कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तक : मृत्युको आयु नाप्ने उपन्यास

कृष्ण धरावासी

मृत्युलाई टार्न सकिँदैन । त्यसलाई केही समय रोक्न सकिएला आधुनिक चिकित्सा पद्धतिको सहयोगबाट तर कहिल्यै नमर्ने बनाउन सकिँदैन । सारा इतिहास मृत्युको कथा हो । सारा पुराणहरू मृत्युकै अभिलेख हुन् । नमर्नकै लागि मानिसहरू मरिरहेका हुन्छन् । मर्नुकै विरुद्धमा असाध्य कामहरू गर्न तयार हुन्छन् र तिनै कामहरूकै सिलसिलामा मरिरहन्छन् ।

पुस्तक : मृत्युको आयु नाप्ने उपन्यास

मृत्यु भनेको माया हो । मायाले मानिसलाई बाँच्न दिँदैन । माया यस्तो प्रिय छ, त्यसले आफ्नै निम्ति मर्न प्रेरित गरिरहन्छ । मानिस देशका लागि भनेर मर्न जान्छ, परिवारका लागि, प्रेमका लागि, मित्रताका लागि । अनेक कारण हुन्छन् जसलाई बँचाउन भनी मानिस मर्न चाहन्छ– मरिरहन्छ । जति पनि साहित्य, संगीत, कला छन्, ती सबैले मृत्युकै प्रशंसा गरेका छन् । दुःखको कथा खुब बिक्छ । दुःख मृत्युतिरकै गोरेटो हो नि त !


मृत्यु कटुसत्य हो । अपरिहार्य हो । तर मृत्यु एक यस्तो कल्पना पनि हो जो आफैंमा डरलाग्दो पनि छ । जीवनको कुनै न कुनै दिन वा क्षणमा जसले पनि भेट्नैपर्ने मन नपर्दो आगन्तुक, जो आफैंमा अर्को थप आतंक छ मृत्यु । नमर्न मन लाग्नेहरूले नै मृत्युलाई यति धेरै डरलाग्दो बनाए । जति धेरै मानिसमा आकांक्षाहरू उम्रिदै जान्छन्, उति नै मृत्युदेखि भाग्न मन लाग्ने हो । मृत्युका कारण र यसबाट बाँच्ने उपायका खोजहरूले नै यसलाई यति महंगो र डरलाग्दो बनाएको हो ।


सबै दर्शन, धर्म, आदर्श, संस्कृति, परम्पराहरू मृत्युविरुद्धका अभियान हुन् तर तिनले पनि मृत्युकै वर्णन गर्छन् आकर्षक पाराले । तिनीहरू मृत्युलाई यसरी वर्णन गर्छन् मानौं तिनीहरू भर्खरै मृत्युसँग भोजमा सामेल थिए । महत्त्वाकांक्षाहरूले बनाएको त्यस आतंकलाई नडराउने बनाउनका लागि एकदम नै सिँगारेर प्रस्तुत गरिन्छ । हरेक स्वस्थ मानिस ‘जीवन केही हैन । मरे मरिन्छ तर मनमा लागेको कुराचाहिं गरिन्छ’ भनेर भीडमा गफ दिन्छ तर कुनै कारणले शरीरमा सामान्य असुविधा मात्र भयो भने सबैभन्दा पहिला अस्पतालको गेटमा सेल्फी खिचिरहेको हुन्छ ।


हाम्रा पुराणमा केही पात्र छन् जसले मृत्युलाई जितेको मानिन्छ– जस्तो अष्ट चिरञ्जीवी । कति पात्रहरू मृत्यु भइसकेपछि पनि बौरिएका र फेरि अर्को कुनै कालमा मरेका भेटिन्छन् । जन्मसँग जोडिएको हर्क हरेक क्षण मृत्यको त्रासदीसँग लुकिरहन्छ । सबै थोकसँग जोडिएको अकाट्यता भनेकै मृत्यु छ ।


नेपाली साहित्यमा लेखिएका अधिकांश कृति वियोगान्त छन् । मलाई लाग्छ नेपाली साहित्यमा अत्यन्त लोकप्रिय हुँदै पहिलोपल्ट दुःख र मृत्युको वियोगले प्रवेश पाएको कृति भनेको ‘मुनामदन’ नै हो । त्यसैको वियोगान्तक प्रभाव बोकेर पछिल्लो कालमा विभिन्न विधामा किताबहरू लेखिएका छन् । मृत्युलाई आँसुसँग साटेका कृति कति छन् कति । हरेक काव्य, महाकाव्यहरूले कुनै न कुनै पात्रलाई नमारी कथानकको अन्त्य नै गर्दैनन् । मैले आफैं पनि अधिकांश कृतिमा मृत्युगीत नै गाएको छु । मानिसलाई बिलौना गाउन मन पर्दो हो सायद । वियोगान्तक कृतिको बजार राम्रो देखिएर पनि होला लेखनमा वियोगले अत्यधिक पृष्ठ पाउने गरेको वा हाम्रो जीवनशैली नै त्यस्तो होला !


मैले पछिल्लोपल्ट मृत्युमाथि पढेको पुस्तक भनेको ‘मृत्युको आयु’ हो । नामैले पाठकलाई मृत्युबारे कल्पना गर्न लगाउँछ र जिज्ञासा पनि उत्पन्न गराउँछ । लघुकथा विधामा आफूलाई एकछत्र उभ्याउन सफल रवीन्द्र समिरको रचनाशिल्प स्वस्थापित छ । यसअघि प्रकाशित दर्जनौं लघुकथाकृतिले उनलाई नेपाली पाठकमाझ परिचित गराइसकेका छन् ।

चिकित्सा पेसामा रहेका उनको रुचि साहित्यतिर कसरी झुक्यो होला भन्ने मलाई लागिरहन्थ्यो । म २०६४ सालमा जागिरसहित राजधानी आएपछि पहिलोपल्ट मेरो उनीसँग कुनै साहित्यिक कार्यक्रममै भेट भएको थियो । त्यसबेला उनले मेरो ‘शरणार्थी’ उपन्यासको तारिफ गर्दै त्यसलाई अंग्रेजीमा अनुवाद गर्न प्रोत्साहन गरेका थिए । मैले उनका थोरै मात्र लघुकथाहरू पढेको थिएँ त्यसबेला । मलाई लाग्छ लघुकथा विधाले पाएको सबैभन्दा ठूलो पुरस्कार उनकै किताबले पाएको थियो २०६५ सालको पद्मश्री ।


रवीन्द्रको यो पुस्तक उपन्यास हुँदाहुँदै पनि लघुकथा हो । लघुकथा हुँदाहुँदै पनि फेरि उपन्यास हो । डा. ध्रुवचन्द्र गौतमले निकै पहिले योभन्दा पनि सानो रूपमा सूत्रकथाको प्रयोग गरेका थिए । पछि त्यही प्रयोगमा सूत्रउपन्यास पनि लेखिएको थियो । मैले ‘कान्छी राधा’ नामक सूत्रकाव्य लेखेको थिएँ भने अमर त्यागीले पनि सूत्र उपन्यास लेखेका थिए । सूत्रलेखन अत्यन्त छोटोमा धेरै भनिने विधा हो । सूत्रलेखनलाई एकप्रकारले काव्यमा मुक्तक वा हाइकुजस्तै मान्न पनि सकिन्छ । यसलाई अघि बढाउन सके यो अर्को प्राप्ति हुन सक्छ ।


नेपाली आख्यानमा लघुकथाको यात्रा निकै लामो भए पनि त्यो कथामै सीमित थियो । लघुकथा पढ्दा छोटो र सजिलोजस्तो लागे पनि लेख्न गाह्रो विधा हो । लामोमा मात्र भन्ने बानी परेका लेखकहरूका लागि लघुकथा चुनौती नै हुन सक्छ । यसलाई गोडमेल गर्न लघुकथा समाज नै स्थापना गरी यस विधालाई अधि बढाउन निकै काम भइरहेको पनि छ । लघुता नै लघुकथाको आफ्नो विशेषता हो । त्यसलाई त्यसको सीमाबाट बाहिर निकाल्ने काम खासै भएको देखिँदैन । त्यो सीमाबाट बाहिर निकाल्नु हुन्छ कि हुँदैन भन्ने पनि आन्तरिक संवादहरू हुन सक्छन् तर पहिलोपल्ट रवीन्द्रले त्यसलाई उपन्यासमा उभ्याएका छन् । विधागत उपलब्धिका आँखाले हेर्दा यो एउटा विशेष प्राप्ति पनि हो ।


लघुकथा विधालाई उपन्याससम्म पुर्‍याउने आँट गर्नु लेखकको साहस नै हो । यस्तो आँट धेरैअघि झापामा शिव प्रणतले गरेका थिए गजल काव्य लेखेर । त्यस बेलासम्म गजलमा काव्य लेखिन सक्छ भनेर कसैले सोचेका पनि थिएनन् होला । केही समय गजलमा काव्य हुन सक्छ कि सक्दैन भन्ने बहस पनि छेडिएको थियो । पछि गोपाल अश्कले गजलमा महाकाव्य नै पनि लेखेका थिए ।

प्रयोगमा आउनु आफैंमा साहसको काम त हुँदै हो, त्यसलाई स्तरीयतासहित ल्याउन सक्नु आफैंलाई ठूलो परीक्षा पनि हो । यस्ता धेरैजसो प्रयोग प्रयोगकर्तालाई नै चुनौती हुने गरेका पाइन्छन् । त्यस्तो चुनौती स्वीकार गर्न पछिल्लोपल्ट उभिएका छन् रवीन्द्र ।
एक सय अन्ठानब्बे पृष्ठभित्र अटाएका १ सय ६६ लघुकथाले बनिएको छ यो कृति ।

छोटोमा २२ शब्ददेखि लामोमा ३२४ शब्द सम्मका कथाहरू छन् । एउटा–एउटा मात्र पढे यस कृतिका सबै टुक्रा एक–एकवटा लघुकथा हुन् । क्रमैसँगले पढ्दै गए हरेक कथा उपन्यासिक आख्यानका भरिया हुन् । यस कृतिले लामा–लामा अध्यायहरूमा मात्र उपन्यास लेख्न सकिन्छ भन्ने मान्यतालाई दोस्रोपल्ट भत्काएको छ । पहिलोपल्ट यस्ता लघुपृष्ठहरूमा उपन्यास लेख्ने काम २०५० सालमा सञ्जीव उप्रेतीले ‘आलु, नौनी र कफी’ उपन्यास लेखेर पूरा गरिसकेका थिए तर त्यो उपन्यास लघुकथा शैलीको थिएन ।


कृतिको शिल्पपक्षको फरक विशेषता रहे पनि गुणवत्ताले उभिन नसके त्यसको खास अर्थ हुँदैन । समिरको यो कृति वैदेशिक रोजगारमा जानेहरूका पीडामाथि लेखिएका निकै कृतिहरूभन्दा फरक र विशेष छ । यसले बोकेको विषयवस्तु सुरुदेखि नै वियोगान्त छ । कृतिको नायक मरेको छ र मृत्युपछि उसले अनुभव गरेका कुराहरू नै सम्पूर्ण किताब हो । मृत्यु शब्द सुन्नासाथ मनमा जुन भय उत्पन्न हुने हो यस कृतिमा भयको त्यो रूप छैन बरु मृत्यु एक मनोरञ्जन बनेको छ ।

मृतकका माध्यमबाट समाजको ढोंगी चरित्र र परिवारको दुईधारे मानसिकताको उत्खनन भएको छ । मृत्यु आतंक हैन, अनुभव मात्र हो भन्ने अनौठो सन्देश पनि छ यसमा । निरपेक्ष भावको प्रस्तुतिले मृत्युमाथि हुने भयलाई एकदम नै सामान्यीकरण गरिएको छ । आफू मरेपछि परिवार र समाजले गर्ने अभिव्यक्ति र फोस्रो सहानुभूतिको क्रूर चित्रण पनि छ यहाँ । पुस्तकका हरेक टुक्राले फरक–फरक र पाठकले अनुमान गरेभन्दा भिन्दै कुराहरू टुक्कटुक्क भनेर पठनरुचिलाई बढाएको बढाएकै गर्छ ।


कृतिको विषयवस्तुले नै पाठकलाई सांख्यदर्शनतिर प्रवेश गराउँछ । जन्म र मृत्युको असमापक चक्रमा घुमिरहने जीवनविम्बले कृति रंगिएको छ । कृतिले शिवपुराण, विष्णुपुराण, गरुडपुराण, श्रीमद्भागवत् गीता, कुरान र बाइबलका आध्यात्मिक सांस्कृतिक विश्वासहरूलाई समातेर मृत्युपछिको पराकल्पनामा आधुनिक जीवनको संकटलाई नापेको छ । खासमा आजको हाम्रो जीवनसंघर्ष के हो र केका लागि ? हामीले हेर्ने गरेको जीवनचित्र कस्तो हो ? यो कथाले बोकेको दुःखको भारी नेपाली जीवनस्तरसँग मात्र सम्बन्धित छैन । नायकको लाससँगै सुताइएका अरू विदेशी लासहरूको पीडाका कथाले पनि पाठकलाई केही छिन भावुक बनाउँछ ।


जीवमा आत्मा हुन्छ र त्यसले मृत्युपछि पनि यस धराधाममा भइरहेका गतिविधिहरूलाई नजिकबाट देखिरहेको हुन्छ भन्ने पुनर्जन्मीय विश्वास र स्वैरकल्पनाको प्रयोग गर्दै समसामयिक जीवनका विसंगतिहरूलाई अत्यन्त मिहिन पाराले केलाइएको छ । हाम्रो देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक अनेक विसंगतिको ऐना हो यो कृति । वैदेशिक रोजगार नामको आकर्षक शब्दका पछि होमिने युवापुस्ताको कारुणिक चित्र हो यो कृति । कतै हँसाउने, कतै गम्भीर बनाउने र कतै रुवाउने यो उपन्यास नेपाली उपन्यास संसारमा फरक स्वादको विशेष कृति बनेको छ ।


लेखक आफैंले ती क्षेत्रहरूको स्थलगत भ्रमण तथा अध्ययन गरी लेखिएको यस कृतिमा अरबी प्रशासनिक र प्राविधिक कुराहरूलाई प्रामाणिक ढंगबाट प्रस्तुत गरिएकाले पनि कृतिको विश्वसनीयता बढेको छ । लेखक आफू स्वयं चिकित्सकसमेत भएकाले आधुनिक चिकित्सा पद्धतिका कुराहरूलाई सतर्कतापूर्वक समावेश गरिएकाले कृतिमा प्रश्न उठाउनुपर्ने त्यस्ता खासै ठाउँ भेटिएनन् ।
मृत्युका अनेक परिभाषा गर्नेहरू र मृत्युलाई सहज ढंगले लिनुपर्छ भनी स्वस्थ अवस्थामा आदर्श छाँट्नेहरूका पनि अन्तिम कालको बाँच्न चाहने छटपटी सबैभन्दा बढी त चिकित्सकहरूले नै देखेका हुन्छन् । त्यसको सुविधा पनि रवीन्द्रलाई छ । उनले त्यो अनुभव पनि पृष्ठैपिच्छे पोतेका छन् ।


कृतिको शीर्षक नै विम्बात्मक छ । मृत्युलाई हामी जीवनको अन्त्य भनेर बुझ्छौं तर लेखकले यहाँ मृत्युको पनि आयु तोकिदिएका छन् । यसअनुसार त मृत्युको आयु एकदम नै छोटो रहेछ । गरुडपुराणीय कर्मकाण्ड पद्धतिका आँखाले हेर्दा मृत्युको आयु त तेह्र दिन मात्र देखियो । तेह्र दिनपछि यसको यात्रा कि देवदूतका पछि कि यमदूतका पछि हुने रहेछ । यस लोकको मायामोहको सीमाभरि मात्र रहेछ मृत्युको आयु भनेको । आध्यात्मिक परम्पराका आँखाले जीवन र मृत्युबारे अध्ययन गर्न चाहनेहरूले यसमा साहित्यइतर विश्लेषण गर्ने प्रशस्त ठाउँ भेट्नेछन् ।

प्रकाशित : कार्तिक २३, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?