ड्राइभरको आँखा
ओई श्याममाया । छिटो आइजो ।’ लोकेन्द्र न्यापानेको धोद्रो स्वर सुनियो । बिग्रेको टेपरेकर्डरजस्तो ।
‘यो बाहुन सधैं यसरी किन च्याँठिन्छ हँ ?’
मैले मनमनै सोचें । अलिकति झ्याल उघारें । तल आँगनमा लोकेन्द्र उभिएको थियो । उसले काखीमा किताब च्यापेको थियो ।
फिक्का नीलो रङको सर्ट । गाढा नीलो रङको पेन्ट । खुट्टामा नीलो रङको पायल चप्पल । टाउकाको मध्यभागमा झुन्डिएको टुप्पी । उसको लाम्चो अनुहारमा सबैभन्दा नसुहाएको त्यो नाक थियो । घिरौंलाजस्तो ।
मेरा आँखा भित्ते घडीमा झुन्डियो । छोटो सुई नौ र लामो सुई तीन नम्बरमा अडिएको थियो ।
‘हत्तेरी ! आज पनि स्कुल ढिला पुगिने भइयो ।’ म आफैंसँग भुत्भुताएँ ।
‘तँ जाँदै गर ।’ मैले ठूलो स्वरमा लोकेन्द्रलाई भनें ।
झ्याल ढप्काएँ । मलाई लोकेन्द्रसँग हिँड्न मन थिएन । त्यो सक्दो मेरो सास भेटूँजस्तो गर्छ । टाँसिनै खोज्छ । मुर्दा ! केटा मान्छे न हो । खाँबोमा टाँगिएको ऐना नियालें । अनुहारको पातलो आँखीभौं हेरेर दिक्क मानें । जतिपटक सम्याए पनि भुक्क उठिरहने कपाल सम्याएँ । थेप्चो नाकको नत्थी एकपटक घुमाएँ । कुर्था फुकालें । भित्री टिसर्ट फुकालें ।
ऐनामा फक्रँदै गरेको यौवन प्रतिविम्बित भयो । एउटा अनौठो तरङ्ग व्याप्त भयो । मनभरि । कस्तो कस्तो । लाज लागेजस्तो । अप्ठ्यारोजस्तो । आफ्नो शरीरमा प्राकृतिक रूपमा उत्पन्न भएको दुःखाइ मीठो लाग्यो । तर अस्तिको घटनाले मन भरङ्ग भएर आयो ।
त्यो बिहान धमिलो थियो । घाम बादलको पर्दा लाएर बसेजस्तो । आमाले मलाई दोकान जान भन्नुभयो । मर्चा किन्न । जुङ्गे साहुजीकोमा । त्यो साहुजीको जुङ्गा बाक्लो थियो । कालो, लामो । कान कानसम्म पुगेको । आँखा त्यस्तै निख्खर काला । हात–गोडा भने सेता । बोक्रा ताछिएको किम्बुको रूखजस्तो । समग्रमा मलाई जुङ्गे साहुजी किम्बुको रूखमा भेटिने झुसिलकीराजस्तो लाग्थ्यो । उसलाई देख्दा मेरो आङ सिरिङ्ग हुन्थ्यो ।
‘त्यो मुर्दा जुङ्गे साहुजीले मेरो गालामा दाह्री धसिदियो,’ अस्ति प्रसन्नाले भनेकी थिई । मलाई पनि त्यसै गरिदिने हुन् कि ? मलाई सकस लाग्यो । तर अन्त मर्चा पाइन्नथियो ।
‘साहुजी मर्चा छ ?’ मैले दोकानको ढोकामै उभिएर सोधें । एउटा मात्र खापा खोलिएको थियो । घाम नउघ्रिएकाले हो वा ढोका पूरा नउघ्रिएकाले हो भित्र अँध्यारो ।
‘छ, भित्र आऊ,’ जुङ्गे साहुजीका आँखा मधुरोमा टलक्क टल्कियो ।
‘यस्तो धप्प छ । ग्लुब बाल्दा पनि त हुन्थ्यो !’ मुर्मुरिँदै म भित्र गएँ ।
‘कतिवटा लाने ?’ जुङ्गे साहुजीले सोध्यो ।
‘दस रुपैयाँको,’ मैले हातमा भएको नोट तेर्साउँदै भनें । उसले नोट समायो । नोटसँगै मेरो हात समायो । हातसँगै मेरो चिचिला छाती समायो । मेरो सास बन्द होलाजस्तो भयो । मैले शरीर अरठ्ठो पारें । र जतिसक्दो बल झिकेर फुत्किने कोसिस गरें । आवाज भने घाँटीमै अड्कियो ।
‘साहुजी,’ दोकानको ढोकामा कोही उभिएको थियो । जुङ्गे साहुजीले मलाई फुत्तै छोडिदिए । दसवटा मर्चा पोको पारिदिए ।
कागजको थुङ्गामा । म बेपत्ता दौडिएँ । दिनभरि नमीठोसँग छाती दुख्यो । त्योभन्दा नमीठोसँग मेरो मन दुख्यो ।
त्यस दिनदेखि छाती नदुख्ने उपाय खोजें । त्यसका लागि हातैले समिज सिलाएँ । फित्ता भएको । दुई अम्बुल चेप्टो । टाइट ।
समिजले मेरो उभारिएको छातीलाई थिच्यो । खाँबोजस्तै देखियो । चेप्टो । लामो श्वास तानें । अब कसैले मेरो छातीमाथि तिखो दृष्टि खसाल्ने छैनन् । म ढुक्क भएँ । सर्ट लगाएँ । फ्रक घुसारें । टेबलको किताब काखीमा च्यापें । बार्दलीमा टाँगिएको भर्याङ ओर्लिएँ । हरियो पायल चप्पलमा खुट्टा घुसारें ।
‘भोटिनी ! ढिला भइसक्यो,’ लोकेन्द्र करायो ।
‘मास्साले बाहुन ! अझै पर्खिरा रैछ,’ च्याँठ्ठिने पालो मेरो थियो । म खुइँखुइँ हिँडें । मेनरोड निस्कने मोड । वरको ठूलो रूख । रूखमुनि सानो भाइ खतिवडा, दिनेश मिश्र, रम्भा गुरुङ, निराजन थापा भेटिए । रातोमाटेबाट प्राथमिक तह सक्ने हामी छ जना थियौं ।
त्यसपछि बजारको राष्ट्रिय माविमा भर्ना भएका थियौं । घरदेखि त्यस स्कुलसम्मको दूरी हिँडेर एक घण्टा । गाडीमा पन्ध्र मिनेट ।
चुरेको साँधमा थियो बगर । बगर छोएर ओच्छिएको सानो भूगोल । त्यो भूगोलमा मकैको ढोंड टक्टक्याउँदा झर्ने माटो रातो ।
वर्षातको पहिलो स्ट्रोकमा आकाशतिर उड्ने धूलोको कण रातो । चैतको घाममा फुट्ने माटाका डल्ला रातो । घर छेउको कुलेसोमा बग्ने भल रातो । त्यसैले त्यो ठाउँको नाम रातोमाटे थियो ।
उत्तरमा बजार । दक्षिणमा वीरगन्ज हुँदै दौडन्थ्यो । मेनरोड । त्यहाँबाट दस मिनेट कोल्टे हिँडेपछि भेटिन्थ्यो रातोमाटे । मेनरोडमा कि सीधै काठमाडौं जाने एक्सप्रेस भेटिन्थ्यो कि बगरतिरको ढुङ्गा ओसार्ने ट्रक । हामी ट्रकमा लिफ्ट माग्थ्यौं । ट्रक नभेट्दा लेफ्ट–राइट गर्थ्यौं ।
त्यस दिन हामी सडकछेउ उभियौं । निकै बेरसम्म पनि ट्रक गुडेन । बरु हामी गुड्यौं । एघार नम्बरमा । वैशाखको घाम । उखरमाउलो हुँदै गयो । कालोपत्रे सडक तातियो । हप्प भएर आयो । मौसम रापिलो बनाउन सडकछेउको सालघारीले थप सघाइरहेको थियो ।
‘तैंले अंग्रेजीको होमवर्क गरिस् ?’ दिनेशले सोध्यो, लोकेन्द्रलाई ।
‘छैन,’ लोकेन्द्रले धोद्रो स्वरले जवाफ फर्कायो । ऊ छुच्चो थियो । होमवर्क लुकाउँथ्यो ।
‘श्याममायालाई भए दिन्थ्यो । हाम्लाई के दिन्थ्यो,’ रम्भाले ईर्ष्या पोखी । बोलेर । मैले रिस पोखें । आँखा तरेर । हामी रमण दाइको बगैंचामा पुग्यौं । आँपको गाछीमुनि उभियौं । निराजनले कताबाट लौरा भेट्यो कुन्नि ? गाछीमा झटारो हान्यो । आँप चिचिलै थियो । पाँच सातवटा झर्यो । बुरुरु ।
‘मुर्दाहरूलाई चिचिला देख्नै नहुने । हुर्कनै नदिने । हातमा कीरा परोस्,’ मैले सरापें । केटाहरू हाँसे । गललल ।
छिस्सऽऽऽ ।
त्यति नै खेर एउटा हरियो रङको ट्रक हाम्रो नजिकै आएर रोकियो । ट्रकको झ्यालबाट ड्राइभरले टाउको निकाल्यो । हरिया पात छेड्लाजस्ता तिखा कपालको रेसा । निख्खर कालो अनुहार । चिम्सा आँखाहरू । पाकेको खयरजस्तो ओठ । कुस्तीमा दाबेको जस्तो एकदम थेप्चो नाक । फुलेको कन्सिरी ।
‘जाने हो ?’ उसले छोटोमा सोध्यो । उसको आँखा रातो देखियो । भलायोले पोलेको जस्तो । अलिलि सुन्निएको जस्तो । मलाई अनुहार देखेरै डर लाग्यो । सधैं त हामी नै रोक्थ्यौं ट्रक । कुनै रोकिन्थ्यो । कुनैले स्पिड बढाउँथ्यो । त्यसरी आफैं ट्रक रोकेर बोलाएको पहिलोपटक थियो । यो हाम्रो लागि अनौठो थियो ।
‘जाने हो नि अंकल ।’
सानो भाइ उत्तेजित भइहाल्यो । ट्रकको देब्रेपटिको ढोका उघ्रियो । खलासी केटो फुत्त ओर्लियो । खिरिलो ज्यानको । अण्डाकार अनुहार । बाक्लो आँखीभौ । बडेमाको आँखा । नीलो ओठ । लामो घाँटी । काँधसम्म लत्रिएको कपाल । उसको शरीरमा कलेजी रङको स्यान्डो र मैलो जिन्स थियो । हामी ट्रकमा चढ्यौं । अगाडिको सिट लोकेन्द्र र निराजनले ओगटे । ड्राइभरको ठीक पछाडिको सिट मैले ओगटें । रम्भा र सानोभाइ मेरो बगलमा । ट्रक बिस्तारै गुड्यो ।
‘स्कुलबाट फर्किंदा खोलामा पौडिनुपर्छ,’ अगाडि सिटमा बसेर निराजन लोकेन्द्रलाई उचाल्दै थियो । सानो भाइ चाख लिएर सुनिरहेको थियो । रम्भा चुप थिई । म सिसामा झुन्डिएको छिरबिरे झलर हेरिरहेकी थिएँ ।
झलरमाथि ऐना टाँगिएको थियो । ऐनामा ड्राइभरको आँखा टाँगिएको थियो । मुटु भरङ्ग गर्यो । कस्तो खाउँलाजस्तै गरी हेरेको ! मैले साथीहरूलाई हेरें ।
सबै आफ्नै तालमा थिए । आँखा पुनः ऐनामा पुग्यो । यसपटक ड्राइभर निश्चिन्तसँग ट्रक हाँकिरहेको देखियो । मन अलिक शान्त भयो । केही बेरमा मेरा आँखा पुनः ऐनामा गाडिए । ड्राइभरको आँखा मेरो चिचिला छातीमा गाडिएका थिए । जुङ्गे साहुजीको जस्तै नियत बोकेको आँखा । छिः मलाई लोग्नेमान्छेसँग घीन लागेर आयो । मेरो सास बढ्यो । दिग्मिग् लाग्यो । आन्द्रा बटारिएर आयो ।
बान्ता आउलाजस्तो । उफ् ! जसरी बाहिरी तापक्रमले थर्मोमिटरको पारो बढेको थियो ठीक त्यसरी नै बढेको थियो, मेरो शरीरको तापक्रम ।
‘श्याममाया ओर्ली,’ लोकेन्द्रको आवाजले म झसंग भएँ । ट्रक स्कुलको मोडमै रोकिएको थियो । म ट्रकबाट हाम्फालें ।
‘धन्यवाद अंकल,’ यति भनेर सानो भाइले औपचारिकता पुर्यायो । लोकेन्द्रले टाउको झुकायो । कृतज्ञ भएर । निराजन हाँस्यो ।
मुसुक्क । रम्भाले हात हल्लाई । बाई भनेर । मलाई भने थुक्न मन थियो । ड्राइभरको अनुहारमा ।
‘हे भगवान् अब यो ट्रकमा कहिल्यै चढ्न नपरोस्,’ मैले कामना गरें । मनमनै ।
भोलिपल्ट हामीले कुनै ट्रक फेला पारेनौं । पर्सिपल्ट पनि हामी हिँड्दै थियौं ।
छिस्सऽऽऽ ।
अस्तिकै ट्रक रोकिएको थियो । हाम्रो छेउमा । ट्रकमा ढुङ्गा लोड थियो । अस्तिजस्तै ड्राइभरले झ्यालबाट टाउको निकाल्यो । सानो भाइ उत्साहित भइहाल्यो । ट्रकबाट खलासी केटो उत्रियो । निराजन, सानोभाइ र लोकेन्द्र ट्रकमा चढे । हतारहतार । मैले रम्भाको हात समाएँ । च्याप्पै ।
‘तिमी र म हिँडेरै जाऊँ,’ मैले रम्भाको कानमा भनें । ऊ अलमलमा परी ।
‘ह्याँ छिटो चढ् न । भोटिनी,’ लोकेन्द्रले झ्यालबाट टाउको निकालेर भन्यो ।
‘तिमीहरू जाऊ । हामी जाँदैनौं,’ मैले चर्कोसँग भनें ।
‘किन ?’ सानो भाइले लोकेन्द्र माथि खप्टिएर सोध्यो ।
‘त्यसै,’ मैले अड्डी कसें ।
‘ल त्यसो भए हामी नि नजाने,’ लोकेन्द्रले धोद्रो स्वरमा अन्तिम निर्णय सुनायो । ऊसँगै निराजन र सानो भाइ पनि उत्रिए । मुर्मुरिँदै । खलासी केटोले मलाई हेर्यो । अनौठोसँग । त्यसपछि ट्रकमा चढ्यो । ड्राइभरको अनुहार कस्तो देखियो ? मैले देखिनँ । उसले एक्सिलेटर दाब्यो । ट्रक एकपटक पछाडि हट्यो । अर्कोपटक रफ्तारमा कुद्यो ।
‘हैन भएको चैं के हो ?’ लोकेन्द्रले सोध्यो ।
‘मलाई त्यो ड्राइभरको आँखा देखेर डर लाग्छ,’ मैले एकै सासमा भनें । रम्भाको आँखा अझ ठूला भएर गए । लोकेन्द्र, निराजन र सानो भाइले टाउको कनाए ।
त्यसपछिका दिनहरूमा पनि त्यो ट्रक भेटिन्थ्यो । हामी छेउ आइपुग्दा बिस्तारै गुड्थ्यो । एक नजर फ्याँक्थ्यो । अनि जान्थ्यो ।
मंसिरको महिना । हुस्सु थपक्क ओछिएको थियो । पिच सडकमा ।
‘रम्भा खोइ ? ढिला भइसक्यो,’ मैले सोधें । लोकेन्द्र, निराजन भर्खरै साइकल लिएर आइपुगेका थिए ।
‘सानो भाइ पनि आएको रैनछ,’ निराजनले वरिपरि हेर्दै भन्यो ।
‘मेरो साइकल सजिलो छ । चलाएर हेर त,’ लोकेन्द्र मलाई चिढ्याउने मुडमा थियो ।
‘यसको ब्रेक बनाउनुपर्नेछ । नत्र यो झन् सजिलो छ । तेरोजस्तो बूढो साइकल होइन यो,’ मैले जवाफ फर्काइहालें । मलाई थाहा थियो, लोकेन्द्र आफ्नो बाउको साइकल ल्याउँछ । निराजनको भने नयाँ साइकल थियो । मसँग लेडिज साइकल थियो । बाले किनिदिएका । सेकेन्ड ह्यान्ड । हरियो रङको । अगाडि सानो क्यारिज । जालीवाला ।
भर्खरभर्खरै साइकल चलाउन थालेका थियौं । साइकलमाथिको नियन्त्रण अलि गाह्रो थियो । सधैं अरूको भर पर्नुपर्थ्यो, स्कुल जाँदा । घिसारेर भए पनि साइकलमा स्कुल जानुपर्छ । यो निधो गर्न हामीलाई सात महिना लागेको थियो ।
रम्भा र सानो भाइ आइपुगे । उनीहरूसँग भने साइकल थिएन । लोकेन्द्रको पछाडि रम्भा बसी । निराजनको पछाडि सानो भाइ । मैले डबल लोड बोक्ने गरेकी थिइनँ । जति मसिना मेरा पाखुरा थिए, त्योभन्दा मसिनो मेरो आत्मविश्वास थियो ।
त्यस बिहान घामले आकाश छिचोलेन । रातभरिको शीतले सडक चिप्लो थियो । हामीले साइकल गुडायौं । अगाडि निराजनको साइकल । त्यसपछि लोकेन्द्रको । अनि मेरो ।
‘ल रेस गरौं,’ निराजन अलि सन्की थियो । उसले लोकेन्द्रलाई भन्यो ।
‘नगर्ने । तेरो पो नयाँ साइकल,’ लोकेन्द्र छुच्चो बोलिहाल्यो ।
‘लुते बाहुन ! डराइस्,’ निराजन प्रतिरोधमा उत्रियो ।
‘काजी साला ! ल हुन्छ । डबल लोड है त । रेडी,’ लोकेन्द्रले पनि सन्कियो । टुप्पी हल्लिने गरी । रम्भाले लोकेन्द्रको सुइटर समाई । बलियोसँग ।
‘वान, टु, थ्री, गो ।’ सानोभाइको ठूलो स्वर सुनियो । दुवैले पाइडल एकसाथ दबाए । पाङ्ग्राले चक्कर काट्यो । जोडजोडले ।
अगाडि हुस्सु छप्प थियो । उनीहरू एकै छिनमा विलीन भए । मैले देखिनँ । मैले जसरी हुन्छ उनीहरूलाई भेट्टाउनुपर्छ । मस्तिष्कबाट यो कुरा शरीरभरि तीव्र रूपमा सञ्चार भयो । त्योभन्दा तीव्र गति साइकलले लियो । त्यसले गर्दा साइकलमाथिको मेरो नियन्त्रण गुम्यो । म असन्तुलित भएँ । एकै छिनलाई लाग्यो म बतासमा कावा खाइरहेछु ।
धडम्म !
बाक्लो आँखीभौ । बडे आँखा । नीलो ओठ । लामो घाँटी । अण्डाकार अनुहार । आँखा खोल्दा मैले देखें— त्यो खलासी केटोको टाउको । उठ्ने प्रयत्न गरें । सकिनँ । हात, छाती र घुँडामा दुखाइको मात्रा बढी थियो ।
‘नानी हात भाँच्चिएको जस्तो छ । नचलाऊ,’ यो आवाज मैले पहिले कतै सुनेंजस्तो लाग्यो । मुन्टो फर्काएँ । उफ् ! त्यही ट्रक ड्राइभर थियो । ओह ! म ट्रकको सिटमा लम्पसार छु । म त स्कुल जाँदै थिएँ । ओहो ! याद आयो । साइकलको रेस । फिलिलि । आत्तिएर छोडेको ह्यान्डिल । साइड ड्रेनमा छिरेको साइकल । अनि आँखामा छाएको अन्धकार ।
‘हामी मेडिकल पुग्नै लाग्यौं । आज यतैको टिप थियो । तिमी बेहोस भेटियौ । सडकको ड्रेनमा । तिम्रो साथीहरू आँपको गाछी हुँदो भेटिए । तिनीहरू आउँदै छन्,’ खलासी केटोले बिस्तार लायो । कोल्टे परेर उठ्न खोजें । दुखाइ झन् बढ्यो । ड्राइभरको आँखासँगको मेरो घीन यथावत् थियो ।
‘एउटी छोरी थिई । मेरो । कमजोर थिई । पढाइमा । शरीरमा । बिरामी भइरहन्थी । चार वर्षअगाडि कलैयामा ठूलो हाट लागेको थियो । सोचें, आमा छोरीलाई घुमाउँछु । निकै भएको थियो सँगै नघुमेको । खलासी भाइलाई छुट्टी दिएँ । ट्रक आफैंले कुदाएँ ।
त्यस यात्राले छोरी निकै ताजा देखिएकी थिई । तर नियतिलाई अर्कै कुरा स्वीकार थियो । कलैया नपुग्दै ट्रक पल्टियो । लास झिक्नेले भनेको, आमाले कोखिलामा छोरी च्यापेकी थिई । मलाई कसैले अस्पताल पुर्याएछ । म किन मरिनँ ? अहिले पनि छोरीको याद गाँठो पर्छ छातीमा । बाँचेकी भए अहिले तिमी जत्रै हुन्थी । तिमीजस्तै देखिन्थी । चिम्सा आँखा । नाकमा नत्थी । बाक्लो कपाल । काली काली थिई त्यो ।’
ड्राइभर एकहोरो बोलिरह्यो । भारी आवाजले । त्यतिखेर उसको आँखा मेरो आँखाजस्तै भएको हुनुपर्छ । ओसिलो । सबै लोग्नेमान्छे जुङ्गे साहुजीजस्ता हुँदैन रहेछन् । त्यस दिन मैले आँखाका चेपबाट आफ्नो भ्रम बग्न दिएँ । सललल ।