कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेल : कथा रंगशालाको

काठमाडौं वास्तवमै कसरी फेरिएको छ, त्यसको साक्षी पनि हो– दशरथ रंगशाला । रंगशालाको उत्तरी प्यारापिटतर्फ बाँसको झ्याङ थियो । अनि फुटबल मैदान त सानोतिनो पोखरी नै थियो ।
हिमेश

कुनै समय भीमसेन थापा निकै शक्तिशाली थिए । नेपालकै इतिहासमा उनी जत्तिको शक्तिशाली अरू विरलै भए । तर उनको अन्त्य निकै दुःखद रह्यो । विष्णुमती मन्दिरको बगरमा उनको जिउँदो शरीरलाई फ्यालिएको थियो । आत्महत्याको प्रयास गरेका भीमसेन थापाले नौ दिन त्यहीं मृत्यु आत्मसात् गर्न संघर्ष गरे । अहिले यो ठाउँ आधुनिक त्रिपुरेश्वरको छेउमै छ ।

खेल : कथा रंगशालाको

कुनै समय अहिलेको दशरथ रंगशाला रहेको ठाउँसम्म पनि मसानघाटकै रूपमा थियो । त्यसैले भन्ने गरिन्थ्यो— त्यो क्षेत्रबाट सकेसम्म नजानू । कहिले के अनिष्ट हुन सक्छ, कसलाई के थाहा ? भीमसेन थापाको छोटो प्रसंग किन भन्दा उनले जहाँनिर अन्तिम पटक श्वास फेरे, अब त्यो त्यस्तो रहेन । न त त्यस वरिपरिको ठाउँ नै । पुराना ती कुरा सुनाउँदा कथाजस्तै लाग्न सक्छ, कसैका लागि यी सबै हावादारी कुरा नै हुँदो हो । तर यही ठाउँ र यिनै हल्लाबीच अहिले त्यहाँ दशरथ रंगशाला उभिएको छ र यसले पनि देखेको छ, इतिहासका एकपछि अर्को परिवर्तन ।


काठमाडौं वास्तवमै कसरी फेरिएको छ, त्यसको साक्षी पनि हो— दशरथ रंगशाला । रंगशालाको उत्तरी प्यारापिटतर्फ बाँसको झ्याङ थियो । अनि फुटबल मैदान त सानोतिनो पोखरी नै थियो । माथिबाट त्यहाँ पानी बगिरहेको पनि हुन्थ्यो । पोखरी भएपछि त्यससँग जोडिएका कथा पनि त हुने नै भए । भन्ने गरिन्छ, त्यो पोखरीको नजिक गयो भने पोखरीले तान्छ । तानेर पोखरीले खाने पनि गर्छ । अनि कोही किन त्यो पोखरीको छेउमै जान्छ त ?


नेपालमा जे जति हुन्छन्, ती सबै प्रायः राजदरबार र त्यसका परिवारसँग जोडिन्छन् । अहिले टुँडिखेललाई पूर्ववतः स्वरूपमै ल्याउने एकखाले आन्दोलन चलिरहेको छ । फेरि कुनै समय यो टुँडिखेल यति विशाल थियो कि यसलाई एसियाकै सबैभन्दा ठूलो चौर मानिएको थियो । यही टुँडिखेल कसरी टुक्राटुक्रा हुँदै अतिक्रमणको सिकार हुँदै गयो, त्यसको पनि आफ्नै लामो कथा छ । दशरथ रंगशालाले रहेको ठाउँ पनि त टुँडिखेलसँगै जोडिन्छ ।

यो खासमा सानो टुँडिखेल ठाउँसँगै जोडिएको छ । महेन्द्रको राज्याभिषेक हुँदा त्यसै अवसर छोपेर ०१३ सालतिर केही खेलको आयोजना भएको रहेछ । ती खेल आयोजना गर्ने निर्णय त भए, तर गर्ने ठाउँ भने थिएन । त्यसैले यही त्रिपुरेश्वरको क्षेत्रलाई ठोकठाक पारेर खेल्नलायक बनाइयो । समयसमयमा यसलाई अझ राम्रो हुनुपर्छ भनेर काम पनि भए तर त्यतिले कहिले पनि ठोस गति लिन सकेन । वीरेन्द्र राजा हुने भएपछि भने बल्लतल्ल रंगशाला बन्ने भयो ।


हुन पनि रंगशालाको अहिलेको वास्तविक स्वरूप लिन थालेको ०३१ सालतिर नै हो । सन् १९८४ मा यही दशरथ रंगशालामा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना भयो । यसबीच एउटा अर्को ठूलो घटना पनि भयो, दशरथ रंगशालामै । यही घटनाका कारण कहीं कतै रंगशालामा ठूलो दुर्घटना भयो र मान्छे मरे भने दशरथ रंगशालाको नाम विश्व समाचारमा छाइहाल्छ । आखिरमा यो रंगशालाले ७३ जना मान्छेको ज्यान खाएको छ, ०४४ सालमा । यो घटनालाई फेरि एकपल्ट सम्झदा केही फरक पर्दैन । त्रिभुवन च्यालेन्ज सिल्डको फाइनलमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्त जोद्दा भिडेका थिए, खेलमै क्रममा ठूलो हावाहुरी आयो । त्यसबाट बच्न भाग्ने क्रममा भएको भागदौडमा धेरै फुटबल प्रेमीले आफ्नो ज्यान गुमाए ।

विश्वकै ठूलठूला रंगशाला दुर्घटनामध्ये सबैभन्दा गम्भीर १० मा रंगशालाको यो काण्ड पनि आउने गर्छ । अनि सन् १९९९ मा यही खेलकुदको आठौं संस्करण पनि यहीं भयो । यही बेला यो रंगशालाले आधुनिक स्वरूप पायो । त्यति बेला न हो– दशरथ रंगशालामा सिन्थेटिक ट्र्यक ओछ्याइएको । यसै कारण रंगशालाको प्यारापिट पनि खुम्चियो र दर्शक क्षमता पछि घट्यो ।


फ्लड लाइट्स राखिएको पनि त्यही बेला हो । यो सबैको फेरि अहिले चर्चा किन भन्दा दशरथ रंगशालाले फेरि एकपल्ट ठूलै परिवर्तनबाट गुज्रिरहेको छ । हुनेछ अथवा छैन, त्यो आफ्नै ठाउँमा छ तर १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि फेरि एकपल्ट दशरथ रंगशालाले नयाँ रूप पाउँदै छ । त्यसभन्दा अगाडि नेपालले विश्वकप छनोटमा कुवेतको सामना गर्ने भनिएको थियो, अब त्यो पनि हुनेछैन । खासमा दशरथ रंगशाला बहुउद्देश्ययी प्रयोगका लागि बनाइएको छ ।

तर यसको मुख्य विशेषता भनेको त यहाँ हुने फुटबल न हो । नेपाली खेलकुद भन्नु नै दशरथ रंगशाला हो । अनि नेपाली फुटबलको पर्याय नै दशरथ रंगशाला हो । यहाँको मैदानमा कुन फुटबल प्रतियोगिता मात्र भएन, विश्वकप र ओलम्पिक छनोटदेखि सागसम्म । एएफसी च्यालेन्जकपदेखि एएफसी प्रेसिडेन्ट्सकपसम्म पनि । त्रिभुवन च्यालेन्ज सिल्ड र बर्थकपजस्ता राजासँग जोडिएका प्रतियोगितादेखि गणतन्त्रसँग जोडिएको राष्ट्रपति कपसम्म पनि ।


सबैभन्दा बढी त सहिदसँग जोडिएको लिग नै भयो । लिगकै बेला पनि के मात्र देखिएन र ? दर्शकको उपद्रोदेखि खेलाडी र टिमका नाटकसम्म पनि । अन्धविश्वासी खेलाडी र क्लबका पदाधिकारी रंगशालाभित्र छिर्न पनि अनेक अनेक प्रपञ्च गर्थे । यो ढोकाबाट गए यस्तो हुन्छ, नगए यस्तो हुन्छ भन्ने विश्वास पहिल्यै हुन्थ्यो । धेरैको के विश्वास थियो भने उत्तरतिरको पोस्टमा बढी गोल हुन्छ । अब यस्तो किन हुन्छ, कसलाई के थाहा ? मसानघाट नजिक भएर पो कि ?


छ वर्षअगाडिको भूकम्पले पूरा काठमाडौंसँगै दशरथ रंगशालालाई पनि नराम्रोसँग प्रभावित पारेको थियो । अझ भूकम्प आएकै दिन यहाँ यू १४ गर्ल्स फाइनल खेल थियो, बंगलादेश र नेपालबीच । त्यति बेला दुवै टिमका खेलाडी वार्म अप गर्दै थिए, एकाएक भूकम्प आयो । खेलाडीले त्यति बेला रंगशालाको मैदान गज्जबको चहलपहल देखेका थिए । मैदान त समुद्रमा आउने छालजस्तै तलमाथि भइरहेको थियो । भूकम्पछि त दशरथ रंगशाला केही समयका लागि धेरैको आश्रयस्थल भयो । त्यो मैदान खेल्नयोग्य भएन ।

न त रंगशालाका दर्शकदीर्घाहरू भार थाम्नयोग्य भए । तिनै भीमसेन थापालाई जस्तो लामो समय दशरथ रंगशालालाई बाँच्नु र मर्नुको स्थितिमा छोडियो । एक समय दशरथ रंगशाला पुग्दा भर्खर युद्ध सकिएर त्यसले तहसनहस बनाएको ठाउँजस्तै थियो, यो । जति बेला नेपालले कुवेतको सामना गर्नेछ, त्यति बेला दशरथ रंगशालाको इतिहासमा अर्को पाना थपिनेछ । अहिले फेरि एकपल्ट दशरथ रंगशालाले पुनर्जीवन पाउनेछ ।


भूकम्प गएको पनि छ वर्ष भइसकेको छ । यसबीच दशरथ रंगशालामा खेल्दै नखेलेका खेलाडी पनि धेरै निस्किसके । प्रशिक्षक पनि धेरै भए, दशरथ रंगशालाको अनुभव नबटुलेका । खेल पत्रकारमै पनि त्यस्तो नयाँ पुस्ता आइसक्यो, जसले अहिलेसम्म दशरथ रंगशालामा गएर रिपोर्टिङ गरेको छैन । तिनै पत्रकारले पनि सोध्दा हुन्, दशरथ रंगशालाबारे यस्ता कथा कसरी बुन्न सकिएको होला ? जहाँनिर गएर वर्षौं प्रत्येक दिनजस्तो रिपोर्टिङ गरियो, त्यसबारे धेरै कुरा किन थाहा नहोस् त ?


खासमा दशरथ रंगशाला वास्तवमै गज्जब छ, अझ रहस्यमय छ भन्दा पनि हुन्छ । नेपाली खेलकुद क्षेत्रलाई माया गर्नुपर्छ, त्यसले यस्ता सबैलाई आफूतिर तारिहेको हुन्छ । आखिरमा त्यो दिन पनि थियो, जति बेला लिगको खेलमा टिकट काटेर खेल हेर्न आएका दर्शकको संख्याभन्दा रिपोर्टिङ गर्न आएका पत्रकारको संख्या बढी हुन्थ्यो । यस्तो भन्दा बढी पनि हुन्न होला— दशरथ रंगशालामा नखेलेका के खेलाडी ? अनि त्यहाँ रिपोर्टिङ नगरेका के खेल पत्रकार ?


twitter:@himeshratna

प्रकाशित : कार्तिक २३, २०७६ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?