ज्यानमारा बक्सिङ

विश्वमा व्यावसायिक बक्सिङमा सन् १८९० देखि २०११ सम्म जति पनि खेल भए, त्यसमध्ये भिडन्तकै क्रममा बोकेको चोटका कारण १ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसो भनेको वर्षमा १३ बक्सरको मृत्यु हुने गर्छ ।
हिमेश

खेलकुदको विषयलाई लिएर जति पनि सिनेमा बन्छन्, त्यसमध्ये आधा जति त एउटै खेलको मात्र हुन्छ– बक्सिङ  । खेलकुदबारे बनेका चर्चित फिल्म त सबैजसो बक्सिङकै छन् भन्दा पनि हुन्छ  ।

यो खेलमा कि त जीवन हुन्छ, होइन भने मृत्यु । बक्सिङमा अरू विकल्प हुन्न । त्यसैले त सिनेमाका लागि यो निकै उपयुक्त विषय हुने गर्छ । बक्सिङले पस्कने हार जित, बदलाको झावना, मिहिनेत, त्रुरता, अनि जीवन र मृत्यु, यी सबै विश्व सिनेमाका लागि खुबै उपयुक्त छन् ।

यी सिनेमाका खेलाडी पात्रको स्थिति जस्तै भए पनि त्यसको कम्तीमा मृत्यु त हुन्न । तर व्यावसायिक बक्सिङको रिङमा उत्रनु पर्छ, त्यसमा जित र हार मात्र हुन्न, मृत्यु पनि हुन्छ । यति धेरै ज्यानमारा खेल हो, बक्सिङ । पूरा विश्वमा व्यावसायिक बक्सिङमा सन् १८९० देखि २०११ सम्म जति पनि खेल भए, त्यसमध्ये भिडन्तकै क्रममा बोकेको चोटका कारण १ हजार ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसो भनेको वर्षमा १३ बक्सरको मृत्यु हुने गर्छ ।

खेल्दा खेल्दै केही नहुने खेलाडी पनि उत्तिकै छन् । तर तिनले पनि ढिलो चाँडो केही न केही रोग बोकिहाल्छन् । जस्तो महान मोहम्मद अलिकै कुरा । आफ्नो जीवनको अन्त्यतिर उनलाई नशासम्बन्धी यस्तो रोग लाग्यो कि उनी कहिल्यै पनि सामान्य जीवनमा फर्कन सकेनन् । स्नायुसम्बन्धी रोगको पनि उत्तिकै डर हुन्छ । आखिरमा बक्सिङ यस्तो खेल हो, जसमा एकले अर्कोलाई सिधै अनुहार र टाउकोमै ताकेर हान्ने प्रयास हुन्छ । जसले बढी हान्न सक्यो, त्यही जित्यो । त्यसैले बक्सिङ ज्यानमारा खेल हो, यसलाई प्रतिबन्ध नै लगाउनु पर्छ भनेर समय समयमा आवाज उठ्ने गर्छ ।

अहिले फेरि दोहराएर यसको चर्चा किन भन्दा पछिल्लो केही समय खेलाडीको मृत्यु भएका घटना अलि बढी नै हुन थालेका छन् । केही दिन अगाडि मात्र अमेरिकाका २७ वर्षीय बक्सर प्याट्रिक डेको मृत्यु भयो । चार्ल्स कोनवेलविरुद्धको भिडन्तका क्रममा उनको टाउकोमा गहिरो चोट लागेको थियो । चोट बोकेको चार दिनपछि उनले अन्तिम श्वास फेरे ।

सेप्टेरम्बरमा मात्रै २१ वर्षीय बुल्गेरियाली बक्सर बोरिस स्टानचोभको पनि निधन भयो, अल्बानियामा खेल्ने क्रममा । जुलाईमै पनि दुई दिनको अन्तरमा दुई बक्सर मरे । मेरिल्यान्डमा भएको लाइट वेल्टरवेटको भिडन्तमा घाइते रुसी २८ वर्षीय म्याक्सिम डाडसेभ के ढले उठ्नै सकेनन् । सधैंका लागि बिलाए । त्यसको ठीक अगाडि अर्जेन्टिनाको ब्युनर्स आयर्समा भएको भिडन्तमा ह्युगो अल्फ्रेडो स्टानटिलन पनि चोटग्रस्ट भए । उनी त रिङमै ढले, फेरि उठेनन् ।

यसबीच चोट बोकेर अस्पतालमा लानु परेका खेलाडीको संख्या त कति छन् कति । खेलेरै गम्भीर चोट बोकेर थला परिरहेका खेलाडीको संख्या पनि उत्तिकै छ । अनि यो खेललाई प्रतिबन्ध लगाउनुपर्छ भन्नेको आवाज ठूलो हुने भयो नै । धैरै आलोचना भयो यो खेलसँग सम्बन्धितको उत्तर प्रायः एउटै आउने गर्छ । जस्तो, डब्लूबीएफका प्रवक्ताले केही समाचार संस्थालाई भनेका छन्, ‘बक्सिङलाई यस्तो आलोचनाको बानी परिसकेको छ, तर यसक्रममा धेरैले बक्सिङले गरेका राम्रा काम पनि बिर्सन गर्छन् ।’

व्यावसायिक बक्सिङको सबैभन्दा ठूलो केन्द्र त अमेरिकामा नै हो । सिनेमामा देखाइने गरेजस्तै, अमेरिकामा ठुल्ठूला सहरमा सडकमै हुर्केर त्यहीं अस्ताउने युवाको संख्या अत्याधिक हुने गर्छ । विशेषतः अश्वेत युवाहरू यसमा बढी पर्छन् । यिनीहरू हिंस्रक अनि आक्रामक पनि हुन्छन् । यी सबै गुण एकजना बक्सरमा हुनुपर्ने गुण हुन् । सडकमा हुर्किने प्रायः युवाहरूको खास लक्ष्य हुँदैन । कहाँ कतिबेला एकाएक हराउने हुन्, कसैलाई थाहा हुन्न । अनि यही बक्सिङले ती युवालाई अनुशासन र आत्मविश्वास दिने गर्छ ।

सफलता चुम्यो भने त अपार धन पनि । यस्ता पात्रमध्ये सबैभन्दा चर्चित त माइक टाइनसनै भए । उनी सडकबाटै माथि उठेका विश्वकै सर्वाधिक चर्चित खेलाडी हुन् । बक्सिङले टाइसन जस्ता युवाको भलो गरेकै पनि हो । टाइसनले बक्सिङ नखेलेको भए, उनी गुमनाम भएर हराइसक्थे ।

त्यसो त बक्सिङ खेलेरै मर्नेको संख्याको दर घट्दो भने छ । सन् १९२० तिर धेरै बक्सरको मृत्यु भएको थियो । सन् २००० तिर आएर मृत्यु हुनेको संख्या निकै भइसकेको छ । सन् १९८३ का एउटा चर्चित भिडन्तले व्यावसायिक बक्सिङमा धेरै सुधार ल्याउन बाध्य पारियो । लस भेगासमा भएको खेलमा दक्षिण कोरियाली खेलाडी डुक–को किम घाइते भए र त्यसको चार दिनपछि उनको मृत्यु पनि भयो । उनी रे मानचिनीविरुद्धको खेलमा नकआउट भएका थिए ।

यसपछि भने व्यवसायिक बक्सिङलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर चर्को स्वर उठ्यो । त्यो भिडन्त युट्युबमा उफलब्ध छ र बक्सिङ वास्तवमै कति त्रुर हुन सक्छ, थाहा पाउन सकिन्छ । त्यसपछि व्यावसायिक बक्सिङ १५ राउन्डबाट १२ मा झारियो । जम्माजम्मी तीन राउन्डको खेल कम हुँदा पनि त्यसले खेलाडीमा पर्ने चोट निकै कम भएको थियो । यस्तै खेलाडीलाई चोट कम लागोस भनेर अरू केही उपाय पनि अपनाइए ।

अमेरिकी मेडिकल काउन्सिलले सन् २००९ मा निकालेको एउटा रिपोर्ट अनुसार हजार भिडन्तमा खेलाडीको मृत्यु हुने सम्भावना ०.१३ मा हुन्छ । त्यसो भनेको वर्षमा नौ दस जना व्यवसायिक बक्सरको मृत्यु हुनु स्वाभाविक जस्तै हो । गैर व्यावसायिक बक्सिङमा भने खेलाडीको मृत्यु दर वर्षमा तीनको हाराहारीमा हुन्छ । खेलाडीको मृत्युको योभन्दा बढी सम्भावना भएका खेल त अरू पनि छन् । जस्तो, अमेरिकी कलेज फुटबल, मोटरसाइकल रेसिङ, डाइभिङ, माउन्टेनेरिङ, स्काइ डाइभिङ, हर्स रेसिङ आदि आदि ।

माउन्टेनेरिङलाई पनि पश्चिमतिर खेलकै रूपमा मानिन्छ र यसमा मृत्युको सम्भावना अत्याधिक छ । विश्वको दोस्रो अग्लो हिमाल के टुमा चढ्नेमध्ये २२ प्रतिशतको मृत्यु हुने गरेको छ, जसकी यस्तै तथ्यांक सगरमाथालाई लिएर तीन प्रतिशत मात्र छ । जब हिमाल चढ्ने धेरै मरे भनेर माउन्टेनेरिङमा प्रतिबन्ध लागेको छैन भने बक्सिङमाथि मात्र किन बढी आलोचना त ? यसको पनि एउटै उत्तर छ– बक्सिङ भनेको बक्सिङ नै हो, यो खेल नै ठूलो ।

जति बढी ठूलो खेल, उति बढी चर्चा पनि, चाहे त्यो सकारात्मक होस अथवा नकारात्मक । व्यावसायिक बक्सिङमाथि साँच्चै प्रतिबन्ध लाग्यो भने डर छ यो भूमिगत खेल हुनेछ । जति बेला बक्सिङ अन्डरग्रान्ड खेल हुनेछ, त्यो अझ डरलाग्दो हुनेछ । आखिरमा बक्सिङ त्यस्तो खेल पक्कै होइन, जहाँ फुटबल र क्रिकेटमा जस्तो केही साथी मिलेर आज रमाइलोका लागि खेलौं भन्ने हुन्छ ।

त्यसैले जत्तिकै विरोधमा आवाज उठेपनि व्यावसायिक बक्सिङमा प्रतिबन्ध लाग्ने छैन् । डेको मृत्युपछि उनका प्रतिद्वन्द्वी कोनवेल पनि साह्रै भावविह्वल भए । हुन् पनि आफूले हराएका खेलाडीको मृत्यु हुन्छ भने त्यसबाट सिर्जना भएको परिस्थिति सहन सजिलो हुन्न । कोनवेलले भने पनि, ‘मैले त्यस भिडन्तमा चाहेको एउटै तथ्य जित थियो, त्यो जितको बदलामा डे फेरि फर्किन्छन् भने त्यसका लागि म हार्न तयार छु ।’

तर के गर्नु ? यी त सबै भावनात्मक कुरा न भए । बक्सिङ खेल्छु भन्नु आखिरमा आफ्नै मृत्युमा हस्ताक्षर गर्नु जस्तै त हो !
twitter : @himeshratna

प्रकाशित : कार्तिक १६, २०७६ १०:३२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गन्तव्यको दर्शन

हेमप्रभास

साठीको दशकमा गजलकृतिहरू प्रकाशित गरेर औपचारिक रुपमा लेखनमा होमिएका शैलेन्द्र अधिकारीको ‘निर्वेद’ उपन्यास हालै बजारमा आएको छ  । अधिकांश लेखकहरूले उठाउनेभन्दा फरक विषयवस्तुको उठान गरेर लेखिएको यस उपन्यासको शैली र प्रस्तुती पनि फरक छ  ।

पाठकहरूले शैलेन्द्रको भाषाशैलीमा आफूलाई अभ्यस्त गराउन तारणीप्रसाद कोइराला, दौलतविक्रम बिष्ट वा भवानी भिक्षुको समयसम्म पुग्नुपर्छ भन्ने मलाई लाग्छ ।

बलियो कथानकमा ‘निर्वेद’ बुनिएको छ । कथानकमा वर्णन भएका सम्पूर्ण घटना र प्रसंग एकै ठाउँमा शृंखलित र सुसम्बद्ध भएर आएका छन् । जसले गर्दा एकता र अन्विति संश्लिष्ट हुन पुगेको छ । भौतिकवाद र अध्यात्मबीचको द्वन्द्वको पेरिफेरिमा पात्रहरूको कार्यव्यापार हुन पुगेको छ । कथाभित्र पलाएर आएका उपकथाहरूले पनि ‘निर्वेद’ को पूर्णतातर्फको यात्रालाई सघन तुल्याएको छ ।

म पात्रलाई सँगै लिएर हरिद्वार पुगेको निर्वाणानन्दको पलायनले आजको समाजको सम्भाव्यता र यथार्थताको खोजी गर्दछ । चप्पलको निशानी छोडेर स्वामी हराउनु भनेको भौतिक र अध्यात्मबीचको संघर्ष र परिणामको खोजीमा भौँतारिने आजको समयको बलियो रुपक हो । उनले ‘निर्वेद’बाट गन्तव्यको दर्शन गर्न खोजेका छन् ।

यस उपन्यासको सबैभन्दा शक्तिशाली पक्ष भनेको आन्तरिक द्वन्द्व हो । नायक निर्वाणानन्द पटकपटक आफैँभित्रको करुणाको भूकम्पले भत्किएका छन् । उनको अस्थिर मनोदशाले नै उनलाई सिध्याएको छ । हरिद्वार पुगेर गराइएको उनको सहज अन्त्यका लागि तदनुरुपको ‘प्लान्टेसन’ गराइँदै लगिएको पाइन्छ ।

नैतिकता र अभिवृतीय गुणले कुनै पनि व्यक्तिलाई व्यक्तिकै रुपमा पहिचान गर्न सहयोग पुर्‍याउँछ । यी दुई गुणका माध्यमबाट लेखकले पात्रको टेम्पारामेन्ट र नेचर प्रस्तुत गरेका छन् । जुन व्यक्तिमा जुन किसिमको स्वभाव र प्रकृति आरोपित छ, त्यसैको पृष्ठभूमिमा टेकेर निर्वाणानन्दको चरित्रको अभिप्रेरणा प्रकट भएको छ । उनी मोक्षका लागि आएको चिनारी दिइएको छ र उनी त्यसैका लागि अभिप्रेरित भएका छन् । सतही रुपमा हेर्दा उनी परिवर्तनीय पात्रजस्तो देखिए पनि मिहीन ढंगबाट वस्तुनिष्ठ भएर हेर्दा उनी ‘स्टेबल’ पात्रमै पर्छन् । अभिप्रेरणाको कारणतर्फ अभिप्रेरित भइरहनु र आफ्नो लक्ष्यमा सफल हुनुले उनलाई अचर पात्र बनाएको छ ।

यहाँ प्रस्तुत भएको जीवनचेतना अत्यन्त बौद्धिक र विकसित समाजको परिकल्पना पनि हो । चरित्रहरूको चित्रण पनि सहज र रुचिकर छन् । ‘टेलिङ मेथड’लाई गौण राखी लेखकले चलाखीपूर्ण तवरबाट ‘सोइङ मेथड’लाई बढी महत्व दिएका छन् । जसले गर्दा पाठकलाई उपन्यासको हरेक परिच्छेद पढ्दै जाँदा कुनै सुन्दर चित्र हेरिरहेजस्तो अनुभूति हुन्छ । यसका साथै लेखकले यहाँ आवश्यकतानुसार विवरणात्मक, वर्णनात्मक, विश्लेषणात्मक, आत्मकथात्मक, सङ्केतात्मक र नाटकीय पद्धतिको पनि छिटपुट प्रयोग गरेका छन् ।

मञ्चीय पात्रका रुपमा आएका निर्वाणानन्द, उनका बालसखा एवम् प्रेमिकाको भूमिका जति रोचक छ, नेपथ्य पात्रका रुपमा वर्णनमा आएका सहायक पात्रहरूको छोटोछोटो भूमिका पनि कम उल्लेखनीय छैन । यहाँ बद्ध पात्रहरूका तुलनामा मुक्त पात्रहरू अत्यन्त कम छन्, उपन्यासको अर्को सफल पाटो यो पनि हो ।

उपन्यासको घटनास्थल पाशुपत क्षेत्र, शिवपुरी, काठमाडौं सहर, धादिङ र हरिद्वार मुख्य हुन् भने घटनाकाल तीसको दशकदेखि हालसम्मको छ । यद्यपि वर्तमानबाट हेर्दा साठीको दशक र ‘फ्ल्यासब्याक’मा गएर हेर्दा चालीसको दशकको घटनाकाल प्रस्तुतिका हिसाबले बढी रुचिकर देखिएको छ । नेपाली समाजको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक स्वरुप र सांस्कृतिक पक्षले निम्त्याएको विदीर्ण रुपको चित्र पनि यहाँ सजीव लाग्दछन् । ग्रामीण भेगमा व्याप्त अन्धविश्वास र त्यसले चरित्रको मनोदशामा पारेको प्रभावको प्रतिफल स्वरुप पात्रको गन्तव्य र भाग्यभविष्य निर्धारण भएको छ ।

बाल्यकालीन बिठ्याइँ, गाउँ र सहरबीचको दूरी, शारीरिक परिपक्वतासँगै उत्पन्न भएको समस्या र सोही समस्याको सेफ ल्यान्डिङका लागि गरिएको प्रयास बनावटी लाग्दैन । छिटपुट आञ्चलिकता र स्थानीय रङको प्रयोगले यस उपन्यासको क्यानभासलाई थप चम्किलो बनाएको छ ।

उपन्यासकारले प्रयोग गरेको भाषा र उपन्यासमा प्रयुक्त पात्रहरूले प्रस्तुत गरेको भाषामा त्यति धेरै अन्तर त छैन यद्यपि पात्रहरूको लवजलाई यथाशक्य सरलीकरण गर्न खोजेको चाहिँ देखिन्छ । सन्दर्भअनुरुप प्रयोग भएको हिन्दी भाषा र न्युन प्रयोग भएको संस्कृत भाषाले पठनमा रोचकता प्रदान गरेको छ । जीवन के हो ? पचास जनालाई यही प्रश्न सोध्यो भने पचास थरीकै उत्तर आउन सक्छ । ‘निर्वेद’ले जीवनलाई भोगाइको रुपमा चित्रण गर्न खोजेको छ । आखिर हामीले जेजे भोग्दै गयौँ, त्यहीत्यही जीवन हुने रहेछ ।

यहाँ जीवनदर्शनलाई आख्यानीकरण गर्ने प्रयास गरिएको छ । दर्शन भनेको नुन हो, हामीलाई दैनिक चाहिन्छ । तर, त्यसको मात्रा ठीक हुनु आवश्यक छ । नुन हामीलाई नभई हुँदैन, नुन मात्र खाएर बाँच्न पनि हामी सक्दैनौँ । पौरस्त्य दर्शनको मान्यता र शिल्पसज्जालाई सहजीकरण गर्दै आख्यानात्मक मूल्य प्रदान गर्न खोजिएको प्रयास प्रशंसनीय नै लाग्दछ ।

अनपेक्षित यात्रा र यात्रीमा समयप्रतिको कटाक्षलाई लेखकले यसरी प्रस्तुत गरेका छन्,
जसरी उज्यालो बोकेर आउँछ घाम
त्यसै गरी जीवनमा कोही आएन
जसरी प्रकृतिलाई हरियो रङमा रङ्गाएर वसन्त आउँछ
त्यसरी पनि कोही आएन ।
शीत बोकेर आएको जून जस्तो,
कोही आयो थाहै नदिई
साँझको पाहुना जस्तो अचानक
आयो पीडा ... ।
जीवनप्रतिको मोह भङ्ग भएर निष्काम कर्मयोगी बन्नेतर्फको सुन्दर लक्षणको संकेत गर्दै लेखकले अध्यात्मचेत नै ब्रहृमज्ञानको सूचक भएको तर ब्रहृमत्व प्राप्ति र जीवनबीचको दूरी निकै लामो भएकोले अधिकांश हामी बीचैको दूरीमा कुहिरोको काग भइरहनुपरेको कटु यथार्थको रहस्योद्घाटन गरेका छन् ।

भाषा सलल बगेकै छ । तर, अघिल्ला ‘एक्ट’ हरूमा भन्दा पछिल्ला ‘एक्ट’ हरूमा विषयवस्तु र प्रस्तुति दुवै फितला छन् । निर्वाणानन्दको जीवनको अन्त्य भएसँगै उपन्यासको ‘फलिङ एक्सन’ सुरु हुन्छ । निर्वाणानन्दको ल्यापटपमा भेटिएको फाइल निर्वेदले उनलाई त्यो चरणसम्म पुर्‍यायो भनेर पत्याउन कठिन हुन्छ ।

फ्ल्यासब्याकमा आएका ती घटना सन्दर्भहरू रोचक र रुचिकर त छन् तर त्यस किसिमको जीवन भोगाइबाट आएका मानिसहरू सहजै त्यसरी योगी बन्ने बाटोतर्फ उद्यत हुने र हुन सक्ने हुँदो हो त यतिखेर देशमा सामान्य मानिसको भन्दा योगीको संख्या बढी भइसक्थ्यो । यस भनाइको तात्पर्य के हो भने त्यसरी फ्ल्यासब्याक आएपछि त्यो सामान्य समयको अन्त्य र संन्यासी समयको सुरुवातको बीचमा लेखकले कुनै एक मेजर ‘रिभर्सल’ दिन सक्नुपर्थ्यो जसले गर्दा पाठकले नमे अर्थात् नमराज नै योगी निर्वाणानन्द बनेका हुन् भनेर पत्याउन सक्थे । यसरी हेर्दा ‘क्लाइमेक्स’को लागि ‘प्लान्टेसन’ झुर भएको देखिन्छ ।

‘निर्वेद’मा घटनाक्रमहरूको त सहज आंगिक विकास भएकै छ । तर, पात्रहरूको मूल्य परिवर्तन (भ्यालु चेन्ज) मा भने लेखकले खासै ध्यान पुर्‍याएको पाइँदैन । त्यसो त रहस्य र खुलासामा पनि पाठकले खासै नवीनता भेट्दैनन् । अझ शीर्षकहरू दिँदै खण्डीकरण गरिएकोले पाठकले अब कथा कता जाँदै छ भन्ने भेउ पहिले नै पाइसक्छन् ।

यो एउटा जोगीको कथा हो । जोगीको ‘एक्सपोजिसन’का लागि म पात्र अनुसन्धाताको रुपमा प्रकट भएको छ । यसरी आरम्भ भएको कथामा वैराग्य र त्यसपछिको मोक्षप्राप्तिका लागि गरिएको मानसिक संघर्ष एवम् संघर्ष विकासले निम्त्याएका संकटावस्थाहरूलाई अत्यन्त तरल ढंगबाट प्रस्तुत गरिएको छ । संघर्ष ह्रासका क्रममा भएका गतिविधिहरूलाई सूत्रात्मक तवरले प्रस्तुत गर्न खोज्दा विश्लेषणको अभावले पठनमा ब्रेक लाग्नुका साथै केटास्ट्राफी त्यति रोचक बन्न सकेको छैन ।

समग्रमा ‘निर्वेद’लाई चलनचल्तीको उपन्यासभन्दा माथिल्लो श्रेणीमै राख्न सकिन्छ । सांसारिक मोहभन्दा पर पनि अर्को सुन्दर जीवनको खोजी सम्भव छ भन्ने कुरामा लेखकको ध्यान केन्द्रित भएको देखिन्छ । सत्यको खोजीमा भौँतारिएका पात्रहरू परिस्थितिको चपेटामा कसरी जकडिएका छन् भन्ने सन्दर्भको दार्शनिक पक्षलाई उद्घाटन गर्ने प्रयास यस उपन्यासमा गरिएको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ १०:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT