गहन विषय, छिपछिपे लेखाइ

नारायणी देवकोटा

चार दशकदेखि मुक्तक, कविता, कथामा निरन्तर कलम चलाइरहेकी उषा शेरचनको पहिलो उपन्यास ‘आधि’ हालै बजारमा आएको छ  । उनको उपन्यास भन्दा मलाई लागिरहेको थियो, ‘थकाली, थाकखोला, पोखरेली समाजको कुरा आउला  ।

वा मूलधार भनिएको नेपाली साहित्यभन्दा अलि फरक आउला । मेरो यो अपेक्षा सायद उनकी भाउजू यशोकान्ति भट्टचनले निरन्तर उठाउँदै आएको जनजाति महिलाका सवाललाई नजिकबाट सुनिरहेर पनि जागृत भएको होला ।

उपन्यासको भूमिकामा कुनै कलेज पढाइरहेकी महिलाले आफू बलात्कारमा परेको कहानी सुनाएको कुराले उपन्यास लेख्न उत्प्रेरित गरेको उनले उल्लेख गरेकी छन् । उपन्यासमा भित्र पसेपछि भने पूरै ठकुरी पाराको ‘आइसियोस् गइसियोस्’ भन्ने भाषाको अत्यधिक प्रयोगले यो कथा मूलधारभन्दा पर जाने छाँटकाँट ल्याउँदैन । उपन्यास सहरिया मध्यमवर्गीय परिवेशमा घुम्छ, ठ्याक्कै यही जातिको कुरा नभने पनि चालचलन लवजमा ठकुरी देखिन्छ ।

हिंसामा परेकी केटीले आफ्नो घर छोड्नुपरेको बाध्यताबाट उपन्यास सुरु हुन्छ । स्नातकोत्तरको पढाइ तयारी गरिरहेकी अन्तरमुखी स्वभावकी युवती जो साहित्यमा गम्भीर लगाव राख्छे उसले कुनै युवकले पठाएको प्रेमपत्रको भरमा विवाहका लागि भागेर घरबाट हिँडेको कुरा त्यति सुहाउँदो लाग्दैन । हुन त उपन्यास हो, लेखकको कल्पनाको उडान पनि होला तर पढ्दै गर्दा मलाई लागिरहेको कुरा लेखकले उल्लेख गरेको तहको पढाइ र लगाव भएकी युवती स्वतन्त्र आफ्नो क्षमताको भरमा उभिन प्रयास पनि गर्थी कि ? आफूलाई पटक–पटक बलात्कार गरिरहेको काकाविरुद्ध प्रहरीमा मुद्दा मामिला गर्न जान्थी कि ? महिलाको अधिकारका लागि काम गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहयोग पो लिन जान्थी र सहयोग वा ठक्कर पो पाउँथी कि ? लेखकले महिलाहरूले विशेष गरेर हिंसामा परेका महिलाहरूले एकल जीवनका लागि गरेको संघर्षलाई चटक्कै छोडेर एउटा हिंसाबाट बच्न सजिलो माध्यम खोजेको कुरा सतहमा देखिन्छ । तर उक्त कथाले हाम्रो समाजमा रहेको पुरुषको भरबिना महिला बाँच्नै सक्दैनन् भन्ने जुन मान्यता छ, त्यसैलाई स्वीकार गरेको देखाउँदैन र ?

पछिल्ला वर्षहरूमा नेपाली समाजमा बलात्कारबारे निकै बहस भइरहेका छन् । हरेक दिन चारजना महिला वा बालिका बलात्कार भएका घटना नेपाल प्रहरीमा दर्ता हुने गरेका छन् । एक संस्थाको तथ्यांकअनुसार यसरी घटना दर्ता हुने जम्मा २५ प्रतिशत मात्रै हुन्, ७५ प्रतिशत घटनाहरू त प्रहरी कार्यलयको गेटसम्म पनि पुग्दैनन् । गत आर्थिक वर्षको चैत मसान्तबीचको ९ महिनामा ९ जनाको बलात्कारपछि हत्या भएको घटना प्रहरीले दर्ता गरेको छ । नियमितजस्तै बलात्कारका घटनालाई हामीले समाचारको रूपमा पढिरहेका हुन्छौँ । उपन्यास पढिरहँदा पाठक बेलाबेला पत्रिका पढेको कि किताब पढेको जस्तै गरी झुक्किन सक्छ ।

पाठक त्यतिबेला झस्किन सक्छन्, जब सहरका मनोरञ्जनका क्षेत्रमा काम (संघर्ष) गरिहेका महिलाहरूबारे उपन्यासमा अलि अस्पष्ट र दोहोरो अर्थ लाग्ने खालका कुरा आउँछन् । काठमाडौंमा रहेका होटल रेस्टुरेन्ट दोहोरीसाँझ, मसाज पार्लर, बार, डिस्कोलगायतका क्षेत्रमा काम गरिरहेका महिला कामदारलाई हेर्न नेपाली मध्यमवर्गीय समाजको चस्मा त्यति उचित छैन । त्यो चस्माले ती महिलाको काम र उनीहरूको यौनको विषयमा फरक रूपमा बुझ्दैन । यो गलत बुझाइविरुद्धमा ती क्षेत्रमा काम गर्ने मानिसहरूले आफ्नो कामको मर्यादाका लागि संगठित रूपमा नै लडिरेहका छन् । किताबमा ती मान्छेहरूको बारेमा पनि लेखिएको छ तर सतही ढंगले । केही हदसम्म यौनकर्मीको रूपमा पनि । किताब पढ्दा घरीघरी लागिरह्यो, यौनकर्म गर्नु र मनोरञ्जनका क्षेत्रमा कामदार भएर काम गर्नु फरक हो भन्ने कुरालाई लेखकले चटक्कै बिर्सिएकी छन् । यस विषयमा लेखकको बुझाई र अध्ययन नपुगेजस्तो लाग्यो ।

किताबमा समयको उडान फट्याङ्ग्रो उफ्रेको जस्तो छिटोछिटो दौडिरहेको देखिन्छ । यौन दुर्व्यवहारमा परेकी बालिका यौन दुर्व्यवहारमा परेपछि एकै पटक बीए पास हुने अवस्थामा पुग्छे । बीचमा पटकपटक यौन दुर्व्यवहारमा परेको उल्लेख भए पनि उसले गरेको प्रतिकार वा विरोधको कुरा छैन । पटकपटक वरिपरि भएको काकाको बारेमा उसले दशकसम्म केही नबोली बलात्कृत मात्रै भइरहेको कुरा त्यति स्वाभाविक लाग्दैन । नभनेको भए पनि उसको मनमा उठ्ने भावनाको कुरा त्यो भावना अरूसँगको व्यवहारमा प्रकट हुने कुरालाई लेखकले पात्र किताबमा मात्रै केन्द्रित भएको भनेर छोडिदिएकी छन् । घरेलु हिंसामा परेकी सोही महिलाले किन विद्रोह गर्न सक्दिन भन्नेबारेमा कुनै उपकथा जोडिनन् बरु काम गर्न आउने कान्छीसँग बाँडेर हलुका भएको मात्रै जोडिएको छ ।

उपन्यासको भाषा ससल बग्छ । ‘आधि’ आजको समयमा उठाउनै पर्ने सवाल उठाउने उपन्यास हो । तर, यसलाई नयाँ ढंगले भने लेखिएको छैन । विषयलाई यसरी नै हेरेर यसअघि पनि लेखिएका छन् । बरु, महिला पुरुषमा नै भर पर्नुपर्ने रहर वा बाध्यताको जुन लम्बेतान पुरुष भाष्य वा सोचको सिलसिला चलिरहेको छ, पारपाचुके गरेको श्रीमान्का बाआमासँग सहयोग मागेको कथा जोडेर उक्त सोचलाई ‘सिमेन्टेड’ गर्ने काम यो पुस्तकले पनि गरेको छ । छोराले छोडपत्र गरेर अर्कैसँग विवाह गरेपछि पनि बुहारीलाई माया गर्ने सासू–ससुरा त यसमा छन् तर हिंसामा परेर छोडपत्र गरेका महिलालाई प्रेरणा दिने कुरा खासै छैन । हिंसामा परेका महिलाले गरिरहेको विद्रोहको कुरालाई यसमा खासै ठाउँ दिइएको छैन । महिलालाई सहनशीला सुशीलाको रूपमै चित्रण गरिएको छ ।

यो उपन्यासमा एक उच्च मध्ययमवर्गीय सम्भवतः कुनै प्रकारको गम्भीर हिंसा नभोगेकी महिलाको जीवनदृष्टि पाइन्छ । जहाँ महिलाहरू श्रीमान् कार्यालय गएपछि तास खेलेर सधैं रमाइलो गरेर समय कटाउँछन् । महिला सकेसम्म पुरुषको भर पर्छन्, उनीहरूको छुट्टै अस्तित्वका लागि संघर्ष गर्न चाहन्नन् ।अन्त्यमा लेखकले हिंसा प्रभावित महिलाले अरूको लागि समाजसेवा गर्नका लागि सुरक्षा आवासका खोलेको कुरा उल्लेख गरेकी छन् । तर, पात्रको जुन आर्थिक हैसियत र सामाजिक पहुँच छ त्यो सुरक्षा आवास चलाउने तहको देखिदैन । सुरक्षा आवास सजिलै खोल्न सकिने कुरा होइन ।

प्रकाशित : कार्तिक २, २०७६ १०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पीडितले फेरिरहने बयानको समाजशास्त्र

नारायणी देवकोटा

स्त्री शक्ति विजय भएको प्रतीक मानिने विजयादसमी सुरु हुँदै गर्दा मुलुकमा स्त्रीशक्तिलाई कसरी दमन गरिन्छ भन्ने तथ्यको राष्ट्रिय नमुना प्रदर्शनी भयो । घन्टा-घन्टामा म्यासेन्जरको बक्समा यसबारे चासो वा चिन्ता आइरह्यो । त्यसैमध्ये एक थियो, ‘अब उनी सडकमा आउँछिन् ।’

यो पढेर म एकैपटक हेनरी इब्सेनको नाटक ‘डल्स हाउस’की नोरा र चिनियाँ लेखक ल्युसुनको अब ‘नोरा वेश्यावृत्ति गर्छिन्’ भन्ने निष्कर्ष सम्झन्छु । अनि मेरो आत्म थर्रर काँप्छ ।

एउटी मध्यम वर्गीय महिला ‘म शक्तिशाली (आर्थिक, सामाजिक र राजनीतिक) पुरुषबाट बलात्कारमा परेँ’ भनेर मध्येरातमा प्रहरी, महिला नेता र पत्रकारलाई खबर गर्छिन् । प्रहरी आउँछ र भोलि उजुरी दिनु भनेर फर्कन्छ, उनी उजुरी दिन जान श्रीमानलाई कुरेर बस्छिन् । पत्रकारलाई, आफू बलात्कारमा परेको, पहिल्यैदेखि यौन दुर्व्यवहार भोगेको बताउँछिन् । तर अर्को दिन उनको बयान फेरिन्छ, ‘डिप्रेसनको औषधी बढी खाएकोले के-के भनेँ थाहा छैन ।’ साथै उनी श्रीमानसँग प्रहरी कार्यालय जान्छिन्, तर आफूले झुटो बोलेको भनी विवरण लेखाउन । त्यस लगत्तै आउँछ, उनका श्रीमानले आफ्नो सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै
बस्ने भनी गरेको निर्णयको लिखत । फेरि उनले आफू बलात्कारमा परेको भन्दै प्रहरीमा किटानी जाहेरी दिन्छिन् । र फेरि प्रहरीको दबाबमा उक्त जाहेरी दिएको भनी लिखत सार्वजनिक गर्छिन् ।

दिनको सरदर तीन (वा बढी) जना महिला/बालिका बलात्कारमा परेको घटना आफ्नो ढड्डामा चढाइरहेको प्रहरीका लागि यो एउटा नमुना घटना बनेको देखिन्छ । पटक-पटक उनले आफ्नै कुरालाई काट्दै गरिरहेको अन्तर्वार्ता वा प्रेस नोट पढ्दा धेरैलाई ‘यो के तालकी महिला हो’ भन्ने परिरहेको देखिन्छ । तर बलात्कारका प्रभावितसँग काम गरिरहेका अधिकारकर्मीका लागि यो कुनै नयाँ विषय होइन । बलात्कारका कैयौं घटनामा पीडितले बयान फेर्छन् र पीडितको पक्षमा आवाज उठाइरहेका सहयोगीहरूलाई निराश तुल्याइदिन्छन् । पछिल्लो दुई वर्ष मैले देशभरका अधिकारकर्मी महिलासँग काम गरेँ । उनीहरूको सबैभन्दा धेरै गुनासो हुन्थ्यो, ‘पीडितले बयान फेरिदिन्छन्/फेरिदिए ।’ यसरी बयान फेर्ने पीडित कि बलात्कारका सिकार भएका हुन्छन् कि घरेलु हिंसाका । घरेलु हिंसामा परेर मानसिक र शारीरिक पीडाले औडाह हुँदा उनीहरू रुँदै आफ्नो श्रीमान वा परिवारका सदस्यले यातनाको दिएको भनी अधिकारकर्मी वा प्रहरी गुहार्छन् । जब घाउमा खत बस्न थाल्छ, उनीहरू बोली फेरिदिन्छन् । पीडक अझै राजनीतिक पहुँच भएको वा आर्थिक रूपमा बलियो परेमा घटनाको सुरुमै बोली फेर्छन् ।

केही वर्ष अधिकारका क्षेत्रमा काम गरेकाले घटनाको जानकारीसँग पक्कापक्की अनुमान लगाउन सक्छन्, ‘घटनाका पीडितले कानुनी प्रक्रियाको क्रममा बोली फेरिदिनेछन् वा पीडितले मुद्दा फिर्ता लिइदिनेछन् वा मिलापत्र गर्नेछन् ।’ अधिकारकर्मी डा. रेणु अधिकारीले कतै भनिसक्नुभएको छ, ‘एक तिहाइ बलात्कारका घटनाका प्रभावित बयान फेर्न बाध्य पारिन्छन् ।’ ठ्याक्कै तथ्यांक भन्न नसकिए पनि ठूलो संख्या बयान वा बोली फेरिदिने अवस्था आउँछ ।

शक्ति र सत्ताको भय
भनिन्छ, ‘बलात्कार पुरुषले महिलालाई कुनै आकर्षणको कारणले होइन, शक्तिको उन्मादले गर्छ ।’ त्यो शक्तिको उन्माद मान्छेमा मुख्यगरी सामाजिक-आर्थिक पहुँच र राजनीतिक आधारमा विकसित एउटा मानसिक प्रक्रिया हो । यस्तो हैसियतको चर्चा गर्दा मलाई गाइने ठाडो भाकाको एउटा हरफको खुब याद आउँछ, ‘छोरीको करिमै कालो छ, न समाउने न टेक्ने डालो छ ।’ आजको मितिसम्म धेरै नेपाली महिला आर्थिक र सामाजिक रूपमा पुरुषमा निर्भर छन् । महिलाको आफ्नै नाममा सम्पत्ति कति छ ? पैतृक सम्पत्तिमा त महिलाको पहुँच भर्खर कानुनी रूपमा स्थापित हुँदैछ । स्थापित कानुन अनुसार अहिले पनि अपवाद बाहेक बाआमाले छोरीका लागि अंश छुट्याएका छैनन्, छोरालाई छुट्याउँदा । नछुट्याए पनि बाआमासँग अंश माग्ने छोरीहरूलाई आज पनि समाजले बहिस्कार गरेको छ ।

चिटिक्क परेको लुगा लगाएर कार्यालयमा काम गर्ने धेरै महिला पनि आफूले बुझेको तलब जस्ताको तस्तै घरका ‘सो कल्ड अनर’हरूलाई बुझाउनुपर्ने मानसिक दबाबमा छन् । पाइला-पाइलामा पुरुषको सहयोग र निर्देशन कुर्नुपर्ने बाध्यतामा छन्, उनीहरू । बलात्कारका घटनामा पनि महिलाबारे निर्णय गर्ने अघोषित ‘अनर’हरू नै छन् । जो शक्ति र पैसाका अगाडि महिलाको अस्मितालाई ‘जाबो’ सम्झन्छन् । पीडक पक्ष र पीडितका कथित अनरहरूलाई महिलामाथिको यौन उत्पीडन केही मिनेटको रमाइलोमात्रै लागिदिन्छ । र महिलाहरू आफूमाथिको हिंसाका अभिव्यक्तिलाई फिर्ता लिन बाध्य हुन्छन् । जहिलेसम्म महिला आफ्नै घरभित्र दोस्रो दर्जाका नागरिक रहन्छन्, तबसम्म उनीहरूको बोली उनीहरूकै हुँदैन ।

सम्बन्धको गलत अर्थ
पछिल्ला समय यौनहिंसा वा उत्पीडनका घटनामा हिंसाका पीडक र पीडितको सम्बन्धलाई लिएर धेरैले ‘मन मिल्दा माया, मन नमिल्दा बलात्कार’ भन्ने गरेका छन् । भनाइ सही हो— बलात्कार हुने नै मन नमिलेपछि हो । प्रेम, सहमतिमा यौन सम्बन्ध, यौन व्यापार र बलात्कार चारवटा छुट्टाछुट्ट्टै पक्ष हुन् । समाजमा यी चारवटै सम्बन्ध छन् । मसिनो रेखाले मात्रै यिनीहरूलाई छुट्याउँछ । र त्यो रेखा सम्बन्ध भोग्नेहरूको नितान्त निजी अनुभवमा आधारित कुरा हो । तर मानिसहरू यसलाई आफ्नो ज्ञान, बुद्धि र समाजको चलन अनुसार बुझ्ने र व्याख्या गर्ने गर्छन् । जुन समय अनुसार परिवर्तन हुँदै गएको पनि छ । जहिलेदेखि मानव जीवन छ, त्यही बेलादेखि आपसी प्रेम, यौन आकर्षण, कतिपय अवस्थामा जबर्जस्ती र उत्पीडन पनि छ । मानव सभ्यता विकास हुने क्रममा मानिसले विस्तारै परिवार बसाउन थाल्यो, नीति-नियम बन्न थाले, मान्छेले आफूहरूमाथि भएका विभिन्न उत्पीडन अन्त्यका लागि सामुहिक पहल र काम गर्न थाले । तिनैमध्ये यौन उत्पीडन पनि एक हो ।

मानव सभ्यताको लामो समयसम्म महिलाको यौनिकतालाई समाजले पवित्रता र समाजको लज्जासँग जोडियो । त्यसैले महिलाहरूले बलात्कारका कुरालाई चुपचाप आँसुका घुट्कोसँग निल्दै आए, कतिपय अवस्थामा अझै यही स्थिति छ ।

विस्तारै महिलाहरू बोल्न थाले । बोली चर्को हुँदै जाँदा, ‘प्रेमिका, यौनकर्मी र आफ्नै श्रीमतीसँग पनि जबर्जस्ती यौनकार्य हुन्छ भने त्यो बलात्कार हो’ भन्ने मान्यता स्थापित हुँदै गयो । यो मान्यता स्थापित गर्न धेरै महिलाले परिवार, प्रेमी र राज्यसँग जीवनको मूल्य चुकाएका छन् । यही मान्यता बमोजिम वर्तमान नेपालको कानुनले आफ्नी श्रीमतीमाथि पनि जबर्जस्ती गर्न छुट दिएको छैन । वैवाहिक बलात्कारको कानुन भएको र आफ्नै परिवारका सदस्य (बा, काका, मामा, दाइभाइ, छोरासम्मले) ले समेत बलात्कार र यौन दुर्व्यवहार गरेका घटना सार्वजनिक भइरहेको परिप्रेक्ष्यमा पीडित र पीडकको सम्बन्ध कति लामो समयदेखि थियो भन्ने पक्ष गौण हो । तर पीडकको पहुँच, प्रभाव, कतिपय अवस्थामा आर्थिक प्रलोभन, भावनात्मक दबाब र कानुनी प्रक्रियामा गरिने गैरजिम्मेवार व्यवहारका कारण कतिपय अवस्थामा पीडितहरू बलात्कारलाई पनि प्रेम मानिदिएर चुपचाप बस्न वा बयान फेर्न बाध्य हुन्छन् ।

असहयोगी सामाजिक संरचना
आफूमाथि बलात्कार वा यौन दुर्व्यवहारका घटना बाहिर ल्याउने महिलालाई अहिले पनि समाजले राम्रो आँखाले हेर्दैन । बरु उनीहरूको नैतिकतासँग, पहिलादेखि भएको सम्बन्धसँग, हँसिलो वा मिजासिलो बानीसँग, रातविरात वा पुरुषहरूको माझमा गर्ने कामसँग र लगाउने लुगासँग जोडेर गलत व्याख्या गरिदिन्छन् । यस्तो समाजमा आफूमाथिको दुर्व्यवहार, शोषण वा उत्पीडनबारे बोल्न ठूलो साहस चाहिन्छ । बोलेपछि समाज र पीडकबाट आउने दबाबसँग लड्न महिलालाई परिवार र आफ्नो वरपरका मानिसको बलियो साथ चाहिन्छ । तर यस्तै बेलामा धेरै परिवारका मानिसले साथ छोडिदिन्छन् । उदाहरणका लागि, रोशनी शाहीकै घटना बाहिर आएको एक हप्ता नबित्दै उनका श्रीमानले पारपाचुके गरेको कुरा फेसबुकबाट सार्वजनिक गरे । अझै पीडक परिवारकै सदस्य भएको खण्डमा महिलाले घरमा पनि बस्न नसक्ने अवस्था आउने गरेको छ ।

चुकिरहने प्रहरी
प्रहरी पनि समाजकै एउटा अंग भएको हुँदा उसले पनि बलात्कार र यौन व्यवहारलाई धेरैपटक एउटै नजरले हेरेको पाइन्छ । महिलामाथि हुने हिंसाका घटनालाई प्रहरीले ‘व्यक्तिगत’ भनेर पन्छिएको वा खासै महत्त्व नदिएका धेरै घटना छन् । घरेलु हिंसालाई ‘परालको आगो’ वा यौनजन्य हिंसालाई ‘आपसी सम्बन्ध’ भनेर टारिन्छ । महरा प्रकरणमा पनि प्रहरीले घटनाको जानकारी पाएपछि प्रहरीले ती महिलामाथि थप हिंसा हुन सक्नेतर्फ सचेत भएर उद्धार गर्ने र बलात्कार भए-नभएको जाँच्न अस्पताल लैजाने जस्तो आधारभूत काम गरेको पाइएन । त्यसमाथि पनि महिलाले जाहेरी नदिएको भनेर आरोपितलाई उसै छोडियो ।

नेपालमा आज पनि ७० प्रतिशत बलात्कारका घटना प्रहरीको ढड्डामा नाम नचडी गुमनाम हुने गरेका छन् । प्रहरीले ‘उजुरी नपरेको’ बहानाबाजी गरिरहन्छ । तर बलात्कार फौजदारी कानुन भएकाले राज्यवादी हुन्छ । खबर पाएपछि घटनास्थल सुरक्षा गर्ने, पीडितलाई अस्पताल पठाउने, आवश्यक परीक्षण गर्ने र सुरक्षित स्थानमा राख्ने/पुर्‍याउने काम प्रहरीको हो । तर प्रहरी शक्तिको प्रभावमा पीडकलाई पक्रने/नपक्रने विषयमा अलमलमा परिरहन्छ ।

बदनाम डिप्रेसन
पीडक र पीडितबीच हुने असमान शक्ति सम्बन्धको कारण बलात्कार, यौन दुर्व्यवहार, उत्पीडन वा घरेलु हिंसाका घटनामा पीडितले बयान फेर्नु नौलो घटना होइन । तर पछिल्लो घटनामा पीडितको मानसिक तनाबलाई समेत जोडेर सामान्यीकरण गर्ने काम भएको छ । डिप्रेसनमा गएको, डिप्रेसनको औषधि खाएको वा आत्महत्याको कोसिस गरेको कुरालाई लिएर पीडितलाई पागल करार गर्न खोजियो । खासमा डिप्रेसन पागलपन होइन । र जहाँसम्म डिप्रेसनको औषधि धेरै खाएको कारण आफूले बोलिरहेको कुरा याद हुँदैन भन्ने प्रसंग सरासर गल्ती भएको बताउनुहुन्छ, मनोसामाजिक विमर्शकर्ता बेबी शाह । खासमा डिप्रेसन तीन तह हुन्छन् । तीनमध्ये गम्भीर डिप्रेसनमा गएको मान्छेले पनि आफूले बोलेको बिर्सँदैन । त्यसो त मानिस किन डिप्रेसनमा जान्छ, किन आत्महत्याको अवस्थामा पुग्छ भन्ने नै गम्भीर सवाल हो । समाजशास्त्रको विद्यार्थी भएका कारण म समाजमाका विभेद, असमान शक्ति सम्बन्ध (आर्थिक, राजनीतिक दुवै), शोषण र दमनजस्ता सामाजिक विषय बढी हेर्ने गर्छु । मनोचिकित्सक त्यसलाई व्यक्तिको मनको तहसम्म अझ बढी गहिरिएर हेर्ने गर्छन् । जहाँ बेबी शाह भन्नुहुन्छ, ‘मानिस डिप्रेसनमा धेरै कुराले गएको हुन्छ । यौनसँग जोडिएका घटना (जो खुलेआम व्यक्त गर्न सकिँदैन) का कारण पनि धेरै मानिस डिप्रेसनमा गएका हुन्छन् ।’

अन्त्यमा,
बलात्कार भनेको दुई व्यक्तिबीच मन नमिल्दा-नमिल्दै गरिएको जबर्जस्ती हो । चाहे उनीहरू बीचमा दशकौँ लामो प्रेम, विवाह, यौन व्यापार वा पारिवारिक वा हाडनाताको सम्बन्ध नै किन नहोस् । यस्ता घटना प्राय: नदेखिने ठाउँमै हुन्छन् । प्रमाणहरू कम हुन्छन् । नैतिकपतनको विषयसँग जोडिएको हुँदा यस्ता घटना दबाउन आर्थिक प्रलोभन, डरधम्की र ज्यानै लिनेसम्मको हर्कत हुन्छन् । मुलुकमा यस विषयमा स्पष्ट कानुन भए पनि सामाजिक रूपमा धेरै मानिस (प्रहरीसमेत) अस्पष्ट हुने र शक्तिको प्रभावमा परेर सत्ता र शक्तितर्फ ढल्कने गरेका छन् । त्यसैले आफूमाथि पीडा भयोभन्दा पनि सहयोग नपाउने अवस्था भएकाले महिलाहरू उत्पीडनका घटना फिर्ता लिन बाध्य छन् । यो बाध्यता अन्त्यका लागि महिलालाई एक स्वतन्त्र नागरिक हुन दिनु नै पहिलो सर्त हो, जसले गर्दा ऊ आफूमाथि हिंसा हुँदा निर्धक्क बोल्न सकोस् ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×