महिनावारीले घर छोड्नु पर्दा...

मञ्जु भट्ट

पोहोर सालजस्तै यसपालि पनि चार दिनको कठिन यात्रापश्चात काठमाडौंबाट अछामको जामा फल्टाणे पुगियो  । यो चार दिनको गाडी यात्रा यत्तिधेरै अप्ठेरो र पीडादायी हुन्छ कि वर्णन गरिसाध्य छैन  । आर्मीकै सोर्सफोर्स लगाएर पाँचचोटि बसपार्क धाएपछि पाएको टिकट अमेरिकाको डीभी परेभन्दा पनि महत्त्वपूर्ण थियो हाम्रा लागि ।

काठमाडौंबाट धनगढीका लागि छुटेको सुपर डिलक्स गाडीमा एसीको सुविधासँगै टेलिभिजन पनि थियो । फोहोर फाल्न गाडीभित्रै डस्टबिनहरू राखिएका थिए । मोबाइल चार्ज गर्ने सुविधा थियो । फराकिला फोल्डिङ सिटहरू सजिला थिए । उल्टी आयो भने प्रयोग गर्नु भन्दै सिटसिटमा प्लास्टिकहरू राखिएका थिए । पानी पिउन प्रत्येक यात्रुलाई बोतलहरू बाँडिएका थिए ।

लम्कीबाट अछामतिर जाने गाडीमा भने झ्यालबाट उल्टी गरेर पूरै गाडीभित्र गन्हाइरहेको थियो । भुइँमा बसेका यात्रुको शरीर तथा सामानमै दसैंका लागि लगिएका बोका तथा खसीहरूले दिसापिसाब गरिरहेका थिए । आफ्ना लागि भने सामान तथा लोकल यात्रुहरू राख्न र ओराल्न जतिखेर पनि रोकिने गाडीमा साना केटाकेटीहरूलाई शौच आउँदा पनि रोकिएको थिएन ।

धेरैचोटि बच्चाहरूलाई बोतल र प्लास्टिकमा पिसाब गराएर झ्यालबाट बाहिर फालियो । थोत्रा गाडीमा टुटेफुटेका बांगिएका साँघुरा दुईजनाको सिटमा तीन जनासँगै बच्चालाई काखमा राखेर यात्रा गर्नु कष्टकर थियो । हावा पनि छिर्न नसक्ने छिनछिनमा रोक्दै गुडिरहेको गाडीमा २४ घण्टाभन्दा बढी लगातार यात्रा गर्दा थिल्लिएर जिउँदो लाससरह भएको थियो शरीर ।

कच्ची, हिलाम्मे सडकमा देशकै लामो नदी कर्णालीको तीरैतीर यात्रा गर्दा भगवान्को नामबाहेक अरू कुनै कुराको सम्झना आएन । मान्छेले चाहेको खण्डमा छोटो समयमा पनि धेरै परिवर्तन ल्याउन सकिन्छ । लाखौं खर्च गरेर बीस वर्ष अगाडि कमलबजार विमानस्थल निर्माण सुरु भएको थियो । यदि त्यही रफ्तारमा काम भएको भए उहिले नै विमान उडिसक्थ्यो । देश विकासमा रत्तिभर ध्यान नदीने सरकारका कारण हामीहरू सकसपूर्ण तरिकाले गाडीमा यात्रा गरिरहँदा गाईवस्तुहरू त्यहाँ मजाले घाँस चरिरहेका थिए । यसै कारणले पन्ध्रको चाउचाउलाई बीस, बीसको कुरकुरे तीस र सयको सिमकार्ड एक सय बीस हालेर किन्नु हाम्रो बाध्यता बनेको छ ।

दैलेखको बाटो हुँदै अछाम जाने क्रममा बाटोमा थुप्रै पुलहरू निर्माण सुरु भएका थिए । बाह्र वर्षपछि त्यही बाटो जाँदा एक/दुईवटा बाहेक दैलेखको पातले खोलालगायत अरू ठाउँका पुल बनाउनेले पैंसा खाइसकेपछि अलपत्र छोडेको देखियो । सडकमा पहिरो खस्दा गाडी चलाउन एकदमै गाह्रो थियो । सुर्खेतको बडीचौरपछिको भयावह सडकका कारण रातिको एघार बजेदेखि उज्यालो नहुँदासम्म गाडी रोक्नुपरेको थियो । लामो रुटमा रातिको समयमा दुईजना चालक हुनुपर्ने भनिए पनि कहीँकतै लागू भएको देखिएन । घरसम्म जाने पाँच किलोमिटर सडक पाँच वर्षमा पनि पूरा हुन नसक्दा हिलाम्मे धानखेत भएर पाँच घन्टा हिँड्नुपर्दा रातको नौ बजे घर पुगियो ।

घर पुगेपछि अर्को समस्या आइलाग्यो । बाह्र वर्षकी छोरी र सानो छोराले खुला ठाउँमा शौच नगर्ने भनेर ट्वाइलेट जाने जिद्दी गरे । वर्षौं पहिला शौचालय बनाउन आवश्यक सामग्री गाउँभरि नै वितरण गरिएको थियो । धेरैजसोले शौचालय बनाए पनि पानीको अभावमा प्रयोगविहीन छन् । खाना पकाउन र अन्य आवश्यक कामका लागि पनि टाढाको कुवाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यताका कारण शौचालय प्रयोगमा ल्याउन नसकी शौचालयकै लागि टाढा खेतबारी वा खोलामा नै दौडनुपर्ने बाध्यता छ । स्वास्थ्य सेवा, शिक्षा, सूचना जस्ता अत्यावश्यक न्यूनतम आवश्यकताहरू उपलब्ध नभएको ठाउँलाई नगरपालिका र सिंगो देशलाई खुला दिसामुक्त घोषणा गरिएको देख्दा आवश्यक अध्ययन नै नगरी हचुवाको भरमा घोषणा गरिएको जस्तो देखिन्छ ।

रक्सीको महामारी
गाउँमा अलिअलि पढेर खेती गरेर बस्ने केही युवाहरू पनि छन् । तर दुःखलाग्दो कुरा, यी अपवादमात्रै छन् । धेरैजसोले त बाह्रै महिना रक्सी खाने गरेको उनीहरूका परिवारले बताउने गरेका छन् । तीमध्ये एकजना नजिकका दाइ मधुमेह र उच्च रक्तचापका बिरामी थिए । दसैंको बेला एकैचोटि रक्सी र मासुले अस्पताल नपुर्‍याउँदै तीन वर्षअघि ४५ वर्षमै उनको निधन भयो । अर्का एकजना दाइ पनि अत्यधिक रक्सी पिउँछन् । दुईचोटि बेहोस् भएर ढलिसके । डाक्टरले उच्चरक्तचापका कारण यस्तो भएको हुँदा सावधानी अपनाउन र उपचार गर्न सुझाएका छन् । पैसाजति रक्सीमा सकिने भएकाले उपचार गर्न उनलाई आर्थिक अभाव छ ।

अर्का एकजनाको एकापट्टिको शरीर राम्रोसँग चल्दैन । लठ्ठीको सहारामा हिँड्छन् । तर, जे भए पनि रक्सी पिउन नछोड्ने कसम खाएका छन् । यस्ता कतिपय रक्सी पिउनेहरूका बालबच्चा टुहुरा र श्रीमती विधवा भइसकेका छन् । तैपनि अहिलेका युवाहरू सचेत हुन सकेका छैनन् । पुरुष र युवाले रक्सीले ढल्ने भएकाले रातविरात जंगली जनावरबाट खेतबारी जोगाउन महिलाहरूले खटिने
गरेका छन् ।

कसले पाल्ने गाई ?
छोराछोरी टाढिएकाले उमेर ढल्केकाहरूलाई अहिले गाई पाल्न नयाँ समस्या आएको रहेछ । गाई बूढो भएपछि के गर्ने ? बूढो गाई कसैले नलाने ! आफैले पैंसा दिएर कसैले लिएर गए पनि आफ्नै घर नजिकै भीरबाट लडाएर जाने वा खोलामा छाडेर जाने हुँदा झन् पीडा हुने उनीहरूको भनाइ थियो । गाईका साना बाच्छाहरूलाई मान्छे मरेपछि तेह्र दिनको काममा पुरोहितलाई दान दिने गरिन्थ्यो । अहिले पुरोहितले पनि लिएर जान छोडेपछि गाई ब्यायो भने बाच्छाहरू कसरी पाल्ने भन्ने ठूलो समस्या भएको छ । यस कारण अहिले साना अछामे गाईहरू देख्न मुस्किल हुने गरेको छ । यसै कारण भारतको झुलाघाटबाट आउने ठूला दुधालु गाई पनि अहिले आउन बन्द गरिएको रहेछ ।

बाटोले बिगार्‍यो बानी
सुदूरपश्चिमका कतिपय जिल्लाका गाउँहरू सडक सञ्जालमा जोडिएका छन् । गाउँ नै छियाछिया हुनेगरी काटिएका यस्ता सडकहरूले वनविनाश त गरेकै छन् गाउँलेहरूको हिँड्ने बानी पनि बिगारेको छ । एक किलोमिटर हिँड्न पनि ऋण काढेरै भए पनि सवारीसाधन चढ्ने गरेका छन् । केही समय अघिसम्म सबैजसो गाउँलेहरू आफूलाई पुग्ने तरकारी आफ्नै खेतमा उब्जाउँथे । अहिले थोरै पैसा हुनेले पनि सवारीसाधनको सुविधाले गाउँमै उब्जाउन छोडेर आलु, प्याज, टमाटरजस्ता तरकारीहरू किन्न थालेका छन् । जसका कारण दिनप्रति दिन खाद्यान्नको आयात बढ्दै गएको छ । विदेशबाट प्राप्त हुने सडेको खाद्यान्न उपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने हो तर त्यो नभएर दिनप्रति दिन बढेको मात्रै छ ।

हाम्रा पूर्वजहरूले जीवनयापनका लागि चाहिने सबै आधारभूत कुराहरू त्यही ठाउँमा उत्पादन गर्न सक्थे भने अहिलेको युवाले नसक्ने, विदेशतिर मात्र हुँइकिने कारण खोज्न ढिला भइसक्यो । हैन भने असमान जनसंख्या वितरणले सामाजिक, सांस्कृतिक तथा वातावरणीय असन्तुलन भई देशलाई दूरगामी असर नपार्ला भन्न सकिन्न ।

महिनावारीका कारण छोड्नुपर्‍यो घर
तिहारसम्मै स्कुल बिदा भए पनि दसैं टीका सकिएसँगै एकखाले चिन्ताले सताउन थालेको थियो । तिहारसम्म घरमा बस्दा हामी दुइटै आमाछोरीको महिनावारी हुने पालो थियो । यही दसैंमा बिहे भएकी नन्दले आफ्ना दाइलाई यस्तै परिस्थितिका कारण अहिलेसम्म एकचोटि पनि तिहारमा टीका लगाउन पाएकी थिइनन् । हामी सबै धर्मसंकटमा थियौं ।

गएको एक दशकमा छाउपडी प्रथामा रत्तिभर परिवर्तन आएको देखिएन । अहिले पनि महिनावारी भएकी महिलालाई छ दिनसम्म घरभित्र पस्न दिने गरिएको छैन । गाउँमा रहेको एकमात्र छाउघरमा सुत्न जानुपर्छ । यदि त्यहाँ सुत्न ठाउँ भएन भने खुला आँगनको छेउमा वा पर गह्रामा पाल टाँगेर सुत्नुपर्छ । सहरमा महिनावारी हुँदा पलङमा आरामसाथ सुत्ने र आफूले प्रयोग गरेका तन्ना पनि धुन नमान्ने जम्मा बाह्र वर्षकी छोरीलाई चिसो अँध्यारो रातमा एक्लै घरबाहिर सर्प, कीराफट्यांग्रा आइरहने खलामा सुत्न लगाउनु र खोलामा गएर लुगा धोएर आऊ भन्नु मेरा लागि सोच्न नसकिने कुरा थियो ।

नजिकै अर्को नयाँ घर पनि बनाइएको थियो । त्यो घरको गोठमा गाईवस्तु बाँध्ने गरे पनि माथिल्लो तला खाली नै थियो । महिनावारी भएकी महिलालाई त्यो घरमा पनि ठाउँ थिएन । गाईवस्तुलाई गोठमा बाँध्न हुने तर महिनावारी भएकी महिलालाई गोठमा पनि बस्न नहुने भन्दा हामी महिलाहरूलाई जनावरभन्दा पनि तल राखिएको भान भयो । सँगैको घरको गोठमा सुत्न पाइन्छ कि भनेर सोध्दा एउटै घरमा सुत्दा लसपस हुन गई घरका बूढापाकालाई रिंगटा लागेर ढल्ने, खान मन नहुने, सन्चो नहुने, काम्ने, देवीको बाहन बाघ घरमा आई बाख्राहरू खाने अनिष्ट गर्ने हुँदा सुत्न मिल्दैन भनियो । हामी आमाछोरी घर बाहिर वा छाउघर सुत्न नमान्ने र घरकाले घरमा सुत्न नदिने अवस्था आएपछि तिहारअगाडि नै घर छोडेर हिँड्नुपर्‍यो । यतिमात्र हैन, महिनावारी हुँदा घरभित्र सुत्न पाइएन भने अर्कोपालिदेखि घरमै नआउनेसम्म पनि भनियो ।

मेरै देउरानी र छिमेकी एकजना देउरानी हेल्थपोस्ट र अमेरिकी सहयोगमा सञ्चालित न्यायल स्वास्थ्यमा काम गर्छन् । महिनावारी हुँदा परिवारविरुद्धमा बोल्न नसक्दा साना बालबच्चासहित छाउघर या घरबाहिर आँगनमा सुत्न बाध्य छन् । पश्चिमका कतिपय गाउँहरूमा महिनावारी हुँदा घरभित्रै पनि सुत्न दिने गरिएको छ । जस्तो मेरो माइती गाउँ बैतडीमा घरभित्रै सुत्छन् । दूध, दही, घ्यू, मही, दूधचिया आदि दूधबाट बनेका परिकारहरू भने त्यहाँ पनि खान दिइँदैन । पाँच दिनसम्म साह्रै कठोर गरी बार्नुपर्छ । योचाँहि घरकी बुहारीका लागि । घरकै छोरीहरूलाई भने छ दिनसम्म बार्न लगाइन्छ । मठमन्दिर, पूजाकोठामा जान नपाइने । धामीझाँक्री हिँडेको बाटोमा तर्केर हिँड्नुपर्नेजस्ता अप्ठ्याराहरू कायमै छन् ।

सासंदहरूले २०७६ सालमै छाउपडीमुक्त गर्ने धाराणा संसद्मा राखेका छन् । यसलाई महिला, बालबालिका मन्त्रीले गम्भीरतापूर्वक लागू गर्ने बताएकी पनि थिइन् । महिला, बालबालिकासम्बन्धी संसदीय समितिले २ महिनाभित्र छाउपडी प्रथा उन्मूलन गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो । महिनावारी हुँदा छाउघर बस्न बाध्न पार्नेलाई तीन हजार जरिवाना तथा तीन महिना जेलको सजायसहितको कानुन पनि बनेको छ । तर, जस्तै कानुन बने पनि लागू गर्न भने सरकारले पटक्कै सकेको छैन । कानुन बनाउँदैमा सबै कुरीति हट्दैनन् । हट्ने भए नेपालमा छुवाछुत उहिल्यै हटिसक्थ्यो ।

हाम्रा दिदीबहिनीले कहिलेसम्म ज्यान जोखिममा राखी छाउघरमा शरण लिनुपर्ने हो अत्तोपत्तो छैन ।

प्रकाशित : कार्तिक १६, २०७६ १०:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

व्यक्ति : हिमालको नयाँ 'हिरो'

लाहुरे जीवन त्यागेर पर्वतारोहणमा होमिएका म्याग्दीका निर्मल पुर्जा ६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला सबै (१४) हिमाल आरोण गरी रेकर्ड बनाएर विश्वमै चर्चित बनेका छन् । पहिलाको झन्डै आठ वर्षको रेकर्डलाई सात महिनामा छोट्याएका उनको यो कस्तो सफलता हो त ?
राजु घिसिङ

अन्नपूर्ण क्षेत्रले पदयात्रामा विश्वलाई नै मन्त्रमुग्ध पार्दछ । अन्नपूर्ण बेस क्याम्प (एबीसी) बाट ३६० डिग्रीको कोणमा देखिने हिमालहरू साह्रै लोभलाग्दा छन्  । एबीसीबाट सामुन्ने देखिने त्यही हिमालहरू छिचोल्दै शिखरमा पाइला राख्न भने अत्यन्तै खतरनाक हुन्छ ।

यस क्षेत्रमा अक्टोबर २०१४ को हिमपात र हिमपहिरोमा पदयात्री र आरोही गरी ४३ जनाले ज्यान गुमाएका थिए । करिब ५० जना बेपत्ता भएका थिए । ५ सय बढीको उद्धार गरिएको थियो ।

माउरिस हर्जोग नेतृत्वको फ्रान्सेली टिमले ८,०९१ मिटर अग्लो अन्नपूर्ण सन् १९५० मा चढेको थियो । ८ हजार मिटर अग्ला हिमालको पहिलो सफल आरोण त्यो नै हो । त्यसको तीन वर्षपछि मात्रै तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला राखेका थिए । अन्नपूर्णको आरोहणलाई मृत्युसँग पनि दाँजिन्छ । इतिहासले त्यस्तै देखाउँछ । अन्नपूर्ण आरोहणमा हर्जोगसहित १९१ जनाले सफलता पाएका छन् । आरोहणको प्रयासमा ६१ जनाले ज्यान गुमाए । यो हिमालबाट १ सय जना आरोही फर्किंदा औसत ३४ जनाको उतै श्वास रोकिएको तथ्यांक छ । त्यसैले अग्ला हिमालको सूचीमा दसौं नम्बरमा रहे पनि अन्नपूर्णलाई आरोहणका लागि सबभन्दा खतनाक मानिन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, दानामा जन्मिएर चितवनको रत्ननगरमा हुर्किएका निर्मल पुर्जा मगरले २०१७ मा १० घन्टा १५ मिनेटभित्रै सगरमाथा र ल्होत्सेको आरोहण गरे । त्यसको पाँच दिनभित्रै मकालु चढ्दा पनि थकान महसुस गरेनन् । त्यसैले उनले एउटा निक्कै महत्त्वाकांक्षी सपना देखे, ८ हजार मिटर अग्ला सबै (१४) हिमाल आरोहण गर्ने । त्यो पनि ७ महिनाभित्रै । आठ हजार अग्ला सबै हिमाल चढ्ने पहिलो व्यक्ति इटालियन पर्वतारोही रेनोल्ड मेसनर हुन् । अक्सिजनबिना निस्किएका उनले १६ वर्ष लगाएर त्यो अभियान १९८६ मा पूरा गरेका थिए । त्यसको अर्को वर्ष पोल्यान्डका जर्जी कुकुज्का पनि ‘एट थाउजन्डर्स’ बने । अक्सिजन सिलिन्डर उपयोग गरेका उनले ७ वर्ष ११ महिना १४ दिन लगाए । दक्षिण कोरियाली किम चाङ—होले उनको रेकर्डलाई ७ वर्ष १० महिना ६ दिनमा छोट्याइदिए २०१३ मा । उनले पनि मेसनरलेजस्तै आरोहणको बेला अक्सिजन लिएनन् । त्यसैले पुर्जाको योजना बन्यो कुकुज्काको रेकर्ड तोड्ने ।

बेलायती सेनाको नेपाली पल्टन (ब्रिगेड अफ गोर्खाज) मा २००३ मा भर्ती भएका पुर्जाले गत वर्ष आफ्नो महत्त्वाकांक्षी सपनालाई योजनामा बदले । युद्धको मोर्चामा होमिएको सैनिकभन्दा हिमालतिर उक्लिने पाइलामा बढी साहस र बहादुरी ठान्न थाले । सानैदेखिको लाहुरे हुने सपना साकार भएपछि कमब्याट छोड्न पनि तयार भए । ब्रिटिस स्पेसल फोर्सअन्तर्गत स्पेसल बोट सर्भिस (एसबीएस) सम्म पुगेका उनले आफ्नो अभियानको नाम दिए, प्रोजेक्ट पोसिबल । प्रायोजन र सहयोग जुटाए । गोफन्डमीमा दर्ता गरे । ७ लाख ५० हजार पाउन्ड जुटाउन असम्भव देखियो । खर्चै नपुग्ने भयो । लाहुरको कमाइले जोडेको बेलायतको घर बेचे । र, स्वदेश फर्केर अभियान थाले त्यही खतरनाक अन्नपूर्णबाट । २३ अप्रिल २०१९ मा शिखर चुमे ।

अन्नपूर्णको आरोहण सोचेजस्तो कठिन नभएको पुर्जाले बताए । त्यसले उनलाई आत्मविश्वासी बनाइदियो । उनी पहिलादेखि नै आफ्नो क्षमतामा विश्वस्त गर्थे । आफ्नो अभियानबारे भनेका पनि थिए, ‘म कुनै रेकर्ड बनाउन आरोहण गरिरहेको होइन, मानवको क्षमता देखाउन चाहन्छु । मेरो प्रतिस्पर्धा मसँगै हो । म्याग्दीको सानो गाउँमा जन्मेको थिएँ । म यो सावित गर्न चाहन्छु कि पृष्ठभूमिले कुनै फरक पार्दैन । सोचाइ सही छ भने, असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ । धैर्य र एकाग्रता भयो भने सबै कुरा सम्भव हुन्छ ।’ आफ्नो अभियानबाट तीन कुरा देखाउन चाहेको उनले प्रस्टै भनेका थिए– मानवीय क्षमता, पर्यावरणीय परिवर्तन (क्लाइमपेट चेन्ज) र नेपालको पर्यटनको प्रवर्द्धन ।

आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमा, ५ वटा पाकिस्तान र एउटा चीनमा छन् । पुर्जाले पहिलो चरण (२३ अप्रिलदेखि २४ मे) मा नेपालका अन्नपूर्ण (८,०९१ मि.), धौलागिरि (८,१६७ मि.), कञ्चनजंगा (८,५८६ मि.), सगरमाथा (८,८४८ मि.), ल्होत्से (८,५१६ मि.) र मकालु (८,४८१ मि.) एक महिनामै आरोहण गरे । दोस्रो चरण (६—२६ जुलाई) मा पाकिस्तानका नांगा पर्वत (८,१२५ मि.), गासेरब्रम पहिलो (८,०८० मि.), गासेरब्रम दोस्रो (८,०३५ मि.), के टु (८,६१४ मि.), ब्रोड पिक (८,०५१ मि.) चढे ।


स्वदेश फर्केर तेस्रो चरणको यात्रा २३ सेप्टेम्बरमा चो यू (८,१८८ मि.) बाट थाले । चार दिनपछि मनास्लु (८,१६३ मि.) मनास्लु चढे । आठ हजारमध्येका सबभन्दा होचो सिसापाङ्मा (८,०२७ मि.) तिब्बतमा पर्छ । तर, यसको आरोहणमा चिनियाँ सरकारले यो सिजनलाई बन्द गरिदियो । उनी स्पेसल फोर्समा हुँदा सोसल मिडिया चलाउन बन्देज थियो ।

पुर्जाले विशेष स्वीकृतिका लागि ट्वीटर, इन्स्टाग्राम, फेसबुकमा खुबै लेखे, बोले । हारगुहार गरे । धेरैले आवाज उठाए । त्यही बेला चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगे । नेपाल सरकारको पहलमा चीनले चिनफिङ आएको दुई दिनपछि ‘स्पेसल परमिट’ दियो । उनी तिब्बत हानिए । अन्तत : मंगलबार (२९ अक्टोबर) बिहान सिसापाङ्माको शिखरमा पाइला टेक्दै ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला सबै हिमालको आरोहण पूरा गरेर रेकर्ड आफ्नो नाममा बनाए । योजना सात महिनाकै भए पनि सिसापाङ्माको परमिट चाँडै पाएको भए उनले यो समय अझै छोट्याउन सक्थे ।

उनी तिब्बतबाट बुधबार स्वदेश फर्किए । तर, सिसापाङ्माबाट ओर्लिनसक्दै यी ३६ वर्षीय आरोहीको सफलताको खबरलाई विश्वकै चर्चित मिडियाहरूले भाइरल बनाइसकेका थिए । हुन त उनले ‘प्रोजेक्ट पोसिबल’ मा हिमालतिर लाग्नुअघि नै बीबीसी, स्काई न्युज, सीएनएन, एबीसी, एएफपी, एपी, रोयटर्सलगायत चर्चित मिडियालाई अन्तरवार्ता दिइसकेका थिए । त्यसअघि उनी अपरिचित नै थिए । पहिचान थियो त केबल लाहुरेको । उनी अहिले राजधानी फर्कंदा सेलिब्रेटी भइसकेका छन् । विश्वले उनलाई मोटिभेसनल स्पिकर देख्न थालिसकेका छन् । उनले भने अर्को सपना देखिसकेका छन्, के टु विन्टरमा चढ्ने । सगरमाथापछिको अग्लो हिमाल के टु विन्टरमा अहिलेसम्म कसैले आरोहण गरेका छैनन् ।

'नो न्युज इज गुड न्युज’
शारीरिक रूपमा निर्मल निक्कै बलिया छन् । यसमा लाहुर भर्ती र ब्रिटिस स्पेसल फोर्सको योगदान मान्छन् उनी । आँटिला भएर पनि हुन सक्छ, उनलाई धेरैले घमण्डी भन्छन् । आँटेको कुरा पूरा गर्ने हिम्मत उनमा छ ।

पर्वतारोहण नसाजस्तै मान्नुपर्छ । ज्यानको जोखिम भएको थाहा पाएर पनि पर्वतारोहीहरू हिमालतिरै पाइला चालिरहन्छन् । कीर्तिमानीहरू कुकुज्का ल्होत्सेमा १९८९ मा बिते । किमले अन्तिम श्वास गत वर्षमात्रै अन्नपूर्णको छिमेकी हिमाल गुर्जमै फेरेका थिए । त्यसैले एक अन्तरवार्तामा पुर्जाकी पत्नी सूचीले आफ्नो पतिलाई हिमालतिर उक्लिँदा कसरी पर्खने भन्ने प्रश्नको जवाफ दिएकी छन्, ‘नो न्युज इज गुड न्युज ।’ सूची उतै (बेलायत) बस्छिन् ।

निर्मल पुर्जाको अनुहार बेर्दा र बोली सुन्दा लाग्छ, सबै निश्चित छ, कुनै शंका वा डर छैन । तर, जस्तोसुकै रेकर्ड बनाए पनि उनी मानवीय गुण भएका व्यक्ति नै हुन् । परिवारबारे निर्मलले भनेका छन्, ‘सन्तानको योजना बनाएका छैनौं किनकि हिमालमा जति खेर जे पनि हुन सक्छ ।’ हिमालमा देखिने प्रकृतिअघि आफ्नो समस्या समस्या नै होइनजस्तो लाग्छ उनलाई । ‘हिमपहिरो आयो भने कसैले बचाउन सक्दैन,’ उनले भनेका छन्, ‘आफूले सही निर्णय गर्नसक्नुपर्छ ।’ उनले दुईपल्ट हिमपहिरोको सम्भावना भएपछि आरोहण त्यागेका पनि छन् ।


‘निम्स दाइ’ को रूपले चर्चित उनी जिद्दी स्वभावका छन् । त्यसैले त प्रतिघन्टा ७५ किलोमिटरको औसतमा हुरी चलिरहँदा पनि लगातार १५ घन्टासम्म हिमाल उक्लिरहेका थिए । भारतीय सेनाका रिटायर्ड पूर्णबहादुर मगरका पाँच सन्तानमध्ये कान्छो उनी असम्भवलाई सम्भव पार्न चाहन्छन् । दुई दाजुको पथ पछ्याउँदै बेलायती लाहुरे बनेका उनलाई गुरुजी (कमान्डर) ले स्पेसल फोर्समा ‘जान सक्दैन’ भनेको अहिले पनि ताजै छ । गुरुजीले भन्थे— दिमाग हुनुपर्छ । उनले त्यसलाई पोजिटिभ इगोको रूपमा लिए । गोर्खा पल्टनको २ सय वर्षको इतिहासमा स्पेसल बोट सर्भिस (एसबीएस) मा आबद्ध हुने पहिलो नेपाली भएर आफूमा सम्भावना नदेखेका गुरुजीलाई गलत सावित गरिदिए ।

स्पेसल फोर्समा रहँदा उनले चिसो मौसममा पनि युद्ध गर्ने सैन्य तालिम लिएका थिए । उनी ७ वर्षअघि खुम्बु क्षेत्रको लोबुचे (६,११९ मि.) पुगेका थिए । त्यो नै उनको पहिलो हिमाली यात्रा हो । अनि पर्वतारोहरणको हुटहुटी बढ्यो । आठ हजार मिटर अग्लो पहिलो हिमालको रूपमा धौलागिरि चढे २०१४ मा । दुई वर्षपछि विश्वकै सर्वोच्च शिखर सगरमाथामा २०१६ मा पाइला टेके । युद्धग्रस्त अफगानिस्तानको ड्युटीमा फर्कनुअघि उनी घर बेचेको पैसामा पत्नीलाई मात्रै थाह दिएर सुटुक्कै खुम्बु पुगेका थिए ।

उनले गोर्खा भर्तीको २०० वर्षर् पुगेको अवसरमा सन् २०१७ मा १३ सैनिक आबद्ध ‘गोर्खा एक्सिपिडिसन’ को नेतृत्व नै गरे । उनले सफल नेतृत्व मात्रै गरेनन्, आफैंलाई बचाउन मुस्किल रहेको डेथ जोनमा ज्यान जोखिममा राख्दै ८,४०० मिटरबाट भारतीय एक महिलाको उद्धार पनि गरे । त्यसैले उनले बेलायतको प्रतिष्ठित अवार्ड एमबीई (मेम्बर अफ द अर्डर अफ द ब्रिटिस इम्पायर) महारानी एलिजाबेथ द्वितीयबाट पाए । त्यसपछि उनको नाम थपियो निर्मल पुर्जा एमबीई ।

‘प्रोजेक्ट पोसिबल’ को पहिलो यात्रामै उनले अन्नपूर्ण आरोहण गर्नुबाहेक अर्को मन जित्ने काम पनि गरे, मलेसियन चिकित्सक आरोही चीन वुई—किनको उद्धार । लगातार ४० घन्टासम्म खाना र अक्सिजनबिना फसेका किनलाई उद्धार गरी काठमाडौं पठाइएको थियो । उपचारका क्रममा सिंगापुर फर्के पनि किनको ज्यान जोगिएन । पैसा होइन, ज्ञान दिएर सहयोग गर्नुपर्छ भन्ने उनले कञ्चनजंगामा आफ्नै अक्सिजन दिएर अर्को आरोहीको उद्धार गरी आफ्नो ज्यानलाई जोखिममा राखेका थिए ।

‘राम्रो टिम’
पर्वतारोहण एउटा टिम–वर्क पनि हो । निर्मललाई ‘प्रोजेक्ट पोसिबल’ मा राम्रो टिमको साथ रह्यो । ‘निर्मलका लागि एउटा हिमालमा एउटा टिमको व्यवस्था गरिएको थियो,’ प्रोजेक्ट पोसिबलको व्यवस्थापन गरेको सेभेन समिटका मिङ्मा शेर्पाले भने, ‘टिम वर्क राम्रो भयो । उनको स्वास्थ्यले पनि साथ दियो ।’ मिङमा आफैं आठ हजार अग्ला सबै हिमाल चढ्ने पहिलो नेपाली हुन् । उनले त्यो उपलब्धि ११ वर्ष लगाएर २०११ मा पूरा गरेका थिए ।

‘पहिला हिमालमा काम गर्ने जनशक्ति थिएन । एउटै हिमाल चढ्न दुई महिना लाग्थ्यो । निर्मलका लागि हामीले सबै व्यवस्था मिलाएका थियौं । हरेक हिमालमा निर्मल पुग्दा सबै तयार भइसकेको हुन्थ्यो । उनको काम जाने र चढ्ने भयो,’ मिङ्माले भने, ‘निर्मलको सफलता विश्व पर्वतारोहणकै लागि अत्यन्तै ठूलो उपलब्धि हो । नेपालको पर्वतारोहरण र पर्यटनका लागि कोसेढुंगा । यसले हिमाल चढ्दा मरिहाल्छ भन्ने सोचलाई परिवर्तन गर्छजस्तो लाग्छ ।’ रेकर्डबारे उनले भने, ‘पहिला पनि निर्मलजस्तै आरोही नआएका होइनन् तर हामीसँग व्यवस्थापन गर्न सक्ने हैसियत थिएनौं । अब कोही ५ महिनामै चढ्छु भनेर आयो भने व्यवस्थापन गर्न सक्ने भएका छौं, सक्ने नसक्ने भन्ने उसैमा भर पर्ने कुरा हो । निर्मलको रेकर्ड तोड्न चाहनेका लागि बाटो खुला भएको छ ।’

पर्वतारोहरणको कीर्तिमानहरूमा आ–आफ्नै दाबी छ । सत्य आफ्नै ठाउँमा होला । निर्मल पुर्जाको टिममा मिङ्मा डेबिड शेर्पा, गेसमान तामाङ, ग्याल्जेन शेर्पा, लाक्पा डेन्डी शेर्पा र हेलुङ दोर्जी शेर्पा थिए । उनीहरू अनुभवी र कुशल मानिन्छन् । मिङ्माका अनुसार प्रोजेक्ट पोसिबलमा नौ हिमालको आरोहणसँगै मिङ्मा डेबिड शेर्पा सबभन्दा कान्छो एट थाउजन्डर्स भएका छन् । यससँगै एट थाउजन्डर्स नेपाली आरोही ५ जना पुगेका छन्, मिङ्मा, उनका भाइ छाङ दावा शेर्पा, सानु शेर्पा, निर्मल पुर्जा र मिङमा डेबिड । मिङ्माका अनुसार विश्वमा एट थाउजन्डर्स ४४ जना भएका छन् ।

सन् १९८० को दशकमा हिमाल चढ्दा आफैं बाटो बनाउनुपर्ने अवस्था थियो । नब्बेको दशकमा केही सहज भयो । २१ औं शताब्दीको प्रारम्भसँगै पहिलै तय भइसकेको बाटो र बिछ्याइएको डोरीलाई पछ्याउने आरोही चुलिए । त्यसैले निर्मलले सगमाथामा खिचेको ट्रफिक जामको फोटो विश्वमै भाइरल भयो । जोर्जीले रेकर्ड यात्रामा नयाँ नौवटा बाटो पत्ता लगाएका थिए । उनलाई मेसनरलेसमेत ‘दोस्रो होइन, महान्’ आरोही भनेका थिए । त्यसैले हुन सक्छ, पोल्यान्डका पर्वतारोहीहरूले निर्मल पुर्जाको सात महिनाको सफलतालाई ठूलो उपलब्धिभन्दा पनि रेकर्डका लागि रेकर्ड मात्रै भएको प्रतिक्रिया दिएका छन् ।


उनले सात महिनाभित्र आठ हजार अग्ला सबै हिमाल चढ्ने घोषणा गर्दा सबैले शंका गरेका थिए । असम्भव भनेका थिए । उनकै क्षमतालाई लिएर विश्वास गरिएको थिएन । तर, उनले सात महिनामै असम्भवका ती पहाडहरूलाई भत्काएर सम्भव बनाइदिए । आठ हजार मिटर अग्ला १४ हिमाल सबभन्दा चाँडै चढ्ने रेकर्ड त बनाए नै । त्यस क्रममा आरोहणकै अरू ६ रेकर्ड पनि कायम गरे । तीन वटा गिनिज वर्ल्ड रेकर्ड बनाए । नेपाल पर्यटन वर्ष २०२० अघि उनको सफलतालाई ठूलो उपलब्धिको रूपमा लिइएको छ ।
Twitter: @rghising

प्रकाशित : कार्तिक १६, २०७६ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्