभित्रका रहेछन् । सन् १९०६ मा फिरोज एम क्लबवालाले
आफ्नो दिवंगत छोराको सम्झनामा रायपुरममा फायर टेम्पल स्थापना गरेका रहेछन् । अहिले दक्षिण भारतमा रहेका सारा पार्सी यहीँ आएर बलिरहेको आगोमा चन्दनको सुकेको डाँक्लो अर्पण गर्ने गर्छन् ।
यो समुदाय पहिले गुजरात र मुम्बईमा सीमित रहेछ । अब भने चेन्नईमा आफ्नो संस्कृति विस्तार गर्ने क्रममा छ । यहाँ इरानी क्याफे र रेस्टुरेन्टहरू थपिँदै गएका छन् । मुम्बईकी मेरी साथी सरस्वतीले बन मस्का (घिउ हालेको पाउरोटी) र खरी चाय (कडा चिया) नखाएसम्म पार्सी खानाको स्वाद चाल नपाइने बताइन् । अनि हामी एन्डिअप्पन स्ट्रिटको पर्सियन बेकरीतर्फ लम्कियौं । मैले मटन समोसा, अकुरी, नान–खटाईजस्ता परिकार ढ्याउ नआउन्जेलसम्म खाएँ ।
रायपुरममा पार्सीहरूको धर्मशाला, क्याफे, मन्दिर, मण्डप, रंगमञ्च आदि छन् । उनीहरूको जनसंख्या भने ३ सय मात्रै हो, त्यही पनि घट्दो क्रममा छ । यसलाई जोगाउने कुरामा पार्सीहरूको आफ्नै टाउको दुखाइ रहेछ । ‘जब हामी ८ औं शताब्दीमा इरानबाट भारत आयौं, हामीले यहाँका राजालाई स्थानीयसँग घुलमिल नहुने र गैरपार्सीसँग विवाह नगर्ने कसम खाएका थियौं,’ फायर टेम्पलका पुजारी बोमी वाजिफ्दारले भने, ‘अहिले हाम्रो जनसंख्या घट्दै गए पनि यो जोगाउने नाममा हामी बाहिरका सँग विवाह गरेर आफ्नो वाचा तोड्न सक्दैनौं ।’ बीबीसीमा प्रकाशित एक लेखअनुसार भारतमा १२ प्रतिशतका दरले पार्सीको जनसंख्या प्रतिदशक घटिरहेको छ ।
यो अल्पसंख्यक समुदायको पहिचान स्थापना गर्न चेन्नई सरकार भने गम्भीर रहेछ । उसले गएको अगस्टमा मद्रास सप्ताह मनाइरहँदा त्यसमा पार्सी समुदायलाई महत्त्वका साथ सामेल गराएको थियो । त्यो बेला रायपुरममा ‘ब्रेकफास्ट विद पार्सी’ नामक फुड टुर आयोजना गरिएको थियो । त्यसमा पार्सी समुदायले आफ्ना परिकार तमिलवासीलाई चखाएका थिए ।
पार्सीहरूको फुड टुरमा हिँडेको भोलिपल्ट म रायपुरमको असनझैं देखिने समु चेट्टी लेनतिर पुगेँ । त्यहाँका हरेक चोकमा मन्दिर देख्दा फेरि पनि काठमाडौंमै छु कि भन्ने आभास भइरह्यो । मन्दिरका मामिलामा सिंगो चेन्नई काठमाडौंसरह लाग्छ । काठमाडौंझैं यो पनि ‘मन्दिरै मन्दिरको सहर’ भन्न लायक छ । अनि दुवै ठाउँका भगवान्को स्वभाव पनि उस्तै– मौन छन् ।
रायपुरम भने आफ्ना देउताझैं शान्त छ्रैन । यहाँ रेलको छुकछुक, मन्दिर र चर्चको घन्टी, मान्छेका च्याउँच्याउँ, अटोवाला र स्कुटरको हर्न, कुकुरको ह्वाङह्वाङले कानको जाली खान्छ । त्यसमाथि चेन्नइमा अन्त कतै नभएको धूलो र हिलो पनि यहीँ छ । घरको हालतसँग मेल खाने भएर होला, मलाई भने रायपुरम चेन्नईकै प्रिय ठाउँमध्येमा लाग्छ।

Meroghar

प्रकाशित : कार्तिक ३०, २०७६ १०:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

महिला उत्थानमा प्रधानमन्त्रीको जोड

सजना बराल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार महिलाको उत्थानबिना समाजको उत्थान सम्भव नहुने बताएका थिए । ‘प्रथम राष्ट्रिय महिला दिवस’ को असवरमा आयोजित एक कार्यक्रममा उनले महिला अधिकारको क्षेत्रमा नेपालले धेरै उपलब्धि हासिल गरेको र उनीहरूलाई पुरुषसरह अधिकार दिलाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । 

संसदमा बोल्दै प्रधानमन्त्री । तस्बिरः इलिट जोशी

प्रधानमन्त्रीले महिलाको पक्षमा बोल्नुभन्दा एक दिनअघि अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणमा महिलाको आर्थिक र सामाजिक उत्थानका कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने बताएका थिए । विपन्न र वञ्चितमा परेका महिलाको उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाउने उनको भनाइ थियो । यसो भनिरहँदा उत्थान कार्यक्रमलाई उनले अघिल्लो पटकभन्दा यसपालि साढे सात करोड रुपैयाँ कम विनियोजन गरेका थिए ।

अघिल्लो बजेटमा यही कार्यक्रमका लागि २९ करोड ५७ लाख रुपैयाँ छुट्याइएकामा यसपटक २२ करोड रुपैयाँ मात्रै छ । यद्यपि ऊक्त कार्यत्रमलाई देशव्यापी रूपमा लागू गराउनु आफूहरूको लक्ष्य भएको अर्थमन्त्री खतिवडाको भनाइ थियो । ‘दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यलाई निरन्तरता दिइनेछ,’ उनले भने, ‘हिंसापीडित महिलाको उद्धार, राहत, मनोसामाजिक परामर्श र कानुनी उपचारका लागि पुनःर्स्थापना केन्द्रहरू विस्तार गरिनेछ ।’

आव २०७३/७४ को नीति तथा कार्यक्रममा महिला उत्थान कार्यक्रमबारे पहिलोपटक उल्लेख गरिएको थियो । सरकारले यसपालि वादी महिलाहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि आवास विकास योजना सञ्चालन गर्ने रणनीति तयार पारेको छ । यसलाई बजेटका नौला कार्यक्रममध्ये एक मानिएको छ । भूमिमा महिलाको पहुँच सुनिश्चित गर्नेबारे पनि बजेटमा उल्लेख गरिएको थियो । सरकारले सामाजिक सशक्तिकरण र आर्थिक रूपान्तरण गर्न महिलाको उद्यमशीलता विकास गर्न चाहेको छ ।

यसका लागि महिला श्रमको सदुपयोग र समयको बचत गर्ने प्रविधिको प्रयोगमा जोड दिने अर्थमन्त्रीको भाषणमा थियो । उनले लैंगिक उत्तरदायी बजेट प्रणालीलाई प्रदेश र स्थानीय तहसम्म संस्थागत गर्दै लगिने बताए । महिला बालबालिका र ज्येष्ठ नागरिकतर्फ ७८ करोड बजेट विनियोजन गरिएको छ । अघिल्लोपटक यसमा १ अर्ब ८८ करोड १२ लाख बजेट छुट्याइएको थियो ।

एकल महिलाको भत्ता वृद्धि

लोककल्याणकारी राज्यको दायित्व निर्वाह गर्ने भन्दै सरकारले यसपालि एकल महिलाको सामाजिक सुरक्षा भत्तामा मासिक १ हजार रुपैयाँ बढाएको छ । यो भक्ता अति अशत्त, अपांगता भएका, लोपोन्मुख आदिवासी र जनजातिसमेतलाई प्रदान गरिँदै आएको छ । अब उनीहरूले मासिक २ हजार रुपैयाँ भत्ता पाउनेछन् । ‘सरकारले एकल महिला र ज्येष्ठ नागरिकको भत्ता बढाएको छ,’ एकल महिलाको पक्षमा काम गर्ने लिली थापा भन्छिन्, ‘यसका लागि धेरै धन्यवाद ।’

एकल महिलालाई राज्यबाट संरक्षित भएको अनुझूति हुने गरी कार्यक्रम सञ्चालन गरिने सरकारको अर्को योजना छ । विद्यमान सामाजिक सुरक्षाका कार्यत्रमलाई समन्वयात्मक ढंगले सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख थियो । आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, अपांगता भएका बालबालिका, एचआईझी संक्रमितलगायत सबै नागरिकलाई सामाजिक सुरक्षाको कार्यत्रममा समेट्न खोजिएको छ ।

यस्तै महिलाहरूले प्रयोग गर्ने स्यानटरी प्याड, फिड सप्लिमेन्टजस्ता उद्योगका सञ्चालकहरूले कच्चा पदार्थ, मेसिनरी वा यन्त्र उपकरणमा लाग्ने भन्सार दर घटाउन सरकारलाई घच्घच्याइरहेका थिए । चालु बजेटले उनीहरूको गुनासो सम्बोधन गरेको देखियो । स्यानटरी प्याड, फिड सप्लिमेन्टजस्ता उद्योगको प्रवर्द्धनका लागि यस्ता उद्योगहरूले पैठारी गर्ने औद्योगिक मेसिनरी तथा यन्त्र उपकरणमा लाग्ने भन्सार महसुल दर घटाइएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×