कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूख रोप्दैमा बन्छ जंगल ?

रातारात रूख रोप्न त सकिएला, जंगल होइन । जंगल निर्माण एउटा लामो पर्यावरणीय प्रक्रियाबाट गुज्रन्छ । पर्यावरणका सबै अंगको पचासौँ/सयौँ वर्षको अथक र निरन्तर प्रयासबाट वास्तविक जंगलको निर्माण हुन्छ ।
कान्तिपुर संवाददाता

मोलाई फरेस्ट
अमेजन जलिरहन्छ– अमेजनसँगै विश्वको मन  । तर ब्राजिल आफैँलाई रत्तिभर फिक्री छैन  ।

रूख रोप्दैमा बन्छ जंगल ?

सरकार जसरी पनि यो काम फत्ते गर्न लागेको छ । संसारभरि सबैले यस्तै गर्ने हो भने पृथ्वीको आयु अब कति वर्ष बाँकी रहला ! तर यस्तो मात्र छैन । थुप्रै सुन्दर काम गर्नेहरू पनि छन् । त्यसैले त पृथ्वी जीवित छ ।
एउटा सुन्दर हृदय हुन्– जादब मोलाई पाएङ । उनले ५५० हेक्टर ब्रह्मपुत्रको बालुवाको किनारलाई घना जंगलमा परिणत गरिदिएका छन् । आसामको मिसिङ आदिवासी पाएङ एउटा सामान्य कामदार हुन् । दूध बेचेर जीविकोपार्जन गर्नु उनको नियमित पेसा हो । अहिले पनि उनी यही नै गर्छन् । तर उनले विगत ४० वर्षमा गरेको वन विस्तारलाई विश्वले नै आश्चर्यसँग लिएको छ ।
सन् १९८९ मा पाएङ १६ वर्षका किशोर थिए । उनी ब्रह्मपूर्णको किनारामा हिँड्दै थिए । त्यहाँ उनले बाढीले बगाएर ल्याएका असंख्य सर्प रूखको छहारी नपाएर मरेको देखे । त्यति बेला उनले त्यस बगरमा २० वटा बाँसका तामा रोपे । त्यसपछि लगत्तै गोलाघाट जिल्लाको वन विभागले नजिकैको अरुनाचपारीमा २०० हेक्टर जंगल विस्तार गर्ने पाँचवर्षे योजनामा मजदुरको रूपमा खटिए । यो परियोजना सकिएपछि अरू कामदार फिर्ता भए तर उनी रोपेका बिरुवाको मलजल र संरक्षणमा निरन्तर खटिए ।
सँगसँगै उनी आफ्नो नजिकैको ब्रह्मपुत्रको बगरलाई जंगल रूपान्तरण गर्न लागिपरे । यो उनको एकल प्रयास थियो । यो अहिले एउटा संरक्षण क्षेत्रमा परिणत भैसकेको छ । जसलाई भारत सरकारले उनको नामबाट ‘मोलाई फरेस्ट’ को उपमा दिएको छ । अहिले यो क्षेत्र पाटे बाघ, गैंडा र हात्तीको बासस्थान भएको छ । यो बाँदरहरू एवं गिद्धलगायतका थुप्रै पशुपन्छीको आश्रयस्थल बनेको छ । यहाँ अहिले सयौँ प्रजातिका लाखौँ रूख छन् । ३०० हेक्टर त बाँसका प्रजातिले मात्र ओगटेको छ । त्यसो त झन्डै १०० संख्याको हात्तीको वथान बर्सेनि मोलाई फरेस्टमा आउने गर्छ र झन्डै ६ महिना यहीं नै बस्ने गर्छ । केही वर्ष पहिला एकै वर्ष १० वटा छावा यो वनभित्र जन्मिएका थिए । यसबाट अनुमान लगाउन सकिन्छ जादभ मोलाई पाएङ एक्लैले कत्रो ठूलो जंगल उमार्न सफल भएका छन् ।
उनले सन् १९७९ मा यो अभियान सुरु गरेका थिए । यद्यपि उनको यो कर्मको परिणाम २००८ मा मात्र बाहिर आएको थियो । यो जंगलबाट डेढ किलोमिटर टाढा अरुनाचपारीमा ११५ वटा हात्तीको बथानले मान्छेको बस्ती विनाश गरेको थियो । त्यो हात्तीको बथान खोज्दै जब सरकारी अधिकारीहरूको टोली मोलाईको जंगलमा पुगे उनीहरू आफैँ तीनछक परे । यत्रो घनाजंगलको बारेमा उनीहरू मात्र होइन सबै सरकारी निकायहरू अनभिज्ञ थिए । इतिहासदेखि नै यो क्षेत्र केवल बालुवाको थुप्रो थियो । त्यसपछि यस क्षेत्रलाई पनि वन विभागले नियमित अनुगमन गर्दै आएको छ । यहाँको वन्यजन्तु संरक्षणमा तिनले पाएङसँग सहकार्य पनि गर्दै आएको छ ।
त्यसो त मोयाङ राज्यका अन्य क्षेत्रमा गएर यस्तै जंगल विस्तार गर्न तयार छन् । तत्काल भने उनी अर्को किनारामा पनि यस्तै जंगल निर्माण गर्दै छन् । पाएङ कुनै सरकारी कर्मचारी या एकेडेमिसियन होइनन् । न त उनले एनजीओ, आईएनजीओको पैसा लिएर वन बनाएका हुन् । उनी गाई/भैंसीको गोठबाट दूध बेचेर गुजारा चलाउँछन् । उनका सयौँ गाई/भैंसी बाघले खाइसकेका छन् । यद्यपि उनीे यो पीडाको जड कारण मान्छेले गरेको वन विनाशलाई दिन्छन् ।
‘तपाईं एक्लैले यत्रो विशाल जंगल कसरी रोप्नुभो/हुर्काउनुभो ?’ पाएङको चेत कुन स्तरको छ, उनको उत्तरले प्रस्ट पार्छ, ‘यसमा म एक्लो छैन । मैले एक्लै केही गर्न सक्दिनँ । बरु यो सब यहाँ बग्ने हावाले गर्छ । यो ब्रह्मपुत्रको पानीले गर्छ ।
मैले त एउटा बीउ रोप्ने हो । बाँकी यहाँको हावापानीले त्यसलाई हुर्काउँछ, फुलाउँछ, फलाउँछ । यहाँको हावा र ब्रह्मपुत्रको पानीले तिनका बीज यत्रतत्र छरिदिन्छ र अरू सयौँ बिरुवा उमारिदिन्छ ।’ ‘फरेस्टिङ लाइफ’ नामको उनको बारेमा बनेको डकुमेन्ट्रीमा पाएङ भन्छन् ।
पाएङ अहिले पनि सामान्यसँग पहिलाजस्तै आफ्नो काममा तल्लीन छन् । यद्यपि, उनले २०१५ मा भारत सरकारले पद्मश्री अवार्ड दिइसकेको छ भने आसाम एग्रिकल्चरल र कान्जिरावा विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधी दिइसकेका छन् ।

द ग्रेट ग्रिन वाल
पाएङ त एउटा व्यक्ति मात्र हुन् । संसारमा प्रायः सबैतिर जंगल विस्तार भइरहेको छ । आश्चर्यसँग सिङ्गो अफ्रिका महादेशले काम गरिरहेको छ । यो अभियानलाई ‘ग्रेट ग्रिन वाल’ नाम दिइएको छ भने यसमा अल्जेरिया, बुकिनो फासो, इजिप्ट, इथियोपिया, नाइजेरिया, सेनेगललगायत २० अफ्रिकन मुलुकको प्रत्यक्ष संलग्नता छ । खासमा उत्तर अफ्रिका मुख्यतः सहारा मरुभूमिले ढाकिएको छ । यो पूर्वीदेखि पश्चिमी कोस्टसम्मै फैलिएको छ । सहाराको दक्षिणी बेल्टलाई साहेल क्षेत्र भनिन्छ ।
खासमा ‘ग्रेट ग्रिन वाल’ भनेको साहेल क्षेत्रमा सिङ्गो अफ्रिका महादेशको पूर्वदेखि पश्चिमसम्म न्यूनतम १५ किमि चौडाइको नयाँ जंगल उमार्नु हो । यसको लम्बाइ ७,६०० किमि हुन आउँछ भने यो एउटै जंगलले २० मुलुकको सिमाना पार गर्छ । पूर्वी मुलुक इथियोपिया र पश्चिमी मुलुक सेनेगल छुने यो जंगलको प्रमुख औचित्य भनेको जलवायु परिवर्तनसँग लड्नु नै हो । यसले भू–विनाश र मरुभूमिकरणलाई रोक्नेछ । त्यस्तै १०० मिलियन हेक्टर मरुभूमिलाई यसले फेरि जीवन्त मात्र पार्दैन, २०३० सम्ममा ग्रामीण क्षेत्रमा ३५,००० रोजगारीहरू सिर्जना गर्दै वातावरणको २५० मिलियन टन कार्बनडाइअक्साइड सोसिदिन्छ ।
यो अभियान २००७ मा मात्र सुरु भएको हो । ५,५३१,०४२ रूख त २०१८ सम्ममा बुर्किनाफासोले मात्रै रोपिसकेको छ जुन आफैँ गृहयुद्धमा फसेको छ । नाइजेरिया, सेनेगल र इथियोपियाजस्ता मुलुकले लक्ष्य प्राप्ति गरिसकेका छन् । यो जंगलमा रोपिएका आकाकियाजस्ता रूखको जराहरूले जमिनमा पानी संरक्षण गरेर राख्छन् जसले जमिनलाई मरुभूमिकरण हुनबाट बचाउँछ । पर्यावरणमा मात्र होइन, अहिले ‘ग्रेट ग्रिन वाल’ आसपासका ग्रामीण बस्तीहरूबाट बसाइसराईबाट विस्थापित हुने क्रम रोकिएको छ । वन पैदावर समुदायको दिगो विकासका लागि कोसेढुंगा बन्ने कुरा निश्चित देखिन्छ । वास्तवमा यी अफ्रिकन मुलुकहरू चीनको ‘थ्री नर्थ सेल्टर फरेस्ट प्रोगाम’ बाट प्रभावित भएका थिए । चीनले १९७८ मै २०५० मा सक्ने गरी थालेको यो अभियानले ४,५०० किलोमिटर लामो एउटै जंगल बनाउँछ जसले चीनका उत्तरका तीन ठूला प्रान्तलाई नै समेट्छ । अन्ततः यसले गोभी मरुभूमिलाई ब्युँझाउन पनि ठूलो भूमिका खेल्छ । चीनले सबैतिर जंगल विस्तार गरिरहेको छ । ऊसँग संसारकै सबैभन्दा ठूलो मानव विस्तारित जंगलक्षेत्र छ । यद्यपि चीनको जंगल विस्तारलाई ‘मोनोकल्चरल प्लान्टेसन’ को आरोप पनि आइरहन्छ ।

हाम्रा छिमेकी मुलुकहरू
जंगल विस्तारमा हाम्रा दुई छिमेकी मुलुक चीन र भारत विश्वमै अग्रणी स्थानमा छन् । नासाको २०१९ को रिपोर्टले भन्छ, ‘विश्वलाई नै हरियो बनाउने काममा चीन र भारतले सबैलाई उछिनेका छन् ।’ त्यसो त भारतको वन विस्तार चीनको जस्तो विवादास्पद पनि छैन । यही वन विस्तारकै कारण भारतले पछिल्लो चार वर्षमा बाघको संख्या ३३ प्रतिशत वृद्धि गर्न सफल भएको छ । भारत र चीन त ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । पछिल्लो ५ वर्षयता वृक्षरोपण र वन विस्तारमा पाकिस्तानले विश्वलाई नै चकित पारेको छ । भूक्षयीकरण र मरुभूमिकरणका विरुद्ध सन् २०१३ मा एउटा ठूलो जेहाद नै छेड्यो । ‘बिलियन ट्री प्रोजेक्ट’ अथवा ‘बिलियन ट्री सुनामी’ नाम दिइएको यो अभियानले पाँच वर्षमा एक अर्ब दुई करोड रूख रोप्ने र हुर्काउने महत्त्वाकांक्षी योजना अघि सारेको थियो । ‘हामी बनाउँछौं पाकिस्तान’ नाराका साथ सुरु गरिएको यो कार्यलाई अहिलेसम्मकै सबैभन्दा महत्त्वाकांक्षी राष्ट्रिय योजनाका रूपमा लिइएको थियो । प्रायः असम्भवजस्तो लाग्ने यो ‘मिलियन ट्री सुनामी’ अन्ततः पूर्ण रूपमा सफल भयो । सरकारी निकाय र सरोकारवाला मात्र होइन– हरेक पाकिस्तानी नागरिक यो अभियानमा जुटे । सबै जंगल संरक्षण र विस्तारमा उत्तिकै जागरुक देखिन्छन् ।
हुन त पाकिस्तानको वृक्षरोपण पनि चीनको जस्तै अलिक कम वैज्ञानिक देखिन्छ । किनकि संख्याको तुलनामा त्यहाँ न्यून प्रजातिका रूखहरू रोपिएका छन् । सल्लाको जंगल विस्तार ज्यादा देखिन्छ । यद्यपि यो अभियानले ल्याएको उत्साह, परिणाम र आम नागरिकको वातावरण संरक्षण क्षेत्रमा देखिएको जागरुकताका कारण यसलाई विश्वस्तरबाटै सराहना मिलेको छ । यो प्रशंसनीय छ ।
अझ भुटानलाई त ‘ग्रिन कन्ट्री’ नै भनिन्छ । सन् १९९१ मा भुटानको कुल भूभागको ५३ प्रतिशत मात्र जंगलको ढाकेको थियो । अहिले भुटानमा ७१ प्रतिशत भूभाग जंगलले ढाकेको छ भने त्यहाँ ८०० मिलियन रूख रहेको आकलन छ । भुटानको जंगलले २२ मिलियन कार्बन बर्सेनि उत्पादन गर्छ भने यसको तीन गुणा बढी कार्बनडाईअक्साइड खपत गर्छ । समग्रमा भुटानले आफूले खपत गर्नेभन्दा दुई गुणा बढी अक्सिजन उत्पादन गर्ने गर्छ ।
विश्वले यसरी वन विस्तार गरिरहेको छ कि धनीभन्दा धनीदेखि गरिब अफ्रिकी मुलुकहरू पनि उत्तिकै लागिपरेका छन् । यसको ठीक उल्टो दिशामा हिँड्न हामीलाई केले उत्प्रेरित पारिरहेको छ ? हुन त नेपालको वन क्षेत्र पछिल्लो समय ४ प्रतिशत हाराहारीमा वृद्धि भएको छ । यसका पछाडि दुई प्रमुख कारण छन् ः पहिलो त पहाडी क्षेत्रतिरका कतिपय कृषिजन्य भूभाग बसाइसराइका कारण बुट्यान/झाडी र वनमा परिणत भइरहेका छन् । अर्को प्रमुख कारण भनेको सामुदायिक वन पैदावरको वृद्धि र व्यवस्थापन पनि हो । सामुदायिक वनमा उल्लेख्य रूपमा वृद्धि भएको छ । यो खुसीको कुरा हो । यद्यपि बुझ्नुपर्ने कुरा यो छ कि सामुदायिक वन विस्तार पनि २/४ दिनमा भएको होइन । यो आफैँमा पर्यावरणीय प्रक्रियाबाट गुज्रेर बनेको प्राकृतिक जंगल हो ।

मोनोकल्चरल प्लान्टेसन
एकातिर स्थानीय स्तरमा हाम्रा साना वन क्षेत्रहरू व्यवस्थित रूपमा विस्तार पनि भइरहेका छन् । तर अर्कोतिर, ठूला परियोजनाका नाममा परम्परागत राष्ट्रिय जंगलहरू पनि मास्दै छौं । सम्बन्धित निकायसँग यसको ‘रेडिमेट’ जवाफ छ, ‘एउटा रूखको सट्टामा २५ नयाँ बिरुवा रोपिन्छ ।’ तर कस्ता बिरुवा रोप्ने, कहाँ रोप्ने र कसरी हुर्काउने भन्ने विषयमा सम्बन्धित निकाय सदैव बेखबर रहन्छ ।
बुझ्नुपर्ने कुरा यो हो कि, पुरानो जंगलको एउटा वयस्क रूख काट्दा एउटा रूख मात्र ढल्दैन ! चराका गुँड, फूल र बचेराहरू पनि झर्छन्, टोड्कामा आश्रय लिएका विभिन्न सरिसृपहरू घरबारविहीन हुन्छन् । अर्किड र झ्याउ वर्गका असंख्य परजीवी वनस्पतिहरू लोप हुन्छन् । रूखको सहारामा आकाशतिर लम्किने लहरा प्रजातिहरू नास हुन्छन् । समग्रमा एउटा बृहत् पर्यावरणीय चक्रमा खलल पुग्छ । जंगल नै विनाश गर्दा त सयौँ वर्षदेखि लडेका रूखका ठुटामा आश्रित कमिला/धमिरा, थासो र विस्टामा जीवन चक्र बिताउने गोब्रेकीरा र भुसुनाजस्ता स–साना जीवहरूदेखि हात्ती, गैंडा र बाघजस्ता भीमकाय प्राणीहरूसम्मलाई असर पुर्‍याउँछ ।
के मानव निर्मित वनले प्राकृतिक वनको क्षतिपूर्ति गर्ला त ? अहँ गर्दैन । उदाहरणका लागि केरलाको ‘वायनाद संरक्षण क्षेत्र’ लाई लिन सकिन्छ । संरक्षण क्षेत्रको ठूलो हिस्सा ‘टिक प्लान्टेसन’ ले ढाकेको छ । ‘टिक’ यहाँको रैथाने वनस्पति होइन । हलुका र बलियो टिकको काठ पानी जहाज र फर्निचरको लागि महत्त्वपूर्ण मानिन्छ । उच्च आर्थिक महत्त्व बोकेको ‘टिक प्लान्टेसन’ लाई ब्रिटिस इस्ट इन्डिया कम्पनीले अभियानकै रूपमा अघि सारेको थियो ।
टिक प्लान्टेसनले त्यहाँ अन्य स्थानीय वनस्पतिलाई उम्रन र हुर्कन दिएन । जंगलमा टिकले एकाधिकार जमायो । हात्तीले टिकको पात खाँदैन । यसले आफ्नो आसपास अन्य वनस्पति र घाँसहरू उम्रन दिँदैन । फलस्वरूप आहाराका लागि सयौँ हात्ती यो जंगलबाट विस्थापित हुनुपर्‍यो । त्यति मात्र होइन हिउँदमा टिकका सुकेको पातले भुइँ भरिन्छ– आक्कलझुक्कल लाग्ने डढेलोले जंगल ढाक्छ र कमिला–गँड्यौलालगायतका जमिनमा आश्रित स–साना प्राणीहरूको पनि विनाश निम्त्याउँछ ।
ठ्याक्कै यही प्रवृत्ति नेपालका पहाडहरूमा गरिएको ‘मोनोकल्चरल’ सल्लाको जंगल विस्तारमा पनि देखिन्छ । बाक्लो गरी सल्ला रोपिएको क्षेत्रमा अन्य वनस्पति र झाडीहरू पलाउँदैनन् । यस्तो जंगलमा साँच्चै भन्नुपर्दा चराले गुँड लाउनसम्म पाउँदैनन् । सल्लो मात्रै रोपिएको जंगलमा पानीको स्रोतहरू पनि मासिन्छन्– देख्दा हरियो देखिए पनि त्यहाँ ‘बायो डाइभर्सिटि’ शून्य हुन्छ । प्राणीहरूको सन्तुलित अस्तित्व असम्भव हुन्छ । यस्ता ‘मोनोकल्चरल प्लान्टेसन’ ले पर्यावरणलाई दीर्घकालीन असर पार्ने गर्छ । सबैलाई थाहा छ ‘वायनाद’ संरक्षण क्षेत्रको ‘टिक’ को जंगलले त्यहाँको ‘बायो डाइभर्सिटी’ लाई तहस–नहस पारेको छ । यद्यपि संरक्षण क्षेत्रभित्र भएकाले यसलाई काटेर विस्थापित गर्न पनि वन ऐनले दिँदैन । रातारात रूख रोप्न त सकिएला, जंगल होइन । जंगल निर्माण एउटा लामो पर्यावरणीय प्रक्रियाबाट गुज्रन्छ ।
मोलाई फरेस्ट यसको एउटा ज्वलन्त उदाहरण हो । मान्छेको एउटा सानो प्रयासमा पर्यावरणका सबै अंगको पचासौँ/सयौँ वर्षको अथक र निरन्तर प्रयासबाट वास्तविक जंगलको निर्माण हुन्छ । अहिले हामीले विमानस्थलको नाममा मास्न लागेको जंगल पचास/सय या हज्जार वर्षमा मात्र निर्माण भएको होइन । यसको ‘रुट’ त्योभन्दा लामो छ । यस्तो सामरिक वन विनाश गर्नु भनेको घर पोलेर ललाटमा विगुत धस्नुजस्तो मात्र हो । कुनै पनि प्रकारको वृक्षरोपण र वन विस्तारले यसको क्षतिपूर्ति दिन सक्दैन ।

प्रकाशित : कार्तिक ३०, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?