गौंथलीको गुँड

गौंथली सिकारी जीवजन्तुबाट ज्यान सुरक्षार्थ नजिक बस्न मन पराउँछन् तर न हाम्रो नियन्त्रण रुचाउँछन्, न त दिएको खान्छन् ।
भीम घिमिरे

 चन्द्रागिरी नगरको मच्छेगाउँमा एक जनाले बाँसमा धेरैवटा प्वाल पारेर भँगेरालाई आश्रय दिन सकिने जुक्ति निकाले  । आफ्नो जुक्ति उनलाई यति मन पर्‍यो कि त्यसको नमुना गाउँमा आयोजित कार्यक्रमका प्रमुख अतिथिलाई ल्याएर देखाए  ।

अपेक्षाविपरीत ती बयोवृद्ध अतिथिले भने, ‘योभन्दा पनि अर्को उत्तम उपाय छ । तपाईं पाटन आएका बेला मेरो घर पस्नुस् ।’


उनी बकुम्बहाल आए । देखे— भित्तामा दुई खण्ड छन् । एउटामा १८ र अर्कोमा १४ वटा प्वाल । भँगेरा मात्रै ठिक्क पस्न–निस्कन मिल्ने बनाइएको छ । मान्छे र बिरालोको पहुँचभन्दा निकै माथि । तल चारो टिप्ने र पानी खाने–खेल्ने सुविधा पनि छ । चरा आवास क्षेत्र रहेको यो घर हो— संस्कृतिविद् सत्यमोहन जोशीको । भँगेरा चिन्तक छक्क परे, यस्तै केही गर्छु भन्दै प्रभावित भएर फिरे । ‘मैले यो बनाउन लगाएको १०/१२ वर्ष मात्रै भयो । थुप्रै भँगेरा बस्छन्,’ जोशी भन्छन्, ‘पुण्यकर्मको फल राम्रै प्राप्त हुन्छ भन्ने धर्म मान्ने समाज भएसम्म मान्छेले आफ्ना लागि मात्रै होइन, वरपरका सबै प्रणालीका लागि सोच्थ्यो । अब त्यो जमाना गयो, चराले बास पाउन गाह्रो हुँदै गएको मान्छे स्वार्थी भएर हो ।’


सभ्यताको विकासक्रमअघि जब मान्छे ओडारमा बस्थे, लुगा लगाउन सिकेका थिएनन् । त्यो बेला चराहरूले गुँड लगाउने, जोडी भएर समाज मिलेर बस्ने र चल्ला हुर्काउने गरेको देखेर मान्छेले सिकेको हुनुपर्ने जोशीको तर्क छ । ‘गौंथलीले घाँसपरालका त्यान्द्रा हिलामा चोबेर बनाउने गुँड, माकुराले बुन्ने जाल उसका लागि बास र आहारको व्यवस्थापन आफैंमा वैज्ञानिक विधि हो,’ उनी भन्छन्, ‘त्यो देखेका पाषाण युगका मान्छेले प्रयोगका तरिका मात्रै सिकेनन्, आफ्ना लागि चाहिनेभन्दा धेरै विकास गरे । चराचुरुंगी र जनावरजस्ता थिए, उस्तै छन् ।’ प्रकृतिप्रदत्त आफ्नो अवस्थाबाट नफेरिएका जीवजन्तु संरक्षणको दायित्व मान्छेकै भएको उनी बताउँछन् । अरू छाडौं, यो कथामा हामी गौंथलीका कुरा केलाउँछौं । मात्र गौंथली ।

बागलुङ बजारको आवा रोडका थुप्रै पसलहरूमध्ये एउटाको सटरमाथि प्वाल अलि अनौठो छ । टिन उधारेर बनाइएको छ । किन त्यसो गरिएको भन्ने स्थानीयलाई थाहा छ । किराना पसले गणेश लम्साल आगन्तुकलाई कारण बताउन धक मान्दैनन् । ‘चरा सेवाका लागि हो यो तारतम्य,’ उनी भन्छन्, ‘यति गरेपछि गौंथलीले भित्र–बाहिर गर्न सटर कति बेला खोल्छन् भनेर पर्खनुपरेन । कतै जान परेर दिउसो पसल बन्द गर्नुपर्दा हामीलाई पनि चिन्ता भएन ।’ लम्सालले पसल थालेको २० वर्ष भयो, अहिलेको ठाउँमा सरेको सात वर्ष । ‘पहिले बसेको घर ढुंगामाटोको थियो, त्यहाँ चारवटा गुँड थिए,’ उनी भन्छन्, ‘अहिलेको ठाउँमा एउटा गुँड छ । जोडीले बर्सेनि चल्ला हुर्काउँछन् ।’


बेच्न के राखिन्छ, त्यसैले तय गर्छ पसल कति बेला खोल्ने । पोखरा–२५ हेम्जाकी चन्द्रा दाहालको लामाचौतारामा सटरमा औषधि पसल छ । ‘एकाबिहानै खोल्छु, बेलुकी यिनीहरू बास बसेपछि ल अब बन्द गरे पनि हुने भयो भन्ठान्छु,’ उनी भन्छिन्, ‘पसल थालेको ११ वर्ष भयो । सुरु गरेदेखि नै गौंथलीले गुँड लगाएको छ ।’ गौंथलीका चिरबिर मन परे पनि आफू सफा रहने तर भित्ता र आफ्ना गुँडमुन्तिर फोहोर पानी बानी मन नपर्ने उनले बताइन । ‘यसले गुँड लगाएकाले गर्दा पसल बन्द गरेर २/४ दिन कतै सन्चोले जाऊँ–बसौं भने पनि पाइँदैन,’ उनले भनिन् । किन र ? गौंथलीले पसल बन्द नगर्नू भन्छन् ? भन्ने प्रश्नमा उनले एउटा घटना सुनाइन् । एकपटक काम परेर बाहिर जाँदा पसल ३/४ दिन बन्द भयो । त्यो बेला गुँडमा गौंथलीका चार बचरा थिए । ‘फर्केर पसल खोल्न आउँदा सबै बचरा मरेका रहेछन्,’ उनले भनिन्, ‘सटर बन्द भएकाले माउ छिर्न नपाएपछि खानै नपाएर बचरा मरेछन् । त्यो देख्ता कति ठूलो अपराध गरिएछ भनेर धेरै दिनसम्म नरमाइलो लागिरह्यो । त्यो दिनदेखि मैले यिनीहरूलाई बाधा पर्ने गरी पसल बन्द गरेकी छैन ।’ बर्सेनि गौंथलीले गुँडमा चल्ला हुर्काएर उडाउने गरेको उनले बताइन् ।
ताप्लेजुङको फुङलिङ–४ पुरानो बैंक रोडका योगेन्द्रबहादुर गुरुङको घरमा गौंथलीको पनि बास छ । जोडी आउँछन्, फुल पार्छन् । चल्ला हुर्काउँछन् र उडाएर लैजान्छन् । बर्सेनि आउजाउको क्रम चलिरहँदा उनलाई लाग्छ, ‘यिनीहरूले मेरो घरलाई प्रसूतिगृह नै ठान्छन् । केही महिना हराउँदाचाहिँ यिनीहरू कहाँ जान्छन् होला भन्ने लाग्छ ?’

‘गौंथली परापूर्वकालदेखि मान्छेका साथ छन्, यिनीहरू बीचबीचमा कहाँ जान्छन् भन्नेमा अनेक तर्क छन्,’ लन्डन जुलोजिकल सोसाइटीका नेपाल प्रमुख डा. हेमसागर बराल भन्छन्, ‘यसबारे थुप्रै अनुसन्धान पनि भएका छन् । हामीले साझा नाम गौंथली मात्रै भनेर चिन्ने गरे पनि यो वर्गमा दुईथरी चरा छन्— स्वालो र मार्टिन ।’ नेपालमा गौंथली ११ र मार्टिनका १० प्रजाति पाइन्छन् । नेपालमा पाइएकामध्ये ५ प्रजातिले गुँड लगाउन मान्छेका घर, गोठ, भवन र मठमन्दिरजस्ता संरचनाको आश्रय लिने उनले बताए । ‘हामीले धेरैजसो देख्ने र काठमाडौं उपत्यकामा घरमा गुँड लगाएको पाउने चरो घरगौंथली हो,’ उनी भन्छन्, ‘अहिले काठमाडौंभित्र खोज्दै गए गौंथली घरमा छन्, मार्टिन केही बाहिर छेउछाउमा पुगेका छन् ।’ गौंथलीका केही प्रजातिले रूखको हाँगा र टोड्कामा पनि गुँड बनाउने उनी बताउँछन् ।


गौंथली तराईदेखि पहाडसम्मै पाइन्छन् । सुरक्षित बास क्षेत्र चिन्ने यी चरा असुरक्षित भए मात्रै प्रजनन् याममा गुँड बनाउन नयाँ ठाउँमा जान्छन् । मान्छेका छेउछाउ बस्दा यिनीहरू बिरालो, मुसा, स्याल र सर्पबाट आफू सुरक्षित हुने बुझ्छन् । छेउछाउ बसेपनि मान्छेको नियन्त्रण भने यिनले रुचाउँदैनन् । त्यसैले कसैले गौंथलीलाई घरपालुवा बनाएर पाल्ने गरेको पाइँदैन । खान दिनु पनि पर्दैन । हामीले गौंथली मात्रै भन्दै आएका चराहरू स्वालो, मार्टिन र स–विङ्स वा हिरन्डनेडी जेसुकै हुन्, सबै पासेरिन परिवारअन्तर्गत पर्छन् । भँगेरा पनि यही वर्गमा पर्छ । तर, भँगेराभन्दा आनीबानी र रूपरंगमा गौंथली धेरै फरक हुन्छन् ।


हिरन्डनेडीमा मात्रै पर्ने चरा ९० प्रजाति छन् । यिनलाई १९ वटा बायोलोजिकल जिनसमा वर्गीकरण गरिएको छ । युरोप र उत्तरी अमेरिकामा पाइने प्रजाति फिरन्ते छन् । धेरै लामो दूरी यात्रा गर्छन् । पश्चिम र उत्तरी अफ्रिकामा पाइने रैथाने प्रजाति छन् । दुई उपप्रजातिमा स्युडोसेलेडोनोनी (रिभर मार्टिन) र हिरन्डनेडी (सबै गौंथली, मार्टिन र स–विङ्स) पर्छन् । चराबारेका विभिन्न जर्नलहरूका अनुसार मार्टिन गोलो र स्वालो काँडाजस्ता पुच्छर भएका हुन्छन् । यी दुई प्रजातिमा वैज्ञानिकले फरक भेटेका छन् । मार्टिनमा पछिल्लोपटक प्रोग्यु जेनस पाइएका छन् । सेन्ड मार्टिनलाई बैंक स्वालो पनि भनिन्छ । यो चरो लामो दूरी यात्रा गर्न सक्षम छ ।

५५ किमि प्रति घण्टाको गतिमा उडान भर्न सक्ने गौंथलीका विभिन्न प्रजातिमा संसारभर पाइएको संख्याबारे चराविद्का मत फरक–फरक छन् । अधिकांशले यसका प्रजाति ९० वटा हाराहारी भएको जनाएका छन् । साधारणतः कालो, खैरो, हरियो, नीलो र सेता रङको मिश्रण भएका हुने यी चराका फिरन्ते प्रजाति दक्षिण एसियाली मुलुकमा सेप्टेम्बरबाट आउँछन्, मेमा फर्कन्छन् । समूहमा उड्छन् । प्यालाजस्ता गुँड बनाउँछन् । पुच्छर बाहिरिने भएकाले गुँडबाहिर बिस्ट्याउँछन् । बेलायतबाट दक्षिण अफ्रिकासम्म ६ हजार माइलको यात्रा गर्ने यो चरोलाई मौसमको राम्रो जानकारी रहन्छ । गौंथली आकाशमा तलतल उडेका छन् भने पानी पर्ने अवस्था र निकै माथि उडे मौसम सफा रहन्छ भन्ने बुझे हुन्छ । शरद ऋतुको समाप्तिसँगै बेलायतमा फाट्टफुट्ट मात्रै रहने गौंथली आफू आएका क्षेत्रमा फिर्छन् । जुलाईको अन्तिमबाट बेलायत छाड्न सुरु गर्छन् । अगस्ट मध्यसम्म गौंथलीका बथान इथियोपिया पुग्छन् । अक्टुबर दोस्रो सातासम्म रोडेसिया र दक्षिण अफ्रिका पुग्छन् ।


गुँड एकैपटक छाड्दैनन् । उत्तरी युरोपबाट दक्षिण अफ्रिकाको ११ हजार किमिको दूरी यो सानो चरोका लागि साहसिक यात्रा हो । तर, जसरी जान्छन्, त्यसरी नै फिर्छन् । अप्रिलमा दक्षिण अफ्रिका छाडेर बेलायत आइपुग्छन् । पूर्व क्षेत्रका गौंथली हिउँदका श्रीलंकाको दक्षिणी भाग, लक्ष्यद्वीप र भारतको अण्डमान द्वीपमा आइपुग्छन् । सेप्टेम्बर र अक्टुबरमा कर्नाटक र नीलगिरि पर्वतसम्म पुग्छन् । सेप्टेम्बरको तेस्रो, चौथो साता उत्तर र दक्षिण कोरिया, ताइवान, मलय, थाइल्यान्ड आदि देशमा पुग्छन् । अप्रिलमा पुनः अण्डमान आइपुग्छन् । प्रवास यात्राका दौरान उडानको गति प्रतिदिन तीन सय किमि हुन्छ । सधैं बस्ने र प्रजननका लागि आउने गरी नेपालमा पाइएका गौंथली दुईथरीका छन् । यो मात्रै यस्तो चरो हो, जसले प्रवास यात्रा निश्चित दिन र तारिखमा गर्छन् । समयप्रति अनुशासित हुन्छन् । दिनको उज्यालोमा मात्रै उड्छन् । ठण्डी मुलुकमा गर्मीयाममा मात्रै पाइने यो चराका प्रजाति नेपालमा भने तराईदेखि पहाडसम्मै पाइन्छन् ।


अधिकांश गौंथलीमाथि फलामे रङको झलक, नीला, तल हलुका पहेंला हुन्छन् । पुच्छर बिरालाले चिथोरेको जस्तो देखिन्छ । कुनै–कुनै प्रजाति असाधारण रूपमा लामो पुच्छर भएका हुन्छन् । लामपुच्छ्रेलाई वायर टेल्ड स्वालो भनिन्छ । यो प्रजाति घरगौंथलीका तुलनामा जीउ सानो भए पनि सुन्दर देखिन्छ । त्यसलाई छेउछाउ सिमसार वा पानी भएको क्षेत्र मन परे पनि गुँड मान्छेकै घरमा बनाउँछ । अप्रिलबाट अगस्टसम्म यसको प्रजनन् समय हो ।गौंथलीका सबै प्रजाति घरमै बस्ने होइनन् । एउटा प्रजातिले नरिवल र ताडीजस्ता रूखमा गुँड लगाउँछ । स्वतन्त्रता मन पराउने चरो मान्छेका समीप बस्छ तर नियन्त्रण रुचाउँदैन । गुँड आफैं बनाउँछ, आहारा खोज्ने र चल्ला हुर्काउने आफैं गर्छ । अरूको हस्तक्षेप सहँदैन । प्रतिकार गर्दैन तर हस्तक्षेप भए गुँड छाडेर जान्छ । यिनीहरू भाले–पोथी संसर्ग जंगलमा गर्छन् । यिनीहरू खेतबारीका कीरा खान्छन्, किसानलाई सघाउँछन् ।
लामो र सोझो पुच्छर भएका भालेमा पोथी आकर्षित हुन्छन् । पोथीले एकपटकमा ३ देखि ५ वटा फुल पार्छे । यो अवधि करिब १५ दिनको हुन्छ । फुल सेता र खैरा रङका हुन्छन् । भाले–पोथी दुवैले फूल र चल्लाको हेरचाह गर्छन् । चल्ला हुर्केर उड्न थालेको दुई सातापछि गुँड छाड्छन् । भाले–पोथी मिलेर गुँड हिलो माटो र घाँस ल्याएर बनाउँछन् । भित्तामा टाँसिएको कचौरा आकारको गुँड बलियो हुन्छ । हावाहुन्डरी नलाग्ने मान्छेको कदभन्दा केही अग्ला ठाउँमा बनाएका हुन्छन् ।


बनाउन थालेका गुँड कुनै कारणले खसेर क्षति भए यिनीहरू निराश हुँदैनन् । फेरि बनाउन जुटिहाल्छन् । हावाहुरी आइहाले पनि अरू चराको जस्तो गुँड नखस्ने हुन्छ । गौंथलीका जोडी एकपटक बनाएका गुँड पटक–पटक प्रयोग गर्छन् । प्रजनन्को याममा घुमेर फिरेपछि आवश्यकताअनुसार गुँड मर्मत पनि गर्छन् । बिरालो, लाटोकोसेरो र मुसाबाट यो चरालाई जोखिम रहन्छ । यिनीहरूको उमेर औसत ३ वर्ष हुन्छ ।

घर, भवन र मठमन्दिरलगायत पुराना मौलिक शैलीमै रहनुपर्छ भन्ने अभियान चलाइरहेका भक्तपुरका रवीन्द्र पुरीले जर्मनीबाट पढेर फर्किएपछि भक्तपुरमा एउटा पुरानो घर जिम्मा लिए । पुनर्निमाणपछि नाम दिए— नमुना घर ।भक्तपुरमा पुगेर पुरातल शैलीका घर हेर्नुपर्दा आगन्तुक नमुना घर पुग्न छुटाउँदैनन् । पुरानो ढाँचालाई शैली नबिग्रिने गरी उक्त घर उभ्याइएको हो । यसका लागि काठमाडौं उपत्यकाका पुराना कालीगढ नै खटिएका थिए । ‘पुनर्निर्माण गर्दा थाहा भएको एउटा कुरा मेरा लागि नौलो भयो,’ पुरी भन्छन्, ‘उपत्यकाका पुराना कालीगढले एउटा खापो राखेर चरालाई बस्न मिल्ने ठाउँ राखिदिने रहेछन् । तिनमा भँगेरा बस्दा रहेछन् ।’ घर, भवन बनाउँदा चराका लागि पनि बास निश्चित गरिदिए बनाइदिए परलोकमा आफूले सजिलो बास पाउने विश्वास रहेको उनले बताए । ‘मान्छेले घर बनाउँदा आफ्नो सजिलो बासका लागि मात्रै सोच्छ,’ उनी भन्छन्, ‘त्यसरी चराले पनि बस्न पाउनुपर्छ भनेर बनाउँदै सोचिनु अनौठो पनि लाग्यो ।’ आधुनिक शैलीका घर बनाउनेहरू कसैले पनि चरा बसोस् भन्ने चाहना राख्ने पाउनु दुर्लभ भएको उनले बताए ।


थुप्रै मठ मन्दिर रहेको काठमाडौं उपत्यकामा परेवा र लाटोकोसेरोले बास पाउन गाह्रो छैन । तर, साना चराका लागि भने बास र आहारा दुवै दुर्लभ हुँदै आएका छन् । भैंसेपाटीबाट लाजिम्पाटस्थित अफिस आइपुग्ने बाटोमा अधिकांश दिन नेपाल पन्छी संरक्षण संघकी कार्यकारी अधिकृत इशाना थापाको ध्यान कुपण्डोलले खिच्छ । जहाँको एउटा पुरानो घरमा उनी अध्ययन क्रममा बेलाबेला पुगेकी थिइन् । थापा सन् २००१ मा एमएस्सी सिध्याउने बेला थेसिसको विषय थियो— गौंथली घर । गौंथलीको बग्रेल्ती बास एउटै घरमा देखेर छक्क परेका ताइवानी पर्यटकको एउटा समुहले त्यहाँ आएर लेखिदिएका थिए— स्वालो हाउस । १८ वर्ष बित्यो । अब त्यहाँ न त्यो पुरानो घर छ, न त त्यस्तो ठूलो गौंथलीका बथानको बास । ‘त्यहाँ किराना पसल थियो, बेलुकी त्यो पसलको चालामाला अरूभन्दा अलि अनौठो थियो,’ उनी भन्छिन्, ‘उनीहरू पसल बन्द गर्नुअघि सामान ठूलो प्लास्टिकले छोपछाप पार्थे, गौंथलीको विष्टाले फोहोर नहोस् भनेर ।’ करिब ४०/४२ जोडी गौंथली तँछाडमछाड गर्दै बसेको सधैं देख्न पाइने त्यो घर अन्त देखेभन्दा अनौठो लागेको उनले बताइन् । ‘मलाई हेर्दाहेर्दै चाख लागेर थेसिसका लागि त्यही विषय छनोट गरेकी थिएँ,’ उनले सुनाइन्, ‘अहिले पुरानो घर भत्काएर त्यहाँ नयाँ पक्की घर छ । गौंथलीका हूलले सायद अर्को ठाउँमा बास सारे ।’


संघले बर्सेनि सहरी चरा गणना गर्न थालेको छ । उल्लेख्य संख्या र बासका आधारमा सहरमा गौंथली १० औ नम्बरमा पर्छ । सन् २०१७ मा काठमाडौंका २१ स्थानमा पुगेका गणकले ३४० र जाडोमा १७ ठाउँमा २९८ जोडीले गुँड लगाएका गौंथली भेटे । चालु वर्ष २०१९ मा २२ ठाउँमा ३४३ जोडीले गुँड लगाएको पाइएका छन् । मान्छेले पुरानो घर किन्दा बस्नयोग्य बनाउन सकिन्छ भने मर्मत गर्छ । खाली जमिन किने त्यसमा थातबास उभ्याउँछ र त्यसमा परिवार सार्छ । ‘गौंथली पनि अत्यावश्यक नभए, नयाँ ठाउँ नरोजेसम्म नयाँ गुँड बनाउँदैनन्, पुरानैमा बस्छन् । खाँचोअनुसार मर्मत गर्छन्,’ उनी भन्छिन्, ‘यो बानी अरू चरामा देख्न गाह्रो छ ।’ मान्छेसँग नजिक भएकैले गौंथलीका गतिविधि र विम्ब साहित्यमा बारम्बार प्रयोग भएका छन् । आजभन्दा ८४ वर्षअघि कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेका छन्—

म बस्ने कोठाकै दलिन–बीचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझmी त्यो चिरिबिरी ।
bhim@kmg.com.np प्रकाशित : आश्विन २५, २०७६ १०:१२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अन्नपूर्णको उकालो

प्रदेश ४
भीम घिमिरे

 चाडपर्वका बिदामा पदयात्रा जान चाहनेका लागि अन्नपूर्ण आधार शिविर (एबीसी) उपयुक्त छ  । छोटो अवधिका लागि नेपाल घुम्न आएका विदेशीले यो रुट छिचोल्न छुटाउँदैनन्  ।

दसैं–तिहारताका वर्षा नहुने र जाडो पनि उति नबढेका बेला भएकाले यो क्षेत्रमा पाँच वर्षयता नेपाली पदयात्री थपिरहेका छन् । चलेको र सजिलो रुट पोखरा पुगेर पोखरा–बागलुङ मार्गको बिरेठाँटीबाट यात्रा सुरु हुन्छ । थोरै हिँड्न चाहनेका लागि बिरेठाँटी र नयाँ पुलबाटै जिप पाइन्छ । पोखराको हरिचोकबाट पनि जिप यात्रा गर्न सकिन्छ । गाडीले मत्क्युसम्म पुर्‍याउँछ । त्यहाँबाट सुरु हुन्छ हिँडाइ ।
नयाँ पुलबाट करिब तीन घण्टा पैदलमा घान्द्रुक पुगिन्छ । हरेक घुम्तीमा बास र खानाका लागि होटल, रेस्टुराँ छन् । विदेशी पर्यटकको योजना पहिला नै तय भइसकेको हुन्छ । गाइड लिन्छन् । चार–पाँच घण्टामा पुगिने ठाउँका होटलमा पहिल्यै कोठा बुकिङ गर्छन् । तुलनात्मक रूपमा नेपाली पदयात्रीका योजना व्यवस्थित नहुँदा बाटामा बास पाउन समस्या पर्छ । आफू पुगेको ठाउँका होटलमा सोधेर ३–४ घण्टापछि पुगिने गन्तव्यका होटल र गेस्ट हाउसमा सम्पर्क गरी बास निश्चित गरे दुःख पाइँदैन ।
घान्द्रुकबाट बढीमा ६ घण्टाको हिँडाइपछि छोमरोङ पुगिन्छ । त्यहाँ बास बसेर भोलिपल्टको दोभान, तेस्रो दिन देउराली हुँदै माछापुच्छ्र्रे बेस क्याम्प पुगिन्छ । माछापुच्छ्र्रे बेस क्याम्पबाट बढीमा डेढ घण्टाको दूरीमा पर्छ एबीसी । टुर गाइड हीरा मल्लका अनुसार पदयात्रीले बास बस्न पहिल्यै सूचित गर्दा एबीसी आसपासकै होटल तथा गेस्ट हाउसमा एक रात बिताउन सक्छन् । ‘हिँड्नेले मौसमको ख्याल गर्नुपर्छ,’ उनी भन्छिन्, ‘कुनै कुनै बेला मौसम खुल्दैन । मौसम खुलेका बेला भने आकर्षक फोटो खिच्न सकिन्छ ।’
एबीसी ट्रेक यतिबेला रमणीय छ । बाटामा धान लहलह झुलेका छन् । खोला र झरनामा पानी सफा देख्न सकिन्छ । जाँदा र फर्कंदा गरेर एक साताको योजनामा एबीसी यात्रा गर्न सकिन्छ । एबीसी यात्राको प्रबन्ध टुर अपरेटरहरूले सजिलै गरिदिन्छन् । काठमाडौं वा पोखराका होटल र ट्राभल एजेन्सीहरूले पनि यात्राको जानकारी दिन्छन् । पोखरा पुगेर योजना बनाउनु उपयुक्त हुने भए पनि इन्टरनेटको सहज पहुँच उपयोग गर्दै यात्रामा जान चाहनेले रुटका नक्सा हेर्न, पदमार्गका होटल, रेस्टुराँमा सम्पर्क गरेर जानु सजिलो हुन्छ ।
एबीसी ट्रेकमा जानेहरूले मन पराउने म्याग्दीका टाडापानी र पुनहिलको रुट छोमरोङबाट छुट्टिन्छ । जाँदाजाँदै उता पनि पुगेर आउने समय भए उपयोग गर्न सकिन्छ । बर्सेनि असोज दोस्रो साताबाट एबीसीमा विदेशी पदयात्री आउने क्रम सुरु हुँदा पहिल्यै योजना बनाएर गएकाहरूले पर्यटकको चापका बीच पनि खाना र बासको राम्रो आतिथ्य पाउन सक्छन् । यात्रा थालेर जता जे पाइन्छ, उतै खाने–बस्ने योजना बनाएकाहरूभन्दा पूर्वनिर्धारित योजनाअनुसार हिँडेकाहरूको यात्रा सुखद हुन्छ ।

अरु ५ गन्तव्य
बन्दीपुर
‘पहाडकी रानी’ को नामले चर्चित तनहुँको बन्दीपुरमा पुराना शैलीका घर, माछापुच्छ्र्रे र अन्नपूर्ण हिमशृंखला, मर्स्याङ्दी नदीको दृश्यावलोकन, हाइकिङ र साइक्लिङका लागि प्रख्यात छ ।
थोराङ्ला पास
समुद्री सतहबाट ५,४१६ मिटर उचाइको
थोराङ्ला पासको यात्रामा लमजुङको बेंसीसहरबाट मनाङ, थोराङ हुँदै मुस्ताङको मुक्तिनाथसम्म पुग्न सकिन्छ ।
तिलिचो ताल
मनाङमा ४,९१९ मिटरको उचाइमा अवस्थित यो हिमताल प्रकृतिप्रेमीका लागि मनोरम स्थल हो ।
घले गाउँ
लमजुङ जिल्लामा रहेको यो गाउँ गुरूङ संस्कृतिमा आधारित होमस्टे र अन्नपूर्ण चक्रीय पदमार्गका लागि प्रख्यात छ ।
पोखरा
गण्डकीको यो राजधानीका फेवा, बेगनास, रूपालगायतका तीन ठूलासँगै नौ ताल, महेन्द्र, चमेरे, गुप्तेश्वर गुफा, डेभिज फल्स, विश्व शान्ति स्तूप र सराङकोटमा पर्यटकको भीड हुने गर्छ ।

bhimphoto@gmail.com

प्रकाशित : आश्विन १०, २०७६ १२:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×