कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धो तरापकी 'बाइकवाली'

अब्दुल्लाह मियाँ

समुद्र सतहबाट झन्डै चार हजार तीन सय मिटर उचाइ । अग्ला हिमशृंखलाले घेरिएको समथर धो तराप । दायाँतिर सुस्तरी बगेको धो खोला । कलाङ, धो, ताक्सी, सिमेन्ट, तिन्जे, पोल्दे, छार्कालगायतका स्थानमा माटाले छाएका सुन्दर घर । सिस्योल खोलादेखि तिब्बतको सीमासम्मै सरर चल्छन् तीन सय ५० भन्दा बढी मोटरसाइकल ।

धो तरापकी 'बाइकवाली'

एक बस्तीबाट अर्को बस्ती होस् या भेडीगोठ जान, स्कुलमा बच्चा पुर्‍याउन मोटरसाइकल मुख्य साधन बनेको छ । ताक्सीकी ३३ वर्षीया पेमा हाम्जोको दिनचर्या मोटरसाइकलबाटै सुरु हुन्छ । तिब्बती नाका मरिम लाबाट सामान ओसार–पसार गर्न र गाउँ घुम्न वा पाहुना बोक्न पेमाको यातायातको साधन मोटरसाइकल नै हो । उनका श्रीमान् छेप्तेन गुरुङको पनि अलग्गै मोटरसाइकल छ ।


बुद्धडोल्पो गाउँपालिकाभित्रका आधा दर्जन गाउँमा मोटरसाइकल गुडिरहेका छन् । सबै चिनियाँ । चिनियाँहरूलाई यार्चागुन्बु बेचेर किनिएका हुन् । मोटरसाइकल हाँक्नेहरू अधिकांश पुरुष । यी सबै अगस्टमा खुल्ने मरिम लाबाट भित्र्याइएका हुन् । सुन्दर धो तराप उपत्यकाभरिका गाउँहरूमा मोटरसाइकल हाँक्ने पेमा एक्ली महिला हुन् । ‘दुई वर्ष भयो मोटरसाइकल चलाउन थालेको’ ताक्सीमा होटलकी मालिक्नी पेमा भन्दै थिइन, ‘चलाउँदाचलाउँदै सिकियो, अहिले सजिलो भएको छ ।’


पेमासँग मात्र होइन मोटरसाइकल चलाउने कोहीसँग लाइसेन्स छैन । यहाँ ‘चेक गर्ने’ पनि कोही छैन । सुरुमा महिलाले मोटरसाइकल चलाएको देखेर केहीले कुरा पनि काटे । उनी भने बेपरबाह हाँकिरहेकी छन् । तीन वर्षयता धो तरापका सबै घरमा मोटरसाइकल छन् । कतिपयले घोडा बेचेरसमेत मोटरसाइकल किनेका छन् । गाउँ डुल्न, नाका जान र गोठ जान घोडा प्रयोग गर्नेहरू घटेका छन् ।

प्रकाशित : कार्तिक २, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?