झिँगातन्त्र

हरिवंश आचार्य

श्रीमती माइत गएकी थिइन् । मचाहिँ ससुराली गएको थिइनँ । कोठामा एक्लै थिएँ, निद्रा लाग्दैन कि भनेर मनमा कुरा खेलाउँदै बत्ती निभाएको मात्र के थिएँ, केको एक्लै हुनु ? झ्यालको जाली, खापा खुलेको रहेछ । कोठाभरि लामखुट्टेको आमसभा भइरहेको रहेछ । कानमा आएर गीत गाउँदै नाचगान गर्न थाले । गालामा फ्याट्ट हान्छु, मर्‍यो कि भनेर हातले माड्छु लामखुट्टेको लास भेटिँदैन । फेरि कुइइ...य गर्छ ।

उठेर मस्क्वुइटो किट खोज्छु कतै पाउँदिनँ । श्रीमतीले माइतीतिर त पक्कै लगिनन् होला भन्ठान्छु । पहिलेपहिले मस्क्वुइटो किटलाई बिजुलीमा जोड्नासाथ लामुखट्टेहरू पुटुपुटु कोठामा ओछ्याएको टाटमा खस्थे । खसेको लामखुट्टेलाई खुट्टाले टेकेर पिटिकपिटिक गरी खेल्थ्यौं । आजकाल त मस्क्वुइटो किटको गन्धले लामखुट्टे मूर्च्छा परेर खस्न छोडिसके, अलिअलि लठ्ठ मात्र पर्छन् । घुस्यालाई लाज पचेको जस्तो लामखुट्टेलाई मस्क्वुइटो क्वाइलको गन्ध पच्न थालेको छ ।


दस बजे राति श्रीमतीलाई मोबाइल भन्ने फोनबाट फोन गरेको त, अर्कैको श्रीमतीले तपाईंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ भनी । अफ गरेपछि गफ गर्ने त कुरै भएन । घुरघुर दिउसो परेवा घुरेको जस्तो गरी निद्रामा घुरिसक्नुभएको ससुरा बाको फोनमा फोन गरेर छोरीले लामखुट्टे लठ्याउने मस्क्वुइटो किट कहाँ राखेकी छन् ? एकपल्ट सोधी दिबक्स्योस् न भनेर सोध्ने आँटै आएन । केही गरी सोधेको भए, मुखले गाली गर्न नसके पनि मनले त कति थप्पड लाउँथे होलान् । बत्ती बालेर खाटमा बसेको त... सिलिङभरि लामखुट्टेहरू सलबलाइरहेका । पलङमा उठेर थपडी बजाउन थाले, दसवटा जति लामखुट्टेलाई त मारें हुँला, तीनवटालाई नमारीकन समातेर पखेटा खुट्टा चुँडालिदिएँ । गन्जी फुकालेर हेलिकप्टरको पखेटा घुमाएको जस्तो गरी घुमाएर धेरैलाई झ्यालबाट पनि निकालें । अब त सकियो होला भनेर बत्ती निभाएको के थिएँ, कानमा फेरि कुइइ...य गर्न थालिहाले ।


सिरकले मुख छोपेर सुतेको त आगलागी भएको सपना देखेछु, कस्तो गर्मी भयो । बत्ती बालेर पलङमा पलेटी कसेर बसेर सोच्न थालें, भगवान्ले यो लामखुट्टेको सृष्टि किन गर्नुभएको होला ? यसको यो पृथ्वीमा मान्छे टोक्नेबाहेक अरू के काम छ ? यसले मानिसबाहेक अरूलाई टोक्न पनि सक्दैन । कुकुर, बिरालो, भेडा, बाख्रा, गाईलाई टोक्न पर्‍यो भने रौं पन्छाएर टोक्नुपर्छ, त्यसको लुरे हातले रौं पन्छाउन पनि सक्दैन, भैंसीको नाङ्गो जीउमा टोक्दा त्यसकै रगत तान्ने सुँड भाँचिन्छ उल्टो । मानिसलाई त जहाँ गए पनि टोकेको छ ।

बगैंचा, बारीतिर गयो भने कालोमा सेतो धर्के गन्जी लगाएको आउटडोर लामखुट्टेले टोक्छ । बाटोतिर अडिएर कसैसँग कुरा गर्‍यो भने, कपडाले नछोपेको जुनसुकै ठाउँमा पनि टोकिदिन्छ । अझ तराईतिर साँझ यसो खुला चौरतिर हिँड्यो, बस्यो भने, टाउको भन्दा आठ–दस हातमाथि माउरीको गोलो जत्रो लामखुट्टेको गोलो घुमिरहेको हुन्छ । आफू जताजता गयो त्यो लामखुट्टेको गोलो पनि त्यतै आइसकेको हुन्छ । हामीहरू तराई भन्छौ नि मधेसलाई, वास्तवमा तराई होइन, त्राहीत्राही हो । यै लामखुट्टेकै त्राही हो । पहिले पहिले त यो औलोको त्राही थियो । औलो निर्मूल भयो भनेको फेरि औलो देखापर्‍यो भन्छन् । त्यो औलो भनेको त्यै लामखुट्टेको सन्तानले टोकेर सार्ने त हो नि । अहिले त तराईमा लामखुट्टेको मात्र त्राही होइन बाढीपहिरोको, आँधीबेरीको, छिमेकी देशको दादागिरीको त्राहीत्राही छ ।


पहिलेपहिले त झुल हालेर सुतिन्थ्यो, आफूभित्र लामखुट्टे जति थुक निलेर बाहिर बसेका हुन्थे । यो मस्क्वुइटो किट निस्केपछि झुल हाल्नेलाई पाखे भन्छन् भनेर सहरमा झुल हाल्ने चलन नै हराइसक्यो । मस्क्वुइटो किटको गन्ध तानेर आफ्नै फोक्सोमा पुर्‍याएर, फोक्सोभरि झुलको जस्तो प्वाल बनाउँछौं, छातीमा रोग लगाउँछौ तर झुलचाहिँ हाल्दैनौं सहरमा । मुखबाट हाई–हाई आइरहेकाले सुत्न पाएको थिइनँ । एकपल्ट हाई गरेको एउटा लामखुट्टे स्वात्त मुखभित्र छिरेको, ख्वाक्क ख्वाक्क गरें, अहँ भेटिँदै भेटिएन । पानी खाएर निलें, मेरो पेट त्यो लामखुट्टेको समाधिस्थल भयो । हे भगवान् अब के गर्ने होला ? यसो हेरेको श्रीमतीको ड्रेसिङ टेबलमा मेरो नाकभित्र उम्रेका रौं काट्ने कैंची रहेछ । त्यै कैंची लिएर सिरकबाट खोल र सिरक छुट्याउँदै, खोलभित्र पसेर जुँगा काट्ने कैंचीले नाक छिराउन एउटा पेडा जत्रो प्वाल बनाएँ । त्यो प्वालबाट सास फेर्न नाकबाहिर निकालेर सुतें । गर्मीले हपहपी भएको थियो, कुन बेला निदाएछु, होसै भएन ।


लामखुट्टे नै लामखुट्टे सोचेर सुतेको हुनाले होला, राति सपनामा पनि लामखुट्टे नै लामखुट्टे देखेछु ।


सपनामा दिउसै जाँड खाएर हिँडेकाले म ढलभित्र खसेछु । ढलभित्र लामखुट्टेको महानगर रहेछ । त्यो महानगरमा करोडौं लामखुट्टे बस्दा रहेछन् । जता हेर्‍यो उतै अँध्यारो तर लामखुट्टेहरूको सहरमा कहिल्यै लोडसेडिङ हुँदोरहेनछ । बत्ती बल्ने भए पो लोडसेडिङ हुनु, बत्ती नै नभएपछि केको लोडसेडिङ ?


लामखुट्टेको सहरमा यातायातको साधन पनि नहुने रहेछ । सबै लामखुट्टेका पखेटा भएको हुनाले उनीहरू सहरको एउटा कुनाबाट अर्को कुनामा पुग्न हेलिकप्टर उडेजस्तो उडेर जाने रहेछन् । मैले सुनेको हेलिकप्टर बनाउँदा लामखुट्टेलाई नै हेरेर डिजाइन गरिएको हो रे । लुगाफाटो, जुत्ता मोजा, खाद्यान्न, मेकअप, बिउटीपार्लर, सिनेमाहल, डिपार्टमेन्ट स्टोर, लामखुट्टेहरूलाई नचाहिने भएकाले त्यस्तो संरचना नहुँदो रहेछ । नेपाल बन्द गर्न मन पर्ने नेताहरूलाई लामखुट्टेको सहर खुबै मन पर्छ होला ।


उनीहरूको खाद्यान्न भनेकै मानिसको रगत हो, मानिसले लसुन, अदुवा, जिरा, मरीच, गरम मसला, प्याज, छ्यापी, जिम्बु, ज्वानो मेथी, जलजिरा र माछामासु खाने भएकाले मानिसको रगत मन परेर अरू खाद्यान्नको खोजी नै गर्न छोडेछन् । अझ मुखबाट कोदो रस, छ्याङ रस, डिस्टिलरी रसको गन्ध आयो भने त लामखुट्टेहरूले त्यस्तो मान्छेको रगत चुस्न हारालुछ गर्छन् अरे । लामखुट्टेहरूलाई कसैले तिमीहरूको मन पर्ने खाना के हो ? भनेर सोधे जँड्याहाको रगत भन्छन् अरे । जँड्याहालाई टोक्दा आफूलाई पनि मात चढ्ने भएकाले जँड््याहा पाएसम्म अरूको रगत चुस्दैनन् ।

लामखुट्टेहरूको कसैको पनि हाम्रोजस्तो नाम नहुँदोरहेछ । सय दुई सय छोरा, नाति, नातिनी हुने भएको भए पो नाम सम्झेर कण्ठ पारेर सकिन्छ । फूल फुटेर हजारौं निस्कने भएकाले नाम राखेर, नाम सम्झेर साध्यै हुँदोरहेनछ । त्यसैले सबैको साझा नाम लामखुट्टे । उनीहरूमा न नाम, न जात, न गोत्र, सबै एउटै जात एउटै गोत्र भएको । साझा नाम, साझा धर्म, साझा राष्ट्रियता, साझा अन्तर्राष्ट्रियता भएर बलिया भएर बसेका छन् । मानव सभ्यता सुरु भएदेखि लामखुट्टेलाई निर्मूल गर्न खोजे पनि आजसम्म सकेको छैन ।


हामी राति सुत्छौं दिउसो उठ्छौं, उनीहरूको ठीक उल्टो हुँदोरहेछ । लामखुट्टेहरू दिउसो सुत्दा रहेछन्, रात परेपछि पेट भर्न उडान भर्दा रहेछन् । एकपल्ट उडान भरेर फर्कंदा फुल ट्यांकी रगत भरेर आउँदा रहेछन् । मान्छेलाई जस्तो छिनछिनमा खाइरहन नपर्ने भएकाले एकपल्ट फुल ट्यांकी गरेपछि सात दिनलाई पुर्‍याउँदा रहेछन् । कुनैकुनै लामखुट्टेचाहिं भोक लागेर ट्यांकी भर्न दिउसो पनि उडान भर्दा रहेछन् ।


सपनामा त लामखुट्टेको भाषा पनि बुझें मैले । मेरो सपनामा लामखुट्टेहरूले नेपाली भाषामा नै कुरा गरिरहेका थिए । एउटा बूढो लामखुट्टेले आफ्ना हजारौं नाति नातिनालाई सम्झाउँदै रहेछ— हेर बाबुनानी हो ! पढ्नुपर्छ है, पढ्नुपर्छ । मानिसहरू पढे काजी नपढे पाजी भन्छन् । पाजी भनेको गधाको बच्चा हो, त्यो सोझो भलाद्मी गधाको बच्चासँग त्यो बदमास मान्छेलाई किन दाँज्ने ? त्यसैले हामीले चाहिँ पढे लामखुट्टे नपढे दुईखुट्टे भन्नुपर्छ । दुईखुट्टे भनेको बदमास, स्वाँठ, ठग मानिस हुन् ।


हाम्रो सबैभन्दा ठूलो दुश्मन भनेकै दुईखुट्टे मानिस हुन् । हामी लामखुट्टेलाई मार्न हाम्रो अस्तित्व समाप्त पार्न अनेक नाम गरेका रासायनिक पदार्थ बनाएर तिनीहरूको टेलिभिजन, रेडियो, पत्रिकामा हामी लामखुट्टेहरूलाई मारौं भनेर प्रचार गर्छन् । त्यसैले हामी लामखुट्टेहरूले पढेर लेखेर हामीले टोक्दा नयाँनयाँ रोगहरू लाग्ने अनुसन्धान गर्नुपर्छ । हामी डराउन हुँदैन । एउटा मरेर जान्छ हामी हजार हुन्छौं, एउटा पिटाइ खान्छ हामी हजार जुट्छौं भनेर त्यै दुईखुट्टेहरूले गाउने गीतजस्तै हामी हुनुपर्छ ।

यो पृथ्वीमा भएका मानिसको जनसंख्याभन्दा धेरै यो एउटा सानो लामखुट्टेको सहरमा हामी छौं । तिनीहरूभन्दा करोडौं अर्बौंको हाम्रो संख्या बढी छ ।


हजुरबुबा लामखुट्टेको कुरा सुनेर नातिनातिना लामखुट्टेहरूले भन्छन्— हजुरबुबा ! हजुरले धन्दा नमान्नुहोस् हामी पढेर तपाईंको सपना साकार पार्नेछौं । एउटी दुई दिनको तरुनी लामखुट्टीले भन्छे— हजुरबा हामी पढ्दै छौं । म तराईको हाम्रो मेडिकल युनिभर्सिटीमा गएर पढ्दै छु, छुट्टीमा काठमाडौंमा सामान ल्याउने ट्रकमा लुकेर आएको । अहिले काठमाडौंबाट खाली ट्रक फर्कन्छन् नि ! त्यसमा सुटुक्क लुकेर भोलि तराईमा क्लास लिन पुग्छौं । त्यसपछि अरूले थपे— हामी मलेरिया पढ्छौं । फेरि अर्को समूहले भने— हामी मेनेनजाइटिस पढ्छौं । एउटा पाँच दिनको युवा लामखुट्टेले भन्यो— मचाहिँ भारतमा डेंगु पढ्दै छु । आजको जमानामा मलेरिया, कालाजार, मेनिनजाइटिसभन्दा डेंगुको धेरै स्कोप छ । आजै बिहान दिल्लीबाट काठमाडौं आउने फ्लाइटमा लुकेर आइपुगें ।

अहिले बेलुकीको फ्लाइटमा खुसुक्क प्लेनभित्र छिरेर, मानिसको सिटमुनि बसेर दिल्ली पुग्छु । २–३ दिनपछि पढाइ सक्काएर नेपाल आउँछु र यहाँ अरू युवा लामखुट्टेहरूलाई यी रोगहरूको विषयमा पढाउँछु, मानिसलाई टोकाएर प्राक्टिकल पनि गर्न लगाउँछु । अर्को लामखुट्टेले भन्यो— हो हो हामी लामखुट्टेहरूको आयु एकदमै छोटो छ । भारत, बंगलादेशमा मेडिकल साइन्स पढ्न गएर यहाँ मान्छे बिरामी पार्न भ्याउँदैनौं । यतै नेपालको तराईतिर पनि लामखुट्टेलाई मेडिसिन पढ्न एकदम लायकको मौसम छ । मानिसहरूले बनाएको फोहोर तलाउ, नदीनाला छ । त्यसैले नेपालकै शिक्षा लिन जोड दिनुपर्छ ।


आजकाल ग्लोबल वार्मिङ ग्लोबल वार्मिङ भनेर दुइखुट्टे मानिसहरू चिच्याउँदै छन् । यो ग्लोबल वार्मिङले गर्दा हामी लामखुट्टेहरू नेपालको पहाडी, मध्यपहाडी क्षेत्रहरूमा पनि घातक रोगहरू बोकी उडान भर्न सफल भएका छौं । जहाँ यातायातको सुविधा पुग्छ हामी यातायातमा लुकेर त्यहाँ पुग्न सक्छौं । अब यही रफ्तारमा ग्लोबल वार्मिङ बढ्दै गयो भने, हाम्रो उपस्थिति हिमाली क्षेत्रमा पनि भएर डेंगु, मलेरियाले सगरमाथा आरोहीलाई पनि डस्नेछौं । यो कुरो सुनेर हजारौं लामखुट्टेले अगाडिको दुइटा खुट्टाले ताली बजाए ।म त सपनीमा लामखुट्टेको महानगरपालिकाबाट निस्केर फोहोर फाल्ने डम्पिङ साइटमा पनि पुगेछु । डम्पिङ साइटमा झिँगाहरूको राष्ट्रिय भेला भइरहेको रहेछ ।


लामखुट्टेका विद्यार्थीहरूलाई डेंगु पदक, मेनेनजाइटिस पदक, कालाजार पदकबाट सम्मानित गरेको समाचार झिँगाहरूले सुनेछन् र झिँगाहरूमा खलबली उत्पन्न भएछ । झिँगाहरूको राष्ट्रिय भेलामा देशैभरिबाट झिँगाहरूको प्रतिनिधित्व भएको रहेछ । ठूलो शरीर भएको नीलो झिँगालाई कार्यक्रमको सभापति, नीलो झिँगा जत्रै शरीरको वजन भएको खैरोमा सेतो मिसिएको र आँखाको वरिपरि रातो भएको झिँगालाई मुख्य अतिथि, कुकुर झिँगा र अरू विझिन्न झिँगाहरूलाई समानुपातिक झिँगाको प्रतिनिधित्व गराइएको रहेछ । नीलो नेता झिँगा बडो हतोत्साहित भएजस्तो देखिन्थ्यो । छिनछिनमा अगाडिका दुईवटा खुट्टा लगेर टाउकोको पसिना पुछ्थ्यो । कहिले बोलौंजस्तो भएको थियो होला । उद्घोषक झिँगाले उद्घोष गर्नुभन्दा पहिले नै एउटा नीलो नेता झिँगाले बोल्न सुरु गरिहाल्यो ।


देशका विभिन्न क्षेत्रबाट आउनुभएका आदरणीय झिँगाज्यूहरू, हामीभन्दा धेरै सानो, हामीभन्दा धेरै कमजोर, जाडो महिनाभरि लुकेर बस्ने, गर्मी लागेपछि मात्र बाहिर निस्कने लामखुट्टेहरूले धेरैथरी रोगको विषयमा पढेर हाम्रा शत्रु मानिसहरूलाई चुनौती दिइरहेका छन् । हाम्रा युवा झिँगाहरू भने खाली दिनभरि झिँगीहरूको पछि लागेर हिँडिरहेको देख्छु । लामखुट्टेहरूको अगाडि अलिकति सरम लाग्नुपर्ने हो । हामी झिँगाहरूको जीवन भनेको जम्मा सत्र दिनको मात्र हुन्छ । सत्र दिनमा खालि झिँगीहरूको पछि भन्केर मात्रै हिँड्ने ? यसरी बाँच्नुभन्दा त मानिसले खान लागेको तातो चियाको ग्लासमा डुबेर आत्महत्या गर्नु ।


नीलो झिँगाको कुरा सुनेर एउटा युवा झिँगा बमकिन्छ— के तपाईंले हामी खालि झिँगीहरूको पछि भन्केर हिँडेको मात्र देख्नुभाछ ? म तपाईंको देखाइलाई खेद व्यक्त गर्दछु । तपाईं बाह्र–तेह्र दिनको बूढो हुनुभयो, त्यसैले तपाईंहरू हाम्रो अवमूल्यन गर्नुहुन्छ । हामीले आफ्नो सत्रदिने जीवनको एक सेकेन्ड पनि खेर नफाली पूर्ण सदुपयोग गर्दै छौं । सार्वजनिक शौचालयहरूमा, मानिसले भोजभतेर गर्ने केही पार्टी प्यालेसहरूमा, हैजा, पखाला, आउँ, रगतमासीसम्बन्धी पढाइ पढ्न गइरहेका छौं । हामीले पढ्न जाने केही पार्टी प्यालेसहरूमा सडेगलेका मासुका किताबहरू यत्रतत्र छरिएर बसेका हुन्छन् ।

मानिसले खाएर छोडेका पुलाउहरूको डुंगुर किताबमा हामी पढ्छौं अनि प्राक्टिकल पनि गर्छौं । मैले आफू जन्मेको सातौं दिनको दिन सरुवा रोगमा पीएचडी गरेको छु । यो पीएचडी कोर्स गर्न मैले काठमाडौंका सार्वजनिक शौचालयहरूमा पढ्न गएको थिएँ । ती सार्वजनिक शौचालयहरूमा त्यै दुईखुट्टे मान्छेहरूकै मलमूत्रमा टेकी, तिनीहरूले नै खाने कुराहरूमा त्यही खुट्टाले टेकी, तिनीहरूलाई हैजा, टाइफाइड, आउँ, रगतमासीजस्ता रोग सारेर धेरैको ज्यान लिएको छु । हामी झिँगाजस्तो जाँगरिला फूल फुटेर निस्कनासाथ आफ्नो कार्य सुरु गरिहाल्ने, एक छिन चुपो लागेर नबस्ने प्राणी सायद यो पृथ्वीमा अर्को नहोला ।


अर्को युवा वक्ता झिँगाले बोल्न सुरु गर्‍यो । ती दुईखुट्टे मानिसहरूले हाम्रो महत्त्वलाई बुझेनन् । हामी झिँगाहरू भएर त ती दुईखुट्टेहरूले गरेको फोहोर कुहिन्छ, सड्छ, गल्छ । सडाउने गलाउने काम हामी झिँगाहरू भएनौं भने कसले गरिदिन्छ ? तर हाम्रो महत्त्वलाई नबुझेर हामीलाई खाली मार्न मात्र खोज्ने ? हामीलाई मारेर मात्र निमिट्यान्न गर्छु भन्ने दुईखुट्टेहरूप्रति धिक्कार छ । जाबो सत्र दिनको जिन्दगी पनि हामीले बाँच्न नपाउने ? यिनीहरूले आफ्नो शौचालय भोजभतेर गर्ने ठाउँहरू, टोल सडक, खोला नाला, सफा गरे, हामीले पढ्ने फोहोरमैलाको किताब थुपारी नदिए त हामी त्यहाँ पढ्न जाँदै जाँदैनौं नि ।


महिला झिँगाको तर्फबाट नीलो पोथी झिँगीले बोली— अब यो दुईखुट्टे मानिसहरूसँग हाम्रो सम्झौता हुँदै हुँदैन । यिनीहरूले सहरका कुनाकुनामा गल्लीगल्लीमा, जताततै फोहोर फालेपछि हाम्रा छोराछोरी पढ्न झिँगा, झिँगीहरू नजिकैको स्कुलमा हैजा, पखाला, आउँरगत पढ्न नगएर अन्त कहाँ पढ्न जाने त ? तिनीहरूको जनसंख्यभन्दा हाम्रो झिँगाको संख्या कति छ कति ? सक्छौ भने झिँगा गणना गरी हेर । नेपालले त के अमेरिकाले पनि सक्दैन झिँगा गणना गर्न । अब दुईखुट्टे मानिससँग वारपारको लडाइँ लड्नु छ, हाम्रो अस्तित्व बचाउन । म महिला झिँगा मैले सरदर एकपल्टमा हजारौंहजार अण्डा पार्छु । अब हजारौं हैन लाखौं अण्डा पार्न तयार छु । एकपल्टमा चाहे अण्डा पार्दापार्दै मेरो प्राणै किन नजाओस् ।


मुख्य अतिथि नीलो झिँगा, विशेष अतिथि आँखा वरिपरि रातो भएको खैरोमा सेतो मिसिएको ठूलठूला झिँगाहरूले मन्तव्य दिँदै भने— उडुस उपियाँ, सुलसुले, लामखुट्टेसँग हामीलाई न दाँजुन्, दुइखुट्टेहरूले । उनीहरूको समाजमा केही योगदान छैन तर हामी झिँगाहरूले कुनै पनि वस्तुलाई सडाउन गलाउन ठूलो योगदान गर्छौं । ती दुईखुट्टेहरूले घिच्नका लागि धान, मकै, कोदो, सागपात उब्जाउँदा माटो नबिग्रर्ने कमपोस्ट मल छर्छन्, त्यो कम्पोस्ट मल बनाउन हामी झिँगाहरूले कुहाएर कति ठूलो योगदान दिन्छौं । उल्टो हामीलाई मार्न ठाउँठाउँमा गम भएको प्लास्टिक झुन्ड्याइरहेका हुन्छन् । हामी त्यो गम भएको झुन्ड्याएको प्लास्टिकमा टाँस्सिएर मर्दछौं ।


झिँगा मार्ने औषधि भनेर ठाउँठाउँमा बेचिरहेका हुन्छन् । हामी झिँगालाई मार्न प्लास्टिकको पन्यौंजस्तो औजार बनाएका छन्, त्यसले हामीलाई फ्ययाट्ट फ्याट्ट हिर्काएर मार्छन् । अब हामी दुईखुट्टेहरूसँग युद्धको घोषणा गरौं । त्यसका लागी हामीले लामखुट्टे, उडुस, उपियाँ सुलसुलेहरूसँग पनि एकता गरौं । माथि हवाईबाट लामखुट्टे सेनाले, स्थलबाट उपियाँ उडुस, सुलसुले सेनाले अट्याक गरौं । हामी झिँगाहरूले चाहिँ तिनीहरूले खाने खाद्यमा हैजा आउँरगत, टाइफाइड जन्डिसका कीटाणुहरू ओसारेर हालिदिऊँ । हामी एकजुट हुन सक्यौं भने यो पृथ्वीबाट दुईखुट्टे मानिसहरूको शासन खत्तम पारिदिन सक्छौं र हामी झिँगाहरूको संसार स्थापित गर्न सक्छौं । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र होइन यो पृथ्वीमा अब झिँगातन्त्र स्थापना गर्नुपर्छ । डम्पिङ साइटमा भएको राष्ट्रिय भेलामा सबै झिँगाहरूले एकता जनाउँछन् र भोलिदेखि नै लामखुट्टे, उडुस, उपियाँ, सुलसुले हरूसँग वार्ता गर्न वार्ता टोली पनि गठन गर्छन् ।


आधा रातमा म सपनाबाट झसंग बिउँझें । सपना बिर्सौंला भनेर सबै सपना एउटा कापीमा लेखेर भोलिपल्ट ससुराली गएर श्रीमतीलाई सुनाएँ । श्रीमतीले घरमा भएजति सबैलाई ज्वाइँले देखेको सपना भनेर सुनाइन् । सबैबाट के सुझाव आयो भने यो सपनालाई त पत्रिकामा छपाउनुपर्छ । मैले पनि कागजमा सपना लेखेर सपना लेखेको कागज लगेर नेपालका ठूलाठूला पत्रिकालाई दिएँ । शीर्षक पढेर हेरौंला मात्र भने । सपना लगेर हाम्रो वडाको वडापतिलाई दिएँ, वडापतिले मेरो सपना पढेर खुब हाँसे । उनले पनि भने हेरौंला । त्यसपछि महानगरपतिलाई, महानगर उपपतिलाई दिएँ, सबैले हेरौंला भने । त्यसपछि मन्त्रीपतिलाई पठाएँ, राष्ट्रपतिलाई पठाएँ, त्यहाँबाट त हेरौंला भन्नेसम्म पनि उत्तर आएन । सायद पत्रै पुगेन होला ।


मैले टीभीमा चिन्या मान्छे थियो त्यसलाई भनेर अन्तर्वार्ता दिँदै भनें— मैले देखेको सपना ठ्याक्कै मिल्छ । एकपटक मैले सपनामा मलाई एकदम भोक लागेको देखें, बिउँझिँदा त कस्तो भोक लागिरहेको रहेछ । एकपल्ट मलाई सपनामा कस्तो ट्वाइलेट जान मन लागेको थियो अलिकति ढिलो बिउँझेको भए त बर्बाद हुने रहेछ । त्यसैले झिँगाहरूलाई व्यवस्थित गर्नुपर्छ मारेर सकिँदा पनि सकिँदैन र सक्न पनि हुँदैन । पृथ्वीको सन्तुलन नै बिग्रने रहेछ ।

अन्तर्वार्तामा मेरो कुरा सुनेर उल्टो मलाई सबैले झिँगाको वकिल भन्न थाले । मैले अब झिँगा मारेर सकाउन सकिन्न व्यवस्थित गर्नुपर्छ भनेर अनशन बसें । म अनशन बसेको ठाउँमा कोही सहानुभूति प्रकट गर्न आएनन् । सिंहदरबारअगाडि भद्रकालीको चोसोमा सालिकमुनि भोक हडताल बस्दा जँड्यहाले कुट्ला, निदाएको बेलामा कुकुरले आएर कानमा तुर्काउला भन्ने डर थियो । दिनप्रतिदिन गल्दै पनि गएँ । एउटा खैरे पत्रकारले देखेछ । त्यसपछि सबै पत्रकार आएर ठूलो समाचार बनाए ।


सरकारले झिँगासँग वार्ता गर्ने भनेर महानगरपतिको संयोजकत्वमा वार्ता कमिटी गठन गर्नैपर्‍यो र मलाई एक प्लेट मःमः खुवाएर अनशन तोडाइयो । वार्ता टोलीमा काठमाडौंका वडाका वडापतिहरूलाई सदस्य बनाइयो । पत्रपत्रिकाबाट पनि झिँगालाई वार्तामा आउन आह्वान गरियो । धेरै महिना बित्यो तर झिँगासँग वार्ता भएन ।

पत्रकारले महानगरपतिलाई जहाँ भेटे पनि त्यही प्रश्न दोहोर्‍याउन थाले झिँगासँग वार्ता के भयो ? महानगरपतिले भन्नुहुन्छ, खै झिँगालाई वार्तामा बोलाएको हो खाने कुरामा आउँछ, कोठामा आउँछ, नाकमा बस्न आउँछ, अनुहारमा बस्न आउँछ तर झिँगा वार्तामै आउँदैन । अब के गर्ने त ? अब हामीले झिँगाको भाषा बुझ्ने दोभाषे खोजिरहेका छौं, पाएका छैनौं । दोभाषे पाउनासाथ वार्तामा बोलाउँछौं फेरि । मैले भनें— झिँगाको भाषा म बुझ्छु, झिँगाहरू सुरक्षाको दृष्टिले वार्तामा नआएका हुन् । उनीहरू के भन्छन् भने टोल, गाउँ, सहर, बाटो, नदीनाला सबै सफा राख्नुहोस् । त्यसो गर्‍यो भने झिँगा नियोजन पनि हुन्छ र हामी व्यवस्थित हुनेछौं भन्छन् झिँगाहरू ।महानगरपतिले भन्नुभयो गर्दै छौं भन्न पो सजिलो छ गर्न कति गाह्रो छ।

प्रकाशित : आश्विन ११, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्

यसरी जन्म्यो हरिबहादुर

रातमा उज्यालो र दिनमा अँध्यारो हुँदैन । हरिबहादुर रात हो तर उसको चरित्रमा उज्यालो पनि मिसिएको छ । हाँसो र रिस एकै ठाउँमा अटाउँदैन तर हरिबहादुरको चरित्रमा हाँसो र रिस दुवै अटाउँछ ।
हरिवंश आचार्य

किताबलाई खान दिनु पर्दैन । लाउन दिनु पनि पर्दैन । घरमा एउटा सानो ठाउँमा बस्न दिए पुग्छ । किताब कहिल्यै रिसाउँदा पनि रिसाउँदैन । घुर्की पनि लगाउँदैन । किताबले कहिल्यै झगडा गर्दैन । मुख पनि फर्काउँदैन । किताबलाई चाहेको बेला पल्टाएर पढ्न सकिन्छ र बन्द गरेर राख्न सकिन्छ ।

किताबलाई पलङकै टाउकोमा राखेर सुते पनि उसले केही दु:ख दिँदैन । पलङबाट खस्यो भने पनि चिच्याएर रुँदैन । किताबसँग घण्टौं कुरा गरेर बस्न सकिन्छ । त्यसैले किताबलाई बेस्ट फ्रेन्ड भन्छु म । 

मेरो घरको किताब राख्ने र्‍याकमा मेरा पनि थुप्रै बेस्ट फ्रेन्ड छन् । म तिनीहरूसँग घन्टौं कुरा गरिरहन्छु । मेरो ‘चिना हराएको मान्छे’ पुस्तकले पनि धेरैको घरको बुक र्‍याकमा बस्ने मौका पाएको छ । हामीले वर्षौंअघि निर्माण गरेको ‘१५ गते’, ‘लालपुर्जा’, ‘वनपाले’, ‘चिरञ्जीवी’, ‘सुरबेसुर टेलिचलचित्रहरूको कुरा नेपालीहरूका जमघटमा सुन्न पाइरहन्छौं । प्रहसन चलचित्रहरूमा मात्र रमाइरहेका हामीलाई ‘चिना हराएको मान्छे’को प्रकाशनपछि देश–विदेश जहाँ गए पनि नेपालीहरूको मुखबाट किताबको कुरो सुन्न पाउँदा चलचित्र प्रहसनजत्तिकै यो पनि बलियो माध्यम रहेछ भन्ने थाहा भयो । 
न्युरोडको फुटपाथमा किताब फिँजाएर बेच्ने फुटपाथे साहु मलाई देख्दा कराउँदै भन्छन्, दाइ चिया खान आउनुस्, मैले तपाईंको किताब धेरै बेचेँ, अझ पनि बेच्दै छु । उनको खुसी देख्दा र सुन्दा, देश–विदेशका नेपालीहरूले अब तपाईंको अर्को किताब कहिले आउँछ भनी गरेको प्रश्न सुन्दासुन्दा मलाई ऊर्जा प्राप्त भएको हो । 
चिना हराएको मान्छे लेख्दा मैले विषय सोच्न परेन । जिन्दगीमा भोगेका घटना नै विषय थिए । अब नयाँ पुस्तक लेख्दा त विषय चाहियो ! विषय के ? उपन्यासका आधारमा धेरै चलचित्र बनेका छन् । तर, चलचित्रका आधारमा उपन्यास ? यस्तो मैले कहिल्यै देखेको छैन । उसो भए आफैं देखाइदिने कि त ? मेरो मन तरङ्गित भयो । 
‘मदनबहादुर हरिबहादुर’ टेलिचलचित्रका आधारमा उपन्यास लेखौं, यसो गरे कसो होला ? एउटा मनले भन्छ, हुँदैन । अर्को मनले भन्छ, हुन्छ । आफ्नै चलचित्रका आधारमा उपन्यास लेख्दा मलाई कारबाही त हुँदैन होला ! मदनबहादुर हरिबहादुरको लेखन म आफैंले गरेको हुनाले मैले कसैसँग स्वीकृति लिनु पनि पर्दैन । फेरि यो उपन्यास मदनबहादुर हरिबहादुर टेलिचलचित्रको हुबहु होइन । त्यस टेलिचलचित्रका १५ प्रतिशत जति दृश्य यससँग मिल्छन् । 
मदन दाइले मलाई अनुमति र सल्लाह नदिने त झनै कुरै भएन । चिना हराएको मान्छे लेख्न सधैं घचघचाइरहने रवीन्द्र समीरले अर्को किताब पनि लेख्नुपर्छ भनी दोहर्‍याइरहेपछि मैले फेरि कलम समात्ने निर्णय गरेको हुँ । 
रातमा उज्यालो र दिनमा अँध्यारो हुँदैन । हरिबहादुर रात हो तर उसको चरित्रमा उज्यालो पनि मिसिएको छ । हाँसो र रिस एकै ठाउँमा अटाउँदैन तर हरिबहादुरको चरित्रमा हाँसो र रिस दुवै अटाउँछ । उसलाई देखेर चिमटौं, कोपरौं, भुत्ल्याएर लडाइदिऊँजस्तो हुन्छ । 
तर, हाउभाउ बोलीचाली हेर्दा हाँसो उम्लिन्छ पनि । 
हरिबहादुर असफलता र मूर्खताको प्रतीक हो । ऊ आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहाँ पाइला टेके पनि दस बल्ड्याङ खान पुग्छ । नकच्चरो, थेच्चरो, काइते, बदमास, भडुवा, स्वाँठ, कुलङ्गार, आवारा यस्ता धेरै लक्षणले युक्त भएको मान्छे बन्यो हरिबहादुर । यति धेरै दिमाग घुमाएर हिँड्ने हरिबहादुरले त्यो दिमागलाई सही तरिकाले घुमाउन सकेको भए नेपाल मात्र होइन, संसारै हाँक्न सक्ने व्यक्ति हुन्थ्यो । हरिबहादुर टुकुचा खोलाजस्तै भयो । पानी हो तर नाली मिसिएको । 
तोतेबोली बोल्ने बालक हरिबहादुरलाई देखेर रातोमाटे गाउँका मान्छेहरू भन्थे, योजस्तो चलाख बच्चा हाम्रो गाउँमा कोही पनि छैन । अधबैंसे हरिबहादुरलाई देखेर भने, योजस्तो काइते मान्छे यो गाउँमा कोही छैन । 
काइते चरित्र भएका मान्छेहरूले अरूको सम्पत्तिमा आँखा लगाएर थुपै्र सम्पत्ति जोड्न सक्छन् । तर, हरिबहादुरले केही पनि जोड्न र जोगाउन सक्दैन । हरिबहादुर काइते नभएर बुद्धि घाइते भएको चरित्र हो । उसले सम्पत्ति त के आफ्नो शरीरसमेत राम्ररी जोगाएर राख्न सक्दैन । 
लेख्दालेख्दै नेगेटिभ र पोजेटिभ चरित्र भएको कथा तयार भयो । नेगेटिभ चरित्र बोकेको पात्रको नाम राख्न ज्यादै गाह्रो लाग्छ । सकेसम्म नकारात्मक पात्रको नाम अरूसँग नजुधोस्जस्तो लाग्छ । मैले आफ्नै नामको आधी नाम सापट लिएर पात्र/उपन्यासको नाम हरिबहादुर बनाएँ । सकारात्मक पात्रको नाम मदनबहादुर राखेँ । नेगेटिभ र पोजेटिभ भएपछि बत्ती बल्छ । सायद बल्यो कि ?
नेपाल, भारत, बर्मा संसारभरि गरी लाखौं हरिबहादुर होलान् । तर, संसारको कुनै पनि हरिबहादुरको चरित्रसँग यो हरिबहादुरको चरित्र मिल्दैन । यदि मिलेछ भने मेरै चरित्रसँग मिल्ला । कसैसँग मिल्यो भने संयोग मात्रै हो भन्ने चलन छ ।
कतिपय कलाकार अभिनय मात्र गर्छन् । तर, लेखनदेखि अरू थुप्रै काम हामी आफैंले गर्‍यौँ । जति पनि बोलियो, ती सब लेखेरै बोलिएका हुन् । लेख्दैमा लेखक हुन्छ त ? लेख्न त वकिल, पत्रकार, व्यापारी सबैले लेख्नुहुन्छ तर उहाँहरूको लेखनमा तथ्य हुन्छ र हुनुपर्छ । तर हाम्रो लेखन त हावा हो । यस्तो हावा जो सिर्जनात्मक परिधि र अनुशासनभित्रको कल्पना । टेलिभिजन र रंगमञ्चमा गरी करिब एक हजार घण्टाका हाम्रा सामग्री छन् । यी सबैको सुरुआत कलमबाटै भएको हो । 
पुस्तक छापेपछि मात्र लेखक भइने रहेछ, नत्र ती हाम्रा उपन्यासजस्तो आयाम र तरिकाका स्क्रिप्टलाई उपन्यासका रूपमा छापेका भए उपन्यासकार भइसकिने रहेछ । तर, मैले उपन्यासकार हुने रहरले मात्र यो उपन्यास लेखेको भने होइन । किन हो त ? 
स्क्रिप्टमा कति कुरा लेख्न मिल्दैन । कल्पनामा आएका कति कुरा मार्नुपर्छ । यसरी मार्नुपरेका दु:खद क्षण धेरै छन् । तर, मलाई उपन्यास लेख्दा यो दृश्य देखाउन गाह्रो होला कि, महँगो होला कि, धेरै समय लाग्ला कि, कलाकार नपाइएला कि यस्ता झन्झट केही भएन । स्वतन्त्रतापूर्वक लेख्न पाइने भएकाले मैले उपन्यास लेखेको हुँ । साझा प्रकाशनले छापेको हाम्रो महसनजस्तै किन स्क्रिप्ट/नाटकका रूपमा नछापेको भन्ने प्रश्न यहाँको मनमा होला, मेरो उत्तर यही हो— स्क्रिप्ट अलि सीमित, कृत्रिम, नियन्त्रित र अपठनीय हुन्छ तर उपन्यास भने अनन्त, स्वाभाविक, अनियन्त्रित यसैले । 
विख्यात लेखक विलियम शेक्सपियर बितेर गएको चार सय वर्ष भयो तर उनका रचना संसारभर अनेक तरिकाले मञ्चन भइरहेका छन् अहिले पनि । हाम्रा कति रचना पुस्तकका रूपमा आए भने पछि मञ्चन गर्न चाहनेले आफ्नो तरिकाले मञ्चन गर्न पनि सक्नुहोला कि भनेर अब हामी हाम्रा चर्चित र सर्वकालिकजस्ता प्रहसनलाई पुस्तकका रूपमा छाप्ने पनि सोचिरहेका छौं । र, यसरी छाप्दा संवाद र कोष्ठमा निर्देशन मात्र नराखी स्वतन्त्र तरिकाले उतार्ने चाह छ । किन त ? अबको/पछिको पुस्ता प्रविधिका कारण कल्पना नमारी हुबहु छायांकन गर्न सक्छ । शेक्सपियरझैं हामी चार सय वर्ष त नबाँचौँला तर चालीस त कटौँला कि ? 
उपन्यास आजदेखि तपाईंका हातमा आउँदै छ, मलाई कताकता डर पनि लागेको छ । एसएसली जाँच दिएजस्तो भइरहेको छ । एसएलसी फेल भएको त परिवारले मात्र थाहा पाउँथ्यो, यसमा फेल भए त सारा लोकले थाहा पाउँछ । तर, डिस्टिंसन र डिभिजनभन्दा पनि सिर्फ पास भए हुन्छ । ३२ दिए कसो होला ? 
(उपन्यास ‘हरिबहादुर’ को विमोचन आजै शनिबार हुँदै छ ।)

प्रकाशित : वैशाख २३, २०७४ ०९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्