'दादा' गिरी

भारतीय क्रिकेट टिमलाई 'एग्रेसिभ' नेतृत्व दिएका सौरभ गांगुली अहिले क्रिकेट बोर्डको अध्यक्ष बनेका छन् । के यसमा कुनै राजनीतिक कारण पनि होला ?
हिमेश

केही वर्षअगाडिसम्म पनि भारतीय क्रिकेट टिम त्यस्तो थिएन, जस्तो अहिले छ  । भारतसँग सचिन तेन्दुलकर त थिए तर टिमले पस्कने क्रिकेट धारिलो थिएन  ।

सन् २००० सुरु हुनै लाग्दा भारतीय टिम ठूलै समस्यामा थियो । त्यति बेला केही प्रमुख खेलाडी खेल मिलोमतो प्रसंगमा नराम्रोसँग फसेका थिए । यसमा कप्तान मोहम्मद अजहरुद्दिन नै थिए । ‘म्याच फिक्सिङ’ काण्डपछि भारतीय क्रिकेटको लोकप्रियता खस्कँदो थियो ।

क्रिकेट भारतमा यति धेरै बदनाम कहिल्यै थिएन । जतिले भारतीय टिमका लागि खेलिरहेका थिए, त्यसमा कुनै दम थिएन । भारतले क्रिकेट त खेल्थ्यो तर त्यसमा जितको चाहना थिएन । विदेशी भूमिमा भारतले जित्नु भनेको त असम्भव नै थियो । तेन्दुलकर आफैंले पनि केही गर्न सकिरहेका थिएनन्, उनको ब्याटबाट रन त निस्किरहेको थियो तर त्यसले चमत्कार गर्न सकेको थिएन । भारतीय टिमका खेलाडी अल्छी देखिन्थे । अहिले नयाँ पुस्तालाई ती दिनका कथा सुनाउनुपर्छ, पत्याउन गाह्रो हुन्छ ।

ठीक यही बेला सौरभ गांगुलीको उदय भयो । उनले के भारतीय टिमको नेतृत्व सम्हाले, प्रदर्शनमा युगान्तकारी परिवर्तन आयो । उनी वास्तवमै कस्ता खेलाडी र कप्तान थिए, त्यसको झल्को दिन एउटा दृश्य काफी छ । सन् २००२ को नटवेस्ट ट्रफीको फाइनलमा भारत र इंग्ल्यान्ड भिडेका थिए । खेल लर्डसमा भइरहेको थियो । लक्ष्य पछ्याइरहेको भारत एकाएक पतनको सिकार भयो । सबैलाई लाग्न थालेको थियो— अब भारतले खेल जित्नेछैन । तर त्यस दिन युवराज सिंह र मोहम्मद कैफले गज्जब खेले । जति बेला भारतको जित निश्चित भयो, लर्डसको प्रसिद्ध बार्दलीमा रहेका गांगुलीले आफ्नो सर्ट फुकाले । उनी ‘टपलेस’ भए । अनि हावामा त्यही सर्ट खुसीले घुमाउन थाले । उनको अनुहारमा खुसी मात्र थिएन, एक प्रकारको हुँकार पनि थियो । गांगुलीले यस्तो गर्नेछन् भनेर कसैले सोचेका पनि थिएनन् ।

त्यसमा भलाद्मीपन पक्कै थिएन । तर यो भारतीय क्रिकेट फेरिँदै छ भन्ने पक्कापक्की प्रमाण थियो । पश्चिम बंगालका यी गांगुलीलाई धेरैले ‘दादा’ भन्ने गर्छन् । जति समय उनले भारतीय टिमका लागि खेले, दादाको जवाफ थिएन । कप्तान छँदा उनले एकपछि अर्को साहसिक निर्णय लिए । त्यसले नतिजा पनि ल्यायो । गांगुलीले भारतलाई विदेशी भूमिमा पनि जित्न
सक्ने टिम बनाइदिए । अहिले भारतीय टिमजस्तो छ, त्यसको जग उनकै पालामा बसेको थियो ।

उनको समयमा भारतीय टिमको ब्याटिङ वास्तवमै निकै बलियो थियो । भारतीय टिमको ब्याटिङ क्रम हेर्नुपर्थ्यो— प्रतिद्वन्द्वी टिमको बलरको पसिना छुट्थ्यो । यो ब्याटिङ क्रमलाई अचेल ‘फ्याब फाइब’ भन्न थालिएको छ । यसमा एक जना त गांगुली नै भए, अरू थिए, वीरेन्द्र सहवागदेखि तेन्दुलकर, राहुल द्रविड र भीभीएस लक्ष्मण । विश्व क्रिकेटमा यत्तिको ब्याटिङ क्रम विरलै देखापरेका छन् । कम्तीमा भारतमा दोहोरिएर देख्न पाइने छैन ।

यिनै गांगुली अहिले भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अध्यक्ष भएका छन् । विश्व क्रिकेटकै सबैभन्दा धनी संस्था हो, यो । पूरा विश्व खेलकुदकै सबैभन्दा धनी संस्था भन्दा हुन्छ । गांगुली आउनुअगाडि यो विवादै विवादमा अल्झेको थियो । बीसीसीआईसँग जोडिएका एकपछि अर्को काण्ड भए । पछिल्ला केही वर्ष त भारतीय उच्च अदालतले गठन गरेको समितिले बीसीसीआई चलारहेको थियो । अब भने यही संस्थाले चुनावबाट पक्का अध्यक्ष पाएको छ ।

अब के हुन्छ त ? सबैभन्दा महत्त्वपूर्ण प्रश्न त यही हो । के उनले बीसीसीआईलाई पनि त्यसरी नै चलाउनेछन्, जसरी भारतीय टिमको नेतृत्व गर्दा गर्ने गर्थे ? उनीसँग खेलेका धेरैले भन्न सुरु गरिसकेका छन्— गांगुलीमा कुनै परिवर्तन आएको छैन । उनी त्यस्तै छन्, जस्तो पहिले थिए । त्यसो भनेको उनले बीसीसीआई चलाउँदा पनि त्यसमा आक्रामकपन हुनेछ । उनी जे सोच्छन्, जे निर्णय गर्छन्, त्यसलाई लागू गर्न पटक्कै पछाडि हट्दैनन् ।

साँच्चै अब के हुन्छ त ? यसको उत्तर चारथरीको सम्भवनामा टिकेको छ । बीसीसीआईमा गांगुलीको उदयले भारतीय क्रिकेट ढाँचामा धेरै परिवर्तन आउनेछ । भारतमा क्रिकेट जत्ति लोकप्रिय रहे पनि, बीसीसीआई नै जत्ति धनी भएपछि यो ढंगले चल्दैन भन्ने धेरै छन् । देशका लागि खेल्ने र आफ्नो प्रान्तका लागि खेल्ने खेलाडीमा ठूलो अन्तर ठ्याक्कै देख्न सकिन्छ, विशेषतः उसले कमाउने रकमले । गांगुली सबैभन्दा पहिले भारतीय क्रिकेटको ढाँचामा परिवर्तन गर्न चाहन्छन् ।

दोस्रो सम्भावना हो, अब भारतीय टिममा कप्तान विराट कोहली र प्रशिक्षक रवि शास्त्रीको जुन दबदबा थियो, त्यो रहनेछैन । कोहलीलाई त धेरै फरक पर्नेछैन, तर शास्त्री दृश्यबाट हराउन सक्नेछन् । यी प्रशिक्षकको एउटा खराब बानी छ, ठूल्ठूला कुरा गर्ने । उस्तै दाबी पनि भयंकर विशाल गर्ने गर्छन् उनी । उनले कतिसम्म भनेका छन् भने अहिलेको जत्तिको भारतीय टिम यसअघि कहिले पनि थिएन । यसले धेरैलाई चिढाएको छ । भनिन्छ, गांगुलीलाई शास्त्री मन पर्दैन । हुन सक्छ, अब शास्त्री आफ्नो वास्तविक आकारमा खुम्चिनेछन् ।

तेस्रो सम्भावना के पनि छ भने अबका दिनमा विश्व क्रिकेटमा भारतले आफ्नो भूमिका अझ बढाउन खोज्नेछ । पछिल्लो समय विश्व क्रिकेट भारतसँगै इंग्ल्यान्ड र अस्ट्रेलियाले चलाइरहेको थियो । यी तीन देशलाई ‘बिग थ्री’ पनि भनिन्छ । भारत ‘बिग वान’ बन्न चाहन्छ । यसका लागि उससँग पैसा त थियो तर नेतृत्व थिएन । अब गांगुलीको उदयले त्यस्तो नेता पनि पाएको छ, भारतले ।

चौथो सम्भावना भने विशाल छ र यसले अझ धेरै अर्थ राख्छ । यसको सीधासीधा सम्बन्ध क्रिकेटसँग छैन, बरू यसले पूरा भारतीय राजनीतिको समीकरण फेरिन सक्नेछ । अबको एक वर्षपछि पश्चिम बंगालमा चुनाव हुँदै छ । अहिले त्यहाँ तृणमूल कांग्रेस र यसकी नेता ममता बनर्जीको शासन चलिरहेको छ ।

भारतमा पश्चिम बंगाल नै त्यस्तो राज्य हो, जहाँ केन्द्रको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले राम्रोसँगग धाबा बोल्न सकेको छैन । पश्चिम बंगालमा भाजपाको सबैभन्दा ठूलो समस्या नै मुख्यमन्त्री बन्न सक्ने व्यक्तिको अभाव हुनु हो । भाजपाले त्यस्तो व्यक्ति खोज्न थालेको धेरै भइसकेको छ, जसले ममता दिदीलाई चुनौती दिन सकोस् । सायद भाजपाले त्यस्तो उम्मेदवार पाएको छ । ती हुन्— यिनै गांगुली । गांगुली पश्चिम बंगालमा कति धेरै लोकप्रिय छन्, त्यो भनिरहनु पर्दैन । बंगालीहरू त्यसै पनि क्रिकेट भनेपछि हुरुक्क हुने खालका छन्, त्यसमाथि गांगुली जत्तिको व्यक्तित्व !


लगभग सबै भारतीय मिडियाले एक स्वरमा भन्न थालिसकेका छन्, गांगुलीकै अनुहार बेचेर भाजपा पश्चिम बंगालमा अबको सरकार बनाउन चाहन्छ । सबै घटनाक्रम हेर्दा हो नै जस्तो छ । बीसीसीआईको चुनावमै पनि गांगुलीलाई अध्यक्ष पदसम्म पुर्‍याउने काम भाजपाकै त हो ।

अझ अमित शाहको काम भन्दा हुन्छ । उनले नै गांगुलीलाई बीसीसीआईमा ल्याउन सबै प्रकारको सेटिङ मिलाएका हुन् । अहिले भारतीय क्रिकेटमा पर्दापछाडि सबैभन्दा बलियो भाजपा नै छ । शाह जे भन्छन्, भारतीय क्रिकेटमा त्यही हुने स्थिति छ । त्यसैले त उनकै छोरा जय शाह बीसीसीआईका सचिव पनि भएका छन्, जुन अध्यक्षपछि सबैभन्दा बलियो पद हो, त्यो संस्थामा ।

अहिलेका लागि चाहिँ के भन्न सकिन्छ भने गांगुली एक्लैले आफ्नो सुझबुझमा बीसीसीआई चलाउनेछन् । त्यसो भनेको अबको केही समय भारतीय क्रिकेटमा ‘दादा’ गिरी चल्ने निश्चित छ । यसैमा टिकेर कुनै दिन गांगुली भारतीय राजनीतिकै ठूलो नाम पनि हुन सक्नेछन् ।
twitter : @himeshratna

प्रकाशित : कार्तिक ९, २०७६ १०:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जुन बेला काठमाडौंका नदीमा सुन बग्थ्यो

हिमेश

काठमाडौँ — नेपाल संवत् ११४० मंगलबार सुरु हुँदै छ । कार्तिक शुक्ल प्रतिपदादेखि नयाँ वर्ष सुरु हुन्छ । यो दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुन्छन् । एकले अर्कालाई सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्छन् । म्ह पूजा गर्छन् । र, सम्झिन्छन्, शंखधर साख्वालाई । उनै त हुन्, नेपालको मौलिक संवत्— नेपाल संवत्का प्रवर्तक । 

यो संवत्बारे एउटा गज्जबको किंवदन्ती छ । शंखधरले एक खास साइतमा घरमा ल्याएको सबै बालुवा सुन बन्यो । त्यही सुनको सहयोगले उनले जनताको ऋण तिरिदिए । तिनै जनता ऋणमुक्त भएको खुसियालीमा नयाँ संवत् सुरु भयो । के यस्तो सम्भव हुन्छ ? बालुवा सुनमा परिणत हुन सक्छ ? नेपाल संवत्बारे लामो समयदेखि अनुसन्धान गरिरहेका मल्ल के सुन्दर भन्छन्, ‘यो पक्कै पनि वैज्ञानिक सुनिन्न ।’

आखिर त्यतिबेला के भएको थियो ? पहिले, शंखधरबारे ।

उनी व्यापारी थिए । वंशावली र जनविश्वासअनुसार काठमाडौं इलाछेंका बासिन्दा हुन् उनी । इलाछें अहिलेको भीमसेन स्थान हो । त्यहाँ अहिले भीमसेनको मन्दिर छ । त्यतिबेला तिब्बतसँग काठमाडौंको राम्रो व्यापारिक सम्बन्ध थियो । सुनिन्छ, शंखधरको परिवारले तिब्बतसँग व्यापार गर्थ्यो । केशर पुस्तकालयमा रहेको वंशावलीअनुसार राजा राघवदेवको समयका थिए, शंखधर । उनले नयाँ संवत् स्थापना गरे र यसलाई पशुपतिमा चढाए । राघवदेवको पालादेखि नै शक संवत्को चलन सकिन्छ र नेपाल संवत् सुरु हुन्छ ।

कुरा यस्तो हो

नयाँ संवत्को नाम सुरुमै नेपाल संवत् थिएन । आरम्भताका यसलाई श्री संवत् भनियो । स्थापनाको सय वर्षपछि यसले औपचारिक रूपमा नेपाल संवत्को नाम पायो । नेपालको इतिहासअनुसार लामो समयसम्म चलेको लिच्छवि वंशबारे जानकारी एकाएक हराउँछ र सुरु हुन्छ, २ सय ५० वर्षभन्दा बढीको अन्धकार युग । त्यो समय कसले, कसरी शासन गरेको थियो, त्यसबारे पर्याप्त जानकारी नै छैन । राघवदेवदेखि मात्र पुन: ऐतिहासिक स्रोत खुल्छ । उनी आफैं लिच्छवि थिएनन् । उनी थिए नुवाकोटबाट आएका वैश्य ठकुरी ।

यसअघि काठमाडौंको राजनीतिक एवं प्रशासनिक केन्द्र हाँडीगाउँ विशालनगर थियो तर एक समयमा आएर त्यहाँको सभ्यता नासियो । यसका कारण धेरै हुन सक्छन्, महामारी अथवा आगलागी । कारण जेसुकै भए पनि त्यसपछि त्यहाँका बासिन्दा स्थानान्तरण भएर अहिलेको कान्तिपुरमा आए । यो त्यही समय हो, जति बेला काठमाडौं उपत्यकामा बौद्ध धर्मअन्तर्गत वज्रयानको प्रभाव सुरु भयो । सुरुमा महायानी बौद्ध धर्मको प्रभाव थियो, पछि त्यसकै हाँगो वज्रयान प्रभावी बन्यो । त्य

ही बेला काठमाडौं उपत्यकामा ठूलाठूला विहार पनि बने । पाटनको हिरण्यवर्ण महाविहारदेखि काठमाडौंको केशचन्द्र महाविहार त्यसै बेला बनेका हुन् ।

सायद शंखधर पनि वज्रयानबाट प्रभावित भए । उनी तिब्बतसँगको व्यापारमा पनि थिए । हुन सक्छ, त्यहाँका धर्मगुरुहरूबाट पनि उनी प्रभावित थिए । उनमा बोधिचित्त उत्पन्न भएको हुनुपर्छ, दानपारमिताले प्रभाव पारेको हुनुपर्छ । यसै क्रममा उनले जनतालाई ऋणमुक्त गर्न आफूले आर्जन गरेको सम्पत्ति दान दिए ।

नेपाल संवत्बारे अध्ययनका क्रममा मल्ल के सुन्दर यस्तो निष्कर्षमा पुगे– शंखधरले घरमा ल्याएको बालुवा सुनमा परिणत भएको होइन । बरु उनी मान्छन्– नदीमा बगेर आउने बालुवामा सुन पनि हुन्छ । शंखधरको घरनजिकै लखुतीर्थ छ । त्यो तीर्थ अहिले डल्लुमा पर्छ । लोकविश्वासअनुसार उनले त्यहीँ सुन पाएका थिए ।

शंखधरले नदीमा आफ्ना कामदार लगाए । बालुवा चालेर सुन निकाल्न लगाए । खोला–नदीको बालुवा चालेर सुन निकाल्ने चलन विश्वमा पहिले पनि थियो । अहिले पनि यथावत् छ । यो कामबाट उनी निकै धनी भए । त्यो सम्पत्ति उनले निजी स्वार्थका लागि प्रयोग गरेनन्, लोककल्याणमा खर्चिए । जनताको टाउकामा रहेको ऋण चुक्ता तिरिदिए । अनि सुरु भयो, नेपाल संवत् ।

स्वयम्भू : सुनको खानी
मल्ललाई सम्झना छ, उनी किशोर छँदा शोभाभगवतीमा इन्द्रायणी नदीअगाडि सुन खोज्नेहरू प्रशस्त भेटिन्थे । धोबीचौरबाट ओरालो लाग्ने ठाउँमा त्यतिबेला सानो खोला बग्थ्यो । त्यहाँ पनि सुन खोजिन्थ्यो ।

कुनै समय खानी विभागले स्वयम्भूको डाँडाबारे अनुसन्धान गरेको थियो । उसले भनेको थियो, स्वयम्भूमा सुनको खानी छ । ०२६–२७ सालतिर खानी विभागले लैनचौरमा एउटा प्रदर्शनी राखेको थियो । त्यसमा स्वयम्भूमा भेटिएको भनेर सुनको एक ढिक्का पनि राखिएको थियो । मल्ल स्वयंले त्यो ढिक्का देखेका थिए ।

स्वयम्भू वरिपरि दुई खोला बग्छन् । एउटा हो, भचाखुसी । यो शोभाभगवतीमा पर्छ । उत्तरबाट बग्छ । अर्को दक्षिणबाट बग्छ र पुग्छ, त्यही लखुतीर्थमा । लखुतीर्थको उद्गम नै स्वयम्भू पछाडि हो । सुनको खानी भएको पहाडको छेउछाउबाट बगेका खोला–नदीमा सुन पाइने सम्भावना पनि धेरै हुन्छ । अहिले पो त्यहाँ पानी छैन ।

‘त्यही लखुतीर्थमा शंखधरले बालुवा चालेर सुन निकालेको तर्क भने वैज्ञानिक मान्न सकिन्छ,’ मल्लले भने, ‘कुनै बेला काठमाडौंका खोला–नदीमा सुन बगेर आउँथ्यो ।’ शंखधर पक्कै ऐतिहासिक व्यक्ति हुन्, जो काठमाडौंका व्यापारी थिए । उनीसँगै कसरी नेपाल संवत् सुरु भयो, यी सबै त्यस पछाडिका तर्क हुन् ।

प्रकाशित : कार्तिक ९, २०७६ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT