कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुल्तबीको एक फाइल

जनकराज सापकोटा

जीवनमा केही घटना वर्षौंसम्म पनि अनुसन्धान नटुंगिएको कुनै फौजदारी कसुरको फाइलजस्ता हुन्छन्  । सरुवा भई आउने प्रत्येक नयाँ अफिसरले पल्टाउँछन्  ।

मुल्तबीको एक फाइल

केही नयाँ रहस्य फेला परेझैं चकित हुन्छन् । समयक्रममा रहस्य आफैंमा भ्रम हो भन्ने बुझ्दाबुझ्दै अफिसर सरुवामा पर्छन् । आखिर जीवन भनेको पनि त थाहै नपाई हुने जागिरेको सरुवाजस्तै त हो !

जीवनमा पनि त यस्तै हुन्छ । थाहै नपाई केही भइजान्छ । यात्राका घुम्तीमा अनायासै धूमिल सम्झनाहरू बौरिन्छन् । तर घुम्ती नसकिँदै स्मृति फेरि बाक्लो कुहिरोको पल्लाभित्र हराइजान्छ । सुल्झिन नसकेको केही गुत्थी र फुक्न नसकेका केही गाँठाले जीवनलाई स्वादिलो बनाउँछ कि अल्झाउने बनाउँछ । थाहा छैन, रंगीन बनाउँछ कि रंगहीन बनाउँछ ?

प्रहरी कार्यालयको एक कुना । पुरानो दराजमा चाङ लगाइएको मिसिल । धूलोले छोपिएको मिसिलको कुनै पानामा अल्झिएको एउटा घटना । ‘मुख्य प्रतिवादी’ त्यस दिन घरबाट कार्यथलो काठमाडौं फर्किंदै थिए । उनको निधारमा घामजस्तै आमाले लगाइदिएको रातो टीका थियो । अनि खल्तीमा सरकारले भंग भएको दाबी गरेको यातायात व्यवसायी महासंघको नाम अंकित अधिक भाडा शुल्क अंकित टिकट थियो । छेवैमा बसेका एक वृद्धले थानकोटनेर आइपुगेपछि, दाहिने इस्टकोटको खल्तीबाट कागजको चिर्कटो निकालेर देखाउँदै अनुरोधको भाकामा भने, ‘बाबु यो मेरो छोराको नम्बर हो । फोन गरेर म कलंकी आउनै लाको छु । लिन आउ भन्देऊ त ।’

भएको यत्ति हो । उनले छोराले जसरी बाको अनुरोध माने । कलंकी आयो । स्वाभाविक गतिमा उनी काठमाडौंको हूलमा मिसिए । काठमाडौं मण्डलको प्राचीन चिनारीझैं व्याप्त धूलो र धूवाँको कुइरिमण्डलमा उनले आफूलाई समाहित गरे । शनैःशनैः दिन ढल्कियो । उनी बेडमा पल्टिन मात्रै के लागेका थिए, सेभ नभएको नम्बरबाट फोन आयो । फोनकर्ताले भन्यो, ‘तपाईंकै नम्बरबाट दिउसो बाले फोन गर्नुभाथ्यो । बा त्यसपछि कता जानुभो ?’ उनले बा कलंकीमै ओर्लिनुभएको र आफू आफ्नै बाटो लागेको बताए ।
हो पनि । हामी सबै आ–आफ्नै बाटो हिँड्छौं । अरूको बाटो हिँड्ने रहर र जाँगर हामीसँग छैन । बाटोले हामीलाई कहीँ कतै त अवश्य पुर्‍याउँछ अनि हामी बाटो बदल्छौं र त्यही बाटो अरू कसैको भइजान्छ । तर त्यस दिन अपरिचत बा आफ्नो बाटो नहिँडेर कसको बाटो हिँडे ? उनले यसको भेउ पाएनन् ?

भोलिपल्ट बिहान घाम नझुल्किँदै उनको मोबाइलमा एउटा अनौठो नम्बर झुल्कियो । प्रहरी कार्यालयबाट उनलाई उर्दी आएको थियो । नजाने कुन दर्जाको प्रहरीले दर्जाहीन शैलीमा भन्यो, ‘तपाईंविरुद्ध उजुरी परेको छ । तुरुन्त प्रहरी कार्यालय आउनुहुन्छ कि घरबाटै उठाऊँ ?’

घाम नझुल्किएर के भो र, उनको दिमागमा शब्दको चट्याङ परिसकेको थियो । बुट बजार्दै डेराअघि उभिएका प्रहरी जवान । फलानोजी बाहिर आउनुहुन्छ कि घिच्याऊँ भन्दै चर्को बोली । आँगनमा उभिएका रौद्र अनुहारसहितको प्रहरी देखेर तर्सिएकी पत्नी र सातो गएझैं झस्केकी नाबालक छोरी ।

यति सम्झेर मात्रै पनि उनको ओठतालु सुक्यो । ओसिलो जिब्रोले उनले ओठ र तालु भिजाए । त्यसपछि विगतका घटनाहरू सरसर्ती सम्झे । निजी लेखा फर्ममा कारिन्दा उनले लेखा विवरण राख्दा केही गल्ती गरिएको थियो कि भनेर सम्झिए । सहकर्मी महिलालाई जिस्किँदै कुमले एकाधपटक छोएको घटना बल्झिएर यस्तो भयो कि भनेर सम्झिए । केही सालपहिले असफल प्रेमिकालाई फेसबुक म्यासेन्जरमा केही अभद्र गाली गरेको घटना उल्झियो कि भनेर पनि सम्झिए । अनि सम्झिए, केही सालअघि सरकार र विधि व्यवस्थासँग उठेको रिस फेर्न सिंहदरबारको भित्तामा मुतेको ।

समयका अनेकन फलकमा गरेका अनेकन गल्तीहरू, नोकझोकपछि उत्पन्न प्रतिक्रियाहरू सबै सबै उनको सम्झनामा आए । तर उनी निष्कर्षमा पुग्न सकेनन् । मनको एउटा कुनामा डरको भुमरी देखा पर्‍यो । त्यो भुमरी बारामा आएको टोर्नाडोजस्तो थिएन । तर पनि उनीभित्रको आँट, शौर्य र धैर्यको छाना उडाउन त्यो काफी थियो ।

उनले सम्झिए, हातमा हतकडी र मुखमा मास्क लगाएर दर्जनौं पत्रकार र युट्युबरअघि प्रहरीले आफूलाई उभ्याएर पत्रकार सम्मेलन गरिरहेको दृश्य । एउटा युट्युबेले उनलाई सोध्यो, ‘आखिर तपाईंले यस्तो किन गर्नुभयो ?’ अर्कोले च्याँठ्ठिएर सोध्यो, ‘हाम्रा लाखौं दर्शकलाई भन्दिनुस्, यति गम्भीर घटना गराउन केले बाध्य पार्‍यो ?’ दर्जनौं क्यामेराका फ्ल्यास र दर्जन प्रश्नको तारोले उनी घाइते भएर र डङरङ पछारिए । टुई टुई टुई एम्बुलेन्सको ध्वनि कानको बाटो हुँदै छिर्‍यो । उनी झल्याँस्स बिउँझिएजस्तो भए, भान्छाबाट कुकरले सिठ्ठी मारिरहेको थियो र सानी छोरीले भूकम्पका आएका बेला काम लाग्छ भन्दै उनले ल्याएर राखेको सिठ्ठी फुकिरहेकी थिइन् ।

आखिर उनको मनमा पनि त सानोतिनो भूकम्प आएको थियो । तर त्यो कति रेक्टर स्केलको थियो भन्ने उनले भेउ पाएनन् । राष्ट्रिय भूकम्प मापन केन्द्रलाई उनको मनको केन्द्रविन्दु बनाएर गएको भूकम्पबारे अत्तोपत्तो थिएन । इतिहासको गर्तमा बिलाइजाने एउटा घटनाजस्तो थियो त्यो ।

उनी पत्नीलाई केही नभनी सरासर बाइक हुइँक्याएर प्रहरी कार्यालय पुगे । उनलाई अनुसन्धान अधिकारीहरूले नियन्त्रणमा लिए । एउटा ओसिलो कोठाभित्र पुर्‍याए र चिसो फलामे कुर्सीमा बसाएर सोधे, ‘पानी पिउनुहुन्छ ।’ उनको ओठ तालु सुकेको थियो तर उनले पानी पिएनन् ।

घटनाको सबै व्यहोरा सुनेपछि उनी शीतांग भए । एअर ट्रबुलेन्समा परेका बेला जहाजभित्रका यात्रु जसरी आलसतालस हुन्छन् नि त्यस्तै । पिउँदापिउँदैको पानी अचानक सट्किएर जब आँखाको चेपबाट एक पित्को आँसु निस्कन्छ नि, हो त्यस्तै । अघिल्लो दिन उनको मोबाइलबाट फोन गरेका बा कलंकी ओर्लिएपछि हराएका थिए ।

उनले सम्झे हिजो साँझ ढल्किँदै गरेको बेला र उनी ओछ्यानमा ढल्किन लागेको बेला ती अपरिचत बाका छोराले फोन गरेको कुरा । आज बिहान ती बाको मृत शरीर विष्णुमतीको किनारमा फेला परेछ । त्यसपछि घटनास्थलको मुचुल्का उठाएको प्रहरीले मृतकको छोराको भनाइमा टेकेर उनलाई बयानका लागि बोलाएको रहेछ । प्रहरीले बयान सुरु गर्‍यो ।
यात्रामा बासँग के–के कुरा भयो ?

‘बा सँग... ।’ उनको स्वर लरबरियो ।
‘बासँग नभए कोसँग त ? कुनै तरुनीसँग कुरा त भएन होला ?’ प्रहरीले च्याँठ्ठिएर यस्तै केही भनेको हुनुपर्छ । तर उनले यति मात्रै सुने, ‘हो बासँग ।’
‘बाले म डाँडामाथिको घाम हुँ । जुनसुकै बेला पनि अस्ताउन सक्छु भन्नुभएको थियो ।’
‘बाले त्यस्तो किन भन्नुभयो त ?’
‘खै । बाले त्यस्तो भनेपछि मैले मेरो बालाई सम्झिएको थिएँ । मेरो बा पनि त्यस्तै भन्नुहुन्थ्यो ।’
‘बाले गरेको अरू कुरा नसम्झेर यही कुरा तपाईंले कसरी सम्झिनुभयो ?’
‘मैले उहाँको अनुहारमा बाको झल्को देखें । त्यही भएर ।’
‘तपाईंको बासँग कस्तो सम्बन्ध छ ?’

अनुसन्धानमा यो प्रश्न किन आयो ? मृत्युको घटनासँग आफ्नो बालाई किन जोड्न खोजिएको हो ? उनले भेउ पाएनन् । उनी केही बेर रोकिएका बेला प्रहरीले हातको लठ्ठी टेबलमा बजार्‍यो र सोध्यो, ‘मेरो प्रश्न सुन्नुभएन कि बुझ्नुभएन ?’
‘बा मलाई औधी माया गर्नुहुन्छ तर कान्छोलाई भन्दा थोरै ।’
‘किन ? आखिर किन त्यस्तो भयो ।’

बालाई कान्छो अस्ट्रेलिया गएकोमा औधी गर्व छ । कान्छोले अस्ट्रेलिया घुमाएपछि बा फुरुंग हुनुभएको थियो । तर मप्रति औधी गुनासो गर्ने हुनुभएको थियो । बाले अंशबन्डा गर्ने बेलामा पनि कान्छाकै पक्ष लिनुभयो । बन्डा त भयो तर मेरो भागमा ऋण धेरै पर्‍यो ।

यति सुनाएपछि बयान सकियो । प्रहरी कोठाबाट अलप भए । जब उनी होसमा थिए, उनको वरिपरि पत्रकारहरू, युट्युबेहरू उभिएका थिए । तिनका हातमा तिखो माइकहरू थिए । तिनका मुख वाचाल थिए । भोलिपल्ट अखबारमा छापियो ।

‘विष्णुमतीको किनारमा वृद्धको शव फेला ः हत्याको आशंकामा फलानो पक्राउ’ अनलाइनमा देखियो ।
‘वृद्ध हत्याको आरोपमा फलानो पक्राउ ः हत्याको कारण यस्तो थियो’ युट्युबमा देखियो ।
‘आखिर यसकारण गरिएको रहेछ वृद्धको हत्या ।’
‘बाबुसमान वृद्धको हत्याराले खोले यस्तो रहस्य ।’
‘मृतकका छोराले गरे पर्दाफास ।’
‘मृतककी छोरीले गरिन् भयंकर खुलासा ।’

त्यसपछि के–के भयो । उनको समझमा रहेन । घटनाले जता–जता डोर्‍याउँछ उनी त्यतै–त्यतै लुरुलुरु पछि लागे । जसरी छाया हिँड्छ नि वस्तुको गतिअनुसार हो त्यस्तै ।

घटनाको एक महिनापछि उनी अदालतबाट निर्दोष सावित भए । फर्केर उनी मधुरो घाम छिर्ने डेरामा पुगे । त्यहाँ सुनसान थियो । उनकी पत्नी कहाँ थिइन्, उनलाई त्यो पत्ता लगाउनु थियो, उनको छोरी कोसँग थिइन्, उनलाई त्यो खोज्नु थियो । तर उनलाई वृद्ध बाको हत्या कसले गर्‍यो ? किन गर्‍यो ? भन्ने कुरा खोज्नु थिएन ।
पत्रकारहरूले घटनाको दोस्रो महिना लेखे– वृद्धको हत्या रहस्यमय ।
पत्रकारहरूले तेस्रो महिना लेखे– तीन महिना भइसक्दा पनि वृद्ध हत्याको रहस्य खुलेन ।

यसरी कैयन दिन, रात, साता र महिनाहरू बिते । मुख्य प्रतिवादी भनिएका तन्नेरी दृश्यबाट हराए । सायद उनी दृश्यबाट हराएको दिन काठमाडौं उपत्यकामा गठेमंगलको जात्रा निकालिएको हुनुपर्छ । अथवा गाईजात्राको एउटा अलग संस्करण राजधानीमा भित्रिएको हुनुपर्छ ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?